| युगसम्बाद साप्ताहिक | ||||
|
सरकारको नामद्र्याई र खुला हस्तक्षेप- महेश्वर शर्मा Tuesday, 05.02.2017, 02:00pm (GMT5.5) राजनीतिक स्वतन्त्रताको महत्व त्यसो दुरुपयोग नहुन्जेल मात्र रहन्छ । अधिकार अथवा सत्ता पाएपछि मान्छे कसरी विग्रन्छ भन्ने कुरा गिरिजाप्रसाद र बाबुराम मन्त्रिमण्डलका चरित्रको अधःपतनको पराकाष्ठाले देखाएकै हो । त्यसैको बिंडो दाहालले थाम्दैछन् । जनताले पनि बाँच्न पाउनुपर्छ भन्ने शुद्धि शासन गर्नेहरुमा नआएसम्म उधारो परिवर्तनको कुनै अर्थ रहँदैन । आफैं अपारदर्शी मन्त्रीहरु कर्मचारीलाई पारदर्शी हुन उपदेश दिन्छन् । जसको सम्पूर्ण क्रियाकलाप सत्ता र सम्पत्ति केन्द्रित छ, त्यस्ताले अर्कालाई उपदेश दिंदा आफ्नो अनुहार नहेरेको देख्दा आश्चर्य लाग्छ । राजनीतिक क्षेत्रको भ्रष्टाचारको प्रदूषणबाट पूरै समाज आक्रान्त छ । आज २–४ प्र्रतिशत भोगवादीले मात्र मोज गरेका छन् । अरु सबै विचल्लीमा छन् । बेथिती बढ्दै गएर मनपरी चल्न थालेको छ । सरकारकै कमजोेरीका कारण बाहिरिबाट जसले पनि हेप्न थालेका छन् । राजनीति पनि एउटा खेल हो– बुद्धिको । त्यसैले राजनीतिलाई कूटनीति पनि भनिन्छ । बुद्धिचाल खेल्दा पछि चाल्नुपर्ने गोटीको हिसाब पहिले नै गर्न जानेन भने हार्न बेर लाग्दैन । राजनीति पनि त्यस्तै हो । तर, यहाँ अनाडीहरुले राजनीतिका नाममा देशै टुक्र्याइसके । त्यसमा पनि अन्तर्राष्ट्रिय स्तरमा खेल्नुपर्ने भूमिका इमानदारीसाथ निर्वाह नगर्दा पाइलैपिच्छे गल्ती गर्दै गएका दुष्परिणामले आजै पिर्न थालिसकेका छन् । पंंचायतकालमा नेपालबाट चीन बिरोधी गतिविधि हुन नदिन तिब्बतसंग सीमा जोडिएका ताप्लेजुङ, शंखुवासभा, सोलुखुम्बु, दोलखा, रसुवा, गोरखा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, बझाङ र दार्चुला समेत १३ जिल्लाका ४४ गा.पं.मा जान विदेशीलाई निषेध थियो । जानैपर्दा स्वीकृति लिनुपथ्र्यो । पछिका सरकारले विचारै नगरी फुकुवा गरिदिंदा विशेषतः भारतले आफूखुसी जिविस, गाविस, नपाहरुमा योजनाका लागि भनेर सम्झौता गर्ने, पैसा बाँड्ने, शिलान्यास र उद्घाटन गर्ने काम गर्दैछ । अहिले त उत्तरी सीमानातिर बढी चासो राखेको छ । इमानदारीसाथ नेपाललाई सहयोग गर्ने हो भने सरकारमार्फत काम गर्नुपर्छ । विना अनुमति, विना स्वीकृति राजदूतलाई मनपरी घुमेर मान्छे बिथोल्ने काम गर्न दिनुहुँदैन । तर, के गर्नु ! नालायकहरु त्यो बुझ्दैनन् या भारतका अगाडि लुत्रुक्क पर्छन् । राजतन्त्रमा त्यही मनोमानी गर्न नपाएर यिनै तोरीगाँडा नेतालाई उक्साएर नेपाली जनतालाई सोध्दै नसोधी बलात् गणतन्त्र घोषणा गराएपछि त भारतले नेपाललाई उपनिवेश नै सम्झेका व्यवहार गरिरहेको छ । काठमाडौंमा सर्वाधिकार सम्पन्न दूताबास छँदाछँदै वीरगञ्जमा वाणिज्य दूताबास खोल्न दिइयो । भूपू सैनिकलाई पेन्सन बाँड्ने निहुँमा पोखरा–धरान–भोजपुरमा समेत कार्यालय खोलेर घरघर डुलेर नेपालका आन्द्राभुँडी केलाइरहेका छन् । स्कूललाई पैसा र एम्बुलेन्स बाँड्ने आदि कामद्वारा आफ्नो पकड बलियो बनाउन पछिल्लो समयमा बढी