युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 09.22.2019, 08:21pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
आयातीत प्रजातन्त्र व्यापारिक प्रजातन्त्र हो
Tuesday, 04.11.2017, 03:59pm (GMT+5.5)

- वेदराज पन्त

प्राच्य ज्योतिर्विदको काल गणनाका चार सूत्र छन् । ती सूत्रमा चार युगको चर्चा छ । सत्य, त्रेता, द्वापर वितिसके । अहिले कलियुग चल्दैछ । कालगणनाको मानक अनुरूप ५ हजार वर्षको वयसन्धि पार गरेको यो युगमा वर्तमान विश्व घुम्दै छ । यसलाई कलियुगको प्रथम चरण भन्ने गरिएको छ । यो कलियुगको आयु ४ लाख बत्तीस हजार वर्षमा सृष्टि संरचनाको एक चक्र पुरा हुन्छ । विगतमा सत्य युगले १७ लाख २८ हजार, त्रेतायुगले १२ लाख ९६ हजार, द्वापर युगले ८ लाख ६४ हजारको कालचक्र पुरा गरेर तत्तत् युगमा युगानुरूप सभ्यता, संस्कृति र धर्मको जीवनशैली व्यतित गरेको वैदिक वाङमयमा सविस्तार वर्णन छ । सृष्टि संरचनाको चारै युुगको यस्तो चक्रलाई युगान्तकारी चक्र भनिन्छ । यस्ता ७१ युगान्तकारी चक्र पुरा भए पछि एक मन्वन्तर र यस्ता १४ मन्वन्तर पुरा भएपछि एक कल्प पुरा हुन्छ । एक कल्पलाई ब्रह्माको एकदिन मानिन्छ । यस हिसाबले कल्पकलान्तर बित्तै गएर ब्रह्माको  आयु सय वर्ष पुरा भएपछि यो सृष्टि संरचनाको साथै ब्रह्माण्ड नै समाप्त हुन्छ । यसलाई महाप्रलय भनिन्छ । ‘प्र’ अर्थात प्रकृतिमा ‘लय’ अर्थात विलाउनु नै महाप्रलय हो । प्रकृति दुईवटा छन् । परा र अपरा । यो छुट्टै अनुशीलनको विषयभित्र पर्छ । अहिलेसम्मको कालगणनाको मानक अनुसार एक अर्ब पन्चानब्बे करोड अन्ठाउन्न लाख पचासी हजार एक सय सत्र वर्षको बुढो पृथ्वीमा विश्व ब्रह्माण्डको यो कालचक्र घुम्दैछ । झण्डै २ अर्ब वर्षको बूढो यो पृथ्वी मा कति उथलपुथल भयो यसको लेखाजोखा यस्तो लेखबाट गर्न सम्भव छैन । केही शताब्दीयता खास गरी पाश्चात्य सभ्यताका केही वर्षको मात्र अभिलेखबाट र केही शताब्दीको घटना अनुसन्धान गरेर अहिले बौद्धिक व्यायाम हुँदैछ ।

प्राच्यको स्थापित मान्यतामा वर्षको अभिप्राय ऋतु चक्रमा अन्तर्निहित छ । ऋृतु शाश्वत हुन् । वर्षा ऋतु यसैको प्रमुख कारकतत्व हो । वर्षा ऋतु बाटै वर्षनुको अर्थ अपभ्रंश भएर वर्ष भयो । ‘पर्जन्यो अभिवर्षतु फलभत्योन ओषधपय पच्यन्ताम्’ भन्ने वैदिक सूत्र छ । आदिकालदेखि वर्षा भएकोभयै छ । अनन्त कालसम्म हुनेछ । त्यसै भएर प्राच्यको कालगणनाको अर्को सूत्र अनादि र अनन्तमा सनातन धर्म समेटिएको तर्क योगी नरहरिनाथले वैदिक साम्यवादको प्रसंगमा चर्चा गर्दै वैदिक शासन पद्धति अध्यात्मवादमा आधारित थियो । यो करोडौं वर्ष चल्यो । पाश्चात्य शासन जो भौतिकवादमा आधारित छ, त्यो भरखर २१औं शताब्दीकै अल्लारे अवस्थामा छ । वैदिक साम्यवादको सूत्र वा संवैधानिक धाराको चर्चामा वँहाले दुइटा श्लोक मुखाग्र पार्न यो पंक्तीकारलाई सल्लाह दिनुभएको थियो । यस्मा पहिलो हो ।

