युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 08.17.2019, 04:53pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
गाईजात्राको मौसममा महागाईजात्राको भाँड नाच प्रदर्शनको प्रयास
Tuesday, 08.09.2011, 11:06am (GMT+5.5)

“गथाँ मुग”सँगै उपत्यकामा जात्राको मौसम शुरु हुन्छ । यो परम्पराको गंगोत्री यकीन गर्न सायद संस्कृतिविद्हरूलाई पनि धौधौ पर्ला ? यहाँ त्यसको विषयमा वादविवाद बहस गर्नु छैन, हुँदैन । ‘उपत्यकाका रैथाने’ भनेर दाबी गर्नेहरूको मौलिक सांस्कृतिक सम्पदाको जगेर्ना गरिँदै आएकोलाई निरपेक्ष रुपमा सकारात्मक रुपमा लिनुपर्ने भएकाले छोडेका छैनौं । “गथाँ मुँग” पछि शुरु हुने लाखे नाच, गाईजात्राहरूको धार्मिक र वैज्ञानिक आधार जे भए पनि त्यो आफ्नै मौलिक रमाइलो खालको हुने भएकाले त्यसलाई संजोएर राखिराख्न (मद्दत पुगेको) होला भन्ने लाग्छ ।) विभिन्न धार्मिक र सांस्कृतिक मेला जात्राहरूका पछाडिका आआफ्नै इतिहास र आधार देखिएका छन् । उपत्यकामा धेरै समयसम्म लिच्छवी र मल्ल (नेवार जातीय) अधिवंशवादी शासन व्यवस्था कायम रहेको र तत्कालीन समाज बढी आध्यात्मिक र धार्मिक संस्कारमा जन्मे हुर्केकोले पनि त्यस बेलादेखि विभिन्न देवी देवता र अदृश्य शक्तिसँग जोडेर जात्रा पूजा आजाको परम्पराको थालनी भएको हुनसक्छ ।

नेपाल बाहिर (भारतदेखि यूरोपसम्मका धेरैले विद्वान्हरूले नेपाललाई ‘तन्त्रशास्त्र’को उद्गम र विकास स्थल मान्दै आएका छन् । तन्त्र शैव वैण्णव र शक्ति सम्प्रदायसँग नाभी जोडिएको र व्यापक क्षेत्र ओगटेको विषय हो । कतिपय ठाउँमा बौद्ध ग्रन्थपरक तन्त्रको पनि चर्चा पाइएको छ । नेपालमा ‘तन्त्र’को अतुलनीय व्यापक प्रभाव परेको र उपत्यकावासी रैथाने समाजमा त्यसप्रति अगाध आस्था र विश्वास सुदृढ थियो । यस कुराको जीवन्त साक्ष्य उपत्यकालाई “मन्दिरै मन्दिरको शहर” भन्ने भनाइ सार्थक पार्ने र ती सबैजसो मन्दिरभित्रको पूजा विधि ‘तन्त्रपरक’ देखिनुले पेश गरेको देखिन्छ ।

‘तन्त्र’मा पञ्च ‘म’कारलाई कुनै न कुनै रुपमा अंगीकार गरिएको वा पूजाको अन्तरविधि विधान बनाइएको हुन्छ । त्यसैले उपत्यकावासीहरूमा धार्मिक र सांस्कृतिक व्यवहारमा  पञ्च ‘म’कारलाई बढी स्थान दिने संस्कृति र प्रवृत्ति प्रबल रुपमा विकास र विस्तार भएको हो कि भन्ने लाग्छ । तन्त्र विधिले तोकिदिएका पञ्च ‘म’कारमा मत्स्य, मांस, मद्य, मुद्रा, मैथुन पर्दछन् । नेवारी समाज समुदायमा प्रायः सामाजिक संस्कारदेखि विवाह उत्सवसम्ममा मत्स्य, मांस, मद्य, अनिवार्य, जस्तो मानिएको कारण यही नै हुनसक्छ । जहाँसम्म ‘मुद्रा’ र ‘मैथुन’लाई सामाजिक, धार्मिक प्रथामा कसरी  प्रयुक्त हुन सक्यो वा हुन सक्तछ होला भन्ने जिज्ञासासँग गाासिएको प्रश्न छ, प्रायः परम्परागत धार्मिक नृत्यहरूमा शरीरका विभिन्न अंगहरू मार्फत प्रदशित ‘मुद्रा’लाई प्रधान वा केन्द्रीय विषय बनाएको देखिन्छ । हनुमानढोका (जस्लाई उपत्यका राज्यको शासन र धार्मिक दुवैको केन्द्र वा मुटु मानिएको थियो)– का मन्दिरमा रहेका टुँडाल र अन्य काष्ठकलामा कुँदिएको विभिन्न “मैथुन मुद्रा”लाई पनि त्यही ‘पञ्चमकार’को अभिन्न अंगको रुपमा स्वीकार गरिएको सहज अनुमान गर्न सकिन्छ । जेहोस् ।

