युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:47pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
सीमा युद्ध र संरक्षणको प्रश्न
Tuesday, 08.08.2017, 06:09pm (GMT+5.5)

- तारा सुवेदी

विश्वमा जे जति ठूला साना युद्धहरु भए ती सबैको सख्या सयौं होइन, हजारौंमा पुगिसकेको होला । त्यस्को गणना यहाँको प्रसङ्क होइन । इतिहासकार वा युद्धको हिसाब किताब राख्ने अरु पनि कोही भए उनीहरले राखेका होलान् । उनीहरुका पुस्तकहरुको समीक्षा गर्नुपनि छैन । त्यस्ता पुस्तकहरुको गहिरो अध्ययन नै नगरेकोले त्यस पाटो र बाटोनिर नजाऊँ ।
तर विश्वमा झगडा युद्ध मानवजगतको चाहना र इच्छा नभएर पनि भएका छन्, लडिएका छन् । त्यस्को निहुँ वा मूलकारण भने आधिपत्यवाद सर्वसत्तावादी, महत्वाकांक्षी विस्तारवाद, साम्राज्यवाद नै हुन् । ती सबै मिल्दाजुल्दा कुराको मूल तत्व भनेको अहंवादी चिन्तनको उपज नै हो । त्यसैले युद्धका नीति कम्तिमा पनि दुई पक्ष हुने देखिने “जाइलाग्ने अथवा जाई कटक गर्ने र झिकी कटक गर्ने” बीचको एकले अर्कालाई सम, दाम भेद दण्डको प्रयोगपछिको अन्तिम अस्त्र हो युद्ध । “शस्त्रास्त्रको अधिकतम प्रयोग गरी अर्कोलाई परास्त वा मटिया मेटै गरी “विजेता” बन्ने महत्वाकांक्षी पक्ष जसलाई जाई कटक गर्ने भनिन्छ र आत्म सुरक्षाका लागि लड्ने (झिकी कटक गर्ने) हरु जब शान्ति होइन युद्धका आंकाक्षी हुन पुग्छन् युद्ध हुन्छ । युद्धले भलै सुन्दा नराम्रो, अप्रिय र डरलाग्दो परिदृश्य अगाडि तेस्र्याएको हुन्छ, शुरुमा सुन्दा । तथापि त्यस्का पनि उज्याला र सकारात्मक पक्ष हुन सक्छन् । तर यसबेला त्यतातिर नजाउँ । 
उहिलेको महाभारतपूर्वदेखि अहिलेको कालखण्डमा उभिएर हेर्दा, वीसौं शताब्दीको पूर्वाद्धका अथवा स्पष्ट भनौं दोस्रो र चौथो दशकका विश्वयुद्धका त्रासदीले हिरोशिमा नागासाकीवासी मात्रै होइन संसारका कुना काप्चाका बासिन्दाको मनमस्तिष्कमा अहिले पनि साना ठूला तरङ्कहरु आई रहेको बुझिहरेका छौं, देखिरहेका छौं । तर हामी आफ्नै देशको परिसीमामा नै केन्द्रित भएर चर्चा गर्ने मनबाट लेखशुरु गर्न गइरहेकाले विश्व परिवेशको चर्चातिरबाट नेपालतिर नै केन्द्रीभूत होऊँ । 
नेपाल एकीकरणको पूर्वको कालखण्डमा बाइसे–चौवीसे, भूरे–टाकुरे राजा रजौटाको अधिकांश समय आफ्ना छिमेकीहरुसँग “जाई कटक र झिकी कटक गर्ने”मा नै वितेको पाउँछौं । उपत्यकाका एउटै पूर्खा यक्षमल्लका कान्तिपुर भक्तपुर पाटनमा राज्य गरेका दाजुभाई वन्धुवान्धवहरुले एक अर्काका विरुद्ध षड्यन्त्र, जालझेल र एकले अर्कोलाई सिध्याउन पराईलाई साथ सहयोग र अभिप्रेरित गरेको जग जाहेर छ । यदि उनीहरुबीच एकता भएको र “एकले आफ्नै अर्को भाईको पतन भएको हेर्ने देख्ने परपीडक चाहना बाहिर कतै नझल्किए न चुहिएको भए “भाई फुटे गँवार लुटे” हुने थिएन । पृथ्वी नारायण शाहको