युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 04.05.2020, 09:11pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
जातिभेद मान्ने कम्युनिष्ट नेपालमै निस्के - महेश्वर शर्मा
Wednesday, 10.02.2013, 01:23pm (GMT+5.5)

विगत एक दशकमा देशमा जेजति अन्याय, अत्याचार, भ्रष्टाचार देखिएको छ, त्यति कहिल्यै भएको थिएन । तर त्यस बिरुद्ध दह्रो आवाज उठाउने कोही भएन, किन होला ? भनेर हालै एउटा जमघटमा एकजनाले प्रश्न उठाएका थिए । त्यसको जवाफमा एकजनाले– “विरोध गर्न सक्नेहरू सबै शासन सत्तामै गैहाले, अब कसले विरोध गर्ने ? तिनैका भातृसंगठन भनिएका ट्रेड यूनियनहरू, दादा, डन, झ्यापुल्ले, मुन्द्रेहरूलाई शासनकहरूले पालेकै छन् । उनीहरूलाई लुटेर खाने स्वतन्त्रता दिएकै छन् । अनि कसरी सरकारका मनपरी र सामाजिक आर्थिक भ्रष्टाचारको खोजी हुन्छ ? यसरी विरोध गर्न सक्नेहरूकै मुखमा बुझो लगाइदिएपछि कसले विरोध गर्ने ?”

हुन पनि हो– प्रतिदिन महंगी बढ्दो छ तर कोही बोल्दैन । सरकारमा हुनेलाई खाँचो छैन, अरु को बोल्ने ? सरकारकमा हुनेहरू र दलका नेताहरू जे भन्छन् काम चाहिं ठीक उल्टो गरिरहेका छन्, तर विरोध कतै छैन । लोकतन्त्र र गणतन्त्रका नारा भट्याउँछन्, तर काम चाहिं निरंकुशतालाई पनि उछिन्ने खालको छ । स्वार्र्थसिद्ध हुन्छ भने छिनछिनमा भाका फेर्न पनि बेर मान्दैनन् । त्यसमा पनि सत्ता प्राप्तिका लागि त जस्तोसुकै अपराध कर्म गर्न पनि संकोच मान्दैनन् । राष्ट्रिय एकताको मर्मलाई तिलाञ्जली दिएर उग्र जातीयताका पक्षमा उभिएको पनि देखिएकै छ । जनपक्षीय आदर्श परम्परालाई नै लत्याएर उल्टो दिशातिर फर्काउन खोज्दैछन् । बेरोजगारी र जनताका अरु समस्याको निराकरण गर्नु सट्टा आफ्ना भातृ संगठनलाई लुटपाट, तोडफोड, बन्द, हड्ताल गर्न लगाएर बहादुरी देखाउँदैछन् । हरेक कुरालाई जात र धर्म सम्प्रदायसंग जोडेर समाजमा द्वन्द्व निम्त्याउने काम गर्दैछन् ।

सम्झौतापछि मओवादीको विध्वंश थामिएको सम्झेर जनतामा आशा जागेको थियो तर उनीहरू सत्तामा अएपछिका उच्छृङ्खल क्रियाकलाप (जात, धर्म र प्रान्तका आधारमा फाटो पार्ने) देखेर जनता झन् निराश भएका छन् । माओवादीहरू विजय उन्मादमा जनतालाई बलजफ्त दबाएरै निरंकुश शासन चलाउन चाहन्छन् भन्ने कुरा उनीहरूकै ध्वाँस र धम्कीबाट बुझ्न सकिन्छ । ‘कहीं नभएको जात्रा हाँडीगाउँमा’ उखान चरितार्थ पार्दै जातिभेद मान्ने कम्युनिष्ट त नेपालमा मात्रै निस्के । जनइच्छा विपरीत गएर क्षणिक स्वार्थ पूरा भए पनि त्यो दीर्घकालमा आफ्नै लागि अनिष्ट हुने सम्झेका छैनन् । हुन त जनताको विश्वास जित्नुभन्दा बलजफ्त सत्ता कब्जामा विश्वास गर्नेलाई जनसमर्थनको त्यति आवश्यकता नपर्ला, तैपनि संसदीय व्यवस्था मान्ने भनेर आइसकेपछि पनि तानाशाही प्रवृत्ति देखाइरहनुबाट शंका यथावत नै रहेको छ ।

