युगसम्बाद साप्ताहिक

अब त चेत ! (अब पनि नचेते कहिले चेत्ने ?)
Wednesday, 01.13.2016, 12:56pm (GMT5.5)

- तारा सुवेदी

अहिले मलाई आशावादी बनाएको विषय हो “चीनको तिब्बत हुँदै काठमाडौंसम्म रेल्वे मार्ग संचालनमा ल्याउने अर्थात् काठमाडौंबाट ह्लासा–साँघाई वा बेजिङ्गसम्म ट्रेनमा चढेर पुग्न सकिने गरी चीनसँग सम्झौताको प्रस्ताव ।” 

दुई तीनवर्ष अघि पश्चिमाञ्चल विकासमञ्चले एउटा स्मारिका प्रकाशित गरेको थियो । त्यसमा मेरो एउटा लेख प्रकाशित थियो । “अहिले असम्भव देखिए पनि, भविष्यमा सम्भव छ” भन्ने त्यसको शीर्षक थियो । त्यो लेखमा, “भारतको पटनाबाट सप्तगण्डकी (भारतमा पुगेपछि गण्डक भनिने) नदीको किनारै किनारको समथर मैदानबाट कावासोती,– त्यहाँबाट कालीगण्डकी किनारको पहाडमा ३–४ कि.मी.को एउटा सुरुङ्ग मार्ग बनाई तनहूँ जिल्लाको वैदी निस्कने, वैदीबाट भीरकोटको डाँडा (पहाड) मुनितिरको सानो खोल्साबाट छिराई ४–५ कि.मी.को सुरुङ्ग बनाएपछि सेतीनदीले बनाएको मैदान जुन शुरु हुन्छ, त्यहाँ पुगिन्छ । भीमाद तलको रिसिङ्गवेसी फाँटबाट खैरेनीटार हुँदै पोखरा बजारको वा नगरको (सेती वार–पारको) समथर हुँदै पोखराको सुदूर उत्तर मर्दीखोलाबाट पश्चिमतिरको डाँडा छोडेपछि मोदीखोला निस्कने र मोदीबाट मुस्ताङ्गको लेते पारी कालीगण्डकी पूर्वको कुञ्जोसम्म बढीमा १०–१५ किलमिटरको सुरुङ्ग मार्ग बनाउने । त्यसपछि कालीगण्डकी किनारै किनारबाट घमी, चैले, लोमन्थाङ्ग हुँदै तिब्बत–चीनको तिब्बतको पूर्वपश्चिम– (जुन पूर्वमा केरुङ्ग सिंगात्से हुँदै सम्भवतः काराकोलम अफगानिस्तानतिर पुग्छ जस्तो लाग्छ–) राजमार्गको कोरल्ला पुर्याउने हो भने पोखराबाट बढीमा ३ दिनमा मानसरोवर कैलाश स्नान, दर्शन गरेर पोखरा फर्किन सकिनेछ । अथवा पोखरेलीका सन्तानहरूले ४–५ दिनमा ट्रेनबाट साँघाई बेइजिङ्ग पुग्न सक्नेछन् । यो कुरा अहिले एउटा (मीठो दीवास्वप्न) जस्तो लागे पनि केही दशकपछि सम्भव छ” भनेर लेखिएको थियो । 

त्यसबेला अहिलेको जस्तो भारतले अघोषित नाकावन्दी गरेको थिएन । तर उस्ले जेजस्तो मधेस प्रदेशवादीहरूका काँधमा बन्दूक राखेर नेपालको एकता, अखण्डतामा– आधारित राष्ट्रियता ढाल्ने सोच राखेको थियो, त्यस्को पूर्वाभास भने त्यसैबखत भैसकेको थियो । तथापि सत्ता–शक्ति प्राप्तिदेखि  स्वास्थ्योपचारदेखि शाखा सन्तानको शिक्षा दिक्षासम्मका लागि दिल्ली दरवारका रछान चहार्न पुग्ने नेपालका राजनीतिक पेशा व्यवसायीहरूको अदूरदर्शिता, सीमान्त घटिया स्वार्थ र सत्ता शक्तिप्रतिको आशक्ति जुन हदमा गीरेको देखिएको थियो त्यही कमजोरीको पिठ्यूँमा चढेर छिमेकीले आप्mनो रजाई कायम गर्न आउँछ । “संविधान” त्यस्को मुद्दा वा माध्यम बन्न सक्छ । कथंकदाचित उस्ले भने जस्तो संविधान बनेन, आएन भने नाकावन्दी जस्ता कठोर कदम चाल्न सक्छ” भन्ने चेतनाबोध त्यसैबेला नभएको होइन । जेहोस्,