“ईशावास्यंमिदं सर्वं यत्किञ्चित जगतां जगत । तेन त्येक्तेन भुञ्जिथा मागृधः कस्यस्चिद्धनम्”
दोस्रो हो–
यावतभ्रियेत जठरं तावत्सत्वं हि देहिंनाम् अधिकं योभि मन्येत सस्तेन दण्डमर्हति ।

पहिलो मन्त्र शुक्ल यजुर्वेदको ईशावास्य उपनिषदको हो । यसको भावार्थ सबै पदार्थ जगतमा जे जति छन् ती सबै इश्वरकै हुन् । त्यसलाई भोग गर्दा त्यागपूर्वक सकेसम्म कम भोग गर । कसैको धनमा लोभ नगर । भन्ने अर्थमा बुझिन्छ भने दोस्रोले पेट भरिने जति मात्र देहधारीको अधिकारमा पर्छ । बढी ओहट्ने चोर हो । त्यसलाई सजाय गर्नुपर्छ भन्ने भाव व्यक्त गर्दछ ।

योगी नरहरिनाथका भनाइमा सिद्धान्त अर्थात वाद दुईटा मात्र छन् । एउटा अध्यात्मवाद हो । यसले वैदिक साम्यवादको विस्तृत परिभाषा गर्दै तद्जन्य अरू सूत्र लिपिवद्ध गरेको छ । यो लाखौं वर्ष चल्यो । ‘प्र’ अर्थात प्रकृतिमा जन्मिएका सबै ‘जा’ अर्थात जन्मने ‘प्रजा’ हुन् । यो तन्त्रलाई प्राच्यले प्रजातन्त्रको संज्ञा दियो । यो प्रजातन्त्र दानमा आधारित तियो । शिक्षादान यसको प्राथमिकतामा थियो । गुरुकुल यसका प्रतीक हुन् । कुनै पनि कार्यको प्रारम्भ प्रायश्चित गोदानबाट सुरु गरेर साङ्घ्ता गर्दा पनि गाई नै दान गरिन्थ्यो । भूमिदान, अन्न–वस्त्रदान लगायत दशदान र तोलादानका नाममा द्रव्यदान गरिन्थ्यो । उत्पादन गर । दान गर । यो प्राच्य प्रजातन्त्रको तात्विक विशेषता हो । वैदिककालमा पंचतत्वमा पर्ने पानी, पृथ्वी, वायु, अग्नि र आकाशतत्व सबै प्राणीमात्रको अधिकार मानिन्थ्यो । यो अध्यात्मवादकै वैदिक युगको एउटा शासन पद्धति हो पाश्चात्य भौतिकवादले प्रजातन्त्रलाई व्यापारको तन्त्रमा प्रयोग ग¥यो । पश्चिमबाट विकसित हुँदै विश्वव्यापी रूपमा विस्तारित यो भौतिकवादी प्रजातन्त्रका सबै सूत्र व्यापारमा आधारित छन् । शिक्षा, शासन, न्याय जस्ता नैसर्गिक अधिकार समेत व्यापारिक बस्तु बनेको कारण भौतिकवादी प्रजातन्त्रकै देन हो । हुँदा हुँदा यो भौतिकवादी प्रजातन्त्रले हावा, पानी र उर्जाको अन्य सबै प्राकृतिक स्रोत समेत व्यापारको बस्तुकै रूपमा समेट्यो र धनी विश्व र गरिब विश्व दुई चिरामा विभाजित गरेर प्राकृतिक स्रोत साधनमा एकाधिकार राख्न वा लिन अनेकौं नामका ‘वाद’को प्रयोग ग¥यो । पूँजीवाद, समाजवाद, उपभोक्तावाद, उपयोगितावाद त यसैभित्र जन्मे । व्यक्ति–व्यक्ति पनि वादमा परिणत हुँदै गए । माक्र्सवाद, लेनिनवाद, माओवादका नाममा भौतिक साम्यवाद गुजुल्टियो । हत्या, हिंसा र जघन्य अपराध समेत यसको संस्कृति बन्यो । संस्कार गरिएको विषयलाई ‘संस्कृति’ भन्ने प्राच्य अवधारणा हो । शान्तिको मात्र संस्कृति हुन्छ । हिंसाको विकृति हुन्छ । हिंसाको संस्कृति हुँदैन । तर संस्कृत शब्द नै जथाभावी प्रयोग हुन थाल्यो । फेद न टुप्पो जे पनि संस्कृति भन्दै प्राच्यले संस्कारित गरेर परिमार्जन गरेर व्याकरणद्वारा शुद्ध गरेको संस्कृत भाषाको विरोध गर्ने मेकाउले शिक्षा पद्धति भित्र्याइयो । यसले शिक्षा, स्वास्थ्यको साथै धर्मलाई पनि व्यापारिक वस्तु बनायो । योगी नरहरिनाथद्वारा पंक्तिकारसँग भएको यो चर्चा यस अघि नै प्रकाशित पुस्तकहरूमा प्रस्तोताले उल्लेख गरेको छ । त्यसै मध्येको एक प्रसङ्ग वि.सं. २०६० सालमा प्रकाशित “राजतन्त्रको तात्विक विशेषता” भन्ने कृतिबाट यथावत यहाँ उद्धरण गरिन्छ–

