यहाँ जनताको मनले मानेका नेता होइन, स्वयंघोषित नेता नै बढी छन् । तिनै स्वघोषितले भर्ती गरेका सांसद र मन्त्री हुन्छन् । स्वत्व र बुद्धि विवेक भएका कमै पर्छन् । त्यसैले तिनीहरूको नैतिक र वैचारिक धरातल नै कमजोर हुन्छ । त्यसमा पनि तिनीहरूको वैचारिक अस्थिरताले गर्दा स्थिति डामाडोल भएको छ । पछिल्लो उदाहरण संवैधानिक राज्य पुनःसंरचना आयोगको सट्टा विज्ञ समूह बनाउन संविधानको ११ औं संशोधन प्रस्ताव प्रधानमन्त्रीबाटै संसद्मा पेश हुनु र कुनै स्वार्थवश त्यसको विरोध हुनासाथ सो प्रस्ताव फिर्ता गरिनुलाई लिन सकिन्छ । यो स्वार्थ र वैचारिक विचलनको नमूना हो । आजको राजनीतिमा देखिएको सबैभन्दा ठूलो खराबी नेताहरूमा जरा गाडेर बसेको असीमित स्वार्थ नै हो, जसले गर्दा राजनीतिक मर्यादाका पर्खाल भत्केका छन् ।
नीतिगत र संस्थागत ढङ्गबाट विधिको शासन चलाउने प्रक्रिया नै यहाँ बसेन । नेताहरू नै त्यस लायक देखिएनन् । जुनसुकै बेला पनि उनीहरू सत्ता स्वार्थबाटै निर्दिष्ट छन् । फलतः संविधान निर्माणले समेत प्राथमिकता पाउन सकेन । सत्ता स्वार्थ मात्रै प्राथमिकतामा रह्यो । को प्रधानमन्त्री बन्ने, को मन्त्री बन्ने र आफन्तलाई कमाइ हुने ठाउँमा कसरी पु¥याउने भन्ने ध्याउन्न बाहेक केही देखिएन । त्यसैले आजको सर्वाधिक ठूलो खाँचो नेतृत्ववर्गमा हुनुपर्ने निष्ठा र मर्यादाको राजनीतिक आचरणकै भएको छ । नेताले आफूले त गरेनन् नै, देशको प्रशासनलाई समेत स्वार्थपूर्तिमा प्रयोग गरेर भताभुङ्ग पारिदिए । मन्त्री फेरिनासाथ माथिदेखि तलसम्म सरुवा र नयाँ नियुक्ति, त्यो पनि भागवण्डामा हुन थाल्दा पूरै कर्मचारी प्रशासन थिलथिलो हुन्छ । पावर र उपहार पु¥याउन नसक्ने थच्चिन्छन् । प्रशासन मात्रै चोखो रहन दिएमा राजनीति भाँडिए पनि त्यति फरक पर्ने थिएन । तर यहाँ त कुनबेला आफ्नो नेता सत्तामा आउला र दाईं हालौंला भनेर बस्नेहरूले प्रशासनको मर्यादा र स्थिरता नै समाप्त पारिदिन्छन् । ‘सरदारको पजनी खरदारले गर्ने’ भन्ने राणाकालको उक्ति आज फेरि चरितार्थ हुन आएको छ ।
राजनीतिक भाँडभैलोकै कारण सर्वत्र अन्योल र अनिश्चयको स्थिति छ, कुनबेला के हुन्छ भन्नै नसकिने भएको छ । त्यसैले पनि सत्ता हातपरेको बेला सबैलाई लुट्नकै हतार छ । बाबुराम पनि पृथक पहिचान दिएर अपवाद हुन सकेनन् । जनचाहनालाई लत्याएर उनले पनि अरुलाई उछिन्न थाले । यस्तो स्थितिमा जनताले के आशा गर्ने ? राजतन्त्र फालेपछि फलिफाप हुन्छ भन्नेहरू पनि तर्सन थाले । “योभन्दा त कताकता राजाकै शासन ठीक थियो’, त्यो बेला लुट्ने थोरै थिए भने आज त सलह सरह छन्, लुटेराकै राज चलेको छ । कानुनी शासनको नाङ्गो उपहास भएको छ” भन्न थालेका छन् ।
