युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 04.05.2020, 11:09pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
अराजक जातिवादी संकीर्णता - महेश्वर शर्मा
Wednesday, 09.18.2013, 12:13pm (GMT+5.5)

असल नेताले जे बोल्छ त्यही गर्छ, तर काइते नेता चाहिं छिनछिनमा कुरा फेर्छ । एकछिन अघि के बोलेको थिएँ र अहिले के बोल्दैछु भन्नेसम्म पनि ख्याल राख्दैन । पहिले गिरिजा र अहिले प्रचण्डको स्थिति त्यस्तै त्यस्तै छ । आजका माओवादी नेता जातिवादी संकीर्णताको घेरामा छन् । सम्पूर्ण जनताका नभएर केही जाति विशेषलाई लिएर हिंड्न खोज्दा आफ्नै दललाई बेफाइदा भैरहेको यथार्थ बुझेकै होलान्, तैपनि किन अलमलिएका हुन् कुन्नि ! सबैको विश्वास जित्ने हो भने अब अलमलिनु हुँदैन । हालको चर्चा अनुसार विगत असफल संविधानसभाले गरेका कामको जिम्मा आगामी संविधानसभाले लिने भनेको सुनिंदैछ । अघिल्लो परीक्षामा फेल भएका विद्यार्थीले पाएका नम्बर पछिल्लो परीक्षामा जोडेर नतिजा निकाल्न मिल्छ र ? कामै गर्न नसकेर असफल (विघटित) सभाले गरेका कामको स्वामित्व आउने सभाले लिन्छ भनेर कसरी भन्न सकिन्छ । त्यस्तै पछि बन्ने संविधानसभाका अन्तर्वस्तुमा चार दलले आजै सहमति गरेर संविधानसभालाई तालि बजाउन लगाउने सोचाई त होइन ? अब बन्ने संविधानसभालाई चार दलले आफ्नै खल्तीको बस्तु बनाउन खोजेका हुन् ? त्यसै हो भने त्यस्ता कठपुतली सभाबाट जनपक्षीय संविधानको आशा नगरे हुन्छ । पछिल्लो सभासदका हातखुट्टा नेताहरूले आजै बाँध्न खोजेका हुन् भने त्यो गलत कामले अरु समस्या उब्जाउने छ । अबको संवधानसभामा आजका नेताका अरौटे भरौटे मात्र हुनेछन् भन्ने के ग्यारेन्टी छ ?

भावी संविधानसभाले बनाउने संविधानको खाका चार ठूला दलले आजै तयार पार्ने र राज्य पुनःसंरचनाको स्वरुप निर्धारण गर्ने हो भने संविधानसभाकै निर्वाचन किन गराउनु पर्यो ? पार्टी नेताले आजै गरेको निर्णयमा छाप ठोक्नका लागि मात्र संविधानसभा बनाउने हो भने नौटंकी मात्र हुनेछ । सम्भवतः त्यस्तै नाटक मञ्चन गर्न भनेर नै आँखा चिम्लेर ताली बजाउन समानुपातिक घुरान बटुल्ने परिबन्द मिलाएका छन् । प्रजातान्त्रिक परिपाटी नै मान्ने हो भने जनताबाट प्रत्यक्ष निर्वाचितलाई मात्र प्रतिनिधि मान्नुपर्छ, नेताका दास अथवा गोठाला, खेताला, हरूवा–चरुवालाई भर्ती गरेर जनताको प्रतिनिधित्व हुँदैन । अपवाद बाहेक आफ्ना पक्षमा ताली बजाउनेहरूलाई नै अघिल्लो संविधानसभामा समानुपातिक सदस्य बनाएको देखिएकै हो । प्रथमतः संविधानसभाको निर्वाचन पटकपटक गरिनु नै गाइजात्रा हो भने यो पटक पनि समानुपातिकमा राम्रा मान्छे पर्ने अवस्था झिनै छ । त्यसैले दोस्रो संविधानसभाको निर्वाचन भयो नै भने पनि त्यो अयोग्यहरूकै बाहुल्य भएमा आश्चर्य नमाने हुन्छ ।

