युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 09.17.2019, 12:35pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
प्राच्यमा परम्परा, उदारता, प्रजा शब्दको प्रयोग र प्रयोजन
Tuesday, 04.18.2017, 11:25am (GMT+5.5)

- वेदराज पन्त
इतिहास अन्वेषक योगी नरहरिनाथ शब्दको नानार्थबारे चर्चा गर्नुहुन्थ्यो । शाश्वत सत्य र इतिहासको कालखण्डमा उही शब्दको व्यापकता र संकुचन, प्रयोग र प्रयोजनमा आनको तान फरक पर्छ । त्यसैले शाश्वत सत्य र इतिहासको कालखण्डे उथलपुथललाई एउटै पारामा नहेर, नपढ भन्ने सल्लाह दिनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो– कोशकारहरुले यो कालखण्डमा संग्रहित शब्द शब्दको व्यापक अर्थ छ । शब्द नै ब्रह्म हो । वैदिक वाङ्मयमा ‘राजतन्त्र’ राजाको शासन होइन । यो सिद्धान्त हो, विधि हो । राजतन्त्रको शासनशैलीमा उसका मौलिक शब्दावली हुन्छन् । राजतन्त्रको वृहत शब्दकोश छ । त्यो शब्दकोशमा राजर्षि भन्ने शब्द छ । ‘उदार चरितार्थानाम् वसुधैव कुटुम्बकम’यो सूत्र हो, सिद्धान्त त हो । संस्कृति हो । राजन, राजा, राजर्षि, राजतन्त्रका विशेष पात्र हुन् । पूर्व राजा भन्ने शब्द राजतन्त्रको शब्दकोशमा छैन । राजकाज छोडेकालाई राजर्षि भनिन्छ । राजर्षिको पनि भूमिका छ । पूर्व राजा भएरल र्खरिंदै दिन काट्न र काल पर्खन पर्दैन राजाले ।

यसै प्रसंगका केही अन्य उदाहरण–

शब्दको लाक्षणिक अर्थ, शाब्दिक अर्थ, भावार्थ र नानार्थ हुन्छ । त्यस्तै एउटा शब्द जो अत्यधिक प्रचलिन शब्द हो ‘परम्परा’ अर्को शब्द ‘जनजाति’ र अर्को ‘उदारवाद’ । गानमा ‘राष्ट्रगान र ‘प्रशस्ती गान’ पहिलो शब्द परम्पराकै शाब्दिक अर्थबारे नै चर्चा गरौं । राजाका घोषणामा यो शब्द विन्यास यसरी प्रयोग हुँदै आयो “परम्परागत रुपमा हामीमा अन्तर्निहित राजकीय अधिकारको प्रयोग गर्दै ...” यही शब्द जनबोलिमा “हाम्रा पूर्खादेखिकै यो परम्परा हो प्रचलन हो...”

राजाको घोषणामा परेको ‘परम्परा’ले कालान्तरमा व्यापक परिधिको अर्थबोध गराउन सकेन । पुरानो प्रथाका कुरामा यसलाई संकुचन गरियो । ‘परम’ र ‘परा’ शब्दको सन्धि हुँदा ‘परम्परा’ शब्द बन्छ । यसको भिन्नाभिन्नै अर्थ हुन्छ । परमले महततत्वको प्रतिनिधित्व गर्छ । परा प्रकृति हो– विद्या हो । यसले जगतलाई नै व्यवस्थित गर्छ । योगीका भनाइमा यो शब्दको यस्तो व्यापक अर्थ प्रयोगकर्तालाई ज्ञान हुनैपर्ने थियो । तर, जनजिभ्रोमा प्रयुक्त पुर्खादेखिकै परम्पराको अभिव्यक्ति समेत पुरानो कुरामा सीमित रह्यो । परम शब्द एक प्रकारको विशेषण हो । यो ईश्वरको अगागि प्रयोग गरिंदा परमेश्वर हुन्छ । आत्माको अगाडि प्रयोग भए परमात्मा हुन्छ । अणुको अगाडि जोडिएमा परमाणुका रुपमा बोध गराउने शब्द बने जस्तै जहाँजहाँ परम शब्द विशेषणका रुपमाा प्रयोग हुन्छ, त्यहाँ यसको महती अर्थको व्यापकता रहेको मानिन्छ । शाश्वत सत्यको बोध गराउने परम शब्दको नानार्थ छ । यो शब्दले महान्, अद्भूत, अति पवित्र, सत्य र धर्मलाई समेटेर वैदिक वाङ्मयमा व्याख्या–विश्लेषण भएको छ । परम शब्द आत्मामा जोडिंदा परमात्मा हुन्छ । धाममा जोडिंदा परमधाम हुन्छ । ईश्वरका अगाडि परम शब्दको विशेषण लाग्यो भने परमेश्वर हुन्छ । वैदिक वाङमयमा परम र परा शब्दको महती अर्थ छ । 

