युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.15.2019, 07:33pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
लोकतन्त्र र निर्वाचन ः एक टिप्पणी
Monday, 08.15.2011, 03:04pm (GMT+5.5)

संविधानसभाको म्याद आजका मितिले दुई हप्ता मात्र बाँकी छ । यसबीचमा नयाँ निर्वाचन हुनुपर्नेदेखि संविधानसभाको म्याद थप्नैपर्ने, थप्न नहुने र नथप्दा के हुन्छ, थप्दा के हुन्छ जस्ता अनगिन्ती प्रश्नहरू उठिरहेका छन् । राष्ट्रिय लोकतन्त्र पार्टी नेपालले अब नयाँ निर्वाचनको माग गरिसकेको छ । सो पार्टीले विगत एक वर्ष यतादेखि निर्वाचनको माग गरिराखेको छ । म्याद थप्दै, तोकिएको काम नगर्दै सत्ता संघर्षमै समय बिताउनेहरूलाई जनताको ताजा अभिमत यस्तो छ भनेर दर्शाउने आधार भनेको निर्वाचन नै हो तर निर्वाचनमा जाँदा संविधानसभाको उपलब्धि गुम्ने भय तेस्र्याउने गरिन्छ । लोकतन्त्रमा निरंकुश शासनको जस्तो समय थप्दै मरिसकेको निकाय पुनः पुनः ब्यूँताउने काम कत्तिको शोभनीय हुन्छ भन्ने प्रश्न पनि उठिरहेकै छ ।

लोकतन्त्रको विविध स्वरुप, भूमिका र सैद्धान्तिक-व्यवहारिक पक्षमा यी सबैलाई समेटेर लैजाने एउटा पद्धति निर्वाचन हो । लोकतान्त्रिक पद्धतिका विविध प्रकारका स्वरुप छन्, कार्यशैली छन्, अभ्यास गर्ने निकायका नाम समेत फरक छन् । अरु जे जति फरक देखिए पनि जीवनपद्धतिको रुपमा अभ्यास गर्ने लोकतन्त्रको एउटा मूल आदर्श भनेको सबैमा मिल्ने विषय चाहिं विधिको शासन हो । यो विधिको शासन जीवनपद्धतिमा घुलमिलाउँदै अपरिहार्य भएर विकसित हुँदै जान्छ । विधेयात्मक दृष्टिले, विधेयात्मक व्यवहारले, विधेयक प्रसंगले विधिपूर्वकको अभ्यास गरिने यस्तो लोकतान्त्रिक संस्कार नै मानवीय मूल्यमा आधारित संस्कृति हो । यो सहिष्णु हुन्छ, सद्भावले ओतप्रोत हुन्छ, शान्त हुन्छ, सुस्थिर हुन्छ र प्रतिपक्षको अल्पमतको सम्मान गर्छ । न्यायपूर्ण गतिशील र मर्यादित सीमाभित्र स्वतः अनुशासित अवस्थामा रहन्छ ।

के अहिले त्यस्तो अवस्था छ ? गहन जिम्मेवारी लिएका राजनीतिक दलहरूले त्यसलाई परिपालन गरेका छन् ? एक युगमा एकचोटी आउने संविधानसभालाई उनीहरूले कुन स्तरमा पु¥याइदिएका छन् ? सबैका सामु छर्लङ्गै छ । राजनीतिक दलहरू लोकतन्त्र आधारस्तम्भ भनिए पनि अहिले यिनै दलहरू लोकतन्त्रका कलंक बनिरहेका छ्न । लोकतान्त्रिक संस्थाहरूको संस्थागत विकासले नै लोकतन्त्रले जीवनपद्धतिको रुपमा विकसित हुने अभ्यासलाई बल दिन्छ । यसमा अझ विशेष महत्वपूर्ण भूमिका राजनीतिक दलहरूको रहन्छ । लोकतन्त्रमा अनिवार्य र अपरिहार्य संस्थाका रुपमा आफ्नै भूमिकामा सबै नीतिगत पक्षलाई उर्जा प्रदान गर्दै दलहरू नै क्रियाशील हुन्छन् । बहुदलीय व्यवस्थाको सुदृढ जग नै राजनीतिक दलको विधेयक क्रियाकलाप हो ।

