युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.17.2017, 04:07am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
“कीर्तिबाबु”को सन्दर्भमा (२)
Friday, 11.24.2017, 12:55pm (GMT+5.5)

- तारा सुवेदी
व्यथितको प्रसंग
एउटा कुनै राष्ट्रिय विषयमा छलफल गर्न काठमाडौं जिल्लाका वर्तमान र भू.पू.रा.प.हरु सबैलाई बैठकमा बोलाइएको थियो । बैठक शुरु भइसकेको थिएन । सभापति प्रयोगराज, कीर्तिबाबु र केदारमान “व्यथित” लगायतका धेरै व्यक्ति आइ सक्नुभएको थियो । कसैले देशमा “भ्रष्टाचार” हुने गरेको कुरा निकाले । कीर्तिबाबुले “अब के गर्दा हुन्छ र देश बन्छ त ! भनेर सोध्नुभयो । व्यथित जीले निर्धक्क भएर भने “हेर्नुस् कीर्तिबाबु !, यो देश बनाउने र बिगार्ने जम्मा दुई सय जना हुन् । अब यी दुई सय जनाले बिगारेको देश बनाउने नै हो भने सबै दुई सय जनालाई नै टुंडिखेलमा लाइन लगाएर उभ्याउनु पर्छ, अटोम्याटिक बन्दुकमा गोली भरेर “भटटट” गरेर दुई सयलाई सिध्याउनु पर्छ । ती दुई सय मध्ये म एउटा, तपाईं अर्को, एक सय अन्ठान्नब्बे अरुहरु पर्छन् ।” कीर्तिबाबु चूप लाग्नुभयो । संयोग नै भन्नुपर्छ । २०३५ सालको शुरुतिर कीर्तिनिधि विष्ट प्रधानमन्त्री भएका बेला वहाँको सिफारिसबाटै केदारमान व्यथित रा.प.स.मा मनोनित गरी गृहमन्त्री बनाइए । 
कीर्तिबाबु सम्बन्धी धेरै रमाइला र अपत्यारिला संस्मरण छन्, मेरो मन मथिंगलमा । तर ती सबै यहाँ उल्लेख गर्न सम्भव छैन । कति उल्लेख गर्नु हुन्छ, हुन्न त्यो पनि थाहा छैन । त्यस्तै अलि नितान्त व्यक्तिगत र अपत्यारिलो एउटा घटना वा प्रसंग उल्लेख गरौं । वहाँ (कीर्तिबाबु) पटक प्रधानमन्त्री भएर हटिसके पछि श्रीमती बोँधकुमारीजीको उपचारका लागि भेलोर जाँदा वहाँले आफ्नो परिचय दिने कुनै कागजात– (राहदानी सायद रातो भएकोले लैजाने कुरा भएन)– नागरिकताको प्रमाण पत्र नै लिनु भएको  बनाउनु नै भएको रहेनछ । त्यसरी कुनै परिचयपत्र बिना जानु भएको रहेछ । कुनै सुरक्षा कर्मीले परिचय पत्र मागेछ, थिएन, दिन सक्नु भएन । अन्त्यमा “आफू नेपालको पूर्व प्रधानमन्त्री फलोनो हुँ, तिमीले कसलाई सोध्नु पर्छ सोध” भन्नु भएछ । 
नागरिकताको प्रमाणपत्र लिने सन्दर्भः 