“श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको बाहुलीमा बिसे नगर्चीले सुजेरोबाट झिेकर एक रूपैया टक्र्याए । यसरी नै सबै गोरखालीले एकएक रूपियाँ दिएमा राष्ट्रिय एकीकरण अभियानका लागि आवश्यक परेको गर्जो टर्छ र चाहिएको आर्थिक स्रोत जुट्छ भनेर सल्लाह पनि दिए । गोरखा राज्यका सबै घरधुरीबाट बिसे नगर्चीकै सल्लाह अनुसार एकीकरणको अभियानमा यसरी आर्थिक स्रोत जुट्यो । यो धनराशिबारे अनेक जनश्रुति प्रचलित छन् । त्यस्तो जनश्रुतिको विविध ढंगले विश्लेषण हुँदै आएको छ । बिसे नगर्चीसँग श्री ५ पृथ्वीनारायण शाह ऋण माग्न गएका थिए भन्ने एकथरी जनश्रुति छ । अर्थात् त्यो कालखण्डमा बिसे नगर्चीजस्ता श्रमजीवीहरूसँग पनि धनसंचय हुने वातावरण थियो । र राजाले यस्ता श्रमजीवीसँग पनि संवाद गर्ने, सरसल्लाह लिने तथा आर्थिक खाँचो टार्न सापटी लिने सरल जीवनशैली थियो । बिसे नगर्चीसँग श्री ५ पृथ्वीनारायण शाहले रूपियाँ सापटी माग्दा के प्रयोजनको निमित्त सापटी चाहियो भनेर राजासँग प्रतिप्रश्न गर्ने बिसे नगर्चीको आत्मबल, चरित्रबल र धनबलका साथै बुद्धिबल पनि उत्तिकै थियो भन्ने बुझिन्छ । त्यसैले त राष्ट्रिय एकीकरण अभियानको निमित्त आर्थिक स्रोतका निमित्त रूपियाँ सापटी माग्न आएका बडामहाराजधिराजको कुरा ध्यान दिएर सुनेपछि उनले आफ्नो सुजेरोबाट सुरूक्क झिेकर एक रूपियाँ टक्र्याउँदै गोरखा राज्यका सबै घरधुरीबाट यसरी नै एक रूपियाँ लिएर राष्ट्रिय एकीकरण अभियानका लागि धन जुटाउने सल्लाह दिएको जनश्रुति अनुसार श्री ५ पृथ्वीनारायण शाहले धनको गर्जो टारे भनिन्छ । त्यस बखतको जनताको चेतनाको स्तर कति उच्च थियो । उनीहरू कति स्वतन्त्र, निर्भिक र स्वाभिमानी थिए भन्ने पनि बुझिन्छ । आजका दलित वर्गमा पर्ने जातिकै उसबखतका बिसे नगर्ची गोरखाली नै हुन् । यस्ता श्रमजीवीहरूको बुद्धि र आर्थिकस्तर यति उच्च थियो भने अरू जनता कस्ता दूरदर्शी र बुद्धिमान थिए होलान् । यसले नै स्पष्ट हुन्छ ।