लोकतन्त्रका विविध प्रकारका ढाँचाहरू विश्वमा प्रचलनमा छन् । यसमध्ये संसदीय संस्कृति र बेलायती लोकतन्त्रको ढाँचालाई आ-आफ्नो देशको लोकतन्त्रको आदर्श मान्नेहरू बेलायतलाई नै लोकतन्त्रको जन्मदाता पनि भन्ने गर्छन् । युरोपका सबै मुलुकमा एकैप्रकारको लोकतन्त्रको ढाँचा छैन । एसिया, अफ्रिका, अमेरिकाका लोकतान्त्रिक अभ्यास पनि एकैनासले हुँदैनन् । केही मुलुकहरूको लोकतान्त्रिक परिपाटी मिल्दोजुल्दो भए पनि आ-आफ्नो मुलुकको जनजीवनको स्तर र सामाजिक परिवेश परम्परागत संस्कार र जनभावना अनुरुप लोकतान्त्रिक पद्धतिको आ-आफ्नै ढंगले विकास गरेर लोकतान्त्रिक आचरणलाई जीवनशैली बनाइएको देखिन्छ ।

आफ्ना लागि आफैंले निर्माण गर्ने विधि र व्यवहारलाई लाक्षणिक र शाब्दिक अर्थमा स्वतन्त्रताले पर्याप्त समेटेको छ । यसरी नै प्रजाको शाब्दिक र लाक्षणिक अर्थ र परिवेश विस्तृत छ । प्रको अर्थ प्रकृति र जाको अर्थ जन्मने प्रक्रियालाई छोटकरीमा प्रजाभनिएको हो । प्रजाको अर्थभित्र प्रकृतिमा जन्मलिने सबै चेतन, अचेतन प्राणी, वनस्पति र स्रोत साधन समेटिएका छन् । मानिस मात्र प्रजा होइनन्, प्रजाको परिधिमा प्रकृतिमा उत्पन्न सबै प्राणी, वनस्पति र प्राकृतिक तत्व समेत अटाउँछन् ।

विश्वभरका चर्चित राजनीतिशास्त्रीहरूले लोकतन्त्र र निर्वाचनका बारेमा स्थापित गरेका मूल्य र मान्यतामा पनि लोकतन्त्र निरन्तर बदलिंदो विश्वको निमित्त सबै राष्ट्रका निमित्त अत्युक्तम शासनपद्धति हो र यसलाई सुदृढ, जीवन्त र सफल बनाउने अभ्यासमा अग्रणी अभ्यास निर्वाचन नै हो भन्ने निष्कर्ष छ । यसरी नै विश्वभरका विधिवेत्ता, न्यायमूर्ति र चिन्तक, विचारक सबैले लोकतन्त्र र निर्वाचनकै बारेमा उत्कट सारगर्भित अभिव्यक्ति दिंदै लोकतन्त्र र निर्वाचनको अन्योन्याश्रित प्रगाढ सम्बन्ध रहन्छ र यसको निरन्तर अभ्यासले कुनै पनि मुलुक र मानव समाजको उन्नति हुन्छ, लाभान्वित हुन्छ, सुसभ्य र सुशिक्षित हुन्छ, समृद्ध बन्छ र शान्त, सुरक्षित र सुखी हुन्छ भन्ने मान्यताकै स्थापना गरेका असंख्य सारगर्भित कथनहरू पठनीय छन्, मननीय छन् ।

एसिया होस् वा युरोप, अमेरिका होस् वा अफ्रिका आ-आफ्नै सांस्कृतिक धरातलमा लोकतन्त्रको समसामयिक घटनाक्रममा विशद् वर्णन गरिएको पाइन्छ । लोकतन्त्रको परिभाषित विधि विधानको अन्तरनिहीत भावभूमिमा मानवअधिकार र स्वतन्त्र जीवनपद्धतिको शाश्वत सत्यलाई अत्यधिक महत्व दिइएको छ । यो युगलाई तेस्रो सहस्राब्दी अर्थात् २१ औं शदी भनिन्छ । २१ औं शताब्दीको यो पूर्वाद्र्धमा आइपुग्दा सबै प्रकारका शासन पद्धतिको तुलनात्मक अध्ययन गर्ने विद्वजजनहरूले सर्वोत्तम शासन प्रणालीका रुपमा लोकतान्त्रिक प्रणालीलाई नै उल्लेख गरेका असंख्य प्रमाणिक विधि व्यवहारका स्थापित मूल्य र मान्यता अहिलेको विश्वका सामु छन् । राजनीतिक, आर्थिक, शैक्षिक, सामाजिक संस्कार र संस्कृति सबैको उत्तिकै सम्वेदनशील पक्षको रक्षागर्ने संयन्त्र लोकतान्त्रिक विधि अनुसार खडा भएको संस्थाहरूले यथास्थानमा गर्छन् । लोकतन्त्रका अवयवको रुपमा तत्तत् क्षेत्रमा स्थापित हुँदैजाने यस्ता संस्थाहरूको संस्थागत विकासले नै लोकतन्त्र सुदृढ हुन्छ । यसैलाई लोकतान्त्रिक संस्थागत विकासको रुपमा विवेचना गरिन्छ ।

