बिष र प्रदूषित खुवाउने होड चलेको देश
“राजधानी काठमाडौँका अधिकांश मान्छेको सर्वाधिक मनपर्ने मःमःमा प्रयुक्त हुने मासु बेतबसेका बूढी भैँसी, बाख्री र भूनीहरूको हुन्छ” भन्ने जति थाहा थियो, “कालगति वा रोगले मरेका जनावारहरूको सिनो पनि फालिँदैन र ती सिनोहरू पनि मःमः पसलमा पुगेर खसी, राँगा र चिकेन मःमःको रुपमा रुपान्तरित भएर विक्छन्” भन्ने पनि त्यत्तिकै सुनिएको थियो । आजभन्दा ३०÷३५ बर्ष अघि आफू डेरा गरी बसेको कमलपोखरीका शाहको घरमा पालिएका कुखुराकै कुन खण्ड खातीर परेर हो बिहानदेखि साँझसम्ममा झण्डै दुई सय जति मरेका थिए । ती “घरधनी बाबुसाहेबले” कोल्ड स्टोरेजवालालाई फोन गरेपछि कोल्ड स्टोरेज (प्रोजन हाउस) वालाले गाडी लिएर आई ती सबै बिहानदेखि साँझसम्म मरेका कुखुरा साबुद (जिउँदा) कुखुराकोभन्दा आधा मोल भुक्तानी गरेर उठाएर लगेको खुद आफैले देख्नुपरेको थियो ।
त्यतिमात्रै होइन, काठमाडौँ र वरपरका शहरका पर्यटकलाई “नेपाली खाना” खुवाउने बार, रेष्टुँराहरूमा “मृगको सुकुटी” भनेर जे खुवाइन्छ त्यो नजीकका जिल्ला र खास गरी काभ्रे, सिन्धुपल्चोक, नुवाकोटतिर मरेका गाई, गोरु, भैँसीहरूको सिनोको सुकुटी ल्याएर बेचिने वस्तु हुन्छ” भन्ने कुरा धेरै मित्रहरूबाट थाहा पाइएको थियो । राजधानीका कतिपय फ्री तिब्बेतियनहरू र उनका जाति समुदायको बाहुल्यता भएका ठाउँमा रातीमा सडकका गाई र छाडा साँढे चोरी गरेर बस्तीभित्रको घर छिडीमा लगी काटेर गाई, गोरुको मासु खान मनपराउनेहरूको घर घरमा पु¥याइन्छ” भन्ने कुरा मेरा त्यस्तै ‘गोमांसभक्षी’ मित्रहरूबाट सुने, जानेको थिएँ । यसै मेलो मेसोमा कतिपय रेष्टूँरा, डान्सबार, र मिठो परिकारको मासु, तास, सेकुवा पाइने भनेर नाम र दाम निकै कमाएका ठाउँमा काठमाडौँका भुस्याहा कुकुर, मरेका गाई वा बाच्छाको मासु खुवाउने गरिएको समेत सुनिएको छ ।
तर “दशकौँदेखि निकै नाम कमाएका नेपालीका ठेट रैथाने जाति समुदायले उत्पादन गरेको ‘ताजा गुदँपाक’ देखि भारतीय मारवाडीहरूले चलाएका आँगन, अनमोल, किसनभोग आदि निकै सफा, सुग्घर र स्तरीयजस्ता देखिने मिष्ठान्न भण्डारले बनाउने मिठाईहरूमा प्रयोग हुने वा गर्ने वस्तुसम्म त्यति कल्पनै गर्न नसकिने गरी प्रदूषित, सडेगलेका विषाक्त र जनस्वास्थ्यलाई गम्भीरआघात पार्ने हुन्छन्, तिनीहरूमा घिऊको नाममा जनावरहरूको बोसो र सडे कुहेको खुवा वा कच्चा पदार्थ प्रयोग गरिन्छ” भन्ने अनुमान भने सायद कसैले पनि गरेको थिएन । त्यसैले उपत्यका बाहिर मात्रै नभई सात समुद्रापारीको न्यूजिल्याण्ड देखि अमेरिका बस्ने छोरा छोरी, नाती नातिना, इष्टमित्रहरूलाईसम्म नेपालबाट ती मिष्ठान्न भण्डारबाट उत्पादित मिठाईहरू पठाउने गरिएको थियो ।
