युगसम्बाद साप्ताहिक

एकपछि अर्को गल्तीको परिणाम : यादब देवकोटा
Monday, 09.26.2011, 02:27pm (GMT5.5)

व्यक्तिगत आकांक्षालाई राष्ट्रिय मुद्दा बनाएर त्यसैमा सबैलाई लतारेर लाने प्रयास गरियो भने त्यो मुलुकका लागि सर्वाधिक दुःखद् सन्दर्भ हुने नेपालको विगत पाँच वर्षयताको राजनीतिक घटनाक्रमले देखाइसकेको छ । सत्ता स्वार्थमा चुर्लुम्म डुबेका नेताहरूले भारतको प्रत्यक्ष सहभागितामा गरिएको १२ बुँदे सम्झौतापछि मुलुक सपारिनेभन्दा अस्तव्यस्त हुने क्रम बढ्यो । त्यो सम्झौता स्वच्छ मनले गरिएको भए यसको नतिजा अहिलेसम्म आइसक्थ्यो तर त्यसमा शुद्ध मन थिएन, शुद्ध विचार थिएन । त्यसैले विस्तृत शान्ति सम्झौता, संविधानसभा, अन्तरिम कालको भनिएको संविधान, धर्म निरपेक्ष राज्य, संघीय गणतन्त्र र यसका निमित्त बुनिएका तुनाले कतैबाट पनि राष्ट्रले गति पाएन– कुनै राजनीतिक निकास निस्केन । यति धेरै चक्रव्यूहमा राष्ट्रलाई फसाएर सबै संरचना ध्वंश गरे–गराएर, पिता–पुर्खा सबैलाई सरापेर, जताततै धरापै धराप थापेर आखिरमा यो कालखण्डका नेताहरूले के पाए त ? प्रधानमन्त्रीको कुर्सीका लागि विगत तीन वर्षयता मरिहत्ते गरिरहेका छन् । जसले १२ बुँदे सम्झौता गरायो उसको अभीष्ट पूरा भैसकेको छ । १२ बुँदे सम्झौता नेपाललाई सुखद् गन्तव्यमा पु¥याउने थिएन । त्यो त अधुरो राजमार्ग थियो ।
काठमाडौंबाट नारायणघाटसम्म सबै संगै हिंडे तर त्यसपछि कोही पूर्व लागे, कोही पश्चिम लागे । त्यसैबाट प्रष्ट हुन्छ १२ बुँदेको औचित्य । हिंसालाई शान्तिमा बदल्ने नाममा मुलुक ध्वस्त पार्ने विदेशीको षड्यन्त्रमा नेताहरू सामेल हुन पुगे । विश्व राजनीतिमा हिंसा र बन्दुक अग्राह्य छ भन्ने विश्व समुदायका अगाडि युरोपियन युनियन वा निकटस्थ छिमेकी राष्ट्रहरू हिंसालाई सदाका लागि विदा गर्ने कुरामा साँच्चै नै दृढ छन् वा ‘मुखमा रामराम बगलीमा छुरी’ लोकोक्ति चरितार्थ गर्छन् ? अझै हेर्न बाँकी छ । नेपालको शान्ति प्रक्रिया र संविधान लेखनका नाममा अथाह धनराशी फ्याँकेर आफू अनुकूलको सामाविक बनोट निर्माण गर्ने कार्यमा लागेका सम्बन्धित मुलुकहरूले नेपालको पुनःसंरचनाका नाममा किन गलत नारालाई प्राथमिकता दिए ? यो पनि बहसकै विषय हो । परिवर्तनको नाममा भैरहेको अहिलेको गतिविधि नेपालको राष्ट्रिय एकता र सार्वभौम अखण्डताका निम्ति ग्राह्य नहुँदा नहुँदै पनि नेताहरू त्यस्तै नाराको पछि दगुरिरहेका छन् ।
