युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.07.2020, 10:35am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
नेताहरूको विपरीत मतिले पार्टीको थप क्षति नहोस् : तारा सुवेदी
Monday, 12.26.2011, 03:41pm (GMT+5.5)

“सहसा विदधीत न क्रियामविवेकः परमापदांपदम् ।
वृणुते हि विमृस्यकारिणं गुणलुब्धाःस्वयमेसंपदः”  ।।२।।
यो संस्कृत साहित्यका महाकवि भासले रचना गरेको प्रसिद्ध महाकाव्य “किरातार्जुनीयम्”को दोस्रो सर्गको तीसौं श्लोक हो । उक्त कविताको अर्थ “कुनै पनि काम कुरा परिणामको विचारै नगरी हठात् आवेश, आक्रोश र प्रतिशोध लिने उद्देश्यबाट किमार्थ गर्नु हुँदैन । त्यस्तो तवरबाट (विचारै नगरी) गरिएको काम पछि परिणाममा जति प्रत्युत्पादक ठहरिन्छ, सोच विचारपूर्वक गरिएको कार्यको परिणाम त्यत्तिकै सुखद् र फलदायी सावित हुन्छ” भन्ने हो ।
भनिन्छ महाकवि विवाह गरेको एक दुई वर्षमा नै श्रीमतीको प्रेरणाबाट विद्या आर्जन गर्ने र ठूलो विद्वान् बनेरमात्र फर्किने संकल्प गरेर परदेश लागेछन् । पढ्दा पढ्दै बीसौं वर्ष बितेछ । त्यस अवधिमा उनले निकै लगनशीलताका साथ अध्ययन गर्दै काव्य रचना गर्न थालेछन् र ठूलो साहित्य साधक बनेछन् । कैयन् काव्य रचना गरेर प्रसिद्धि कमाएपछि घर फर्किएछन् । घरमा पुग्दा रात छिप्पिइसकेकोले पत्नी सुतिसकेकी थिइन् । उसबेलाको घर पक्कै ठूलो, पक्की र ताला वा छिस्केनी लगाएर सुत्ने चलन थिएन होला । झण्डै बीस बाइस वर्षपछि आएर घरभित्र पस्दा श्रीमती र आडैमा अर्को युवक गहिरो निद्रामा सुतिराखेको देखेछन् । हत्तपत्त कम्मरमा भिरेको तलबार झिकेर दुवैलाई सिध्याउने उद्देश्यले त्यो पुरुषपात्र माथि प्रहार गर्ने निश्चय गरेछन् । संयोगले तलवार युवक माथि टाँगिएको सुन्दर रचनाको डोरीमा लागेछ र माथि सजाएर झुण्ड्याएको कविता तल खसेछ ।
उनले तलबारले झुण्ड्याएको ठाउँबाट झारेको सुन्दर कविता देखेछन् । “ओहो यो त आफैंले लेखेको कविता हो । म आफैंले लेखेको कुरालाई वास्तै नगरी, नबुझि युवकलाई काटिहाल्नु त ठीक होइन” भन्ने ठानेछन् । र श्रीमतीलाई उठाएछन् । श्रीमतीले जाग्दै “बाबु ! उठ तिमीले सधैँ खोजेको तिम्रो पिताजी आइपुग्नु भयो” भनेर सुतेको युवकलाई उठाइछन् । त्यसपछि कविलाई खुल्दुली जागेछ । उनले पत्नीलाई सोधेछन् । पत्नीले “हजूर परदेश लाग्दा मेरो पेटमा जुन गर्भ थियो, त्यो यही छोरा हो । हामी हजूरको घर फर्किने बाटो बीसौं वर्षदेखि पर्खिबसेका थियौ । आज बल्ल ईश्वरको कृपा भयो । प्राणनाथ ! अब म अशक्त भइसकेँ, हजूरले नै घरबार धान्नु प¥यो छोरालाई शिक्षा दीक्षा दिने घरजम गराइदिने जिम्मा लिनु प¥यो” भनिन्छन् ।
