युगसम्बाद साप्ताहिक

महाशिवरात्रि पर्वको पाशुपत क्षेत्र ः नागाहरू र परिदृश्य
Wednesday, 03.09.2016, 11:22am (GMT5.5)

तारा सुवेदी

विश्वमा धेरै धर्म, मत, सम्प्रदायहरू प्रचलित छन् । एउटै मूल धर्म अन्तर्गत धेरै सम्प्रदाय देखिन्छ भने अनगिन्ती सम्प्रदाय अन्तर्गत पनि अनेकौं शाखा, उपशाखा र मतान्तर रहेका छन् । हरेक धर्म सम्प्रदायका दर्शन, सिद्धान्त, आदर्श, उपासना, आराधना, प्रार्थना र अर्चना विधिबीच पनि वैविध्यता, मतान्तर, विरोधाभास एवं अन्तर्विरोध देखिन्छ । त्यस्तो अन्तर्विरोध वा विरोधाभास पृथक धर्म मूलधारा बाहिरका बीच मात्रै नभई एउटै धर्म अन्तर्गतका मूलबाट निस्केर आ–आप्mनै पृथक् पृथक् ‘पन्थ’ बनाएका सम्प्रदायहरूका बीचमा पनि देखिंदै आएको छ । हो, त्यस्ता ‘अन्तर्विरोध’ वा ‘विरोधाभास’ विश्वकै अधिसंख्यक देश र अनुयायीहरूसम्म पुगेको क्रिश्चियन, इस्लाम र बौद्ध धर्मभित्र नहोला । तथापि अन्तरधर्म सम्प्रदाय बीचमात्र नभई मूलतः एउटै धर्म सम्प्रदायभित्र पनि “परम–सत्ता नियन्ता, परम–प्रकाशमय, जगत् स्रष्टा पालक, संरक्षक एवं संहारकर्ता” का रूपमा हरेक धर्मका आराधक, उपासक, अर्चकले “ईश्वर”को अस्तित्वलाई जसरी लिने गरेका छन्, त्यसमा पनि कहीं न कहीं, केही न केही भिन्नता र विरोधास देखिने र पाइने गरेकै थियो र छ । त्यो “पृथक् सत्ता” को अनुभूति सबैले कुनै न कुनै केही न केही रूपमा स्वीकारेकै थिए, आज पनि स्वीकारिएकै छ । 

तर ती सबै “मतान्तर र विरोधाभासहरू” को पहाडहरूका बीच भनौं वा धर्ती फाटोको माझमा पनि एउटा समानताको सशक्त सूत्र भए, रहेको टड्कारो अनुभूति गर्न सकिने रहेछ । त्यो के हो भने “हरेक धर्म र सो अन्तर्गतका फरक फरक सम्प्रदाय शाखा, मत, पन्थका भक्तहरू सबैले आ–आप्mना “ईश्वर” वा परम प्रभु, अल्लाह मन्दिर, चर्च, मस्दिजमा भ्रमण गर्दै कहिले कहाँ र कहिले कहाँ मुकाम कायम गर्न आउने र पुनः त्यहाँबाट अलप हुने गर्छन्” भन्ने शुरूदेखि जुन देखियो, त्यो सबैभन्दा उदेकलाग्दो र बलियो समानताका आधार लाग्यो । 

यदि हरेक विरोधाभासी धर्म, मत, सम्प्रदाय र त्यस्का पनि शाखा, प्रशाखा, उपशाखाका अनुयायीहरूका विश्वासमा “आ–आप्mना उपासना, अर्चना, प्रार्थनास्थलमा आ–आप्mना ‘परमेश्वर’ ‘प्रभु’ ‘खुदा–अल्लाह’ ‘परमगुरू’ कुनै दिनमा आउने गर्छन्, कुनै दिन अनुपस्थित रहन्छन्, अथवा कुनै खास दिनको अर्चना, उपासना, प्रार्थना सुन्दछन्, भक्तलाई देख्दछन्, आशिष दुआ मन्नत (भक्तजनका टाउकोमा हात राखेर मागेको कुरा पूरा गर्ने गर्दछन्” भन्नेमा अकाट्य आस्था, विश्वास र भरोसा हुन्दैनथ्यो भने, कुनै तीर्थ, पर्व, बार, समय, साइत हेरेर मन्दिर, चर्च, मन्जिद, गुम्बा गुरूद्वारा जाने गरिन्थ्यो । 

