युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 01.16.2018, 03:12pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
“निर्लज्ज त थियौ नै, निर्वस्त्र पनि नभई देउ न !”
Tuesday, 12.26.2017, 11:27am (GMT+5.5)

- तारा सुवेदी
पृष्ठभूमि
“सत्ता बाहिर परेपछि आत्तिने, सत्तामा पुगेपछि मात्तिने र अलि दिन सत्तामा बसेपछि पात्तिने” काँग्रेसी मित्रहरुको जन्ममजात स्वभाव र चरित्र हो” भन्ने नेपालका गामवेशीमा स्थापित मान्यता रहेछ । नेपालका दूर दराज, गाउँबेसी, तराई मधेसको जनभावना र राजनीतिबारे गहिरो रुपमा जनताको मनोविज्ञान बुझेका झण्डै आठ दशकको नैटो काटेका आदरणीय अग्रज मित्रले झण्डै एक दशक अगाडि भनेको कुरा थियो त्यो । 
यद्यपि उक्त भनाई २०१५–०१७ को संक्षिप्त सर्वसत्ता काल– सर्वसत्ताकाल यसर्थ कि झण्डै दुई तिहाई भन्दा बढी सीट जितेर छोटै समयमा मै–मत्याई देखाएको र भुई छोडी सकेको–स्थितिमा नै स्थापित भएको थियो । तथापि २०४८ सालमा सुविधाजनक बहुमत प्राप्त गरि सत्तामा आएदेखि वीच बीचका ८–१० महिनाको संक्षिप्त काल खण्डमा बाहेक झण्डै पूरा एक चौथाई शताब्दीसम्म शासन सत्ताको एक लौटी वा हिस्सेदारी लिएर सत्ता पाए भोगेको पार्टी, भएकोले होला, त्यस दलभित्र “नेताको देवत्वकरण” र “सत्ता र शक्तिको निजत्व वा स्वामित्वकरण” गर्ने सम्मको विकृतिपूर्ण प्रवृत्ति एवं राजनीतिक संस्कार, संस्कृति निकै मौलाई सकेको देखिएको थियो । त्यसको ठेठ झलक देशमा सत्ता र शक्तिको निर्लज्ज र निर्धक्क दुरुपयोग गरेर, राज्यको ढुकुटी माथि लूट मच्चाउने र कुनै पनि प्रकारका असामाजिक तत्वदेखि डाँका, डनका आडवलमा राज्य संरक्षित हत्या, हिंसा, भ्रष्टाचार, दुराचार, अत्याचार, अनाचार र अपहरण अराधमा अपकीर्तिमानीको पूर्ण संरक्षण गरी, त्यस्ताको साथ, सहयोग र समर्थनमा ढुक्क भई निर्वाचनमा सहज विजयी वन्ने स्थापित परम्परा र प्रवृत्तिले प्रस्तुत गरी रहेको थियो । 
तर हालै सम्पन्न (२०७४ सालको) प्रतिनिधि सभाको निर्वाचनमा उक्त राजनीतिक चरित्र र प्रवृत्तिको नेतृत्व गर्ने केही पात्रले “डबल ह्याट्रिक” गरेर देखाउने अवसर प्राप्त गर्नबाट चिप्लिए । त्यो पनि अरुको कारणले कम र आफ्नै अतीतको पतीत कर्म, क्षुद्रता, नीचता, सानो छाती र मैं मत्याई पूर्ण रुखो, क्रूर र परपीडक चरित्र र प्रवृत्तिले बढी भूमिका खेलेको स्पष्ट देखिन्थ्यो । त्यति मात्र होइन यसपटक सांसद पद आफ्नो पैतृक विर्ता ठान्ने र आर्यघाट पुग्दा सम्म त्यो पद कायम रहने रहनुपर्ने ठान्ने मान्ने धेरैलाई यसपटकको प्रतनिधि सभा सदस्य निर्वाचनका माध्यमबाट जनताले ठिंगा देखाईदिए । सत्तासीन हुन पुगेकालाई सिंहदरबारबाट घोक्राई सडकमा पु¥याई दिए । 