अहिले कतिलाई हेक्का छ, थाहा छैन । २०२७ सालदेखि नै भारततिरबाट पटकपटक नाकावन्दी हुँदैआएको थियो । कहिले अनधिकृत व्यापार रोक्नु पर्ने नाममा, कहिले व्यापार र पारवहन सन्धीको म्याद सकिएको र नयाँ सन्धी नभएको वहानामा । २०४६ सालमा त “नेपालमा वहुदलीय व्यवस्था स्थापित गर्न राजा तयार नभएसम्म डेढवर्ष पहिलेदेखिको आर्थिक नाकावन्दीलाई अझ कडाइकासाथ लागू गरिदिन” गणेशमान सिंहको चाक्सीबारीमा त्यसबेलाका भारतमा नभएपनि नेपालका शक्तिशाली नेता चन्द्रशेखरलाई त्यसबेलाका “प्रजातन्त्रवादी” शक्तिहरूले गणेशमान सिंहमार्पmत् दवाव दिएका थिए । संयोग नै भन्नु पर्ला । त्यसबेलाका कट्टर राष्ट्रवादी र भारत विरोधीका रूपमा देखिएर गणेशमान पत्नी मंगलादेवीलाई पहिलो प्रतिनिधिसभाको निर्वाचनमा पराजीत गरेका रैथाने जातीय राज्यका कट्टर हिमायती पक्षधर एक नेताले केहीदिन पहिले मधेस प्रदेशसँगै “जातीय राज्यको पक्षमा नाकावन्दी अझ कडा गरिदिन” छिमेकी मुलुक भारतका राजदूतावासमा ज्ञापन र दवाव दिन गएको समाचारपत्रमा पढ्नु पर्याे ।

जव जव त्यसरी (पटकपटक) दक्षिणतिरबाट नाकावन्दी हुन थाल्छ, त्यसबेलाको राजदरवार र (पछि सिंहदरवारको) उत्तरतिर फर्किएर दक्षिणतिरकालाई घुर्की र धम्की दिन थाल्दथ्यो र “हेर तिमीहरूले नाकावन्दी गरे, हामी उत्तरतिरबाट पेट्रोलियम ल्याएर काम चलाउँछौं” भन्ने गुड्डी हाँक्दथ्यो । जब दक्षिणबाट सामान आउन ल्याउन थालिन्थ्यो, उत्तरतिर पिठ्यूँ फर्काएर बेवास्ता गर्ने गर्दथ्यो । हिजो संकटका बेला उत्तरसँग गरेका वाचा कवोल मर्लक्कै विर्सिदिने गर्दथ्यो । यही व्यवहारले गर्दा होला उहिले दक्षिणी र उत्तरी दुई ध्रुवतिर देखिएका, राजनीतिक दर्शन, सिद्धान्त एवं शासनपद्धति नै एकअर्काका विपरीतको लिएर अघिबढ्दा कुनै बेला नेपालको पूर्वी र पश्चिमी हिमाली मैदानमा संक्षिप्तयुद्ध लडेका दुई मुलुकको अन्तरावत्र्ती राष्ट्र (वफर स्टेट) को स्थितिमा रहेर जेजस्तो लाभ अहिले नेपालले लिएको थियो, अहिले नेपालले ठीक त्यस्को उल्टो दुवैतिरको विश्वास गुमाउन पुगेको देखियो ।

त्यो सब हुँदाहुँदै पनि सम्भवतः बेलाबेलामा “लात मारेकालाई वातले साथ दिएर भएपनि माया दिनुपर्छ, नजीक पार्नुपर्छ” भन्ने कूटनीतिक रणनीतिकै कारणले हो कि ? झण्डै चारमहिनाको नाकावन्दीका कट्टर वा सकस व्यहोरी रहेको नेपाललाई एकहजार कीलोलिटर पेट्रोलियम दिएर पेट्रोलियम किन्न गएका नेपालीलाई झण्डै एकमहिनासम्म झुलाएर थकाएको र उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नै पुगेर पुनः विश्वास दिलाएपछि पुनः नेपालप्रति हमदर्दी देखाउँदै नेपालको राजधानी काठमाडौंसम्म रेल्वे सेवा पुर्याउने जस्ता निकै महत्वाकांक्षी सपनाको भारी बोकाएर पठाइएको छ । 

