नेपालीहरूको महान पर्व बडा दशैं सकियो र हिजोबाट अर्को महान पर्व तिहार सुरु भएको छ । तिहारमा प्रकृतिको सम्मान गरिन्छ । प्रकृतिमा जन्मने सबैको यथास्थान आफ्नै महत्व छ र एकको अस्तित्वका लागि अर्कोको अस्तित्व स्वीकार गर्नुपर्छ भन्ने वैज्ञानिक तथ्यलाई तिहारले पुष्टि गरेको छ । एउटाको जीवनसंग अर्कोको जीवन जोडिएको र मानिस मात्रको पृथ्वी कल्पना गर्न नसकिने हुँदा नै हिन्दु संस्कृतिमा प्रकृतिलाई अत्यधिक महत्व दिएर यसलाई ईश्वरकै रुपमा सम्मान गरिन्छ । तिहारमा पशुपक्षी, प्रकृति र मानवकै चर्चा हुन्छ । प्रकृतिमा जन्मने सबैको यथास्थान महत्व रहेको र मानव जीवनका लागि यी तत्वहरू नभै हुँदैन भन्ने सन्देश नै तिहारले दिन्छ । तिहारमा कागको पूजा गरिन्छ, कुकुरको पूजा गरिन्छ, गाईको पूजा गरिन्छ, गोबद्र्धन पूजा गरिन्छ र अन्त्यमा भाइको पूजा गरिन्छ । यसरी गाईदेखि भाइसम्मको पूजा हुने र सबैको दीर्घायूको कामना व्यक्त हुने पर्व हिन्दु संस्कृतिमा मात्रै छ ।
वैदिक सनातन धर्म संस्कृतिमा मनाइने चाडपर्वहरूको सम्बन्ध ऐतिहासिक, पौराणिक कालसम्म रहेको पाइन्छ । हजारौं वर्षअघि उल्लेख गरिएका पौराणिक कथाहरूमा हाम्रा चाडपर्वहरूको उल्लेख गरिएको छ । कुनै पनि चाड पर्व मनाउनुको खास अर्थ रहेको र त्यसले मानव जीवन कसरी सुख, शान्ति र सद्भाव वृद्धिमा सहयोग पु¥याउँछ भन्ने सन्देश दिइएको पाइन्छ । दशैं सकिएको पन्ध्र दिनपछि तिहार सुरु हुन्छ । यो पर्व कार्तिक कृष्णपक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्तिक शुल्क पक्षको द्वितीया तिथिमा भाइ टीका लगाएर सकिन्छ । तिहारलाई दीपावली पनि भनिन्छ । तर आजभोलि दीपावलीको नाममा पटका पड्काउने, विद्युतीय उपकरणहरूले घर–चोक झलमल पार्ने गरिन्छ । तिहारमा दीपावली गर्ने र त्यो दियोमै बत्ती बालेर गर्नुपर्ने आवश्यकताबोध परापूर्वकालदेखि हुँदै आयो र त्यसै गरियो तर यतिबेला आएर दियो बाल्ने चलन हट्दै जान थालेको छ । दियोमा घरमै कातिएको बत्ती बाल्नुको खास अर्थ छ । वर्षायाम समाप्त भएर ऋतु परिवर्तन हुने यस समयमा वातावरणलाई शुद्ध राख्न कपासको बत्ती शुद्ध घीउमा भिजाएर बाल्दा त्यसबाट उत्पन्न हुने सुगन्धित धूवाले वातावरणलाई सफा र स्वच्छ राख्न मद्दत गर्छ । तर आजभोलि सो कार्य धेरैका लागि झण्झटिलो हुन पुगेको छ ।
नेपाल जस्तो कृषि प्रधान मुलुकमा तिहारको अत्यधिक महत्व छ । तिहारको धार्मिक पक्षका बारेमा धेरैले धेरैथरि कथा हाल्ने गरेका छन् । तर यसको खास महत्व भने धन–सम्पत्ति घर भित्र्याएपछि प्रकट हुने उमङ्ग नै हो । किसानले जब आफ्नो खेतमा सुनौलो धान उमारेर अन्नरुपी सम्पत्ति घरमा भित्र्याउने समय हुन्छ तब उसको खुसी एवं उमङ्गको सीमा हुँदैन । यस खुसीको अवसरमा कुनै अनिष्ट नहोस्, जस्तो कि आजभोलि धान काट्ने बेलामा असिना परेर सखाफ हुने गरेको छ, त्यस्तो अनिष्ट नहुन र अन्नबाली सहज रुपमा भित्र्याउन पाएकोमा ईश्वरको पूजा गर्छन् । कृषि प्रधान मुलुकका लागि प्रकृृति संरक्षण र वातावरणीय शुद्धता कायम गर्न सकिएन भने कृषि उत्पादन असम्भव प्रायः छ । कृषि कर्मका लागि मानिस मात्र पर्याप्त नभएर पशुको पनि साथ चाहिने हुँदा ती सबैको सम्मान गर्ने प्रचलन बसेको मानिन्छ । यसै पर्वमा धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । यो हिन्दु संस्कारको महत्वपूर्ण पक्ष रहेको छ । बडा दशैंमा शक्तिको प्रतीक देवी दुर्गाको आराधना गरिए जस्तै धनकी प्रतीक देवी लक्ष्मीको आराधना तिहारको अवसरमा गरिन्छ । नारी शक्तिलाई सर्वोच्च शक्ति मान्ने र पुरुषको तुलनामा नारीलाई अत्यधिक महत्व दिने संस्कारको ज्वलन्त नमूना पनि मानिएको छ ।