“प्रजातान्त्रिक प्रणालीको प्रतिस्पर्धात्मक राजनीतिक अभ्यास गर्ने प्रतिबद्धता जनाउनेले अधिकांशवादीको संस्कार बोकेर सत्ता र शक्तिलाई बपौती ठह¥याउने सोंच र प्रवृत्ति स्वंयमा चरम विकृतिपूर्ण राजनतिको निकृष्टतम उदाहरण मानिन्छ । तर केही त्यस्तै राजनीतिक सोंच संस्कारको विऊ मन मस्तिष्कमा बाँकी रहँदा लोकलज्जाको डरत्रास हुँदासम्मका लागि मात्र रहेछ, त्यो कुरा लागू हुने । 
महाङ्काल अगाडि सडकमा भीख मागेर बसेकालाई एक जनाले ‘धने’ (धनबहादुर) र ‘दाने’ (दान बहादुर) भनेर बोलाउँदा म छक्क पर्ने गरेको थिए । अहिलेको प्रतिनिधि सभाको निर्वाचनको मुखमा बामपन्थी प्रमुख दलहरुबीच तालमेल भएपछि तिलामिलाएको काँग्रेस नेतृत्वको दक्षिणपन्थीहरुको सत्ता स्वार्थसूत्रले आबद्ध दलहरुले आफूहरु शासन सत्तामा आए के के गर्ने हो ? त्यस्को कार्यतालिका सहितको योजना कार्यक्रमको घोषणा पत्रमा प्रमुख रुपमा उठाउनेभन्दा “वामपन्थी भनेका कम्युनिष्टहरु हुन् उनीहरु शासन सत्तामा आए अधिनायकवादी शासन व्यवस्था स्थापित हुने, सर्वसत्तावादी हुने” भन्ने कुराको अहर्निश एकोहोरो शंख फुक्ने मात्र काम गरे । त्यस बाहेक “काँग्रेस नेतृत्वको गठबन्धन मात्र लोकतन्त्रको धर्म मर्म भावनाको परिपालक हो” भन्ने जुन झ्याली र ढोल बजाउनमा नै सम्पूर्ण समय खर्चेको देखियो, महाकालको वर पर र सडक छेउमा बसेर रक्सीले फूल हाउस भएका “धने” र “दाने”लाई सम्झिएँ । 
म काँग्रेसमात्र होइन कुनै दलसँग पनि सम्बद्ध छैन । स्वतन्त्र विश्लेषक र सानो “गुमनाम पत्रकार”को रुपमा मित्रहरुले चिनिदिँदा हुने पुग्ने व्यक्ति हुँ । तर मेरा भाषापाठशालाका वाल्यकालीन सहपाठी मित्रदेखि वनारस विश्वविद्यालयका समकालीन प्रदीप गिरी, ढुण्डिराज शास्त्री भागवत ज्ञवाली लगायतका धेरै साथीहरु नेपाली काँग्रेसमा छन् । त्यसमध्ये प्रदीप गिरी जस्ता प्रखर चिन्तक र अध्ययनशील, “नैतिक मूल्य मान्यताको राजनीति” र “विश्व इतिहास एवं प्रजातन्त्र, लोकतन्त्रको मूल्य मर्म र परिधि परिभाषाबारे हप्तौं व्याख्यान दिन सक्ने मित्रहरुलाई आज नेपाली काँग्रेस  भित्र के कुन शक्ति र माया स्नेहको डोरीले कसेर राखेको होला ? अचम्म लागेको छ । 
किनकि २०४५ देखि २०७४ सालसम्मको एक चौथाई शताब्दीसम्मको संसदीय देखी गतणतन्त्रात्मक संघीय लोकतान्त्रिक कालखण्डसम्म कुनै एउटा दलले बहुमत प्राप्त गरी एकलौटी शासन गर्ने जिम्मेवारी र अवसर पाएको थियो भने नेपाली काँग्रेसले मात्र पाएको थियो । २०४८ र २०५६ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा आम नेपाली मतदाता (जनता) ले सुविधा सम्पन्न बहुमत (कम्फर्टेवल मेजरिटी) नेपाली काँग्रेसलाई दिएका हुन् । त्यो कसरी प्राप्त ग¥यो, पायो ? त्यस्ता नजाउँ । दुर्भाग्य ! नेका मित्रकै गृह कलह र भारण्ड पन्छीको जस्तो एकले अर्कालाई “सडक छापे र सुकुम्वासी बनाउने अथवा घर झगडा भयो भनेर घरै जलाएर ध्वस्त पार्ने” अविवेकपूर्ण अराजक र चरम मूर्खतापूर्ण कार्य गर्न पटक्कै शर्म मानिएन । 
