युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.17.2017, 04:05am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
सन्दर्भ निर्वाचन : करोडौं खर्चेर चुनाव जित्नेले देशका लागि के गर्लान् ?
Tuesday, 12.05.2017, 03:47pm (GMT+5.5)

- वेदराज पन्त

त्रिकोणात्मक संघर्षको पृष्ठभूमि
प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको तयारी पूरा भयो । अबको ७२ घण्टामा मतपत्रको नाममा मतदाताले कागजी मतदान गर्नेछन् । निर्वाचनको औपचारिकता पूरा हुनेछ । ‘काग कराउँदै छ, पीना सुक्दैछ’ यो लोकोक्ति चरितार्थ गर्दै अन्ततोगत्वा जसरी पनि चुनाव गर्ने र जसरी पनि जित्नैपर्छ भन्ने जिद्दी पूरा हुँदैछ । स्थानीय चुनाव जसरी सम्पन्न गरियो, जसरी तसरी जितियो । पहिलो चरणको ३२ जिल्लाको प्रतिनिधिसभाको चुनाव पनि सकियो । क्रियाको प्रतिक्रिया हुन्छ । स्थानीय र प्रतिनिधिसभाको पहिलो चुनाव जसरी सम्पन्न भयो त्यो क्रियाको प्रतिक्रिया सकारात्मक मात्र भएन, नकारात्मक पक्ष पनि उत्तिकै प्र्रवल छ । यसको व्याख्या विश्लेषण गर्नेहरुले मतदान गरियो कि मत नै विक्री भयो, आचारसंहिताको पालना निर्वाचन आयोगले नै कति ग¥यो । आसन्न दोस्रो चरणको चुनावको पूर्व सन्ध्यामा भएका बिस्फोटले म्यादी प्रहरीको ज्यानै लियो । दोस्रो चरणको चुनावपूर्व भएका आचारसंहिताको उल्लंघनको क्रममा गृहमन्त्रालयले सदावर्त जस्तै दशौं करोड आर्थिक सहायता कार्यकर्तालाई बाँड्यो । तुफानी प्रचार शैलीमा शीर्ष नेताहरुले गरेका भाषण दलीय राजनीतिक हल्लाखोर प्रचारात्मका दृष्टिले यथास्थान, यथामति रहे । वैचारिक दृष्टिले कमजोर र नीतिगत दृष्टिले अस्पष्ट रहे ।
समाजवाद उन्मुख संविधानको कार्यान्वयन गर्न हुनलागेको चुनाव नितान्त उपभोत्तावादी घोर पूँजीवादी र क्रुरतम हिंसावादी रणनीतिमा अस्वस्थ प्रतिस्पर्धात्मक भएकोासमसामयिक टिप्पणीकर्ताको टिप्पणी सुनिन्छ । गणतन्त्रात्मक लोकतन्त्र स्थापनाको औचित्य, उपादेयता र महत्व चुनावका प्रत्याशी उम्मेदवारहरुको क्रियाकलापमा देखिंदैन । “मेरो बाजेले घिउ खाएका थिए, मेरो हात सुङ् त” भन्ने उखान सरह सम्पत्ति र डनहरु चुनाव मैदानमा राजनीतिक दलका प्रत्याशी बनेका छन् । पालैैपालो “वल्लाघरे नरे पल्ला घर सरे” गर्नेहरु नै उम्मेदवारको मुकुण्डो फेरेर मत माग्न मीठा सपना बाँड्दै हिंडेका भेटिन्छन् । मतदान गर्नेहरु दानको बदला यो चाहिन्छ र त्यो चाहिन्छ भन्दै मतको मूल्य ससाना राज्यको प्राथमिक कर्तव्यभित्र पर्ने विकास सन्दर्भमा विनिमय हुनुपर्छ भन्दै शर्त