युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 05.28.2018, 02:48am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
पहिले आफैंलाई चिन अनि अरुलाई !
Tuesday, 12.26.2017, 11:29am (GMT+5.5)

- वेदराज पन्त
आज हामी आफ्नो बाटो बिर्सेर अरुले देखाइदिएको बाटो हिंडिरहेका छौं । विशेषतः राजनीति, शिक्षा नीति, अर्थनीति, व्यापारनीतिमा यो लागू हुन्छ । आफ्ना पुर्खाले विरासतमा छोडेर गएका यी नीतिहरुको हामीले प्रयोग त के स्मरण समेत नगर्दा आज हामी कुहिराको काग जस्ता बनेका छौं । यो आलेखमा यस्तै केही सन्दर्भहरु जोडेर अघि बढिनेछ ।
सुरुवातमा त्रेतायुगको स्मरण गरौं । त्यो समयको घटना समेटेर वाल्मीकिले रामायण लेखे । त्यहाँ राजा जनकको राज्य व्यवस्था र उनको पूजा खण्डकोे शिव धनुषको प्रसङ्गका साथै सीता स्वयम्वरको अवसरमा उपस्थित वीर पुरुष, राजा, राजकुमारको वर्णन छ । श्रीराम, परशुरामको चरित्रको शब्दचित्र छ । रावण लगायतका अनेक पात्रहरूको प्रसङ्ग छ । अन्य पात्रहरूमा सयौं यस्ता पात्रहरू छन्, जो यो घटनाक्रममा संलग्न हुन आउँछन् । दशरथ राजा, उनका रानीहरू, युवराजहरू, मन्थरा र वशिष्ठ आदि ऋषिमुनिहरू, सुपर्णखा, मारीच र जटायु जस्ता अनगिन्ती पात्रलाई समेटेर लेखिएको यो ग्रन्थमा हनुमानसहितको विशाल वानर सेनाको रोचक साहसले भरिपूर्ण वर्णन छ । सीता र हनुमानको संवाद होस् वा योगवाशिष्ठ जस्तो अर्को ग्रन्थ होस् सवै नेपालको मानचित्रसंग सम्बन्धित छन् । कलीयुगका राजाहरूले नेपालभित्र वनाएका दरबारमा हनुमानलाई ढोकामा स्थापित गरेर ‘हनुमान ढोका’ नामाकरण गर्ने परम्पराले त्रेतायुगसम्म नेपालको राजतन्त्रको कुनै न कुनै सूत्र जोडिन्छ । त्यसबखतको यो समग्र प्रकरणमा घोत्लिदा “काशी, कशमेर, अजीव नेपाल” यो उक्ति स्मरण गरिन्छ । 
प्रश्न उठ्छ– के नेपाल त्यो कालखण्डमा अजीव नै थियो त ?
द्वापरयुगको अन्त्यतिर भएको महाभारतको कौरव पाण्डव युद्धमा नेपाल कौरवका विरुद्ध पाण्डव पक्षमा उभियो । पाण्डव पक्षले विजय पाएपछि नेपालमा पनि विजयोत्सव मनाइयो । त्यो कालखण्डका सर्वाधिक चर्चित अवतारपुरुष श्रीकृष्णका लीला यो भूभागमा रहेका जात विशेषका संस्कृतिसंग गासिन पुगे । भव्य कृष्णमन्दिर राजाहरूले नै बनाए । ललीतकलाको केन्द्रविन्दु नै मानिएको ललितपुरमा बनेको कृष्ण मन्दिर यसको एउटा उल्लेख्य साक्षको रुपमा खडै छ । कृष्णाष्टमीमा व्रत बस्नेहरू नेपालभरि छन् । गुरुङ संस्कृतिमा कृष्ण चरित्रको विशेष महिमामा नाचगान समेत गरिन्छ । गोवद्र्धन पर्वतको पूजा गरेर तिहारमा गोरु तिहार मनाइन्छ । यस्ता अनेक प्रसङ्ग कोट्याउने हो भने नेपाल अजीव नै छैन त ?