उपत्यकाभित्र पस्ने घुस्ने सायद ह्याउ, हुति र साहस हुने थिएन । कीर्तिपुर चढाई गरेर उनले उपत्यकाको मन, मुटु र नौ नाडी छामेका थिए । चन्द्रागिरिबाट “आफूले नेपाल खाल्डोभित्र आँखा र यहाँको शासन सत्ता हत्याउन पाए हुन्थ्यो” भन्ने जुन सोंच बनाएका थिए, त्यो फत्ते गर्ने अनेकन उपाय वा बाटो खोज्दा नै उनले “चाणक्य हुँदै रोमन सम्राट सिकन्दर महान्”सम्मले अवलम्बन गरेको “फुटाउ र राज गर” को विजय सूत्र निकालेका वा पत्तो लगाएका थिए । 
त्यसो त जब पृथ्वीनारायण शाहका पूर्खाहरु लमजुङ्क कास्कीतिर छरिँदै गोर्खा पसे । शुरुदेखि नै सापेक्षमा विस्तारवादीका साथै “जन समर्थन साथ सहयोग भए मात्र राज्य विस्तार गर्न, विज्ञित भू–भागमाथि अधिपत्य स्थापित गर्न र आफू अरु छिमेकीहरुको दाँजोमा शक्तिशाली वन्न, देखिन सकिन्छ” भन्नेमा विश्वास गर्दथे । पृथ्वीनारायण शाहका पिता राजा नरभूपालले नुवाकोट माथि जाईलाग्दा र नुवाकोटे राजाले लखेट्दा ज्यान जोगाएर गोर्खा फर्किएपछि हतास भई राजकाजबाटै सन्यास लिने स्थितिमा पुगे । त्यो देखेपछि उनकी जेठी रानी चन्द्र प्रभावतीले राजाको प्रतिनिधिका रुपमा त्यथ्यत राजकाज हाँकेकी र केही समयमा नरभूपालको मृत्यु भएपछि वि.सं. १७९९ मा पृथ्वीनारायण शाह राजा बने । 
पृथ्वीनारायण शाहको शासनसँगै “नेपालको एकीकरणको चरण” प्रारम्भ भएको थियो । “एकीकरणको प्रारम्भ” भन्नु सारमा राज्य विस्तारीकरण गर्नु र एउटा “भू पसिसीमा भित्र सानो हिमाली साम्राज्य” स्थापनाको अभियान वा यात्राको श्रीगणेश थियो । 
त्यसरी राज्यारोहणसँगै शुरु भएको एकीकरणको यात्रा पृथ्वीनारायणको महायात्रा (मृत्यु वि.सं. १८३१) पर्यन्त कायम रह्यो । एक अर्थमा “पृथ्वीनारायण र लडाई” एक अर्काका पर्याय वनेका थिए । उनको जीवनको अर्को एउटा विशिष्टता नै भन्नु वा मान्नुपर्छ उनले झिकी कटक र आत्म प्रतिरक्षाको लडाई लडेनन्, सधैं “जाईकटक” गरे । 
पृथ्वीनारायण पछिका गोर्खालीहरुले उनको (पृथ्वीनारायण शाहको) पदचिहरुलाई  पछाइ रहे । एकीकरण गर्दै, नेपाल राज्यको विस्तार गर्दै बाइसे चौविसे राज्यहरु र राई किराँत लिम्बुवान् प्रदेश सबैलाई नेपालभित्र समेट्दै पूर्व गएका गोर्खाली सेना टिष्टा पारी सिक्किम (भोट तिब्बततिरबाट आएका र पूर्वी भोट वर्मातिरबाट आएका राजाको) राज्यसम्म र पश्चिमतिर लागेका भक्ति थापा वीर बलभद्रहरुले विश्व विजयी बनेर सूर्यास्त नहुने विशाल साम्राज्यका अधिपति बनी विशाल भारत वर्षमाथि अंग्रेजी उपनिवेश कायम गर्दै गरेका अंग्रेजी सेनालाई लखेट्दै र भगाउँदै पश्चिमको कुमाउँ गढवाल पुगेका थिए । त्यसरी त्यहाँबाट नेपालको झण्डा गाड्दै र आधिपत्य कायम गर्दै नालापानी पश्चिम (गंगापार सतलज कश्मीर राज्य) छेउसम्म पुगेर विशाल नेपालको निर्माणको जग बसाएका थिए । 
