युगसम्बाद साप्ताहिक

नेतृत्वको संकट, राजाको प्रश्न– जनताको उत्तर
Tuesday, 11.07.2017, 11:02am (GMT5.5)

- वेदराज पन्त
नेपाल अहिले नेतृत्व संकटको विकराल अवस्थाबाट गुज्रिरहेको छ  । जताततै अराजकता छ  । संवैधानिक सबै संस्था र न्यायपालिका, व्यवस्थापिका, कार्यपालिका समेत संक्रमणकालको भूमरीमा फनफनी घुम्दैछन्  । बहुदलीय प्रजातन्त्रका सौन्दर्य र भूषण मानिने आधारस्तम्भ राजनीतिक दल नै नीतिप्रधान नभएर अस्थिर नेताको सन्काहटमा संचालित भएकाले ‘तल्लाघरे नरे पल्लाघर सरे’ लोकोक्ति चरितार्थ गर्दै यो पार्टी र त्यो पार्टी चाहार्दै भौतारिंदै गुमराह पथिक जस्तै सिद्धान्तविहीन बनेका छन्  । एक्लै उभिने हुति नएर गठबन्धनको सूत्रमा आबद्ध हुने मनसायले लोलोपोतोको बेसारे स्वाङ पार्दैछन् ।
अस्तित्वरक्षाको निमित्त  ध्रुवीकरण हुनैपर्ने अवस्थामा राजनीतिक दलहरु पुगेको संकेत समयले गरेको छ  । त्यसको ज्वलन्त उदाहरण वामपन्थीहरुको एकता प्रयास हो  । त्यसको अनुकरण गर्दै प्रजातान्त्रिक गठबन्धनको चर्चा अर्को हो  । यसले पनि आकार लिन सकेको छैन  । यो सर्वाङ्ग सुगठित नभएर अपांग आकृतिमा आकार लिंदैछ  । दोस्रो एक दशकसम्म लम्बिएको संक्रमणकाल र रातारात घोषित तीन दलको नेताको सन्काहटमा घोषित गणतन्त्र र धर्मनिरपेक्ष संविधानको कार्यान्वयनको प्रसंग तेस्रो शीर्ष नेताहरुको अस्थिर मानसिकता र चौथो न्यायपालिका समेतका क्षेत्रमा अंशवण्डे लुछाचुँडीयुक्त क्रियाकलाप सर्वत्र राजनीतिक हस्तक्षेपले पारेको यस्तो दुष्प्रभावले कसैको कसैप्रति श्रद्धा, आस्था र निष्ठा नहुनुले मुलुक भाँडभैलो र रन्थमोलमा परेको छ  । नेतृत्व संकटका अन्य कारण पनि होलान्  । प्रमुख कारण अधैर्यता, क्षीण आत्मबल र भ्रष्टाचार हो ।
यो अवस्थामा मुलुक नेतृत्वको संकटलाई अरु लम्बिन नदिन इतिहासमा सिंहावलोकन गर्दै श्री ५ ज्ञानेन्द्रले नेतृत्व संकटलाई अरु लम्बिन नदिन आफूले नेतृत्व लिन चाहेको अभिव्यक्ति दिएपछि उठेको तरंग राजनीतिक क्षीतिजमा मडारिनु स्वाभाविकै हो  । राजा ज्ञानेन्द्रले नेतृत्व संकट समाधनन गर्न खेल्ने भूमिका आफैं स्पष्ट छैन  । त्यो समेत स्पष्ट शब्दमा सम्प्रेषण गर्दै हिजोका कमी कमजोरीबारे पनि अभिव्यक्ति दिएर राजाले स्वेच्छाले त्यागेको सिंहासनमा प्रत्यावर्तन हुनुपर्छ भन्ने झिनो आवाज उठेको छ  । एफएम लगायत विद्युतीय संचार माध्यम र मुद्रित संचार माध्यममा जनता जनार्दनका जिज्ञासा अहिले घन्कदै छन्  । देशका कुनाकन्दरामा कोणसभा तथा भञ्ज्याङ, चौतारा, द्यौरालीमा राजा सक्रिय हुने हावा सर्सराएको छ  । हिमाल, पहाड, तराई जताततै खोलानाला, नदी, झनामा राजइच्छा सुसाउँदैछ ।