त्यति मात्रै पनि नभएर नेताहरू जातजातिबीच द्वेष फैलाउन उद्यत देखिन्छन् । एक जाति बिरुद्ध अर्का जातिलाई भड्काइरहेका छन् । विभिन्न जातजातिबीचको सद्भाव खल्बल्याइरहेका छन् । नेताले त समाल्ने काम पो गर्नुपर्नेमा यहाँ विगार्ने काम मात्रै भएको छ । समाजमा शोषण र अत्याचार छ भने विरोध गर्नुपर्छ, तर यी निर्दोष जातजातिले के विगारेका छन् र नेताहरू झगडा पार्न अघि सर्छन् ? धनी र गरीबका कुरा हो भने पनि धनी र गरबि त जुनसुकै जातमा पनि छन् । जहाँ जसले जे भनिदिंदा मनपराउँछन् नेताले त्यही भन्दै हिंड्ने हो भने नेता र सामान्य मानिसमा के फरक भयो ? नेताले त तीतै भए पनि जनतालाई सही कुरा भनेर चित्त बुझाउन सक्नुपर्छ, बयलपाते कुरा गर्न नेतालाई सुहाउँदैन । लाज पचाएर जनतालाई मूर्ख बनाउन खोजेर कति दिन चल्छ ? यो टिकाउ हुने काम हुँदै होइन । जनतालाई जात–भाषा–धर्म र प्रान्तका आधारमा जुधाएर स्वार्थ पूरा गर्ने नेताका जालबाजी अब त जनताले पनि बुझ्न थालेका छन् । आजको स्थितिमा हिटलरी शैलीको जातिवादी भाषणको यहाँ कुनै अर्थ छैन । युद्धसंग कुनै सम्बन्ध नभएका गरसैनिक नागरिको नृशंस हत्या गेर बलिदान र बहादुरीको बखान गर्ने माओवादीको भनाइ आफैंमा कायरताको नमूना हो ।

सत्तामा नपुगुन्जेलका क्रान्तिकारीहरू सत्तामा लुटपुटिएपछि बोधा र भुत्ते भएका छन् । जनताको पक्ष लिने उनीहरूको क्रान्तिकारीता अहिले निजी सम्पन्नतामा अलमलिएको छ । लुटपाट, जवर्जस्ती असुली या जुनसुकै उपायको कमाइबाट भए पनि अघाएर टन्न भएपछि जनता बिर्सेका छन् । गणतन्त्र आएपछि फलिफाप हुन्छ, जसले जे चाहन्छ त्यही पाउँछ, सबैका समस्या समाधान हुन्छन् भनेर झूठा आश्वासन बाँड्नेहरूले मनपरी गरेर सोचेभन्दा र खोजेभन्दा पनि बढी हासिल गरिसके तर जनताका निम्ति भने समस्या अरु जटिल बन्दै गए । सर्वहाराको पक्ष लिनेहरू आज आफैं जनताको सर्वस्वहरण गर्नेमा पुगेको देखेर जनतामा एक प्रकारको घृणा उत्पन्न भएको छ ।

पृथ्वीनारायण शाहले नेपालाई सबै जातजातिको साझा फूलबारी भनेर विनाअर्थ भनेका थिएनन् । एकथरि मात्रै फूल भएको फूलबारीभन्दा थरिथरि फूल भएकै बगैंचा सुन्दर हुन्छ– भनिरहन पर्दैन । त्यसैले प्रत्येक फूलको आफ्नै प्रकारको बास्ना र बान्की हुन्छ भनेर नै नेपाललाई यहाँ भएका सबै जातको साझा फूलबारी भनिएको थियो । आज यस सुन्दर बगैंचाका फूललाई उखेलेर साझा फूलबारी मास्न चाहने ठिमाहाहरू निस्कन थालेका छन् । ‘सयौं फूल फुल्न देउ, हजारौं विचारलाई खेल्न देउ’ भन्ने आफ्ना गुरुको उपदेश नेपाली कम्युनिष्टले कसरी बिर्सेका हुन् अथवा कम्युनिज्मबाट च्यूत भएका हुन्– बुझ्नै गाह्रो भएको छ ।

नेताहरूले हिजो आज सोझासिधा इमानदार युवकलाई पार्टी स्वार्थका निम्ति प्रयोग गरेर उनीहरूको आदत नै विगारिदिएका छन् । जवर्जस्ती चन्दा असुल्ने, ठेक्का पट्टा र योजनाहरूमा दादागिरी गर्न लगाएर योजना कार्यमै बाधा विरोध गर्ने, जनतालाई आतंकित र त्रस्त पारेर लुट्ने जस्ता नराम्रा काम सिकाएपछि देशको होनहार युवा शक्तिले रचनात्मक बाटो छोडेर ध्वंशात्मक दिशामा लाग्यो भने के होला ? नाम चाहे वाईसीएल होस्, युथ फोर्स होस् या तरुण दल होस्, उत्पादन बिग्रेड होस्, त्यस्तै सिको गर्दै हिंडे भने भोलि काम नपाएर हल्लेर हिंडेका लुच्चा, लफंगाको जमात तयार भएर युवा पुस्ता नै लुटपाट, बलात्कार, चोरीचाकरी, हत्या हिंसामा अभ्यस्त हुँदै गयो भने भयावह स्थिति उत्पन्न हुनसक्छ । विपक्षीलाई दनक दिन भनेर हिट्लरका ‘स्टोर्म ट्रयर’ जस्ता छाडा दल भातृ संगठनका नाममा हुर्कदै जाँदा यिनका काम अपराधिक क्रियाकलापमा पुगेर थिग्रिन सक्छन् भन्ने वास्तविकता नेताहरूले सोचेनन् भने आफ्ना आकांक्षा पूरा नहुँदाका दिन यिनैले पहिले नेतालाई नै निशाना नबनाउलान् भन्नेन के छ ? राज्यले नै गुण्डा पाल्ने हो भने बस्न खान नहोला ?