मोफसलका बासिन्दा मात्रैले नभई राजधानीका रैथानेहरूले समेत “सुत्केरीका लागि राम्रो हुन्छ” भन्ने विश्वासमा काठमाडौँको “ताजा गुँदपाक भण्डार” कै उत्पादन गूँदपाक, पुष्टकारी, लाखामरी किनेर कोसेलीको रुपमा लैजाने वा पठाउने आम चलन नै बसेको थियो । यद्यपि पुरानो गूँदपाकलाई पुष्टकारी बनाउन प्रयोग गरिने र गूँदपाकमा खुवाको सट्टा ताइचुङ्ग वा पहाडतिर ‘अनदी’ भनिने निकै ठूलो दाना हुने विशेष प्रकारको चामलको पिठो प्रयोग गर्ने गरिन्छ कि ? भन्ने आशंका लागेको थियो । तथापि दुनियाँले आँखा चिम्लिएर पत्याएको र सधैँ त्यत्रो भीड लाग्ने ‘ताजा गूँदपाक’ त्यो हदको प्रदूषित, विषाक्त र ज्यानै लिने खालको होला भन्ने लागेको थिएन । पीपलको बोट अगाडिको पचासौँ वर्ष पुरानो त्यस्तो नाम र दाम कमाई ताहाचलमा त्यत्रो अर्बौको अचल सम्पत्ति जोडेको मास्के परिवारले यो हदको घटिया, र ज्यानै मार्ने वा जिउ ज्यानलाई घात नै गर्ने कार्य गर्ला भन्ने सोच्ने पनि कसरी ? भलै काठमाडौँ कै रैथाने समुदायका कतिपयले “मास्के परिवारले कुहे सडेको कवाडी खानाको मिठाईबाट ‘ताजा गूँदपाक’ बनाई दुई वटा बैंक किनेको” नसुनाएका होइनन् । तर ‘जातीय इष्र्या डाहाले भनेको हो कि’ भन्ने ठानियो ।
यति मात्रै होइन । काठमाडौँमा बाँकी रहेका जमीनमा उत्पादित खास गरी, साग, मूला, गाँजर, सलगम जस्ता तरकारीहरू विष्णुमती, धोवीखोला, मनोहरा, हनुमन्ते जस्ता “शहरका ढल र मल बाहिनी” खोलामा पखाल्ने गरेको नदेख्ने कमै हुनुपर्छ । त्यस्ता वस्तु ल्याएर सामान्य रुपमा धोए जस्तो गर्ने पनि कमै होटल रेष्टुँराहरू छन् । महँगोमा किन्नुपर्ने पानी खर्चनगरी बजारबाट जस्तो ल्यायो त्यस्तैलाई काटेर ग्राहक सामु पेश गर्ने आम प्रचलन छ ।
तरकारीहरूमा अस्वस्थकर रासायनिक मल प्रयोगगरी अधिक उत्पादन गराउने आम प्रचलन भई सकेकोले त्यसलाई अपराध पूर्ण कार्यको सीमा बाहिर राख्नु पर्ने भइसकेको छ, त्यस्मा विवाद नगरौँ । तर कीरा मार्न र रोगलाग्नबाट बचाउन ज्यादै गम्भीर असर पार्ने विषादी प्रयोग गरिएको ठाउँबाट सोही दिन वा एक दुई दिन भित्रै तरकारी निकालेर बजारमा ल्याउने गरिएकोलाई न कहीँ कतै जन चेतनात्मक प्रचार प्रसार गर्ने निरोधात्मक काम भए गरिएको छ, न त चेक जाँच नै । किसानले जानाजान उपभोक्ताहरूलाई ठाडै विष खुवाईरहेका छन्, उपभोक्ताहरूले विचरा अनजानमा खाइरहेछन् ।
केही दिन पहिले तराई मधेस र छिमेकी भारतबाट काठमाडौँमा ल्याई बिक्री गरिने माछामा “फर्मालिन” कि यस्तै कुनै रासायनिक पदार्थ हालेर ल्याउने गरेको सुनियो । त्यस्तो “लाश सड्नबाट बचाउन प्रयोग गरिने रासायनिक पदार्थ” राखेर ल्याइएका माछा कैयन् दिन सम्म नसड्ने, नगहनाउने त हुन्छन्, तर त्यस्ता माछा खाँदा मानव स्वास्थ्यलाई भने निकै गम्भीर र हानिकारक असर पार्दछ” भन्ने कुरा एक जना चिकित्साशास्त्री मित्रले सुनाएका थिए ।
