युगसम्बाद साप्ताहिक

यस्तै हो भने यो नाशिने र मासिने मेसो मात्र
Tuesday, 09.20.2016, 02:24pm (GMT5.5)

- महेश्वर शर्मा

आजको स्थिति हेर्दा  शेक्सपियरको एउटा भनाइ सम्झना हुन्छ– “ए टेल टोल्ड बाई एन इडियट फुल अझ फ्युरी एण्ड न्वाइज, सिग्निफाइड नथिङ” अर्थात एउटा लट्ठकले सुनाएको बिना मतलबको कथा जस्तै छ जसमा उद्वेग र हल्ला त खुप हुन्छ तर त्यसामा कुनै सार हुँदैन– भनेजस्तै छ सरकारको चालामाला । राजनीतिलाई नेताहरूले जीविका चलाउने धन्दा बनाएका छन् । त्यस्तो धन्दा त लच्चा–लफङ्गा र तस्करहरूले पनि गरिरहेकै छन् भने राजनीतिको सार के हो ? दलगत स्वार्थले बिर्साइदिएको छ । कुनै सरकारले राम्रो काम गरेन भने विधिसम्मत ढंगबाट विस्थापित गर्न सकिनेमा पनि बाहिरकै सहारा लिएर आफ्ने आङ्को छारो उडाउने काम यहाँ भैरहन्छन् । आज उल्क्याउने विदेशीले भोलि आफैंलाई फाल्नसक्छन् भनेर कुनै पनि नेताले सोचेको पाइदैन । यस्ता प्रवृत्तिले निरन्तरता पाइरहँदा बाहिरिया हौसिएका हुनाले जनता सशंकित छन् ।

विकास र परिवर्तनको यात्रा लामै हुन्छ । त्यसका लागि धेरै बौद्धिक व्यायाम पनि चाहिन्छ । हतारमा एकैचोटी उथलपुथल ल्याउँछु भन्दा समाज–जोरनका तन्तु खलबलिन सक्छन्, जटिलता थपिन्छ र कठिनाइहरू पनि बढ्छन् । अनि अरु अनेक समस्याले बाटो छेक्ने अवस्था आउनसक्छ त्यसैले समाज रुपान्तरणको काम सोचेजस्तो नहुनसक्छ । कुशल चिकित्सकले रोग निदानदेखिका विधि–प्रक्रिया पुर्याएर उपचार गरेजस्तै राजनीतिक–सामाजिक सुधारका अभियन्ताले पनि धैर्य र सुझबुझका साथ काम नगर्ने र तत्काल थामथुम–छोपछापतिर लाग्ने हो भने दीगो समाधान हुँदैन, समस्याले बल्झाइरहन्छन् । उत्तिखेर समस्या उकल्चिन बेर लाग्दैन ‘सुकाइ दे गाँड भन्दा थपिने गाँड’ भनेजस्तो हुन्छ ।

राजनीति गर्छौ भन्ने अधिकांशमा निजी विशेषता पाइँदैन । जसको आफ्नो खुपी नै छैन त्यस्ताले जनतालाई के बुझोस् । आजका कथित नेता भीडको सहारा र बाहिरियाका इशारामा चल्न बाध्य र अभ्यस्त छन् । जनप्रतिनिधिको शिक्षालय भनेको जनताको फाँट हो । जनतामा नभिजी कोही पनि यथार्थ नेता हुन सक्दैन । आजका बहुसंख्यक नेता खाली छन्, रित्ता छन् भन्नुपर्दा दुःख लाग्छ, तर यथार्थ हो । सय डिग्री तापमानमा नउम्ली पानी बाफ नबने जस्तै जनविश्वविद्यालयको स्नातक भएर इन्टर्नसीप नगरेको नेता पनि नकाम लाग्दैन । यहाँ त ढाँटेढुँटेहरूकै लस्कर देखिन्छ भने जनताको उद्धार कसरी हुन्छ ? जनतामा नभिजी एकैचोटी माथी पुग्नु र पुर्याउनु भनेको प्राथमिक कक्षा पनि पासा नगरी स्नातक तहमा जानु जस्तै हो । यहाँ त्यस्ता ढोंगी नै बढी हुनाले त्यस्ताको राजनीतिक ताँदो अरुकै हातमा हुन्छ । अरुलाई रिझाएर उनैका कृपाबाट सत्तामा पुग्न र अडिन खोज्ने राजनीतिक चरित्रले निजत्व गुमाइसकेको हुन्छ । आफ्ना जनताको विश्वासमा भन्दा पराइका इशारामा चल्नेको भर हुँदैन । आज त्यस्तै स्थिति छ । यस्तै हो भने यो नाशिने र मासिने मेसो हो भन्नुपर्छ ।