यद्यपि अहिले नै “पोखरा कि काठमाडौंमा रेल पुर्याउने ?” भन्ने विवाद खडा गर्नु ठीक होइन । तथापि भू–संरचनागत यथार्थतालाई अलिकति घोरिएर र सोच्ने हो भने हुम्लादेखि ताप्लेजुङ्गसम्मको मात्रै नभई म्यान्मारदेखि अफगानिस्तानको पश्चिम सीमासम्म पुगेको झण्डै दुई हजार दुईसय माइलको हिन्दकुशक्षेत्रको दक्षिणी पाखोको जमीन जम्ने र अड्ने नभई पहाड जती काट्यो, त्यति पानीले बगाउने खालको छ । त्यतिमात्रै नभई जाडोयाममा हिउँ जमेर र वर्षायामका बाढी पहिरोले बन्द हुन्छ । त्यहाँ खन्ने बाटो गफमा भलै ४–८ जति लेनको बनाउन पनि सकिएला ? यथार्थमा सतह (सर्फेस) मा स्थायी र सबै मौसममा चल्ने बनाउन त्यस्तो २५–४५ कि.मी.को भूक्षेत्र छलेर वाह्रै महिना ट्रेन (रेल्वे) वा ठूला साना गाडी चलाउन सकिने राजमार्ग बनाउने सम्भव छ । र आर्थिक दृष्टिले सबैभन्दा सस्तो र प्राविधिक एवं दूरीका दृष्टिले पनि काली–सेती–काली जोडेर बनाउने कावासोती कोरल्ला नै उपयुक्त हुने ठहरिनेछ । पूर्व–पश्चिम (भद्रपुरदेखि कञ्चनपुर) रेल्वेसँग तिब्बती दक्षिण सीमा भएर पूर्व पश्चिम रेल्वे र राजमार्गलाई जोड्ने छोटो सस्तो र सदावहार मार्ग यो बाहेक सायद अर्को हुने छैन । तर पनि अहिले त्यस्को वहस “तालमा माछा बगरमा वीलो” हुने हुँदा त्यताको पाटो र बाटो छोडौं । 

उत्तरी छिमेकी चीनले २०४१ सालमा पनि “नेपाललाई पेट्रेलियम आपूर्ति गर्न पाइपलाईन बिछ्याई दिने “तत्परता देखाएको थियो । त्यसबेला उस्ले “कम्तीमा २० वर्षसम्म चीनबाटै पेट्रोलियम खरीद गर्ने” नेपालबाट प्रतिवद्धता खोजेको थियो । नेपालको ढुलमुले र भारतमुखी राजनीतिक चरित्र र प्रवृत्ति देखेर नै त्यस्तो प्रतिवद्धता मागेको थियो होला । तर नेपालले दक्षिणीको डरले त्यस्तो सम्झौता गर्न सकेन । जस्को परिणति आज राष्ट्रिय प्रगति, समृद्धि, समुन्नतिको साटो अवनति र दुर्गतिमात्रै भएन । सम्पूर्ण नेपालीले एकैसाथ यति लामो समयसम्म सकस व्यहोर्नु पर्याे । यसरी छिमेकीभित्र नेपालीहरूको नियतिमा प्रकृतिले नभई अर्को छिमेकीले कोरिदिएको अनवरत दुःख, कष्ट भोगाईको कर्मरेखा मेटिदिनु पर्छ भनेर नै अहिले उत्तरी छिमेकी चीनले राजधानीसम्म रेल्वे लाईन विस्तार गरी ट्रेन संचालन गरिदिने र पेट्रोलियमको पाईप लाईन बिछ्याइदिने प्रस्ताव राखेको रहेछ । त्यही “सन्देश लिएर नेपालका उपप्रधान एवं परराष्ट्र मन्त्री फर्किएर” एउटा सुखद र सुदूर भविष्यको संकेत गरेका छन् । 

जुन नेपाल र नेपाली राजनीतिका, नीति नियन्ता नेताहरूले आपूmलाई सधैं एउटा देशसँग धर्म, संस्कृति, परम्परा र सामाजिकरूपमा रोटी बेटीको अटूट सम्बन्धको कारणले निकटस्थ र जनस्तरको सुसम्बन्धको आधारमा विशिष्ट र घनिष्ट सुसम्बन्ध भएको” भन्ने र अर्कोलाई भू–वनौटका दृष्टिले टाढाको ठान्दै र देख्दै आयो, त्यसरी घनिष्ट भनिएकोले दुःख, कष्ट दिने र टाढाकोलाई गुहार्नु पर्ने कारण के ? त्यस्का अन्तर्निहित कारण र अर्थ एवं त्यस्का विभिन्न पक्ष लाभहानी एवं प्रत्येक कुराको परिणामबारे अहिले चिनियाहरू पक्कै हिसाव किताव गर्दै होलान् (?) 

