युगसम्बाद साप्ताहिक

“अजापुत्रो बलिंदद्यात् दैवो दुर्बलघातकः”
Thursday, 02.18.2016, 07:36am (GMT5.5)


- महेश्वर शर्मा

कुनै विपत्ति आइपर्दा ‘दैव लागेपछि कसको के लाग्छ’ भनेर बुढापाकाले सुइय्य गर्ने गरेको मैले सानैदेखि सुन्दैआएको छु । हुन त ‘दैव’ भन्नाले भाग्य सम्झिइन्छ, तर यथार्थमा आज पनि जनतालाई भाग्यवादमा विश्वास गर्न बाध्य पारिएको छ । मान्छेले जब कतै शरण पाउँदैन अनि भाग्यमा पुग्छ । कस्तै मै हुँ भन्नेले पनि विपरीत स्थितिसंग जुध्ने साहस देखाउन नसकेपछि सुस्केरा हाल्दै दैवलाई नै पुकारेकको देख्दा म बारम्बार यो श्लोक सम्झन्छु–

अश्वं नैब गजं नैब व्याह्रां नैब च ।
अजापुत्रो बलिंदद्यात् दैवो दुर्बलघातकः ।।

अर्थात् संसार बलियाकै रहेछ । ‘दैव’ भनेकै हैकमवाला शक्तिशाली रहेछ भनेर बुझ्नुपर्ने भएको छ । कसैले पनि हात्ती–घोडा–बाघ जस्ता बलिया जनावरको बलि नचढाएर बिचरा बाख्रीको छोरालाई बलि चढाउँछ । दैव (बलियो)ले निर्बलियालाई अँठ्याएको देखिएकै छ । दैव भनेर मान्छेले विशेषतः ईश्वर, भाग्य वा तकदीरलाई सम्झन्छन् । तर, यथार्थमा त्यो ‘दैव’ भनेको हाम्रो समाज व्यवहारमा ठूलाबडा भनाउँदा धनी, सेठ, नेता, भ्रष्टाचारी, कालाबजारिया, फटाहा, लुच्छा, गुण्डा र अपराधी सम्झनुपर्ने स्थिति छ । यहाँ दैव भनेर ईश्वरलाई दोष दिनुको कुनै अर्थ छैन । ठूलाबडाले बदमासी गर्ने, दुःखदिने अनि तिमीहरूलाई दैवले दुःखदिएको अथवा पूर्वजन्मको पापले यस्तो र उस्तो भएको भन्ने जस्ता कथा सुनाउन लगाउने ठूलाबडाको शोषणको तरिका नबुझेर जनता आफ्नो दयनीय अवस्थाको कारण भाग्यलाई सम्झन्छन् ।

हिजोआज यहाँ भ्रष्टाचारको बजार उर्लेको छ । पहिले अड्डा अदालत र कर्मचारीमा मात्र चर्चा हुने भ्रष्टाचार अहिले खुलाबजार अर्थतन्त्रमा भ्रष्टाचार पनि खुलै भएको छ । जेहोस्, माथिको लोक पनि एउटा व्यंग्य नै हो ‘ठूलालाई चैन, सानालाई ऐन’ भनेजस्तै । भ्रष्टाचारकै प्रसंगमा पनि ठूला साँढेलाई कसैले छोएनन्, विशेषतः अपवाद बाहेक, निमूखा र कमजोर नै कार्वाहीमा परेका देखिन्छन् । सूडान घोटाला प्रकरणमा तीनजना भूपू प्रहरी महानिरीक्षकसहित ३६ जनाउपर मुद्दा दायर गर्दा (२८ करोड ८१ लाख भ्रष्टाचार भएको दावी) तत्कालका गृहमन्त्री कृष्णप्रसाद सिटौला त प्रत्यक्ष संलग्न थिए नै, ती बाहेक बामदेव गौतम र भीम रावललाई राजनीतिक दवावबाट छुटेको चर्चा थियो । त्यसमा पनि बढी रकम खानेमा गिरिजा, सुजाताको बंगलादेशी जुवाई रूबेल चौधरी, प्रचण्ड र माधव नेपाल समेतलाई छुटाएकोमा तत्काल जनतामा व्यापक रोश थियो, तर त्यत्तिकै बिलायो भन्ने चर्चा आज पनि सुनिन्छ ।