लक्ष्मी पूजा अर्थात् गाई तिहार औंसीको दिन मनाइन्छ । विहान गाईको पूजा बडो भक्तिको साथ गर्ने चलन रहेको छ । वैज्ञानिक दृष्टिले हेर्दा पनि गाईको दूध, गहुत र गोबर अत्यन्तै महत्वपूर्ण मानिन्छ । दूधबाट बनिएको विविध कुराहरू पौष्टिक हुन्छ भने कृषिप्रधान देशमा गाईको गोबर र गहुत अन्नबालीका लागि पौष्टिक तत्व मानिन्छ । यिनीहरूको प्रयोगले माटोको उर्बराशक्ति बढाउने कुनै रासायनिक पदार्थविना नै धेरै अन्न उब्जनी गर्ने र अनेकौं कीटाणुहरू मार्ने क्षमता पनि राख्दछ । यो वैज्ञानिक सत्य हो । पौराणिक कथा अनुसार यसैदिन श्री रामलाई अयोध्यामा राज्याभिषेक गरी राजसिंहासनमा राखिएको थियो । त्यस दिन प्रजाहरू सबै हर्ष र आनन्दले गद्गद् भएका थिए । यसैको खुसियालीमा दीपावली गरियो । औंसीको रातमा लक्ष्मी अर्थात् धनको पूजा गरिन्छ । घर–घरमा ज्ञानको ज्योतिस्वरुप सन्देश दिंदै घर झिलिमिलि बनाइन्छ । त्यस पश्चात् भैली खेल्ने चलन रहेको छ ।
तिहारको सर्वाधिक महत्वपूर्ण पक्षको रुपमा भाइ टीकालाई लिइएको छ । यसमा दिदी बहिनीले आफ्ना दाजुभाइको दीर्घायू, सुस्वास्थ्य तथा समुन्नतिका लागि आशीर्वाद दिने गर्दछन् । पौराणिक कथा अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो गरी रहँदा बस्दा यमुनाको व्यवहारबाट खुसी भएर यमराजले बहिनीलाई ‘वर माग’ भन्दा यमुनाले “हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, दिदी–भाइ, दाजु–बहिनीको पे्रम सदा अटल रहोस् र दाजुभाइको आयू, कीर्ति सदा वृद्धि होस्” भन्ने वरदान मागिन । यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्ध चित्तले भातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिंजिने वर दिई आफ्नी बहिनीसंग विदा भए गएका थिए । यमराजले उनकी बहिनी यमुनाका घरमा पाँचदिन खुसीयालीसाथ बिताएकोे हुँदा यी पाँच दिनलाई यमपञ्चक भनिएको हो ।
भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसंग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रुपमा लिइन्छ । यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ । दिदीबहिनीले भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्तास्वरुप पान–सुपारी, फूल आदि दिने चलन छ । भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने विश्वास छ । टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । यमराज, हनुमान, विभिषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन् । भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली फूल, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा–मीठा परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजु–भाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेकिन्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रुपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् ।