यस्तो अवस्थामा ठूला दलका नेताहरु यस प्रकरणमा मौन छन्  । ‘मौनं सम्मति लक्षणम्’ यो संस्कृत उक्ति अनुसार उनीहरुको मौनता पनि राजाको भावना र इच्छापतिको समर्थन नै हो (कि) ? किनभने राजा ज्ञानेन्द्र सिंहासन त्यागेर मठ–मन्दिरमा आध्यात्मिक जीवनशैलीमा विगत वर्षहरुमा अभ्यस्त हुन काठमाडौं बाहिर घुम्न निस्कदा यिनै नेताहरुले घोर आपत्ति जनाएका थिए  । जनता भने राजगद्दी त्यागेर अन्तर्मुखी बनेका राजाको एकझलक दर्शन गर्न त्यतिखेर पनि लामाबद्ध भएको समाचार यत्रतत्र सुनिन्थ्यो  । विद्युतीय संचार होस् वा मुद्रित समाचार गद्दी त्यागेर हिंडेका राजाको देशदर्शन लगायत सकारात्मक पक्षलाई निषेध गरेर छुद्रान्वेषी नै बनेका थिए  । यदाकदा कुनै प्रसंगमा नाम लिनपर्दा पनि पूर्वराजाको विशेषण लगाउँथे ।
एकीकरण अभियानको नेतृत्वकर्ता पृथ्वीनारायण समेतका प्र्रतिभा खण्डित गरेर राजसंस्थाप्रति घृणाको दुर्वाच्य प्रयोग गर्नेहरुले हाँकेको दलीय चरित्र परस्पर दोषारोपणमा दुर्गन्धित भयो  । अहिले त्यो दुर्गन्धलाई सुगन्धमा परिणत गर्न खोजे पनि दुर्गन्ध घट्न सकेको छेन  । निषेधात्मक प्रक्रियाबाट विधेयात्मक प्रक्रियामा जाने लक्षण छैन  । चुनाव घोषणापत्र जारी गर्दा प्रजातान्त्रिक गठबन्धनका पक्षधरले वामपन्थी एकताको र वामपन्थीहरुले प्रजातान्त्रिक पक्षको आलोचना गर्दा यस्तै दुर्वाच्य नै प्रयोग गरेका छन्  । वैचारिक दृष्टि मतमतान्तर स्वाभाविक हो  । मत भनेको विचार हो  । तर विचारमा मतमतान्तरभन्दा हिलो छ्यापाछ्यापमाा दलका नेताहरु उत्रनु पनि नेतृत्वको संकट हो  । दूरदर्शन कार्यक्रममा घण्टौसम्म देखिन इच्छुक नेताहरु दूरदर्शी नहुनु र दूरदर्शनको पर्दामा एकले अर्कोलाई निन्दा गर्नु र आचरण भ्रष्टको पगरी गुथाउनुले दलभित्रै पनि नेतृत्व संकट छ  । गुट, उपयुग, टुटफुट र झुट छ  । यस्तो अवस्थामा मुलुक नेतृत्वको संकटले पीडित भएर आर्तनाद गरेको बखतमा त्यो आर्तनाद सुनेर श्री ५ ज्ञानेन्द्रले जनताले इच्छा गरे नेतृत्वको संकट समाधान पार्न आफू तयार रहेको अभिव्यक्ति दिनु राजधर्म नै हो  । राजाको प्रश्नको उत्तर शीर्ष नेताहरुले व्यवहारमा सुधार गरेर दिने कि गठबन्धनद्वारा एकले अर्कालाई परास्त पार्ने प्रतिस्पर्धाद्वारा त्यो जनताले हेर्दैछन् ।