आफ्नो आँगनमा एकाबिहानै ठिङ्ग उभिएका आफ्ना राजासँग साक्षात्कार गरेर आफ्नै पीढीमा ओछ्याइएको गुन्द्रीमा पलटी कसेर राजासँग विचार विनियम गर्ने राज्यव्यवस्था कुनै बखत यो भूभागमा थियो । यसैलाई पूर्वीय राजतन्त्रको विशेषता पनि मानिन्छ । राष्ट्रिय एकीकरण अभियानलाई स्रोत जुटाउन महत्वपूर्ण सल्लाह दिनसक्ने बिसे नगर्चीजस्ता श्रमजीवी स्वाभिमानी जनता पनि त्यो राजतन्त्रभित्र अटाएका थिए । यस्तासँग सल्लाहा  लिएर राजकाज गर्ने राजाको यो विवरणले पूर्वीय परम्परामा राजा–प्रजाको सम्बन्धबारे विश्लेषण गर्न पर्याप्त सामग्री दिएको छ । एकीकरण अभियान लोकसम्मथिमा आधारित थियो । यो समावेशी थियो । धर्म–संस्कृति र परम्प्रामा विश्वास गर्नेहरुले यसलाई साथ दिए ।

प्राच्यको राजतन्त्र लोकसम्मतिमा विश्वासगथ्र्यो । पाश्चात्य राजतन्त्रको इतिहासभन्दा यो भिन्न छ । पूर्वको राजतन्त्रका विशेषतामा लोकसम्मतिको विशेष चर्चा गरिन्छ । राजतन्त्र राजाको निरंकुश शासन मान्ने पश्चिमी संसारका बुद्धिजीवी वा उनका पृष्ठपोषकहरू राजनीतिलाई भन्ने त्यो विशेषण अनुरूप व्याख्या गर्दैनन् । राजतन्त्र राजाको शासनको पर्याय हो भने राजनीति पनि राजाकै नीति हुनुपर्छ । तर, पूर्वीय दर्शन अनुसार राजतन्त्र भनेको राजकाज गर्न व्यवस्थित गरिएको विधि हो । नीतिहरूको विशेषण राजनीति भएजस्तै यो राजतन्त्र पनि तन्त्रहरूको मुख्य तन्त्र अर्थात् प्यारो मानिएको तन्त्र राजतन्त्र हो । राजा प्यारो बस्तुको सम्बोधनका निमित्त पनि प्रयोग हुन्छ ।

अहिले विश्वभरि प्रजातन्त्रको नारा घन्केको छ । प्रजातन्त्रका विविध मोडेल देखिएका छन् । त्यसमा राजनीतिक प्रजातन्त्र अर्थात राजकाज गर्नकै निमित्त मात्र एउटा मोडेलको प्रजातन्त्रको कुरा हुन्छ । यसले प्रजातन्त्रको नाममा पार्टीतन्त्र पनि चलाउने कोशिस गर्छ । यस्तो प्रजातन्त्रको विकृत रूप पार्टीतन्त्र हो । अर्को मोडेलमा पर्छ व्यापारिक प्रजातन्त्र । यो मोेडेलको प्रजातन्त्रले राजनीतिक स्वतन्त्रताको नारा घन्काउँछ र आर्थिक पराधिनतामा फसाउँछ । अर्को प्रजातन्त्र छ–विद्वेष मच्चाउने । धर्म निरपेक्षताका नाममा प्रजातन्त्रका थरिथरिका प्रयोग भएका छन् । धर्म निरपेक्षको नारा लगाउँदै धर्मका सबै पक्षलाई परस्पर लडाएरै समाप्त पार्ने यो धर्म निरपेक्ष प्रजातन्त्रको प्रयोग पनि उत्तिकै भयकारक छ । यस्तै अर्को क्षेत्रीय साम्प्रदायिक र जातीय स्वायत्तताको नाममा प्रजातन्त्रको प्रयोग गर्नेहरू छन्– तिनीहरूबाट देश टुक्रिने र हिंसा भड्किने गरेको विश्वकै घटनाक्रममा पुष्टि भएको छ । पूर्वीय दर्शनअनुसार लोकसम्मतिमा विश्वास गर्ने प्रजातन्त्र जसलाई पाश्चात्य राजनीतिज्ञको परिचय दिनेहरूले २१ औं शताब्दीलाई आधार वर्ष मानेर त्यसअघिको सम्पूर्ण युगको आलोचना गर्छन् । त्यो राजतन्त्रात्मक लोकसम्मतिमा आधारित तन्त्र वैदिकालीन पद्धति हो । यसैलाई श्री ५ पृथ्वीनारयण शाहले आफ्नो शासनको प्रेरणस्रोत मानेर लोकसम्मतिमा आधारित यही पद्धति यो भूखण्डमा विकसित गर्न उद्यत भएका थिए ।