काँग्रेसको त्यस्तो “आममतदाताको मूल्यवान् अभिमतको पटक पटक अवमूल्यन र अपमान गर्ने” प्रवृत्तिलाई देख्दै आए पनि अस्थीर, सरकारको मार भोग्दै र खेप्दै आए पनि, “धर्मद्रोही नभएको र लोकतन्त्रवादी रामनामी ओडेको” देखेर काँग्रेसलाई नै पटक पटकको शासन सत्ताको मूल हिस्सेदारी दिने काम नेपाली जनताले गर्दै आएका थिए । यद्यपि झण्डै ६२% (वयसठ्ठी प्रतिशत) लोकप्रिय मत (पपुरल भोट) गैर काँग्रेसी वामपन्थीहरुलाई गएको थियो । ३५–३७ (प्रतिशत) ने.का.को पक्षमा तर वामपन्थी मत झण्डै आधा वा पौने दर्जन समूहमा बाँडिएर भाँडिएकाले काँग्रेस सधैं शासन सत्ता र शक्तिको हाली मुहाली लिन पाउन सफल हुँदै आएको थियो । 
मदन भण्डारीकै शब्दमा भन्नुपर्दा “सोझा र इमान्दार नभई कम्युनिष्ट हुन नसक्ने, त्यसै कमजोरीका कारण सधैं भित्री बाहिरी तत्वले “सबै वाम एक ठाम” हुन नदिने “षड्यन्त्र र कपटपूर्ण खेलका गोटी बनेका” वामपन्थीहरुमा अहिले जरुरी “किन हामी संयुक्त वा एक सम्बद्ध भएर प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नजाने ?” भन्ने सोंचाई आयो, त्यसैबाट बामगठबन्धनको जन्म भयो होला भन्ने धेरैलाई लागेको थियो । 
उता हामी सधैं किन काँग्रेसकै पछि लाग्ने भन्ने जनतामा उनीहरुको पहिलो गठबन्धनले “देशको स्थायित्व, शान्ति समृद्धि प्रगति र निकासको अबरुद्ध द्वार खोल्छ कि भन्ने (आम मतदातामा) जुन आश र विश्वास उत्पन्न ग¥यो । त्यसैको परिणाम अहिले भर्खर सम्पन्न आम निर्वाचनमा बामगठबन्धनलाई झण्डै दुईतिहाई बहुमतको नजीक पुग्ने सफलता प्राप्त भएको” भन्ने आमजनताले विश्वास गरेको देखिन्छ । 
तर पच्चीस वर्षसम्म कहिले बहुमतीय र कहिले अल्पमतीय सरकारको जिम्मेदारी पाएको नेपाली काँग्रेसको सरकारको शासन कालमा जे जस्ता भ्रष्टाचार, अधिकारको दुरुपयोग, सर्वसत्तावादी प्रवृत्ति, न्यायिक निष्पक्षता स्वतन्त्र पवित्रतामाथि निर्मम र निर्लज्ज बलात्कार र “अपराधको राजनीतिकीकरण, राजनीतिको अपराधीकरण, दुवैको संयुक्त प्रयासमा प्रशासन संयन्त्रकाको भ्रष्टीकरण गर्ने प्रवृत्ति काँग्रेस नेतृत्वमा जसरी को भन्दा किन को कम ? भन्ने हदमा पुगेर प्रतिस्पर्धा चल्यो, त्यसबाट असन्तुष्ट आम मतदातामा  काँग्रेसप्रति व्यामोह उत्पन्न भयो । 