संयोगले छोरा गुरुकूलमा पढ्न जाँदा गुरुले व्यावहारिक शिक्षा दीक्षा सिकाउँदा उक्त कवितालाई (आफ्नै बाबुको अज्ञात रचनालाई) जीवनको सबैभन्दा ‘उत्तम मार्ग दर्शन’ ठानेर कण्ठस्थ गर्न लगाएका रहेछन् । त्यो युवकले अति महत्वपूर्ण ठानेर घरमा पनि लेखेर टाँसेका रहेछन् । तर उनलाई आफ्नो बाबुको रचना भन्ने थाहा रहेनछ । बाबुले “उक्त कविता कसरी किन टाँसियो ?” भनेर सोध्दा मात्र पो रहस्य खुलासा भएको रहेछ ।”
आजभन्दा झण्डै आधा शताब्दिभन्दा अगाडि पोखराको “विन्द्यवासिनी संस्कृत माध्यमिक विद्यालय”मा गुरु श्री शुकदेव वरालले पढाउनु भएको कविता थियो त्यो । र वहाँले त्यो कविता पढाउँदा हामी को को विद्यार्थी त्यहाँ थियौं भन्ने मात्रै सम्झना रहेको नभई “विन्द्यवासिनी अगाडिको विशाल रुद्राक्षको बोटमुनिको चौरमा घाममा ताप्दै र सुन्तला खाँदै पढाउनु भएको थियो” भन्ने सम्झना समेत मन मस्तिष्कमा ताजा नै छ । त्यति मात्रै होइन, त्यस बेला वहाँसँगै उक्त कविता निकै लयबद्ध शैलीमा गाउँदै पढ्ने मध्येका विद्यार्थी रामचन्द्र पौडेल, खेमराज पौडेल, शालिग्राम रेग्मी र दुर्गाराज रेग्मीसँगै पंक्तिकार पनि थियो । त्यसरी सँगै पढेका रामचन्द्र पौडेलजी २०४६ सालसम्म त्यही सहपाठीमित्रकै रुपमा घनिष्टता देखाउँथे र २०४८ सालमा (मन्त्री भएपछि पनि) ‘तारा’ र ‘तिमी’बाट संबोधन र मित्रवत् व्यवहार गर्थे, आज सायद चिन्दैनन् । त्यसलाई नेपाली संस्कृति र सत्ता अन्धताको ठेठ दुर्भाग्य ! नै भन्ने र मान्ने गरेको छु ।
यद्यपि उक्त प्रसंग अनावश्यक र “काम कुरो एकातिर कुम्लो बोकी अर्कैतिर” ठानिन वा सोचिन सक्छ । तर यहाँ त्यो प्रसंग किन आयो र ल्याउनु प¥यो भन्ने अर्थ छ । त्यसरी लय हाल्दै उक्त श्लोक कण्ठस्थ गरेका व्यक्ति (रामचन्द्र पौडेल) हाल नेपाली कांग्रेसको संसदीय दलका नेता छन् ।  पुरानो पुस्ताको सेप र रापले गर्दा अहिलेको ने.का. नेतृत्वपंक्तिभित्र कोही कसैलाई ठूलो र आफूभन्दा वरिष्ठ नेता नमान्ने नठान्ने एकप्रकारको अनुशासनहीनता वा अराजकता चरमरुपमा मौलाएको छ । तर पनि उनी संसदीय दलको नेता, पार्टी उपसभापतिको हैसियतमा मात्रै नभई डेढ दर्जन पटक प्रधानमन्त्रीको उम्मेदवार भएर हारेका एकमात्र वरिष्ठ नेता हुन् । भोलिको दिनमा पालो आए वा पाए नेकाका सभापति सुशील कोइराला आफू उम्मेदवार नहुने र उनैलाई नै प्रमको निर्विवाद उम्मेदवार बनाउने घोषणा गरिसकेको स्थिति छ ।  यस्तो स्थितिमा उनी निकै संयमित हुनु पथ्र्यो ।

“विनाशकाले विपरीत बुद्धिः”
पौराणिक कालका अयोध्याका रामचन्द्रलाई आज ‘भगवान्’ ठान्ने मान्ने करोडौ मात्रै नभई अर्र्वौ छन् । तर वनवासकालका रामचन्द्रले सुनको मृगको शिकार गर्ने लोभतिर लाग्दा पत्नी सीताको लंकाधिपति रावणले हरण गरेको भन्ने रामायणमा उल्लेख भएको पाइन्छ । त्यसै कथामा विश्वास गरेर होला (?) भारतवर्षका महान् कूटनीतिज्ञ र पश्चिमका मेकियावेलीका आदर्श गुरु कौटिल्यले आफ्नो चाणक्य नीति”मा