त्यस्तै “उत्तरतिर भोटमाथि पटक पटक हमला गर्दै चिनी साम्राज्यसम्म र दक्षिणमा गङ्का मैदानको उसपार पार (पाटलीपुत्र आसपास)सम्म अंग्रेजी सेनालाई लखेट्दै र नेपाली झण्डा गाड्दै गएका थिए” भन्ने इतिहासमा लेखिएको तथ्य हो । त्यतिमात्र होइन । नेपाल एकीकरण र विस्तारीकरणको यात्रामा ज्यू जान अर्पेर अगाडि बढेका गोर्खाली र उनका पुर्खा लडाईमा यति अभ्यस्त र अम्वली भइसकेछन् कि बीसौं शताब्दीको पूर्वाद्धका दुईवटा (प्रथम र द्वितीय) विश्वयुद्धमा “अंग्रेजका वफादार लडाकु”को रुपमा मात्रै नभई विश्व इतिहासका पानामा “वीर र वहादुर गोर्खाली” भनेर खुकुरी तरबार खुँडा र बन्दुकले कीर्तिमानी इतिहास लेखाएका थिए । जसले गर्दा “वृहद् नेपाल राज्य” निर्माण गर्दै टिस्टा पार र पश्चिम काँगडा नालापानी पुगेका गोर्खालीले आफ्ना बाबुबाजेले आर्जेका (भू खण्ड सुगौली सन्धीले इण्डियामा पारे पारिएपनि) उनीहरुको (आफ्ना वीर पुर्खाका रगत पसिनाले आर्जेको सिंचेको) माटो छोड्न सकेनन् । 
जस्को कारण आज उनीहरु नेपाल राष्ट्रका नागरिक भलै नमानिए नभनिएपनि “सूर्यचन्द्र अंकित झण्डाको छहारीबाट विमुक्त भए रहेपनि, नेपाली भाषा, संस्कृति सभ्यता विविशष्टता गौरवशाली, राष्ट्रियताका इमान्दार, बफादार र सच्चा संरक्षक पहरेदारको खुल्ला परिचय दिएर आज दार्जिलिङ्क सिक्किममा बाँचिरहेछन् । नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यका सालिक स्थापना गर्दै उनकै नाउँ र गाउँका माध्यमबाट वा परिचयबाट आज पनि सगौरव, ठाडो शीर गर्दै र छाती देखाउँदै “गोर्खाली राष्ट्रियताको पहिचान”सहित नै बाँचिरहेका थिए र छन् । तर त्यो “उहिलेको” अथवा अर्को शब्दमा भन्ने हो भने “इतिहासको कालखण्ड”को कुरा हो ।
भोट चीनसँग नेपालले सन्धी गरिसकेपछि पूर्व पश्चिमको सीमा (टिष्टादेखि सतलज उसपारको राज्यसम्म) विस्तार गरेको नेपालले अन्ततोगत्वा मेची–महाकालीको राज्य सीमाभित्र खुम्चिने गरी सन् १८१६ (वि.सं. १८७३) मा सुगौलीसन्धी गरियो । त्यस उप्रान्त नेपालीले भलै “भाडाका लडाकु” भएर प्रथम र द्वितीय युद्धमा युरोप एसियादेखि पछि फकल्याण्डसम्म गएर लडे । 
यता सुगौली सन्धीपछि विदेशीको आक्रमणबाट मुलुक बचाउन र सीमा रक्षा गर्नुपर्ने जिम्मेवारी बोकेका नेपाली सेनाले आफ्नै देशभित्रको राज्यसत्ता र शासन प्रणाली विरुद्ध सशस्त्र विद्रोह गरेका माओवादी लडाकु विरुद्ध लडेको र त्यसमा पनि पराजित भएको देख्नु भोग्नुप¥यो । 
दुई छिमेकीहरुको (सन् १९६२ को) सीमा विवादमा एउटा छिमेकीले अर्को छिमेकी विरुद्ध “भाडाका सिपाही” भएर लडेको सम्झिदा नेपालले नेपालीको वीरता र बहादुरीमा अब कुनै “कर्खा गाएर खाँडो जगाउने” ठाउँपनि रहेन, छैन भन्ने लाग्छ । 
सानो भू–क्षेत्रका लागि सिङ्को राष्ट्र लड्दो रहेछ