अरू धर्म सम्प्रदायका कुरा छोडौं । सनातन वैदिक (हिन्दू) सनातनीहरूले हरिशयनी र हरिबोधनी एकादशी, रामनवमी, कृष्णाष्टमीमा नारायणस्थानहरूमा, शाक्तहरूले नवरात्री (त्यस्मा पनि महाअष्टमी) र शनिवार देवी पीठहरूमा, शैवमार्गीहरूले महाशिवरात्रि, साउनको सोमबार श्रीपशुपतिनाथमा बढी भीड गरेर जीउज्यानको वास्ता नगरी ओहिरिनु र अन्य दिनमा बेवास्ता गर्नुको कारण के हुनसक्छ ? हिन्दूहरू– जस्लाई मूर्तिपूजक र वहुदेववादी आदि भनिन्छ– को मात्रै कुरा होइन । क्रिश्चियनहरूलाई आईतबार नै चर्चमा जानुपर्ने, मुस्लीमहरूले शुक्रबार नै मस्जिदमा गएर दिनको पाँचपटक नमाज अदा गर्नु (पाठ गर्नु) पर्छ भन्ने आधार र कारण त्यही आ–आप्mना “आराध्यदेव (ईश्वर, प्रभु–यीशु, खुदा–अल्लाह) भ्रमणशील हुन्छन् । “जाग्रत, स्वप्न प्रच्छन्न, प्रकट र अलप भैरहन्छन्” भन्नेमा अकाट्य आस्था र विश्वास हुनु हो । त्यो बाहेक अर्को के कारण वा आधार हुनसक्छ ?

जेहोस् । जसरी भेटिकनको क्याथोलिक चर्चमा संसारभरका क्याथोलिक क्रिश्चियनहरू, साउदी अरवको मक्का–मदिनामा संसारभारका मुस्लिमहरूले जसरी “जीवनमा एकपटक– त्यो पनि क्रिसमस वा ईदबकर वा इदुलफित्रको मौका पारेर प्रार्थना गर्न, आ–आप्mना धर्मग्रन्थ (वाइवल वा कुरान शरीफ) पाठ गरेर मुक्ति पाइने” विश्वास लिएर पुग्ने गर्दछन् । त्यसरी नै प्रत्येक महाशिवरात्रिका महापर्वमा सनातन वैदिक धर्ममा आस्थावान्का रूपमा चिनिएका शैव, वैष्णव, शाक्त र तिनका अनेकौं पन्थ सम्प्रदायका अनुयायीहरूमात्र नभई वृहद् “ॐकार परिवार”भित्रका मानिंदै आएका वौद्धिष्ट, जैन, सिख आदि समेतले परम्परादेखि श्रीपशुपतिनाथलाई “देवाधिदेव” भनेर मानेर महाशिवरात्रिका दिन दर्शन अर्चना गर्न आउने गरेका थिए, त्यसरी नै यस वर्ष पनि नागा, अवधूत, साधु, सन्यासीहरू मात्रै नभई लाखौं भक्तजनहरूले समेत महाशिवरात्रिमा “परम पावन पाशुपतक्षेत्र”मा आए । त्यस्मा सक्ने जतिले ज्योतिर्लिङ्गस्वरूप षड्मुख “देवाधिदेव” को प्रत्यक्ष दर्शन गर्ने र बाँकीले पाशुपतक्षेत्रमा आई र मन्दिरकै दर्शन गरेर आप्mनो जीवन धन्य ठानेर फकिएको देखियो । 

महाशिवरात्रिकै बारेमा लेख्ने सोच (?)
महाशिवारात्रिको परम पावन पर्वका अवसरमा आपूm पनि सधैं दर्शनार्थ आउने गरेको र गत वर्ष जस्तै यस वर्ष पनि दर्शन व्यवस्थापन गर्ने जिम्मेवारी पाएको कारणले महाशिवरात्रि पर्वमा जेजस्तो परिदृश्य देखियो र जस्तो अनुभव गरियो, त्यसबारेमा लेख्नु न भनेर जेजस्तो आज्ञा, आदेश पाएँ, त्यसैबाट यो स्तम्भ लेख्ने सोच बनाएँ । तर महाशिवरात्रि महापर्वको सन्दर्भमा आयो वा सम्झियो कि सन् १९८० को दशकतिरको धर्मयुगमा प्रकाशित एउटा खोजपूर्ण आलेख जुन प्रकाशित भएको थियो । हरेक वर्ष महाशिवरात्रिभन्दा २–३ दिन अगाडि नै मन्दिर परिसर कब्जा गरी सम्पूर्ण भेटीघाटी, चढावा लुट्ने, मयूर पंखको कुच्चो लिएर सबै वयका नारीहरूलाई टाउको र ढाडमा हान्दै पैसा चढाउन लगाउने, नचढाए गाली सराप दिने, अझ अधवैंशे र स्कूले कलेजे नानीहरू देख्दा बढी नागा र साधु सन्त सन्यासीहरूतिर, जुन ध्यान जाने गरेको थियो– चर्चा त्यहीबाट शुरू गरौं भन्ने लाग्यो । 