त्यसमा पनि उसको “नेतृत्व सूत्र”मा आबद्ध अन्य च्याखे, अवसरवादी र मौका परस्त “छेपारा चरित्र”का दलहरुको “जोसेफ गोयवल्सवादी” प्रचार र हल्लालाई अनर्गल र दुष्पचार ठान्दै बाम गठबन्धनको सरकारको प्रयोग गर्ने पक्षमा जुन इच्छा र अभिमत जाहेर गरे त्यसपछि आफूलाई “लोकतन्त्रवादी, जनमतको सम्मान र सर्वोच्चताको हिमायती आदि विविध विरुदावलीबाट स्वयं विभूषित दल र त्यसका नेताहरु निर्वाचनका माध्यमबाट निषेधित भए । तर पनि आजसम्म राष्ट्र, राष्ट्रियता सार्वभौमिक स्वतन्त्रता माथिको नाङ्गो बाह्य हस्तक्षेप समेतलाई सत्ताको सौदावाजीको विषय बनाउने दुष्चेष्टा गर्दै रहे । त्यतिमात्र होइन सत्ता र शक्ति हत्याएको हत्यायै गरी भ्रष्टाचार, दुराचार, जस्ता यावत् अवाञ्चित र समाज विरोधी दुस्कीर्तिमानको कीतिमान (रेकर्ड) कायम गर्न पटक्कै लाज शर्म नमान्ने निर्लज्जहरु आज जनमत आफ्नो विपक्षमा गएपछि निर्वस्त्र भएर विक्षिप्त शैलीमा रोइलो र कोहलो मच्चाई रहेका देखिए । 
भनिन्छ “सर्पले मुखमा च्यापेको भ्यागुतालेट सर्पले ननिल्दासम्म उसले (भ्यागुताले) कीरा फट्याङ्ग्रा टिप्प छोड्दैन” । त्यसैलाई अहिले सत्तासीन प्रमुख दल ने.का.का. नेता र उनका हतियार, मतियारहरुले चरितार्थ गर्दै गरेको सरेआम देख्नु परिरहेछ । 
आजसम्म संस्थापकदेखि चैते र दलबदलु, नेपाली काँग्रेसका नेतासम्मले “आफूहरुले नै निरंकुश राणा र “शाहा” अधिवंशवादी शासन सत्ता फ्याँकेको” गुड्डी हाँक्न छोड्नन् । अझ कतिपय “वाक्पटु केटा नेताहरुले त “प्रचण्ड, डा. बाबुराम, वर्षामान जनार्दनहरुले सुन्दा के भन्लान्” भन्ने लाजै नमानी “नेपालमा हाम्रा नेता र हामीले नै गणतन्त्र ल्याएका हौं” भन्दै हिडेको पनि सुन्नुप¥यो । त्यसैले होला, उनीहरुले शासन सत्ताका हकदार अरुलाई ठानेनन्, मानेनन् । “जनता (आम मतदाता)ले काँग्रेसलाई जनादेश दिए मान्ने, धन्यवादका पात्र आदरणीय ठान्ने, अन्यथा जनादेश आए उहिलेको (परापूर्वमा आफूलाई प्राप्त अभिमतको) वैशाखी टेकेर पछिल्लो अभिमत अस्वीकार्ने” गिरिजाले प्रारम्भ गरेको विँडो थाम्दै अघि बढ्ने लक्षण यसपटक पनि देखाई रहेछन् । 
नेपाली काँग्रेस “अध्र्दसामन्ती चरित्रको संस्कारको वफादार संवाहक र संरक्षक पार्टी हो” भन्ने मान्यतालाई अहिलेको निर्वाचनमा पनि स्पष्ट गरे उनैले । त्यसैले त्यस्का शीर्षस्थ नेताहरुलाई गाम वेशीका गरिब, विपन्न, नागरिकले  उहिलेका राणाकालीन वडा हाकिम र शाहकालीन मन्त्री अंचलाधीशहरुलाई जस्तै गरी प्रभू, “मालिक” भनेर संवोधन गर्दा प्रफुल्ल देखिन्छन् भनेर प्रत्यक्ष द्रष्टा एक शिक्षकले सुनाएका थिए । हुन पनि शासन सत्ता नियन्ताहरु मध्ये धेरैमा र खास गरी काँग्रेस र उसका पिछलग्गुहरुमा “प्रभूवादी” संस्कार रगतको कण कणमा घुसेको स्पष्ट बुझिन्छ, देखिन्छ, अनुभव हुन्छ । त्यसैको कारणले पनि हुन सक्छ, कुनै नेता, मन्त्री, शासक प्रशासक त के गाउँ पुगेको सैनिक जवान र प्रहरीलाई समेत गाउँलेले “तपाई” भनेको मन नपर्ने र “हजूर”, “साव” भन्दा दंग पर्ने संस्कारले हामी सबैलाई गाँजेकै छ । जेहोस् । 
निर्लज्जताको इतिहास !