तर विश्वमा नै कूटनीतिक खेल खेल्न र व्यापारिक क्षेत्र विस्तार गर्दै आर्थिक रूपमा आप्mनो एकाधिकार एवं संप्रभूता कायम गर्ने संकल्पसाथ सगरमाथा शिखर चढ्दै गरेको उत्तरी छिमेकीले नेपालबाट जति विश्वासघात भएपनि आपूmले जति गुन गरेपनि शदियौंदेखि नून खुवाउने ठेक्का लिएपनि, नूनको र गुनको मूल्य नबुझ्ने, नेपाल र नेपालीलाई किन सहयोग र सुसम्बन्धको हात बढाई राजधानी काठमाडौंसम्म रेल्वे र पेट्रोलियमको पाईप लाईनको प्रस्ताव पेश गरिरहेछ ? यस यक्षप्रश्नको उत्तर सहज सम्भव छैन । त्यसको हिसाव किताव होइन,.. यसबाट हुने आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक वा रणनीतिक लाभहानीको समष्टिगत (कूलमा) उत्तर धनात्मक वा ऋणात्मक के हात लाग्छ ? दुवै छिमेकीले मात्रै गरिराखेको नभई विश्वले नै आँखा तानेर नियाली रहेको हुनुपर्छ भन्ने लाग्छ । 

यद्यपि दक्षिणी छिमेकी ‘गुप्ता’ हो । ऊ छिट्टै ‘सय दिएर हजारमात्रै होइन, मौका ढुकेर लाखै असूल्ने दाउ हेर्ने हो । उस्ले त्यस्तो घटिया वनिया व्यवहार नेपालसँग मात्रै नभई सबै छिमेकीसँग पनि गर्दैआएको देखिएको छ । त्यसैले छिमेकीहरूलाई ‘धन’ र ‘गन’ ले जित्न सकेपनि ! वशमा राखेपनि चूँ बोल्न नसक्ने’ स्थितिमा राखेर पनि ‘मन’ र ‘मुटू’ मा घृणा उत्पन्न गर्ने काम पनि गरेको छ । छिमेकीहरू त्यो मन र मुटुभित्रको चोट र पीडाको रुवाई वा आँसु यदाकदा आपसमा साटासाट गरेपनि विश्वमञ्चमा भने मौन आवाजमा अभिव्यक्त गरिरहेछन् । 

उत्तरी छिमेकी भने सन् १९९०  पूर्वको महामूर्ख सोभियत रुस होइन, जस्ले नेपालका वक्सीस बाँडेर ठूलो देखिने राणाहरूको हविगतसँग सिकेन । “धन बाँडेर जनमत जित्न र सर्वाहाराजनको एउटै सीमाबिहीन साम्यवादी विश्वनिर्माणको दिवास्वप्न देख्नु गलत रहेछ” भन्ने शिक्षा चीनले सोभियत संघको पतनबाट लियो । “पूँजीवादी विश्वका ठूला पूँजीवादीहरूलाई पूँजीकै अत्यधिक आर्जन गरेर मात्रै आप्mनो प्रभाव विस्तार गर्न, दवाव सिर्जना गर्न र आप्mनो थप उन्नति, प्रगतिसँगै राष्ट्र, राष्ट्रियताको सुरक्षा सम्भव छ” भन्ने सोचाई बोकेको महाव्यापारी हो चीन । उस्ले अहिले नाफा होइन, प्रतिफल होइन, छिमेकमा बेहिसाव (एकोहोरो लगानी गर्दै जाने) छिमेकीको मन–धनले हुन्छ वा गनले हुन्छ– जित्नै पर्छ भन्ने सोचाइले अघिबढ्दैछ । त्यसैले उस्का सीमा जोडिएका करीव १४ वटा देशसँग उस्को कहिल्यै नराम्रो सम्बन्ध भएन, देखिएन । लाओस्, कम्पुचिया, उत्तर कोरिया, भियतनाम जस्ता पश्चिमी साम्राज्यवादीका आँखामा अस्वीकृत मुलुकहरूको चीन नै संरक्षक बनिदिएको छ । ती मुलुकबाट आत्मसुरक्षाको अनुभूति गर्न पाउने बाहेक चीनले थप स्वार्थपूर्ति गर्ने उद्देश्य र नीति लिएको देखिन्न । अपवादका रूपमा जापान र भारत पर्दछन् होला । तर उनीहरू पनि चीनसँग “लाप्पा खेल्ने” भन्दा सहयोग लिएरै मित्र बनाउने मूड र स्थितिमा देखिएका छन् । 

