| युगसम्बाद साप्ताहिक | ||||
|
विवश पारेर शर्तपालन गराइ छोडे ! Tuesday, 12.15.2015, 12:07pm (GMT5.5) - महेश्वर शर्मा नेपाल र भारतबीच यदाकदा समस्या उत्पन्न हुनेको मूल कारण हाम्रो भूराजनीतिक अप्ठ्यारो हो भने केही स्वार्थी राजनीतिक व्यक्ति पनि सहायक बन्न पुग्छन् । त्यही भूराजनीतिक अवस्थाले पनि छिमेकी भ्रममा परेर हामीप्रति शंका गर्न थाल्दा हाम्रा लागि समस्या हुने गरेको छ । भित्री कुरा हुन्छ उनीहरुका ठूलठूला आकांक्षाको, तर बाहिरबाट सुरक्षाको नाम लिइन्छ । त्यसपछि खुलेरै अभिभावकत्व प्रस्तुत गर्न थाल्दा सानै भए पनि आफ्नो स्वतन्त्र अस्तित्वमा रहेका हामीलाई नरमाइलो लाग्नु स्वाभाविक हुँदोरहेछ । हामीले त्यस्ता कुराको चर्चासम्म गर्दा पनि त्यसलाई बिरोधको संज्ञा दिइँदा चित्त दुख्ने अवस्था आउँछ । हामीले कुनै गुनासो नै गर्याैं भने पनि त्यो असल छिमेकीपनको आकांक्षालाई लिएर गर्छौं । हाम्रो चाहना एकतर्फी हित कदापी हैन, दुबै पक्षको हित हुनुपर्छ भन्नेमा हामी दृढ छौं । तर विवश पारेर शर्त पालना गराइन्छ भने त्यो सह्य हुने कुरै भएन । यसपटक त्यस्तै भयो । यहींका नालायकहरु दिल्ली गएर भारतले नाकाबन्दी गरेको हैन भन्ने वकपत्र गरेर आए । सम्बन्ध खुला हुनुपर्छ । ढोंग र झूटो प्रदर्शनबाट सम्बन्धमा निखार आउँदैन । सम्बन्ध त सहज हुनुपर्छ । नेपाल पिंजडामा छ भनेर अँठ्याउने–सताउने व्यवहारले समस्या मात्र बढाउँछ, समाधान निस्कदैन । पारवहन सुविधामा समेत अबरोध पारेर झुकाउन खोजिन्छ भने त्यस्तो व्यवहारलाई मित्रता भन्न सुहाउँदैन । नेपालले आफ्नो संविधान आफैं बनाउन नपाउनु, त्यसैको निहुँबाट नाकाबन्दी गर्नु पच्ने कुरा होइन । पछि के हुन्छ भन्न सकिन्न, तर आजसम्मको नेपाल–भारत सम्बन्ध चारफुटे र छफुटे मित्रता जस्तो भारत अग्लो भनेर नेपाललाई हेपिन्छ भने शासन नै आफैं चलाउन खोजेको जस्तो भएन ? हेपाइको पनि सीमा हुन्छ, यहाँ त अति नै भयो । नाकाबन्दीकै स्थितिमा देखियो– सयवटा ट्रक, कुहेसडेका टमाटर, भण्टा, आलु र प्याज, माछा ल्याउँदा दशवटा पेट्रोलका ट्यांकर आएनन् । तराईका कथित नेता बोलाएर भारत आफ्नो पक्षमा प्रचार गराउँदैछ । यस्तो नांगो हस्तक्षेप त आज अघि कहिल्यै कसैले गरेको थिएन । नेपाललाई वशमा पार्न राजतन्त्रलाई बाधक ठानेर भारतले यहींका पानीआन्द्रे नेतालाई उठाएर राजतन्त्र ढालेपछि यी नेतालाई त झुसेबारुवा सम्झेका छन् । आज एकथरिलाई दिल्ली बोलाएका छन् त भोलि अर्कालाई– खेतालालाई अह्रनपटन गरेजस्तो छ । अर्को कुरा भारतीय नेता त्यहाँको परिपक्व कर्मचारीतन्त्रमा विश्वास गर्छन् भने नेपालका नेता आफ्ना कर्मचारीको अनुभव र सल्लाह लिंदा आफू