युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 01.16.2018, 03:12pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
नदुखेको टाउको डोरीले बाँधेर दुखाइदैछ
Tuesday, 01.02.2018, 01:43pm (GMT+5.5)

- महेश्वर शर्मा
भएभरका प्रहरी र म्यादी प्रहरी, सशस्त्र प्रहरीले पनि नपुगेर आधाभन्दा बढी सैनिक र आपत्कालिक हवाई सैन्यदस्ता तैताथ गर्दा पनि अहोरात्र बम बिस्फोट एवं दशौं हजार पक्राउबीच भीषण लडाई जस्तो जगजगी भए पनि शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भनिएको निर्वाचन भर्खरै समाप्त भएको छ । निर्वाचन आयोगको निरिहता पनि अपूर्व नै देखियो । दलहरुले एक अर्का बिरुद्ध लगाएका आरोप–प्रत्यारोप जनताले कति पत्याए, कति पत्याएनन त्यो आफ्नै ठाउँमा छ । अब दलहरु हारजितको समीक्षा र सरकार गठनको तानातानमा लाग्नु पनि स्वाभाविक छ । र त्यो क्रम सुरु पनि भैसकेको छ । भड्किला नारा र ओली–दाहालको चर्को शैली, कांग्रेसभित्रको विग्रह र नाकाबन्दीका बेलाको ओलीका अडानको चर्चा पनि बाम गठबन्धनका पक्षमा फापिलो भएको भनिंदैछ । तर, देशका लागि भने अनिष्टकै सूचक मान्नेहरु यहाँ प्रशस्त देखिएका छन् ।
अर्कातिर कांग्रेससंग लगनगाँठोमा र्आका दलहरु सांगठनिक हिसावमा कमजोर हुनु पनि कांग्रेसी हारको कारक बनेको स्थितिमा कमी कमजोरी सच्याउने अवसरका रुपमा लिनसके प्रप्त मतसंख्याका आधारमा कांग्रेस हतोत्साहित भैहाल्नुपर्ने पनि देखिंदैन । यहाँका दल र उम्मेदवारहरुको चलायमान स्थिति हेर्दा बाहिरियाले पनि ‘जसले जित्छ उही मेरो भाले’ भन्नुपर्ने अवस्था देखिंदैछ । मुल कुरा सत्ता र प्रतिपक्षमा बस्ने सबैले जनभावना र देशको वास्तविक परिस्थिति बुझेर काम गरिदिने र बहुमतको मातमा नपरी ‘एकै माघले जाडो जाँदैन’ भन्ने सम्झेर काम गरिदिए हुन्थ्यो भन्ने आमजनताको चाहनालाई कसरी लिन्छन् हेर्न बाँकी नै छ ।
दलहरु ध्रुवीकृत भएर संख्या थोरै हुनु राजनीतिक–सामाजिक–आर्थिक सबै दृष्टिबाट राम्रो कुरा हो । वामपन्थी जुटेर चुनाव जितेका हुनाले कांग्रेस आत्तिने र जित्नेहरु मात्तिने स्थिति आउनु हुँदैन । बहुमत भन्दैमा जनताले पचाउन नसक्ने काम हुन थाल्ने हो भने ‘खोइलाको कटेरी’ भत्किन पनि बेर लाग्ने छैन भनेर बुझिराख्नु वेश हुनेछ । अघि गणतन्त्र घोषणा जस्ता महत्वपूर्ण परिर्वतनमा जनताको उपेक्षा भएका सन्दर्भ बिझेका छन् भन्ने पनि शासकले बुझ्नुपर्छ । चुनावका बेला कांग्रेसले उठाएका एकतन्त्री तानाशाहीका खतरा जनताले पत्याएनन् भनेर अब बन्ने सरकारले तिनै कुरा कार्यान्वयनमा ल्याउने चेष्टा गरेमा स्थिति उल्टिन पनि सक्छ । त्यसैले स्थायित्वका लागि उत्ताउलोपन होइन, भद्रताको खाँचो छ । प्रजातन्त्र यहाँ कहिलेसम्म बाँदरको हातको नरिवल भैरहने हो कुन्नि !