“न निर्मिता केन न दृष्टपूर्वा
न श्रूयने हेममयी कुरंगी ।
तथापि तृष्णा रघुनन्दनस्य
विनाशकाले विपरीत बुद्धिः” ।। (चाणक्य अ. १६।५)
(न सुनको मृग कहीं कसैले जन्माएको थियो, न कसैले कहीं कतै देखेको नै थियो । तर पनि सुनको मृगको शिकार गर्ने लोभले भगवान् रामलाई छोडेन, किनकि विनाश कालमा सबैको बुद्धि उल्टो हुन्छ)
गएको मंसिर महिनाको यौटा दुःखद् घटना पछिका घटनावलीले यी सबै कुरा लेख्न बाध्य पा¥यो । चितवन जिल्ला अन्तर्गतको कविलासमा यौटा युवक संजय लामा गुण्डा समूहको कूटपीट र हतियार प्रहारले मारिए । त्यस हत्याकाण्डको अनुसन्धान गर्दै जाँदा प्रहरीले तत्काल प्राप्त सबूद प्रमाणको आधारमा नेपाली कांग्रेस, चितवन जिल्लाका तरुण दलका जिल्ला अध्यक्ष शिवप्रसाद पौडेल पनि हत्यामा संलग्न भएको भेटायो । र प्रहरीले कानुन बमोजिम उनलाई समाएर जिल्ला अदालतमा पेश ग¥यो । जिल्ला अदालतले पनि पेश भएका सबुद प्रमाणलाई परीक्षण गर्दा “थुनामा राखेरै मुद्दा हेर्नुपर्ने” ठह¥यायो क्यार ! उनी (शिवप्रसाद पौडेल)लाई अदालतको आदेशमा कारागारमा बन्दीको रुपमा राखियो । त्यही बीचमा कारागारभित्र अर्को ग्याङ्गका अपराधीहरूले आक्रमण गरे । केही दिनपछि शिव पौडेलको दुःखद निधन भयो ।
आफ्नो पार्टीका यौटा अगुवा कार्यकर्ता कारागारभित्रको आक्रमणमा गम्भीर घाइते हुनु र त्यसै जरियाबाट उनको मृत्यु हुँदा पार्टी र कार्यकर्ताहरू उत्तेजित र आक्रोशित हुनु त्यति अस्वाभाविक थिएन । मृत्युको लगत्तै उनीहरू अराजक भए । तोडफोड, आगजनी राजधानीभित्र मात्रै नभइे देश नै आतंकित बन्यो । पौष २ गते शनिबार उनी मरेको खबर फैलिए लगत्तै व्यक्तिगत र सार्वजनिक सम्पत्ति गरी पचासौँ करोडको क्षति भयो । आफूलाई ‘अहिंसावादी, प्रजातन्त्र र विधि विधानको पक्षपाती” भन्दै आएको नेपाली कांग्रेस पार्टी नेतृत्वले आफ्ना कार्यकर्ताहरूलाई “पार्टी नीति विपरित अशोभनीय अराजक गतिविधि नगर्न” भनी रोक्न सक्दथ्यो, छाडा छोड्यो । त्यस हदसम्म पनि गम्भीर अपराध ग¥यो नभनौं ।
तर शनिवार त्यो सबै हिंसात्मक र आतंक फैलाउने गतिविधि भइसकेपछि र पार्टीले माग गरेको न्यायिक छानवीन आयोग गठन गर्ने माग पूरा भएपछि, आयोगको प्रतिवेदन नै नआउँदै त्यसै हत्याकाण्डका अन्य आरोपीहरूलाई तुरुन्त मुद्दा फिर्ता लिइ रिहा गर्नु पर्ने”, हत्याका आरोपी, र ग्याङ्ग फाइटमा मारिएको र मराउनेमा ने.का.का.कै जिल्ला सभापतिको प्रत्यक्ष परोक्ष हात रहेको हल्ला चलेकै कारणले महासचिव कृष्ण सिटौलाको नेतृत्वमा यकीन गर्न छुट्टै छानवीन समिति गठन गरिसकेको स्थितिमा सरकारले मृतकका परिवारलाई हचपचमा १०,००,०००।– (दश लाख) क्षतिपूर्ति दियो भन्दैमा सरकारको कमजोर स्थिति बुझेर “शहिद घोषणा गर्नुपर्ने” जस्ता जुन माग राखियो, त्यसमा पनि सरकारले सकारात्मक रुपमा हेर्ने आश्वासन दिँदा दिँदै तेस्रो दिन अर्थात् शिव प्रसादको मृत्यु भएर त्यत्रो उत्पात भइसकेको तेस्रो दिन (गएको पौष ४ गते) ने.का.ले नेपाल बन्दको घोषणा ग¥यो ।
