युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 12.18.2017, 11:48pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
“माझी” र “मोदी”
Tuesday, 09.12.2017, 11:37am (GMT+5.5)

- तारा सुवेदी

माझी
पहाडी ठूला नदी खोला मात्रै होइन, तालहरुमा माछा मार्न कुशल मछुवारहरुलाई “माझी” भन्ने गरिन्छ पहाडतिर । सायद तराईतिर पनि त्यसै भनिन्छ होला, र त मोरङ झापातिर बस्ने जनजातिलाई “माझी” भन्ने गरिएको । नेपालमा मात्रै होइन, छिमेकी भारत र अन्य मुलुकमा पनि पुस्तैनी पेशा व्यवसायसँग उसको जाति, समाज, समुदायको पहिचान झल्किने गर्छ । ताम्राकार, कंसाकार, चिडियामार, सुनार (स्वर्णकार) रजक (धोबी) चर्मकार ः धौडेल, व्यञ्जनकार, तण्डुकार, ज्यापु, किसान, आदि जस्ता सयौं जाति समुदायमा प्रचलित उपनाम वा थर त्यसैका साक्ष्य हुन् । 
यहाँको पहिलो चर्चाको विषय ‘माझी’को हो । माझीले कुनै स्कूल वा तालिम केन्द्रबाट “माछा पाल्ने र समात्ने” सम्बन्धी तालिम, शिक्षा–दिक्षा वा प्रमाणपत्र प्राप्त गरेका हुँदैनन् । उनीहरुले बाबुबाजे देखी नै “कुन नदी, कुन खोला, कुन तालमा कस्तो कस्तो जातिका माछा पाइन्छन्, कुन सीप र तरिकाले माछा समात्ने, माछा मार्न जाँदा के के कुरा साथमा लिएर जानुपर्छ, के कस्तो जोखिम आइपर्न सक्छ । दुवाली थुन्ने, ढडिया र पासो बल्छी थाप्ने, जाल बुन्ने, जाल हान्ने ?” सबै कुरा उनीहरुलाई जन्मजात नै थाहा भएको हुन्छ ।
यद्यपि उनीहरु बाहेक अरुले ती माथि भनिएका जायज तरिका वा प्रविधि बाहेक वीष प्रयोग गर्न पनि थालेको सुनिन्छ । तर त्यसरी विष प्रयोग, विद्युत करेण्ट र विस्फोटक पदार्थ प्रयोग गर्नु गम्भीर कानुनी अपराध ठहरिन्छ । त्यस्तो गैर कानुनी वा अवैध कार्य गर्नु हुने नहुने भन्ने विषयमा भने सबै माझीलाई थाहा नभएको हुन सक्छ । “त्यस्ता गैरकानुनी, अपराधजन्य काम माझीहरु बाहेकका जाति समुदायबाट बढी हुने गर्छ” भन्ने पनि झण्डै धेरैलाई थाहा भई सकेको छ । बरु धेरै जस्तो माझीहरुको जीवन निर्वाहको साधन वा माध्यम अझैपनि मुख्यतः माछा मार्ने भए रहेको परिप्रेक्ष्यमा उनीहरुले (माझीहरुले) त्यस्तो ‘गलत गैरकानुनी अवैध तौर तरिकाबाट माछा मार्नु हुँदैन, त्यसो गर्दा माछाको वीउ वा वंश नै नासिन मासिन जान्छ’ भनेर आफ्नो पेशा व्यवसायको स्थिरता, निरन्तरता र सुरक्षाका लागि सजग हुन्छन् । गलत र गैर कानुनी तरिकाबाट माछा मारेको देखे, सुनेछन् भने सुरक्षाकर्मीहरुलाई अवश्यक सूचना समेत दिई, रोक्न रोकाउन मद्दत गर्नु पर्दछ” भन्ने पनि धेरैलाई थाहा छ, र त्यसो गर्छन् पनि ।