नागा
सनातन हिन्दूधर्म अन्तर्गतको शैव सम्प्रदायीहरू– जस्ले सधैं निर्वस्त्र भई हिंड्दछन्– लाई सामान्यतः ‘नागा’ भन्ने गरिएको छ । शास्त्रीय दृष्टिले हेर्दा “नागा” कुनै छुट्टै “पन्थ” देखिन्न । तथापि वैष्णव, वैरागी, शैव सन्यासी, सिख–साधुका अनुयायीका रूपमा देखिएका छन् । यिनीहरू घुमक्कड र स्वभावतः उग्र र क्रोधी चरित्रका एवं शसस्त्र संघर्षकारी देखिंदै आएका छन् । सन् १७६० को कुम्भमेलाका बेला हरिद्वारमा भएको नागाहरूको आपसी झगडामा १८ हजार वैष्णव गानाहरू मरिएको इतिहासमा उल्लेख पाइन्छ ।

“गोसाई” नामका “शैवनागा मराठाहरू” लूटमार गर्ने र ग्याङ्ग बनाएर मध्यप्रदेशका भू–क्षेत्रमा उपद्रव मच्चाउनेमा कुख्याती नै कमाएका थिए । तर अंग्रेजी शासनकालले यिनीहरूको त्यो परिचय समाप्त पारिदियो । अंग्रेजी लेखक शेरिङ्गको भनाईलाई आधार मान्ने हो भने “यिनीहरू (नागाहरू) तीन उपसम्प्रदायमा रहेर शरीरमा खरानी घस्ने र समूह बनाई घुम्दै हिंड्ने यिनीहरूको प्रकृति र संस्कृति हुन्छ” भनिन्छ । 

“प्राचीन अवधूत मुनि कपिल, दत्रात्रेय ऋषभदेव आदिले देखाएको आदर्शमार्गमा चल्ने, चतुर्थाश्रमी साधु सन्त त्यागको पराकाष्ठामा पुगेपछि ‘नागा’ को रूपमा देखा पर्दछन्” भन्ने धेरै पहिले सुनेको थिएँ । पछि “मध्यकालमा आप्mनो परम्पराको जगेर्ना गर्न त्यस्ता सिद्ध, साधुहरू संगठित भएर हिंड्न थाले र शस्त्रधारी दल बनाए । उनीहरूले कालान्तरमा आ–आप्mना मठमन्दिरहरूको रक्षा गर्ने नाममा हिंसात्मक बाटो पनि लिए । कालक्रमसँगै उनीहरू कोही शैव, कोही वैष्णवको रूपमा विभाजित भए । र आपसमा नै बैर (शत्रुता) साध्ने स्थितिमा देखा परे । पछि मराठा, निजाम, राजपूत, अवधका नवावका भाडाका लडाकाको रूपमा युद्ध व्यवसायी भएछन् । धर्मसम्प्रदायको त्यस्तो कालो इतिहास बोकेका दशनामी, गुसाईं, वैरागी, दादु–पंथीहरू समूह बनाएर हरिद्वार, प्रयोग आदि ठाउँमा लाग्ने वाह्रवर्षे कुम्भमेलाको बेला हात्ती–घोडा चढेर छत्र, चामर, झण्डा सज्जित भई दलवलसहित “राजसी दम्भ” प्रदर्शन गर्ने गरे । यस्तो दुःखद दृश्य प्रयोगको कुम्भमेलामा पुनरावृत्ति हुँदैगएको सुन्नु, पढ्नु परिरहेछ । 