आफ्नो मुलुकको भूक्षेत्र जतिसुकै विस्तृत र विस्तारित भएको किन नहोस् आफ््नो स्वामित्वको एक वर्गमिटर भूमि पनि कोही कसैलाई छोड्न सक्तैन रहेछ । त्यस्तो नीति विश्वको ठूलो भू–क्षेत्र भएको रुस, संयुक्त राज्य अमेरिका र ठूलो जनसंखया भएका चीन र भारतको विगतदेखि वर्तमान समयलाई नियाल्दा हुन्छ । 
अझ अहिले भारतका दुवै छिमेकी (पाकिस्तान र चीन)सँग बीचको भारतको खटपटको स्थिति जुन देखिँदैछ त्यस्को मुख्यकारण खोज्ने हो भने त्यही “आफ्नो देशको सीमा अतिक्रमित भयो, आफ्नो भू क्षेत्र भित्र छिमेकीले पाइला राखे” भन्ने नै हो । तर किन त्यो “दुईमुठ्ठी माटो” को लागि अर्बौका हात हतियार, हजारौं लाखौं धनजनको क्षति व्यहोर्नेमा ठूला साना सबै छिमेकी मुलुक घुँडा धसेर लागि परेका प¥यै छन् ? उत्तर एउटै छ, “सबै ठूला साना मुलुकका लागि आफ्नो मुलुक र माटो कसैले दिन छोड्न चाहँदैनन् ।” 
त्यहीकारणले आज नेपालका दुई ठूला छिमेकी भारत र चीन बीचको झण्डै युद्धको सम्भावनाको स्थितिमा वाक्ययुद्ध मच्चिरहेको छ । भारत संरक्षित भूटान र भारतको अंग बनि सकेको, सिक्किम र चीनको सीमावर्ती डोक्लाम र नाथुलामा दुवै देशले एकले अर्को मुलुकको “सार्वभौम क्षेत्रभित्र अतिक्रमण गरिरहेकाले तत्काल (सीमाक्षेत्रबाट) आफ्ना सेना हटाउनु पर्ने” भनिरहेका छन् । यस द्वन्द्वले अब कस्तो मोड लिन्छ र परिणाम के हुन्छ ? भन्ने संत्रस्त स्थितिमा हामी पुगिरहेका छौं । 
तर सम्भवत संसारमा “वीर” र “बहादुर” भनेर भनिए मानिएका गोर्खालीहरुको मातृ पितृभूमि आज “जुनसुकै छिमेकीले मात्रै नभई मुलुकका जतिसुकै टाढाका धर्म सम्प्रदायका मिसनी, मुल्लाहरुले निर्वाध आफ्नो क्रिडा स्थल बनाउन र मनलाग्दो गरी निस्फिक्री नेपालीहरुलाई खेलाउन जुधाउन लडाउन भिडाउन सक्छन् । 
त्यतिमात्र नभएर उत्तरले होस् कि दक्षिणी छिमेकीले होस्, उसले आफ्नो अनुकूल नेपाली सीमाभित्र आफ्ना सशस्त्र प्रहरी सैनिक पठाउन सक्छन् । उनका चौकी नै नेपालको निर्विवाद सरहदभित्र राख्न सक्छन्” भन्ने परिसकेको छ सबैका मनमस्तिष्कमा । पशुपतिनगर देखि महेन्द्र नगर हुँदै कालापानी सम्यका दर्जनौं अतिक्रमित नेपाली भूमिको हिसाब गर्दा सयौं विघा र हजारौं रोपनी पुगिसक्यो होला । यस सम्बन्धमा बढी जानकारी चाहिए सीमाविद् बुद्धीनारायण श्रेष्ठहरुलाई सोध्दा हुन्छ । स्थलगत अध्ययन गर्ने रहर भए पशुपतिनगर सुस्ता र कालापानीसम्म पुग्नुपर्छ, सत्यतथ्य स्पष्ट हुन्छ । 
प्रश्न सबैले उठाउँछन् “किन आफ्नो मुलुकको एक इञ्च नछोड्ने, त्यस्तैमा किचलो गरेर हजारौं सैनिक र अर्बौं डलरको धनजन र शास्त्रास्त्र खर्चिन तम्सिने छिमेकीले यति निर्घृणी, निर्वस्त्र र निर्लज्ज भएर सयौं ठाउँमा दर्जनौं पटक नेपालको सीमा अतिक्रमण गरि, सीमा स्तम्भ भत्काउँदै र सार्दै गर्दा नेपालको राज्य संविधानका सार्वभौम स्वतन्त्रता, अविभज्यता अखण्डता संरक्षणको जिम्मेदारी बोकेका सत्ता नियन्ता दल र नेता कसैले कहिल्यै मुख खोलेनन् चूँ बोलेनन् र बोल्दैनन् ? 