एक पटक जिल्ला सभा वलम्बूमा रहेको जिल्ला पञ्चायत हलमा बोलाइएको थियो । सभापति प्रयाग राज, भुवनमानसिंह र वहाँ बाहिर कुरा गर्दै हुनुहुन्थ्यो । मलाई बोलाउनु भयो । म गएपछि भेलोरको प्रसंग निकाल्दै भन्नुभयो । “तारानाथजी हेर्नुस् मलाई बेला बेलामा श्रीमतीको उपचारका लागि र आफ्नै पनि  उपचारका लागि भेलोर जानुपर्छ । मलाई र श्रीमतीलाई नागरिकता चाहियो, बनाइदिनुस् त । ऊ भुवनलाई त थाहा छ नी ! मलाई “हर्नियाको अपरेशन गर्नु छ । 
वहाँको शब्द र शैलीमा मलाई हाँसो उठ्यो । हाँस्न भएन, मुस्कुराएँ मात्र । वहाँलाई “हर्निया” भएको समेत भुवनमानलाई थाहा हुने, अनि मलाई र सभापति प्रयाग राजलाई किन सुनाउनु पर्ने ! मैले “हजूर दुवै जनाको ३ ३ वटा फोटो लिएर  अनुकूल समयमा पाल्नुहोस् । सी.डी.ओ साहव कहाँ गएर बनाउँला” भनें । वहाँले “मसँग फोटो पनि नहोला, फोटो ग्राफर खोजेर पठाइदिनुस्” भन्नुभयो । फोटोग्राफर गयो एकदिन सी.डी. ओ. साहवसँग समय मिलाएर फोन गरे, आफै गाडी ड्राइभ गर्दै आउनुभयो । नागरिकता फाराममा सिफारिस गर्ने अधिकृतको दस्तखत हुनुपर्ने ठाउँमा मैले नै सही गरें । प्र.जि.अ. बबुअन ठाकुर हुनुहुन्थ्यो । २ पटक प्रधानमन्त्री भएर हटिसकेका वहालवाला रा.प.स.ले २०३४ सालमा बल्ल नागरिकता प्रमाणपत्र  लिनु भयो, अनौठो लाग्यो । 
मेरो सरुवाबारेः 
२०३४ असारमा राष्ट्रिय पञ्चायत अन्तर्गतको पञ्चायत समितिले जिल्ला प्रशासन योजना २०३१ को बारेमा बैठक राखेको रहेछ । आजका “मधेशवादी” शरदसिंह भण्डारीका पिता “पृथ्वीमान सिंह” त्यस समितिको सभापति हुनुहुन्थ्यो । गृह पञ्चायत मन्त्रीमा भोजराज घिमिरे र गृहसचिव शेरबहादुर शाही, मुक्तिप्रसाद काफ्ले (सहसचिव) लगायतलाई पनि बोलाइएको रहेछ । त्यस्तो उच्च स्तरीय बैठकमा काठमाडौं जिल्ला पञ्चायत सचिवको काम गर्ने पी.डी.ओ. को पनि राय माग्ने कुरा भएछ । पत्र आयो, गएँ । बाँकेका (रा.प.स.) मूलचन्द अजाद, कमल राणा लगायतका सो समितिका सदस्य (रा.प.स.) सबै थिए । सबैले आआफ्नो विचार राखे । म चूपचाप सुनिरहें । सभापति पृथ्वीमानले मेरो विचार माग्नुभयो । सचिवज्यू र गृहमन्त्रीज्यूको मुखमा हेरें । वहाँहरुले “तपाईंको अनुभवमा लागेको कुरा राख्नोस्” भन्नुभयो । मैले क्षमायाचना सहित १० मिनेटको समय मागें र बोल्ने थालें,  “जाँच बुझकेन्द्रले तयार गरेर लागू गरेको जिल्ला प्रशासन योजना २०३१ मौजूदा संविधान (२०१९) को प्रस्तावना र भावना विपरित भएको छ” भन्ने लगायतका कुरा राख्दै सबैभन्दा चर्को रुपमा आलोचना गरे । 