शान्ति र समानताको नाममा हिन्दु धर्म र संस्कृतिमाथि क्रुर दमन गर्न बाउनका काँधका जनै चुँडाए जस्तै टुपी काटेर मुडुल्याए जस्तै मन्दिर भत्काएर वा भानुभक्त, पृथ्वीनारायण शाह प्रभृत्ति राष्ट्रिय विभूति भनिनेहरूका सालिक खण्डित गरेर, गाई पूजक हिन्दुहरूलाई गिज्याउँदै गाई काट्ने स्वतन्त्रता पाउनुपर्ने माग समेत उठ्न थालेको छ । अन्तरिम संविधानले गाईलाई राष्ट्रिय जनावर मानिसकेपछि पनि गाई काट्न पाउनुपनेृ माग उठ्नु मुलुकमा विधिविधानको खिल्ली उडेको मान्ने कि नमान्ने ? यस्तो स्थितिको उत्पन्न कसले ग¥यो ? राष्ट्रिय जनावर भक्षण गर्ने संस्कृति कुन मुलुकमा होला ? यसको जवाफ कसले दिने ? १२ बुँदेदेखि विस्तृत शान्ति सम्झौताको अगुवाई गर्ने गिरिजा त अहिले छैनन् तर जो बचेका छन् यो प्रसङ्गमा तिनको इतिहास कस्तो लेखिएला ?
इतिहास भीडले लेख्दैन । भीडले घटना मात्र घटाउँछ । इतिहास चेतना भएको इतिहासकारले लेख्छ । नेपालको धार्मिक मानचित्रमा अहिलेसम्म धार्मिक साम्प्रदायिक विद्वेष थिएन । अब सुरु भयो भने त्यसको दोषभागी को हुने ? इसाई धर्म प्रचारकै निमित्त मात्र धर्म निरपेक्षता कसैले चाहेको हो वा धर्म निरपेक्ष राष्ट्र नै नेपाल हुनैपर्ने के कारण छन् ? ९० प्रतिशत जनता धर्म सापेक्ष भएको मुलुकमा कसका सन्काहटमा धर्म निरपेक्षता घोषित भयो ? अहिलेसम्मको गतिविधि नियाल्दा कतै गणतन्त्र र संघीयताको घोषणा पनि यस्तै सन्काहटको परिणत त होइन भन्नुपर्ने स्थिति छ । यदि होइन भने दुई वर्षको अवधि लिएको संविधानले तीन वर्ष तीन महिना पूरा गर्दा पनि किन संविधान बनाउन सकेन ? संघीयताको मोडेल किन सार्वजनिक भएन ? यो कुराको जवाफ अहिलेको ठूला भनिने दलका शीर्ष नेताहरूले दिनुपर्छ कि पर्दैन ? सहमतिको राग अलाप्दै विमतिको खेती गर्नेहरूले सहमति कहाँ कहाँ कुन कुन कुरामा भयो ? आम जनता र राष्ट्रको हितमा चाहिएको सहमति किन हुँदैन ? आम जनताका यस्ता प्रश्नको उत्तर दिने नैतिक साहस नै नेताहरूमा छैन ।
सहमतिको शाब्दिक र लाक्षणिक दुवै अर्थले एकता अर्थात् कुनै पनि विषयवस्तु वा काम कुरामा एकमत हुनु वा काम गर्नुपर्ने बुझाउँछ । सर्प, बिच्छी र भ्यागुतो जसरी एउटै होइन र एकै थलामा एकाकार भएर मित्रवत रुपमा रहन–बस्न सक्दैनन्, त्यस्तै स्वाभावका अर्थात् सर्प, बिच्छी, भ्यागुताहरू असहमतिको भारी बोकेर जनता झुक्याउन सहमति खोज्छौं भन्दै राग अलापिरहेका छन् । त्यसैका लागि विदेशी गुहारिरहेका छन् । विदेशी सामु घरको पोल खोलिरहेका छन् । एकले अर्कोलाई दवाव दिन आफू मिल्न नसक्ने र विदेशीले चाहेको खण्डमा लत्याकलुतुक भएर मिल्ने अनौठो दृश्य बारम्बार देखिएको छ ।