आम मतदाताले भर्खरै सम्पन्न निर्वाचनबाट “घोक्रे ठ्याक” लगाएका दर्जनौं व्यक्तिहरु आजको मितिसम्म मन्त्रीको हैसियतमा सडकमा झण्डा हल्लाउँदै र अगुवा पछुवा प्रहरी ताँती लगाउँदै “सवारी” हुँदा आम जनताले “वेशर्मीहरु निर्लज्जताको पुरानो परिचयलाई अहिले धरो समेत झिकेर हल्लाउँदै निर्वस्त्र सडकमा “सवारी” भएको” रुपमा हेरिरहेका त छैनन् ?  किनकि नंगाराजा”को नयाँ राजसी पोशाक (एम्पेरर्स न्यू क्लथ) को कथा धेरैले पढिसकेका होलान् ।
यद्यपि, नीतिसूत्रमा भनिएको छ, “वाराङ्कनेव नृपनीति अनेक रुपा” (राजनीति र वेश्याचरित्र भिन्न हुँदैन । दुवैले लाज शर्मको हेक्का राखे सफल व्यवसायी बन्न सक्दैनन्) उहिले (२०५९ साल जेठ ८ गते) तत्कालीन प्रतिनितिसभा विघटन गरी ६ महिना भित्र नयाँ निर्वाचन गराउने प्रतिबद्धता सहित प्रतिनिधि सभा विघटनका लागि सिफारिसि गरेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०५९ असोज १८ गते “६ महिनाभित्र माओवादी सशस्त्र जन विद्रोहको कारण निर्वाचन गराउन नसक्ने हुँदा एक वर्ष म्याद थप गरिपाउँ” भनी राजामा विन्ती पत्र चढाएका थिए । त्यसको अन्तर्यमा विना जनादेश, विना संसद र प्रतिपक्ष नै शासन सत्तामा टाँसिई रहने” नै थियो । 
२०६४ चैत्र २८ गते संविधान सभाको निर्वाचन सम्पन्न भयो । प्रत्यक्ष तर्फको २४० सीट  मध्ये १२० सीट ल्याई ठूलो दलको रुपमा जनादेश प्राप्त ने.क.पा. माओवादीलाई सत्ता हस्ताक्षर गर्नु पर्दा गिरिजा प्रसाद कोइरालालाई मृत्युवरण गर्नु जस्तै लाग्यो क्यार ! झण्डै ४ चार महिना पूरा हुँदा सम्म दर्जनौं बखेडा निकाले, सत्ता छोडेनन् । आफु नै राष्ट्रपति बन्ने उनको सपना पूरा गर्ने देशी विदेशी तत्व शक्तिको प्रयासको बाबजूद उनी असफल भएपछि बाँकी दोस्रो विकल्प उनको अनन्य भक्त सेवक डा. रामवरण यादवलाई राष्ट्रपति बनाएपछि “रुँदै सत्ता सुम्पिए” । जनादेश प्राप्त प्रचण्ड करीब ४ महिनापछि मात्र मन्त्री प्रधानमन्त्री हुन पाए । त्यसपछि सत्ताच्यूत ने.का. कोइरालादेखी देउवा र उनका भरौटे सम्मले जे जस्ता कृत्य गरे त्यसको हिसाब गरी साधा छैन, नगरौं । 