त्यसै दिन विहानको कान्तिपुर एफ.एम. को विहान सात बजे शुरु हुने र ‘हटलाइनर्स’मा ने.का. संसदीय दलका नेता एवं भावी प्रधानमन्त्रीका दावेदार रामचन्द्र पौडेलले “आफ्नो पार्टीले आह्वान गरेको त्यस (दिनको) नेपाल बन्द पूर्णतः शान्तिपूर्ण र दवावरहित, स्वतः स्फूर्त र अवज्ञा आन्दोलनको रुपमा हुने” जुन प्रत्याभूति दिएका थिए त्यो र त्यस दिनमा भएको सार्वजनिक यातायात र सरकारी कार्यालयहरूमाथिको आक्रमण, तोडफोड आगजनीबीच कति साम्यता वा सन्तुलन रह्यो ?, त्यसले के संकेत ग¥यो, के सन्देश दियो ?, आफूलाई कम्युनिष्टहरू भन्दा पृथक हिंसा, आतंक, तोडफोड विरोधी र “आम जनताको स्वतन्त्रताको एक मात्र हिमायती” भन्दै आएको त्यसै पार्टीका अर्का नेता रामशरणले बेलुका बन्दकारी तोडफोडकारी र आतंक सिर्जनाकारीहरूलाई जसरी वी.बी.सी. नेपाली कार्यक्रममार्फत धन्यवाद दिने र भविष्यमा पनि त्यस्तै गर्न उल्क्याउने काम गरे त्यसले ने.का. प्रति आम जनताको समग्र मूल्यांकन कस्तो रह्यो होला ! भन्नेमा गैर कांग्रेसीदेखि स्तम्भकारसम्मलाई चिन्ता लाग्यो । तर अठारपल्टको हारले विवेक गुमाएका रामचन्द्रजी लगायत त्यसतिर पटक्कै हेक्का राख्न सकेको देखिएन् ।

“नेताहरूले यति वेशर्मी र विवेक शून्य ?
“४ गतेको नेपाल बन्द हाम्रो बाध्यता हो, किनभने यौटा ने.का. नेतालाई षड्यन्त्रपूर्वक हत्यामा फँसाइयो र कारागारभित्र अपराधी ग्यांगका मान्छे घुसाएर आक्रमण गराई हत्या गर्नेसम्मको काम सरकारबाट भयो, गरियो” पार्टी सभापति सुशील कोइरालादेखि, रामचन्द्र रामशरण, अर्जुन नरसिंह शेरबहादुर खूम्बबहादुर मात्रै होइन प्रकाशमानसम्मले यौटै स्याल भाकामा बोले । उनीहरू सबैका भनाइबाट लाग्दथ्यो वर्तमान सरकारले नै मुद्दामा फँसायो । अदालतले पनि सरकारकै आदेशको पालना गर्दै विनाप्रमाण थुनामा राख्यो । ने.का. जिल्ला सभापति विनोद कोइरालालाई पनि सरकारले नै प्रयोग गरेर शिव पौडेलको हत्या गराउनेमा संलग्न गर्नेसम्मको अपराधपूर्ण कार्य भयो । यस्तो कार्य नेपालमा नहिजो कहिल्यै भएको थियो नभोली सम्भव नै छ ।”
तर सबैभन्दा वेशर्मी र निर्वस्त्र भएर अर्का विरुद्ध सेम सेम वा कुरी’ कुरी गर्नु के हुनसक्छ ? ने.का. नेताहरूले शिव पौडेलको हत्या र नेपाल बन्दप्रति एकले अर्कोलाई उछिन्ने गरी नबोले भोली आफू पछाडि परिएला भन्ने हिसाबले उर्लिएको र कुर्लिएको जुन देखियो त्यसबाट भोलि ने.का.ले पहिलेका एमाले र हिजोका माओवादीलाई “अप्रजातान्त्रिक आतंकवादी जनविरोधी, तोडफोडकारी र हिंसावादी” भनेर भन्ने ठाउँ रह्यो कि रहने? गम्भीर प्रश्न खडा भएको छ ।
