युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.17.2017, 04:11am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
निरपेक्ष पर्यवेक्षकको नजरमा वर्तमानको राजनीतिक परिदृश्य
Wednesday, 10.11.2017, 01:49pm (GMT+5.5)

- तारा सुवेदी

अहिले खास गरी स्थानीय तहका तीन वटै चरणको निर्वाचनको काम सम्पन्न भएपछि र संघ (संसद) र प्रदेशको गठन गर्ने (पहिलो) निर्वाचनको पूर्वसन्ध्याकालमा– ने.क.पा. (एमाले) र ने.क.पा. माओवादी केन्द्रबीच चुनावी तालमेल गर्दै अन्ततोगत्वा एउटै कम्युनिष्ट (वामपन्थी) पार्टी गठन गरी देशमा स्थायित्व र समृद्धिको सगरमाथा पुग्ने सार्वजनिक घोषण गरे । त्यसपछि सबै प्रकारका दृश्य, श्रव्य र छाया माध्यमहरुलाई समाचारको लागि बजारको माग पूरा गर्न सजिलो भएको छ । यस समाचारले रंगी विरंगी, सकारात्मक नकारात्मक हावादारी देखि गम्भीर मनन योग्य र ऐतिहासिक विश्लेषण गर्ने सबै खाले लेखक टिप्पणी कर्ताको मन मथिंगललाई तरंगित ग¥यो । त्यति मात्रै नभई त्यस समाचारले आर्यघाटमा पुग्ने मलामी देखि तारे होटलदेखि गाउँले भट्टी पसलका ग्राहकहरु सम्मका लागि चर्चाको विशेष विषय बन्यो । सायद “झण्डै यो दशकमा त्यस्तो यत्र तत्र सर्वत्रलाई तरंगीत गर्ने विषय आएको थिएन” जस्तो परेको छ वा पारिएको छ । 
तर त्यति छिटो (फास्ट) भएको वा आएको निर्णय कति दिगो (लङ्लास्ट) हुन सक्छ ? भन्ने तिर भने कतिले ध्यान दिए, थाहा भएन । अलि कति गम्भीर भएर घोरिएको, घोत्लिएको र निर्णय परिपक्व भई नकारात्मक र सकारात्मक परिणामको लक्षण देखा पर्दा सम्म धैर्य गरेको भए यति धेरै प्रतिक्रिया, टिका टिप्पणी आउनु पर्ने थिएन । अहिले त कस्तो देखियो वा देखिँदै छ भने सत्ताको प्रत्यक्ष अप्रत्यक्ष रसास्वादन गरेका देखि  आज नभए पनि भोलीको आशाखेतिमा बाँचेका आशे पासे र चाँखे थापेर कमाई गर्दै आएका गाँसे राजनीति पेशा गर्नेहरुसम्मले “ठूला कम्युनिष्टहरु मिलेपछि त अब उनीहरुले एकलौटी शासन सत्ता सञ्चालन गर्ने भए, आफ्नो भाउ घट्ने भयो, “च्याखे वात भन्ने भए” भनेर कोहलो र रुवाबासी मच्चाइरहेका छन् । त्यति मात्र नभएर स्वयं शासन सत्ताको मीयो समाएर राज्यको ढुकुटी र सारा स्रोत साधनमाथि एकलौटी राई दाई गर्दै आएको दक्षिपन्थी शक्ति समेत एकाएक  “आकाशै खस्यो कि, आफू अडेको धरती नै भास्सियो कि ?” जस्तो गरी तर्सिएर विवेक शून्य हुँदै गएको उदेक लाग्दो अपूर्व परिदृश्य देखियो । 
उता “एमालेको साथ सहयोग आफ्नो राजनीतिक जीवनमा कहिल्यै नचाहिने” जस्तो गरी आफूले केही हप्ता अगाडि सार्वजनिक रुपमा (खासगरी २ नं. प्रदेशको स्थानीय तहको निर्वाचनताका) कैयन चुनावी सभामा “आफूले एमालेलाई समाप्त गर्न नै अपवित्र गठबन्धन गरेको” भाषण गरेका नेताले रातारात छँदो खाँदो सत्ता र शक्तिको त्यति ठूलो खाई पाइ रहेको भाग (अवसर) दाउमा राखेर एक्कासी सम्बन्ध विच्छेद गरेको प्रमुख प्रतिपक्षीसँग फेरी घरजम गर्ने” भनेर गएकाले त्यसको कारण खाली “चिलिमले घ्याम्पो फोर्ने नीति र नियतले हुन सक्छ” भन्ने तिर किन कसैले ध्यान दिएन र किन यति कोहलो मच्याउँदै “कागको पछि दौडिएको अस्वाभाविक परिदृश्य देख्नु परिरहेछ ?” 