तर २०६८ जेठ १४ गते मध्यरातमा “संविधान सभा एवं अन्तरिम संसदको मौजुदा (अन्तरिम) संविधान २०६३ अनुसार म्याद समाप्त भएको” घोषणा माओवादी प्र.म. डा. बाबुराम भट्टराईले गरे । भोलिपल्ट (१५ गते) शनिबार थियो । पर्सिपल्ट (१६ गते) तत्कालीन “प्रधानमन्त्री डा. बाबुराम भट्टराई संसद सदस्य नरहेकोले स्वतः पदमुक्त हुनु भएको” भनी राष्ट्रपति कार्यालयबाट विज्ञप्ती जारी गरियो । साथै “अब कुनै पनि दूरगामी प्रभाव पार्ने वा महत्वपूर्ण विषयमा निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्लाई नभएकोले त्यस्तो काम कुरा प्र.म. भट्टराईले नगर्नु” भनेर ने.का.बाट वक्तत्य आयो । 
अहिले २०७४ मंसीर १० र २१ गते प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको सम्पूर्ण परिणाम आइसकेको छ । झण्डै दुई तिहाईको हाराहारीको बहुमत सहित वाम गठबन्धनले सरकार बनाउने जनादेश प्राप्त गरि सकेको छ । तर त्यही आफुलाई “लोकतन्त्रको मसीहा र नेपालको एकमात्र लाल मोहरिया” भन्ने पार्टीलाई जब आम मतदाताले सम्मानपूर्वक शासन सत्ताबाट गलहत्याई दियो । त्यसपछि पनि त्यसका नेता (प्र.म.)ले (काम चलाउ भएको दोस्रो दिन) आफूले पेश गरेको (असंवैधानिक) अध्यादेश जारी नगरेसम्म र राष्ट्रिय सभाको गठन नभए सम्म राजीनामा नदिने” लिँडे ढिपी लिएर सत्तामा बसी राखेको देखिएको छ । 
निर्वस्त्र हुने दुश्चेष्टा !
अझ अहिले त कतिसम्म सुनिँदै बुझिँदै र विश्वास गरिँदै छ भने कुनै देशका राजदूत मार्फत् वाम गठबन्धन भित्रका एक शीर्ष नेतालाई “अब बामगठबन्धनबाट बाहिर निस्केर ने.का. को निःशर्त साथ र समर्थनमा स.स. फो र राजपाको समेत गठबन्धन बनाई तिम्रै दलको राष्ट्रपति, प्रधानमन्त्री सभामुख बनाऊ”, त्यसलाई सफल पार्ने जिम्मा आफूले लिने भन्दै बाम गठबन्धन तोड्न र त्यो प्रयास सफल नहुँदा सम्म निर्वाचन आयोगलाई विधिवत् (औपचारिक रुपमा) राष्ट्रपतिसमक्ष निर्वाचनको परिणाम पेश नगर्न” दबाब दिइँदैछ । 
संभावना जे पनि होला, तर “लोकतन्त्रवादी”को वर्को ओढेर हिड्नेले जनमतलाई निर्वस्त्र भएर नाङ्गो चरित्र देखाउँदाको परिणाम के र कस्तो होला । होला, यसरी पनि केही समय सम्म सत्तामा टाँसिईरहने, टिकुरी र बजेटको चरम ब्रह्मलुट गर्ने, गर्न सकिएला । सबै मन्त्रीहरुलाई “अव जति दिन रहन्छौं, लूट, अनुचित, उचित नहेर संविधान, ऐन कानुन र विधि विधानका प्रक्रिया पद्धति धोती लगाऊ र देखे भ्याए सम्मको पद बेचेर हुन्छ कि ठेक्का पट्टा सदर बदर गरेर हुन्छ, कुम्ल्याउ, वोराभर, र सात पुस्ताको लागि बन्दोवस्त गर, कुनै संवैधानिक निकाय र अधिकारीको तागत छैन र उसले तिमीलाई रोक्ने छैन” भनेर लखनउ लूट मच्चाउन सकिएला । तिमीले जुन “अध्यादेश” जारी हुनुपर्ने अड्डी लिइरहेछौं हिजो संसदको म्याद सकिएको भोलीपल्ट नै तिम्रै दलका राष्ट्रपतिले प्र.म. स्वत पदमुक्त भएको “विज्ञप्ति जारी गरेको नजीर समाएर तिमी पनि पदमुक्त भएको विज्ञप्ति जारी गर्नुपर्ने नगरेको कारण मैले बाटो पायौं होला । 
