युगसम्बाद साप्ताहिक

नेता बहकिएका कि बहकाइएका ?
Tuesday, 11.28.2017, 11:19am (GMT5.5)

- महेश्वर शर्मा
जतिसुकै ठूलो र अभूतपूर्व परिवर्तन भयो भनिए पनि देश आज अनेकथरि समस्याबाट ग्रस्त छ । यी समस्याको समाधानन गर्ने भन्दै राजनीतिक आन्दोलन भयो, जनताले जानेर, नजानेर साथ दिए । व्यवस्थाा बदलियो, पात्र बदलिए तर प्रवृत्ति बदलिएन । देशको सबैभन्दा ठूलो समस्या गरीबी र रोजगारीको अभाव हो । गरीबीको कारण चाहिं अशिक्षा हो । गरीबी र अशिक्षा यी दुबैको कारण सामाजिक–राजनीतिक अव्यवस्था हो यसलाई सुधार गर्नुको साटो यसैलाई राजनीतिक औजार बनाएर अघिबढ्ने नेताहरुले राम्रो काम गरेर पनि राजनीतिमा जन्म सकिन्छ भनेर किन नसोचेका होलान् ? राम्रो भाषण गर्ने नराम्रो काम गर्ने प्रवृत्ति कायम छ र यसको कारण स्वार्थान्ध राजनीतिक नेतृत्व हो । तर अशिक्षित–गरीब जनतालाई आफ्नो पछौटेपनको वास्तविक कारण भने थाहा छैन । अधिकांश जनता अझै पनि गरीब अथवा धनी हुनु पूर्व जन्मको कमाइ हो भन्ठान्छन् । उनीहरूलाई परम्परदेखि त्यस्तै भनिंदैआएको छ । शोषणको यो परम्परा आजको युगमा पनि नेताहरूले चलाइरहेका छन् । त्यसकारण जनतालाई शिक्षित र सचेत बनाउनु राजनीतिकर्मीको पहिलो कर्तव्य हो तर उनीहरू त्यो काम गर्दैनन् । किनभने जनता जान्ने भएमा नेताहरूको ठगी धन्दामा बट्टा लाग्छ । त्यसैले उनीहरू राजनीतिक स्वार्थ हेरेर काम गरिरहेका छन् । त्यो स्वार्थ भनेको चुनावी स्वार्थ हो ।
चाणक्यको भनाइ छ– ‘दुर्बलस्य बलं राजा’ अर्थात् कमजोर जनताको बल राजा हुनुपर्छ । आजका सन्दर्भमा राजा भन्नाले सरकार सम्झनु पर्दछ । लुच्चा, लफंगा, फटाहा, टाठाबाठाले निर्बल जनतालाई दुःख दिन, ठग्न नपाउन् भनेर नै त्यस्ता कमजोरको रक्षा राज्य व्यवस्थाले गर्नुपर्ने भन्ने आशय थियो तर आज सरकारमा भएका सुरे पाँडेहरूले नै दुर्बललाई निचोर्ने र हुनेखाने बाहुबली ठालूहरूकै पक्ष लिएको हुनाले सामान्य दुखी–पीडित जनताले गुहार नपाएको स्थिति छ आज । सरकार चलाउनेहरू नै बलशाली र अपराधीका संरक्षक बन्छन् भने कमजोर जनताले साथ पाउने स्थिति हराइसकेको छ । यहाँ त हिजो आज भाषण जनताका पक्षमा र काम चाहिं हुनेखाने शोषक फटाहाका पक्षमा भैरहेको छ । सरकार मूल समस्यालाई बेवास्ता गर्दै असमर्थप्रति दया देखाए जस्तो गरेर आरक्षण, कोटा जस्ता क्षणिक टालटुले काम गरेर पीडित जनताका आँखामा छारो हाल्ने काम गर्दैछ ।
यदि यस्तै गरेर जनतालाई अन्धकारमा राख्ने हो भने धनी र गरीबबीचको खाडल बढ्दै गएर सर्वप्रथम नेता, हुनेखाने, धनीमानी भनिएकाहरूलाई नै पिर्नेछ । काम, रोजगारी र खान नपाएपछि समाजमा चोरी, डकैती, लुटपाट, अपहरण, हत्या समेतका अपराध वृद्धि हुँदै जाँदा हुनेखानेहरूले नै सुखसंग खान, सुत्न पाउने छैनन् । सामाजिक अव्यवस्थापले कसैलाई पनि बस्न खान दिने छैन । त्यस्ता लक्षण अहिले नै देखिन थालेका छन् । सम्भवतः त्यही डरले हो कि केही बदनाम पूर्व मन्त्री र नेताहरू विहान घुम्दा पनि २।४ गार्डको घेरामा देखिन्छन् । अब पनि सामाजिक विभेद र असमानता हटाउँदै लानेतर्फ काम नगर्ने र बेलैमा गरीबी, अशिक्षा र बेरोजगारी हटाउन सार्थक काम नहुने हो भने समाज नै भ्रष्टाचार र अपराधीकरणको भासमा पर्न बेर लाग्ने छैन । त्यसकारण नेताहरूले राजनीतिलाई सही बाटोमा ल्याएर आजको अव्यवस्था र अराजक स्थितिलाई नियन्त्रणमा ल्याउन कति सार्थक काम गर्न सक्छन्, त्यसैमा भोलिका दिनको स्थिति निर्भर रहनेछ ।