गाईजात्राले एकातिर आफन्तहरूको मृतात्माको मुक्ति र तृप्ति हुने विश्वास गरिन्छ । अर्कोतिर, समाजमा रहेका वा शासन प्रशासनभित्र विद्यमान विकृति, विसंगति, भ्रष्टाचार, अनाचार, कदाचारहरूको सार्वजनिकीकरण गर्ने दिनको रुपमा पनि लिइन्छ । जुनसुकै र जस्तोसुकै सीमान्त निरंकुश अघिवंशवादी व्यवस्थाका शासन प्रशासनका काला कालखण्डमा पनि गाईजात्रा सप्ताहभरि व्यंग्य, हास्य र अनुकरण (क्यारिकेचर)का माध्यमबाट जनताले उन्मुक्त, स्वतन्त्र र निर्भयसाथ शासक प्रशासकका जनभावना विरोधी वा भ्रष्ट आचरणको खुलेर डबली, सडक, मञ्चहरूदेखि प्रकाशन प्रसारण गर्ने संचार माध्यमसम्मको पूरा स्वतन्त्रता पनि यस सांस्कृतिक परम्पराले प्रत्याभूत गर्दैआएको देखिन्छ ।

माथि उल्लेख गरिएझैं नेपालमा गाईजात्रा सप्ताहका माध्यमबाट नगरवासीहरूले के कस्तो हास्य व्यंग मार्फत् शासक प्रशासकको के कस्तो र के कुन व्यवहार आचरणको भण्डाफोर गर्ने हुन् वा गरे भन्ने कुराको हेक्का, चासो र संत्रास राणाकालीन र त्यस पूर्व र उत्तरका कालखण्डमा पनि निरन्तर हुन्थ्यो भन्ने तथ्य तत्कालीन, ऐतिहासिक अभिलेख र सचेत व्यक्तिहरूका लेख र भाषणबाट अभिव्यक्त हुँदै आएको हो । त्यसले प्रत्यक्ष वा परोक्षत “जतिसुकै निरंकुश अघि शासकहरू पनि यस अवसरलाई जनअभिमत बुझ्ने राम्रो माध्यम ठान्दारहेछन्” भन्ने थाहा हुन्छ ।

निर्दलीय पंचायती शासनकालमा तत्कालीन व्यवस्थाका सर्वोपरि र सकृय नेता राजा वीरेन्द्रले प्रत्येक वर्ष प्रज्ञा प्रतिष्ठानमा गाईजात्रा महोत्सवमा गई कार्यक्रम हेर्ने परम्परा नै बसाएका थिए । त्यही स्थापित परम्परा पछ्याएर आजसम्म पनि नेपालका रंगकर्मी कलाकार, लेखक, पत्रकारहरूले त्यसैको बींडो थाम्दै आफ्नो व्यवसायिक प्रतियोगिता वा प्रतिस्पर्धा गरी आय आर्जनको माध्यम बनाउँदै आएका हुन् भन्नेमा विवाद छैन ।

 