अहिले व्यापारिक प्रजातन्त्र आकर्षक नाराले सजाएर साना मुलुकहरूमा निर्यात गर्नेले निर्यात गर्दैछन् । र आयात गर्नेले पनि आयात गर्दैछन् । यो प्रजातन्त्रले स्थानीय शासनमा स्वायत्तताको नारा खुब मिठोसँग लगाउँछ । तर, स्वायत्त सबै संस्थाहरूको जग भत्काउँछ । गाउँ उपेक्षित हुन्छन् र छिन्नभिन्न पारिन्छन् । अव्यवस्थित शहरीकरण गरेर महानगर, उपमहानगर र नगरको नाममा भ्रष्टाचार छिहिलिल्ने, नैतिकताको क्षय गराउने र अस्वस्थ प्रतिस्पर्धामा रमाउने विकृत जीवनशैलीले प्रश्रय पाउँछ । स्वायत्त संस्थाहरूलाई धराशायी बनाउँदै निजीकरणको नाममा लुट मच्चाउने छुट पनि यो व्यापारिक प्रजातन्त्रको अर्को विशेषता हो । राजनीतिक स्वतन्त्रताको नाममा छाडावाद र आर्थिक क्षेत्रको विकासका  नाममा निजीकरणको नारा लगाउँदै परस्पर विरोधाभाष हुने द्वन्द पैदा गरेर यो व्यापारिक प्रजातन्त्रले समय समयमा आफ्नो रूपरंग छेपारोले क्षणक्षणमा बदले जस्तै सजिलै कुरा बदल्छ । जसरी पनि निहित स्वार्थको व्यापार चम्काउने जमर्को गर्छ । अर्थात् यो व्यापारिक प्रजातन्त्र अन्य कुनै पूँजी लगानी गर्न नपरी नाराको भरमा राजनीति गर्नेहरूलाई र तस्कर माफियाहरूका साथै प्राकृतिक संशाधनको क्रुरतापूर्वक दोहन गरेर राष्ट्र खँगार्नेहरूलाई वरदान सावित हुने प्रजातन्त्र हो । संगठित भएर असंगठित जनताको शोषण गर्ने अचूक मूलमन्त्र वा हतियार यो व्यापारिक प्रजातन्त्रसँग अदृश्य रूपमा अत्यन्त सशक्त हुँदै लुकेर रहन्छ । ‘विष कुम्भं पयोमुखम्’ यो संस्कृत उक्तिलाई यो प्रजातन्त्रले चरितार्थ गर्दछ । बुद्धिजीवीहरूको बुद्धि किनेर वा बुद्धिजीवीलाई प्रजातन्त्रका नाममा परस्पर लडाएर यो प्रजातन्त्रले राजनीतिक स्वतन्त्रताका मीठा नारा लगाएर आर्थिक परतन्त्रताको घेरा कस्छ । धनी झन् धनी हुन्छन् । गरीबी झन बढ्छ । यो प्रजातन्त्रका हिमायतीले आफ्नो यस्तो प्रजातन्त्रको पक्षमा बहुराष्ट्रिय ठूला कम्पनीहरू, बैंकर्सहरू, कुशल व्यवस्थापकको बिल्ला भिरेका व्यक्तित्वहरू र कुतर्क गर्नसक्ने र लोकलाज लोकभय पचाउनसक्ने नेताको फेटा गुथेकाहरू तथा विदेशीको दासत्व स्वीकारेर राष्ट्रको गौरवमय इतिहास समेत पोलेर खाने र निहीत सुखसयलमा रमाउनेहरू सबैलाई एकजुट पार्छ । यस्तो निहीत स्वार्थ पूर्ति गर्न उनीहरू संगठित हुन्छन्, आन्दोलित हुन्छन् । आकर्षक नाराहरू घन्काउँदै आन्दोलन पनि चर्काउँछन् । सत्तामा पुगेपछि भ्रष्टाचारमा रमाउँछन् र  परस्पर लटारोचटारो गरेर लोकलाई हसाउँछन् ।