हठवादी नेताहरू जनतालाई सार्वभौम बनाउने भाषण गर्छन् । त्यो भनेको सम्भवतः जनतालाई अधिकारसम्पन्न बनाउने भन्ने होला, तर व्यवहारमा हेर्ने हो भने जनता कहिल्यै पनि अधिकारसम्पन्न हुन पाउँदैनन् । त्यो अधिकारको प्रयोग केही टाठाबाठाले मात्र गर्दैआएको इतिहास छ । जनता त भ¥याङ मात्रै हुन्छन् बेइमान, टाठाबाठा र ठूलाठालूलाई माथी उकास्ने । संसारमा कुन निमुखाले प्रजातान्त्रिक अधिकार उपभोग गर्न पाएको छ पाँच वर्षमा एकपटक अरुकै इशारामा एउटा मत दिन बाहेक ? पुष्पकमल दाहाल र उनका महलमा भाँडा माझ्ने, लुगा धुने मान्छेकै स्थिति तुलना गरे हुन्छ । यही हो त जनवाद या गणतन्त्र अथवा सर्वहाराको शासन ? नेताका लहैलहैमा सडकमा टाउको फुटाइमाग्ने एकथरि हुन्छन्, तिनैका आन्दोलनका भरमा प्राप्त अधिकार उपभोग गर्ने अर्कैथरि निस्कन्छन् । एकथरिको तानाशाहीको विरोधमा नेताले जनतालाई सडकमा उतार्छन् र आफू सत्तामा पुग्छन्, तर उनले पनि पूर्ववर्तीकै बिंडो थाम्छन् र अनि ती सडकछापलाई अर्काथरिले उचाल्छन् र आन्दोलन गर्न लगाउँछन् अनि तिनले पनि आफ्नै दुनो सोझ्याउँछन्, जनताको दुर्नियति चाहिं जस्ताको तस्तै रहन्छ ।

त्यसैले प्रजातन्त्रमा जनता बलिया हुन्छन् भनेर कसरी पत्याउने ? बलिया त जहिले पनि नेता र सत्ताधारी मात्रै भएका हुन्छन् । यही हो सबैतिरको यथार्थ । त्यसकारण ‘आफैं नमरी स्वर्ग देखिंदैन’ भनेझैं प्रत्येक व्यक्ति स्वयं सचेत र जागरुक नभएसम्म यो राजनीतिक ठगीधन्दा रोकिदैन । मान्छेको उत्थान र पतन आफ्नै हातमा हुन्छ । जनता आफैं जाग्नुपर्छ, अर्काको भरले मात्रै हुँदैन । जनतालाई उठ्न दिने वातावरण तयार पारिदिने काम दलहरूको हो, नेताहरूको हो तर खोई ? जता हेरे पनि र जहाँ गए पनि तलका टाउकामा टेकेर माथिकाले मोज गर्ने विपरीत क्रम चल्दैआएको छ । त्यसमाथि थप नेपालमा जातीय विद्वेष फैलाएर आत्मघात गराउन खटिएका आईएनजीओलाई प्रश्रय दिएर सरकारले नै आफ्ना खुट्टामा आफैं बञ्चरो हान्ने काम गराइरहेको छ । प्रत्येक नेपाली स्वयं शतर्क रहनुपर्ने अवस्था छ आज ।

आज यहाँ राजनीतिक तमाशा छ । नेताहरू दुनियालाई आफ्नै नालायकीको प्रदर्शनी देखाइरहेका छन् । विदेशीहरू त्यही तमाशा हेरिरहेका मात्र होइन, उपदेश पनि दिइरहेका छन् । भारतबाट आउने एउटा सचिव (कर्मचारी)ले पनि राष्ट्रपति, प्रधानमन्त्रीलाई सजिलै भेटेर मन्त्रदान गरेर छोड्छ आफ्ना स्वार्थका कोणबाट । यहाँको विग्रेको परिस्थितिलाई आफ्नै अनुकूलतामा ढाल्न नेतालाई लोभ्याइरहन्छन् । यस्तो अवस्थामा पनि दुर्भाग्य के भने नेताहरू देश हेर्न बिर्सन्छन् । क्षणिक स्वार्थ मात्र हेर्छन् । कोही भन्छन्– दुई तिहाई नपुगेर संविधान बनाउन सकेनौं, अबको चुनावमा दुईतिहाई दिनोस् संविधान बनाइदिन्छौं । अर्काथरि पनि त्यसै भन्छन्– हाम्रो पार्टीले बाहेक अरुले जनताको संविधान बनाउनै सक्दैन । यसरी ठगी धन्दाको अर्को चरण सुरु भएको छ । नयाँ नारा सुनेर जनताले पुराना बेइमानी बिर्सन थालेका छन् । ‘पहिले काम देखाउन अनि भोट माग’ भनेर अडिनुपर्नेमा झूटा आश्वासनका भरमा जनता फेरि ठगिन सक्छन् । जनताको बिर्सने बानी र अज्ञानताको फाइदा पटकपटक लुटिरहेका छन् ।

