युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.15.2019, 07:22pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
हिजो र आज : जनताले भोगेको अनुभव
Monday, 08.15.2011, 03:03pm (GMT+5.5)

"पञ्चायत व्यवस्थामा बोल्न र मनपरी गर्न बाहेक जनताले सबैथोक पाएका थिए भने बहुदल आएपछि बोल्न र मनपरी गर्न बाहेक जनताले केही पाएनन् । त्यो बेला कर्मचारी पनि अनुशासित थिए, भ्रष्टाचार सीमित थियो । कर्मचारीले डराइडराइ राम्रो काम गर्थे भने आज भ्रष्टाचार सर्वव्यापी भएको छ र कर्मचारी पनि नडराइ नडराइ नराम्रो कामगर्न स्वतन्त्र देखिन्छन् ।" हालै एउटा जमघटमा एकजना प्रबुद्धको भनाइ हो यो । सारपूर्ण यस भनाइमा हिजो र आजको तुलनात्मक अनुभवको निखार छ ।

आज नेताले प्रजातन्त्रको सट्टा लोकतन्त्र या गणतन्त्र जे भने पनि आचरण र व्यवहारमा सुधार नआएसम्म शब्द फेर्दैमा केही नहुने रहेछ भन्ने कुरा यहाँ चलेको मनतन्त्रले नै देखाएको छ । यहाँका जुनसुकै वादी पनि खाओवादबाट पृथक छैनन् । अब त जनताले नेताले के भन्छन् होइन, के गर्छन् भनेर हेरिरहेका छन्, तौलिरहेका छन् । नाम जनताको लिने, तर काम आफ्नै मनमाफिक गर्नेहरूसित जनतालाई अमन भैसकेको छ । के गणतन्त्र, धर्म निरपेक्षता र संघीयता जनताका माग थिए ? यहींनेर नेताहरू इमानदारीबाट च्यूत भएको जनताले सम्झेका छन् । के केही सुकिला मुकिला र सरकारी ढुकुटी रित्याउनेहरू मात्रै जनता हुन् ? यस्ता प्रश्नका जवाफ नेतासित छैनन् ।

को छ यहाँ प्रजातन्त्रवादी ? को छ यहाँ साँच्चैको कम्युनिष्ट ? यहाँ साँचो अर्थमा न कोही प्रजातन्त्रवादी छ, न त कम्युनिष्ट नै पुराना कम्युनिष्ट देखिएकै हो र आजका पनि देखिंदैछन् । खान नपाउञ्जेलका प्रजातन्त्रवादी र कम्युनिष्ट आज ढाडिइसकेपछि अर्कै अर्थात् पूँजीपति भैसकेका छन्, धनाढ्यहरूका श्रेणीमा पुगेका छन् । आश्चर्य त के छ भने तिनीहरू नै हिजो पञ्च थिए, प्रजातन्त्रवादी थिए, कम्युनिष्ट थिए र थिए परम राजभक्त पनि । नेपालको वस्तुस्थिति र यथार्थ बुझेरै आफूलाई जता पनि फिट गराएका हुन् कि कुन्नि !

फार्मुलामा जे लेखिएको हुन्छ र विज्ञापनमा जे भनिन्छ, त्यो माल वस्तुमा नभएजस्तै पार्टीका घोषणापत्रमा र नेता मन्त्रीका भाषणमा जे भनिन्छ, काम चाहिं ठीक त्यसको विपरीत हुन्छ । पञ्चले शोषणरहित समाज सिर्जना गर्ने भन्दै आफैंले शोषण गरे । कांग्रेसले समाजवादका नाममा गर्नु नगर्नु भ्रष्टाचार गरिसक्यो । अहिले दृश्यमा माओवादी छ, तर ऊ पनि पूरै पूँजीवादी भैसकेको छ । यहाँ कसैले पनि आफूले गर्छु भनेको काम गर्छ भनेर पत्याउन नसकिने भयो । गरिबी निवारण गर्न अर्बौं खर्च भयो, तर गरिबी झन् बढेको छ । रोजगारी बढाउने नारा सुनिन्छन् तर बेरोजगारी बढेकोबढ्यै छ । महंगी घटाउँछौं भन्छन् महंगी भने प्रतिक्षण बढिरहेको छ । सुधारका कुरा नगर्ने कोही छैन, तर सुधार शब्दले नै अर्थ पाएको छैन । सुधार्नेभन्दा उधार्ने काम नै बढी भएको छ । यस्तो स्थितिलाई प्रजातन्त्र भन्न नसुहाउने भएर पो लोकतन्त्र र गणतन्त्र भनिएको हो कि !