यसै पनि “युद्ध, प्रेम र निर्वाचनका बेला सबै कुरा जायज मानिन्छ भन्ने छ ।” त्यसमा पनि यस देशको राजनीति मात्रै होइन, मौसम र हावा पानी (वर्षा) समेत तलतिरकै छिमेकीबाट प्रभावित छ । त्यसैले त आफ्नो देशभित्रको राजधानी र मोफसलका दाजुभाई सँग भन्दा उसपारसँग रोटीबेटीको सम्बन्ध राख्नुमा आफ्नो गौरव ठान्ने मान्ने “नेपाली”हरुले सधैँ “आफ्ना उसपारका ज्वाई, भानिज, छोरी बुहारीहरुलाई मधेश तराईका चोक र हाट बजारमा मुकाम कायम गरेर नागरिकता दिनुपर्ने” उदारता देखाइ रहेछन् । त्यति मात्र होइन । “सिंहदरबार र शितलनिवासको सिंहासन”मा राजगराउने  उनीहरुलाई सहज र निर्वार्ध बाटोमा रातो कार्पेट विछ्याउनु पर्ने भनेर लडाई लडिरहेका देखिन्छन् ।  
यद्यपि जुनसुकै राज्यमा पनि राजनीतिक अगुवाहरुले नै त्यस मुलुकको भूक्षेत्रका सम्पूर्ण जनताको लागि विनाभेदभाव शान्ति सुरक्षा, समुन्नति, समृद्धि, विकास र प्रगतिको लागि काम गर्नु पर्ने हो । तर यस उपमहादेशमा भने “मुलूकको गरिबीलाई गौरव ठान्ने” जनतालाई जसले जति ढाँट्न र विश्वासघात गर्न सक्यो त्यो ठूलो  र सदा सर्वदा विजयी नेता बन्ने मानिने र उसले शासन सत्ता नियन्ता बनेर आफू र आफ्नो सात पुस्ताका लागि अकूत आर्जन गर्न सक्नेलाई नै सफल ‘राज नेता’ मान्ने सामाजिक मनोविज्ञान बन्यो र यस्तैलाई आदर्श  राजनीतिक नेता बनाइयो भन्ने यतातिर कतिले हेक्का राखेका होलान् ? 