झण्डै एक घण्टापछि वैठक चल्दा चल्दै सचिव उठेर हिड्नु भयो । बैठक सकियो । त्यसपछि साँझ उता मूल चन्द र कमलराणा हरुले सभापति (प्रयागराज सिंह)ज्यूलाई फोन गरेर वहाँलाई बधाई दिँदै “पी.डी.ओ” को प्रसंशा गरेछन् । यता मन्त्री र सचिवलाई” राजाको प्रत्यक्ष मातहतको जाँचबुझ केन्द्रबाट तर्जुमा गरी लागु गरिएको योजनाको सबैले भन्दा कडा विरोध गर्ने पी.डी.ओ.लाई तुरुन्त सरुवा गर्नुपर्छ” भनिएछ । त्यो नीचता र क्षुद्रता देखाउने त्यसबेला जिल्ला प्रशासन योजनाकार मस्यौदाका एवं कार्यान्वय समिति सदस्य सचिव मुक्ति प्रसाद काप्mले रहेछन् । 
भोलिपल्ट मलाई काठमाडौंबाट भक्तपुरको पी.डी.ओ.मा सरुवा गरिएको पत्र पाएँ । सभापतिज्यूलाई देखाएँ । वहाँले कीर्तिबाबुसँग “हाम्रो स्तर र भावना मिल्दो पी.डी.ओ. पाएका थियौं, सरुवा गरिएछ” भन्नु भएछ क्यार । मलाई भोलिपल्ट “तपाईंलाई कीर्तिबाबुले भेट्न पठाइदिनु भन्नुभएको छ, जानुन्” भन्नुभयो । अहिलेका पूर्व प्रधानमन्त्रीहरुलाई भेट्न जस्तो गाह्रो थिएन । गएर खबर गरें, तुरुन्त बोलाउनु भयो । गएँ, बस्नु भन्नुभयो, बसें । मलाई “सरुवा भएको हो ?” भनेर सोध्नुभयो, ‘हो’, भनें । गृहपञ्चायत मन्त्री भोजराज घिमिरेलाई फोन गरेर सरुवा रोक्नु भन्नु भयो, रोकियो । 
गृहपञ्चायत मन्त्रीलाई गालीः
त्यसको केही महिनामा कीर्तिबाबु पुनःप्रधानमन्त्री हुनुभयो । फेरि गृहपञ्चायत मन्त्रालयबाट २०३५ असार मसान्तमा पुरानै निर्णय देखाएर “भक्तपुर हाजिर हुन जाने” आदेश आयो । सभापतिज्यूलाई देखाएँ । वहाँले भुवनमान सिंहलाई लिएर प्र.म. निवासमा (प्र.मं. लाई भेट्न) जानु भएछ । “भोलि बिहान तारानाथलाई म कहाँ पठाइदिनु” भन्नुभएछ, गएँ । जाने बित्तिकै क्रोधित मुद्रामा तत्कालीन गृह पञ्चायत मन्त्री खड्गबहादुर सिंहलाई “मेरो निर्वाचन क्षेत्रमा मैले प्रयागराज भुवनमान जस्ता राष्ट्रिय व्यक्तित्व बनाएका साथीहरुलाई लाई जिल्ला पञ्चायतमा राख्नुपरेको छ । तर म सँग त के उनीहरु (सभापति, भुवनमान)सँग पनि नसोधी पी.डी.ओ. हटाइदिने ? .......... ऊ का.मु. उपसचिवस्तरको पी.डी.ओ. रहेछ त के भयो ? उसैलाई खुरुक्क बढुवा गरिदिए हुन्न ........ । अब का.मु. नराख्ने ? हो, सबै सी.डी.ओ. लगायत जति ठाउँमा का.मु. गरिएको छ, साउन १ गतेबाट ... हटाउने निर्णय गर्नू । कोही कहीँ का.