कोलाविध्वंशीहरुको विध्वंशबाट ‘जगहि गमनम् वनम्’ भएका सुरथ नामाका राजा वनवासपछि आद्यशक्तिको आराधना, तपस्या गरेर पुनः राजकाजमा फर्किए  । सावर्णि मनुको रुपमा मनुस्मृति नै (अहिलेको भाषामा संविधान) बनाएर राजकाज सुव्यवस्थित गरे र यो प्रसंग मार्केण्डेय पुराणमा सविस्तार वर्णन छ  । 
स्वाराज्य (स्वराज) शासनको चर्चा वैदिक वाङ्मयमा विस्तृत रूपमा छ  । वैदिक राज्यव्यवस्थामा सर्वोत्तम व्यवस्था नै त्यही मानिन्छ  । स्वतन्त्र राष्ट्र वा स्वराजको यो परिकल्पना अद्यापि गरिन्छ  । स्वाराज्य र स्वराज्यमा केही मूलभूत अन्तर छन्  । यो स्वरभेदमात्र नभएर तात्त्विक रूपले फरक अर्थ बोध गराउने शब्दविन्यास मानिन्छ  । स्वरभेदअनुसार विधानभेद र अनुशासनभेदले यसमा विशेष महत्व राख्छ  । यसको समग्र विश्लेषण गर्न पङ्क्तिकार सक्षम नभएको मात्र होइन, स्थान र समयले पनि समग्र चर्चा वा विश्लेषण सम्भव भएन  । सङ्क्षेपमा स्वाराज्यमा ‘स्व’ को अर्थमा ध्यान केन्द्रित हुन्छ  । राज्यशासनको अधिकार ‘स्व’ मा केन्द्रित गर्ने वा विकेन्द्रीकृत गर्ने यसैमा गूढ रहस्य छ  । शुद्धीकरण र अधिकार अन्तर्निहित छन्  । यस सम्बन्धी वैदिक वाङ्मय गहन छ, विशाल छ  । त्यसैको केही कण टिपौँ—
स्वाराज्यमा ‘स्व’ को शुद्धीकरणमाथि जोड दिइन्छ  । दोस्रो स्वराजमा राज्यशासन विषयक अधिकार आफ्नै अधीनमा राख्ने प्रबल यत्न हुन्छ  । आत्मशुद्धि र अधिकारप्रतिको आकर्षण र आग्रह फरक फरक सूक्ष्म तत्त्वले परिचालित हुन्छन्  । स्वाराज्यमा कर्तव्यबोध गर्दै प्रत्येकले आत्मशुद्धि अर्थात् ‘स्व’ को शुद्धिकै निमित्त विशेष प्रयत्न गर्नुपर्छ  । सृष्टि–संरचनाका यावत् स्थावर–जङ्गम प्राणी र वनस्पतिप्रति उत्तरदायित्वबोध गर्नुपर्छ  । सबैको आत्मामा ‘स्व’कै अनुभूति जागरण गरेर शुद्ध–बुद्ध हुने शुद्धीकरणको प्रयोगमा अभ्यस्त हुनुपर्छ  । यस्तै स्वराज्य (स्व–राज) मा राज्य शासन प्रणालीमा सबै अधिकार समेटिन्छन्  । यसले राज्य शासन सञ्चालनपद्धतिमा नै ठूलो अन्तर पार्छ  । संयमी जितेन्द्रिय पुरुष जो शुद्धता, पवित्रता, निर्दोषिताको मापदण्डमा खरो उत्रन्छ, त्यही राज्याधिकारी हुने योग्यता भएको मानिन्छ  । यस्ता व्यक्तित्वले शासन सञ्चालन गरेमा शासन भ्रष्टाचारमुक्त हुन्छ  । दम्भ, असत्य, अधिकार, लिप्सा, पक्षपात, लोभ, मोह जस्ता दुर्गुण नभएको सदाचारी शान्ति र अहिंसाको पुजारीलाई अधिकार प्रदान गरेमा वास्तविक स्वाराज्यको शासन तन्त्र स्थापित भएको मानिन्छ  । ‘स्व’को शुद्धीकरणको यो प्रयोग