नेपाल विचित्रकै देश छ । यहाँ कहीं नभएका जात्रा हुन्छन् । हुँदाहुँदा यहाँ कम्युनिष्टहरुले पनि जातिवादी जात्रा देखाए । दश वर्षको समय खर्चेर खर्बौंको लगानीमा बनाएको संविधान पनि गणेशको मूर्ति बनाउँछु भन्दा बाँदरको मूर्ति बनेजस्तो भयो । संविधान बनायौं भन्दैमा कहाँ हुन्छ ? त्यो त जनतालाई पाच्य भएर सो अनुसार काम पनि हुनुपर्छ । यसैपटकको निर्वाचनमा नयाँ परिवर्तनका नितान्त नौला र भड्किला नारा घन्काउने नेता आफैं परिवर्तित हुन बाँकी नै छ । मान्छे उनै हुन्, स्वभाव, चरित्र र प्रवृत्ति उही छ भने नयाँ नारा र चुनाव जित्दैमा केही हुनेवाला छैन ।
वास्तवमा यो झन्झटिलो–खर्चिलो संघीयता नामको शासकीय स्वरुप नेपालका परिप्रेक्ष्यमा कुनै हालतमा पनि अनुकूल छैन र नेपाल जस्तो देशमा लागू हुनै नसक्ने व्यवस्था हो यो । यसले भोलि समयक्रममा विखण्डन ल्याउनसक्छ । प्रदेश दुईले त्यस्तै संकेत दिइसकेको सुनिएकै छ । यो शासकीय पुनःसंरचना नेपालका लागि ‘बाख्राका मुखमा कुभिण्डो’ हो, ‘दौरा न सौराको खल्ती’ हो । अहिले नै नवसामन्तका अवतार सात थान त प्रादेशिक मन्त्रिमण्डल नै थपिने भए । पहिले तिनैका निम्ति खर्बौं रकम लाग्ने पूर्वाधार तयार गर्नुपर्नेछ । त्यसपछि चुनाव खर्च दिएका व्यापारी–ठेकेदार र सेठहरुलाई महंगी बढाउन–भ्रष्टाचार गर्ने छुट दिनुपर्ने होला । नेताका आशेपासे–चम्चाहरुलाई पनि हेर्नैपर्ने होला । यसरी जनता प्राथमिकतामाा पर्ने स्थिति त झनै कता हो कता हुने र भ्रष्टाचार एवं कालोबजारी फस्टाउने कुलक्षण यहाँ देखिदैछ । बडाबडा सेठहरुका नाम समानुपातिकमाा त्यसै परेका होलान् त ?