मु. गरिएको थाहा पाएँ भने गृहमन्त्रीलाई नै हटाइदिन्छु । एकोहोरो बोल्दै जानुभयो । त्यसपछि सम्पूर्ण अशोभनीय  मात्रै होइन, अश्लील शब्दावली प्रयोग गरेर मन्त्री खड्गबहादुर सिंह माथि गालीको धारा प्रवाह वर्षा गर्न थाल्नुभयो । म थरर काँप्न थालें । प्रधानमन्त्री गृहपञ्चायत मन्त्रीमाथि रोद्रमुद्रामा पेश भइराखेको, बेला अनुमति नलिई खुरुक्क उठेर जाने कि, यथावत् बसिरहने ? “कीर्तिनिधि विष्टको रिस” भन्ने त्यसै पनि कहलिएको थियो । आज आफ्नै अगाडि परम क्रोधित भएको देख्नुप¥यो । वहाँले उताबाट कुरा गर्दा गर्दै टेलिफोन राखिदिनु भयो । 
यता मतिर फर्केर “होइन, राजाको इच्छा” पञ्चायत तथा जग्गा विकास कर योजना कुनै पनि हालतमा सफल पार्नु पर्छ, पहिलो चरणमा झापामा लागू भयो, सफल देखियो । दोस्रो चरणमा भक्तपुरमा लागू भएको छ, तर रोहितको प्रभाव क्षेत्र हो, ठूलो चुनौति पूर्ण छ, त्यसलाई लागू गर्न र सफल पार्न तपाईंलाई नै पठाउनु पर्ने देखेर पठाएको हो भनेर खड्गबहादुरले भन्यो, तपाईं एक वर्ष बसेर पञ्चायत  तथा जग्गाविकास कर योजना लागू गर्नुस्, एकवर्षपछि सपनामा पनि नसोचेको ठाउँमा नियुक्त गराई दिन्छु, ल जानुस्, शुभकामना छ । एकोहोरो गाली पुराणदेखि शालिन शब्दावली सुनेर फर्के । चूँसम्म पनि बोल्ने आँट गरिन । २०३५ साउन १५ गते भक्तपुरको पी.डी.ओ पदमा हाजिर हुन पुगे । 
एकमहिना त के एक हप्ता नै मेरो लागि एक युग जस्तो भयो । हरेक गाउँका पञ्चहरुले किसानसँग “ट्वाँटी कसेर” कर उठाएका छन्, हर हिसाब कतै छैन । जिल्ला पञ्चायतका सदस्यको  नैतिक धरातल पातालमा पुगेको रहेछ । जिल्ला पञ्चायतको खातामा कतैबाट रकम जम्मा भयो कि सबैको गिद्धे झम्टाई । कहाँ प्रयागराज, भुवनमानसिंह, गोविन्द वियोगी जस्ता महान् आदर्श व्यक्तिहरुसँग  बसेको र प्रधानमन्त्री स्वयं पदेन सदस्यको हैसियतमा उपस्थित हुने बैठकको सचिवको रुपमा काम गरेको कहाँ भ्रष्ट, नीच, निकृष्ट, बोली, व्यवहार, चरित्रका गन्हाउने र घीनलाग्दा अनुहार । भक्तपुर गएको २५–२६ दिनपछि एकदिन बिहानै “कुनै हातमा उक्त कार्यक्रम सफल हुन नसक्ने, बरु छिटै फिर्ता नगरे किसान विद्रोह हुने स्थिति” देखेर प्र.मं कीर्तिबाबुकहाँ गएँ । 
वहाँ सबै आगन्तुकहरुलाई आँगनमा हिँड्दै सबैका कुरा एक एक गरी सुन्ने पुरानैशैलीमा भेटमा व्यस्त देखें । एकछिन पर ठींग उभिएँं । हातले इशारा गरेर बोलाउनुभयो । सबै वस्तुस्थिति जाहेर गरें । “पंचायत तथा जग्गा विकासका कर योजना तुरुन्त फिर्ता गरौं, नभए यसले किसान विद्रोह निम्त्याउने र व्यवस्थालाई नै खान्छ” के भनेको थिएँ । “राजाको इच्छा बुझ्नुपर्छ । भाषण गर्ने होइन, जसरी