ईशापूर्व ५२० वर्ष अघिदेखि १८ औं शताब्दीसम्म नेपालभित्र धर्म–संस्कृति, अर्थ–संस्कृति, शिल्प–संस्कृति, व्यापार संस्कृतिको स्रोतकेन्द्र रहेको चर्चा त्यसबखतका पर्यटकहरूले आफ्नो स्थलगत अध्ययनको क्रममा गरेका टिपोटहरूमा उल्लेख गरे । तिब्बत, चीन, दक्षिण भारत तथा भारतीय उपमहाद्वीपबाट नेपाल घुम्न आएका तीर्थयात्री, व्यापारी र शोधखोजकर्ता विद्वानहरूले नेपालीका घरभन्दा पनि धेरै संख्यामा नेपालमा सुनका छाना र गगनचुम्बी सुनका गजुर भएका असंख्य मन्दिर देखेर छक्कै पर्दै अनायास मुखबाट शब्द उच्चारण गरे ‘अजीव नेपाल !
नेपालको गौरवमय इतिहासको विगतको त्यो कालखण्ड सांस्कृतिक, सामाजिक, आर्थिक तथा प्राकृतिक विशेषता तथा गौरवमय इतिहासका कारण अजीवकै मानिदैन त ?
ईशाभन्दा कैयौं सय वर्ष पहिले महाभारतको युद्धमा सरिक भएको नेपाल, बुद्ध जस्ता शान्तिका दूतले जन्म लिएको नेपाल, चिनीया विद्वान फाइयानले मुग्ध कण्ठले प्रशंसित नेपाल, जैनसाधु भद्रबाहु र सम्राटअशोकले लुम्बिनीसम्म आएर स्थापित गरेको अशोकस्तम्भ, मानदेव र अंशुवर्माले राजतन्त्र अन्तर्गत संचालन गरेको राज्य र हुआङ्ग सेनले भ्रमण गरेको तत्कालीन नेपाल, नेपाली चेली भृकुटीले तिब्बतका राजा स्रोङचङ गम्पोसंग गरेको विवाह र चीन तिब्बतमा हरितताराको रुपमा आफू स्थापित भएको प्रसङ्गले नेपाललाई अजीव नेपालको संज्ञाले सम्बोधन गर्नपर्ने अवस्था सिर्जेको हो त ?
ईशाको छैठौं शताब्दीमै राजा नरेन्द्रदेवले प्रतिनिधिमण्डल पठाएर चीनसंग सुसम्बन्ध कायम गरेको ऐतिहासिक प्रसङ्ग लगायत भाषागत क्षेत्रमा पनि उत्तिकै चर्चित र सुधारका क्रममा जयस्थिति मल्लको सामाजिक सुधार, महेन्द्र मल्लको तलेजु भवानीप्रतिको श्रद्धा र मन्दिर निर्माण प्रसङ्ग, काजी भीम मल्लले गरेको तिब्बत विजय लगायतका ऐतिहासिक साक्षले साच्चै नेपाल अजीव छैन र ?
१८ सय १४ देखि श्री ५ पृथ्वीनारायण शाह तथा शाहवंशका अन्य उत्तराधिकारीले करिब सात दशक (६८ वर्ष)सम्म संरक्षण, सम्वद्र्धन र सुसंगठनद्वारा एकीकरण गर्न गरेको अथक परिश्रमले यो अजीव नेपालको अजीव इतिहास छ भन्ने प्रमाणित गर्दैन त ?
नेपालले चीनसंग लडेन कि भारतमा सशक्त उपस्थित भएको विशाल साम्राज्यवादी शक्ति ठहरिएको कम्पनी सरकार भनिने बेलायतसंग लडेन कि ? भारतीय नबाब र तिनका मतियारसंग लडेर वीरताको प्रदर्शन पटकपटक गरेन कि ? पूर्व टिष्टादेखि पश्चिम किल्ला काँगडासम्मको भूभागलाई एकीकरण गरेर गौरवगाथा रचना गरेको नेपाललाई अजीव नेपालको नामाकरण गरिएकोमा के आश्चर्य ?
यस्ता अनेक साक्ष्यले नेपाललाई अजीव नेपालको संज्ञाले विभूषित गरेको प्रमाण छ ।
परापूर्वकालमा नेपालमै संस्कृत भाषाको व्याकरणका उद्भट विद्वान पाणिनिको जन्म भएको प्रमाणिक तथ्य छ । त्यसबखत चिनीया र बर्मिज भाषा बोलिन्थ्यो भन्ने भाषाविद् र इतिहासकारको भनाइ छ । प्राचीन व्राह्मी लिपीलाई गुप्त लिपिले बदलेको र मैथिली, हिन्दी, फारसी भाषाले ११ औं शताब्दीयता नेपालमा प्रवेश गरेको भाषाविद्हरूको कथन छ । यसैले पनि अजीव नेपाल भन्ने कहावतलाई थप बल दिंदैन त ?