सबैभन्दा कम दोष भएको व्यवस्था प्रजातन्त्र अर्थात् संसदीय व्यवस्था मानिन्छ । तर यो प्रजातन्त्र भन्ने कुरो पनि यहाँ देखाउने दाँत मात्रै भयो, चबाउने दाँत बेग्लै देखिए । प्रजातन्त्र भनेपछि जे गर्न पनि हुने, कसैले प्रश्न गर्न नहुने, नेताहरू पञ्चखत माफ भएका डामेर छोडेका साँढे जस्ता हुने, जसले जति भ्रष्टाचार गरे पनि उनीहरूलाई अख्तियारले पनि नछुने भएपछि नेताहरूले त जे गरे पनि हुनेरहेछ प्रजातन्त्रमा । धमिजा, लाउडा जस्ता काण्ड मच्चाएर र कमिशनका खेलमा कारखानाहरू बेचेर पनि गिरिजालाई बाह्र हातको टाँगोले पनि छोएन । अहिले सुडान घोटाला काण्डमा पनि कर्मचारीलाई पारेर नेताहरू उम्कदै छन् । अब पुराना हातहतियार बेचिएको काण्ड भर्खरै खुलेको छ । त्यो पनि त्यस्तै हुन बेर छैन । यस्तै रहेछ दुनियाँ- बलियाले जे गरे पनि हुने ।

आज लुट, अपहरण, हत्या, बलात्कार जस्ता अपराध पनि प्रजातन्त्रकै आवरणमा भैरहेका छन् । अझ लोकतन्त्र र गणतन्त्रका आवरणमा त झन् चर्का छन् । कुनै अपराधी पुलिससितको भिडन्तमा म¥यो भने पनि कुनै न कुनै पार्टीको आडमा शहीद घोषणा गरेर दश लाख नगद दिने गरिन्छ । डाँका मर्छ, त्यो पनि शहीद हुन्छ । शर्त एउटै छ- त्यसले कुनै पार्टी समाएको हुनुपर्छ । हत्याका अपराधीलाई अदालतले बीस बर्ष कैद ठेके पनि सत्ताधारीले मुद्दै फिर्ता लिने र आफ्नो पार्टीमा सामेल गर्ने काम गर्छन् । प्रजातन्त्र भनेको त अपराधी र नेतालाई मनपरी गर्ने तन्त्र पो भएको छ यहाँ ।

जुन उद्देश्य र लक्ष्य लिएर पार्टीहरू संगठित भएका थिए, आज त्यो बिर्सिनाले राजनीतिमै अन्योल र विकृति आयो । आदर्श र लक्ष्य नै बिर्सेपछि पथभ्रष्ट हुनु स्वाभाविक छ । त्यस्तालाई देश र जनताको चिन्ता हुँदैन, केवल व्यक्तिगत कमाइको चिन्ता हुन्छ । आजका नेता राष्ट्रको सम्पन्नता र जनताको उत्थान होइन, आफ्नै सम्पन्नताका लागि देशको सार्वभौमिकतालाई समेत दाउमा लगाउँदैछन् । स्वार्थकै निम्ति यिनीहरूले कालापानी बिर्सेका छन्, सुस्ता बिर्सेका छन्, महाकाली नै बेचिदिन पनि बेर नमान्लान जस्तो भैसक्यो । यो ठूलो पथविचलन हो ।

राणा शासनकालमा जीउधन सरकारकोभन्ने चलन थियो । अर्थात् सरकारले चाहेमा जनताको जीउ र धन दुवै लिन सक्थ्यो । १९९७ सालमा यसको उदाहरण देखियो- राजनीतिक अधिकार माग्नेलाई मृत्युदण्ड र सर्वस्वहरण गरेकोबाट । प्रजातन्त्रमा त जीउधनको सुरक्षा गर्नु सरकारको कर्तव्य हुनुपर्ने हो नि ! तर आज पनि सुरक्षाको सट्टा हरण भैरहेको छ । यहाँ प्रतिदिन मारिएकाको संख्याले नै त्यो देखाइरहेको छ भने राष्ट्रको धन खुरुखुरु ठूलाबडा नेता, मन्त्री र उनैका आउरेबाउरेले आर्थिक सहायता भनेर खाइरहेका छन् । गरिबका भागको आर्थिक सहायता यिनैले खान्छन् भने अरु के राख्लान् !