माथि “चिलिमले घ्याम्पो फोर्ने” जालझेल र खेलको उल्लेख जुन गरियो, त्यसको व्याख्या र विस्तृतीकरण गरिएको थिएन । यद्यपि “चिलिमले घ्याम्पो फोर्ने” भनाई कुनै अबोध्य र पहेलीको रुपमा उल्लेख्य शब्द थिएन, होइन । 
यो पनि संयोग नै भन्नु पर्ला, छिमेकी मित्र राष्ट्रको एउटा सानो नयाँ राज्य “हरियाणा”का एउटा नेता त्यस देशको राष्ट्रिय राजनीतिको सधैँ चर्चाको शिखरमा रहेका थिए । ती देवीलालको विशेषता भनेको उनी जुनदल बलियो बन्यो त्यसैको जबर्जस्त (कट्टर) समर्थक बन्दथे । तर केही समय पछि त्यही ठूलो पार्टीका महत्वाकांक्षी नेतालाई फुटाएर अर्को पार्टी गठन गराउँथे । अरुको कुरा छोडौं चौधरी चरण सिंह, जगजीवनराम समेतले तिनैको लहैलहैमा लागेर भारतीय  राष्ट्रिय कांग्रेस जस्तो भारतको सबैभन्दा ठूलो र पुरानो, गान्धी र नेहरुहरुले जन्माए हुर्काए बढाएको पार्टी फुटाएका थिए । अहिले “नेपालको वर्तमान वाम एकता तिनै देखिलालको भूमिकामा रहेका छविलालले पुनरावृत्ति गरी रहेका छन् ।” एक मित्रले एक टुक टिप्पणी सुनाए । जेहोस् । 
वामपन्थी भनेर कम चिनिने र कम्युनिष्ट ब्राण्डबाट राजनीति गर्नेहरु, सबैले जुन  जाति, वर्ग, समुदायको  निमित्त संघर्ष गर्दै आए (उनीहरुको मति नीति किन हो कुन्नी) तिनैको जातीय, वर्गीय र समाजमा परिचित स्वभाव र चरित्रको देखिँदै आयो । अर्थात् नेपाली समाजमा तल्लो विपन्न गरीब र जातीय समूहमा जति छिट्टै दाम्पत्य सम्बन्ध जोडिन्छ, त्यत्ति नै सानो तिनो झगडा वैमनस्य हुने बित्तिकै “अब तँ तेरो बाटो बाटो लाग, म अलग घर जम गर्छु” भनेर जसरी तुरुन्त सम्बन्ध सहयात्रा छोड्ने र तोड्ने गर्छन् । तर गाउँघरका सामन्ती, अभिजात्य र आफूलाई उच्च जातीय भन्ने ठान्नेहरु “जे जसरी  नै भएपनि घर परिवारभित्र पसे बसेपछि त्यहाँभित्र जति सुकै अपमानित, तिरस्कृत र बहिष्कृत भए पनि अथवा भित्र भित्र अरुसँग जायज नाजायज सम्बन्ध स्थापित गर्ने र आफ्नै घरपरिवारलाई घात गर्नेलाई साथ सहयोग दिए पनि घरबाट छुटि भिन्न भई सम्बन्ध विच्छेद कमैले गर्ने गरेको” जुन ग्रामीण समाजको विद्यमान परिवेश छ । त्यो हुबहु नेपालका कम्युनिष्ट र कांग्रेसमा प्रतिबिम्बित भएको देखिन्छ । सायद माओत्से तुङको “तिमी जुन वर्गीय, जातीय, सामाजिक, विकृति विसंगति विरुद्ध र जुन वर्ग समुदाय, जातिका लागि संघर्ष गर्छौ, तिमीले आफूले थाहा नपाएरै उनीहरुमा रहेका सबै वर्गीय, जातीय, विकृति, विसंगतिले तिमीलाई गाँजिसकेको हुनेछ । यसको हेक्का कम्युनिष्टहरुले राख्न सक्नु पर्नेछ” भनाइ चरितार्थ भएको हुन सक्छ । 