माझीहरुलाई कुन कुन महिनामा माछा उकालो (नदीको शिर तिर) लाग्छन् र कहिले तलतिर झर्न थाल्दछन्” भन्ने राम्ररी हुन्छ । त्यसैअनुसार पासो र ढडिया थाप्ने, माछा खेल्ने ठाउँ पहिल्याई जाल हान्ने, र बल्छी थाप्ने गर्दछन् । ती सबै माछा मार्ने उपाय, प्रविधि, तौर तरिकाहरु हुँदाहुँदै पनि माझीहरुले जेठ असारतिर नदीको पानी धमिलो हुन र बाढी भल आउन थालेपछि जसरी जाल र बल्छीको प्रयोग गरी माछा मार्दछन् । मलाई त्यो देखेपछि आफ्नो मन मथिङ्कलमा धेरै ज्वारभाटा उठेको कतै क्षणिक रमाइलो र धेरैजसो समयमा भने दया करुणा अहिंसा भावले उद्धिग्न गराउने” गरेको थियो । यसबेला उहिलेको त्यस्तो धेरै घटनाहरु सम्झिन्छु । 
यसै सन्दर्भमा यहाँ एउटा के पनि स्पष्ट गरौँ भने विशेष परिस्थिति र कारणले मैले मस्र्याङ्दी र सेती नदीको तल्लो (मुखतिरको) क्षेत्रमा बसेर केही महिना माझीहरुसँग निकटस्थ बसी काम गरेको थिएँ । यहाँ त्यसैबेलाको अनुभवको आधारमा चर्चा गरौं । ती दुई हिमाली पहाडी नदी किनारामा बसी पुस्तैनी माछा मारी जीविका गर्नेहरुबाट के थाहा भएको छ भने “माझीहरु बल्छी खेल्दा, जाल हाल्दा वा फाल्दा बढी होशियार हुनु पर्ने” रहेछ । कहिलेकहीँ धमिलो दह वा रहमा जाल हाल्दा मानिसका लास, मरेका कुकुरजस्ता जनावरका सिनो पनि पर्ने हुँदो रहेछ । कहिलेकाँही “अक्करम जालै अड्किएर च्यातिने, तान्न नसकि छोड्ने वा काटेर निकाल्ने” भन्ने समाको स्थिति पनि उत्पन्न हुने रहेछ । 
तर यहाँ भने “धमिलो पानी, जाल र बल्छी”मा केन्द्रित भई चर्चा गरौँ । जब जेठ असार महिना शुरु हुन्छ र हिमाली नदीहरुमा हिउँ पग्लिएर वा पहाडतिर वर्षा भएर पानी धमिलो हुन थाल्छ, ठूलो रह दहका माछा आफ्नो कूर (उनीहरुको प्राय बस्ने, खेल्ने ठूला ढुंगा वा पानीभित्रका पहरा, ओडार) बाट बाहिर निस्कन पुग्दा रहेछन् । त्यसबेला जाल हाल्दा वा बल्छीमा आहार राखी फाल्दा ती नदीका ठूला माछाले बल्छीको आहारा खान पुग्ने रहेछन् । त्यसरी ठूला माछाले बल्छी खाएपछि बल्छी लिएर वा चुँडेर भाग्न खोज्ने रहेछन् । त्यसैबेला सोझै वा ढंग नपु¥याई माछा तान्न खोज्यो भने माझीलाई नै झट्का दिएर नदीमा तान्ने जोखिम हुने रहेछ । त्यो बुझेर माझीहरुले ‘कहिल्यै पनि हातको नाडीमा बल्छीको डोरी बाँध्न हुँदैन’ भन्दा रहेछन् । कति पटक त्यसरी ठूला माछाले झट्का दिएका कारण माझीहरु नदीको भेलमा परेर मरेका घटना पनि प्रशस्त रहेछन् । 