राख्दैछन् । कताको लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयनको प्रसंग ? कताको लोकतान्त्रिक अभ्यास अथातो जसरी तसरी सत्तासीन हुने जिज्ञासामै दलका शीर्षस्थ नेताहरुका झुसिला डकारयुक्त गर्जनाको तनावयुक्त बिस्फोटक आक्रामक शैलीको चुनावी वातावरण उत्तेजक बनेको छ । यसै मेसोमा हिन्दु अधिराज्यको नारासहित विश्वका अर्बौं हिन्दुहरुको भावनालाई केन्द्रबिन्दुमा राखेर बसेका मतदातालाई हिन्दु अधिराज्यको धर्मसापेक्ष संविधान संशोधनको निमित्त मत माग्नेहरु सबै पार्टीमा भएको अर्को चर्चा नि चल्दैछ । यो हिन्दु मत तान्ने रणनीति हो वा धर्म रक्षार्थ हो वादविवाद छ । 

राष्ट्रिय आर्थिक बहस
वामपन्थी गठबन्धनले आधा शताब्दीसम्म शासन गर्ने प्रक्षेपण गरेकोमा आपत्ति जनाउने प्रजातान्त्रिक गठबन्धनका पक्षधर समाजवादको नारा लगाउँदै संविधान निर्माणको जश लिनेहरु ज्योतिषीले सातपल्ट प्रधानमन्त्री हुने भविष्यवाणी गरेको सुनाउँदै आमसभालाई सम्बोधनको विषय बनाएको सुनियो, देखियो र पढियो । उता यही मेसोमा नेपाल उद्योग वाणिज्य महासंघले ‘राष्ट्रिय आर्थिक बहस’का नाममा निर्वाचनपछिको अर्थतन्त्रका विषयमा आयोजना गरेको कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्रको निमित्त दिगो विकासको सन्दर्भ उठ्यो । 
स्मरण रहोस्– यो उद्योग वाणिज्य संघको स्थापनाको पहल राजा महेन्द्रको पंचायती शासनकालमा निजी क्षेत्रलाई संगठित गरी व्यापारिक विविधिकरण गर्ने हेतुले महेन्द्रबाट उदुघाटित उद्योगी व्यापारीको सम्मेलनपछि भएको थियो । यो संघले त्यसपछि निजी क्षेत्रलाई व्यापार विविधकरणा गर्ने उद्देश्यमा कति परिचालन ग¥यो त्यो छुट्टै अध्ययन अनुशीलनको विषय हो । यसै अवधिमा केही व्यापारिक घरानाहरुले पंचायतकालमै आफ्नो जग मजबुत बनाए । त्यस्तै धरानामा भारतीय मूलका मारवाडीहरु अग्रपंक्तिमा पर्छन् । गोल्छा, दुगड र चौधरी ग्रुपको वर्चश्व अर्थतन्त्रमा अहिले कायम छ । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी विश्वकै अर्बपतिहरुमध्ये एक हुन्, जसले अबौंको राजश्व बुझाउँछन् । बहुराष्ट्रिय कम्पनीका विश्व विख्यात यी चौधरी समाजवाद उन्मुख लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनेपछि यसअघि एमालेर्फबाट संविधानसभामाा समानुपातिक सदस्यका हैसियतले प्रतिनिधित्व गर्थे । अहिले कांग्रेसका शीर्षस्थ नेतालाई उछिन्दै बिपीकै समकक्षमा चर्चित कांग्रेस नेता बनेका छन् । विश्वकै अर्थतन्त्रका तन्तु बुझेका ठानिने यी हस्तीको राजनीतिक पहुँच पनि शिखरमै छ । नरेन्द्र मोदीले जितबहादुरको परिवार पत्ता लगाउन मात्र यिनलाई जिम्मेवारी दिएका होइनन्, नाकाबन्दीताका यी हस्ती र भाजपाका हस्तीहरुबीच संवाद गर्न तत्कालीन ओली सरकारले पहल गरेको चर्चाले विनोद चौधरी राजनीतिक रणनीतिकार पनि हुन् भन्ने सावित गर्छ । 