गान्धीले आफूमा गरे  । तर भारतीय शासक र शासनपद्धति स्वराज्यमा पनि औपनिवेशिक रङ्गमा नै रङ्गमङियो, गुँडुल्कियो  । त्यसैले वैदिक शासन स्वतन्त्र भारतमा स्थापित हुन सकेन  । न त स्वको शुद्धिकरणमा गान्धी जस्तै अन्य नेताहरू र जनताहरू नै आकर्षित भए  । आचार्य विनोद भावे, सुभाषचन्द्र वोश तथा जयप्रकाशनारायणको भिन्नाभिन्नै स्वाराज्यको परिकल्पना पनि वैदिक नै हो  । तर उनीहरूद्वारा भारतीय शासनप्रणालीलाई व्यवस्थित गर्ने सफलता मिलेन  । स्वराज्य आफ्नै परिभाषाअनुरूप स्थापित गर्न उनीहरू समर्थ हुन सकेनन्  । गान्धीको स्वाराज्य पनि उनमै सीमित रह्यो  । अहिलेको भारतीय लोकतन्त्र वैदिक परिभाषाअनुरूप स्थापित भएको मानिँदैन  । स्वराज्यमा ‘स्व’को शुद्धीकरणको उपेक्षा गरेर ‘राज्य’ ले जुटाइदिने अवसरको बढी से बढी उपभोग गर्ने लालसा जागृत हुन्छ  । राज्यतन्त्रको यावत् शक्ति स्वकीय स्वार्थमा प्रयोग गरिन्छ  । यसले नै गुट, उपगुट बनेर पार्टीतन्त्रमार्फत् समाजमा भाँडभैलो मच्चिन्छ  । एउटा गुटले अर्को गुटलाई, एउटा पार्टीले अर्को पार्टीलाई अस्वस्थ प्रतिस्पर्धामा उछिन्ने कोसिस गर्दछ  । अहिले समस्त भारतवर्षमा यस्तै राजनीति चलेको छ  । नेताहरू मात्र होइन, समाजका सबै पक्ष शिक्षाशास्त्री, अर्थशास्त्री, पर्यावरणवादी र योजनाकार, समाजशास्त्री, मानवअधिकारवादीको नाभी आफ्नो मुलुकमा गडेको नभै उपनिवेशवादी कुनै न कुनै आयातीत विचार वा निर्देशनमा सञ्चालित हुन गएको छ  । त्यसैल वैदिक राज्यशासनप्रणाली भारतमा पुनः कतै पनि स्थापित हुन सकेको छैन  । करोड करोड हिन्दुहरूको हिन्दु अधिराज्य छैन  । हिन्दु शिक्षापद्धति छैन  । भारतवर्षमा कथित धर्मनिरपेक्ष राज्य छन्  । इस्लामिक राज्य छन्  । हिन्दु शिक्षापद्धति पनि त्यस्तै अवस्थामा छ  । ईसाई राज्य घोषित नभए पनि धर्मनिरपेक्षको आडमा द्रुततर गतिमा ईसाईधर्ममा धर्मान्तरण गरी ईसाई राष्ट्रमा परिणत गराउने प्रबल चेष्टा भएकै छ  । अहिले शिक्षा नै व्यापारिक वस्तु बनेको छ  । शिक्षापद्धतिको स्रोत नै गुरुकुल हुन्  । ती लडखडाएका छन्  । हिन्दु शिक्षापद्धति नैतिकताको जगमा खडा हुन्छ  । अहिले जे–जसरी शिक्षा दिइन्छ, त्यो वणिक्वृत्ति अर्थात् शरीरको पोषणका निमित्त ठिक्क छ ।
