युगसम्बाद साप्ताहिक

दक्षिण एसियाले आफ्नो परिचय बदल्नुपर्छ : यादब देवकोटा
Monday, 11.21.2011, 03:58pm (GMT5.5)

दक्षिण एसियाली राष्ट्रहरूको संगठन ‘सार्क’को १८ औं शिखर सम्मेलन हालै माल्दिभ्समा सम्पन्न भयो । सम्मेलनले विभिन्न बुँदाका घोषणापत्र पनि सार्वजनिक ग¥यो । त्यसमा महत्वका साथ जलवायु परिवर्तनको कुरा पनि उठाइयो । सार्कको हरेक सम्मेलनहरूमा आतंकवाद, वातावरण संरक्षण, दिगो विकास, खाद्य सुरक्षा जस्ता मननीय विषयहरूलाई घोषणापत्रमार्फत सार्वजनिक गरिन्छ । सम्मेलन सकिएपछि त्यसको कार्यान्वयनका लागि कसैले पनि अग्रसरता देखाउँदैनन्, चासो कुनै मुलुकले पनि राख्दैन । सार्क घोषणा गर्ने कार्यान्वयन नगर्ने संस्थाका रुपमा परिचित हुन थालेको छ । यति हुँदाहुँदै पनि यो क्षेत्रमा विश्वका शक्ति राष्ट्रहरूको आकर्षण भने बढिरहेको छ । अमेरिका, चीन, बेलायत, फ्रान्स, जर्मनी जस्ता देशहरू दक्षिण एसियामा आफ्नो प्रभाव विस्तार गर्न चाहन्छन् । त्यो प्रभाव सो क्षेत्रको विकासका लागि नभएर आफ्नो हित रक्षाका लागि मात्र हो भन्ने कुरा पनि लुकाइराख्नु पर्ने विषय होइन । त्यसैले अमेरिमका, बेलायत वा अन्य पश्चिमा मुलुकहरूको प्रवेशले मात्र सार्क राष्ट्रहरूको उन्नति हुन सक्दैन । यो क्षेत्रको विकासका लागि यही क्षेत्रका नेताहरूले सामूहिक प्रयास गर्नुपर्छ ।
दक्षिण एसिया विश्वमा सर्वाधिक गरिबहरू बस्ने क्षेत्र हो र सर्वाधिक जनसंख्या भएको क्षेत्र पनि यही हो । यही क्षेत्रमा दुर्लभ वन्यजन्तुदेखि प्राकृतिक स्रोतसाधनहरू प्रशस्तै छन् । अब यिनीहरू विस्तारै लोप हुँदै गैरहेका छन् । धनी मुलुकहरूले गरेको हरितगृह ग्यास उत्सर्जनको परिणाम नेपाल जस्ता प्राकृतिक रुपले सम्पन्न मुलुकहरूले भोग्नु परिरहेको छ । एक किसिमबाट भन्ने हो भने सिंगो दक्षिण एसिया नेपालकै नियती भोग्ने दिशातिर अग्रसर भैरहेका छन् । तर यी मुलुकहरूले जलवायु परिवर्तनबाट परेको समस्या र यसको समाधानका लागि सामूहिक आवाज उठाउने जमर्को गरिरहेका छैनन् । अथाह जनसंख्यासंगै अथाह प्राकृतिक स्रोत साधनले सम्पन्न यो क्षेत्रमा यसको समुचित विकास नभएकै कारण भोकमरी र गरिबको चपेटाबाट मुक्त हुन सकिएको छैन ।
दक्षिण एसिया मात्र होइन सिंगो पृथ्वी जलवायु परिवर्तनको मारमा परिरहेको छ । प्रकृति जुन स्वरुप र अवस्थामा रहनुपर्ने हो त्यस्तो अवस्था अहिले छैन । ऋतु परिवर्तनको सिद्धान्त नै गडबडिएको छ । बुढापाकाले देखेको समय र अहिले धेरै अन्तर छ । राजधानीमा कार्तिकको अन्तिमदेखि मंसिरका पहिलो हप्तासम्म जुन रुपमा चिसो बढ्यो यसको कारण जलवायु परिवर्तन नै हो । यस्ता संकेतहरू प्रशस्तै छन् । विना सूचना मेघ गर्जनसहित पानी पर्नु, धानबाली भित्र्याउने बेलामा असिना परेर सबै सखाप हुनु, धुले पहिरो जानु, अन्नको बोटमा दाना नलाग्नु, फलफूल बोटमै सुक्नु लगायत