माओवादी गुरिल्लालाई शिविरमा राखेपछि सरकारको बीस अर्ब खर्च भएको भनियो, तर पछि सोह्र अर्ब मात्र खर्च भएको थाहा भयो । बाँकी चार अर्ब हुँदै नभएका गुरिल्लाका नाममा प्रचण्डले चाटे भनेर पत्रपत्रिकाले प्रशस्त चर्चा गरे । खण्डन पनि भएन, खाएको खायै भयो । अख्तियारले पनि छानबीन गर्ने आँट निकालेन । गिरिजाले आफू प्रधानमन्त्री हुँदा शानेवानिलाई दवावमा पारेर चन्द्र शेखरको मान्छे दिनेश धमिजालाई युरोपका निमित्त शानेबानिको प्रतिनिध बनाए । त्यसअघि युरोपभरिका तीनवटा प्रतिनिधिलाई दुईसय थान निःशुल्क टिकट दिइन्थ्यो भने धमिजा एउटैलाई पाँचसय थान निःशुल्क टिकट दिने गराए । पहिलेका प्रतिनिधिले प्रति टिकट एक सय डलर डिपोजिट बुझाउँथे भने धमिजालाई प्रतिटिकट २० डलर मात्र राख्न लगाए । साथै धमिजालाई १ प्रतिशत कमिशन समेत दिन लगाए । यसरी धमिजालाई युरोपभरिको प्रतिनिधि तोकेर बजार प्रबद्र्धन गर्न र विभागलाई भएको थप उडानको अधिकार समेत सुम्पेर शानेबानिलाई वार्षिक ७५ करोड नोक्सान गराएको भनेर संसदको सातौं अधिवेशनमाा लेखासमितिले छानबिन गरी जिरिगा र निगमका कर्मचारीको समेत बयान लिएर प्रधानमन्त्रीमाथि महाभियोग प्रस्ताव पेश गर्ने तयारी भएकोमा गिरिजाले शानेबानि भवनमा षण्डमुण्ड पठाएर तोडफोड मात्रै गराएनन्, संसद नै भंंग गराए । सबै हेरेको हेर्यै भए ।

स्मरणीय के छ भने गिरिजाकी चंचल मनस्थितिकी छोरी सुजाता जर्मन नागरिक नोबर्ट जोष्टसित पोइल गएकी र २०४८ सालमा गिरिजा प्रधानमन्त्री भएपछि लोग्नेलाई लिएर नेपाल आएकी थिइन् । हवाई जहाज खरीद प्रकरणमा बाबुको आडमा विमानको विदेशस्थित एजेण्ट सुजाताकै लोग्नेलाई बनाइएको थियो । सुजाताले छोरी मेलानीको विहा कलकत्ताका व्यापारी रूबेल चौधरीसित गराइदिंदा सोह्रकरोड त दाइजो नै दिएकी भन्ने चर्चा त्यसै चलेन होला । छोरीले बच्चा पाएको खुसियालीमा दश लाखको हिराको हार नै दिएकी भनेर अनि मण्डिखटार दरबार कहाँको पैसाले बन्यो ? गिरिजाले बाँसबारी छालाजुत्ता कारखाना, भृकुटी कागज कारखाना, हरिसिद्धि इटा टायल कारखाना आदि दर्जनौं कारखाना मोटो रकम कमिशन, कर्मचारी सरूवा–बढुवा–नियुक्ति, ठेक्कापट्टाको कमिशन, उद्योगी–व्यापारीसितको असुली समेत बेहिसाब भ्रष्टाचार गरेको पैसा हैन त्यो ? भन्ने व्यापक चर्चा चले पनि कुनै कार्वाही भएन, सानाहरूलाई चाहिं बलि चढाइयो । त्यतिबेला अख्तियाले पूर्जी काट्ता मलाई कार्बाही गर्ने अधिकार तिमीलाई छैन भनेर गिरिजाले अख्तियार प्रमुखलाई नै धम्क्याएका थिए । अहिले अख्तियारको स्थिति कस्तो छ कुन्नि ! त्यहाँ पनि समस्या नै होला । “अजापुत्रो बलिंदद्यात् दैवो दुर्बलघातकः” भनेको यही हो ।