यसरी छिमेकीहरूसँग उदारतापूर्ण घनिष्ट मित्रता स्थापित गर्दै एकदशकभित्र नै विश्वको शक्तिकेन्द्र बन्ने महान् संकल्प, लक्ष्य र उद्देश्य लिएर साहसपूर्वक अघिबढ्दै गरेको संसारकै ठूलो जनसंख्या र छाती भएको देश हो चीन । नेपालले त्यस्तो मुलुकलाई निकटस्थ मित्रको रूपमा पाउनु अपूर्व सौभाग्यको कुरा हो । त्यस्मा पनि उस्ले आप्mनै खर्चमा राजधानी काठमाडौंसम्म रेल्वै (ट्रेन) लाईन निर्माण गरिदिने र त्यसैका माध्यमबाट दुई राजधानी (वेजिङ्ग र काठमाडौं)– जोड्ने मनसुवा जुन चीनले प्रकट गरिरहेछ, त्यस्लाई किमार्थ असफल गर्नेहरूको वहकाईमा लागेर नेपालले हिंड्नु हुँदैन भन्ने लाग्छ । 

नेपालले “औद्योगिकरण, व्यापार विविधीकरण, निकासी प्रवद्र्धन” का जति चर्का कुरा गरेपनि ती सबै त्यही दक्षिणी छिमेकीका उक्साई मात्र हुन् । उस्कै मुलुकका नागरिक नै मालिक र कामदार बनेर आउने, उनीहरूले “आप्mनै मुलुकमा बनेका वा अद्र्धप्रशोधित वस्तुलाई कच्चापदार्थको रूपमा ल्याउने र “उद्योग” को नाममा नेपालका बैंकहरूबाट धीतोको मूल्यांकन चौगुना बढाएर ऋण लिने, पछि जीर्ण, शीर्ण र कवाड भैसकेको उद्योग बैंकलाई हिल्ला लगाएर जाने” हुन् । कुनै व्यापारी र उद्योगीले नेपाल र नेपाली अर्थतन्त्रलाई टेवा होस् भन्ने नभई नेपालको अर्थतन्त्रलाई श्रीमतीको दाइजो, पेवा मात्र ठान्ने हुन् । त्यसैले आर्थिक विकासको नाममा विनाशको बाटो लिनुको अर्थ छैन । भूपरिवेष्ठित भएकोले नेपालको उत्पादन निकासीमा पर्नजाने थप समस्यालाई पनि हेक्का राख्नुपर्नेछ । 

नेपालले ३÷४ वटा क्षेत्रमा केन्द्रित भएर इमान्दारिता र सक्रियतापूर्वक लागे २० वर्षमा निकै फड्को मात्रै मार्न सक्ने होइन, माथिल्लो उचाईमा पनि पुग्नसक्ने देखिन्छ । ती क्षेत्र भनेका (१) पर्यटनका पूर्वाधारहरूको अधिकतम विकास र प्रचार–प्रसार गर्ने  (२) जलविद्युतमा आकर्षक (बूट) प्रणालीबाट लगानी आकर्षित गरी रोयल्टी वापतको विद्युतलाई गार्हस्थ प्रयोजनका लागि छिमेकी भारतले सिक्किमलाई दिएजस्तो नाममात्रको पूर्ण सहुलियत दरमा वितरण गरी वन्य पैदावर र आयातित एल.पी. ग्यास माथिको चाप न्यूनीकरण गर्ने–  (३) पर्यटनसँग प्रत्यक्ष परोक्ष घनिष्ट सम्बन्ध जोडिएको अन्न, तरकारी र फलपूmल उत्पादन पूर्णतः प्राङ्गारिक (अर्गानिक) मलबाट मात्र गर्ने, र त्यस्मा उपभोक्ताको विश्वास आर्जन गर्न सहज संपरीक्षण हुन गर्न सकिने प्रणालीको स्थापना गर्ने (४) एउटा छिमेकी (भारत) बाट आउने धार्मिक वा विशुद्ध प्राकृतिक दृश्यावलीका लागि आउने पर्यटकलाई दिए सरहको निःशुल्क प्रवेश (भीसा–फ्री) सुविधा अर्को छिमेकी चीनका नागरिकलाई पनि दिने, (–यसो गर्दा विश्वका सबैभन्दा बढी जनसंख्या (झण्डै ३०%) को नजीकको सुगम र सुलभ पर्यटन केन्द्र नेपाल हुनेछ । पूर्वाधार त्यही अनुपातमा तयार गर्दै जान सके वर्षेनी ७०–९० लाख पर्यटक आउन सक्ने सम्भावना छ) । यहाँ के पनि हेक्का राख्न जरुरी छ भने नेपालका लागि पर्यटक नै यस्तो क्षेत्र हो जसबाट प्राप्त प्रतिफल सहज र स्वतः तल्लोस्तरका ग्रामीण जनतासम्म वितरित हुनजान्छ । “राज्यले मात्रै वा केही मुठ्ठीभरले मात्र विकासको प्रतिफलमाथि एकाधिपत्य कायम गरे” भन्ने दोषबाट राज्य र सरकार मुक्त हुनसक्छ । 