गणतन्त्र घोषणाको एक दशकभित्रै चौधरी ग्रुप विश्वव्यापी भएको हो कि ? यसको जग र पूर्वाधार पंचायतमै बनेको थियो ? त्यो अर्को अध्ययनको विषय हो । यसबारे आम जनताको जिज्ञासा यथासमयमा समाधान होला । नवउदारवादको उपभोक्तावादी मार्गमा बिपीको समाजवाद परित्याग गर्दै अघि बढिरहेको नेपाली कांग्रेसको अर्थनीतिका संयोजक बनेका विनोद चौधरी कुनै दिन अर्थमन्त्री नै हुनसक्ने क्षमतावान छन् । शाश्वत धामजस्तो धार्मिक स्थलका निर्माणमा करोडौं खर्च गर्ने चौधरी हिन्दु धर्मावलम्बी हुन् । नेपालको गणतन्त्रात्मक समाजवाद उन्मुख लोकतान्त्रिक संविधान कार्यान्वयनको दिशातर्फ खिचातानीमा परेको बेला कट्टर हिन्दु चौधरीले सक्रिय राजनीतिमा तन, मन, वचन र धन समर्पण गरेका छन् । उता उपभोक्तावादको विस्तार चुनावमा प्रत्यक्ष देखिएको छ । खर्बौं रुपैयाँ खर्च हुने यो चुनावले गरीब देशका धनी नेताको चित्र विश्वकै निमित्त चर्चायोग्य बनेको छ ।

जिज्ञासै जिज्ञासा
नेपाल विश्वको आर्थिक मानचित्रमा गरीब, अल्पविकसित मुलुकका रुपमा चित्रित छ । तर, यहाँका विनोद चौधरी विश्वकै धनाड्य पंक्तिमा कसरी पुगे ? यो जिज्ञासा प्रत्येक नेपालीमा छ । यस्तै गरीब मुलुकका धनी नेताले चुनावमा खर्च गर्ने पैसाले धनी मुलुकलाई उछिन्छ । यसको कुनै उत्तर छैन । तर, यो गरीब देशको प्राकृतिक मानचित्रबारे विश्व नै जिज्ञासु छ ।
हिमवत्खण्डको हिम शृङ्खलामा मृत संजिवनी बुटी कहाँ किन कसरी कहिले उत्पत्ति भयो ? यो जिज्ञासाको उत्तर एउटै शब्दमा शब्दब्रह्म हो भन्ने वाक्य विन्यासमा चिन्तन गरे पाइनेछ । यस्तै यही हिमशृङ्खलामा देव, दानव, यक्ष, किन्नरका साथै ऋषिमुनि लगायतले किन केका निमित्त कसकसको कसरी तपस्या गरे ? यो जिज्ञासाको उत्तर वैदिक वाङमयमा विशद रुपले लिपिबद्ध भएकाले त्यसको पठनपाठन गरे पाइनेछ । अर्को यही हिमशृङ्खलाको वरपर बनेका कुण्ड तथा हिमतालहरु र यहीबाट बग्न थालेका पवित्र नदीहरु किन समुद्रतिरै निरन्तर प्रवाहित छन् ? यो  जिज्ञासाको उत्तर क्रान्तदर्शी कविहरुले रचेका काव्य–महाकाव्य र वेदव्यास रचित महापुराण एवं उपपुराणको अध्ययनबाट प्राप्त हुन्छ । यसरी नै तराईको लुम्बिनीमा जन्मेका गौतम बुद्धका अनुयायीले साधना गर्ने गुम्बा, हिमाली फेदमा निर्माण किन गरियो ? तराईमा जन्मेको बुद्धधर्म कसरी हिमालयको काखमा बसोबास गर्नेहरुले अपनाए ? लुम्बिनीमा जन्मेका बुद्ध अहिंसाको दूत बनेर विश्वभर शान्तिको सन्देश सुनाउने अवतार पुरुषका रुपमा कसरी स्थापित भए ? यो जिज्ञासाको समाधान उनैले खोज गरेर चार आर्यको सत्यको गहिराइमा पुगे स्वतः प्राप्त हुनेछ । 