त्यसैले माझीहरुले बल्छीमा माछा बल्झेपछि अथवा “जालमा ठूला माछा फाँसे”पछि त्यसलाई निकै चतूरता एवं होशियारीपूर्वक थकाई थकाई गलाएर निकाल्दा रहेछन् । तिनै “मित्र माझीहरु”बाटै यो कुरा सुनेको, सिकेको थिएँ । यद्यपि आफूले त्यति ठूला माछा न बल्छीमा न जालमा नै फसाउन पाएको अनुभव नै छ । 
त्यसरी जति ठूला माछा प¥यो, त्यति नै धेरै समयसम्म धैर्य गर्नुपर्ने र ‘खेलाई खेलाई थकाएर (माछा) पूरै अशक्त भई सक्यो’ भन्ने निश्चित भएपछि मात्र बाहिर निकाल्नु पर्ने हुँदो रहेछ । ५–७ किलो देखी १८–२० किलो तौलसम्मका त्यस्ता माछा देखेको र त्यसका शिकारी माझीहरुसँगका धेरै लामा गफ अनुभव सुनेर माछा शिकारको कुरा गरेको हुँ । 
मोदीः
‘नरेन्द्र भाई दामोदर मोदी’ आजको कालखण्डको छिमेकी जनगणतन्त्र भारतका प्रधानमन्त्री हुन् । उनी मोतीलालनेहरुको र आफैले पनि स्वतन्त्रता आन्दोलनमा महात्मा गान्धीको सशक्त सहयोगीको हैसियतमा सहभागी भई लामो संघर्षको कारण जसरी जवाहरलाल नेहरु प्रधानमन्त्री भएका थिए र उनकै मर्वटमा इन्दिरा नेहरु गान्धी, राजीव गान्धी प्रधानमन्त्री भएका थिए । त्यो भन्दा फरक, “कुनै पुर्खाको पौरखको आडबलमा नभई गुजरातको मुख्य मन्त्री हुँदै प्रधानमन्त्री बनेका व्यक्ति हुन्” उनी (नरेन्द्र भाई दामोदर मोदी) । 
त्यति मात्रै होइन । मोदी तिनै बालक थिए जस्ले कुनै बेला बाबुले चिया पकाएर बेच्दा ग्लासमा चिया हालेर वरपरको ग्राहकहरु कहाँ पु¥याउने र जूठा ग्लास बोकेर ल्याई सफा गरेका थिए । यिनै मोदीले कठिनतम हिमालका गुफामा एकान्त वास बस्ने ताका नेपालको हिमाल पारी मुस्ताङ जिल्लामा पर्ने (अन्नपूर्ण उत्तर पर्ने परम पवित्र) मुक्तिनाथ क्षेत्रमा आई बसेको, उता कलकत्ताको आनन्द मठमा गई लामो समयसम्म अनौपचारिक, आध्यात्मिक र औपचारिक शिक्षा दिक्षा लिएका थिए । सन् २०१४ मा पनि मोदीको नेतृत्वमा भाजपाको अपरिकल्पित  चमत्कारिक विजय भएपश्चात् दिल्ली दरबारमा राज तिलक हुँदाको बेला सबै प्रकारकोे भारतीय सञ्चार माध्यमले देखाए सुनाए पछि दुनियाँले मोदीबारे थाहा पाएको यथार्थता थियो त्यो सबै । अझ एउटा टी.वी. च्यानलमा उनले “आफ्नी आमाले छिमेकीका जूठा भाँडा माझेर आफूलाई हुर्काए बढाएको” भनेर आँशु झरेको समेत देखिएको थियो । 
मोदी न अटल विहारी वाजपायी जस्तो लामो राजनीतिक संघर्षबाट बनेको महान् राजनेताको छविको कारण ले दिल्ली दरबार प्रवेश गरेका र भारतको सत्ता नियन्ता बनेका हुन् । न त उनी कुनै कालखण्डको “उल्काको भुल्का”को रुपमा एकाएक भारतीय राजनीतिको क्षितिजमा उदाएका राजनीतिक नक्षत्र हुन् । भारतका राष्ट्रपिता महात्मा गान्धीको गृह राज्य गुजरात जस्तो “उद्योग र वाणिज्यका क्षेत्रमा अग्रणी मानिएको” प्रदेश (राज्य)को निर्वाचनमा “भाजपा जस्तो कट्टर हिन्दु कठमुल्लावादी पार्टी”लाई दुई पटकसम्म अपूर्व विजयी बनाएर मुख्य मन्त्री वनी गुजरातको चमत्कारित विकास गरेर राष्ट्रिय चर्चाको शिखर चुमेका बहुचर्चित नेता हुन् । 
