युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 10.24.2019, 10:33am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
सदावबहार संक्रमणकाल ः तरमार्ने मौका
Monday, 08.22.2011, 03:18pm (GMT+5.5)

"नियम गर् ध्यान गर् खानैका लागि" भन्ने उखान यहाँको राजनीतिमा ठ्याक्कै लागू हुन्छ । माधव नेपाललाई कुर्सीबाट झार्न झलनाथले जति कसरत गरेका थिए त्योभन्दा कम दण्डबैठक झलनाथलाई झार्न माधवओलीले पनि गरेनन् । त्यो केका लागि थियो त ? भन्दा खानैका लागि । अब पनि त्यो कुर्सीमा जो आए पनि उसलाई झार्ने कसरत आफ्नैबाट हुनेछ भन्ने निश्चितै छ । यहाँ प्रत्येकलाई आफैं मात्र बन्ने धून छ । देश जतासुकै जाओस्, जनता मरुन् कि बाँचुन, मतलब छैन । जति दिन भए पनि अथवा तेह्रै दिनमात्र भए पनि नाम त चढ्यो नि । प्रचण्डका पाउ परेर सिंहदरबारमा फोटो चाहिं टाँस्योभनेर झलनथालाई आफ्नै पाथेभाइले भने पनि फोटो टाँस्नु र आफ्नो बन्दोबस्त गर्नु बाहेक कसले पो के गरे खै ?

यहाँ पदीय उत्तरदायित्व निर्वाह गर्नुपर्नेहरुले आफ्ना गल्ती र कमजोरी लुकाउन संक्रमणकालमा यस्तै होभन्ने गरेका छन् । के संक्रमणकाल अनन्त हुन्छ ? ग्रहराशिको पनि र ऋतु एवं दिन रातघडीपलाको पनि एक ठाउँबाट अर्कोमा सर्ने निश्चित समयसीमा हुन्छ । तर के राजनीतिक या शासनसत्ता सम्बन्धी संक्रमणलाई आफ्नै गल्तीले निरवधि बनाएर सधैं मनपरी गरिरहने छुट हुन्छ ? राजाले शासनसत्ता छोडेको कति वर्ष भयो ? अझै पनि संक्रमणकाल भनेर फुत्कन खोज्नु जायज हो ? झुक्याएर जति बढी दिन खानसक्यो खायो । आहाः क्या गजबको अर्जुनदृष्टि नेताहरुको ! यो सधैं हराभरा संक्रमणकाल यिनीहरु छोड्नै चाहँदैनन् । संक्रमणकालको वहानामा तरमार्ने मौका पो भएको छ ।

नैतिक शक्तिबिनाको राजनीति काम लाग्दैन, स्थिर पनि हुँदैन । नैतिक शक्ति नहुने नेताले बारम्बार कुरा फेर्छन् । राजनीतिक अस्थिरताको कारण नै यही हो । नैतिक चरित्रहीन र नेतामा हुनुपर्ने गुण नभएकाहरुलाई नेता बनाएपछि निष्ठाको राजनीति हुनैसक्दैन । त्यस्ता काइते नेताले राजनीतिलाई जनतालाई भ्रममा पारेर ठग्ने र आफूले भ्रष्टाचार गरेर कमाउने विनालगानीको पेशा बनाइरहेका छन् र भन्छन्– ‘संक्रमणकालमा यस्तै हुन्छभनेर । राजनीतिलाई अनुशासनिहनि र मर्यादाहीन बनाउने यस्तैहरु हुन् ।