जडिबुटी तथा वन्यजन्तुहरू लोप हुँदै जान थालेका छन् । यसको असर पृथ्वीको जीवन पद्धति नै तहसनहस हुने अवस्थामा पुगेको छ । यसको मार धनी र विकसित राष्ट्रको तुलनामा गरिब र विकासशील राष्ट्रहरूले भोगिरहेका छन् । जलवायु परिवर्तनका लागि जुन राष्ट्रको कुनै योगदान नै छैन तिनै राष्ट्रहरू बढी पीडित हुनु भनेको एउटा अनौठो पक्ष हो । धनी र औद्योगिक राष्ट्रहरूले गरेको कुकर्मको परिणाम गरिब मुलुकका गरिब जनताले भोग्नु परिरहेको छ । विशेष गरेर हिमालय र समुद्र किनारका मुलुकहरूको भविष्य जलवायु परिवर्तनकै कारण जोखिममा पुग्न थालेको छ । नेपाल जस्ता हिमाली राष्ट्रहरूमा जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परिसकेका छन् । यहाँका पानीका स्रोत सुक्दैछन् भने प्राकृतिक स्रोत साधनहरू पनि लोप हुने अवस्थामा छ । कतिपय जडिबुटीहरू हराइसकेका छन् । मौसम अनुसारका अन्नबाली तथा फलफूल पनि फल्न–पाक्न छोडेका छन् ।
वातावरण संरक्षण अभियानसंग सम्बन्धित विभिन्न संस्थाहरूले जलवायु परिवर्तनबाट हुनसक्ने सम्भावित खतरालाई रोक्न धनी तथा विकसित मुलुकहरूले कार्बन उत्सर्जनमा कमी ल्याउनुपर्ने र गरिब देशहरूको सहयोगका लागि १५० अर्ब डलरको धनराशी व्यवस्था गर्नुपर्ने माग गरे पनि त्यसको कुनै सुनुवाई भएको छैन । औद्योगिक राष्ट्रहरूले कार्बन उत्सर्जनमा मात्र कमी ल्याउने हो भने जलवायु परिवर्तनबाट उत्पन्न हुने भयावह स्थितिलाई व्यापक कम गर्न सकिन्छ । जलवायु परिवर्तनका कारण एसिया, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकका गरिब जनता झन् गरिब बन्दै गैरहेका छन् । यी देशहरूमा वर्षातको मौसम बदलिइरहेको छ । जसले गर्दा कृषि कार्य निकै कठिन बन्दै गैरहेको छ । मौसम परिवर्तनमा आइरहेको गडबडी यही गतिमा जारी रहने हो भने भारत तथा अफ्रिकामा आगामी दश वर्षमा मकैको उत्पादन १५ प्रतिशतले घट्नेछ । अर्कोतिर बढ्दो गर्मीका कारण मलेरिया जस्ता रोगहरू फैलने र व्यापक जनधनको क्षति हुने सम्भावना पनि उत्तिकै प्रबल छ । मौसम परिवर्तनले संसारको कुनै कुनामा अत्यधिक पानी परेर बाढी र डुबानको समस्या उत्पन्न हुनेछ भने कुनै स्थानमा खडेरी पर्नेछ, जसले आगलागी बढ्ने र पानीका स्रोत सुक्ने, जंगल मासिने तथा वन्यजन्तु लोप हुने खतरा पनि संगसंगै बढिरहेको छ । जलवायु परिवर्तनले पार्ने प्रभावहरूको एकपछि अर्को गर्दै नयाँ नयाँ विनाशका विवरणहरू सार्वजनिक भैरहेका छन् । एक अर्को अध्ययन अनुसार वातावरणमा भैरहेको परिवर्तनले यो शताब्दीकै सर्वाधिक त्रासदीपूर्ण भोकमरी फैलाउन सक्छ ।