तर संविधानतः शेरबहादुर संसद सदस्य नभएको कारणले धारा ७७ (१) (ग) बमोजिम स्वतः पदमुक्त भई सोही धारा उपधारा (३) अनुसार “अर्को मन्त्रिपरिषद् गठन नभएसम्मको” कामचलाउकै हैसियतको प्र.म. हो) भन्ने हेक्का स्वयं प्र.म.ले राख्नु पर्दथ्यो कि पर्दैनथ्यो ?
राजनीतिमा संविधान ऐन कानुन भन्दा नैतिकता र परम्परा सर्वोपरी हुन्छ तर त्यस्तो नैतिकताको हेक्का ने.का.ले राख्दै नआएको भए पनि जनताले सत्ताबाट बाहिर पु¥याएको (काम चलाउ सरकारले पेश गरेको अध्यादेशको भोली स्वामित्व नयाँ सरकारले लिन्छ कि लिँदैन ? हो, ने.का.ले नै बहुमत पाएर पुनः सत्तामा आउने स्थिति रहेको भए समस्या पर्दैनथ्यो होला । तर जुन गठबन्धनले आज “राष्ट्रपतिलाई अध्यादेश जारी गर्नु हुँदैन त्यो बेवारिसे हुन्छ हामी जिम्मेदारी लिने छैनौं” भन्दैछ उसको सरकार आएपछि (जुन निश्चित छ) संसदमा त्यो अध्यादेशलाई समर्थन अनुमोदन गराउने कसले ? पूर्व प्र.म. शेरबहादुरले कि, नयाँ बन्ने प्र.म. ले अध्यादेश पारित नभई अस्वीकृत भए गठित राष्ट्रिय सभाको वैधता के हुने ? त्यस्मा पनि उहिलेको (शाहकालीन) कानून व्याख्या ऐन २०१० लागु हुनु पर्ने अत्तो थाप्ने ? राजनीति गर्नेको सत्तामा बस्ने र हट्ने आधार भनेको संविधान ऐन कानुन होइन, नैतिकता नै हो । 
त्यस्तै आज “कुनै दलसँग आबद्ध नभएका, स्वच्छ छवि भएका, ख्यातिप्राप्त”को पगरी गुताएर जे जस्ता नव “लोकमानसिंह”हरुलाई प्रदेश प्रमुखमा नियुक्ति गर्न लागेको सुनिँदैछ, ती सबै “काला काँग्रेसी” भनेर निजामती क्षेत्रभित्र स्पष्ट चिनिएका वदनाम अनुहारहरु हुन् । त्यस्तालाई प्रदेश प्रमुख नियुक्ति गर्न राष्ट्रपति माथि  जसरी दबाब दिइँदैछ र “त्यो नियुक्ति नभएसम्म आफू सिंहदरबारबाट ननिस्कने” रुञ्चे जिद्दी गरिँदैछ त्यो सबै हर्कत र वर्कत सबै बुझेका आम मतदाता, बुद्धिजीवि, सचेत वर्गले अब सडकमा उत्रिएर “निर्लज्ज त पहिलो देखि थियौ नै जाँदाजाँदै आफ्नो शर्म ठाक्ने बाँकी धरो पनि झिकेर मुख छोप्ने काम त नगर न !” भनेर भने के गर्ने, त्यस्तो स्थिति किन बनाउदै छौं ?