जनतालाई नेतृत्व दिन्छौं भनेर राजनीति गर्न अघिसरेका नेता नै भ्रष्ट हुन्छन् र जनताप्रतिको दायित्व बिर्सन्छन् भने विकृति आउनु र अराजकता फैलनु स्वाभाविक हुन्छ । आजको स्थिति त्यस्तै छ, तर नेताहरु सरकार बनाउने र बिगार्ने खेलमै रमाइरहेका छन् । जनताको सुखसुविधा सोच्ने, शान्ति व्यवस्था कायम गराउने, रोजगारी सिर्जना गर्ने, भ्रष्टाचार रोक्ने र सर्वोपरि रुपमा अनुशासन कायम गराउनुपर्ने बेलामा पनि कुर्सीकै झगडामा अल्झिने हो भने के को आशले जनता यो व्यवस्थाका पछि लाग्छन् ? नेताहरु अझै पनि होसमा नआउने हो भने जनताले सधैं पर्खलान् ? यहाँ यस्ता प्रश्नैप्रश्न छन्, तर नेताहरु कानमा कपास कोचेर बसिरहेका छन् ।

राजनीति गर्छौं भन्नेहरुले अलि फराकिलो सोचाइ राखेर स्वार्थको साँघुरो घेरामा नअल्झिएका भए देशमा आजको जस्तो दुर्दशा देख्नुपर्ने थिएन । आज हरेक क्षेत्रमा अव्यवस्था र अराजकताको बिगबिगी छ । आजको जस्तो असहज स्थिति जनताले भोग्नुपरेकै थिएन । एकातिर सधैंको बन्द, सधैंको हड्ताल र तोडफोडले जनजीवन त्यसै आहत छँदैथियो, त्यसमाथि भ्रष्टाचार र उर्लदो महंगीले ढाडै भाँचेको छ । असुरक्षाले गर्दा चौबीसै घण्टा जगजगी छकसले कुनबेला सिध्याइदिन्छ भन्ने त्रासले गर्दा । यस्तो स्थितिले निरन्तरता पाइरहने हो भने जनताको धैर्यको बाँध फुट्न बेर लाग्ला र !

जिम्मेवारी लिएकाहरुले तारलाग्ने काम नगरी अलपत्र पार्नाले जनताको विश्वास धरमराएको स्थिति छ आज । जनता निराश भएर नेताहरुप्रति आक्रोश पनि पोख्न थालेका छन् । आज हरेक क्षेत्रमा भएन, भएनमात्रै सुनिन्छ । तर भएनभनेर मात्रै पनि त भएन, समाल्ने नेतृत्व पनि चाहियो । तर खोई त्यस्तो नेतृत्व ? जसले जनतामा विश्वास जगाउन सकोस् । आफू जति नै नालायक भए पनि असल र अरु जति नै असल भए पनि नालायक देख्ने र सत्तामा सधैं आफैं मात्र टाँस्सिन खोज्ने प्रवृत्तिले नै यहाँ बाटो छेकेको छ । आजकै जस्तो भाँडभैलो मच्चाइरहने हो भने हामी अघिबढ्न सकौंला ? आजको अव्यवस्था, अनुशासनहीनता र अराजकता हाम्रै अविवेकको परिणाम हो भन्ने सम्झेर नेताहरु नसमालिने हो भने बाटो खुल्ने सम्भावना ज्यादै क्षीण छ ।

यहाँ सुरक्षा सम्बन्धी निकायहरुका साथसाथै शिक्षा, स्वास्थ्य, कृषि, उद्योग वाणिज्य र वित्तीय क्षेत्र समेत राजनीतिक हस्तक्षेपबाट आहत छन् । व्यावसायिकता कतै छैन, छ त केबल राजनीति । सिपाही, पियन नियुक्तिदेखि प्रबन्धक, निर्देशक, योजना प्रमुख, विभागीय प्रमुख मात्रै होइन, संवैधानिक निकाय, राजदूत, उपकुलपति, प्राज्ञहरुका नियुक्तिसम्म नेताहरुले ¥याल काढेर आफ्नै पार्टीका व्यक्ति या अनुयायी हुनुपर्ने अड्डी लिंदा ती सबै संस्था एक प्रकारले निस्क्रिय र बेकम्मा भैसकेका छन् । आज प्रत्येक कार्यालय, संस्था, संस्थानका कर्मचारी, विभिन्न पार्टीका कार्यकर्ता रहेकाले तिनले आफ्नो हाकिम पनि आफ्नै पार्टीको आफैंले रोजेको हुनुपर्ने भनेर आन्दोलन गरिरहेका छन् । विश्वविद्यालयहरुको हालत त विग्रेकै थियो, अब त्यो रोग बैंकहरुमा समेत सरेको छ । अनुशासनहीनता र कानुन नियमको अवज्ञाको यो चरम स्थितिले कतै देशकै अस्तित्व संकटमा पर्ने हो कि भन्ने डर भैसकेको छ ।