त्यत्तिमात्रले पनि उनको परिचय र व्यक्तित्वको पूर्ण जीवन्त तस्वीर पेश गर्न सक्तैन । स्वतन्त्रता प्राप्त भारतमा जन्मेर, भारतीय स्वतन्त्रता आन्दोलनका महान् नेता मोहनदास कर्मचन्द गान्धी – जसलाई भारतले स्वाधीनता प्राप्तिपछि “राष्ट्रपिता” भनेर घोषणा ग¥यो ले नेतृत्व गरेको र जीवनभर गान्धीका अद्वितीय  सहयोद्धा, सहकर्मी, सहयात्री जवाहरलाल नेहरुजस्ताहरुले स्थापित गरी भारतको राष्ट्रिय राजनीति र शासन सत्ताको निर्विकल्प पार्टी मानिएको “भारतीय राष्ट्रिय काँग्रेस”लाई हस्तिनापुरको राज सिंहासनबाट मात्र नभई प्रमुख प्रतिपक्षी पार्टीको ठाउँमा वस्न समेत योग्यता विहिन बनाउने पहिलो राजनीतिक नेताको फेटा गुतेका व्यक्ति हुन् मोदी । त्यसैले वर्तमान भारतको मात्रै नभई विश्वराजनीतिको एक महान् नेता मानिएका नवराज हुन्, नरेन्द्र भाई दामोदर मोदी । 
‘माझी’ र ‘मोदी’को तुलना ? 
विश्व राजनीति परिवेश र परिपे्रक्ष्यमा ‘माझी’ र ‘मोदी’को तुलना गर्नु वा सादृश्यता देखाउने जमर्को गर्नु स्वाभाविक र सहज हो होइन, थाहा छैन । तर भारतीय उपमहादेश खासगरी सार्क संगठनका सदस्य राष्ट्रहरु र अझ नेपाल को परिवेश र परिप्रेक्ष्यमा हेर्ने हो भने नेपालको हिमाली नदीका बडे बडे सर (सअर) माछाका ((शुरुमा उल्लेखित कुशल शिकारी) “माझी”जस्तै लाग्छ “मोदी” पनि । 
फरक यत्ति हो, “माझी नदी किनारामा बस्दै जाल र बल्छी हालेर ठूला साना माछाको शिकार गर्छन् ।” मोदी “नेपालको राजनीतिक धारालाई धमिल्याएर ठूला साना सबै चरित्र, वर्ग वा दलका नेताहरुलाई कूटनीतिक जालझेल र बल्छी खेलेर आफ्नो शिकार बनाउँछन् ।” यसको उपक्रम भलै “इन्दिरा गान्धी राजीव गान्धी र सोनिया गान्धीकै पालोमा प्रारम्भ भएको” पनि भन्ने मान्नेहरु होलान् देखिएलान् । तर त्यसबेला उनीहरुले ‘नेपालमाथि अघोषित आधीपत्य र उपनिवेशवादी कूटनीति अख्तियार गरेका थिए । स्थायी प्रच्छन्न रुपमा “कसरी भारतको आधिपत्य स्थापित गर्नुपर्छ गर, हाम्रो सरकारको नेपाल सम्बन्धी विदेश नीति हिजो आज भोलीको पनि यहीँ हो, त्यस्का लागि रअ र परराष्ट्र (विदेश) मन्त्रालय र नेपालस्थित भारतीय राजदूतले संयुक्त रुपमा काम गर्नू” भनेर आफ्नो नोकरशाही संयन्त्र (निकाय) (ब्यूरोक्रेटिक इष्टिच्यूशन) लाई उनीहरु (नेहरु गान्धी आधिवंश वादीहरु)ले जिम्मा दिएका थिए । त्यो संयन्त्रले “अंग्रेजी दासताको आफ्नो भोगाई नेपाल माथि लादेर नेपाल र नेपालीलाई पनि अद्र्धदासको व्यवहार गर्नु पर्छ” भन्ने बुझे, ठानेर मोदीको उदयपर्यन्त त्यस्तै व्यवहार गरे । त्यसैले गर्दा ‘जनस्तरमा शदियौं वा अनादिकाल देखि नेपाल भारत धार्मिक, सांस्कृतिक, सामाजिक, शैक्षिक जातीय, सांस्कारिक र ‘रोटीबेटी’को स्तरमा स्थापित अभिन्न र अमेद्य सम्बन्धलाई राजनीतिक र कूटनीतिक सम्बन्ध र व्यवहारले दुर्गन्धित बनाएको थियो । नेपालीरु मन माथिङ्कलमा “भारतमाथि छिमेकीप्रति हेपाहा, मिचाहा, उपनिवेशवादी नवविस्तारवादी, ठालू र दादावादी” भन्ने पर्दै गएको थियो । 
झण्डै सातदशक पहिले स्वाधीनता प्राप्त गरेदेखि माथी उल्लेख गरेझैँ नै नेहरु अधिवंशवादीहरुको पराधीनतावादी परराष्ट्र नीतिको पीडा भोगी आएका अधिकांश नेपालीहरुमा “भारत प्रतिको घृणा र उपेक्षाभाव नै राष्ट्रवादी सोंच संस्कार र स्वाभिमानको द्योतक” मानिँदै आइएको थियो । त्यस्तो सोचाई सन् २०१४ को भारतीय लोक सभाको निर्वाचनपर्यन्त कायम थियो । त्यसैले (२०१४ को निर्वाचनमा “भाजपा लहर” उर्लिँदै आएको देखेर कतिपय नेपाली औधी रौसिए । र आ–आफ्नै वलवूताले “भ्याएसम्म वी.जे.पी. को विजयका पक्षमा सक्दो योगदान गर्नुपर्छ” भनेर लागे  । शुभकामना दिनेदेखि पशुपतिनाथ र आ–आफ्ना कूल पूर्खा देखिका देवीदेवतासँग “भाजपाको विजय र शासन स्थापित होस्” भन्नेसम्मको प्रार्थना गरे । 
विभिन्न कारण र संयोगले “भाजपा आफैले परिकल्पना नगरेको चमत्कारिक विजय प्राप्त गर्न” सफल भयो । गुजरातमा मात्र चिनिएका ‘नरेन्द्र भाई दामोदर मोदी’ एकाएक हस्तिनापुरका राजसिंहासनमा बसेर निष्कण्टक अधिशासक बन्ने हैसियतमा पुगे । उनको विजयमा नेपाल भर विभिन्न पार्टी, व्यक्ति र शक्ति केन्द्रले मिठाई बाँडे, खुशी आदानप्रदान गरे । धेरेका मन मस्तिष्कमा “सात दशक पहिले स्वतन्त्रता प्राप्त भारतीय शासनबाट गरिँदै आएको हेय व्यवहारमा परिवर्तन हुने” विश्वास राखे । नेपालीले पनि २००७ सालमा स्थापित प्रजातन्त्र र पुर्खाले र सन्ततिको स्वाधीनता, सार्वभौमिक, स्वतन्त्रताको लागि रगत पसिना र परिश्रमले आज्र्याको नेपालमा “हामी पनि स्वतन्त्र विवेक र आत्मनिर्णयको सार्वभौम अधिकारपूर्ण प्रयोग गरेर बाँच्न पाउने भयौ” भनेर ठूलो आशा र विश्वास प्रकट गरेका थिए । “हिन्दू राष्ट्रवादीहरु” त भुई भन्दा सातहात माथि पुगेको देखिन्थ्यो । 