“नयाँ महागाईजात्रा”को परम्परा

“धार्मिक, सांस्कृतिक र सामाजिक परम्परालाई निरपेक्ष रुपमा सामन्ती अधिशासन व्यवस्थाका अवशेष ठान्ने, र त्यसलाई निमिट्यान्न पारेर समूल नष्ट गरेपछिको खाली मैदानमा मात्र नयाँ जनसंस्कृति र क्रान्तिकारी परम्पराको बलिदो जग निर्माण गरी अत्याधुनिक उन्मुक्त र स्वतन्त्र समाजको निर्माण गर्न सकिन्छ” भन्ने विनिर्माणवादी सोचका राजनीतिक आँधीले नेपालमा गणतन्त्रात्मक शासन व्यवस्था स्थापित ग¥यो । विश्व इतिहासलाई नियाल्ने हो भने झण्डै दुई तीन सय वर्ष पहिलेको जर्जर र चरम निरंकुश आततायी अधिवंशवादी राज्य शासन व्यवस्थाको अन्त्य गरेको आधा शताब्दीको नेटो काटेलगत्तै यति स्वतन्त्र, उन्मुक्त र पूर्ण वैयक्तिक स्वच्छन्दताको परिप्राप्ति गरेको समाज सायदै थियो होला । यस अर्थमा परम साहसिक योद्धाका सन्तानहरूले त्यस परिप्रेक्ष्यमा अभूतपूर्व विश्व कीर्तिमान नै कायम गर्नसकेको भन्न सकिन्छ – गणतन्त्र र संविधानसभाको गठन र स्थापनासम्मको उपलब्धिलाई ।

तर “जनताले जे जस्तो आशा, भरोसा र विश्वासले २०४६ को जनआन्दोलन, २०५२ देखि २०६२ सम्मको दश वर्षे सशस्त्र जनसंघर्ष र २०६२–२०६३ को दोस्रो संयुक्त जनआन्दोलनमा टाउकोमा कात्रो बाँधेर नेताहरूलाई साथ र सहयोग गरे, २०६३ पछि र खास गरी गणतन्त्रको घोषणा र संविधानसभाको निर्वाचन सम्पन्न भएपछि त्यसरी नै जनतालाई विश्वासघात गर्ने, उपेक्षा गर्ने, निषेध गर्ने र वैरी ठान्नेसम्मको अपरिकल्पित सीमान्त घटिया काम धेरथोर सबै जसो दल र तिनका शीर्ष नेताहरूबाट गरियो” । यस्तो आम आरोप सबैतिरबाट लगाइयो । त्यो आरोप, आक्षेप र ठनाई ठीक बेठीक जे भए पनि यस्तै आम धारणाको जबर दस्त विकास भयो ।

परिवर्तनका संवाहक नेपाली जनताको योगदानको त्यत्तिबाट मात्र अपमान र उपहास गर्ने काम गरिएन । संविधानसभाको गठन भइसकेपछि “संविधानको धारा ६४ ले तोकेको समयभित्र नेपाली जनतालाई संविधान दिन वाचा, कबुल गरेर शासन सत्तामा पुगेका संविधानसभा÷संसदका सदस्यहरूले “जनताको नजरमा को कति तल झरेको देखिने ?” भन्ने र निर्लज्ज र निवस्त्र भई लाप्पा खेल्न उभिएको समेत देख्नुप¥यो । “संविधानका मर्म, भावना र प्रावधानहरूमाथि निःसंकोच बलात्कार गर्न सक्नुलाई नै आफ्नो सहसिकता र वीरताको निशनी ठान्ने वा भन्ने हदसम्मको अपकृत्य नित्य निरन्तर भयो, गरियो । राज्य विरुद्ध भ्रष्टाचार, अनाचार, दुराचारको कुनै दृष्कृत्य गर्न बाँकी राखिएन, छोडिएन । सभासद सांसदहरूले “कुनै विधि–विधान, ऐन, कानुनको मर्यादा पालना गर्न बाध्य पारियो वा गरियो भने आफ्नो कद तौल र स्थान मान घट्ने” सोचाइको चरम विकास भयो । संसदीय गरिमा र मर्यादाको समूल विनास गरियो । “स्वेच्छाचारिता, अनुशासन–हीनता, उच्छृंखलताका जीवन्त पर्याय र प्रतीक भनेका संविधानसभा सदस्य । सांसद हुन” भन्ने निर्विवाद परिचय बनाइयो ।