चीनबाट प्रस्तावित रेल्वे मार्ग काठमाडौंसम्म विस्तार र पेट्रोलियम पाईप लाईन बिछ्याउने योजनाबाट माथि उल्लेख गरिएका नेपालका विकास, उन्नति, प्रगति र समृद्धिका सबै ढोका एकसाथ खुलेका हुनेछन् । तर पनि प्रश्न एउटै ठाउँमा गएर ठोकिन्छ– के नेपालका राज्य सत्ता नियन्ता शासक प्रशासकदेखि दूतावासका रटान चाहारेर जीवन निर्वाह गर्ने दिल्लीदासहरू– बाट यसमा सकारात्मक प्रयास होला ? 

त्यही वा उक्त परिवेश र परिप्रेक्ष्यमा नेपाल र नेपाली जति गरीव र नेपालका शासन सत्ता नियन्ता जति सीमान्त हरीव मनमस्तिष्कका किन नहोऊन्– चीन उदारतापूर्वक छिमेकीको भलो होस् भनेर र ‘बैगुनीलाई गुन गरेर र आपूmप्रति बेईमानी गर्न सोच्नेहरू अरुको नून खुवाएर आप्mनो कुभलो सोच्ने साहस नगरुन्’ भन्ने चीनको जुन छिमेकी मुलुकप्रतिको नीति छ– सम्भवत अब पनि नेपाल र नेपालका सत्ता, शक्ति र स्वार्थको खेती गराईलाई नै आपूmले राजनीति गरेको जनमनमा भ्रम छर्दै आएका राजनीतिक पेशेवरहरूले बुझेनन् भने (सम्भावना त अभैm पनि त्यस्तै नै छ)– सम्भवत नेपाल र नेपालीले या त आपैंmमध्येबाट कुनै तानाशाह जन्माउनु पर्नेछ । नभए केही दशक अगाडिको गुयाना कि त्यस्तै कुनै देशको चर्चका धर्मान्धहरूले झ्यालढोका बन्द गरी आपैmले कठोर वीषाक्त ग्यास पैmलाएर सामूहिक आत्महत्या गरेको घटनाको नक्कल गर्नुपर्नेछ । अहिले चिनिया सहयोगको हात बढाईलाई मधेसवादीका बुई चढेर नेपाललाई काँचो वायुले जस्तै सताइरहेका अतृप्तप्रेतात्माका वहकाईमा लागेर हात खिचियो भने निश्चित छ, त्यही अतृप्तप्रेतात्माले यसरी नै कालान्तरसम्म (ऊ समक्ष आत्मसमर्पण गरेर मृत्युवरण नगर्दासम्म) सताइरहने, दुःख दिइरहने छ, अवश्यम्भावी छ । 

आज नेपाल वर्वादीको संघार र डीलमा पाइला टेकेर अर्को पाइताला उचालिएको अवस्थामा अवश्य उभिएको देखिएको होला । तर वर्वादीको भड्खारोमा परिसक्यो, फँसी सक्यो भनिहाल्ने स्थितिमा पुगिसकेको भने छैन । किनकि अभैm केही आशलाग्दा संकेत टड्कारो देखिइरहेका छन् । जुन माथि चर्चा गरिसकियो । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com