वैदिक युगमा राजाको प्रशस्तीगान गर्दा परमाधिपति शब्दले राष्ट्रका यावत पक्षलाई समेटेका संकेत थियो । त्यो शब्दका यावत संस्कृति, नदी, पर्वत, मठ–मन्दिर, चैत्य, गुम्बा र वन–वनस्पति लगायत स्थूल र सूक्ष्म सबै पदार्थका साथै प्रकृतिमा उदभव भएका पजा तथा । राजनीतिक मानचित्रमा यावत संस्थागत विशेषता समेत समेटिन्थे । राजतन्त्रको यो विशेषता हो । सिद्धान्त र नीतिगत पक्ष हो । तर, अहिले परमाधिपति राजाको प्रशस्तीमा परेको शब्दविन्यास सेनाको परमाधिपतिमा संकुचित अर्थमा प्रयोग गरिए जस्तै राजाको वैदिककालीन अर्थ पनि संकुचनमा परेर राजा भन्नासाथै निरंकुश हुन्छ र राजाको हुकुम सामन्ती संस्कार र अहंकारको प्रतीक हो, लोकसम्मत अभिव्यक्ति होइन भन्ने अर्थ गरिन्छ । यो राजतन्त्रको शब्दकोशमा संग्रहित शब्द सिद्धान्त हो । राष्ट्रपतिलाई प्रशस्तीबाट यसरी संबोधन गरिंदैन । उनलाई संविधानको बन्देजभित्र आलंकारिक स्थानमा राखिन्छ । त्यसैले राष्ट्रपति संबैधानिक हुन्छ । कागज बाकसमा खसालेर चयन गर्ने परिपाटीद्वारा राष्ट्रपतिको निर्वाचन हुन्छ । त्यसमा पनि बहुमत र अल्पमत देखिन्छ । यस्तो राष्ट्रपति मानवीय सबै कमजोरी काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यबाट मुक्त हुन सक्दैन । तर, राजा निस्पृह हुनैपर्छ । जितेन्द्रिय हुनैपर्छ । क्रोध, लोभी, घमण्डी र देहाभिमानी हुनु हुँदैन । उसलाई जुठो–सुतक वा तनावजन्य अन्य कुनै घटनाले प्रभावित गर्दैन । वंशाणुगत राजाको एकातिर देहावसान भएको छ, अर्कोतिर उसैको उत्तराधिकारी युवराजधिराज सिंहासन आरुढ भएर राष्ट्रका नाममा सन्देश दिंदै राज्यारोहण गर्ने, तनावमुक्त अवस्थामा रहेर राजाज्ञा (हुकुम) जारी गर्ने हैसियतमा तम्तयार हुनुपर्छ । परम्परागत राजकीय सत्ता अर्थात् परम र परा आफूमा अन्तर्निहित भएको हुनाले देहाभिमानबाट मुक्त उदार चरित्रातां वसुधैव कुटुम्बकम सूत्र अनुसार ‘राजा सबको साझा’ लोकवाणी चरितार्थ गर्ने प्रभामण्डलयुक्त दैवी व्यक्तित्वको रुपमा सिंहासनारुढ हुनुपर्छ ।