तर दुर्भाग्य ¤ “भारतको अधिपतिको राजतिलक” धारणाको औपचारिकता पूर्ण हुँदा नहुँदै पशुपतिको दर्शनमा आउने र “आफ्नो विजयको कामना गर्ने देखी अभूतपूर्व उत्सव भनाई उत्साहित सम्म भएका नेपालीहरुप्रति आभार प्रकट गर्ने” उत्कट इच्छा देखाएका नरेन्द्र मोदी सत्तासीन भएको झण्डै तीन महिनामा नै पशुपतिको दर्शन गरि फर्के । उनले नेपालको संक्षिप्त भ्रमण कालमा नेपालको संविधान सभामा दिएको उन्मुक्त भाषणबाट त सम्पूर्ण नेपालीमा पहिलो पटक “भारत, भारतीय नेता र सरकारलाई आफ्ना सच्चा हितैषी मित्रको रुपमा अनुभूत गरेका” नेपालीको आस्था र विश्वासको नयाँ मित्रताको मन्दिर ठडिएको थियो । तर नेपाल र नेपालीको लागि जनप्रतिनिधिले संविधान निर्माण गर्न थाले लगत्तैदेखि दिल्लीको आज्ञा आदेश निर्देशन बमोजिम संविधान बनाई जारी गर्ने नाङ्गो हस्तक्षेपकारी घटिया हुक्मनामा जारी हुन थाल्यो । नेपालीहरु एकाएक संत्रस्त भए, विश्वासघाती छद्म भेष्टा भनेर भनियो । 
त्यसमा पनि ‘भारतका पम्पर्ड चाइल्ड’ (पूर्वराजदूत जयन्तको शब्दमा) भावना, चाहना र अडानको हदैसम्म सम्बोध गर्ने गरी संविधान जारी गरियो । तर “मोदी भाई”को सरकारले अन्तर्राष्ट्रिय लोक लज्जाको बेवास्ता गर्दै (मोदीको) नेपाल र नेपालीप्रतिको सद्भाव, र माया मोह र मित्रताको नकाव आफ्नै सरहदको नेपाली सीमामा वसी, सरकारी वर्दीधारी प्रहरी लगाएर र नेपालतर्फका मधेसवादीको भकुण्डो धारी भाडाका लडाकाहरुलाई वीरगञ्जमा स्थापित महावाणिज्य दुतावास र उसपार वेवर्दीका सरकारी सुरक्षाकर्मीले खोलेको भान्छाबाट पालित पोषितहरुले” बेनकाव गरिदिए । 
त्यतिमात्रै होइन । नेपालीले सातदशकको अथक प्रयासपछि “आफ्नो हावा पानी माटो र देशको भूस्थिति, अन्तर्राष्ट्रिय, परिवेश परिस्थिति एवं सार्वभौम आम नेपालीको भावना र चाहनालाई यथासम्भव सम्बोधन गरी, संविधान सभाको ९२प्रतिशत (बयानब्बे प्रतिशत) प्रचण्ड बहुमतबाट निर्मित र पारित” संविधानलाई मोदी सरकारबाट अन्तर्राष्ट्रिय कूटनैतिक मर्यादा, शिष्टाचारको परम्परागत राजनीतिक संस्कार, संस्कृतिलाई लत्याइयो । एउटा छिमेकीले स–सम्मान अभिस्वीकृत गरी राष्ट्रिय स्तरमा औपचारिक समर्थन शुभकामना र बधाई दिई सकेपछि पनि “आफ्ना “दूतावासका रछान चाहार्दै हुर्के बढेकाहरुले भनेअनुसार संविधान संशोधन गर, नत्र हामीलाई स्वीकार्य भएन छैन” भनेर अत्तो थाप्ने काम नेपालको दक्षिणी छिमेकीबाट भयो । 