यसरी नै विदेह जनकको राज्य मिथिलाञ्चलमाा शासन–प्रशासन, अनुशासन र जीवनशैलीको व्यवस्थाबारेको जिज्ञासाको समाधान उपनिषदमध्येको वृहदारण्यक उपनिषद र स्मृतिग्रन्थ लगायत याज्ञवाल्क्यको शतपथ ब्राह्मणको अध्ययन गरेपछि पाउन सकिन्छ । ऋषिमुनिहरुले हिमवत्खण्डका गिरिकन्दरा, तीर्थ–घाट र गुफाहरुमा समाधि कसेर लामो आयु व्यतित पनि गरे ? के योगदान दिए, कसलाई लाभ पुग्यो र त्यो योगदानले सृष्टि संरचनाको कुन पक्षको रहस्य कसरी उद्घाटित ग¥यो ? भूतकाल कसरी बित्यो, भविष्य कस्तो होला इत्यादि जिज्ञासाको समाधान उनीहरुले आफ्नो उत्तराधिकारीलाई हस्तान्तरण गरेका यावत वैदिक वाङ्मयमा कतै सूत्रवत रुपमा र कतै विशाल ग्रन्थका रुपमा कतै भाष्यका रुपमा र ती भाष्यमाथि कसै टीकाकारले गरेका टिप्पणीमा आएका छन् । यी सबै अध्ययन गर्नेले आफ्नो जिज्ञासाको समाधान स्वतः प्राप्त गर्छ । यो पृष्ठभूमिमा पश्चिमाले भनेजस्तो इशापूर्व प्राच्य संसार असभ्य, जंगली नै थियो त ? यस्तो जिज्ञासाको उत्तर प्राच्यले खोज गरेको शून्य (०)बारे अध्ययन गरेमा स्वतः समाधान हुनेछ । वैदिक गणितका पद्म, महापद्म र शंखसम्मका अंक एउटा एउटा शून्य थपिंदै जाँदाका संख्यात्मक बढोत्तरीका उदाहरण मात्र नभएर यो शून्य नभएमा कोरा भौतिकवादी विज्ञानका साथै इशा पश्चात्को विकासवादको अस्तित्व नै समाप्त हुनेछ ।
विधिको प्रकृतिक विधान विचित्रको छ । यो विचित्रताप्रति जिज्ञासा उत्पन्न हुन्छ । आकस्मिक रुपान्तरका घटना घट्दा अभूतपूर्व परिवर्तन देखिन्छ । एउटा स्थितिबाट अर्को स्थितिमा सबै रुपान्तर हुन्छन् । रात पर्छ– दिन हुन्छ । दुःख–सुख, अशान्ति, शान्ति, दुर्भिक्ष, सुभिक्ष, विवाद, प्रसादका अनेक परिवर्तन निरन्तर भैरहन्छन् । रावणको होस् वा हिरण्यकशिपुको, कंशको होस् कि वेनको वेदबिरोधी शास्त्रको विधि र विधिसम्मत प्राकृतिक विधान विपरीत निरंकुश शासन जन्मदैँ रहन्छन् । त्यस्तालाई राजतन्त्रको प्राच्य सिद्धान्त अनुरुप शास्त्रोक्त आचरण गर्नेहरुले नै अन्त्य गर्दछन् । यसको विवरण खोज्न जिज्ञासा राख्नेहरुले नरसिंहावतार, रामावतार, कृष्णावतारका जीवनशैली र उनीहरुका क्रियाकलाप कसरी शास्त्रसम्मत थिए यो अध्ययन गरे भने त्यहाँ पाउन सक्छन् । वेनको अत्याचारी शासनको अन्त्य ऋषिमुनिले जसरी गरे, पृथुको राज्याभिषेश भएर उनले राजकाज समालेपछि पृथ्वीतलमा कस्तो परिवर्तन भयो ? यसको विवरण अथर्ववेदले दिएको छ । भागवत महापुराणमा छ । जिज्ञासा उत्पन्न भए वैदिक वाङ्मयका यसता अभिलेखबाट समाधान खोज्न सकिन्छ ।