त्यस कारण सम्भावित भावी अनर्थबाट जोगिन नेताहरू स्वयं संयमित भएर सौहार्दपूर्ण राजनीतिक प्रतिस्पर्धामा आउनुपर्छ, पालेका माफिया प्रकृतिका तत्वका भरमा राजनीति गर्छौं र चुनाव जित्छौं भन्ने होडवाजी गर्ने हो भने चित्त नबुझेका दिन आफैंले तयार पारेका उच्छृङ्खल जमातले आफैंलाई खानसक्छ । आजको जमानामा पनि छाडातत्वका भरमा राजनीति गर्ने र सबै जातका साझा फूलबारी मास्न खोज्ने जातिवादी संकीर्ण चिन्तनले काम दिन्छ भन्न सोचाई बेलैमा छोडनु राम्रो हुन्छ ।

निष्कर्षमा भन्नुपर्दा– टुक्राटुक्रामा बाँडेर बनाइने संघीयता देशका लागि अभिशाप हुन्छ । त्यस्मा पनि कुनै पनि जातजातिको एकल बहुमत नभएको देशमा जातित्वका आधारमा संघ राज्यहरूको नामाकरण गर्नु घातक काम हुन्छ । संघ नै चाहिएको हो भने पाँच विकास क्षेत्रलाई नै संघ माने हुन्छ । जनतालाई अधिकार चाहिएको हो, भेदभावको अन्त्य चाहिएको हो, संघ चाहिएको होइन । यो वास्तविकतालाई उपेक्षा गरेर बलजफ्त गरियो भने भयानक गल्ती र अनिष्ट हुनेछ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
विधि विधान र कानून कसका लागि ? - तारा सुवेदी (09.18.2013)
संचार ग्रामलाई जग्गा - युवराज पाण्डे (09.18.2013)
युवालाई चुनौं मुलुक बनाऔं - यादब देवकोटा (09.10.2013)
निवृत्त अनुभवी जनशक्तिको सदुपयोग खै ? - तारा सुवेदी (09.10.2013)
प्रचण्डको प्रवचनमाथि विवेचना - महेश्वर शर्मा (09.10.2013)
सम्वेदनाहीन राजनीतिक स्वार्थको मात्र बढोत्तरी - यादब देवकोटा (09.04.2013)
निरोहरू बीचको एक्लो दास - तारा सुवेदी (09.04.2013)
बेथिति र निर्लज्जताका केही बान्की - महेश्वर शर्मा (09.04.2013)
फाँडौं झाडी, नजाऔं खाडी - दुर्गाप्रसाद दहाल (09.04.2013)
जोखिमपूर्ण बन्दैछ मानव सभ्यता - यादब देवकोटा (08.28.2013)
‘भिजन’विनाको संघीयता - महेश्वर शर्मा (08.28.2013)
पहिला गाईजात्रा अहिले जात्रैजात्रा - तारा सुवेदी (08.28.2013)
आमराष्ट्रिय सहमतिको अपरिहार्यता (08.21.2013)
आफ्नो लाज छोप्न अरुलाई नंग्याउनुपर्छ ? - यादब देवकोटा (08.21.2013)
थरिथरिका कुरुप दृश्य - महेश्वर शर्मा (08.21.2013)
न्यायको भिख माग्दा राज्यद्वारै यातना : प्रचण्डको उपहार नजरबन्द (08.21.2013)
मरेर बाँचेका मरिचमान ः ज्यूँदै मरेका नेताहरू - खगेन्द्रराज सिटौला (08.21.2013)
माओवादीले जातीय राज्यको मुद्दा छाड्ने ? - तारा सुवेदी (08.21.2013)
हिंसाको एउटा कारण : जलवायु परिवर्तन - यादब देवकोटा (08.14.2013)
यथार्थ बुझेर पनि नेता किन बहकिएका ? महेश्वर शर्मा (08.14.2013)



 
::| Latest News

 
[Page Top]