युगसम्बाद साप्ताहिक

जित्ने त धेरै होलान् ? तर देश नराम्ररी हार्दैछ ।
Tuesday, 12.05.2017, 03:46pm (GMT5.5)

- तारा सुवेदी
यस पटकको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई निकै नजिकमा पुगेर हेर्ने र बुझ्ने मौका मिल्यो । यद्यपि यस पहिलेका खास गरी बालिग मताधिकार प्रयोग गरी आम मतदाताले तत्कालिन दलविहीन पञ्चायती शासन प्रणाली अन्तर्गतको विधायिका  (राष्ट्रिय पञ्चायतका) लागि प्रतिनिधि निर्वाचित गर्ने बेलादेखि नै आफूले कुनै न कुनै रुपमा भूमिका निर्वाह गर्ने नगरेको होइन, थिएन । प्रत्येक निर्वाचनका बेला उम्मेदवारको चरित्र, पृष्ठभूमि र उनीहरूले आम मतदातालाई दिने गरेको आश्वासन एवं प्रत्येक पटक दोहो¥याउने गरेको वाचाबन्धन (कसम) र प्रतिबद्धता, निर्वाचनमा विजयी हुनेले देखाउने व्यवहार, सत्ता, शक्ति र स्वार्थ सिद्धिलाई जस्तो सुकै घटिया अनैतिक आचरण र भ्रष्टाचारी, प्रवृत्ति आदिलाई पनि मैले जति सक्दो नजदीकबाट नियाल्ने गरेको थिएँ होला, सम्भवत् धेरै सचेत प्रवुद्ध र स्वतन्त्र बुद्धिजीवी (दलका टीक दलाल बुद्धिजीवी होइनन्) –ले पनि हेरे बुझे जानेका थिएनन् भन्ने होइन । 
तर माथि उल्लेख गरेझैँ आफूले देखे (२०१५ साल) देखीको आमनिर्वाचन स्थानीय तह तदुपरान्तका सबै प्रकारका सर्वोच्च विधायिका (राष्ट्रिय पञ्चायत) सदस्य, प्रतिनिधि सभा सदस्य र संविधान सभा सदस्य निर्वाचनलाई हेर्दा एउटा अविच्छिन्न र तिव्रतर रुपमा आम मतदातालाई धन, “असम्भवम् आश्वासनदेखि भ्रम, आपराधिक पृष्ठभूमिका जनसँगै क्रमशः गन र डनहरूका माध्यमबाट दबाब दिने किनर समस्त निर्वाचन जित्न सम्पूर्ण जायजभन्दा सीमान्त नाजायज हथकण्डा प्रयोग गर्ने परम्परा स्थापित हुँदै गएको भयावह परिवेश स्थिति पहिलेदेखि यो देशमा जसरी बलियो भइसकेको थियो । त्यसलाई यस पटकको स्थानीय तहका निकायदेखि प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यहरूको निर्वाचनसम्मका सबै चरणका निर्वाचनकालीन राजनीतिक दल र उम्मेदवारले “झन् छरपस्ट गरिदिएका छन् । उनीहरूले के पनि सन्देश दिइरहेछन् भने अब यो देशलाई विकास समृद्धि, समुन्नति र प्रगतिपथमा अगाडि बढाउने” भन्ने मायावी जालमा फँसाएर बिनासको भड्खारोमा लगेर, जाक्नेमा जानेर वा नजानेर, पनि राष्ट्रिय सहमति साथ अगाडि बढ्दै गरेको स्पष्ट भएको छ । 
भलै, झूठको खेती गर्दै आएका उनीहरूले यस कुरालाई स्वीकार्न तयार नहोलान्, त्यो अर्कै कुरा हो । किनकि, जतिसुकै दुष्ट, भ्रष्ट, निकृष्ट, नीच नराधम, खँुखार, अपराधी, हत्या हिंसामा कुख्याति कमाएका व्यक्तिले पनि आफूलाई सज्जन स्वच्छ निष्कलंकित र शुद्धबुद्धको प्रतिनिधि पात्रभन्दा फरक देखाउन नचाहँने हाम्रो समाज र व्यक्तिको चरित्र नै रहेछ । 
देशको यस्तो समग्र अस्वाभाविक, अस्वस्थकर र अनपेक्षित, परिवेशमा जे जस्ता स्वप्नलोकीय सुख, समृद्धि, समुन्नतिको गँजेडी गफको पुलिन्दा (घोषणा पत्र) निर्वाचन प्रचारप्रसार क्रमका भाषण मार्फत् आम मतदातासम्म पु¥याइएको छ, त्यसैलाई राजनीतिक दल र अन्य स्वतन्त्र उम्मेदवारहरूले आउँदो आमनिर्वाचनलाई “महाभारतको जुवाको खाल” बनाउँदै लागेका त होइनन् ? धेरैले यस्तो पनि अनुमान रहेछ । 