वैदिक राज्यमा मानव अधिकार र कर्तव्यका साथै प्राकृतिक मानचित्रका पर्वत, नदी, गिरिकन्दरा, मठ–मन्दिर र तीर्थस्थल समेतको अधिकार र मर्यादाक्रम तोकिएको हुन्छ  । नदी प्रदूषण गर्न कसैले चेष्टा समेत गर्दैन  । नदी पूज्य पवित्र जीवनदायी मानिन्छन्  । साना खोल्सा–खोल्सीहरूको दायाँबायाँ निश्चित भूमि समेत अतिक्रमण गर्न हुँदैन, पाइँदैन  । जलाधार क्षेत्रको पानीका मूल पलाउने स्थान वा झरना, तालतलैया समेत समेटेर नदीसंस्कृति व्यवस्थित गरिन्छ  । यस्तै पर्वत संस्कृति छ  । मठ–मन्दिर संस्कृति, तीर्थस्थलको संस्कृतिलाई कसैले उपेक्षा गर्ने, विकृत पार्ने गर्दैन  । वन, वनस्पति, वनजन्य पशुपक्षी समेतको विशेषाधिकार कसैले हनन गर्न पाउँदैन  । यस्ता पशुपक्षी र वनस्पतिको संरक्षण संवद्र्धन गर्नु कर्तव्य नै हो  । कतिपय वनस्पति र पशुपक्षी सरीसृपको त पूजा अर्चना नै गरिन्छ  । वैदिक स्वाराज्यमा गाइको महत्त्व विशेष प्रकारको थियो  । गोदानको साथै गाइको गोबर, गोमूत्र तथा दूध, दही, घ्यू, गोरोचन औषधी नै हुन्  । गौचर मास्न वा गाइ काट्न पाइँदैनथ्यो  । प्रतिदिन गाइको पूजा गर्ने र ऋषिमुनिजनले पनि गाइ पाल्ने गर्दथे  । स्वाराज्यमा रुखवृक्षको पूजा गर्ने पद्धति छ  । ढलेका वृक्ष र सुकेका रुखपातबाहेक अरु काट्ने फाँड्ने अधिकार कसैको हुँदैन  । वनजंगलप्रति कर्तव्य पालन गर्नैपर्छ  । वैदिक शिक्षा गुरुकुलीय शिक्षा पद्धतिले आत्मा दबाएर शरीर पोषण गर्न निषेध गर्दछ ।
यस्तै ढोकामा नाग, माछो, भ्यागुतो, खजुरो, बिच्छी लगायतको चित्र टाँसेर पूजा गर्नैपर्छ  । कागतिहार, कुकुरतिहार, गाइतिहार, गोरुतिहारमा यस्ता पशुलाई पनि विशेष स्नेह दिने पूजा–आजा गर्ने रूढपरम्परा वैदिककालीन संस्कृति र सभ्यता नै हो  । यही सभ्यता संस्कृतिको रक्षार्थ गोरखनाथको निर्देशनमा पृथ्वीनारायण शाहले एकीकरण अभियानको नेतृत्व गर्दै वैदिक स्वाराज स्थापना गर्ने उद्यत भएको कालखण्डे इतिहास स्मरण गरिन्छ  । स्वाराज्यको अवशेषका रूपमा अद्यापि रहेको यो प्रथा पनि पार्टीतन्त्रमा उपेक्षित हुँदै, औपनिवेशिक आयातीत आधुनिकताको मारमा पर्दै गएको देखिन्छ  । भारतवर्षमा स्वाराज्य छिन्नभिन्न भए, परतन्त्रले छोप्यो छ  । स्वतन्त्रता र प्रजातन्त्र वा लोकतन्त्र, गणतन्त्र, जनतन्त्र यी सबै शब्द वैदिक कालकै शब्दकोशमा संगृहीत थिए  । यस्ता शब्दको प्रयोग र प्रयोजनमा तात्त्विक अन्तर छ  । यी शब्दविन्यास निहित स्वार्थका निमित्त प्रयोग गर्नेहरूले स्वाराजको प्राच्य अवधारणा बुझेकै हुँदैनन्  । 
