| युगसम्बाद साप्ताहिक | ||||
|
चटकीहरुका भूलभुलैयाको भुमरी Tuesday, 08.16.2016, 12:23pm (GMT5.5) - महेश्वर शर्मा एउटाले ‘मसंग समय छैन, मलाई हतार छ, मेरो कार्यकालमा सबै काम सक्छु’ भन्दै फास्ट ट्रयाक फर्मुला अघिसारेर चटकी भाषण दिंदादिंदै धोको पुर्याउनै नपाई दुर्घटनामा पारेर सत्तामा आएका अर्का चटकीले पनि त्यसै गरी ‘मसंग छोटो समय छ, म क्रमभंगवाला हुँ’ भनेर २८ बुँदे निर्देशन जारी गरी कर्मचारीलाई थर्काउन थालेका छन् । ‘क्रमभंग’ भनेको रुल–नियम केही नमान्ने र भएकोलाई भत्काउने–विगार्ने त होला नि ? त्यसो भए कर्मचारीलाई पनि रुल–नियम मिचाउन खोजेको हुन् कि कुन्नि ? अब यसले त केके न गर्ने भयो भनेर जनतामा भ्रम छरेर अघिल्लालाई उछिन्न सस्ता सस्ता बुँदा थपेका छन् । अघिल्लाले गरीबी हटाउँछु भनेकामा पछिल्लाले बहुआयामिक गरीबी हटाउने रे ! चटक पनि शासनसत्ता हत्याउने एउटा जब्बर कला नै रहेछ । त्यो करामत भने दुबैले देखाए । त्यो करामत र चटक देशलाई आत्भनिर्भर बनाउने रचनात्मक दिशामा नभएर राष्ट्रको ढुकुटीबाट पैसा बाँड्ने होडवाजीमा देखाएका छन् । अघिल्लाले वृद्धभत्ता बढाइदिएका थिए भने पछिल्लाले जन्मदर्ता गराउनेलाई हजारको दरले बाँड्ने भए । यसरी सबैले आफ्ना पालामा काम गरेको देखाउँदै आफ्नो क्रममा पहिले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता लागू भएपछि फलिफाप हुन्छ भनेर भ्रम फैलाए, तर भुटीभाङ केही नभएपछि संविधान बनेपछि सबै ठीक हुन्छ भन्दै दशवर्ष बिताएर देश खँगारेर खाए । देशको स्थिति झन्झन् विग्रदै गएको देखेर अब संविधान कार्यान्वयनपछि सबैले चिताएको पाउँछन् भन्न थालेका छन् । आजकाले अघिल्लोभन्दा आफू असल देखाउन द्रविण प्राणायाम गरे पनि जनताका लागि भने ‘एउटी ल्याएँ अहिले अर्की ल्याएँ पोर– पोरकीभन्दा ऐलेकी चोपट्टकी चोर’ भनेजस्तो पो हुने हो कि ? नेपालीले सबै कुरा दक्षिणबाटै सिक्तैआएका छन् । पढ्न उतै, तीर्थ गर्न उतै, बिहेबारी उतै, राजनीतिक खुराफात सिक्न उतै, यहाँ उत्पात–उपद्रो या अपराध गरेपछि लुक्न पनि उतै, नुन–तेल–ओढापैरी उतैको, अर्ती उपदेश उतैका भएपछि जादु–टुनामुना–चटक पनि उतैबाट सिकिरहनु कुनै नौलो भएन । नेताहरु स्वतन्त्रताको कुरा गर्छन्, तर यथार्थमा तिनीहरु जति परतन्त्र कोही छैन । उनीहरुमध्ये अधिकांश दक्षिणकै इशारामा चलिरहेका छन् । दक्षिणको हुकुम नमान्नासाथ सत्ताबाट बाहिरिनुपर्छ भन्ने हीनमतिबाट उनीहरु ग्रस्त छन् । त्यसैले उताका ठूला चटकीका सामु यिनीहरु निरीह छन् । उताबाट हुकुमको फरमान जारी हुनासाथ यिनीहरु लुत्रुक्क पर्छन् र अन्तरआत्माको आवाज दवाउन बाध्य हुन्छन् । स्वाभिमानीका लागि यो बिझ्ने कुरा हो, तर स्वाभिमान गुमाउनेलाई क्यैजस्तो नलाग्ने रहेछ । यसैपटकको चटक बुझे्नेलाई काफी छ । दक्षिणको भुमरीमा यो देश परेको पर्यै छ । उद्धारक कोही देखिएन । कमजोर आत्मा हुनेले आफू बलियो छु भन्ने देखाउन अनेक भ्रम सिर्जना गरेको हुन्छ । त्यस निम्ति समय अनुसार ऊ आक्रामक शैलीमाा पनि प्रस्तुत हुन्छ । शक्तिशालीलाई आक्रामक देखिने खालका प्रदर्शन गर्नैपर्दैन, कमजोरलाई मात्र त्यस्तो चाहिन्छ शक्तिशाली देखिन । कमजोर राजनीतिवाजहरु नै त्यस्तो अभिनय गर्न खप्पिस हुन्छन् । खास गरी कमजोर सत्ताधारीको स्वाभाव नै अर्काको इशारामा चल्ने, यता भाषणमा गर्जने र उनीहरुले उठ् भने उठ्, बस भने बस पारिएकाहरुको स्थिति यसैपटकको चटकको चमत्कारबाट पनि स्पष्ट भएको छ । यो भूलभुलैयाले नेपाललाई कहिलेसम्म झट्का दिइरहने हो