जेहोस् निर्वाचन देश र जनताको सेवामा समर्पित हुने व्यक्ति छान्नेकोे माध्यम आम निर्वाचनलाई मान्ने र ठान्ने जुन स्वीकृत शाश्वत राजनीतिक शास्त्रको मान्यता र सिद्धान्त थियो, त्यसलाई विकृत गरी धन, गन, डन र सम्पूर्ण जाज, नाजायज, कुकृत्य, अपकृत्यका आडबलमा मतदातालाई खरीद गरेर, तर्साएर, धम्क्याएर आफ्नो पक्षमा मत हालेको देखाउने र त्यसैलाई ‘जनादेश’ जनसमर्थन “भनी वा मानी विजयी ठान्न मान्ने, त्यस्तैको ग्यांग भीड वा जमातको बलमा शासन सत्ता नियन्ता बनेर देश लुट्ने, र जनता चुस्ने भुट्ने जुन अपपरम्परा आज सुदृढ र स्थापित हुँदै गएको देखिँदैन त्यस्ता चरमविकृति पूर्ण संस्कृतिले यसमुलुकको राजनीति राजधानीका विष्णुमति, बाग्मती, टुकुचा र धोबीखोलाभन्दा प्रदूषित वा विषाक्त बनाएको छ” भन्नेमा सायद दल र उनका दलालबाहेक असहमत नहोलान् । 
यस्तो सीमान्त प्रदूषित वीषाक्त र सम्पूर्णत हानिकारक बन्दै गएको बाग्मती विष्णुमतीकै धाराभित्र जसरी त्यो पवित्रतम नदीको इतिहास विलिन भए जस्तै आजको राजनीतिको धारामा मूल्य र मान्यताको राजनीति गर्ने संकल्प सहित  आफ्नो सम्पूर्ण जीवन जनता र देशको सेवामा समर्पित गर्ने केही राजनीतिक क्षेत्रका अगुवा– जसलाई जनता नेता भन्न र मान्न संकोच मान्दैनन्– हरू या त स्वयं त्यस्तै भ्रष्ट, निकृष्ट, दुष्ट बन्दै डन, डाँका, हत्यारा, माफिया, तस्कर कालाबजारियाका संरक्षक र पृष्ठ पोषक भएर अगाडि बढ्नु पर्ने छ । या त “न दै त्यं न पलापनम्” को नीतिको झोली तुम्बी भिरेर राजनीीतक जगत्बाट सन्न्यास लिएर भाग्नु पर्ने स्थिति छ । त्यसरी अड्न र लड्न र भाग्न नसक्ने अवस्थामा बढ्ने त प्रश्न वा सम्भावना नै भएन । 
राजनीतिक नैतिकतामा आधारित निर्वाचन प्रणालीले मात्र लोकतन्त्र सुदृढ सबल र स्थायी हुन सक्छ । जब “जसले नोट दिन सक्छ, उसले भोट पाउन सक्छ” भनेर मतदाताले आफ्नो मत बढाबढमा दिने बेच्ने मनस्थिति बनाइसकेका हुन्छन् । त्यहाँ “लोकतन्त्र जनताको मत”को आडबल वा धरातलमा उभिएर राजनीतिका पेशवाहरूलाई आम निर्वाचन जनता र देश लुट्ने बलियो हतियार बाहेक केही हुँदैन, ठहरिन्न रहेछ । 
त्यसैले हिजो र भोलीका निर्वाचनमा यो देशका जो जति धन खर्चिन सक्छ, गुण्डा डनको दस्ता (समूह) जुटाउन परिचालन गर्न सक्छ, उही बेताजको बादशाह बनेर नेपाल र नेपालीलाई सुन्दर भविष्यको आश विश्वास दिलाउँदै त्यही जनतालाई चरम शोषण मात्र गर्ने छ । जनतालाई अर्को निर्वाचन नआउँदासम्म झण्डै हजारवर्ष पहिलेका (पहिलो शताब्दी तिरका) स्पार्टाकसका दासका रुपमा ठान्ने छन् भन्ने लाग्छ । 
सबैलाई थाहा छ जहाँ जहाँ नैतिकतालाई अनैतिकताले, विश्वासलाई धोकाले प्रतिस्थापना गर्छ त्यहाँ लोकतन्त्र लूटतन्त्रमा रुपान्तरित हुन पुग्छ । अपराधकर्मी, भ्रष्टाचारीहरूले जनताका सच्चा सेवकहरूलाई दर किनार गरेर हुने शासन गर्न हुन छन्, त्यहाँ जंगल राज हुन पुग्छ । त्यसकै ज्वलन्त र जीवन्त उदाहरण आज हामीले हाम्रै देश बन्न पुगेको देखि रखेका छौं । यसैले भन्ने पर्ने भएको छ “आगामी दिनका निर्वाचनहरूमा जित्ने जो जस्तो  सुकै व्यक्ति र शक्ति, दृश्य अदृश्य समूह दल  पनि हुन सक्नेछन्, तर निश्चित रुपमा बाजि ठोकेर भन्न सकिन्छ, देश आज हार्दैछ भोलि पनि हार्दै जाने छ । यसमा शंका नगरे हुन्छ ।  


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com