यहाँ कस्तो विडम्बनापूर्ण स्थिति छ भने नेता बेपत्ता धनी छन्, तर जनता बेपत्ता गरीब । किन यस्तो ? हामी किन गरीब भयौं, कसले हामीलाई गरीब बनायो ? भनेर सोच्नेसम्म शक्ति जनतामा छैन । जनता भनेर नगण्य शहरिया, सुकिला–मुकिला होइन, अनकन्टार गाउँका जनतालाई सम्झनुपर्छ जो निरक्षर छन्ु, निष्पट अन्धकारमा छन् र एकछाक रोटो पिठो जुटाउन पनि धौ धौमा छन् । जनताको गरीबीको यो स्थिति रहिरहने हो भने भोलि धनी नेताले पनि सुख पाउने छैनन् । समाजमा रोग व्याप्त छ भने नेता मात्रै सधैं निरोग रहन सम्भव हाला र ?

अशिक्षा र गरीबीका कारण भाग्यवादमा विश्वास गर्ने जनसंख्या बढी छ । उनीहरू स्वर्थान्ध नेता र सामाजिक अव्यवस्थाका कारण हामी गरीब भयौं भन्ने अझै बुझ्दैनन् भने नेताहरू त बुझाउनै चाहँदैनन् । जनता जागरुक भएमा आफ्नो मनपरी चल्दैन भन्ने नेतालाई थाहा छ । त्यसैले जनतालाई छलछाम गरिरहन्छन्, भ्रममा पारिरहन चाहन्छन् । भाषणमा एउटा कुरा र काम अर्कै गर्छन् । आजसम्म यस्तै हुँदैआएको छ तापनि सधैं यसरी कामचल्ने छैन । ठीकसंग अघि बढ्ने हो भने नेताका काम गराइका ढाँचामा परिवर्तन ल्याउनैपर्छ । अब त जनताले नेताका भाषण सुन्ने मात्र होइन, कामै हेर्नेछन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
वैद्यजीलाई “रिङ्ग आउट गर्ने” खेलको परिणाम के ? - तारा सुवेदी (10.02.2013)
भारतको सहयोग, चीनको हस्तक्षेप ! - यादब देवकोटा (09.18.2013)
अराजक जातिवादी संकीर्णता - महेश्वर शर्मा (09.18.2013)
विधि विधान र कानून कसका लागि ? - तारा सुवेदी (09.18.2013)
संचार ग्रामलाई जग्गा - युवराज पाण्डे (09.18.2013)
युवालाई चुनौं मुलुक बनाऔं - यादब देवकोटा (09.10.2013)
निवृत्त अनुभवी जनशक्तिको सदुपयोग खै ? - तारा सुवेदी (09.10.2013)
प्रचण्डको प्रवचनमाथि विवेचना - महेश्वर शर्मा (09.10.2013)
सम्वेदनाहीन राजनीतिक स्वार्थको मात्र बढोत्तरी - यादब देवकोटा (09.04.2013)
निरोहरू बीचको एक्लो दास - तारा सुवेदी (09.04.2013)
बेथिति र निर्लज्जताका केही बान्की - महेश्वर शर्मा (09.04.2013)
फाँडौं झाडी, नजाऔं खाडी - दुर्गाप्रसाद दहाल (09.04.2013)
जोखिमपूर्ण बन्दैछ मानव सभ्यता - यादब देवकोटा (08.28.2013)
‘भिजन’विनाको संघीयता - महेश्वर शर्मा (08.28.2013)
पहिला गाईजात्रा अहिले जात्रैजात्रा - तारा सुवेदी (08.28.2013)
आमराष्ट्रिय सहमतिको अपरिहार्यता (08.21.2013)
आफ्नो लाज छोप्न अरुलाई नंग्याउनुपर्छ ? - यादब देवकोटा (08.21.2013)
थरिथरिका कुरुप दृश्य - महेश्वर शर्मा (08.21.2013)
न्यायको भिख माग्दा राज्यद्वारै यातना : प्रचण्डको उपहार नजरबन्द (08.21.2013)
मरेर बाँचेका मरिचमान ः ज्यूँदै मरेका नेताहरू - खगेन्द्रराज सिटौला (08.21.2013)



 
::| Latest News

 
[Page Top]