युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:37pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
यद्भविष्यवादीको चकचकी
Thursday, 06.15.2017, 12:58pm (GMT+5.5)

- महेश्वर शर्मा
चाणक्यले नेतृत्व गर्नेहरुलाई तीन श्रेणीमा विभाजन गरेका छन् । १. अनागतविधाता, २. प्रत्युन्नमति, ३. यद्भविष्यवादी । पछि आउनसक्ने समस्या आउनै नदिने गरी सुझबुझका साथ काम गर्नेलाई अनागतविधाता भनिन्छ । समस्या उत्पन्न भैहालेमा तत्काल निराकरण गर्ने क्षमता भएकालाई प्रत्युन्नमति र सुरुमै विचार नगर्न, अनि पछि जे होला देखाजाएगा भन्दै आँखा चिम्लेर निर्णय गर्ने, निर्णयमा टाला हाल्दै सच्याउँदै जाने अन्त्यमा असफल हुने र देशलाई भडखालोमा हाल्नेलाई यद्भविष्यवादीमा गणना गरेका छन् । हाल यहाँ पनि जनतासित कुनै सरोकार नराख्ने र तीन दल मिलेर आफूखुसी तंसुक लेख्ने अनि छ महिना, नौ महिना पालैपालो सरकार चलाउने र भागवण्डा लगाएर खाने अस्वस्थ परिपाटी बसालेका हुनाले विधिको बाटो एकप्रकारले बन्द नै भएको छ । आज हाँ ‘यद्भविष्यवादी’को राज हुनाले देश र जनताको भविष्य नै अन्धकारमा छ । ‘यद्भविष्यो विनाश्यति’ भनेजस्तो स्थिति छ ।
आफैं छाडा भएर आत्मनियन्त्रणमा नरहने नेतृत्वले अरुमाथि प्रभाव पार्न सक्दैन । आजको नेतृत्वप्रति जनता विश्वस्त हुन नसक्नाको कारण यही हो । नेतृत्वको व्यवहार र चरित्रमा सुधार नदेखेसम्म जनताले पत्याउने स्थिति रहँदैन । आफैं बाटो बिराउनेले अरुलाई बाटो देखाउन सक्दैन । त्यस्ताले अनेक दाउपेच लगाएर शासनसत्ता हात पारे पनि सफल हुँदैनन् । अनि आफ्ना कमजोरी ढाकछोप गर्न एक अर्काबिरुद्ध दोषारोपण र विषवमन गर्न थाल्दछन् । यसरी आआफ्नै स्वार्थवश आफ्ना कमजोरीको दोष अर्कातिर देखाउने प्रवत्तिको परम्परा नै कायम भएको हुनाले रचनात्मक–प्रजातान्त्रिक प्रक्रिया नै अबरुद्ध भैरहेको छ ।
गत वैशाख ३१ मा स्थानीय तहको प्रथम चरणको निर्वाचन भयो । राजनीतिक कचिंगलले गर्दा एकैचरणमा गर्न सकिने निवाचन दुई चरणमा गयो । कक्षा ११ को परीक्षा वैशाख २४ देखि हुने थियो, असार १ बाट गर्ने गरी सारियो । त्यसपछि ९ असारदेखि दोस्रो चरणको निर्वाचन गर्ने निर्णय सरकारले गरेको हुनाले फेरि परीक्षा सार्नुपर्ने अवस्था आयो । यसैबीच सरकारले फेरि १४ असारमा निर्वाचन गर्ने निर्णय गरेको केटाकेटीले भाँडाकुटी खेलेजस्तो भएको छ । निर्वाचन जस्तो महत्वपूर्ण निर्णय गर्दा सबैतिर बुझेर सबैलाई अनुकूल हुने समय पारेर गर्नुपर्छ भन्नेसम्म पनि ख्याल नराख्नुलाई के भन्ने ? त्यसैले यी ‘यद्भविष्यवादी’लाई आफ्नो एकोहोरो लिंडेढिपी बाहेक अरु केही मतलब नहुने रहेछ । निर्वाचन आयोग निरीह भएर टुलुटुलु हेर्न र मान्न विवश छ ।
वास्तवमा कांग्रेस–माओवादी गठबन्धन नै बिरुद्धसंयोगी पदार्थको मिश्रण हुनाले विपरीत दिशाका यात्री भित्रभित्रै सशंकित पनि छन् । तैपनि यो उदेकलाग्दो गठबन्धनलाई प्रगतिवादी भनेको सुन्दा मान्छेले आश्चर्य मानेका छन् । यो कांग्रेस प्रगतिशील भएको हो कि माओवादी पछाडि फर्केको हो उनीहरु नै जानुन् । तर, जनताका लागि यो पहेली भएको छ । ‘ताक परे तिवारी नत्र गोतामे’ भनेजस्तो पो हो कि ! पूर्व प्रधानमन्त्री प्रचण्डले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा पहिलो चरणको निर्वाचन भएको भन्ने वक्तव्य दिंदादिंदै उहाँकै छोरी उम्मेदवार भएको चितवन भरतपुरको मतगणना हुँदाहुँदै मध्यरातमा छापामार शैलीमा आक्रमण गरेर मतपत्र च्यात्नुलाई उहाँ के भन्नुहुन्छ कुन्नि ? उहाँले जे भन्नु होला– प्रधानमन्त्रीले भनेको सबैले मान्नैपर्ने होला । बरु अब दोस्रो चरणको निर्वाचनमा न्यायाधीशको सट्टा गुरिल्लाहरुलाई नै निर्वाचन अधिकृत तोके सुरक्षित, स्वच्छ र भयरहित हुन्थ्यो कि भन्ने जनआवाजलाई उहाँ कुन रुपमा लिनुहोला ?
नेपाली कांग्रेस माओवादीका पछि लागेको र एमाले पनि समर्थनमा भएपछि अब संविधान, ऐन, नियम पाखालाग्ने हुन् कि ? पहिलो संविधानभाको म्याद आफूखुसी सबै मिलेर थपेपछि म्याद थपको शृङ्खला सुरु भएको हो । संविधान नै झण्डै दुई दर्जनपटक संशोधन गरिसकेका छन् भने ऐन, नियम संशोधनलाई त के आइतबार भयो र ? तीन दल मिलेर निर्वाचनका मिति सारेको सा¥यै गर्दा निर्वाचन आयोग हेरेको हे¥यै हुनुपर्छ भने यो कस्तो कानुनी राज हो ? भन्नेहरु पनि छन् । तर, तैनाथवालाको मुखै कानुन भएपछि किन चाहियो कानुन ? राणा शासनलाई पनि माथ गर्ने स्थिति देखा परिसकेको छ भनेर आम जनताले भनिरहेका छन् । तर सुन्नेवाला यहाँ कोही छैन । यद्भविष्यवादः चकचकीवाद ।
अन्त्यमा,
(१) यसपटकको तक्मा वितरणको नाम सुनेपछि जनताले धिक्कारिरहेका छन् । अधिकांश सुविधाभोगी, गन्हाएका भ्रष्टाचारीहरु, आशेपासे, आफ्नै परिवार, छोराछोरीहरुलाई तक्कमा दिइएको देखेर तक्माकै बेइज्जति भयो भनिएको सुनिन्छ एकातिर भने अर्कातिर तक्मावापत कर्मचारीले नम्बर पाउने र पदोन्नतिमा सहायक हुने भएकाले नेता र मन्त्रीको चाकडी गर्नेको खाँडो जागेको र इमानदार कर्मचारीलाई पछाडि पारिएको व्यापक गुनासो छ । योग्य र सक्षम कर्मचारीलाई नदिएर नपाउनुपर्नेले पाएको र अन्याय भएको गुनासो कर्मचारीवृत्तमा व्यापक छ ।
(२) सुनिन्छ– यहाँ गणतन्त्रका नाममा तीन दलको हुकुमीतन्त्र चलेको छ । अरु त परैछन्, लोकसेवा आयोग र निर्वाचन आयोगलाई समेत तावेदार जस्तो व्यवहार गर्दैछ । निर्वाचन गराउने प्रश्नमा निर्वाचन आयोग सरकारको आदेश पर्खेर बस्नुपरेको छ भने कर्मचारी भर्ना सम्बन्धित विषयमा लोकसेवा आयोग पनि अडिन पाउने अवस्था देखिंदैन । तोकिएका मिति र कार्यक्रम समेत बेलाबेला बाधित हुन्छन् । आवधिक निर्वाचन पनि हुन पाउँदैनन् । सरकारमा हुनेले आफ्नो पार्टीले जित्ने समय मिलाएर मात्र निर्वाचन गराउने आदेश दिन्छन् । यस्ता आयोगसित कर्मचारीसंग जस्तो व्यवहार उचित हो ? खोई आयोगको स्वतन्त्रता ? आफ्नो अनुकूल काम भएन भनेर प्रधान न्यायाधीशउपर महाभियोग लगाइन्छ भने अरुको के गति ? यो सबै शोचनीय स्थिति हो ।