राजतन्त्रले गर्दा देश पछिपरेको भन्नेहरूले गणतन्त्र घोषणा गरेका १० वर्षमा जनतालाई के दिए खै ? राजतन्त्रकालमा आजको जस्तो अराजक स्थिति थियो ? जनताको विचली थियो ? आज त त्यो बेलाकोभन्दा सयौं गुणा भ्रष्टाचार र अनाचार बढेको छ । स्वयं सत्ताधारी नै भ्रष्टाचारका आहालमा पौडी खेलिरहेका छन् । आज गरीबी र बेरोजगारीले गर्दा दैनिक हजारौंको संख्यामा युवाशक्ति कामको खोजीमा विदेशिन वाध्य भएका छन् । मित्र राष्ट्रहरूले अनुदानमा बनाइदिएका कतिपय उद्योग, कलकारखाना कमिशन खाएर बेचिएका थिए भने बाँकी पछिआएकाले पैसाका निम्ति बन्द र हड्ताल गर्दागर्दा बन्द गराए । औद्योगिक क्षेत्रहरूमा आज सिस्नु उम्रेको छ । वास्तवमा देशले उन्नति गर्न नसक्नाको मूल कारण नेताहरूकै दरिद्र मानसिकता हो । यिनीहरूकै स्वार्थले गर्दा देश अधोगतिमा छ । यिनीहरूकै भरपर्ने हो भने नेपाल आज नेपाल आज जुन स्तरमा छ त्योभन्दा निकै तल झर्नु निश्चित छ । जे रोपिन्छ त्यही फल्ने हो । नेताहरू विष रोपेर अमृत खोज्छन् भने कहाँ पाइन्छ ? कुतीतिर लाग्ने, अनि काशी पुगिएन भनेर हुन्छ ? नेताकै बेइमानीले गर्दा देशले धेरै क्षति व्यहोरिसकेको छ । नेताकै भरपर्दा पर्दा साढे छ दशक सित्तैमा खेर गए । अब त्यसको बेजो उठाउन कस्सिनुपर्छ, नत्र समयले पर्खदैन ।
नेताहरूले निरपेक्ष भएर जनतालाई वास्तविकता बुझाउनुपर्छ नत्र केको नेता ? यहाँ त उल्टै जनतालाई फुटाउने कुचेष्टा पो गरिहेका छन् । योभन्दा पीडादायक स्थिति अरु के हुन्छ ? वास्तविकता बुझेर पनि नेताहरू किन बहकिएका हुन् ? कुन स्वार्थले बहकाएको हो ? यसका पछाडि के बाध्यता छ ? किन शत्रु हँसाउने काम हुँदैछ ? जनताले पनि थाहा पाउनुप¥यो नि ? राज्य व्यवस्था संचालन गर्न आवश्यक नियन्त्रणात्मक अनुशासन त जहाँ पनि चाहिन्छ, नत्र त आजकै जस्तो अराजक स्थिति हुन्छ । इमानदारीका साथ सुशासनका निम्ति काम गर्ने स्वच्छ मनसाय हो भने व्यवस्था हैन सही व्यवहार देखाए पुग्छ ।
‘मुखलाई मही छैन, पींधलाई घीउ’ भनेझैं आफ्नो देशमा सियो र टाँकसम्म पनि बन्दैन । तिनै बाँदर सेनाले बन्द र हड्ताल गराउँदा गराउँदा भएकै उद्योगधन्दा समेत बन्द भैरहेका छन् । बेरोजगारी समस्याले विकराल रुप लिएर देशको युवाशक्ति कामको खोजीमा विदेशिन बाध्य छ । एकातिर उन्नत मुलुकहरूको देखासिकीमा देशलाई बजारमुखी अर्थतन्त्रमा छोडिएको छ । दश रुपियाँको माल आयात हुँदा दुई पैसाको पनि निकासी छैन । आफ्नो उत्पादन भए पो प्रतिस्पर्धामा अडिन सकिन्छ । थिरिन नसक्दै दगुर्न खोजेर पनि हुन्छ ? प्रारम्भिक काम नै नगरी ठूलठूला काम आँट्ने, देशको, समाजको अवस्था विचारै नगरी कुन कुरालाई प्राथमिक दिनुपर्ने हो भन्ने सोच्दै नसोचि अति महत्वकांक्षी बनेर हिंड्दा परिणाम पनि विचार गर्न सक्नुपथ्र्यो । भ¥याङको पहिलो खुड्किलो हुँदै पाइलो चाल्दै जानुपर्नेमा एकैचोटी शिरानको खुड्किलो टेक्न खोजेर मुलुकको यस्ताृ अवस्था आएको हो कि । आफ्नो हविगत विचारै नगरी सस्तो राजनीति गर्न खोज्दा बाटो बिरिएको तर्फ नेताहरूले बेलैमा सोचेर उपयुक्त पाइला नचाल्ने हो भने स्थिति अरु विग्रन सक्छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com