त्यस्तै वैदिककालको राष्ट्रगान मातृभूमिको वन्दनाको प्रतीक हो । वेदको भूमिसुक्तमा यो गान सर्वप्रथम लिपिबद्ध भयो । ‘वयं राष्ट्रे जाग्रतयाम पुरोहित’ भन्ने उद्घोषणका साथ । “अब्रह्मण ब्राह्मणे ब्रह्म वर्चसी जायतां मा राष्ट्रे राजण्य” इत्यादि । प्राच्यको यो वैदिक राष्ट्रगानकै अनुकरण त्यसपछि पाश्चात्य जगतले पनि ग¥यो । राष्ट्रगानको स्रोत लगायत राष्ट्रवादको सिद्धान्त वैदिक वाङ्मय हो । यस्तै उदार चरित्र पनि प्राच्यको वैदिक वाङ्मयमा चिन्तन र चर्चाकै विषय हो । उदार चरित्रको प्राच्य अवधारणाले जीवनशैलीका साथै व्यापक विषयवस्तु समेटेर ‘उदार चरितानां तु वसुधैव कुटुम्बकम’को सूत्र नै प्रतिपादित गरेको थियो । हिन्दु धर्मका तात्विक विशेषतामा केही यस्ता विशेष तत्व वा रहस्य छन् । त्यसमा उक्त चरित्र एक हो । पाश्चात्य जगतले यही उदार चरित्रलाई आर्थिक क्रियाकलापमा संकुचन गर्दै उदारवादको संकीर्ण परिभाषामा सीमित ग¥यो । त्यसैमा रल्लिएका पूर्व पश्चिमका कथित आधुनिक भनिने अर्थशास्त्रीहरुले नवउदारवादको नाममा भाउँतो भाउँतो गरे । उदार चरित्रकै हुर्मत लिए । यो शब्दको प्रयोग गरेर आफ्नो कुत्सित स्वार्थ पूर्ति गरे । प्राकृतिक संशाधनको क्रुरतापूर्वक दोहोन गरे । सृष्टि संरचनाको यावत आधारभूत पक्ष र प्राणी–वनस्पतिको हदैसम्म शोषण गरे । मानव अधिकारको नारा भट्याए । मानवोचित गुणवक्ताको खिल्ली उडाउँदै संहार शस्त्र–अस्त्र–क्षेप्यास्त्र लगायत रासायनिक संहारक आयुध निर्माण गरे । विश्वशक्ति बनेको पाश्चात्य सभ्यताको असभ्य कथाको यस्तै विस्तृत विवरण जति उल्लेख गर्न चाह्यो त्यति पाइने छ । यो अध्ययन क्रमका साथै बहुविध पक्षका निष्कर्ष छन्– अध्येताहरु यसै भन्छन् ।

प्राच्यका चिन्तकहरुले वैदिक युगमै उदारवादको सिद्धान्त सूत्र उदार चरित्रका बारेमा प्रयोग गरेका थिए । तर पाश्चात्य जगतले यो उदार सिद्धान्तको सूत्र अर्थात् उदारवादको प्रणेता जोन लक स्टुबार्ड मिल हुन् भने । यस्तै नदी सभ्यता, पर्वत सभ्यता, मठमन्दिर सभ्यता मानवीय उच्चतम गुणवत्तायुक्त सभ्यता वैदिक वाङ्मयमा लिपिबद्ध छन् । तर पश्चिमले अन्य सभ्यताको उत्थान–पतनको अभिलेखमा यस्तो थप सभ्यताको उल्लेख गरेको छ ।

सभ्यताको उत्थान–पतन
कालखण्डे इतिहासमा अभ्युदय भएर इतिहासकै गर्तमा विलिन केही सभ्यताको विस्तृत विवरण छ । त्यसमध्ये केही संक्षेपमा टिपोट गरौं–