आजका सबै शासनप्रणालीमा जनतन्त्र, गणतन्त्र, लोकतन्त्रको विशेषण लागेको छ  । संविधानकोघोषणा यस्तै शब्दालंकारमा भएको छ  । धर्मनिरपेक्ष राज्यको अर्को परिचय दिने शब्दावलि पनि जोडिएको छ  । संविधानको घोषणा जे–जसरी गरे पनि वैदिककालीन वाङ्मय र ऋषिहरूको दृष्टि अनुसार ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः’ को साथै ‘विद्याविनयसम्पन्ने ब्राह्मणे गवि हस्तिनि  । शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः, ईशा वास्यमिदं सर्वम् यत् किञ्च जगत्यां जगत्  । तेन त्यक्तेन भुञ्जीथाः मा गृधः कस्यस्विद् धनम्’ अनुरूप समावेशी दृष्टिभन्दा भिन्न व्यवहारको मार्गचित्रमा अहिले भारतवर्षभित्रै वैदिक शासनव्यवस्थाको विपरीत आयातीत शासन व्यवस्थाको शासन–प्रशासन लादिएको छ  । अनुशासन र कर्तव्य उपेक्षित भएर अधिकारको नारा गुञ्जायमान छ  । पाश्चात्त्य (२१ औँ शताब्दी यताको) संस्कार भित्र्याएर वैदिक सभ्यतालाई खलबल्याएर आदर्श व्यक्ति पनि पश्चिमकै मात्र हुन् भनी उनैको गुणगान गर्ने र उनैका कथनलाई महान् वाणी मानी उद्धरण गर्ने गरिन्छ  । महात्मा गान्धीले आत्मशुद्धिको जे प्रयोगगर्न प्रेरित गरे, त्योबाट प्रेरणा लिने आध्यात्मिक नेता भारतमा जन्मन सकेको मानिँदैन, त्यस्तो नेता नै छैन ।
यो उदाहरणबाट स्वाराज्य र स्वराज्यको अन्तरमात्र स्पष्ट नभै लोकतन्त्र, प्रजातन्त्र, जनतन्त्र, गणतन्त्र शब्द मात्र वैदिक कोशबाट उद्धरण गरे पनि व्यवहारमा ठीक उल्टो ‘सबै जोगी मर मेरै खप्पर भर’ भन्ने उखान चरितार्थ पारी अंशबण्डे अस्वस्थ प्रतिस्पर्धी पार्टी (दल) का नेताहरूले गरेका छन्  । यसैबाट स्पष्ट छ– स्वाराज्य वा स्वराज्यको शाब्दिक र लाक्षणिक अर्थ अनुरूप वैदिक शासनप्रणाली नचले पनि त्यही शब्दविन्यासको परिभाषाले इंगित गरेको विपरीत अर्थ बुझाउने औपनिवेशिक ढर्रामा शासक र शासन पार्टी(दल) ले चलाएका छन्  । आत्मशुद्धीकरणमा विशेष जोड दिने स्वाराज्यको ठीक विपरीत पार्टीतन्त्रले एक प्रकारको निन्दा र घृणा फैलाएर एकले अर्कालाई लाञ्छना लगाएर आफू मात्र प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्रवादी र अग्रगामी हो अरु सबै पश्चगामी रुढीवादी वा सामन्तवादी हुन्  । विधिसम्मत विधानको पालन गर्ने–गराउने आफूमात्र हो  । अरु सबै नेता वा पार्टी विदेशी दलाल र गद्दार हुन्  । पटक पटक यस्तै लाञ्छना पनि लगाउँदै सत्ता समीकरणमा चोचो–मोचो पनि मिलाउँदै घात, प्रतिघात, विश्वासघातमा रमाउँदै जनतालाई सपना बाँड्दै विपनामा आफ्नो स्वार्थ जसरी पूरा गर्न सकिन्छ त्यही गरिरहेका छन्  । राष्ट्रको स्रोतसाधन, राजकीय शक्ति तथा उपलब्ध अन्य अवसरमा दाईँ हाल्न