माथिको माओको भनाई र नेपालको ग्रामीण जातीय र वर्गीय समाजको विकृत प्रवृत्तिलाई सटीक रुपमा नेपालका कम्युनिष्टले अनुशीलन गर्दै सही सावित गरिरहेछन् । तर त्यो कुरा २००६ मा कम्युनिष्ट पार्टी स्थानीय भएदेखिका रायमाझी, पुष्पलाल, तुलसीलाल, कमलराज, मोहनविक्रम, माले, कोशी को–अर्डिनेशन, चौम, मालेका नेताहरु र मानन्धर, रोहित सी.पी. आदि इत्यादिका यावत् गूटले ल्याएको कम्युनिष्ट फुट्को जुन प्रष्ट तस्वीर प्रस्तुत गर्छन् । तर त्यसपरिप्रेक्ष्यमा अहिले बहुचर्चित “वाम तालमेल”लाई हेर्ने हो भने “गैरकम्युनिष्ट र दक्षिणपन्थीहरु संत्रस्त हुनु र विक्षिप्त भएर तथा नाम वक्तव्य दिनुपर्ने” सायद कुनै कारण देखिन्थ्यो । 
हो “आफू सानो पार्टी वा समूह लिएर ठूलो र मूलधार बन्दै आएको पार्टीसँग एकीकरण गर्ने, पछि ठूलो हिस्सा लिएर मूल पार्टीलाई हिस्सा  र सर्वस्व गरी नांगेझार पार्ने बग्रेल्ती कम्युनिष्ट र गैर कम्युनिष्ट नेताहरु नेपालमा नजन्मेका छैनन्, होइनन् । पछिल्लो पटकको राणा र थापा नेतृत्वको रा.प्र.पा. र राप्रपा(नेपाल) को एकीकरणदेखि पृथ्क्कीकरण सम्मलाई त्यस्को ठेठ उदाहरण मान्न सकिन्छ । “चिलिमले घ्याम्पो फोर्ने” भनेको पनि त्योभन्दा बढी फरक होइन । 
अहिलेको “वाम तालमेल” को झ्याली पिटेर “सबै कम्युनिष्ट पार्टीका मठाधीशहरुलाई आफ्नो घरमा खुला स्वागत गर्ने” आह्वान गर्दै गर्दा एमाले जस्तो “एक्लैले बहुमत ल्याउने” जनविश्वासको शिखरमा देखापरेको पार्टी र त्यस खेलका  कुशल क्याप्टेन (नेता) के.पी. ओली, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र भीमरावल जस्ता अलराउण्डर खेलाडीलाई “फल्स खेल” खेल्नबाट माधव नेपाल र झलनाथले रोक्न सकेनन् भने म्याचफिक्सिङको प्रत्युत्पादक परिणाम अवश्य पनि देख्नु पर्ने छ । अर्को तरिकाले माथिको भनाइलाई स्पष्ट गरौं । चिलिम लिएर आउने कम्युनिष्ट नेताहरुले आफ्नो चिलिमले एमालेको घ्याम्पो फोरेर भाग्न पनि सक्नेछन् । 
गैरवाम एकै ठाम ? 
अहिलेको वामएकताका पक्षधरहरुले नै २०६१ माघ १९ गते पछि, आफ्नो पूर्खा नेताहरुले देखाएर गएको मूलबाटोबाट बरालिएर कता कता हराएका र छरिएका “गैह्र कम्युनिष्ट” को परिचय दिने दक्षिणपन्थीहरुले के हेक्का राख्न सक्नुपर्छ भने हिजो सत्ता, शक्ति र राजसिंहासनको आश्वासन पाएर आफ्नो पूर्खाले निषेध गर्दै आएको संविधान सभाको निर्वाचन र गणतन्त्रको स्थापनाको लिखतमा ल्याप्चे लगाएका गिरिजा प्रसाद कोइरालालाई नराम्ररी पथच्यूत बनाएका थिए । किनकि ने.का.का. संस्थापक नेता बी.पी.देखि के.पी. सम्मले कहिल्यै पनि “राजतन्त्ररहित प्रजातन्त्र र वामपन्थीहरु सहितको गणतन्त्र ने.का.का. लागि आत्मघाती हुने” भनेर नै पुष्पलालको “संयुक्त जनआन्दोलन”को प्रस्ताव अस्वीकार गर्दै आएका थिए । त्यसैले विरोधको नाममा विरोध गर्दै राजाको सकृय नेतृत्वको निर्दलीय पंचायतको छाति माथि “डेमोल्क्सको तरबार” झुण्डाएर मौन साथ, सहयोग र समर्थन दिएका थिए । 