सभ्यताको उत्थान र पतनलाई कल्पकल्पान्तरको कालखण्डे घटनाको रुपमा पुराणहरुले वर्णन गरे पनि पाश्चात्य इतिहासकार, अन्वेषक वा चिन्तकहरुले आआफ्नै दृष्टिकोणबाट विविध प्रकारले स्थापित गरेका छन् । अध्यात्मवादी वैदिक वाङ्मयमा यो संसार अनित्य छ र कुनै पनि सभ्यता वा जीवनशैली शिखरमा पुगेपछि त्यो यथावत रहन सक्दैन भन्ने उल्लेख छ । मानवीय सृष्टि होस् वा इश्वरीय सृष्टि त्यसको अवशान निश्चित छ । पाश्चात्य अन्वेषकहरुले उल्लेख गरेका माया सभ्यता होस् वा मेसो पोटामियन सभ्यता, ग्रीक सभ्यता होस् वा रोमन सभ्यता, इजिप्टको प्राचीन सभ्यता वा इन्दुु सभ्यता, पर्सियन होस् कि ह्वाङ्हो सभ्यता ईशापूर्व विकसित यस्ता सभ्यतामा जीवनशैली मात्र उच्च थिएनन्, विकासवादको पाश्चात्य शैलीभन्दा फरक भए पनि त्यस्ता सबै सभ्यता पूर्ण विकसित सभ्यता हुन् भन्ने अभिलेख पाइन्छ । पुरातात्विक अन्वेषणले पनि यो पुष्टि हुन्छ । विकासवादीको रटान २१ औं शताब्दीको औद्योगिकरणीय पक्ष प्राचीन सभ्यताको तुलनामा अग्रगामी छैन । यो सृष्टि संरचनाको निमित्त निरापद र अपरिहार्य छैन । कुनै पनि सभ्यता वा युगको स्थायित्व छैन ।

प्राचीन केही सभ्यताका यतद्पक्षको संक्षेपमा चर्चा गरौं–
ग्रीक सभ्यता
वर्तमान विश्वले ग्रीक सभ्यतालाई सबभन्दा प्राचीन सभ्यताको रुपमा चर्चा गर्छ । कालगणनाको हिसाबले इशापूर्व ७ हजार २ सय ५० वर्ष अघि यो सभ्यता विकसित भैसकेको थियो । यही सभ्यतामा अनेक सिद्धान्त प्रतिपादित भए । दर्शनशास्त्र लेखिए । प्रविधिको प्रयोग सभ्यताको उच्चतम ज्ञानको रुपमा विविध प्रयोजन जीवनशैलीले भरपूर प्रयोग ग¥यो । भौतिक शास्त्र, गणितको ज्यामितीय र बायोलोजी ग्रीक सभ्यताकै देन मानिन्छ । पाइथागोरस, सोक्रेट्स, प्लेटो, एरिस्टोटलहरु यही सभ्यतामा जन्मे । यही सभ्यतामा युगान्तकारी कीर्तिमानन कायम गर्ने वैज्ञानिक र दर्शनिक जन्मिसकेका थिए ।

मेसोपोटामियन सभ्यता
पश्चिमले चर्चा गर्दैआएको यो अर्को सभ्यता हो । ईशापूर्व ३३०० तिर यो सभ्यतामा मानवजातिको उदय भएको पाश्चात्य सभ्यताको इतिहास उल्लेख गर्छ । सभ्य मानव यसै सभ्यतामा विकसित हुँदै आए । कृषि पेशा पनि यही सभ्यताको देन हो । कानुन, नीति–नियम, सामाजिक जीवनका अन्य पक्षतिर यही सभ्यताले चेतना अभिवृद्धि गरेको हो । घरेलु जनावरको पालनवोषण र प्रयोग–प्रयोजनको श्रेय पनि यही सभ्यतालाई दिइन्छ । यो सभ्यताको जननी सुमेरु तथा आसारीया उच्च पर्वत वरिपरिबाट सुरु भई हालको इराक, बेबोलिनियामा विकसित भएको थियो भन्ने पाश्चात्य अनुसन्धानकर्ताको स्थापित मान्यता छ ।

इजिप्ट सभ्यता
इशापूर्व ३५०० तिर सुरु भएको अर्को सभ्यतामा राजाहरुले ठूलठूला पिरामिडहरु बनाए । त्यस्ता पिरामिडभित्र शासकहरुको मृत शरीर राखिन्थ्यो । यस्तो सभ्यताको परिचयबोधक चिन्ह इजिप्टमा पाइन्छ । सांस्कृतिक रुपले बहुचर्चित हुने यो सभ्यता इजिप्टको नाइल नदी वरपर विकसित भएको मानिन्छ ।