यसरी छिमेकीलाई नेपालको सार्वभौम भूक्षेत्र माथि मन लाग्दी प्रवेश गर्न उपभोग गर्न मात्रै नभई सरेआम नेपालको स्वतन्त्रता, अस्तित्व अस्मितामाथि निर्मम बलात्कार गर्दा पनि चूपचाप सहेर देखे नदेखे जस्तो गरी आँखा चिम्लिने बरु त्यस्तो बाह्य हस्तक्षेप र प्रवेशको विरोध गर्ने नेपाली नागरिक माथि क्रूरतापूर्वक दमन, उत्पीडन गरी गोली ठोक्न पछि नपर्ने किन गरियो र गरिन्छ ?, यस्ता अधिशासक प्रशासकलाई नेपालमा के भन्नुपर्छ ?” भन्ने प्रश्नको उत्तर थाहा भएन । अरु देशमा भए निर्विवाद रुपमा देशद्रोही, राष्ट्रघाती, जाफर, लेण्डुप दोर्जी, जयचन्द्र क्वीज लिङ् पक्कै भनिन्थ्यो । राष्ट्र द्रोहको मुद्दा लगाएर के सजाय दिइन्थ्यो स्पष्ट थियो भनिन्थ्यो, निश्चित थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
विवेकसम्मत परिवर्तन ः आजको खाँचो (07.26.2017)
यस्तै नै हो भने- तारा सुवेदी (07.26.2017)
प्रयोग र परीक्षणमै जुग जाने भो (06.28.2017)
“गोर्खे” मरिरहेछन्, गोर्खाल्याण्ड जलिरहेछ- गोर्खाली “नीरोहरू” ठुमरी खेलिरहेछन्, किन ? (06.28.2017)
लोकभय र लोकलाज पचाएका छद्मभेषी लोकतन्त्रवादी (06.22.2017)
भरतपुर काण्डले देखाइदियो देश कसरी चलेको छ ? (06.22.2017)
राजपाको आन्दोलन र निर्वाचन सार्ने निर्णयले उब्जाएको प्रश्न (06.22.2017)
यद्भविष्यवादीको चकचकी (06.15.2017)
महाभारतको पुनरावृत्तिको भय (06.15.2017)
राजनीति गर्ने व्यवसायी हैन योगी बन्नुपर्छ (05.31.2017)
हामी प्रजातन्त्र, गणतन्त्र हुँदै भाँडतन्त्रतिर लाग्दै त छैनौं (05.31.2017)
“द्रुतराजमार्ग” का सन्दर्भ (05.24.2017)
निर्वाचन मतगणना ः उपहासको स्थिति (05.24.2017)
खोई जनताका आवाज सुन्ने ठाउँ ? (05.17.2017)
दिनको लक्षण बिहानीले दिन्छ (05.17.2017)
राजनीतिक दल, सत्ता र आजको वास्तविकता (05.11.2017)
“पाकिस्तानका हिन्दू सम्पदा”बारे घोत्लिंदा (05.11.2017)
सरकारको नामद्र्याई र खुला हस्तक्षेप- महेश्वर शर्मा (05.02.2017)
राजधानीको वाग्मती र मुलुकको राजनीति- तारा सुवेदी (05.02.2017)
प्राच्यमा परम्परा, उदारता, प्रजा शब्दको प्रयोग र प्रयोजन (04.18.2017)



 
::| Latest News

 
[Page Top]