कर्मचारीको राजनीतिक प्रतिबद्धता हुनुहुँदैन, तर यहाँ नेताहरूले जुन दिनदेखि कर्मचारी, शिक्षक, विद्यार्थीलाई समेत पार्टी कार्यकर्ता बनाउन थाले त्यहींबाट भाँडभैलो सुरु भयो । सत्तासीन पार्टीकै कार्यकर्ताको भूमिकामा रहेका तिनीहरूकै कारण प्रशासनिक विचलन र राजनीतिक अस्थिरताले मलजल पायो । सरकारी जागीर खाएर राजनीति गर्न पाइने स्थिति बस्यो । प्रधानमन्त्रीदेखि पियनसम्म सबै  राजनीतिक दलमा भएपछि निरपेक्ष जनताले निष्पक्ष सेवा पाउने अवस्था रहेन । अरु त अरु, शपथग्रहण लगत्तै न्यायाधीशहरू दौरा सुवालसितै कृतज्ञता जनाउन पार्टी अफिस पुगेको देख्नेहरू त्यसै अचम्भित भएका थिएनन् । यसरी कर्मचारी  नै पार्टीका बिल्ला भिरेर हिंड्न थालेपछि जनताले प्रजातन्त्रकै विजोग भएको सम्झनुपर्ने भएको छ ।

सेन्टर फर डेमोक्रेटिक इञ्जिजियर्स– नेपाल (सिडेन), प्रोग्रेसिभ डक्टर्स एसोसिएशन जस्ता संस्था चलाएर जागीर खानेहरू नेपालका कांग्रेस–कम्युनिष्ट नेताका जयन्ती मनाउन मात्रै नएर माक्र्स–लेनिन र माओ जयन्ती मनाउन नहिंड्छन र पार्टीका बैठक–अधिवेशनमा भाग लिन्छन् भने यो देशको शासन कहाँबाट कसको इशारामा चलेकको सम्झनुपर्ने हो ? अपराधी, गुण्डा, तस्कर व्यापारी र कमिशनखोर ठेकदार एवं आइएनजीओका दानापानीमा बिकेका राजनीतिवाजले यसै पनि देशलाई जात, धर्म, भाषा र प्रान्तका आधारमा जातीय द्वन्द्व निम्त्याएर भागवण्डाको बिलो बाँडेर छिन्नभिन्न पार्ने कसम खाएर हिंडेकै छन् । त्यस्ताहरू प्रत्यक्ष–अप्रत्यक्ष देशकै अस्तित्व मेटाउन खोज्नेहरूलाई नै सव्यपर्ने काम गरिरहेका छन् भने जनताले गुहार पाउने स्थिति कहाँ रहन्छ ? भनेर जनताले गैबारा नेताहरूलाई थुक्न थालेका छन् ।

जसलाई शब्दको इयत्ता थाहा हुँदैन, तिनीहरू बढी बोल्छन् । अर्घेलो बोल्दाको नतिजा उनीहरू अडकल गर्न सक्दैनन् । काठमाडौंमा बत्ती र पानी आफ्नै मर्जीले आए–गए जस्तै नेता पनि कुनै सिद्धान्त, नियम र अनुशासनमा होइन, आफूखुसी छचन्नाएर बर्बराएर हिंड्ने हुनाले यहाँको राजनीतिक गतिविधि पनि नेताकै गोत गएको छ । त्यसैले नेताहरू जनसम्पर्कबाट टाढा छन् । जनतासितको दूरीको परिपूर्ति गर्न उनीहरू अपराधी, गुण्डा र तस्कर व्यापारीका सहारामा चुनाव जितेर सत्तामा पुग्ने उल्टो बाटो समात्न थालेको दुष्परिणाम छताछुल्ल भएको छ । यो प्रवृत्ति नसच्चिने हो भने यसको दुष्प्रभावबाट कोही पनि बच्ने छैन । आफ्ना पूर्वज र आफूभन्दा जान्नेको ज्ञान र अनुभवबाट सिकेर उनीहरूप्रति कृतज्ञ हुनु सभ्यता हो । तर, आजको राजनीतिक वातावरण आफू बाहेक अरुले केही जानेकै छैन भनेर आफैं मपाईं बन्ने प्रवृत्तिमा अल्झेको छ । आफ्नो आदर्श र राजनीतिक धर्म  बिर्सिएको छ ।

अन्त्यमा एउटा साँच्चैको कथाबाट बिटमार्न चाहन्छु । एउटा मेडिकल कलेजमा अन्तिम वर्षको प्राक्टिकल परीक्षा हुँदै थियो । तपाई कति मात्रा दिनुहुन्छ ? भनेर सोध्छन् । विद्यार्थी जवाफ दिएर निस्कन्छ । तर तुरुन्तै फर्केर आउँछ र सर ! औषधिको मात्रा बढी भनेछु । .... मात्र हुनुपर्ने थियो– भन्दा परीक्षकले– तपाईंले दिएको औषधिको मात्राले बेरामी मरिसक्यो । अब अर्को वर्ष भेटौंला, जानोस् भनेका थिए ? यहाँ पनि विवेक विचार पुर्याएर काम नगर्नाले नेताको हालत त्यस्तै छ । नगर्नु गल्ती गर्ने, सबै वर्बाद पार्ने अनि सरी ! भनेर हुन्छ ? नेतृत्व गर्छौं भन्नेले त बुद्धि पुर्याएर काम गर्नुपर्छ, नत्र केको नेता ?


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com