अहिलेको प्रजातन्त्र अर्थात् व्यापारिक प्रजातन्त्रले विश्वमा ठूलो उतारचढाव ल्याएको छ । नेपालमा पनि व्यापारिक प्रजातन्त्र र यस्तै नक्कले राजनीतिक प्रजातन्त्र आयात गरिएको छ । यस्तो प्रजातन्त्र निर्यात गर्नेहरू जसले निर्यात गरेका थिए–निर्यातमूल्यको भुक्तानी चाहिरहेका छन् । राजनीतिक प्रजातन्त्रका पक्षधरहरू पार्टीतन्त्र चलाउन कम्मर कसेर नारामाथि नारा घन्काइरहेका छन् । त्यस्ता नारा गणतन्त्रका चास्नीमा पनि चोपलिन्छन् । संवैधानिक राजतन्त्रका आवरणमा पनि बेरिइन्छन् । लोकसम्मतिमा आधारित अन्य तन्त्रबारे आलोचना गर्न उद्यत हुनेहरू धार्मिक निरपेक्ष प्रजातन्त्रका नारा पनि उत्तिकै लगाउँछन् । अर्थात् धर्म निरपेक्षको दाउन हालेर आफ्नो रोटी पकाउनेहरूले पनि वैदिककालीन राजतन्त्र वा धर्म सापेक्ष राजतन्त्रको विरोधमा तालुदेखि पैतालासम्मको जोड लगाएर अनर्गल नारा लगाउँछ । यसरी पूर्वजहरू सबै मुर्ख थिए । अर्थात् राजतन्त्र भनेको सामन्ती अवेशषकै प्रतीक हो भन्दै प्रगतिशील मुकुण्डो भिर्ने वा प्रजातन्त्रको यस्तै कुनै नक्कली खोल ओढेर व्यापारिक प्रजातन्त्रको जग मजबुत पार्नेहरूका कारण रन्थमोलमा परेर विफल राष्ट्रको रूपमा नेपाल अहिले चर्चित हुन थालेको छ । त्यसैकारण यो प्रजातन्त्रको पक्षमा नारा लगाउने कुनै पनि क्षेत्रका शीर्षस्थ व्यक्तित्वको आफ्नो मौलिक चिन्तन वा स्वतन्त्र अस्तित्व नुहने र टपर्टुइयाँ गर्नसक्ने नेताहरूको दौराको फेरमा झुण्डिएर आफ्नो भूमिका खोज्न एक प्रकारको दासता नै स्वीकार्नपर्ने हाँसोलाग्दो जीवनशैली देखिन्छ । अहिलेका नेपालका बुद्धिजीवीहरू, शिक्षाशास्त्रीहरू, समाजशास्त्रीहरू, योजनाकारहरूको बुद्धि र चिन्तन बिसे नगर्चीसँग दाँजेर हेरौं– उनी यस्ता अहिलेका आफूलाई विशेषज्ञ हौ भन्नेहरू भन्दा धेरै उच्च देखिन्छन । टायर बालेर, पुत्ला जलाएर, राँके जुलुश निकालेर प्रजातन्त्र खोज्नेहरूलाई बिसे नगर्चीको जत्तिको विवेक पनि नभएको मान्नैपर्छ । आफ्नो स्वार्थ पुरा गर्न जसलाई पनि, जसरी पनि प्रयोग गर्नुपर्छ भन्ने अहिलेका नेताहरूको छुद्र मनोवृत्ति देखिन्छ । लोकलाज र लोकभय मान्नु हुन्न–पचाउनुपर्छ यस्तो नीति यो व्यापारिक प्रजातन्त्रका हिमायतीले तय गरेका हुन्छन्  । के किसान, के विद्यार्थी, के मजदुर जसलाई प्रयोग गर्दा आफू सत्तामा पुग्न सकिन्छ त्यसैलाई प्रयोग गरेर सत्ता हत्याएपछि त्यसैको ढाड सेकेर करङ मस्काएर शासनको बागडोर हातमा लिएर सत्ता सुख भोग्नेहरू यो प्रजातन्त्र अर्थात् व्यापारिक प्रजातन्त्र विकासोन्मुख देशका यस्ता नेतारूले आफ्नो देशमा आयात गर्छन् । विकसित मुलुकका व्यापारी तथा उद्यमीहरू र राजनेताहरू यस्तो प्रजातन्त्र त्यस्ता देशमा निर्यात गरेर असीमित फाइदा लिन नियोजित दूरगामी नीति बनाएर असंगठित सर्वसाधारण जनतालाई  भड्काउँछन् । यो प्रजातन्त्रको पृष्ठभूमिमा वक्तव्यवाजी गर्नेहरूको समेत ठूलो षड्यन्त्र छिपेको रहस्य पटक पटक खुलेको छ । कुनै देशको आन्तरिक मामिलामा मानवअधिकारको प्रसँग जोडेर वक्तव्य दिएर वा समर्थन र विरोध जनाएर त्यो देशको यस्तै व्यापारिक प्रजातन्त्रवादी नेताहरूसँगको साँठगाँठमा विषय र वक्तव्यको ओजन अनुसार रकम लिने वा अन्य भौतिक फाइदा लिने काम पनि बाह्य जगतका नेता र विशेषज्ञहरूबाट हुने गरेको छ । यसका थुप्रै प्रमाणहरू भेटिएका छन् । व्यापारिक प्रजातन्त्रले बस्तुको विज्ञापन गर्ने, बहुराष्ट्रिय कम्पनीले जस्तै अति आकर्षक विज्ञापन गर्छ । सुखद् सपना बाँड्न यो अति सिपालु छ । त्यत्ति बहुराष्ट्रिय कम्पनी पनि नहुन सक्छन् । राजनीतिक अधिकारका नारा हुन वा अन्य आकर्षक विकासका नारा हुन् ती नारा जति मधुमिश्रित शब्दमा भट्याइए पनि आखिरमा फोस्रा सावित हुन्छन् । आम चुनावमा प्रतिबद्धता व्यक्त गरेका यस्ता राजनीतिक दलका प्रतिबद्धता वा घोषणपत्र सडकका कसिंगर सावित हुन्छन् । मत दिएर सत्तामा पु¥याउने जनताको टाउकोमा गिर खेलेर आप्mनो समृद्धिको सोपान यस्तो व्यापारिक प्रजातन्त्रका संगठनका नेताहरूले सजिलैसँग ठड्याएर कानुनी राजको दुहाइ दिएर कानुनको तराजु पनि आफ्नो अनुकुल बनाउन न्यायपालिकालाई समेत रिङाइदिन्छन् ।