त्यसमा पनि माथि उल्लेख गरिएझैं “यदि जनताले जसरी एक ठाममा बसेर स्थायी सरकार दिएर खाऊ” भनेर बामपक्षमा अभिमत जाहेर ग¥यो । त्यसलाई “बाह्य तत्वको अडबल र षड्यन्त्र जालझेलको खेलको प्यादा” बनेर अघि बढ्यौं भने इतिहास देखि नै सधैं “अपराजेय” देखिएको जनतासँग सोझैं लाप्पा खेल्ने दुस्साहस ग¥यौ भने, उसको आदेशको सीमान्त अवज्ञा गर्दै (नेपाली जनताले आफ्नो सधैं अहित चिन्तक भन्दै र मान्दै आएकाको आज्ञा आदेशको परिपालना गर्ने) आफ्नो पुस्तैनी परम्पराको बिँडो धान्ने तिर गयौं भने, याद गर ! त्यो अपराजेय “जनता जनार्दन”ले तिमीलाई जनद्रोही देशघाती “अव्राहम विद्कुन क्वीजिलिङ” को नेपाली संस्करण ठहर गरी त्यसै कसूर अनुसारको सजाय भागी बनाउने छ । र आज तिमीले जनतालाई जसरी सधैं झैं संविधानका एकलकाँटे व्याख्या गरे गराएर “चीट पनि आफ्नै पट पनि आफ्नै” भनेर सर्वसत्तावादी सोंचाईबाट जनतालाई आफ्नो स्वार्थको कहतारो बनाउने दुश्चेष्टा गरीरहेछौं, त्यसरी नै उसले तिमीलाई पनि समय सँगै आँधी बनेर बढारेर फाल्ने छ । त्यसैले अपराजेय जनता आँधी हो, ज्वालामुखी हो, त्यससँग लाप्पा खेल्ने कुचेष्टा नगर ! भोलि पनि राजनीति गर्ने हो भने बरु समयसँगै अघि बढ र अजय जनता जिन्दावाद ! भन ।


Rating (Votes: )   
Share     Print


Other Articles:
अविवेकी निर्णयको परिणाम ... (12.19.2017)
अजेय जनता जिन्दावाद (२) (12.19.2017)
नेपालको परिप्रेक्ष र संघीय शासन (12.12.2017)
प्राच्यका विश्वविद्यालय, शासनको भाषा र वर्तमान (12.12.2017)
अजेय जनता ! जिन्दावाद ! (12.12.2017)
कहिलेसम्म यो अराजक स्थिति ? (12.05.2017)
सन्दर्भ निर्वाचन : करोडौं खर्चेर चुनाव जित्नेले देशका लागि के गर्लान् ? (12.05.2017)
जित्ने त धेरै होलान् ? तर देश नराम्ररी हार्दैछ । (12.05.2017)
नेता बहकिएका कि बहकाइएका ? (11.28.2017)
मतदाताले लोकतन्त्र बचाउने कि राष्ट्रियता ? (11.28.2017)
“कीर्तिबाबु”को सन्दर्भमा (२) (11.24.2017)
घर डढाएर खरानी बटुल्ने काम ! (11.15.2017)
“कीर्तिबाबु”सँग जोडिएका आफ्नै केही स्मरणीय क्षणहरु (11.15.2017)
नेतृत्वको संकट, राजाको प्रश्न– जनताको उत्तर (11.07.2017)
मन्त्रीको रजोनिवृत्तिकाल तोकिनुपर्छ (11.07.2017)
दीजीको नीति नियत र पुरीको भ्रमण ? (11.07.2017)
संघ भनेको जोड्ने कि टुक्र्याउने ? (10.11.2017)
निरपेक्ष पर्यवेक्षकको नजरमा वर्तमानको राजनीतिक परिदृश्य (10.11.2017)
सवारी चालक सभ्य र शिक्षित भैदिए‘ (09.12.2017)
“माझी” र “मोदी” (09.12.2017)



 
::| Latest News

 
[Page Top]