आफ्नो लाभका लागि गरिब, विपन्न र सीमान्तीकृत जनताको शीरमा डेढसय अर्वको करको अवहनीय भार बोकाइएको अपरिकल्पनीय अपकृत्यको लाजमर्दो दुष्कीर्तिमान कायम गरियो । संविधानले तोकेको समय सीमालाई विनाजनादेश, विना लोकलज्जा पटकपटक आफ्नै स्वविवेकमा मनलाग्दो बढाउँदै र सार्दै लगियो । संविधानको निर्माणमा कुनै पनि विषय वा धारामा सर्वसम्मति नगर्ने हठधर्मी दलहरूबीच सधैँ संविधानसभा संसदमा सदस्यहरूको पारिश्रमिक, भत्ता, सुविधा र समयावधि बढाउन निर्विवाद र विना बहस सर्वसम्मति हुने परम्परा कायम भयो । संविधानसभा संसद सदस्यहरूको अराजक र स्वेच्छाचारिताको उन्मत्त श्याम कर्ण घोडालाई लगाम लगाउने ह्याउ र हिम्मत कसैको भएन । कसैको पिताम चलेन हुँदा हुँदा “स्वतन्त्र नागरिक समाज”को व्यानर बोकाएर, आफ्नो विरुद्धमा उतारेर जनआक्रोश संवाहक बनाउने अन्त्यमा उनीहरूकै तर्फबाट “संविधान नबनाई तिमीहरू भाग्न पाउँदैनौं” जस्ता प्रायोजित विरोध र दबाबको भद्दा नौटंकी समेत प्रदर्शन गरियो । त्यही घटिया उपायबाट असीमित समय सम्म म्याद बढाउने र आफू र आफ्ना अरौटे, भरौटे, आशे, बासे गासेहरूलाई पालै पालो पोस्ने चतुतापूर्ण फट्याई गर्न पनि अद्वितीय सफल भएको देखियो ।

संयोग भनौं वा पहिलेदेखिकै नियोजित कपट र दुराशयपूर्ण योजना मानौं ? अहिले पनि राजधानीबासी सबै वर्ग, जाति, समाज, समुदाय, सडक र डबलीहरूमा गाईजात्रा देखाउने र त्यसैमा रमाउने उपक्रम चरमउत्कर्षमा पुगेको अवसरमा संविधानसभा÷संसदमा चुपचापले म्याद बढाउने चोर दाउ छोप्ने उपाय गरिन थालेको सबैलाई अनुभव हुनथालेको छ । अर्को शब्दावलीमा भन्ने हो भने “जनताले संविधान निर्माणका लागि निर्वाचित गरेको संविधानसभाका सदस्यहरू जनादेश र आन्तरिक संविधानले निर्दिष्ट गरेका विधि, प्रक्रिया र कार्यसीमाहरूलाई लत्याउँदै, कुल्चिँदै र आफ्नै सुविधा र स्वार्थ अनुकूल व्याख्या गरी स्वेच्छाचारी र निरंकुश बन्दै जान थालेको समेत यत्रतत्र सर्वत्रतिरबाट टडकारो देखिएको छ । संक्षिप्त र सारसूत्रमा भन्नुपर्दा “जनताले जनप्रतिनिधिमार्फत जनताको निमित्त जनसंविधान निर्माण गर्ने एकसूत्रीय लक्ष्य र उद्देश्य पूरा गर्ने” भनि निर्वाचित गरेका प्रतिनिधिहरू सत्ता, भत्ता, शक्ति र स्वार्थमा लागि निवस्त्र भई निलज्र्ज लाप्पा खेलिरहेको” देखियो ।

अहिले देशको समग्र परिस्थिति, परिवेश, अवस्थालाई नियाल्दा, र भाद्र १४ गतेको दिन नजिकिँदै गर्दा रंगमञ्च, डबली र सडकमा प्रदर्शन गरिने गाईजात्रा र सुदूरपश्चिमतिरका हिजोका भाँड नाचभन्दा भद्दा, घटिया, लज्जाजनक, सीमान्त अशोभनीय, निरस गाईजात्रा वानेश्वरको अन्तर्राष्ट्रिय  सम्मेलन भवनका सभास्थलमा संविधानसभाका सदस्यहरूले प्रदर्शन गरिरहेको चाहेर वा नचाहेर पनि जनताले देख्नु परिरहेको छ ।