त्यो सबैभन्दा पनि निर्लज्जता त शेरबहादुर र खुमबहादुरहरूको बोली र व्यवहारले देखायो । उनीहरू (ने.का. नेताहरू) अहिले लामो समयदेखि सरकार र सत्ताको नियन्ता बन्न नपाउँदैमा यति असन्तुलित, विक्षिप्त र आफ्नो अतितको पतित कृत्यलाई जनताले पूरै बिर्से होलान् भनेर सडकमा जसरी देखिए त्यसले भोलि ने.का.ले आफूलाई हिजो झैं आफूलाई “कम्युनिष्टहरू जस्तो तोडफोड, आगजनी, जनजीविकाप्रति पूरै वेवास्ता गर्ने” र आफ्नो पार्टी बन्द हडताल विरोधी भएको देखाएर जनमत लिने अलिकति पनि धरातल राख्यो कि राखेन ?
धेरै टाढाका चिनियाकाजीदेखि बसीर मियाँ, अनिष शाक्यहरू सबै कांग्रेसी शासनकालमा नै सरकार पक्षबाटै मारिएको कुरातिर पनि चर्चा नगरौं । “सशस्त्र जनयुद्धका माध्यमबाट संविधानसभाको निर्वाचन गराउने र परम्परागत राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गरी गणतन्त्र स्थापना गर्ने” मुद्दा लिएर ने.क.पा. माओवादीको झण्डा बोकेर संघर्ष गर्दै आएका दशौं हजार नेपालीमध्ये कति हजार निहत्थाको हत्या चरम पाशाविक र वर्वरशैलीमा तत्कालीन ने.का.को एकलौटी सरकारले गरेको थियो ? संसदीय शासन व्यवस्थाको विरोध गर्दै जनगणात्मक शासन व्यवस्था स्थापित गर्ने बाटो समाएका “माओवादीका शीर्ष नेताहरूको हत्या गरेर झोलामा टाउको हाली ल्याउनेलाई पचासौं लाख दिने” सार्वजनिक घोषणा गरेर राजनीतिक नेता कार्यकर्ताको हत्या हिंसालाई सरकारबाटै संरक्षण र प्रोत्साहन दिने ने.का. नेताहरूले यौटा शिव पौडेलको लाशलाई राजनीतिक र सत्ताको भ¥याङ बनाउने चेष्टा गर्छन् भने ने.का.को भविष्य के होला ? लोकतन्त्रवादी तर गैरकांग्रेसी स्वतन्त्र चिन्तक र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूसँगै दलगत राजनीति निरपेक्ष स्वतन्त्र पत्रकार स्तम्भकारसम्मको यौटै चासो र चिन्ता यही हो ।
जनता ने.का.को सर्वसत्तावादबाट भलै आजीत भइसकेका होलान् । अहिले शिव पौडेलको लाश बोकेर सडकमा सहानुभूति र समर्थनको भीख माग्नेहरूलाई जनताले “हिजो तिमीले सयौँ शिक्षक, वकील, पत्रकार लगायतको अपहरण र कृष्ण सेन इच्छुक जस्तो प्रसिद्ध पत्रकार साहित्यकार कलाकारलाई अपहरण गरेर राजधानीको पुलिस क्लबमा कैयन् दिनसम्म बर्बर यातना दिइ जसरी हत्या ग¥यौ र हकवालालाई समेत लाश नदिई गोकर्णको पाखामा लागेर मृत देहमा गोली हानेर रातारात आर्यघाटमा जलाएका थियौ के त्यसका दाँजोमा शिव पौडेलको मृत्युलाई राख्नसक्छौ ?” भनेर प्रश्न गर्दा उत्तर के दिन्छौं ? सबैको यौटै प्रश्न सुनिने गरेको छ  ।

कांग्रेस सप्रे सुख छैन विग्रे दुःख लाग्छ