तर जब पंचहरुको राज, रजाई, रवाफ र देशको ढुकुटी र सम्पूर्ण साधन स्रोत माथिको राई दाई देखेर ¥याल काढ्दै राजदरबारको ढोका ढुक्न पुगेका गिरिजालाई नेता बनाए आफ्नो पनि भाग्य भविष्य बन्ने स्वप्न द्रष्टा ने.क.पा. नेता कार्यकर्ताहरुले के.पी. र गणेशमान जस्ता वी.पी.का समकक्षी नेताहरुलाई भित्ता लगाएर जी.पी.लाई सार्वभौम नेता बनाए । त्यसै घडी र मोडबाट ने.का.ले नेपालको प्रजातान्त्रिक धाराको मूलबाटो छोडेर कुबाटो समाएको थियो । 
त्यसरी बहकिएको र बेवारिस भएको गिरिजा धारालाई बेला बेलामा धेरैले धमिल्याए । आआफ्ना शक्ति र जुक्तिले जाल हाले, बल्छी थापे । त्यस्तो  मौकामा “गरीब, विपन्न वर्ग र किसानहरुको हिमायती” कम्युनिष्टले त्यो पूरा भंगालोलाई आफ्नो अनुकूल बाँध बाँधेर ती मध्यम वर्गीय किसानहरुको फाँट र आफ्नो जनवादी शासन सत्ताको खेतीमा पु¥याउन पछि परेनन् । उनीहरुले गिरिजाको बहकाईमा लागेर ने.का.को दर्शन, सिद्धान्त, नीति परित्याग गरी वामपन्थीहरुको अनुगामी भएर बहकिएर नै राजा  फाले । राजा हटाएपछिको रिक्त सिंहासनको लोभ देखाएर गिरिजाको हातबाटै “हिन्दुराष्ट्र”को घाँटी रेटे । अहिले वामतालमेल पछिको यही मौकामा वाम तालमेल बाहिर परे रहेका, हिन्दूराष्ट्रवादी, राजावादी, प्रजातन्त्रवादी र गैरवामराज्यवादी दक्षिण पन्थीहरुले एकीकृत मोर्चा बनाएर नेपालका झण्डै ९२% (बयानब्बे प्रतिशत) बृहद् ओंकार परिवारको सनातन बृहुद् हिन्दुराष्ट्र” को स्थापनाको अव्यक्त भावनालाई मूल मुद्दा बनाउन सक्छन् । त्यस्तो साहसिकतासाथ आगामी संघ र प्रदेशको निर्वाचनमा जाने र “बामपन्थीले भिराएको गणतन्त्रको घाँडो” फालेर फेरि ने.का.को मूल बाटो समाएर अगाडि बढ्ने प्रतिज्ञा गरे भने आगामी  निर्वाचनको परिणाम, परिदृश्य कसैले अनुमान गर्न नसकेको स्थितिमा देखिन आउन सक्छ । धेरैको यसमा विमति नहोला ।  
अहिले दक्षिण पन्थीहरुलाई उक्त मूल मुद्दा बोकाएर नेपाली आम मतदाता सामु जाने र चमत्कारिक परिणाम देखाउने ह्याउ र हिम्मत शेरबहादुर देउवामा छ छैन, त्यो उनैलाई थाहा होला । यदि त्यो साहसिकता प्रकट गरे मात्र पनि सधैँ नेपालको राजनीतिमा प्रदी पछाडिबाट निर्णायक भूनिका निर्वाह गर्दै आएका दक्षिणी मूलुकको कट्टर दक्षिण पन्थी भाजपा सरकारले नेपालको दक्षिपन्थी मोर्चालाई निश्चित रुपमा पूर्ण सहयोग दिने छ । २०७२ सालमा संविधान सभाले “हिन्दु राष्ट्र कायम गर्नु पर्ने” भन्नेहरुको प्रस्ताव परित्याग गरेकैले संविधान जारी भए लगत्तै नेपालमाथि नाकाबन्दी लगाई पेट्रोलियम सम्पूर्ण लगायतका अत्यावश्यक उपभोग्य वस्तुको प्रवेश आयात बन्द गरिएको थियो । 