अहिले यस्तो जिज्ञासा नीति निर्माताहरुमा देखिंदैन । कथित लेखक, उपन्यासकार, पत्रकार, शिक्षित भनिएका शिक्षाशास्त्री उनीहरु प्रायशः सबै औपनिवेशिक प्रभावमा परेका छन् । यस्तो प्राच्य चिन्तन पक्षलाई उनीहरु पश्चगामी, प्रतिगामी भन्छन् । उनीहरुको अग्रगामी भनिने कथन विशृङ्खल छ । गन्तव्य कता हो, लक्ष्य, उद्देश्य के हो स्पष्ट छैन । अस्तव्यस्त रन्थमोलको हिंसात्मक सोचलाई उनीहरु अग्रगामी भन्छन् । सारा उपभोग्यवस्तु विषाक्त हुँदैछन् । त्यस्ता विषाक्त खाद्यपदार्थ, पेयपदार्थ र दूषित वायुले रुग्ण भएकाहरुलाई स्वास्थ्यसेवा दिन अनेक हरकत गरेर शिक्षा, स्वास्थ्य क्षेत्र कब्जा गर्छन् । निजी क्षेत्रमै नक्कली डाक्टर उत्पादन गर्ने मेडिकल कलेजका दुकान खोलेर नाफा कमाउन शिक्षा क्षेत्रमा व्यापार गर्छन् । आर्थिक लाभकै निमित्त यस्ता अस्वस्थ प्रतिस्पर्धा यसरी अन्य क्षेत्रमा विस्तार गरेका छन् । अहिले राजनीति नै अपराधीकरणको केन्द्रविन्दुमा छ । कागजको खोस्टोलाई मतपत्र भनिन्छ । त्यो मतपत्र किनबेच हुन्छ । त्यसरी सत्तासीन भएकाले कस्तो सत्ता संचालन गर्छन् ? त्यसैले नेतृत्व संकटले राष्ट्र दिशाहीन, शक्तिहीन भएर विफलता नै विफलताको दुष्चक्रमा फँसेको छ । प्राच्यमा आध्यातिमक नेता हुन्थे । जनकादि राजाहरु त्यस्तै थिए ।

शास्त्रको यथार्थ प्रशासन
शास्त्रसम्मत राजा दार्शनिक हुन्छन् । द्रष्टा नै दार्शनिक हुन् । राजा दार्शनिक हुनुका साथै दार्शनिकहरुकै मतले शासनारुढ हुन्छन् । लोकसम्मति अनुसारको शासन गर्दा शिक्षा, चेतनामा सत्ताले भरपर्नुपर्छ । यसैले विश्वविद्यालयको अवधारणा प्राच्यका चिन्तकहरुको चिन्तनमा आधारित छ । विश्व ब्रह्माण्डका सृष्टि संरचनाको चिन्तन हिमवत्खण्डमै तपस्यारत ऋषिमुनिले सर्वप्रथम गरेका थिए । परा र अपरा विद्याको स्रोत नै हिमवत्खण्ड हो । कैलाशमा निवास गर्ने शिवका डमरुबाट झंकृत महेश्वराणी सूत्रभन्दा पूर्व नै कहिल्यै ननासिने परा प्रकतिको चर्चा हिमवत्खण्डमा भएको थियो । आद्यशक्तिका रुपमा उद्भव देवी नै वेदमाता हुन् । वेदको अर्थ हुन्छ ज्ञान । ज्ञानको जननी भएकीले उनलाई वेदमाता भनियो । परा र अपरा विद्याको जननी भएकीले सबै ज्ञान जन्माउने देवी वेदमाता हुन् ।