गिरिजाकै प्रधानमन्त्रीत्वकालमा योजना प्रमुख खटाउँदा योजनाको बजेट हेरेर बढाबढमा अग्रिम भुक्तानी बुझेर मात्रै खटाउने गरिन्थ्यो भने वैदेशिक मिशनमा बाहिरबाट पठाउँदा झन ठूलो दस्तूर थियो भनिन्छ । पुलिसको पदोन्नतिमा त हाकाहाकी लाखौंलाखको रकम कतै छोरी, कतै ज्वाई त कतै भाउजुका माध्यमबाट बुझाउने गरेको सुनाउँथे । एउटा गतिलै आयोगको सदस्य हुन एकजनाले त नयाँ तयारी घर नै बुझाएको सुनिन्थ्यो । यी यही घर हो भनेर एकजनाले देखाएका पनि थिए रे । राजा वीरेन्द्रले भ्रष्टाचारमाा फालेका एकजनालाई त पैसाकै भरमा चोख्याएर पछि सहायक मन्त्री बनाइदिएका हुनाले भ्रष्टाचारका मामलामा त गिरिजा चमत्कारी नै मानिएका हुन् ।

छोरीलाई राजनीतिमा स्थापित गराउन पैसा जुटाउने उद्देश्यले सुषमा कोइराला ट्रस्ट नामको गैरसरकारी संस्था खोलेर उद्घाटनका लागि गिरिजाले प्रभावशाली देशका सातजना राजदूतलाई बिराटनगर लगेपछि पैसाको ओइरो नै लाग्यो । पछि पाकिस्तानकी प्रधानमन्त्री बेनजीर भुट्टो आउँदा पनि सुजाताले लाजै नमानी पैसा (चन्दा) मागेपछि आसिफ अली जर्दारीले आफ्नो खल्तीबाट रू. तीन लाख दिएका थिए । काठमाडौंको झण्डै ८०–९० रोपनी जग्गा क्याबिनेट निर्णय गरेर ट्रस्टका नाममा गराइदिएका छन् । गिरिजाकाल भ्रष्टाचारको स्वर्णकाल बनाएकाले बलिया मोटाउँदै जाने र निर्धाहरू अरू धस्सिदै जाने परिपाटी बसेको हो ।

यसरी टाउकै कुहेपछि शरीरका अंग–प्रत्यंग संक्रमित हुनु स्वाभाविक भयो । ‘जो अगुवा उही बाटोमा हगुवा’ भैदिएपछि कसको के लाग्यो । भ्रष्टाचारको त्यो कुहीगन्ध क्यान्सर फैलिएजस्तै आज प्रत्येक तहमा फैलिएको छ । नाराले मात्रै सुधार हुने होइन । केही गर्ने हो भने सर्वप्रथम प्रधानमन्त्रीदेखि नै सुधार थाल्नुपर्याे । तेरो र मेरो भन्नुभएन, योग्यता र क्षमतालाई मान्नुपर्याे । नेता र प्रधानमन्त्रीले सोच्नुपर्याे । हैन भने

अश्वं नैब गजं नैब व्याह्रां नैब च ।
अजापुत्रो बलिंदद्यात् दैवो दुर्बलघातकः ।। को चमत्कार चल्दै रहनेछ । अस्तु ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com