हुन्छ सफल पार्नू । सुवेदी लागेपछि सक्छ भन्ने खड्ग बहादुर र मन्त्रालयको विश्वास रहेछ, जानूँ ।” मैले सायद मनले जितेकोले पनि होला, हात जोड्दै ओठे जवाफको रुपमा जवाफ दिए “कुनै सार्वजनिक ठाउँमा होइन, देशको प्रधानमन्त्रीज्यूमा यथार्थ वस्तुस्थिति जाहेर गर्नु आफ्नो कर्तव्य ठानेर निवेदन गर्न आएको हुँ, “गलत गरेको भए माफ पाउँ हजूर ! भने, “ल अहिले जानू पछि भेट्नू” भन्नुभयो । 
यता झण्डै ३–४ वर्षसँगै बसेर काम गर्दा प्रयागराज सिंहलाई सभापतिको रुपमा भन्दा “एउटा राष्ट्रले नै गौरव गर्नुपर्ने, उच्च नैतिकवान, शालीन, सधैँ सबैलाई साह्रै सम्मान गर्ने, तर स्वाभिमानी र आफ्नो स्पष्ट दूरदर्शीता (भिजनरी) भएको, पदले भन्दा व्यवहारका कारण साह्रै आस्था र श्रद्धालायक व्यक्ति” ठानेको थिए । त्यो श्रद्धा र स्नेहपूर्ण सम्बन्ध आज चार दशक पछिसम्म यथावत् छ । त्यसैले सभापतिको रुपमा परम आदर साथ “दाई” भन्ने गर्दथें र गर्छु । कीर्तिबाबु कहाँबाट फर्केको भोलिपल्ट “प्रयाग दाई” कहाँ कीर्तिबाबु कहाँ गएको र त्यहाँ भएको कुरा सुनाएँ । 
त्यसै बीच एकदिन गृहमन्त्रालय गएको थिएँ । दीर्घराज कोइराला (उद्योग वाणिज्य सचिव)ज्यूसँग जम्काभेट भयो । नमस्कार गरें । आफ्नै शैलीमा “कहाँ हुनुहुन्छ” भनेर सोध्नुभयो । भक्तपुरको पी.डी.ओ.छु भने । वहाँले “कहाँ कहाँ बरालिँदै हिडेको, म कहाँ आउने हो” भन्नुभयो । “हजूर जस्ता महान् व्यक्तित्वको मातहतमा बसेर काम गर्ने अवसर पाए त टाउकोले टेकेर आउँछु  नी” भनेर भनें । 
खाद्य कृषि मन्त्रालयमा काम गर्दा त्यस मन्त्रालय अन्तर्गत पर्ने कृषि विकास मन्त्रालयका अध्यक्ष एवं महाप्रबन्धकमा वहाँ (दीर्घराज) कार्यरत हुँदा राम्ररी चिन्नु हुन्थ्यो । सचिव र मन्त्रीकहाँका वैठक र नीति योजना सम्बन्धी मस्यौदा तयार गर्दाको मेरो काम देखेर प्रभावित हुनु हुँदो रहेछ, “ल म हेर्छु” भन्नुभयो । “प्रयाग दाई !” लाई त्यसरी दीर्घराज सचिवज्यूसँग सिंहदरबारमा हिड्डाहिड्दैभएको कुरा पनि सुनाएँ । प्रयाग दाई सधैँ “तारा बाबु” कि “तारा भाई !” भनेर संवोधन गर्नु हुन्थ्यो । फेरी, मैले कतै भनसुन गरिदिनु होला कि भनेर डराईडराई “कीर्तिबाबुले एक वर्ष बस्नु भनेको कुरा कसरी परिपालना गर्ने सँगै भन्ने पीडा बोध गरिरहेको कुरा कीर्तिबाबुले भनेका कुरा सुनाउँदै वहाँको निर्देशन नमान्दाको सम्भावित दुष्परिणामबाट कसरी बच्ने ? भन्ने आशयले नै प्रयाग दाईलाई सोधेको थिएँ । 