यसरी जनताले संविधान निर्माण गर्ने जस्तो गहन र गरिमापूर्ण दायित्व सुम्पिएर संविधानसभामा पठाएका प्रतिनिधिहरूले नै हिउँद, वर्षा, मौसम वेमौसम पट्टयारलाग्दो र देख्दा सुन्दा नै वान्ता आउने र घीनलाग्ने खालको गाईजात्रा र भाँड नाच जुन देखाउँदै आएका छन् । त्यसले “स्वतन्त्र नागरिक समाज÷मञ्च”को आवरणमा तिनै विधायकहरूलाई बुख्याँचा बनाइ, सडमा उतारेर वा उभ्याएर डलरका ‘जगात माग्ने’ र “आचुज्य ऽऽ हा ऽऽऽ गर्ने” भीडलाई त राम्रै कमाई गराएको देखिन्छ । तर वर्षभरिका एकाउन्न हप्तासम्म अभाव, गरिबी अस्वाभाविक र कृत्रिम मूल्यवृद्धिले दबाएका आम नेपालीमध्ये चर्को शुल्क तिरेर पनि एक हप्तासम्म मनोरञ्जन गर्ने  हैसियत भएका नवधनाढ्य उपत्यकावासीलाई हँसाई र मनारेञ्जन गराई वर्षभरिको आफ्नो नून, तेल र गल्ली ठर्राको बन्दोबस्त गर्दैआएका, रंगकर्मी, हाँस्य व्यंग्य कलाकारहरूलाई मात्र कमाइविहीन बनाएका होइनन्, छैनन् । त्यति मात्रै नभई विचरा पुस्तौं पुस्तादेखि मधेश–पहाडका गाउँ बेसी चाहार्दै भाँड र हिजडा नाचगान देखाएर जिविका गर्दैआएकाहरूको समेत पेसा व्यवसायसमेत ठप्प पारिदिने दुष्कार्य गर्न पुगेको देखियो ।

वर्षदिन पहिलेदेखिको निरस र पट्टयारलाग्दो नौटंकी सम्पूर्ण नेपाली नचाहेर पनि हेर्नु परिरहेको पीडा एकातिर भोगिरहनु परेको छ । अर्कोतिर वानेश्वरवासीले जब जब १४ गते नजिकिँदै जान्छ खबर्दार म्याद थप्न पाइन्न भनेर राष्ट्र, राजा, हिन्दूवादको नारा बोकेर धर्ना दिन आएका रा.प्र.पा. नेपालदेखि पूर्व सांसद मञ्च र दलका भ्रातृ संगठनहरू संविधान नबनाई भाग्न पाउनको, बरु जीवनभर नै वी.आई.सी.सी.भित्र बसे हुन्छ भन्ने लगायतका मौसमी आन्दोलनकारी हरूका नारा जुलुस, धर्ना, ढुंगा प्रहार, बाटो बन्दका थप भार र मार प्रत्येकपटकका म्याद थपका मध्यरात्रीसम्म भोग्नु र बोक्नु परिरहेको छ । सम्भवतः यस पटकको गाईजात्रा सप्ताहको मौसम सकिए लगत्तैदेखि फेरि त्यही पुरानो घटिया भाँडा नाच प्रदर्शन भाद्र १४ गतेमध्ये रात्रिसम्म अवश्य दोहोरिएला ? दोहोरिने छ ? त्यति मात्रै नभई  कति अरु १४ गतेसम्म यही भद्दा परिदृश्य दोहोरिने हो ? सबैको चासो र चिन्ता यही भएको छ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
राष्ट्र प्रयोगको वस्तु होइन, नेतामा चेतना जागोस् : यादब देवकोटा (06.20.2011)
बनाउन नसके पनि विगार्न त छाड्नोस् : महेश्वर शर्मा (06.20.2011)
कुकुर, सरकार, सांसद र संविधानसभा : तारा सुवेदी (06.20.2011)
राष्ट्रिय स्वभीमानका लागि हामीले सिक्नुपर्ने पाठ (06.06.2011)
पाँच बुँदे सहमति : छलछामको पुलिन्दा (06.06.2011)
म्याद थप ः हस्तिनापुरको सपना र सम्भावना (06.06.2011)
पूरा भएनन् जनताका अपेक्षा र राष्ट्रिय दायित्व (05.30.2011)
तराई (मधेश)को शास्त्रीय महत्वको संक्षिप्त विवेचना (05.30.2011)
जागीरको तीन महिना म्याद थपियो ! (05.30.2011)
आशा र निराशाका दुई पृथक विषय (05.30.2011)
प्राकृतिक स्रोत साधन र भौगोलिक वनावटका आधारमा योजना छनोट आर्थिक समृद्धि र आत्मनिर्भरताको प्रय (05.24.2011)



 
::| Latest News

 
[Page Top]