यसरी प्रचीन कालदेखि अहिलेसम्म अविछिन्न रुपमा यो पर्व मनाइँदै आइएको छ । तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कोतिर दिदी–बहिनी र दाजु–भाइबीचको आत्मीय र पवित्र सम्बन्धलाई पनि छर्लङ्ग पारेको छ । तिहार अनेक दृष्टिकोणले महत्वपूर्ण पर्व मानिएको छ । प्रकृति, धन, मानव सम्बन्धका साथसाथै संस्कृति जगेर्ना पनि यसको अर्को महत्वपूर्ण पक्ष हो । लक्ष्मी पूजा र गोबद्र्धन पूजाको रात खेलिने भैली र देउसी नेपाली संस्कृतिको महत्वपूर्ण पक्ष मानिएको छ ।
यति धेरै महत्व बोकेको तिहार चाड प्रतिवर्ष विकृति र विसङगतिको शिकार हुँदै गएको छ । हामीले हाम्रो परम्परा भुल्दै गैरहेका छौं । “भैलेनी आइन आँगन–गुन्यु चोलो मागन्” को साटो अंग्रेजी धुन बजाएर रकम संकलन गर्ने र त्यसले मोजमस्ती गर्ने चलन बढिरहेको छ । तापनि पछिल्ला वर्षहरूमा सांस्कृतिक जगेर्नाको जागरण पनि पैदा भएको छ । परम्परागत शैलीमा भैसी–देउसी खेल्ने प्रथा पुनः सुरु भएको छ । सांस्कृतिक जगेर्नाका साथै सामाजिक कार्यका लागि देउसी–भैलो खेलेर अर्थ संकलन गर्ने प्रचलन लामो समयदेखि बसिआएको छ । तिहारपछि पत्रपत्रिकाका पानाहरूमा देउसी–भैलो खेलेर विद्यालय, स्वास्थ्य चौकी, सडक, कुलो, पुल आदि निर्माण गरिएका समाचारहरू प्रशस्तै आउने गरेका छन् । देउसी–भैलो सामाजिक कार्य गर्न अर्थ अभाव हटाउने महत्वपूर्ण अवसरका रुपमा उपयोग गर्न थालिएको छ । यो सकारात्मक पक्ष हो । धार्मिक–सांस्कृतिक पर्वहरूलाई समाज उत्थानमा उपयोग गर्नु कसैका लागि पनि अनुचित होइन तर यस्तै नाममा ठगी धन्दा गर्नेहरूबाट भने जोगिनुपर्छ । आजभोलि यसो र उसो भनेर अर्थ संकलन गर्ने र त्यसलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने चलन पनि बढिरहेको छ । वास्तवमा भन्ने हो भने देउसी प्रत्येक घरमा श्री वृद्धि होस् भन्नका लागि खेलिन्छ । देउसीको खास अर्थ ‘द्यौ श्री’ हो । पछि अपभ्रश भएर ‘देउसी’ हुन पुगेको हो । प्रत्येक घरमा द्यौ श्री भनेर श्रीवृद्धिका साथै सुख, शान्ति र समृद्धिको कामना गरी खेलिने देउसी–भैलो सद्भावको बेजोड नमूना हो ।
तिहार लगत्तै तराईमा ‘छठ’ पर्व मनाइन्छ । यो पर्व पनि तिहारजस्तै प्रकृतिसंग सामिप्य राख्दछ । मानव जीवन प्रकृतिसंग वैरभार राखेर वा यसबाट अछुतो रहेर एक मिनेट पनि टिक्न सक्दैन । त्यसैले पूर्वीय जीवनशैलीमा प्रकृतिलाई ईश्वरकै समतुल्य राखेर पूजा गर्ने चलन बसिआएको हो । तराईमा छठ पर्वको सुरुवातको कुरा गर्दा याज्ञवल्क्य मुनीको चर्चा गरिन्छ । उनले सूर्यको उपासना गरेर प्राप्त गरेको वेदविद्या शुक्ल यजुर्वेदको रुपमा विकसित भयो भनिन्छ । तराईमा मनाइने छठ पर्व पनि सूर्यसंगै सम्बन्धित छ । गायत्री मन्त्र सूर्यकै वरपर घुम्छ । प्रतिदिन कुनै पनि कार्य वा कर्मकाण्डको विधि सम्पन्न गर्दा सूर्यलाई अर्घ दिइन्छ । आदित्यहृदयस्तोत्रमा सूर्यकै वर्णन छ । नेपालको झण्डामा सूर्य अंकित छ । सूर्य तराईको संस्कृतिकै अर्को परिचयबोधक ग्रह हो । वैज्ञानिक मतानुसार सूर्यबाट उछिट्टिएको एउटा टुक्रा नै पृथ्वी हो । थारु संस्कृतिमा माघी पर्वको ठूलो महत्व छ । वैदिक संस्कृतिमा माघे संक्रान्तिको दिनदेखि सूर्य उत्तरायण हुने हुँदा यो पर्वको स्रोत वैदिककालसम्म पुगेको ठहर्छ । यो पर्व कुनै जात र स्थान विशेषको मात्र नभएर हिन्दु संस्कृतिको एउटा अनुपम पक्ष हो ।