वहाँ (प्रयाग दाई) जस्तो देशको राष्ट्रिय राजनीतिलाई गम्भीर भएर नियाल्नु हुने व्यक्तिलाई “पञ्चायत व्यवस्थाको दार्शनिक पक्ष, राजाको इच्छा चाहना, र त्यसलाई आधार भूततह (ग्रास रुटलेबल) सम्म पु¥याई कार्यान्वयन गर्नुपर्ने दायित्व भएका राजनीतिक कार्यकर्ता (पंचहरु) को भ्रष्ट र स्वार्थी चरित्र बारे जसरी यावत् कुरा थाहा थियो, त्यो सबै कुरा बडो मार्मिक रुपमा सुनाउनुभयो ।  
त्यसपछि वहाँले “तारा बाबु” तपाईं जस्तो मान्छेले सबै देख्नुबुझ्नु भएकै छ । राजाबाट जुन महान् आदर्श र राष्ट्रनिर्माणको उच्च भावनाले पंचायत व्यवस्थाको शुरुवात भयो र सफल पार्ने प्रयास भयो, अब तिनै पञ्चायतको भजन गाउने भ्रष्ट र बेइमान पञ्चले नै पञ्चायत व्यवस्था सिध्याउने देखिराखेको छु । राजाले जति थेगेर पनि नथेगिने स्थितिमा तपाईंले के गर्न सक्नु हुन्छ ? कीर्तिबाबु साच्चिकै राजभक्त भएकोले राजाको भावना र चाहना पूरा गर्न तपाईंलाई भन्नुभयो । तर प¥यो भने म पनि कीर्तिबाबुलाई सम्झाउँला । तपाईं जस्तो मान्छे भक्तपुरका ती भ्रष्ट फटाहासँग बसेर काम गर्न सक्नु हुन्न । कि तपाईं पनि त्यस्तैसँग मिलेर भ्रष्टाचार गर्नुप¥यो, जुन तपाईंको स्वभाव र नैतिकताले स्वीकार्दैन । कि सरुवा भएर भाग्नु प¥यो । त्यसैले तपाईंहरुको सरुवा गर्ने त सामान्य प्रशासन मन्त्रालयले हो क्यार ! म श्रीभद्रजीलाई । “तपाईं जस्तो इमान्दार र सक्षम मान्छेलाई भक्तपुरमा राखेर नबिगार्नुस् ।, अरुमन्त्रालयमा पठाइ दिनुहोस् भन्छु” भन्नु भयो । 
त्यसपछि उद्योग वाणिज्य मन्त्रालयमा सरुवा भयो । एक अर्थमा कीर्तिबाबुका निमित्त “भूमिगत” भएँ । यता दीर्घराज सचिवज्यूले “मैले मन्त्रालयमा राख्न कहाँ ल्याएको हो र ! विभागमा गएर काम गर्नु पर्छ । बरु कहाँ जाने भन्नु” भयो । मैले “झण्डै १० वर्षसम्म गृहपञ्चायत मातहतमा अधिकृत भएर काम गरें, जेट चढ्न पाएको छैन, त्यो नभए पनि बदनाम नहुने ठाउँमा जान पाउँ” भनें । तर एक घण्टा पछि वहाँले त्यस बेलाको बढी विवाद र बदनाम ठाउँ “वाणिज्य विभाग”मा आजैदेखि लागू हुने गरी सरुवा गरेको तुरुन्त होजीर हुन हुन जानु” भनेर आफैले सही गरेको पत्र पाएँ । फेरी गएर कपाल कन्याएको मात्रै के थिएँ । तीन महिनाको निम्ति जानू त्यसपछि हेर्छु” भन्नुभयो । तर झण्डै तीन वर्ष सम्म (वहाँ सचिव रहँदासम्म) वाणिज्य विभागमा थन्क्याई दिनुभयो । (त्यस बखतका काण्डै काण्डका प्रकाण्ड काण्डको इति वृत्तान्त पछि, लेख्ने छु । 