केन्द्रित हुन थालेको छ । हुँदाहुँदा अब मुस्ताङतिर पैसा बाँड्न थालेको छ । नेपाल नै किनेको छु जस्तो व्यवहार देखाइरहेको छ । उनीहरु भित्रभित्र पसेर केके गर्दैछन् भन्ने नै सरकारलाई थाहा छैन । भारतीय दूताबासमा स्वीकृति दर्बन्दीभन्दा कति मान्छे बढी छन् ? ‘रअ’को ताँती नै कति छ ? के गर्दैैछन् भन्नेमा सरकार नै बेखबर छ । यस्तो भएपछि हेपिंदैन । २०६२ सालको आन्दोलनपछि केके त हुन्छ भन्ने आशाकोा बीउ रोपियो भनेको त त्यो बीउ त झनै विषको बीउ पो सिद्ध हुँदैछ । काउन्टर इन्टेलिजेन्सको व्यवस्था भारतकै इशारामा खारेज गरिहाले । गृहमन्त्रीले हिसाबै देखाउन नपर्ने गरी एकपटकमा –आवश्यक परे एकै दिनमा पनि चार–पाँच लाख) खर्च गर्न पाउने गुप्तचरी खर्च उनको निजी सम्पत्ति भैहाल्यो । राजतन्त्र फालेपछि गणतन्त्रका नाममा सत्ताधारी चरम भ्रष्ट भएर मनपरी गर्नथाल्दा सामाजिक जीवनमा समेत विचलन आएको छ । यस्तो फुक्लो परिवर्तनलाई समाजले सकारात्मक रुपमा ग्रहण गर्नसक्ने अवस्था नहुँदो रहेछ । शासकहरु नै नैतिक मूल्य पातालमा पुगेको स्थिति छ आज । मन्त्रीहरु नै भ्रष्टाचारका आहालमा चुर्लुम्म भएपछि युवा पुस्ताले अब कालाबजारी, तस्करी, लुटपाट, बेइमानी, अपहरण र बलात्कार मात्रै देख्न पाउने स्थिति आएको छ । राजनीति यहाँ दिशाहीन छ । सरकारका नारा ‘मनको लड्डु घीउसित खाने’ भनेजस्ता छन् । प्रेस स्वतन्त्रता–अभिव्यक्ति स्वतन्त्रता भएर पनि अवस्था जस्ताको तस्तै छ । ती सबै स्वतन्त्रता र प्रजातान्त्रिक हक टाठाबाठा–चोट्टाका लागि मात्र भएका छन् । नेपालका सन्दर्भमा कांग्रेसको लोकतन्त्र होस् कि कम्युनिष्टको गणतन्त्र या जनतन्त्र, बलियाका हतियार भएका छन् । नियम कानुन यहाँ पाखा लागेका छन् । पाखुरेहरुकै तानाशाही चलेको छ । त्यो पनि बाहिरियाकै इशारामा । प्रजातन्त्रमा जनताले अनुभव गर्न पाउनुपर्ने मुख्य कुरा शान्ति सुरक्षा हो, आज त्यही नै छैन र सधैं जगजगीमा बाँच्नुपर्छ भने अरुको के भरोशा ? यथार्थमा आज सरकारले नै स्वाभाविक बाटो छोडेको छ । बाटो छोड्नु मूख्र्याई हुन्छ । कतै कसैले भनेको सुनेको थिएँ– पियनलाई त योग्यता चाहिन्छ भने नेतालाई किन नचाहिने ? तर, आजसम्मको चलनचल्ती अनुसार नेता हुने योग्यता यहाँ अर्कै छ । त्यो हो– जालझेल, झूट, फरेब, बेइमानी र दाउपेच । यी बाहेक अरु योग्यता खोजेर नेपालमा झट्टै पाइएला जस्तो लाग्दैन । ‘जेठा मामाको त भाङ्ग्राको लगौंटी–कान्छा मामाको के गति’ भनेझैं जेठा नेताकै योग्यता बेठेगान भएका ठाउँमा अरु सामान्य नेता–कार्यकर्ताको हकमा तोडफोड, उपद्रो, जवर्जस्ती चन्दा असुली जस्ता योग्यता र सामथ्र्य नै पर्याप्त छन् । आजसम्म यस्तै चल्दैआएको छ । यहाँ जनताका पक्षमा काम गरेर भन्दा आफ्ना पालामा सरकारी ढुकुटीबाट आफ्ना मान्छेलाई जति बाँड्न सक्छ र आफूले जति बढी पचाउन सक्छ त्यही हो नेता या मन्त्रीको योग्यता । जति शान सौकत देखाउन सक्यो त्यही नेता । आजको सन्दर्भ यस्तै छ, भोलिको भोलि नै थाहा होला । अस्तु । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||