माया सभ्यता
यो सभ्यता मध्य अमेरिकामा ईशापूर्व २६०० तिर विकसित भएको हो । सौर्य क्यालेण्डरको सुरुवात यसैबेला मानिसले गरे भन्ने पश्चिमा अनुसन्धाताको भनाई छ । यस्तो क्यालेण्डर ढुंगामा कुँदेर तयार गरिन्थ्यो । माया सभ्यतामा यो संसारको सुरुवात ११ अगस्टमा भएको हो । यही दिनबाट साल गन्ती गर्न थालियो । यो सभ्यताले कला, संस्कृतिको विकासमा अभूतपूर्व योगदान दिएको मानिन्छ । 

यस्तै अन्य सभ्यतामा इण्दुस उपत्यकाको सभ्यता, पर्सियन सभ्यता, ह्वाङ्हो सभ्यताको विस्तृत विवरण पाश्चात्य सभ्यताको इतिहासमा उल्लेख छ । यी सभ्यताले विकसित गरेका काला, संस्कृति, जीवनशैलीका अन्य रोचक पक्षको यथास्थान यथामति चर्चा हुँदैआएको छ । प्राच्यले वैदिक सभ्यतालाई अनादि मान्छ । पाश्चात्यकोभन्दा फरक मान्यता स्थापित गरेको छ । अन्न नै ब्रह्म हो । शब्द नै ब्रह्म हो । ज्ञान अपौरेषय हो । सृष्टि संरचना अनादि र अनन्त छ । वैदिक सभ्यताको स्रोत चेतना हो । इत्यादि विश्लेषणका साथ नित्यं केही छैन । भावचक्र यसै गरी घुम्छ । युगयुगान्तर, कल्पकल्पान्तर र सबै कालखण्ड पूर्ण छन् । लय हुन्छ–प्रलय हुन्छ । यही शाश्वत सत्य हो । पूर्णमद्, पूर्णमिदं, पूर्णमुदच्यते, पूर्णस्य पूर्णभादाय पूर्णमेव वशिष्ठते । 

वैदिक वाङ्मयले यसरी पूर्णताको उद्घोष गर्छ । कालखण्ठे घटना र विकासवादी पाश्चात्य अवधारणा त्यसैले प्राच्यका सनातनी परम्परावादीले अस्वीकार गर्छ । सभ्यताको उत्थान–पतनको अभिलेखले यही संकेत गर्छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सामथ्र्यविनाको अधिकार पोखिन सक्छ (04.18.2017)
महासंक्रमणको गोलचक्करमा नपरौं, शुभकामना ! (04.18.2017)
आयातीत प्रजातन्त्र व्यापारिक प्रजातन्त्र हो (04.11.2017)
स्थानीय तह : नयाँनयाँ रजौटाको उदय ! (04.11.2017)
अस्पष्ट राष्ट्रिय विकास नीतिको परिणति (04.11.2017)
राजनीतिमा ‘मन्थरा’ र ‘शकुनी’ प्रवृत्तिको प्रभाव (03.22.2017)
केही पुष्टिकरण केही प्रष्टिकरण (03.22.2017)
बीचको बाटो किन नरोज्ने ? (02.28.2017)
रा.प्र.पा.को सम्पन्न महाधिवेशनको सन्देश ? (02.28.2017)
जनचाहना अधिकार हो, भूमिको भागवण्डा हैन (02.15.2017)
फेरी अख्तियारतिर फर्केर घोत्लिँदा (02.15.2017)
के यिनले जनतालाई भेडा ठानेका हुन् ? (01.31.2017)
“आशा वलवती” राजन्....! (01.31.2017)
अनाडीहरुले राजनीतिलाई पेशा बनाए (01.18.2017)
शस्त्रास्त्रद्वारा स्थापित साम्राज्यका समाधिमाथि स्थापित संचार साम्राज्य (01.18.2017)
रा.प्र.पा.को एकीकरणदेखि महाधिवेशन पछिको परिदृश्यसम्म (01.12.2017)
सुनको सिरानी हालेर सुत्ने कंगालकको स्थिति (01.12.2017)
प्रधानमन्त्री कसको हितमा काम गर्दै हुनुहुन्छ ? (01.04.2017)
संसदभित्रको परिदृश्यले दिएको सन्देश के ? (01.04.2017)
माओवादीका हुण्डरीमा जनतालाई सास्ती (12.29.2016)



 
::| Latest News

 
[Page Top]