अहिले गणतन्त्रे रजौटाहरुका निम्ति दरबारहरुको खोजी भैरहेको छ । राजाका स्थानपन्नलाई शितल निवास–बहादुर भवन भए जस्तै प्रादेशिक रजौटाहरुका निम्ति पनि दर्जा सुहाउँदा दरबार भवन त चाहिने नै भए । ‘हतपतको काम लतपत’ भनेझैं रजौटाहरु धोती फुेरेर आइसके, तर उनीहरु बस्ने र राजगर्ने ठाउँकै ठेगान छैन भनेपछि परेन फसाद ! अहिले सात थान प्रादेशिक सरकारका निम्ति जनकपुर चुरोट कारखाना, ठाउँठाउँका प्रशिक्षण केन्द्र, सारनाथ वन परियोजना, औद्योगिक क्षेत्र, सभागृह र विश्वविद्यालयका जग्गा र भवनहरु प्रयोग गर्ने चर्चा सुनिंदैछ । अब यो व्यवस्थामा कारखाना, विश्वविद्यालय (बुर्जुवा शिक्षा भनेर), औद्योगिक क्षेत्र, वन समेत नचाहिने भएरै त त्यस्तो सोच आएको होला । नत्र पाँच विकास क्षेत्र स्थापित छँदैथिए, तिनैलाई आवश्यक अधिकार दिएका भए यो नदुखेको टाउको डोरीले बाँधेर दुखाउनै पर्ने थिएन । यो व्यवस्था धँगरधँगर पाँच वर्ष चल्न पनि मुस्किल छ भनेर आजै चर्चा हुन थालेको छ ।
पंचायतकालमा स्थापित नाफामा चलेका भृकुटी कागज कारखाना, बाँसबारी जुत्ता, वीरगञ्ज चिनी, हरिसिद्धि इटाटायल जस्ता कलकारखाना बेचेर खाइसके भने हेटौंडा कपडा, जनकपुर चुरोट समेतका कारखानामा अनावश्यक आफ्ना मान्छे भर्तीकेन्द्र बनाएर चल्नै नसक्ने पारिदिए । बनाउन पो गाह्रो, मास्न कतिबेर लाग्छ र ? नारा जति नै आकर्षक लगाए पनि यार्थत छोपिदैन नि । एकपिन्ट रगत किन्ने पैसा नपाएर यहाँ सुत्केरीहरु मर्छन्, तर सरकारी ढुकुटीको आर्थिक सहायता सम्पन्न नेताहरुले डकार्छन् । राज्यले खर्चेको रकम तल्लो तहले पाएको छ ? मन्त्री र नेताले छातीमा हात राखेर भनुन् त ? जनता त्यसै निराश भएका होइनन् । चुनावका बेलाका नारा त झन् सर्वसाधारण जनताका लागि ‘आकाशको फल आँखातरी मर’ भनेजस्तै थिए । तैपनि आशा गरौं– शासन गर्नेहरुको मातको पारो अझ नचढोस् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
पहिले आफैंलाई चिन अनि अरुलाई ! (12.26.2017)
राजनीति किन सधैं सत्ता र सम्पत्तिमा केन्द्रित ? (12.26.2017)
“निर्लज्ज त थियौ नै, निर्वस्त्र पनि नभई देउ न !” (12.26.2017)
अविवेकी निर्णयको परिणाम ... (12.19.2017)
अजेय जनता जिन्दावाद (२) (12.19.2017)
प्राच्यका विश्वविद्यालय, शासनको भाषा र वर्तमान (12.12.2017)
नेपालको परिप्रेक्ष र संघीय शासन (12.12.2017)
अजेय जनता ! जिन्दावाद ! (12.12.2017)
कहिलेसम्म यो अराजक स्थिति ? (12.05.2017)
सन्दर्भ निर्वाचन : करोडौं खर्चेर चुनाव जित्नेले देशका लागि के गर्लान् ? (12.05.2017)
जित्ने त धेरै होलान् ? तर देश नराम्ररी हार्दैछ । (12.05.2017)
नेता बहकिएका कि बहकाइएका ? (11.28.2017)
मतदाताले लोकतन्त्र बचाउने कि राष्ट्रियता ? (11.28.2017)
“कीर्तिबाबु”को सन्दर्भमा (२) (11.24.2017)
घर डढाएर खरानी बटुल्ने काम ! (11.15.2017)
“कीर्तिबाबु”सँग जोडिएका आफ्नै केही स्मरणीय क्षणहरु (11.15.2017)
नेतृत्वको संकट, राजाको प्रश्न– जनताको उत्तर (11.07.2017)
मन्त्रीको रजोनिवृत्तिकाल तोकिनुपर्छ (11.07.2017)
दीजीको नीति नियत र पुरीको भ्रमण ? (11.07.2017)
संघ भनेको जोड्ने कि टुक्र्याउने ? (10.11.2017)



 
::| Latest News

 
[Page Top]