प्रजातन्त्रको नाममा पार्टीतन्त्रको मजबुत पकड भएपछि सर्वत्र राजनीतिककरण हुँदैजान्छ । राजनीतिक महत्वकांक्षाले राष्ट्रका परिचय चिन्ह र परम्परागत मूल्य, मान्यता र अवधारणाको वास्ता गर्दैन । यस्तो व्यापारिक प्रजातन्त्रलाई पोषण दिन लोकलाज र लोकभय पचाएर नेताहरू अस्वस्थ प्रतिस्पर्धामा उत्रन्छन् । त्यसैले दुर्दशा नै दुर्दशा निम्त्याउँछ । यस्तै हालतमा अहिले नेपालको राजनीति व्यापारिक प्रजातन्त्रको मारमा परेको छ । यस्तै व्यापारिक प्रजातन्त्रवादीहरू नै पूँजीवादी त्यस्तै व्यापारिक गणतन्त्रको आकर्षक नारा लगाउने अर्को प्रयोग गरेर राजतन्त्रको उछित्तो काढ्दै राष्ट्रभर वितण्डा मच्चाउने पाखण्डको प्रदर्शन गर्दैछन् । गणतन्त्रका नारा लगाउन कलिला विद्यार्थीलाई ध्वनिप्रसारण यन्त्र बोकाएर यस्तै व्यापारिक गणतन्त्र स्थापना गर्ने हौवा फिजाउनेहरू सच्चा प्रजातन्त्रवादी नभएर नक्कली प्रजातन्त्रको मुकुण्डो भिर्ने भ्रष्टाचारी ठहरिएजस्तै नक्कली गणतन्त्र अर्थात् व्यापारिक गणतन्त्रको मुकुण्डोधारी हुन् । 