कुन्नि ! राजनीतिक मुल्लाहरुको भरविश्वास नहुने रहेछ । राजा महेन्द्रबाट आफ्नै देश सुहाउँदो भनेर पंचायत व्यवस्था लागू गर्दा कांग्रेस–कम्युनिष्ट भटाभट पंचायत प्रवेश गरे । पंचायत भन्नु नै कांग्रेस–कम्युनिष्टको जमात त थियो नि । बेइमानी गरेर कुस्त कमाएपछि तिनीहरु नै पंचायतलाई गालीगर्ने भए । अनि ‘ब्याक टु मंगलमान’ कांग्रेस–कम्युनिष्टमै फर्के । यथार्थमा पंचायतकालमा दलगत राजनीतिक गतिविधि नियन्त्रित भए पनि विकास निर्माणको गति तीब्ररुपमा अघिबढेको थियो । तिनै पूर्वाधारलाई माओवादीले लगातार दश वर्षसम्म तोडफोड र आगजनी गर्दा पनि सिध्याउन सकेनन् । त्यो बेला देशको अन्तर्राष्ट्रिय छवि पनि राम्रो बन्यो र कसैले हेप्न हियाउन सकेन । त्यसपछि भने कांग्रेस–कम्युनिष्टकै अन्तरसंघर्षमा देश जलिरहेको छ । एकैथरि मान्छे सधैंभरि प्रधानमन्त्री–मन्त्री बनेर सोहोरिरहेका छन्, जनताको बिल्लीबाँठ छ । गणतन्त्रको विशेषता भनेको नेपालका सन्दर्भमा जनतालाई बेवास्ता गरेर मनपरीतन्त्र चलाउनु मात्रै भएको छ । हुँदाहुँदा चुनावमा पहिला–दोस्रा भएका कांग्रेस–एमाले, तेस्रो भएको माओवादीबाट कजिएका छन् । ओलीले अलिकति अडान लिए पनि आफू प्रधानमन्त्रीमा अडिन माओवादीलाई धेरै छुट दिए पनि आखिरमा माओवादीबाटै धोका पाए भने अब धोका पाउने पालो कांग्रेसको पनि आउँदैछ । संसदमा सबैभन्दा बढी सांसद भएको कांग्रेसले पनि तेस्रो स्थानका प्रचण्डको प्रधानमन्त्रीत्व स्वीकार गरेर सरकारमाा सामेल हुनुलाई जनताले ‘गहतको झोलमा जात फालेको’ भनिरहेको स्थितिमा कतै यो आफ्नै पार्टीभित्रको अन्तद्र्वन्द्वले कांग्रेस खिइदै गएको त होइन ? पनि भनेको सुनिन्छ । आज देशमा चौतर्फी बेथिति छ भने यसका नायक पनि प्रचण्ड नै हुन् । बन्द, हड्ताल, तोडफोड, आगजनी, बलजफत चन्दा, अपहरण र फिरौती नपाए हत्या जस्ता आपराधिक संस्कृतिको सूत्रपात गराउने पनि उनै हुन् । निजी संस्था, स्कूल, कलेज, अस्पताल समेतमा अराजकता व्याप्त छ । जनतालाई शोषण गर्न पाउने उनीहरुको मौलिक हक नै हो भनेजस्तो स्थिति छ । बजार भाउको मनपरीले सीमा नाघेको छ । आठ–दशजना सेठ व्यापारीले कार्टेलिङ गरेर जनतालाई चुसेकामा सरकारकै स्वीकृति छ । चाहे यातायात क्षेत्र होस् या व्यापार–व्यवसाय होस् या निर्माणको क्षेत्र, जनताको शोषण गर्ने स्वतन्त्रताको लाइसेन्स पाएजस्ता छन् । उनीहरुले नेता रिझाएपछि मनपर्दी गर्ने छुट पाएका छन् । यो स्थितिमा ‘जुन आगोले पोलेको हो त्यसैले सेक्नुपर्छ’ भनेझैं आफ्नो यो प्रधानमन्त्रीत्वकालमा प्रचण्डले त्यस्ता छाडाहरुलाई कानुन–नियमले बाँधेर राख्न सक्नुपर्याे । मौका पाउँदा पनि नगर्ने हो भने पछि उनैलाई पछुतो हुनेछ । हेरौं के गर्छन् ! हामी जनता हेर्ने मात्रै त भयौं । अन्त्यमा, अघिल्लो चटके कमजोर हुँदो हो त उसलाई फालेर आएका दोेस्रा चटकेले धेरै काम गरे पनि जस पाउँथ्यो होला । तर, निकै गल्ती, बलमिचाई र कमी कमजोरी हुँदाहुँदै पनि गएको चटके दह्रो र जनप्रिय भैसकेको स्थितिमा पछिल्लालाई त्यति सजिलो छैन । अघिल्लार पछिल्लाको तुलना जनताले संसदमा अविश्वास प्रस्तावको पक्षमा र त्यसको प्रत्युत्तर दिने क्रममा बोल्दा नै गरिसकेका छन् । अघिल्लाका सबै काम ठीक नभए पनि उनका वाक्चातुर्यले गल्ती पनि ओझेलमा परेका छन् र स्तरीय जवाफ आउला भन्ने अन्दाज गर्न सकेका भए सायद पछिल्ला चटकेले त्यति निम्नस्तरमा ओर्लेर बोल्ने थिएनन् कि ! चेतना भया उनैलाई पनि बिझेको हुनुपर्छ । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||