सानो भइन्छ भन्ने हीन ग्रन्थीबाट ग्रस्त छन् । नेपालका नेताले कर्मचारीलाई पनि पार्टीका भागवण्डामा पार्छन् भने भारतीय कर्मचारीतन्त्र पार्टी र नेताप्रति होइन, आफ्नो देशप्रति बफादार छन् । जुनसुकै पार्टीको सरकार भए पनि त्यहाँका कर्मचारी आफ्नो ठाउँमा हुन्छन् भने नेपालमा चाहिं एउटा सरकार गएर अर्को आउँदा कर्मचारीलाई उतै दगुर्नुपर्ने अवस्थामा राखिएको छ । यहाँ कर्मचारीलाई राष्ट्रप्रतिभन्दा नेताप्रति बफादार हुनुपर्ने परिपाटीको विकास गराइएको छ । आज पनि भाजपा सरकारले नेपालप्रति गरेको नाकाबन्दी त्यहींका बुझक्कड कर्मचारीको सल्लाहमा भएको छ जसलाई भारतीय कांग्रेसको सरकारले पनि मानेको थियो । नेपाललाई बश पार्न कहिले कुन त कहिले कुन पार्टीका नेतालाई उचालेर देशभित्र हुँडलो मच्चाइदिने काम तिनै कर्मचारीका सल्लाहबाट गर्दैआएका छन् । नेपाललाई आफ्नो पञ्जाबाट फुत्कन नदिन तराईका नेतालाई उचाल्ने काम तिनै कर्मचारीको सल्लाहमा भएको छ । राजदूत पनि तिनै कर्मचारीमध्येमा पर्छन् । हामीकहाँ भने परराष्ट्रका पुराना कर्मचारी होइन (अपवाद छोडेर) पार्टी कार्यकर्तालाई राजदूत बनाएर पठाइन्छ । हाम्रा नेता (मन्त्री भएमा) त कर्मचारीलाई शौचालयमा थुन्ने र कार्यालयमै कुट्नेमा कुख्यात छन् भने त्यस्ताले कर्मचारीको लामो अनुभव र परामर्शको अर्थ के बुझ्न । संविधान निर्माणको अन्तिम घडीमा संविधान स्थगित गर्न भारतले पठाएका दूत जयशंकर प्रसादले ल्याएका प्रस्ताव नमानेमा तराईमा आन्दोलन हुने (गराइने !) धम्की समेत उनले कूटनीतिक भाषामा दिएर गएका थिए । त्यतिबेला संविधान पास नगरेसम्म सुशील कोइरालाले प्रधानमन्त्री पद नछोड्ने र केपी ओलीलाई तत्काल प्रधानमन्त्री नभै नभएको हुनाले प्रचण्डको मिलेमतोमा कांग्रेसलाई सत्ताबाट झार्न नियम रीत मिचेर फास्ट ट्रयाक भन्दै संविधान बनायौं त भने, त भारतले एः हामीले भनेको नमान्ने ? भनेर फास्ट ट्रयाकको स्वाद चखाइदियो । त्यसपछि परराष्ट्रमन्त्री कमल थापा दुईपटक दिल्ली गएर बिन्तीभाउ गेरपछि जयशंकरले ल्याएकै प्रस्ताव पालन गर्ने गरी फर्कदा यहाँ ठूलो उपलब्धि हाँसिल गरेको सम्झेर मन्त्रिपरिषद्बाट समेत दिल्लीको निर्देशन अनुसार चल्ने प्रस्ताव पारित गरेर मोर्चालाई बैठकमा बोलाउँदा तराई मोर्चावाला त प्रधानमन्त्रीले बोलाएको बैठकमा जानुसट्टा भारतीय दूताबास पुगे । त्यसपछि पनि कृतज्ञता प्रकट गर्न उनीहरु दिल्लीतर्फ लागे । अब दिल्लीको मन्त्रदान लिएर फर्केका छन् । निष्कर्ष के भने, यहाँका नेतालाई विवश पारेर, नेपाली जनतालाई अपार कष्ट भोगाएर, अर्थव्वस्थालाई भताभुंग पारिदिएर नेताहरुलाइ गलाउनसम्म गलाएर पुरानै शर्त पालन गराएर