नेपालका मुख्य अदिवासी वैष्णव हुन् । यसको प्रमाण उपत्यकाभित्रै स्थापित ४ दिशाका चार नारायणले सगर्व दिएका छन् । नेपालमा पाशुपत धर्म पनि परापूर्वकालदेखि नै चलेको थियो । इशाभन्दा अढाई शताब्दी पहिले नै बुद्ध धर्मका हीनयान र महायानको प्रचार नेपालभर भएको थियो । छैठौं शताब्दीपछि सातौं शताब्दीको पूर्वाद्र्धमा यो उपमहाद्वीपको भ्रमणमा आएका चिनीयाँ विद्वान हुयान सेन लगायतले आफ्नो यात्रा विवरणमा नेपालबारे समेत विस्तृत वर्णन गरेर अजीव नेपालको गौरवमय गान गरेका साक्ष्य झुठा हुन् त ?
चाँगुनारायणको स्तम्भमा चारौं शताब्दीमै राजा मानदेवको संस्कृत भाषामा प्रशस्ती लेखिएकाले र राजा अंशुवर्माले संस्कृत व्याकरण लेखेर प्रचार प्रसार पठनपाठन गरिएका ऐतिहासिक सन्दर्भका साथै भृकुटीसंग तिब्बत गएका शिवमञ्जु नामका पण्डित संस्कृतका धुरन्धर विद्वान थिए भन्ने ऐतिहासिक साक्ष्यले अजीव नेपालको महिमा स्वतः प्रष्ट गर्दैन त ?
यसरी नै पन्ध्रौ शताब्दीतिरै नेपाली पण्डितहरू ज्ञान र धर्म संस्कृतिको अथाह विद्याको कुम्लो बोकेर त्यसको प्रचारार्थ चीन, मंगोलियातर्फ गएका थिए भन्ने अभिलेख छन् । यसले पनि अजीव नेपालको प्राच्य भूमिका के र कस्तो थियो स्वतः प्रष्ट हुन्छ ।
दशौं शताब्दीतिरै नेपाली कागज भारततर्फ निकासी हुन्थ्यो । १२ औं शताब्दीमा चीनतिर नेपालको वास्तुकला समेतको अगाध ज्ञान लिएर नेपाली वास्तुकलाविद तथा शिल्पी अरनिको चीनका वादशाह कुवलय खान समक्ष पुगेर वार्तालाप गरेको र बेइजिङमै श्वेत पैगोडा बनाएर नेपालीको अमर उपस्थिति जनाएको साक्ष्यले पैगोडा शैलीको प्रादुर्भाव नै नेपालमै भएको र यसले नेपाललाई अजीव नेपालको संज्ञा सटीक छ भने प्रमाणित गर्दैन त ?
यी सवै पीढी शिक्षाकै ज्वलन्त केही उदाहरणीय प्रसङ्ग हुन् । याज्ञवल्क्य लगायतका प्रकाण्ड विद्वानका स्मृतिग्रन्थ यसै भूमिमा लेखिए । यस्ता प्रसङ्ग कति छन् कति ? विगतमा यस्तो सुन्दर, सुखद् र सुसभ्य, सुसंस्कृतिले समृद्ध नेपाल अहिले जुन हालतमा यो कालखण्डमा चर्चित छ, त्यो पनि अजीव नै छैन त ?
नेपाल एकीकरणको प्रसङ्गमा गोखनाथको पृष्टभूमि र योगवलको आशीर्वाद चर्चित भएजस्तै १६ सय वर्ष अघिको इतिहासमा मच्छेन्द्रनाथको समेत ठूलो योगदान भएकै कारण नेपालका सिक्कामा ‘जय जय गोरखनाथ’ लेखिनु र उनै मच्छेन्द्रको नाममा रथयात्रको प्रचलन चल्नु पनि अजीव नेपालको अर्को कडी हो । प्राच्यमा राज्य व्यवस्थाको लौकिक प्रवन्ध गर्नमा योगीहरूको अतुलनीय भूमिका थियो । गोरखनाथभन्दा पूर्वका मच्छिन्द्रनाथ शताब्दीयौं अगाडि नै नेपालमा जनमनमा स्थापित भएर तिनैको नाममा रथयात्रा सुरु हुनु, अहिलेसम्म चल्नु अजीव नेपालको ऐतिहासिक विशेषता मान्नैपर्छ । योगीहरूले आफ्नो योगवलको शक्तिले स्थापित गरेको यस्तो अनेक सन्दर्भले नेपाललाई अजीव नेपाल भन्नु उक्तिसंगत छैन त ?