न्यायपालिका, कार्यपालिका, व्यवस्थापिकाका अंग प्रत्यंग र निकायहरू सबैले लोकतन्त्रको समुच्चा अवयवलाई सुदृढ तुल्याउन निरन्तर संस्थागत विधि र कार्यक्षेत्रको परिधिबाट उर्जा प्रदान गर्नैपर्छ । कुनै एक क्षेत्रको कमी कमजोरी वा अनियमित र अनुशासनहीन क्रियाकर्म वा अस्वस्थ, अवाञ्छित विकृति र विसंगतीले लोकतन्त्रको मर्ममाथि र यसको उच्च आदर्शमाथि प्रहार गर्ने चेष्टासम्म पनि गर्नुहुँदैन । लोकतन्त्रमा रक्तसंचार गर्ने धमनी भनेकै स्वच्छ, निष्पक्ष, धाँधलीरहित आवधिक निर्वाचन प्रक्रिया हो र लोकतन्त्रलाई सुदृढ बनाइने अभ्यास मात्रै निर्वाचनको प्रयोजन होइन, लोकतन्त्रलाई परिस्कृत गर्ने र सक्षम, सशक्त, सक्रिय तथा चीरकालपर्यन्त स्वस्थ, स्वच्छ र गतिशील पार्न पनि आवधिक निर्वाचन हुनैपर्छ । स्वस्थ प्रतिस्पर्धामा लोकतान्त्रिक सबै संस्थाले यथास्थान, यथासमय निर्वाचनमा भाग लिनैपर्छ ।

लोकतन्त्रका आधारभूत स्तम्भ संघ, संस्था वा स्थापित दलहरू नै हुन् । मतदान सार्वभौम जनताको नैसर्गिक अधिकार हो । दलीय अभ्यास गर्ने दलहरूभित्र पनि आवधिक निर्वाचन हुनैपर्छ । दलको नेता समेत निश्चित अवधिमा दलका कार्यकर्ताहरूका बीचमा प्रस्तुत भएर निर्वाचित हुनैपर्ने दलीय संस्कृति र संस्कार छ । एकपटक दलको शीर्षस्थानमा निर्वाचनद्वारा आसीन भएको नेताले आजीवन त्यही स्थान ओगट्न पाइदैन । दलकै विधानमा नै यस्तो लोकतान्त्रिक संस्कृतिलाई लिपिवद्ध गरिएको हुन्छ । शासनारुढ हुने दलका निमित्त असीमित समयको छुट रहन्छ, कुनै दललाई निर्वाचन प्रक्रियाद्वारा शासनमा आरुढ हुन समय सीमावद्ध गरिंदैन । तर एउटै व्यक्तिले त्यो भूमिकाको उपयोग नगरोस् भनेर नै दलीय अभ्यासमा दलको नेतृत्व पंक्तिमा सर्वोच्च पदमा एक व्यक्तिले दुई कार्यकालभन्दा बढी नेतृत्व गर्न नपाउने दलीय विधान कतिपय दलहरूले निर्माण गर्ने गर्दछन् । दलभित्रै आवधिक निर्वाचन हुन्छ र निर्वाचनको स्वच्छता, स्वस्थ परम्परा र सहिष्णुता तथा राग, द्वेषरहित प्रतिस्पर्धामा दलसंग आवद्ध नेता र कार्यकर्ता अभ्यस्त हुनेक्रम निरन्तर चल्नैपर्छ । अर्थात् लोकतन्त्रको अन्तरंग अभ्यास राजनीतिक दल, संघसंस्था लगायत यावत लोकतान्त्रिक परिपाटी अपनाउने सबै प्रकारका संगठित समूहमा यसरी नै निरन्तर हुनैपर्छ । निर्वाचनको महत्व र महिमाको यस्तै विशद वर्णन जति गरे पनि अपुरो नै हुन्छ ।