जलवायु परिवर्तनको प्रभाव गरिब र विकासशील तथा विकासोन्मुख मुलुकहरूमा मात्र होइन धनी र औद्योगिक राष्ट्रहरूमा पनि उत्तिकै परिरहेको छ । धनी मुलुकहरूले उतिबेलै निर्मुल गरेका रोगहरू पुनः बल्झिन थालेको छ । अघिल्लो वर्ष अमेरिका जस्तो मुलुकले ‘स्वाइन फ्लू’लाई राष्ट्रिय महामारीको घोषणा गर्नुप¥यो । ९० को दशमा निर्मुल भएको र त्यतिबेला पशुबाट मात्र मानिसमा पर्ने यो रोग अहिले आएर मानिसबाट मानिसमा सर्न थाल्यो । यो सब जलवायु परिवर्तनको प्रभावले गर्दा भएको हो । लुप्त भैसकेका किटाणुहरू पुनः उत्पन्न भैरहेका छन् । मानिसले आफ्नो विनाश आफैंले निम्त्याइरहेको छ । प्रकृतिलाई आफ्नो अनुकूलतामा छाडिएन भने र वायुमण्डल, जलमण्डल तथा स्थलमण्डललाई प्रदूषित पारियो भने यस्तै दुर्दशाहरू निम्तिने कुरा विधिसम्मत सत्य हो । तर यो सत्यलाई मान्ने र त्यसबाट बच्ने उपायहरूको अवलम्बन गर्ने प्रयास भने भएको छैन ।
जसरी जलवायु परिवर्तनका लागि धनी र औद्योगिक मुलुकहरूको भूमिका महत्वपूर्ण र अग्रणी रह्यो त्यसलाई रोक्न पनि उनीहरूको भूमिका सर्वाधिक महत्पूर्ण छ । धनी देशहरू (जो वायुमण्डलमा अत्यधिक कार्बन उत्सर्जन गर्नेमा पर्दछन्) ले गरिब तथा साना मुलुकहरूको भविष्यलाई ख्याल गरेर जलवायु परिवर्तनबाट परेका प्रभावहरू न्यूनिकरण गर्ने र उनीहरूले गर्दैै नगरेको कुकर्मको फल भोग्नबाट बचाउन उनीहरू नै अग्रसर हुनुपर्छ । जलवायु परिवर्तनबाट हुने क्षति न्यूनिकरण गर्न र आगामी पुस्तालाई स्वस्थ र स्वच्छ धर्ती उपहार दिनका लागि धनी देशहरूले पृथ्वी बचाउ अभियानको नेतृत्व लिनुपर्छ । आगामी २०२० सम्म औद्योगिक राष्ट्रहरूले कार्बन उत्सर्जनमा ४० प्रतिशत कमी ल्याए मात्र जलवायु परिवर्तनलाई रोक्न सकिन्छ र यो माग पनि जर्वजस्त रुपमा विश्वव्यापी भैरहेको छ ।
जलवायु परिवर्तनले समुद्रको सतह बढिरहेको छ । अर्कोतिर मरुभूमिले पनि आफ्नो स्वरुप बदल्दै गरेको छ । अघिल्लो वर्ष इथियोपियाको मरुभूमिमा समुद्रको छाल उठेजस्तो बालुवा चक्ला–चक्लामा उठ्यो । त्यो एउटा नौलो घटना हुन पुग्यो । जसरी समुद्रको महत्व छ त्यसै गरी मरुभूमिको पनि महत्व छ । आज तेल र पानीका लागि विश्वमा द्वन्द्व मच्चिएको छ । जलवायु परिवर्तनले गर्दा यथास्थानमा रहेका यी प्राकृतिक स्रोतहरू नै लोप हुने हुन् कि भन्ने त्रास बढिरहेको छ । अहिले जुन रुपमा मौसम परिवर्तन भैरहेको छ यसले पानी, खाद्यान्न, औषधोपचार लगायत मानव जीवनलाई अत्यन्त कष्टपूर्ण बनाउनेछ । नेपाल जस्ता जलस्रोतमा धनी मुलुकहरूमा खानेपानीकै अभाव हुने र अरबी राष्ट्रहरूमा तेलको हाहाकार हुन बेर लाग्दैन । पृथ्वीको जीवन चक्रलाई सन्तुलन कायम राख्न सवै पक्षलाई यथास्थान, यथागति छाडिनुपर्छ । नदीनालादेखि हिमाल, पहाड, समुद्र, मरुभूमिको अत्यधिक उपयोग र त्यसको स्वरुपमै खलबल आउने गरी गरिएको उत्खनन् तथा विकास निर्माणले पनि प्राकृतिक सन्तुलनमा ठूलो गडबडी ल्याइरहेको छ । अहिलेकै अनुपातमा तेल निकाल्ने हो भने यसको आयु अब छोटो समयसम्म मात्र रहने भविष्यवाणी भैसकेको छ । यसपछि विश्वमा ठूलो ऊर्जा संकट उत्पन्न हुनेछ । अर्कोतिर पृथ्वीलाई चाहिने ९८ प्रतिशत