अवधूत
‘अवधूत’ साधु सन्तहरूको एउटा शाखाकै नाम हो । जायसीको भनाई छ– 
“खवरा, सेवरा, पारधी, विशसाधक अवधूत ।
आसन मारे वैठः सव पाँचआत्मा अवधूत”

सर्वप्रथम “अवधूतोपनिषद” मा यस्को उल्लेख भएको पाइन्छ । त्यसअनुसार ‘ॐ’ को अक्षरत्व ‘व’ को वरेण्य वा सर्वश्रेष्ठ ‘धू’ को ‘धूत’ अर्थात् सांसारिक वन्धनमुक्त र ‘त’ को “तत्वमस्यादि” अक्षरत्व । अर्थात् सारमा “अक्षरत्व, अमरत्व बोध गरेको, सर्वश्रेष्ठ, सर्वमान्य, संसारवन्धन मुक्त र व्रह्मतत्व वेत्ताको रूपमा स्वीकार्य भएको, महान् व्यक्तिलाई अवधूत भन्ने मानिन्छ । “अवधूतगीता” गोरक्षनाथद्वारा रचना गरिएको सिद्धसिद्धान्तपद्धति, गोरक्षपद्धति, गोरक्षसिद्धान्त, संग्रहमा अवधूतका बारेमा विस्तृतरूपमा चर्चा गरिएको पाइन्छ । 

महानिर्वाणतन्त्रमा मुख्यत “चार प्रकारका अवधूत” को उल्लखे पाइन्छ । “व्रह्मावधूत” अर्थात् कुनै पनि वर्ण (व्राह्मण, क्षत्रीय, वैश्य, शूत्र) मा रहेको, ‘शैशावधूत’ अर्थात् विधिपूर्वक सन्यासग्रहण गरेको, “वीरावधूत” अर्थात् जटाधारी र स्वतन्त्र लटा फिंजाएको, घाँटीमा अक्षमाला अर्थात् रूद्राक्ष भएको, कौपीन (लगौंटी) धारा, शरीरमा भस्म (खरानी) वा रक्तचन्दन पहिरिएको, हातमा डण्डा, वञ्चरो, मृगचर्म र डमरू लिएको ‘कूलाधूत’ अर्थात् निरन्तर साधना गरेर पनि “गृहस्थाश्रम वासी” भन्ने उल्लेख पाइन्छ ।

सन्यासी
सन्यासी त्यसलाई मानिएको छ जस्ले व्रह्मचारी, गृहस्थी र वानप्रस्थीपछिको चौथो आश्रम (सन्यास आश्रम) मा प्रवेश गरिसकेको छ । व्रह्मवैवर्तपुराणको ‘प्रकृतिखण्ड’ (अध्याय ३३) मा सन्यासीको धर्म वा लक्षण यसरी उल्लेख गरिएको छ–

“सदन्ने वा कदन्ने वा लौष्ट्रे वा काञ्चने तथा
समवुद्धिर्यस्य शश्वत् स संन्यासीति कीर्तितः ।
दण्डं कमण्डुलं रक्त वस्त्रमात्रञ्चधारयेत्
नित्यं प्रवासी नैकत्र स सन्यासीति कीर्तितः ।।
शुद्धाचार, द्विजान्नञ्चभ भुङ्ते लोभादि वर्जितः
किन्तु किञ्चिन्नयाचेत् स सन्यासीति कीर्तितः ।।
न व्यापारो नाश्रमी च सर्वकर्म विवर्जितः
ध्यायेन्नारायणं शश्वद् स सन्यासीति कीर्तितः ।।
शश्वन्मौनी व्रह्मचारी सम्भाषालाप वर्जितः 
सर्वं व्रह्ममयं पश्चेत् स सन्यासीति कीर्तितः ।।
सर्वत्र समवुद्धिश्च हिंमा माया विवजितः
क्रोधाहङ्कार रहितः स सन्यासीति कीर्तित ।।
अयाचितोस्थितश्य मिष्टामिष्टश्च भुक्तवान्
नयाचेत् भक्षणार्थी स सन्यासीति कीर्तितः ।।
न च पश्येत् मुखं स्त्रीणां न तिष्टेत् तत्समीपतः
दारवी मपियोषिञ्च न स्पृशेद् य स भिक्षुकः ।। 