ज्ञान अथाह छ । यथार्थबोध गराउने लौकिक ज्ञान नै भनेर गनेर भ्याइदैन । सृष्टि संरचनाको कारकतत्व चेतना पनि अर्को बिशुद्ध ज्ञान नै हो । चेतन, अर्धचेतन  अचेतनको विस्तृत परिभाषा छ । विज्ञानका सूत्र यति धेरै छन्– यो पढेर, पढाएर, भनेर सुनेर  कहिल्यै सकिंदैन, सम्भवै छैन । ब्रह्मालाई सृष्टि संरचना गर्न अथाह ज्ञानका सूत्र प्रदान गर्ने परब्रह्म नारायण हुन् । उनले ब्रह्मालाई सृष्टि गर्नुपूर्व तपस्या गर भन्ने आदेश दिए । विष्णुद्वारा तपस्या गर्ने, ज्ञान प्राप्त गरेका ब्रह्माले त्यसपछि सृष्टि गर्न थाले । सृष्टिका यावत प्राणी, वनस्पति स्थावरजंगम जेजति अस्तित्वमा छन्, ती सबैले जीवन प्रारम्भ तपस्याबाटै गर्छन् । यसैको प्रतीक हो सृष्टि विधान । जो अकाट्य नियममा परिचालित हुन्छ । नभका ग्रहगण, तारा मण्डल सबै नियममा परिभ्रमण गर्छन् । स्थलमण्डलका यावत प्राणी, वस्तु विशेषको जन्म मरणमा विधिकै हात छ । यो पनि नियममै चलेको छ । त्यसैले विधिको शासन नै शास्त्र अनुरुपको शासन हो । यस्तो शासनको सूत्र खोज्नुको साटो कागजको मतपत्र प्लाष्टिकको बाकसका खसालेर पैसा र शक्तिले किनेर जनमत पाएको भन्नेहरुले गर्ने शासनबाट देश र जनताको कसरी भलो होला ?


Rating (Votes: )   
Share     Print


Other Articles:
जित्ने त धेरै होलान् ? तर देश नराम्ररी हार्दैछ । (12.05.2017)
नेता बहकिएका कि बहकाइएका ? (11.28.2017)
मतदाताले लोकतन्त्र बचाउने कि राष्ट्रियता ? (11.28.2017)
“कीर्तिबाबु”को सन्दर्भमा (२) (11.24.2017)
घर डढाएर खरानी बटुल्ने काम ! (11.15.2017)
“कीर्तिबाबु”सँग जोडिएका आफ्नै केही स्मरणीय क्षणहरु (11.15.2017)
नेतृत्वको संकट, राजाको प्रश्न– जनताको उत्तर (11.07.2017)
मन्त्रीको रजोनिवृत्तिकाल तोकिनुपर्छ (11.07.2017)
दीजीको नीति नियत र पुरीको भ्रमण ? (11.07.2017)
संघ भनेको जोड्ने कि टुक्र्याउने ? (10.11.2017)
निरपेक्ष पर्यवेक्षकको नजरमा वर्तमानको राजनीतिक परिदृश्य (10.11.2017)
सवारी चालक सभ्य र शिक्षित भैदिए‘ (09.12.2017)
“माझी” र “मोदी” (09.12.2017)
कुलो भत्काउने– पानी आएन भन्ने ? (09.06.2017)
भ्रष्टाचारीका पक्षधरहरुको मनोविज्ञान (?) (09.06.2017)
अब पद्धति नै फेर्नेतिर सोच्नुपर्ने हो कि (08.29.2017)
दुई प्र.म. बीचका दुई “गुफ्तगु भेट” को रहस्य (?) (08.29.2017)
स्वास्थ क्षेत्रको लगानीस् नाफा कि सेवा ? (08.29.2017)
नयाँ भनेको इतिहासै मेट्नु हो ? (08.15.2017)
प्र.म.को भारत भ्रमण कुबेलामा नै हुन लागेको भएपनि सफल होस् (08.15.2017)



 
::| Latest News

 
[Page Top]