यसै सन्दर्भमा स्मरणीय के पनि छ भने “मोदी पछिको भारतका प्रधानमन्त्री” भन्न ठान्न थालिएका र भारतको नेपाल नीतिमा गहिरो प्रभाव पार्ने, उत्तरप्रदेशका हालका मुख्यमन्त्री योगी आदित्यनाथले संविधानको अन्तिम मस्यौदा हुँदाको मध्यकालमा जे भनेका थिए, त्यो उनकै शब्दावलीमा यस्तो थियो— 
“नेपाल अनादिकाल से ही हिन्दू राष्ट्र था, आज विश्व में एक ही हिन्दू राष्ट्र है, इसलिए नेपाल हिन्दू राष्ट्र ही रहना चाहिए, हम किसी भी मूल्य में हिन्दु राष्ट्र स्थापित  करके ही छोडेंगे” । त्यसबेला मोदीको पार्टीका सांसद योगीको वाणीमा मोदी बेलेका थिए । 
त्यस्तै आजको अमेरिका यूरोपमा दक्षिण पन्थी शक्ति शासन सत्ता नियन्ता बनेको मौका छ । यस्तो स्वर्णिम मौकामा “विकाउ र च्याखेहरुले सबै सरकारलाई अस्थीर बनाउँदै आएकोले उनीहरुलाई वात गरी दक्षिणपन्थी गठबन्धन बनाई अगाडि बढ्न सक्छन् । तर टिकाउ सरकार बनाउन यस्तो अनुकूल परिवेश र परिप्रेक्ष्यमा नेपालका दक्षिण पन्थीहरु भने “वाम एकता”को ढोल बजेको सुनेर किन आकाशै खस्न लाग्यो धरती नै भास्सिन थाल्यो कि भनेर कुनै बेलाको न्यू गुयानाका धर्मान्धहरुको बाटो समाएर आम आत्महत्या गर्ने हुन कि भन्ने स्थितिमा देखिए ? त्यो भने एउटा अबोध्य पहेली र प्रश्न बनेको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
सवारी चालक सभ्य र शिक्षित भैदिए‘ (09.12.2017)
“माझी” र “मोदी” (09.12.2017)
कुलो भत्काउने– पानी आएन भन्ने ? (09.06.2017)
भ्रष्टाचारीका पक्षधरहरुको मनोविज्ञान (?) (09.06.2017)
अब पद्धति नै फेर्नेतिर सोच्नुपर्ने हो कि (08.29.2017)
दुई प्र.म. बीचका दुई “गुफ्तगु भेट” को रहस्य (?) (08.29.2017)
स्वास्थ क्षेत्रको लगानीस् नाफा कि सेवा ? (08.29.2017)
नयाँ भनेको इतिहासै मेट्नु हो ? (08.15.2017)
प्र.म.को भारत भ्रमण कुबेलामा नै हुन लागेको भएपनि सफल होस् (08.15.2017)
संघीय¬जातीय उन्माद र दुष्परिणाम (08.08.2017)
सीमा युद्ध र संरक्षणको प्रश्न (08.08.2017)
विवेकसम्मत परिवर्तन ः आजको खाँचो (07.26.2017)
यस्तै नै हो भने- तारा सुवेदी (07.26.2017)
प्रयोग र परीक्षणमै जुग जाने भो (06.28.2017)
“गोर्खे” मरिरहेछन्, गोर्खाल्याण्ड जलिरहेछ- गोर्खाली “नीरोहरू” ठुमरी खेलिरहेछन्, किन ? (06.28.2017)
लोकभय र लोकलाज पचाएका छद्मभेषी लोकतन्त्रवादी (06.22.2017)
भरतपुर काण्डले देखाइदियो देश कसरी चलेको छ ? (06.22.2017)
राजपाको आन्दोलन र निर्वाचन सार्ने निर्णयले उब्जाएको प्रश्न (06.22.2017)
यद्भविष्यवादीको चकचकी (06.15.2017)
महाभारतको पुनरावृत्तिको भय (06.15.2017)



 
::| Latest News

 
[Page Top]