(राम्रो नराम्रो कुनै ख्याल गरी खाने, पातपतिङ्गर र सुन चाँदी जस्तोसुकै वहुमूल्य वस्तुप्रति पनि एकै दृष्टिकोण राख्ने, सधैं डण्ड कमण्डलु र गेरूवा रङ्गको कपडा लगाउने, एकै ठाउँमा बसोबास नगरी सधैं परदेशमा बस्ने (घुमन्ता जीवन विताउने) । शुद्ध आचार द्विजाति (व्राह्मण क्षत्रीय) बाट प्राप्त अन्नमात्र खाने, लोभ, लाभरहित, कसैसँग कहिल्यै केही नमाग्ने, व्यापारी मनोवुद्धि नभएको, व्रह्मचर्य, गृहस्थ वानप्रस्थ आश्रम पूर्ण परित्याग गरिसकेको, कहिल्यै कुनै पनि कर्मप्रति आसक्ति नभएको, सधैं नारायण भगवान्को नाम जपिरहने, सधैं मौन बस्ने, व्रह्मचर्यमा निष्ठावान्, कुनै भाषण, प्रवचन, भैmझगडा, विवाद गर्ने कार्य नगर्ने, सर्व “व्रह्ममय जगत्” को अस्तित्वबोध गर्ने, सबैप्रति समबुद्धि राख्ने, हिंसा (सबै प्रकारको परपीडा) रीस, राग, क्रोध, दम्भ, माया, मोह, कर्मबाट पूर्ण मुक्त नारी (स्त्री) जातीको मुख नहेर्ने, उनको नजीक नबस्ने, नजीक नपर्ने, स्त्री त के काठको स्त्री जातीको मूर्ति पनि कहिल्यै नछुने” लाई सन्यासी भन्नु मान्नु पर्छ) त्यस्तै गरूडपुराणको अध्याय ४९ मा र कूर्मपुराण (उपविभाग अध्याय २७ र यतिधर्म नामक अध्याय २८) मा पनि सन्यासीको परिचय एवं परिभाषा दिइएको छ । यो शास्त्री परिभाषा वा मापदण्डबाट अहिले महिलाहरूलाई खुट्टा ढोग्ने दिनेदेखि सेविका राख्नेसम्मका सन्यासीहरूलाई कसरी हेर्न र लिने ? त्यो यक्षप्रश्न भने अनुत्तरित छ । 

साधु
साधुको अर्थ, परिभाषा वा धर्म पद्मपुराणको उत्तराखण्ड (अध्याय ९९) मा जुन यसरी गरिएको छ–
“यथालब्धे पि सन्तुष्टः समचित्तो जितेन्द्रियः ।
लोभमोहमदक्रोधकामादी रहित सुखी
गरूडपुराणमा साधुको परिभाषा–
“न प्रह्यष्यति सम्माने, नावमाने च कुप्यति
न क्रुद्ध पौरूषं ब्रूयादेतत् साधोस्तु लक्षणम्”

अग्निपुराण निर्णयाध्याय) मा साधुको स्वभाव, जीवनपद्धति, चरित्र र धर्म–कर्मको जुन यस्तो उल्लेख छ–

“त्यक्तात्म सुखभोगेच्छाः सर्वसत्त्व सुखैषिणः
भवन्ति परदुःखेन, साधवो नित्य दुःखिताः
परदुःखा तुरा नित्य, स्व सुखानि महान्त्यति
नायेक्षन्ते महात्मानः सर्वभूतहितेरताः”

ती सबै साधुका मापदण्डबाट पशुपतिमा आएको “साधु” हरूलाई हेर्दा कति जति खरो सावित हुने देखिए होलान् ? त्यो सबैले परीक्षण गरेकै विषय छ । 

तर ती परिमापक वा परिभाषाका आधारको यत्किञ्चित् पनि जानकारी राख्ने जोसुकैका नजरमा पनि महाशिवरात्रिको बेला पशुपतिनाथ परिसरमा ४–५ दिनसम्म कब्जा जमाई सम्पूर्ण देवस्थानमा भक्तजनले चढाएको दान, भेटी, जवरजस्ती गर्नेहरूलाई कति साधु, सन्यासी, मानेर उल्टै “फेरी फेरी आउन” निम्तो दिने र दान, भेटी दिई पठाउने, जुन परम्परा पशुपति क्षेत्र विकास कोषले केही वर्ष पहिले शुरू गरेको थियो, त्यही ‘विरालो बँधाई’ को निरन्तरता यसवर्ष पनि कायम राखिनेछ । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com