त्यसै बीच (झण्डै ९–१० महिनापछि २०३५ सालको चैत्रदेखि) विद्यार्थीहरुले पाकिस्तानका पूर्व प्रधानमन्त्री (राष्ट्रपति जुलफिकर अलि भुट्टो)लाई मृत्युदण्ड दिन लागेको विरोधको नाममा आन्दोलन शुरु गरे । फाँसीमा चढाइ सकेपछि विद्यार्थी आन्दोलनले उग्ररुप लियो । फलस्वरुप २०३६ जेष्ठ १० गते “जनमत संग्रह” गर्ने शाही घोषणा भयो । १२ जेष्ठमा कीर्तिबाबुले “आफूले पञ्चायतका पक्षमा मत माग्ने र पदमा रहेर पंचायतको पक्षमा खुलेर लाग्नु आफ्नो नैतिकताले नदिने ठानेको” कारण जनाई प्र.मं. पदबाट राजीनामा दिनुभयो । र पञ्चायत व्यवस्थाको पक्षमा जनअदालतमा खुला बहस अभियान शुरु गर्नुभयो । 
त्यसै सन्दर्भमा सायद असार (२०३६) को अन्त्यतिर हो क्यार ! भक्तपुरको झौखेलको आमसभामा पञ्चायतको पक्षमा मत दिन आग्रह गर्दा स्थानीय केही उदण्ड व्यक्तिले गोवरले हानेर फर्काएछन् । पत्रिकामा नै समाचार आएको थियो । 
कीर्तिबाबु पदमुक्त भएपछि सधैँ आफ्नो घर (निवास) ज्ञानेश्वरबाट विहान सबेरै एउटा लठ्ठी हातमा लिएर एक्लै बिहानभर मर्निंगवाक गर्नुहुन्थ्यो । एकदिन एकाबिहानै म पनि कुनै कामले लाजिम्पाट हुँदै पानीपोखरी तिर जाँदै गर्दा हालको सांग्रिला होटलको ठीक अगाडि तिरको फुटपाथबाट उत्तर पुगेको थिएँ । उत्तर (पानीपोखरीतिर) को पूर्वतिरको फुटपाथमा कीर्तिबाबु फुर्तिसाथ लमक् लमक् गर्दै आउनु भएको देखें । पारी फुटपाथबाटै नमस्कार गरें । वहाँले नमस्कार फर्काउँदै  हातले आफूतिरको फुटपाथमा बोलाउनु भयो, गएँ । जान बित्तिकै तारानाथ जी कहाँ हुनुहुनछ, सोध्नुभयो । डराइ डराई लोसे स्वरमा फलानो मन्त्रालयअन्तर्गत काम गर्दैछु भने ।
वहाँले एकाएक “तारानाथजी तपाईंले एउटा कुरा भन्नु भएको थियो नि ! ठीक भन्नुभएको रहेछ, बुझ्नुभयो” । अलि सास र साहस आयो । अलिकति हाँस्दै भने, “हजूर मैले त सायद धेरै कुरा निवेदन गर्थे, कुन चाहि हजूरलाई ठीक लागेको होला” । प्रति प्रश्न गर्ने धृष्टता गरें  । बडो सहजतापूर्वक “त्यो जग्गा विकास कर लागू भएको थियो नि ! तपाईंले “तुरुन्त फिर्ता गरौं” भन्नुभएको थियो । त्यो ठीक सल्लाह रहेछ । हेर्नुस्, खड्गेले बढी जिद्दी ग¥यो । फिर्ता गर्न मानेन । केहीदिन पहिले पञ्चायतको पक्षमा भोग माग भक्तपुर गएको के थिएँ, गोबरले हानेर फर्काए बुझ्नुभयो । बाहिया रहेछ खड्गे (खड्गबहादुर सिंह)” । 