ऋग्वेदमा देवेन्द्रको चर्चा पटकपटक भएको छ । नेपालमा यिनै देवेन्द्रको इन्द्रजात्रा मनाइन्छ । त्यसैले नेपाली संस्कृतिमा ऋग्वेदको समेत प्रभाव छ । इन्द्रजात्रा जस्तै भोटो जात्रामा जुन प्रक्रियाले भोटो प्रदर्शन गरेर प्रमाणको खोजी हुन्छ, त्योबखत त्यो स्थलमा न्यायको प्रतीक राजाकै उपस्थिति हुनुपर्ने परम्पराले पनि नेपालको शासकीय ढाँचा न्याय गर्दा प्रमाणमा आधारित थियो भन्ने स्पष्ट हुन्छ । अजीव नेपालका यस्ता अनगिन्ती प्रसङ्ग यथास्थानमा अलपत्र पर्दैछन् । पीढी शिक्षाका यस्ता जग कता कता पुरिएर विस्मृतिमा दविएका छन् । आफ्नो पहिचान आफैंले गुमाएर आधुनिक र प्रगतिशीलको मुकुण्डो मात्रै भिर्न थालेको वर्तमान पीढीले आफ्ना सन्ततिलाई पथभ्रष्ट बनाउनु सिवाय कुनै निश्चित गन्तव्य दिनसक्ने के कस्ता त्यस्ता दूरदर्शी कार्य गर्दैछ ? विचारणीय छ । पीढी शिक्षाको अन्तिम सूत्र हो भीडमा नहराउनु, आफ्नो परिचयबोधक चिन्ह नमेटाउनु । यसैले पीढी शिक्षाले जोड दिन्छ– “पहिले आफैंलाई चिन” !!


Rating (Votes: )   
Share     Print


Other Articles:
राजनीति किन सधैं सत्ता र सम्पत्तिमा केन्द्रित ? (12.26.2017)
“निर्लज्ज त थियौ नै, निर्वस्त्र पनि नभई देउ न !” (12.26.2017)
अविवेकी निर्णयको परिणाम ... (12.19.2017)
अजेय जनता जिन्दावाद (२) (12.19.2017)
प्राच्यका विश्वविद्यालय, शासनको भाषा र वर्तमान (12.12.2017)
नेपालको परिप्रेक्ष र संघीय शासन (12.12.2017)
अजेय जनता ! जिन्दावाद ! (12.12.2017)
कहिलेसम्म यो अराजक स्थिति ? (12.05.2017)
सन्दर्भ निर्वाचन : करोडौं खर्चेर चुनाव जित्नेले देशका लागि के गर्लान् ? (12.05.2017)
जित्ने त धेरै होलान् ? तर देश नराम्ररी हार्दैछ । (12.05.2017)
नेता बहकिएका कि बहकाइएका ? (11.28.2017)
मतदाताले लोकतन्त्र बचाउने कि राष्ट्रियता ? (11.28.2017)
“कीर्तिबाबु”को सन्दर्भमा (२) (11.24.2017)
घर डढाएर खरानी बटुल्ने काम ! (11.15.2017)
“कीर्तिबाबु”सँग जोडिएका आफ्नै केही स्मरणीय क्षणहरु (11.15.2017)
नेतृत्वको संकट, राजाको प्रश्न– जनताको उत्तर (11.07.2017)
मन्त्रीको रजोनिवृत्तिकाल तोकिनुपर्छ (11.07.2017)
दीजीको नीति नियत र पुरीको भ्रमण ? (11.07.2017)
संघ भनेको जोड्ने कि टुक्र्याउने ? (10.11.2017)
निरपेक्ष पर्यवेक्षकको नजरमा वर्तमानको राजनीतिक परिदृश्य (10.11.2017)



 
::| Latest News

 
[Page Top]