ऊर्जा उपलब्ध गराउने सूर्य आफैं विषाक्त हुँदै गएको अवस्थामा समुद्र र पृथ्वीको तापक्रममा ठूलो अन्तर आउने छ । समुद्र र भूमि तापक्रमको सम्बन्ध एक आपसमा जोडिएको छ । समुद्र तातो हुनासाथ त्यहाँबाट वाफ उत्पन्न भएर भूमिमा वर्षा गराउँछ भने भूमि तातो हुँदा समुद्रमा हलचल आउँछ । तापक्रमको यो सम्बन्धमा गडबडी उत्पन्न हुनासाथ ‘सुनामी’, ‘क्याटरिना’ जस्ता समुद्री आँधीले ठूलो जनधनको विनाश निम्त्याउँछ । अर्कोतिर समुद्र किनारमा रहेका देशहरूको भविष्य त यसै पनि असुरक्षित भैसकेको छ ।
पृथ्वीको तापक्रम वृद्धि हुनुको कारण वायुमण्डलको प्रदूषण प्रमुख रुपमा रहेको छ । नेपाल जस्तो हिमाली राष्ट्रमा जलवायु परिवर्तनको सर्वाधिक मार पर्ने संकेतहरू पर्याप्त रुपमा देखा परिसकेका छन् । अर्कोतिर हाम्रो आफ्नै कारण पनि कम जिम्मेवार छैन । विश्वका अरु मुलुकहरूको तुलनामा हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका नगण्य रहे पनि फोहरमैलाको व्यवस्थापन, वातावरणीय पक्षलाई ध्यान नै नदिई गरिएका विकास निर्माण तथा अव्यवस्थित वस्ती र पानीका स्रोतहरूको संरक्षणमा देखाइएको उदासिनता, नदी तथा ताल तलैयाहरूको शुद्धतामा ध्यान नदिइनु जस्ता अनेक कारणहरूले रहेका छन् । हाम्रो आफ्नो मौलिकपनको कसैले ख्याल गरेका छैनन् । वातावण जोगाउन अपनाउनुपर्ने उपायहरूको कहीं कतै पालना गरिएको छैन । वातावरण मन्त्रालय गठन भए पनि यो मन्त्रालयले वातावरण संरक्षणका सवालमा खासै पहल गरेको देखिंदैन । जलवायु परिवर्तनबाट परेको प्रभावहरूको अहिलेसम्म मूल्यांकन समेत भएको छैन । नेपालको कुन कुन क्षेत्रमा जलवायु परिवर्तनले असर गरेको छ भन्ने परिणामले देखाइसके पनि सरकारी निकायको ध्यान अझै आकृष्ट छैन । विश्वमा अत्यधिक हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुहरूमध्येको चीन र भारतको बीचमा रहेको हिमाली राष्ट्र नेपालमा ती दुई राष्ट्रकै कारण अनेक समस्याहरूको सामना गरिरहेको छ । यसको असर नेपालमा मात्र होइन चीन, भारत, पाकिस्तान लगायत सिंगो दक्षिण एसियामा पर्नेछ । यसै त गरिबहरूको बस्ती भन्ने गरिएको दक्षिण एसियामा जलवायु परिवर्तनले आफ्नो कुरुप अनुहार उदाङ्ग बनायो भने त्यो अवस्था झन् विकराल बन्ने छ । त्यसकारण अहिले दक्षिण एसिया विश्व राजनीतिका लागि महत्वपूर्ण ठाउँमा उभिएको हुँदा यसैको फाइदा उठाएर सामूहिक स्वार्थको जगेर्ना गर्दै जलवायु परिवर्तनबाट बच्ने र बचाउने उपायहरूको खोजी तथा यसबाट भैरहेको असरको हर्जानाका लागि एकजुट भएर अघि बढ्नुपर्छ । वातावरण संरक्षणमा हातेमालो गर्नुको विकल्प छैन । यति गर्न सकियो भने दक्षिण एसिया गरिबहरूको बस्ती नभएर स्रोत र सम्पदाको भण्डार रहनेछ अनि विश्वमा सचेत नागरिकहरूको बस्ती भनेर यसको परिचय नै बदलिने छ ।



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com