अहिले काठमाडौँ जस्तो सधैँ खानेपानीको न्यूनआपूर्ति हुदैँ आएका क्षेत्रमा मात्रै होइन । मोफसलका शहरी क्षेत्रमा समेत ‘बोतलबन्द’ र ‘जार’मा भरिएको पानी बिक्री हुने गरेको छ । “प्रदूषित र अप्रशोधित पानी खानु हुँदैन” भन्ने चेतना नेपालीहरूमा निकै बढेको छ । तर पनि पहाडी खोल्सा, वा नदी मुहानको मात्रै नभई आर्सनिक तत्व प्रचूरमात्रामा मिसिएका, भूमिगत श्रोतदेखि काठमाडौँका वरपर बाग्मती विष्णुमतीका किनाराका जमीनभित्रबाट रोअर पम्प वा ट्यूववेलबाट पानी भरेर बोतलबन्दी गर्ने, जारमा भर्ने र “प्रशोधित मिनरल वाटर” को नाममा राजधानी लगायतका शहरी क्षेत्रमा बिक्री वितरण गर्ने कमाउ धन्दा निकै मौलाउँदो छ । यथार्थमा जुन पानी काठमाडौँ खानेपानी संस्थान (हालको के.यू.के.एल) ले आपूर्ति गर्ने पानी भन्दा बढी हानिकारक र कैयन् रोगका किटाणुले परिपूरित र अति हानिकारक रासयनिक तत्व मिश्रित छ” तर यसप्रति न सरकार सचेत देखिन्छ न उपभोक्ता नै । जहाँ जाँदा पनि “बोतल बन्द र जारको पानी” भनेपछि उपभोक्ता निश्चित र निशंक भएर खाने गरिरहेको छन् । यहाँ यसो भनि रहँदा के यू.के.एल्ले ढलको मल मिसाएर वितरण गरेका बखतको पानी पनि ठीक हुन्छ भनेर भन्न खोजेको भने किमार्थ होइन ।
अहिले ‘तयारी चाउचाउ’ राजधानीका घर, स्कूल, खेतबारीमा मात्रै नभई हिजोका मकै भाटमास र आटो रोटोलाई समेत विस्थापित गरी एक्च्छत्र व्यापक र विस्तारित हुँदै गएको छ । ती “चाउ चाउ” हरू खाँदा र तयार गर्दा जति स्वादिलो (यो शब्द दाङ्गतिर साह्रै अश्लील मानिने रहेछ) र सजिलो छ स्वास्थ्यका लागि हानी गर्ने बाहेक पौष्टिकतत्व (न्यूट्रेशनभ्यालू) त्यत्ति नै शून्य प्राय छ” भन्ने कमैले बुझेको देखिन्छ । अझ उदेकलाग्दो त के देखिन्छ भने यो यथार्थतालाई बुझेकैले पनि “के गर्ने त ! विकल्प नै छैन” भन्दै खाँदै गरेको देखिने गरेको छ ।
त्यस्तै मुटु रोग र क्यान्सरको सबैभन्दा बढी श्रोत मानिने ‘अजिनोमोटो’ नामक वस्तु अत्यधिक मात्रामा राखि बालबालिकाहरूका लागि निकै स्वादिलो लाग्ने “क्य्राकर, चिप्स, कुर्कुरे”जस्ता तयारी खानाका उत्पादक र बिक्री कर्ताहरूले अस्वाभाविक र असंभव खालका पुरस्कार दिने आकर्षक विज्ञापन गर्दै उपभोक्तालाई स्वास्थ्य र आर्थिक दुवै रुपमा निकै ठगी राखेका छन् ।
तर ती सबै कुराप्रति न सरकारको ध्यान गएको छ, न त उपभोक्ता नै सचेत भएको देखिएको छ । अहिले त तिनै कडा विषतुल्यवस्तु उत्पादन गरेर अर्बपति मात्र नभई खर्बपति बनेकाहरू नै राज्य र सरकारको लगाम समाएर “आफूले चाहे अनुसारको राज्यको नीति र सरकार परिवर्तन गर्न सक्ने” हैसियतमा छन् । हँुदा हुँदा त्यस्ता हानीकारक वस्तुका उत्पादकले खूद उत्पादन मूल्य (लागत) बढीमा ३÷४ रुपियाँ भन्दा बढी नलाग्ने बस्तुलाई १२÷१५ रुपियाँ सम्ममा बिक्री गरेर जनता ठगेका पैसाले पार्टी, नेता, शासक, प्रशासक, सुरक्षाका प्रभावशालीहरूलाई किन्नेमा प्रयोग गरी रहेको सुनिएको छ । त्यत्ति मात्रै नभई दक्षिण एशिया र खाडी मुलुकमा अर्बौ रुपियाँ बराबरको विदेशीमुद्रा लगेर आवास भवन बनाउने सम्ममा खर्चिइएको छ भनिन्छ। निर्वाचनमा त्यही मन्दवीष खुवाएर कमाएको रकमले ठूलो प्रभाव परेको छ ! जनता माथि दमन शोषणकारी निरंकुश सरकार लाद्ने सम्मको शक्ति देखाएको छ ।
बनस्पति घ्यू र विभिन्न नामको तेलको कथा र खेल अझ पत्याउनै नसकिने किसिमको छ । २०३६ सालको उत्तरार्धमा (२०३६ चैत्र २४–२६ तिर जस्तो लाग्छ) त्यसबेला सम्म आयात प्रतिवन्धित बिषाक्त रेपसिड तेल ८००० (आठ हजार) टनको आयात अनुमति पत्र जारी भयो । (त्यसमा को कस्ले के कति लिए खाएर जनतालाई मन्द बिष खुवाउने जघन्य जनघाती काम गरेका थिए ? त्यसमा छुट्टै चर्चा गरौला त्यता नजाउँ) त्यसबेला देखि सावुनमा मात्र प्रयोग हुने रेपसीड र पाम आयल निर्वाध ल्याएर विभिन्न ब्राण्ड र नामका “बनस्पति घ्यू” र “खाने तेलका” नाममा बिक्री भइरहेछ । अहिले त चाउ चाउ र ती मन्दबिष नेपालका दूर दराजका गाउँ वेसी सम्म पुगिसकेको छ । “क्यान्सर मुटुरोग लगायतका नयाँ नयाँ खाले रोग त्यही तेलको भेलले नेपाल भर छताछुल्ल पारेको हो” भन्नेमा सायदै निकै कमलाई मात्र थाहा होला । दुःख त के कुराको छ भने नेपालीलाई त्यस्तो मन्दवीष खुवाउने मुख्य श्वेतपोश अपराधीहरु अहिले पनि नेपाली समाजमा “सम्मानित र ठूला मान्छेमा” मनिदैछन्, गनिदैछन् ।
माथि उल्लेख गरिएका उपभोक्ता जनतालाई मन्द विषदेखि गम्भीर रोग लगाउने, अन्ध अपाङ्ग बनाउनेसम्मका विषाक्त, प्रदूषित र मिसावटयुक्त अखाद्य पदार्थ खुवाउने र ठगी गर्ने गरिएका केही उदाहरण हुन् । यहाँ उल्लेख गर्न बाँकी रहेका तर गर्नैपर्नेमा बाल, वृद्ध, रोगीहरुले खानैपर्ने दूध, औषधि, बाल आहारको रामकहानी कम छैन । ती सबै या त अस्वस्थकर, अप्रयोग्य अखाद्य छन् या मिसावटयुक्त प्रदूषित र म्याद नाघेका हुन्छन् । होटल, चमेनागृह सर्वत्र जूठा भाँडा साबुन पानीको भाँडोमा राखेर निकालेर र पुछेर त्यसैमा ग्राहक (उपभोक्ता)लाई खाना पस्किने सर्वत्र यौटै थिति छ । सबै ग्राहकलाई सबैको जूठो भाँडाका माध्यम जूठो खुवाउने सर्वैव्यापी भएको छ ।
अब कारबाही होला कि नहोला ?ः–