मात्र नाकाबन्दी खोल्ने जस्तो नांगो हस्तक्षेप देखियो । ओलीको प्रधानमन्त्री बन्ने महत्वाकांक्षाले गर्दा जनताले यो भुक्तमान वेहोर्नुपरेको छ भने राष्ट्रले पनि ठूलो क्षति वेहोर्नुपरेको छ । धेरै जनसंख्या र ठूलो भूभाग भएको भारत जस्तो देशमा केन्द्रले दृष्टि पुर्याउन नसकिने भएर संघीय राज्य विभाजन गरिए पनि भारतको कलकत्ता शहरको जति पनि जनसंख्या नभएको देशमा संघीयता लाद्न भारतले नै गिरिजा र प्रचण्डलाई उक्साएको हो । ठूलै देशमा पनि संघीयता नै चाहिन्छ भन्ने पनि त केही थिएन । जनतालाई स्थानीय निकाय मार्फत यथेष्ट अधिकार दिए भैहाल्यो । चीनमा पनि त संघीय व्यवस्था छैन । नेपालमा नेतालाई के भएको हो कुन्नि ? आफ्नै मान्छे अबुझ भएपछि अरुलाई के भन्ने ? यसै भारतसित लत्रिनु उसै लत्रिनु– ओलीले अलिदिन पछि प्रधानमन्त्री हुन पर्खेका भए या नाकाबन्दीका हुण्डरी नै चल्ने थिएन । कि त अडिन सक्नुपथ्र्यो, धेरै क्षति वेहोरेर आज लात्रिनुपर्दा लाजमर्दो भएन ? हुन त लाजघीन पचाउन खप्पिस भएकाहरुलाई केको लाज ! भने पनि भयो । नेपालका पार्टीहरु र नेताहरुबीच मेलमिलाप भएको भारतलाई सह्य नभएर मिले उनैको इशारामा मिल्ने र फुटे पनि उनैको इशारामा फुट्ने स्वभाव भएको भन्ने हाम्रा नेतामाथि लाग्नेगरेको आरोपलाई मित्थ्या साबित गर्न हाम्रा नेता राष्ट्रिय हितको धारणाबाट परिचालित हुन आवश्यक छ एकातिर भने अर्कातिर हामी नेपाली दाउपेचमा कमजोर हुन सक्छौं, प्रगतिको हिसावबाट पछि हुनसक्छौं, तर मित्रताको भावनामा हामी दह्रा छौं भन्ने यथार्थलाई भारतले पनि बुझिदिनुपर्छ भन्ने हाम्रो आग्रह हो । आफ्नो सीमानाको सुरक्षा र राष्ट्रको हित चिताउनुलाई अर्काको अहित वा बिरोधका रुपमा नलिइयोस् भन्ने हाम्रो भनाइलाई अर्घेलो नसम्झियोस् । कुनै पार्टी वा नेता विशेषलाई फकाएर राष्ट्रहितको प्रतिकूल हुने काममा लगाएर नेपालको सहानुभूति लिन खोजेर हुँदैन । परस्पर सम्मान र समानताका आधारमा मात्र सम्बन्ध सुध्रन्छ । आज कसैलाई पनि बलै मुट्ठीमा कसेर राख्न सम्भव छैन । नेपाल पनि एउटासंग मात्र टाँस्सिएर अर्कालाई क्षति पुर्याउने हिसाबमा छैन । हाम्रो परम्परा, संस्कृत र इतिहासले नै त्यस्ता मान्यतालाई स्वीकार गर्दैन । “त मेरो मात्रै भएर बस्नुपर्छ” भन्ने चाहना कसैले पनि नराखोस् । हामी नेपाली दुबै छिमकीको कल्याण चिताएर बस्न चाहन्छौं । आफ्नो राष्ट्रिय व्यक्तित्वलाई सर्वोपरी महत्व दिने हाम्रो आकांक्षालाई मित्रहरुले अर्घेलो सम्झिदिनुभएन । सबैको शुभ चिताएर बाँच्न चाहने हामी नेपाली अरुबाट पनि त्यस्तै सद्भावको अपेक्षा राख्छौं । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||