सहमति आफ्ना लागि मात्र हुनुपर्ने भन्दै तीन दलले परस्पर छ्यापेको हिलो यति दुर्गन्धित छ त्यसले यो कालखण्डको राजनीति सुदूर भविष्यसम्म डुङ्गडुङ्गती गनाउने मात्र नभै यो नेपाल राष्ट्र कति कुत्सिन र गन्धा राजनीतिक खेलबाट गुज्रनुप¥यो र जनताको के हविगत भयो त्यसको विवरण पनि दिनेछ । साथै राष्ट्रिय स्वाभिमान कसरी धराशायी भयो ? राष्ट्रियता कसरी ठिमुरियो ? राजनीतिक स्वतन्त्रताको नारा घन्केर मुलुक कसरी आर्थिक पराधिनतामा फस्यो भन्ने इत्यादि असंख्य पीडाको विवरण बारम्बार व्यक्त भैरहेका छन्, सार्वजनिक भैरहेका छन् । तर सुन्नुपर्नेले, देख्नुपर्नेले पटक्कै देख्दैन, सुन्दैन ।
उदेकलाग्दो कुरा त के छ भने नेताहरू मुलुकमा धर्म निरपेक्षताको कुरा अझै गरिरहेका छन् । तर जातीय अधिकारका कुरा संगसंगै ल्याइरहेका छन् । जसले धर्मनिरपेक्षको नारा अघिसार्न महत्वपूर्ण भूमिका निर्वाह ग¥यो उसैले जातीय सापेक्षताको नारा पनि संगसंगै अघिसारेको छ । धर्म र जात–जातिबीचको सम्बन्धको पटक्कै ख्याल नगरी अघिसारिएको यस्ता नारा र व्यवहारले मुलुक नयाँ द्वन्द्वमा फस्दैछ । कुनै विशेष धर्म मान्ने र सांस्कृतिक परम्परा भएको समूह नै जाति हो भन्ने बिर्सेर जातिलाई मात्र प्राथमिकतामा राखियो । राज्यको पुनःसंरचनाको नाममा जातीय राज्यको वकालत भैरहेको छ र विभिन्न जातजातिहरू पनि आफ्नो राज्यको पक्षमा बुर्कुसी मारिरहेका छन् । धर्म र जातिबीचको अन्योन्याश्रित सम्बन्धमा तगारो हालिएको छ । के यस्तै हुन्छ परिवर्तनको संस्थागत विकास ? माओवादीले चलाएको सशस्त्र द्वन्द्व समाधानका नाममा अनगिन्ती द्वन्द्व निम्त्याएर यो मुलुक तहसनहस पार्नेहरूको रणनीतिक चालवाजी जनताले जति बुझेका छन् नेताहरूले नबुझ्ने कुरै छैन । तर स्वार्थले अन्धो भएकाहरूको विवेक नै हराइसकेको छ ।
मुलुक यति गम्भीर परिस्थितितर्फ धकेलिइसकेको छ कि अब आएर नेताहरूले आफूलाई सच्याउन चाहे पनि सच्याउन सक्ने सहज अवस्था छैन । धर्म निरपेक्ष, संघीयता, जातीय स्वशासन लगायत आत्म निर्णयको अधिकारसहितको राज्य जस्ता अनर्गल र राष्ट्रघाती नाराले मुलुकमा एक किसिमको द्वन्द्वको वीज छरिसकेको छ । त्यसकारण नेताहरू अब सच्चिन चाहेर पनि सच्चिनसक्ने अवस्था छैन । तत्कालको राजनीतिक लाभका लागि नचाहिदा र वाहियात नारा लगाउनेहरूको एकपछि अर्को गल्तीको परिणाम मुलुक थिलथिलो भएको छ । राष्ट्रिय एकता, सार्वभौम अखण्डता र धार्मिक–सामाजिक सद्भाव बिथोलिएको छ । यो सब नेताहरूको गलत निर्णय र प्रतिशोधको राजनीतिको परिणाम हो ।



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com