यसरी सम्पूर्ण विषाक्त, प्रदूषित र अखाद्य र धर्म–परम्पराबाट अभक्ष मानिएका वस्तुहरूलाई “ठीक र उपभोग योग्य” हो भन्ने विश्वासमा पारेर जनघात गर्नेहरू उपर कुन हद सम्म कारबाही हुन्छ ? “उपभोक्ताको हकहित संरक्षण” को ठेकेदारी लिएका देखि कारवाही गर्ने लाल–मोहर पाएकाहरू सम्मकाले उल्टै यस्ता मुद्दालाई भयदोहन (ब्ल्याक मेल) गरि मागीखाने भाँडो बनाउने हुन् कि भन्ने आशंका एकातिर छ । अर्कोतिर भगवान् पशुपतिनाथ नमान्ने धर्म सम्प्रदाय र मतावलम्वीहरूलाई पनि यस्ता यावत् विषाक्त र प्रदूषित कुकुर, बंगुर, सुँगुर,हरूले पनि नखाने नपचाउने वस्तु खाँदा पनि पचाउने शक्ति दिने र बचाउने पशुपतिनाथ भगवान्को असीम कृपा हो भन्ने कि नभन्ने ? । जेहोस्,
प्रजातन्त्र आएपछिको नेपालमा दशकौँ देखि दशौँ प्रधानमन्त्री जन्मे, सरकार बनाए, गए । सत्तामा पुग्नेले देखे भ्याए र पाए जति सोहोरे र कुम्ल्याएर गए । जनताको कामका नाममा राजश्व र विदेशीले दिएको सहायता ऋणबाट विकासको नाममा झारा टार्ने र भ्याए सम्म राजश्व मारेर सातपुस्तालाई पुग्ने कमाए । “जनताद्वारा, जनताको निमित्त जनताको सरकार” भन्ने प्रजातान्त्रिक शासन व्यवस्था आएपछि होस् वा “नेपाली जनताको सर्वोत्तमहित र समुन्नतिको निमित्त स्थापित” भनिएको दल विहिन प्रजातान्त्रिक पञ्चायत प्रणाली” को तीसबषै शासन कालमाहोस्, अथवा आधा दशकको संघीय लोकतान्त्रिक गणतन्त्रकालमा होस् । जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने, बजारमा बिक्री भइरहेका तयारी खाद्यवस्तु र खाद्यान्नहरूको गुणस्तर के कस्तो छ ? भन्ने विषयमा यति गम्भीर भएर सघन रुपमा सायद पहिले कहिल्यै बजार निरीक्षण, अनुगमन र छापा पार्ने काम भएन । यदि हिजोको राज्य वा सरकारले जनताको स्वास्थ्य र हकहितका प्रति सचेत र उत्तर दायित्वबोध गरेको भए, अथवा “आफुले तिरेको ‘कर’को वा प्रजातन्त्रको र विकासको प्रतिफलको नाममा सूकोदाम नपाएको गरिब, विपन्न सीमान्तीकृत र आवाजविहीन नेपाली जनताको टाउकोमा गह्रौँ भार बोकाउनेमा” बाहेक “सरकार जनहित र जनस्वास्थ्य प्रति पनि सचेत र उत्तर दायी छ” भन्ने बोध गराउने नैतिक न्यूनतम दायित्वबाट ती उक्त सरकारहरू च्यूत नभएको भए आजको जस्तो जनस्वास्थ्यप्रति अनुमान नै गर्न नसकिने सीमान्त तल्लो स्तरको “छाडा–लूटको छूट” पाएको बोध द्रव्यपिशाचहरूले गर्न पाएका हुँदैनथेँ । त्यस अर्थ र दृष्टिमा “डा. बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकारको आजको बजार निरीक्षण अनुगमन र सबै खाद्य बस्तुहरूको प्रयोगशालाबाट सघन परीक्षण गर्ने क्रम शुरु गरेको”मा जय मनाउनै पर्छ । “स्याबासी पाउन र दिन लायकको कामको थालनी गरेको” भन्नै पर्छ । दलगत आग्रह दुराग्रले हेरेर राम्रो कामलाई पनि “राम्रो र ठीक भन्यो, प्रशंसा गरियो भने आफ्नो दललाई हानी हुने वा आफ्नो दलको भन्दा विरोधीदलको तारिफ गरेको ठहरिने हुन्छ” भन्ने सोचियो भने “त्यो घटिया र निम्नकोटी वा स्तरको दरिद्र एवं दुष्ट निकृष्ट सोचाई हो भन्ने निष्कर्ष निकाल्नपर्छ” भन्ने लाग्छ ।