नेताहरू यहाँ राजनीति होइन, नौटंकी देखाइरहेका छन् । आज संवैधानिक आयोग भन्छन्, भोलि विज्ञ समूह भन्छन् । अहिले कब्जा गरेको सम्पत्ति फिर्ता गर्छौं भन्छन् उत्तिखेरै फेरि वैकल्पिक व्यवस्था नगरी कब्जा गरेका घरजग्गा फिर्ता गर्दैनौं भन्छन् । के कब्जा गर्ने बेलामा जसको सम्पत्ति हो उसलाई वैकल्पिक व्यवस्था गरेर कब्जा गरिएको थियो ? कुनै जवाफ छैन, मनखुसी छ । अर्काको सम्पत्ति कब्जा गर्दा कानुन पनि चाहिएन, आज वैकल्पिक व्यवस्था चाहियो । कस्तो अचम्म जनता आजित भएरै हो– अब त २०४७ सालकै संविधान ठीक थियो भन्न थालेका छन् ।
प्रधानमन्त्री भारतबाट फर्केपछि ठूलो उपलब्धिको ढ्वाङ फुकियो । तर नेपालले भोगिरहनुपरेका समस्या छँदैथिए, थप समेत भए । प्रधानमन्त्री फर्कनासाथ दक्षिण भारतका एकजना पूर्व सांसद्को घरमा चोरी भयो भनेर त्यहाँ वरपर काम गरेर बसेका तीन दर्जन नेपालीलाई गैरकानुनी ढङ्गले समातेर प्रहरीले निर्मम यातना दिएका समाचार आए । नेपाली भन्नेवित्तिकै चोर, बद्मास सम्झने भारतीय मानसिकता बन्नुमा हाम्रै नेताका कमजोरी छन् । नेताले घुँडा टेकेपछि जनता हेपिनु स्वाभाविक हुन्छ । खै दिल्लीस्थित नेपाली दूताबासले खोजी गरेको ? यहाँ भने एउटा भारतीय चोर पक्रियो भने भारतीय दूताबासले सिंहदर्बार थर्काइदिन्छ ।
कुनैबेला इमान्दार र स्वच्छ छविमा गनिएका नेपालीको आज विदेशमा हुनसम्म बद्नामी छ । यहाँको राजनीतिक चरित्रकै कारण यस्तो भएको हो । नेता नै यहाँ बेइमानी र भ्रष्ट आचरणमा कहलाएका हुनाले नेपाली जनता समेत बद्नाम भएका हुन्, सबैतिरबाट हेपिनुपरेको छ । नेताकै देखासिकी गर्ने उनैका अनुयायीले पनि नेपालको बद्नामी गराएका छन् । अस्ति भर्खर कागबेनीमा नेताका पुच्छरहरूले विदेशी पर्यटकलाई मोटरबाट ओरालेर बेइज्जत गरे, दुःख दिए । तर खोई यहाँ सरकार ? ती पर्यटकले नेपालप्रति कस्तो धारण बनाएर गए होलान् ? सरकार नै बद्मासहरूको पक्षमा देखियो । बडो गम्भीर भएर सोच्नुपर्ने कुरा हो यो ।
भन्ने बेलामा शान्ति र संविधानलाई प्राथमिकता दिन त्याग गरें भनेर सुनाउने तर भित्रभित्रै आफ्नै कुर्सी अड्याउने षड्यन्त्रमा लागेर मूल विषयलाई नै पछाडि पार्ने गर्दागर्दै चारपटक त संविधानसभाकै म्याद थपियो र अझै थपिंदैछ । संविधान नै ११ पटकको संशोधनको चक्रमा परेर फुत्केको छ । मुखले एकथोक र व्यवहारमा अर्कोथोकले पनि नपुगेर कुतर्कको समेत सहारा लिइयो । शेरबहादुरले सांसद संख्याको २०–२२ प्रतिशत मन्त्री बनाएका थिए भने मैले ६०१ जनाको ८ प्रतिशत मात्र मन्त्री बनाएको छु भन्नु कुतर्क होइन ? के नेपाललाई ६०१ सांसद र ४९ मन्त्री आवश्यक छन् ? सही काम भए पो गतिलो उदाहरण दिन सकिन्छ ।
यसरी षड्यन्त्रका तानाबाना बुन्दै कुर्सीकै तानातानबाट समय र शक्ति अपव्यय गरिंदैछ । नेताहरूले यो गलत तौरतरिका त्यागेर इमान्दारीसाथ विश्वासको वातावरण बनाउनेतर्फ अब पनि ढिलाई गर्दै जाने हो भने न समयले पर्खन्छ, न त इतिहासले नै क्षमा गर्नेछ ।