यस्ता छेपारे नीति लिएका तोरीलाहुरे नेताहरूका कारण पृथ्वीनारायण शाहको चार वर्ण छत्तिस जातको फूलबारी यथास्थितिमा रहन सकेन । परिवर्तनकारीहरूले श्री ५ पृथ्वीनारायण शाहको फूलबारीलाई काँडाघारी र सिस्नोको झाडीमा परिवर्तन गरे । अहिले श्री ५ पृथ्वीनारायण शाहको फूलबारीको परिचय चिन्ह नै मेटिन्छ कि भन्ने भय नै मडारिएको छ । गोला, बारूदको गन्ध र मानवताको क्रन्दनले हिमाल, पहाड र तराई कम्पायमान भएको छ । विश्वले शान्ति क्षेत्रकै रूपमा अनुमोदन गरेको बुद्धभूमि, शान्ति र शिवको करूणामय आनन्दको स्रोतको भूमि, विष्णुको तनावरहित स्वान्तसुखायको भूमिको मानचित्र नै दुर्दशामा परेको छ । यसैले श्री ५ बडामहाराज पृथ्वीनारायपण शाहको फूलबारीको भविष्यका बारेमा सर्वत्र चिन्ता व्याप्त हुँदैछ ।”


Rating (Votes: )   
Share     Print


Other Articles:
स्थानीय तह : नयाँनयाँ रजौटाको उदय ! (04.11.2017)
अस्पष्ट राष्ट्रिय विकास नीतिको परिणति (04.11.2017)
राजनीतिमा ‘मन्थरा’ र ‘शकुनी’ प्रवृत्तिको प्रभाव (03.22.2017)
केही पुष्टिकरण केही प्रष्टिकरण (03.22.2017)
बीचको बाटो किन नरोज्ने ? (02.28.2017)
रा.प्र.पा.को सम्पन्न महाधिवेशनको सन्देश ? (02.28.2017)
जनचाहना अधिकार हो, भूमिको भागवण्डा हैन (02.15.2017)
फेरी अख्तियारतिर फर्केर घोत्लिँदा (02.15.2017)
के यिनले जनतालाई भेडा ठानेका हुन् ? (01.31.2017)
“आशा वलवती” राजन्....! (01.31.2017)
अनाडीहरुले राजनीतिलाई पेशा बनाए (01.18.2017)
शस्त्रास्त्रद्वारा स्थापित साम्राज्यका समाधिमाथि स्थापित संचार साम्राज्य (01.18.2017)
सुनको सिरानी हालेर सुत्ने कंगालकको स्थिति (01.12.2017)
रा.प्र.पा.को एकीकरणदेखि महाधिवेशन पछिको परिदृश्यसम्म (01.12.2017)
प्रधानमन्त्री कसको हितमा काम गर्दै हुनुहुन्छ ? (01.04.2017)
संसदभित्रको परिदृश्यले दिएको सन्देश के ? (01.04.2017)
माओवादीका हुण्डरीमा जनतालाई सास्ती (12.29.2016)
को राष्ट्रवादी, को राष्ट्रघाती ? (12.29.2016)
जनचाहना समान अवसर हो, संघ शासन हैन (12.20.2016)
मधेशी मोर्चाको अन्तिम साध्य के ? (12.20.2016)



 
::| Latest News

 
[Page Top]