अझ मोदीको हातमा भारतको शासन सत्ताको चाबी रहेदेखी नै  नेपाल राज्यको सम्पूर्ण शासन, प्रशासन, सुरक्षा, रक्षाको नियन्त्रण, संचालन सम्मका यावत् काम कुरा “पञ्चायतीकालको राजदरबारकै हैसियतमा” मोदीको हातको दूरनियन्त्रक (रिमोट कन्ट्रोल)बाट संचालित हुने” क्रम तिव्रतर रुपमा अगाडि बढ्दै गएको देखियो । हुँदाहुँदा “स्थानीय तहको निर्वाचनको दलीय समीकरण र रणनीतिको डिजाइनको ड्राफ्ट (मस्यौदा) समेत दिल्लीबाटै तयार र उस्कै अभिस्वीकृति लिनु पर्ने, “अप परम्परा शुरु भएको पाइलैपिच्छे स्पष्ट हुँदै गयो । नेपालको राजनीतिक दलका नेता देखी शासन सत्ता नियन्ता, राज्यका अधिशासक, प्रशासकहरुसम्म बँधुवा मजदूरका रुपमा दासता निरहता वा दैन्यता प्रकट गर्दै छिमेकीका आज्ञा, आदेश निर्देशनलाई आफ्नो देशको संविधान, ऐन, कानुनभन्दा माथिको अकाट्य र अनुल्लघनीय मान्ने र उसको अभिभावकत्व विना नेपाल बाँच्न नै नसक्ने” ठान्ने हदमा  गिरेको देखियो । 
त्यसपछि आफूले सेती मस्र्याङ्दीतिर बस्दाका माझी मित्रहरुले जसरी बल्झीमा माछालाई मन पर्ने आहारा हालेर नदीका ठूला सरमाछा फँसाई थकाउँदै किनारामा निकालेको देखेको थिएँ, ठीक त्यसरी नै नेपाली राजनीतिका नेताहरु एवं राज्यका सबै निकायका नियामक ‘सर’ (महोदय)हरुलाई सम्भव–असम्भव, पूरागर्न सक्ने–नसक्ने सबै कुरा पूरा गरिदिने आश्वासनको आशा पासमा फँसाएर वशीभूत गर्ने छिमेकी मुलुकका राजनीतिक खेलाडीलाई दाँजेर हेर्न र सम्झिन थालें ।      


Rating (Votes: )   
Share     Print


Other Articles:
कुलो भत्काउने– पानी आएन भन्ने ? (09.06.2017)
भ्रष्टाचारीका पक्षधरहरुको मनोविज्ञान (?) (09.06.2017)
अब पद्धति नै फेर्नेतिर सोच्नुपर्ने हो कि (08.29.2017)
दुई प्र.म. बीचका दुई “गुफ्तगु भेट” को रहस्य (?) (08.29.2017)
स्वास्थ क्षेत्रको लगानीस् नाफा कि सेवा ? (08.29.2017)
नयाँ भनेको इतिहासै मेट्नु हो ? (08.15.2017)
प्र.म.को भारत भ्रमण कुबेलामा नै हुन लागेको भएपनि सफल होस् (08.15.2017)
संघीय¬जातीय उन्माद र दुष्परिणाम (08.08.2017)
सीमा युद्ध र संरक्षणको प्रश्न (08.08.2017)
विवेकसम्मत परिवर्तन ः आजको खाँचो (07.26.2017)
यस्तै नै हो भने- तारा सुवेदी (07.26.2017)
प्रयोग र परीक्षणमै जुग जाने भो (06.28.2017)
“गोर्खे” मरिरहेछन्, गोर्खाल्याण्ड जलिरहेछ- गोर्खाली “नीरोहरू” ठुमरी खेलिरहेछन्, किन ? (06.28.2017)
लोकभय र लोकलाज पचाएका छद्मभेषी लोकतन्त्रवादी (06.22.2017)
भरतपुर काण्डले देखाइदियो देश कसरी चलेको छ ? (06.22.2017)
राजपाको आन्दोलन र निर्वाचन सार्ने निर्णयले उब्जाएको प्रश्न (06.22.2017)
यद्भविष्यवादीको चकचकी (06.15.2017)
महाभारतको पुनरावृत्तिको भय (06.15.2017)
राजनीति गर्ने व्यवसायी हैन योगी बन्नुपर्छ (05.31.2017)
हामी प्रजातन्त्र, गणतन्त्र हुँदै भाँडतन्त्रतिर लाग्दै त छैनौं (05.31.2017)



 
::| Latest News

 
[Page Top]