भागबन्डा गर्दै स्वार्थपूर्ति हुँदासम्म सहमति गर्छन्  । छ्वास्स कतै कुनै चस्को पस्यो कि त बिच्किन्छन्  । सहमति र समीकरण स्वार्थपूर्ति गर्न मात्र प्रयोग हुने शब्द हुन्  । स्वार्थ पूरा गरी सम्बन्ध तोडेर एकले अर्काको उछित्तो काढ्छन्  । लोकतन्त्रमा गणतन्त्रमा यस्तो हुनु स्वाभाविकै हो पनि भन्छन्  । स्वाराज्यको आत्मशुद्धिकरणको प्रसंग नै गौण हुँदै गएको छ  । सबै क्षेत्रका यावत् कर्ताधर्ता यस्तै घनचक्करमा चक्कर काट्दै देश–विदेश घुम्न थाल्दछन् ।
वैदिक स्वाराज्य वा स्वराज्यको सूत्र ‘स्वराज्यमेव स्वाराज्यम्’ वैदिक शासन प्रणालीमा सबै ऐन कानुन, नियम अहिंसामा आधारित भएर बन्थे, बनाइन्थे  । मनसा, कर्मणा, वाचा हिंसा कम हुने सूत्र शिक्षाको प्रारम्भमै प्रदान गरिन्थ्यो  । कमसे कम नियम कानुन र ऐनको प्रयोग हुने शासकीय स्वरूपलाई पूर्वाधार खडा गर्ने शिक्षापद्धति वैदिक शिक्षापद्धतिको मेरुदण्ड नै हो  । यो नैतिकताको जगमा खडा गरिन्थ्यो  । शिक्षाको प्रारम्भ नै नैतिक आचरणमा आधारित हुनैपर्ने नियम थियो  । शिक्षा दान, ज्ञानदानको विशेष महत्त्व थियो  । अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य, अपरिग्रह आदि शिक्षाका प्रारम्भिक पाठ हुन्थे  । विद्यार्थी हुँदा नै यम–नियम सम्पन्न हुनैपर्ने यो शिक्षा राजपुत्र होस् वा सर्वसाधारणका सन्तान सबैले गुरुकुलमा रहेर नियम पालना गर्दै एकैसाथ शिक्षा लिनुपर्ने व्यवस्था थियो  । अहिले शिक्षा व्यापारको वस्तु बन्यो  । आधिभौतिक शास्त्रमा आकर्षण छ  । आधिदैविक र आध्यात्मिक शास्त्र उपेक्षित छ  । न आत्मसंयमतिर ध्यान दिइन्छ  । न त निष्काम सेवाको महत्त्व नै छ  । निष्काम सेवा हुनै सक्दैन भन्ने धारण बलवती छ  । सर्वत्र भोग लालसा, इन्द्रियचरितार्थता, अर्थपैशाचिकता, घोरतम स्वार्थपूर्तिका लागि घात, प्रतिघात, विश्वासघात र अनेक षड्यन्त्रमूलक प्रयोग भैरहेको छ  । मानिसलाई उत्तेजित गराउने, मरे सहिद हुने र परिवारले ठूलो धनराशि क्षतिपूर्ति पाउने हिंसाजन्य विकृति लोकतन्त्रको विशेषता नै बनेको छ  । राज्यले मानिस मार्छ  । सहिद घोषणा गर्दछ  । क्षतिपूर्तिका नाममा धन दिन्छ  । वैदिक शिक्षापद्धतिमा मन्त्रालय भनिने मन्त्रको घरकै शब्दविन्यासअनुसार गठन गरिने मन्त्रिपरिषदमा मन्त्री हुने व्यक्ति वैदिक शासनपद्धतिको नाम समेत सुन्न चाहँदैन  । यम–नियमको पालना गर्ने कुरा उसका निमित्त पश्चगामी शब्दावलिमा पर्छ  । अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य, अपरिग्रह मानवीय उच्चतम गुणवत्ता हुन्  । मन्त्रालयमा बसेर शासन गर्ने मन्त्रीले यी मानवीय उच्चतम गुणवत्ताका साथै आत्म अनुशासन पालना गर्दै सबैमा ईश्वरांश छ भन्ने बोध गरेर त्यागपूर्वकको जीवन व्यतीत गर्नुपर्ने वैदिक शिक्षा लिएको हुँदैन  । निष्काम सेवाको कल्पनासम्म पनि उसले गर्दैन  । टायर बाल्ने, राँके जुलुस निकाल्ने, पुतला जलाउने, वातावरण खलबल्याउने वातावरण मन्त्रालयको मन्त्री हुन्छ  । प्राचीन समयमा ‘रामराज्य’ वैदिक एक लाख मन्त्रको अनुसार चलेको थियो  । अहिले ‘राम’शब्द लुप्त भयो  । ‘राज्य’ मात्र बाँकी रह्यो  । त्यहाँ शासन गर्ने राष्ट्रपति होस् वा प्रधानमन्त्री, मन्त्री होस् कि अन्य राष्ट्रसेवक कर्मचारी सेवाभावले आफ्नो कर्तव्य पालना गर्दैन  । उसको सेवा सबैले गर्नुपर्छ  । राष्ट्र उसको सन्काहटमा शासित हुनुपर्छ  । राजकीय सम्मान मरेपछि पनि उसले पाउनुपर्छ  । वैदिक शासन प्रणालीका सूत्रमा लिपिबद्ध मन्त्र लोकतन्त्रको मन्त्री, प्रधानमन्त्री वा राष्ट्रपतिका निमित्त कर्णकटु हुन्छ  । मन्त्रालयको अर्थसम्म नबुझेका मन्त्री बन्छन्  ।  प्रत्येक व्यक्तिले वैदिक कालमा जीवनचर्यामा धारणा गर्ने मन्त्र अहिले विस्मृतिको गर्तमा पुरिएको छ ।
राजकाज छोडेकालाई राजर्षि भनिन्छ  । समयावधि तोकेर कुनै पदवहाली गरेको भए त्यो समयावधि सकिएपछि त्यो पूर्ण हुन्छ  । राजा घोषणा समयावधि तोकेर गरिंदैन  । त्यसैले राजालाई पूर्व राजा भनिंदैन  । प्राविधिक पदहरुमा अभ्यस्त कुनै व्यक्ति वा पदमा पूर्व विशेषण लाग्दैन  । त्यस्तै वैदिक विधिपूर्वक राजा घोषित श्री ५ ज्ञानेन्द्र पूर्व राजा होइनन्  । हिन्दुराजा हुन्  । जवसम्म हिन्दु रहन्छन् हिन्दुराजा शब्दकोशमा रहन्छ  । राजा ज्ञानेन्द्रले स्वेच्छाले राजगद्दी छाडेका हुन् भने प्रत्यावर्तनको यो संकेत हो ।
विगत दशकमा मौन रहेर धैर्यतापूर्वक विश्व परिस्थितिको सन्दर्भलाई अध्ययन गर्दै मुलुकमा नेतृत्व संकटबाट उत्पन्न परिस्थितिले उत्प्रेरित राजा ज्ञानेन्द्रले सम्प्रेषण गरेको प्रसंगले उठाएको प्रश्नको उत्तर जनताले दिनैपर्ने भएको छ  । राजाको प्रश्नमा जनताको उत्तर समयले कसरी दिन्छ– छरछिमेक र विश्व इतिहासकारका निमित्त प्रतिक्षाको विषय बनेको छ  । नेतृत्वको संकट राजा ज्ञानेन्द्रले नेतृत्व लिएपछि समाधान होला, नहोला यो भविष्यकै गर्भमा छ  । यसको उत्तर छिटै आउनेछ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com