यद्यपि अहिले कांग्रेसी सर्वसत्तावादको मात्रै होइन सत्तामा कुनै पनि रुपमा कांग्रेसको छाया पनि देख्न चाँदैनन्” भनेर विश्लेषण गर्ने र निष्कर्ष निकाल्नेको ठूलो संख्या छ । प्रतिशतमा नै भन्ने हो भने झण्डै दुई तिहाई नै होला (?) संविधानसभामा गैरकांग्रेसीको दुई तिहाइभन्दा बढीको उपस्थितिलाई त्यसको साक्ष्यमा प्रस्तुत गर्दा गलत भन्ने ठोस आधार छैन रहेछ, जनमतलाई निषेध गर्न नसक्नेहरूसँग ।
तर जतिसुकै ठूलो वा उच्च प्रतिशतले त्यसो भनेका किन नहोऊन् “कांग्रेस जति पतनको पीँधमा पुग्यो वा धर्ती फाटोको अँध्यारो खोचमा खस्यो त्यति वेश हुन्छ” भन्नेहरू सबै सधैँ गलत सोच र सीमान्त आग्रह दुराग्रहका गम्भीर मनोरोगले ग्रस्त हुन् भन्ने लाग्छ ।
यद्यपि कांग्रेसको अतीतको सर्वसत्तावादी दरिद्र चिन्तनले धेरै नेपालीलाई रिस उठ्दा दिने उही पुरानो गाली “तेरो घरमा कांग्रेस पसोस्” भन्ने कुराले तर्साएको होला । २००८–११। ०१५–०१७ र ०४८–६० सालतिरको कांग्रेसी सर्वसत्तावाद र “कुनै यौटा छिमेकीको दास बनेर अर्को छिमेकीलाई हतास र निराश पार्ने काम कांग्रेस नेतृत्वको सरकारले ग¥यो” भन्ने परेको होला । तर त्यत्ति कुरालाई समाएर नेपालको सबैभन्दा जेठो पार्टी “ने.का.लाई यो देशको लागि अवाञ्छित् वा अनावश्यक शक्ति वा तत्व हो भन्ने सोच्नु अझ गलत हो ।
हिजो जे जस्तोसुकै इतिहास बनाएको किन नहोस्, नेपाली कांग्रेस अहिले पनि निर्णायक शक्तिको रुपमा रहनुपर्ने नितान्त आवश्यक देखिन्छ । जनताले नै संविधान लेख्ने महत्वपूर्ण बेलामा नेपालको ठूलो पार्टी ने.का. निर्णायक भूमिका खेल्नसक्ने हैसियतमा रहन सकेन र अहिलेको संविधानसभामा जस्तो उसको असहमति र अडान विपरीत संविधान निर्माण हुने भयो, देशको नयाँ संविधानमा (कदाचित् बन्ने भयो भने कांग्रेसले शक्ति सन्तुलन वा नियन्त्रण (चेक एण्ड व्यालेन्स) गर्नसक्ने स्थिति भएन रहेन भने सम्भवतः देशलाई जातीय, भाषीय, क्षेत्रीय नजाने कुन कुन शक्तिले कता पु¥याएर, सिंगो नेपाल राष्ट्रलाई मूसो “बिलो गर्नेहरूले विश्व मानचित्रबाटै अस्तित्व मेटिएको देश बनाउन सक्छन् । यद्यपि यो आशंका कतिपय जातिवादी र क्षेत्रीयतावादीहरूलाई एकांगी र यथास्थितिवादी पनि लाग्न सक्छ । तर त्यही नै यथार्थ हो, यसमा भ्रमित हुनुपर्ने कारण छैन ।
यस्तो असहज परिस्थिति र परिवेश हुँदाहुँदै पनि नेपाली कांग्रेसले “हिजो २०५९ असोज १८ गते र २०६१ माघ १९ गतेपछि तत्कालीन राजाबाट साथ समर्थन नपाएको आवेश, आक्रोश, रीसले जसरी प्रतिशोध लिन कांग्रेस विरोधी शक्तिसँग मैैत्री गरेर आफ्नो आधार शक्तिलाई समाप्त गर्ने विपरीत मति अभिप्रेरित काम ग¥यो, त्यही नै आफ्नो जीवनमा गरेको सबैभन्दा ठूलो भूल थियो भन्ने बुझ्नसकेको छैन । यदि त्यति हेक्का राख्न सकेको भए  आज माओवादीको दाँजोमा झण्डै ४०–४५ प्रतिशत तलको स्थानमा खस्न किन पुग्यो ?