Rating (Votes: )   
Share     Print


Other Articles:
महाभारतको पुनरावृत्तिको भय (06.15.2017)
राजनीति गर्ने व्यवसायी हैन योगी बन्नुपर्छ (05.31.2017)
हामी प्रजातन्त्र, गणतन्त्र हुँदै भाँडतन्त्रतिर लाग्दै त छैनौं (05.31.2017)
निर्वाचन मतगणना ः उपहासको स्थिति (05.24.2017)
“द्रुतराजमार्ग” का सन्दर्भ (05.24.2017)
खोई जनताका आवाज सुन्ने ठाउँ ? (05.17.2017)
दिनको लक्षण बिहानीले दिन्छ (05.17.2017)
राजनीतिक दल, सत्ता र आजको वास्तविकता (05.11.2017)
“पाकिस्तानका हिन्दू सम्पदा”बारे घोत्लिंदा (05.11.2017)
सरकारको नामद्र्याई र खुला हस्तक्षेप- महेश्वर शर्मा (05.02.2017)
राजधानीको वाग्मती र मुलुकको राजनीति- तारा सुवेदी (05.02.2017)
प्राच्यमा परम्परा, उदारता, प्रजा शब्दको प्रयोग र प्रयोजन (04.18.2017)
सामथ्र्यविनाको अधिकार पोखिन सक्छ (04.18.2017)
महासंक्रमणको गोलचक्करमा नपरौं, शुभकामना ! (04.18.2017)
आयातीत प्रजातन्त्र व्यापारिक प्रजातन्त्र हो (04.11.2017)
स्थानीय तह : नयाँनयाँ रजौटाको उदय ! (04.11.2017)
अस्पष्ट राष्ट्रिय विकास नीतिको परिणति (04.11.2017)
राजनीतिमा ‘मन्थरा’ र ‘शकुनी’ प्रवृत्तिको प्रभाव (03.22.2017)
केही पुष्टिकरण केही प्रष्टिकरण (03.22.2017)
बीचको बाटो किन नरोज्ने ? (02.28.2017)



 
::| Latest News

 
[Page Top]