तर वर्तमान सरकाले दशैँको मुखमा बजार अनुगमन निरिक्षण वा चेक जाँचको जुन अभियान शुरु गरेको छ, त्यो पूर्ववर्ती सरकारहरूका उच्च पदस्थ शासक प्रशासक र प्रहरी संगठनका अधिकारीहरूको दशैँ खर्च उठाउने परम्परगत नियमित (रुटिङ्ग) प्रकृया” भन्ने र मान्नेको संख्या सानो छैन । यसैले “भ्रष्टाचारमा शून्य सहनशीलता” को नीति घोषणा गर्नु भएका वर्तमान प्रधानमन्त्रीले विपन्न देखि सम्पन्नसम्म, अथवा रोडपतिदेखि करोडपतिसम्म, हुँदा खानेदेखि हुने खानेसम्मका सम्पूर्ण उमेर समूहका (विदेशबाट आयात गरी खानसक्ने हैसियतका बाहेक) उपभोक्ता र ग्राहकहरूको सम्पूर्ण जीवन पद्धति र पक्षसँग प्रत्यक्ष सम्बन्ध भएका खाद्यवस्तु र तयारी खाद्यसामग्रीको जथाभावी, नाफामुखी उत्पादन गर्नेदेखि बजार मूल्य, मिसावट आदिसम्ममा स्थायी र प्रभावकारी निरीक्षण, अनुगमन र शून्य सहनशीलताको पारदर्शी कठोर कारबाहीको स्थायी स्थिति बसाल्न सक्नुभयो, उपभोक्ता हक पहत संरक्षणका लागि सशक्त र सर्वाधिकारसम्पन्न आयोग स्थापित गर्ने प्रतिबद्धता देखाउनुभयो भनेमात्र पनि डा. भट्टराई जनमस्तिष्कमा सधैँ स्थापित हुनु हुनेछ ।
शान्ति र संविधान नदिएपनि स्वाबासी लिने काम ः–
वहाँले आफू कुनै पनि बेला कुनै पनि दलका षडयन्त्रका धरापमा पर्ने खतरालाई दृष्टिगत गरी दीर्घकालीन धेरै राम्रा र स्वर्णिम स्वप्न जगत्को निर्माण गर्ने योजना बनाउनेतिर भन्दा दुई तीन वटा मात्र व्यापक जन सरोकारका सबै जाति, वर्ग, क्षेत्र, समुदायका लागि समान चासोका तात्कालिक योजना र कार्यक्रम युद्धास्तरमा थालनी गर्नु बुद्धिमत्तापूर्ण हुनेछ । उदाहरणका लागि निर्माण शुरु गर्ने चरणमा पुगेपनि सरकारको मुखताकेर बसेको एस.एन् पावर कम्पनीलाई ८४० मेगावटको तामाकोशी ३, जलविद्युत तत्काल शुरु गर्न अभिप्रेरित गर्ने, निजगढ–काठमाडौँ, दु्रतराज मार्गलाई एक बर्षभित्र ट्रयाक खोल्ने र अर्को एक बर्षमा दुई तर्फी बनाई यातायात चालू गर्ने, पाँचै विकास क्षेत्रमा “जेष्ठ नागरिक अवास ग्राम” निर्माण गर्ने कार्यक्रम तत्काल शुरु गर्न सकिन्छ । अथवा भन्सार सुविधा सहितको विशेष सुविधा दिई जेष्ठ नागरिकहरूलाई सबै प्रकारको सार्वजानिक यातायातका साधनमा पचास प्रतिशत छूट दिने “कानुनी प्रावधानमा मात्र सीमित” व्यवस्थालाई तत्काल लागू गराउने कार्य गर्ने आँट र अठोट गर्नु भयो भने सम्भवत मनमोहन अधिकारी जसरी ‘आ.गा.आ.व.’ र ‘सामाजिक सुरक्षा भत्ता’ कार्यक्रमले इतिहासका अमर प्रधानमन्त्री हुनु भयो र त्यही इतिहास बेचेर एमाले आजसम्म जीवित रह्यो । त्यो भन्दा पनि जनताका मन मथिंगल र आस्थाका भित्रि पत्रमा डा. बाबुराम भट्टराई र माओवादी बाँच्नेछ । तर अरुतत्काल “असम्भवम्” नीतिकथाको “सुनको मृगको शिकार”को पछिलाग्ने बाटो समाए डा. भट्टराई किमार्थ हिजो झैँ लोकप्रिय हुनुहुने छैन । चेतना भया ।