लोकतन्त्रको रक्तधमनी नै मानिएको निर्वाचनलाई पन्छाउँदै अहिलेका दलीय नेताहरूले कस्तो लोकतान्त्रिक संस्कृतिको विकास गर्न खोजेको हो बुझ्न सकिएको छैन । विगत १० वर्षदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन छन् । जनताको मतद्वारा चुनिनुपर्ने ठाउँमा दलीय भागवण्डाका आधारमा संयन्त्र बनाएर आर्थिक अनियमितता गर्ने काम भैरहेको आरोप लागिरहेको छ । संविधानले संविधानसभाको समयसीमा दुई वर्षको तोकेकोमा सर्वोच्च अदालतले संकटकालीन स्थितिमा मात्र ६ महिना म्याद थप्न पाउने फैसला गरे पनि दलहरूले मिलेर १३ महिनाको म्याद थपिसके । तर परिणाम हातलाग्यो शून्य नै छ ।

मतको शाब्दिक अर्थ विचार हो । मतदानको अर्थ हुन्छ- विचारको दान । विचारको दान सत्पात्र अर्थात् ठीक ठाउँमा गरेर मतदाताले विधेयक पक्षलाई शक्ति हस्तान्तरण गर्छन् । लोकतन्त्रको ठोस अभ्यास गर्ने प्रारम्भिक विन्दु वा धरातल नै निर्वाचनबाटै सुरु हुन्छ र लोकतन्त्रलाई सुदृढ पार्ने विस्तृत धरातल पनि निर्वाचन नै हो । निर्वाचनको महत्वलाई सदैव सबैले स्वीकार्नैपर्छ । निर्वाचनविनाको लोकतान्त्रिक अन्य कुनै पनि अभ्यास अनुचित हो र अनर्गल प्रलाप वा मर्यादाहीन अभ्यासमात्र हो । लोकतान्त्रिक अभ्यास गर्दा नारामाभन्दा व्यवहारमा जोड दिने गर्नु सर्वोत्तम अभ्यास हुन्छ । लोकतन्त्रको मेरुदण्ड वा आधारस्तम्भ भनिने दलहरू नारावादी अभ्यासमै सीमित रहे भने लोकतान्त्रिक व्यवहारिक अभ्यासविनाको त्यस्तो नारावादी अभ्यासले अन्ततोगत्वा लोकतान्त्रिक दलहरू नै कमजोर हुन्छन् । दलहरू कमजोर हुनु नै व्यवहारिक हिसाबमा लोकतान्त्रिक अभ्यासले गति लिन नसक्नु हो, राष्ट्र पछाडि धकेलिंदै जानु हो ।



Rating (Votes: )   
Share     Print


Other Articles:
हिजो र आज : जनताले भोगेको अनुभव (08.15.2011)
अपराध र अपराधीको साम्राज्यमा चिन्तनधारा पनि प्रदूषित हुनेरहेछ (08.15.2011)
कर्मचारीलाई अनिवार्य पोशाकबाट उठेको प्रश्न : यादब देवकोटा (08.09.2011)
खोई यी प्रचारवाजहरूको इमान र विवेक ? (08.09.2011)
गाईजात्राको मौसममा महागाईजात्राको भाँड नाच प्रदर्शनको प्रयास (08.09.2011)
राष्ट्र प्रयोगको वस्तु होइन, नेतामा चेतना जागोस् : यादब देवकोटा (06.20.2011)
बनाउन नसके पनि विगार्न त छाड्नोस् : महेश्वर शर्मा (06.20.2011)
कुकुर, सरकार, सांसद र संविधानसभा : तारा सुवेदी (06.20.2011)
राष्ट्रिय स्वभीमानका लागि हामीले सिक्नुपर्ने पाठ (06.06.2011)
पाँच बुँदे सहमति : छलछामको पुलिन्दा (06.06.2011)
म्याद थप ः हस्तिनापुरको सपना र सम्भावना (06.06.2011)
पूरा भएनन् जनताका अपेक्षा र राष्ट्रिय दायित्व (05.30.2011)
तराई (मधेश)को शास्त्रीय महत्वको संक्षिप्त विवेचना (05.30.2011)
जागीरको तीन महिना म्याद थपियो ! (05.30.2011)
आशा र निराशाका दुई पृथक विषय (05.30.2011)
प्राकृतिक स्रोत साधन र भौगोलिक वनावटका आधारमा योजना छनोट आर्थिक समृद्धि र आत्मनिर्भरताको प्रय (05.24.2011)



 
::| Latest News

 
[Page Top]