वहाँले आफ्नो नेतृत्वको मन्त्रिपरिषद्मा सधैँ खड्गबहादुर सिंह र जोग मेहेरलाई पटक पटक मन्त्री मात्रै बनाउनु भएको थिएन । सबैभन्दा महत्वपूर्ण मानिएको गृहमन्त्री बनाउनुभयो । तर दुवैले धोका दिए कीर्तिबाबुलाई डुबाए र अन्त्यमा सधैँ कीर्तिबाबुलाई सिध्याउने दाउ खोजि हिँडेका महा खुराफाती र षडयन्त्रकारी सूर्यबहादुर थापाको विश्वास पात्र बन्न पुगे । 
त्यो सबै घटनावलीहरुलाई एउटा जागिरे (अधिकृत) को हैसियतले भन्दा विद्यार्थी जीवनदेखि नै राजनीतिबारे भ्याएसम्म चाख राखेर हेर्ने विश्लेषण गर्ने गरेकोले कीर्तिबाबु बारे “वहाँ राजनीतिक खेलाडी भन्दा सच्चा राष्ट्र राष्ट्रियता र जीवनभर मन वचन कर्मले राष्ट्रिय स्वार्थ र स्वाभिमानका लागि समर्पित भीम मल्ल र भीमसेन थापाको प्रतिनिधि पात्र हुनुहुन्थ्यो  भन्ने निष्कर्षमा पुगेको थिएँ । त्यस्ता सच्चा र उच्च नैतिकता भएका राष्ट्रवादी सपूत अब सायद नेपालमा जन्मिएला कि नजन्मिएला ? यही चिन्ता सहित चितामा श्रद्धाञ्जली दिने संयोग नमिले पनि यिनै सम्झनाका शब्दावलीद्वारा ससम्मान श्रद्धाञ्जली ।


Rating (Votes: )   
Share     Print


Other Articles:
घर डढाएर खरानी बटुल्ने काम ! (11.15.2017)
“कीर्तिबाबु”सँग जोडिएका आफ्नै केही स्मरणीय क्षणहरु (11.15.2017)
नेतृत्वको संकट, राजाको प्रश्न– जनताको उत्तर (11.07.2017)
मन्त्रीको रजोनिवृत्तिकाल तोकिनुपर्छ (11.07.2017)
दीजीको नीति नियत र पुरीको भ्रमण ? (11.07.2017)
संघ भनेको जोड्ने कि टुक्र्याउने ? (10.11.2017)
निरपेक्ष पर्यवेक्षकको नजरमा वर्तमानको राजनीतिक परिदृश्य (10.11.2017)
सवारी चालक सभ्य र शिक्षित भैदिए‘ (09.12.2017)
“माझी” र “मोदी” (09.12.2017)
कुलो भत्काउने– पानी आएन भन्ने ? (09.06.2017)
भ्रष्टाचारीका पक्षधरहरुको मनोविज्ञान (?) (09.06.2017)
अब पद्धति नै फेर्नेतिर सोच्नुपर्ने हो कि (08.29.2017)
दुई प्र.म. बीचका दुई “गुफ्तगु भेट” को रहस्य (?) (08.29.2017)
स्वास्थ क्षेत्रको लगानीस् नाफा कि सेवा ? (08.29.2017)
नयाँ भनेको इतिहासै मेट्नु हो ? (08.15.2017)
प्र.म.को भारत भ्रमण कुबेलामा नै हुन लागेको भएपनि सफल होस् (08.15.2017)
संघीय¬जातीय उन्माद र दुष्परिणाम (08.08.2017)
सीमा युद्ध र संरक्षणको प्रश्न (08.08.2017)
विवेकसम्मत परिवर्तन ः आजको खाँचो (07.26.2017)
यस्तै नै हो भने- तारा सुवेदी (07.26.2017)



 
::| Latest News

 
[Page Top]