त्यसैले अब कि त जुनजुन अस्पताल, बैंक, विश्वविद्यालय, संस्थान, प्रतिष्ठानहरुमा जतिथरि पार्टीका कर्मचारी, विद्यार्थी या श्रमिक छन् त्यति नै थरि हाकिम उनीहरुले भने बमोजिम नै भर्ना गर्नुप¥यो, नत्र सधैं बिरोध, हड्ताल र तालाबन्दी, तोडफोड गराइरहनुभन्दा ती सबै संस्था, कार्यालय नै बन्द गरिदिए भयो । जनतालाई विदेशी बैंकमा पैसा जम्मा गर भनिदिए भयो र विद्यार्थीहरुलाई पढ्न उतै जाओ भनिदिए भयो । होइन भने सरकारका नाममा ठूलाठूला पदमा बस्नेहरुले सोच्नुप¥यो र आफू र आफ्ना हनुमान छाडा छोड्नुभएन, मर्यादा सीमाभित्र राख्न सक्नुप¥यो । राजनीति गर्छु, सरकार चलाउँछु भन्ने हो भने केही त गर्नुप¥यो नि । सधैं कति गाइजात्रा मात्रै देखाइरहने ?



Rating (Votes: )   
Share     Print


Other Articles:
श्री झलनाथ खनाल नेतृत्वको अर्धवार्षिक सरकारको शव परीक्षण (08.22.2011)
जनताका आशा, भरोसा र विश्वास टुट्दैछ (08.15.2011)
लोकतन्त्र र निर्वाचन ः एक टिप्पणी (08.15.2011)
हिजो र आज : जनताले भोगेको अनुभव (08.15.2011)
अपराध र अपराधीको साम्राज्यमा चिन्तनधारा पनि प्रदूषित हुनेरहेछ (08.15.2011)
कर्मचारीलाई अनिवार्य पोशाकबाट उठेको प्रश्न : यादब देवकोटा (08.09.2011)
खोई यी प्रचारवाजहरूको इमान र विवेक ? (08.09.2011)
गाईजात्राको मौसममा महागाईजात्राको भाँड नाच प्रदर्शनको प्रयास (08.09.2011)
राष्ट्र प्रयोगको वस्तु होइन, नेतामा चेतना जागोस् : यादब देवकोटा (06.20.2011)
बनाउन नसके पनि विगार्न त छाड्नोस् : महेश्वर शर्मा (06.20.2011)
कुकुर, सरकार, सांसद र संविधानसभा : तारा सुवेदी (06.20.2011)
राष्ट्रिय स्वभीमानका लागि हामीले सिक्नुपर्ने पाठ (06.06.2011)
पाँच बुँदे सहमति : छलछामको पुलिन्दा (06.06.2011)
म्याद थप ः हस्तिनापुरको सपना र सम्भावना (06.06.2011)
पूरा भएनन् जनताका अपेक्षा र राष्ट्रिय दायित्व (05.30.2011)
तराई (मधेश)को शास्त्रीय महत्वको संक्षिप्त विवेचना (05.30.2011)
जागीरको तीन महिना म्याद थपियो ! (05.30.2011)
आशा र निराशाका दुई पृथक विषय (05.30.2011)
प्राकृतिक स्रोत साधन र भौगोलिक वनावटका आधारमा योजना छनोट आर्थिक समृद्धि र आत्मनिर्भरताको प्रय (05.24.2011)



 
::| Latest News

 
[Page Top]