आजको राजनीति, के नीति हो कुन्नि, बिना नियमको खेल भएको छ । न कप्तानलाई नियम लाग्छ, न त खेलाडीलाई नै । खेलाडी नभए पनि कप्तान एक्लै लगौंटी कसेर मैदानमा उभिएका छन्, नहुने कुरा पनि गरेका छन्, बोल्न नहुने कुरा पनि बोलेका छन् । जसरी हुन्छ जनतालाई भ्रममा पार्न सके पुग्यो । राजनीति त शत्रुसाधन गर्ने, स्वार्थ सिद्धि गर्ने र पैसा कमाउने विना लगानीको उद्योग पो भएको छ । लाज-घीन पचाएपछि जे गरे पनि हुँदो रहेछ । यो बेथिति कहिलेसम्म चल्ने हो कुन्नि !

यहाँ राजनीति गर्नुको उद्देश्य जसरी हुन्छ ढाँटढुँट र बेइमानी गरेर जनता झुक्याएर पैसा कमाउनु बाहेक अरु केही सम्झेका छैनन् काइते नेताहरूले । नेता भन्न पनि नसुहाउनेहरू नेता बनेका छन् । ठूलो अग्लो आसनमा बस्दैमा मान्छे ठूलो हुने होइन, असल चालचलन, व्यवहार र गुणले मात्रै मान्छे मान्छेभन्नलायक हुन्छ । आज जो जो नेतृत्वमा छन् अथवा अग्ला अग्ला कुर्सीमा छन्, तिनीहरूले आफू होचो, पुड्को भएको ठानेकै छैन्न, तर यथार्थ के हो भने तिनीहरू ती कुर्सीलायक नभएरै आज देशको दुर्गति भएको छ । नेताको आसनमा बसे पनि जनताको भाग लुटेर खानेलाई जनताले नेता स्वीकार गर्दैनन्, गरेका पनि छैनन् ।



Rating (Votes: )   
Share     Print


Other Articles:
अपराध र अपराधीको साम्राज्यमा चिन्तनधारा पनि प्रदूषित हुनेरहेछ (08.15.2011)
कर्मचारीलाई अनिवार्य पोशाकबाट उठेको प्रश्न : यादब देवकोटा (08.09.2011)
खोई यी प्रचारवाजहरूको इमान र विवेक ? (08.09.2011)
गाईजात्राको मौसममा महागाईजात्राको भाँड नाच प्रदर्शनको प्रयास (08.09.2011)
राष्ट्र प्रयोगको वस्तु होइन, नेतामा चेतना जागोस् : यादब देवकोटा (06.20.2011)
बनाउन नसके पनि विगार्न त छाड्नोस् : महेश्वर शर्मा (06.20.2011)
कुकुर, सरकार, सांसद र संविधानसभा : तारा सुवेदी (06.20.2011)
राष्ट्रिय स्वभीमानका लागि हामीले सिक्नुपर्ने पाठ (06.06.2011)
पाँच बुँदे सहमति : छलछामको पुलिन्दा (06.06.2011)
म्याद थप ः हस्तिनापुरको सपना र सम्भावना (06.06.2011)
पूरा भएनन् जनताका अपेक्षा र राष्ट्रिय दायित्व (05.30.2011)
तराई (मधेश)को शास्त्रीय महत्वको संक्षिप्त विवेचना (05.30.2011)
जागीरको तीन महिना म्याद थपियो ! (05.30.2011)
आशा र निराशाका दुई पृथक विषय (05.30.2011)
प्राकृतिक स्रोत साधन र भौगोलिक वनावटका आधारमा योजना छनोट आर्थिक समृद्धि र आत्मनिर्भरताको प्रय (05.24.2011)



 
::| Latest News

 
[Page Top]