अहिले फेरि माओवादीसँग बदला लिन र विनाशकालीन मतिले शिव पौडेलको लाश बोकेरै सिंहदरमा पुग्न सकिन्छ भन्नेमा विश्वास गरेको हो वा गर्दैछ भने त्यो अर्को र अन्तिम भूल हुनेछ । कांग्रेसले फेरि त्यस्तो गल्ती ग¥यो भने “कांग्रेसको पतनमा आफ्नो जाति, वर्ग, समुदाय सबै पहिचानको अवशान” ठान्ने र कांग्रेसको नेतृत्वमा पुनः सबै प्रजातन्त्रवादीहरू मिलेर कम्युनिष्ट शक्ति विरुद्ध लड्ने र जित्ने सपना बोक्नेहरूले जतिसुकै टाउको फोरे पनि कांग्रेसको अनिष्ट टार्न भने सक्ने स्थिति हुने छैन ।



Rating (Votes: )   
Share     Print


Other Articles:
पूँजीवादको उपहार हो जलवायु परिवर्तन : यादब देवकोटा (12.20.2011)
परिणाम नसोची गरिएका सम्झौता नामका तम्सुक ! : महेश्वर शर्मा (12.20.2011)
सबै पार्टीभित्रका विपक्षीहरूलाई चेतना भया : तारा सुवेदी (12.20.2011)
जलवायु परिवर्तनको प्रभाव- जैविक विविधता र कृषि प्रणालीमा गम्भीर असर : यादब देवकोटा (12.13.2011)
अद्र्धभूमिगत प्रधानमन्त्रीको गज्याङगुजुङको सय दिन : तारा सुवेदी (12.13.2011)
भागवण्डाको राजनीति र भ्रष्टाचार : महेश्वर शर्मा (12.13.2011)
जलवायु परिवर्तनको प्रभाव, खाद्यान्न र पानीको ठूलो हाहाकार हुने भय : यादब देवकोटा (12.06.2011)
संविधानसभाले सर्वोच्चमाथि जाइलाग्नुको अर्थ हिट्लर जन्माउने षड्यन्त्र : तारा सुवेदी (12.06.2011)
केही खुद्राखाद्री सन्दर्भ र जनसामान्यका प्रश्न : महेश्वर शर्मा (12.06.2011)
क्योटो प्रोटोकलको प्रतिबन्धि धारा कार्यान्वयनमा जोड : यादब देवकोटा (11.28.2011)
लोकतन्त्र र अर्थतन्त्र दुवै हसपिसमा : तारा सुवेदी (11.28.2011)
जातिवादीहरू देश टुक्र्याउने भूमिका खेल्दैछन् : महेश्वर शर्मा (11.28.2011)
वैचारिक अस्थिरता र अन्योलको स्थिति : महेश्वर शर्मा (11.21.2011)
दक्षिण एसियाले आफ्नो परिचय बदल्नुपर्छ : यादब देवकोटा (11.21.2011)
विवेकपूर्ण पत्रकारिता गरौँ कि मित्रहरु ! : तारा सुवेदी (11.21.2011)
आ–आफ्ना स्वार्थको भारी बोकेर गन्तव्यमा पुगिदैन : यादब देवकोटा (11.14.2011)
डाइरेक्टर आफैं नाच्ने होइन, अरूलाई नचाउने हो : महेश्वर शर्मा (11.14.2011)
राष्ट्रपतिको काँधमा बन्दुक राखेर डा. भट्टराई सरकार ढाल्ने खेल : तारा सुवेदी (11.14.2011)
अग्रगामी संविधान लेखनमा सभासद्हरूको भूमिका : यादब देवकोटा (11.07.2011)
उपदेश होइन, उदाहरण बनेर देखाऊ : महेश्वर शर्मा (11.07.2011)



 
::| Latest News

 
[Page Top]