युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 01.16.2018, 03:12pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
प्राचीन हिन्दु अधिराज्यका विविध शासन प्रणाली
Tuesday, 01.02.2018, 01:45pm (GMT+5.5)

- वेदराज पन्त
ऐतरेय ब्राह्मणमा ऋषिहरूले वैदिक शासन विषयमा चर्चा गरेको शासन प्रणाली अहिले विस्मृतिको गर्तमा छ । श्रुति, स्मृति, पुराण, संहितामा उल्लेख भएका सबै राज्य शासन प्रणालीको सञ्चालन गर्ने यस्ता सूत्र र राज्य व्यवस्थाका नामसमेत अहिले सान्दर्भिक हुँदैनन् । ईसाई धर्मावलम्बी, मुसाइ धर्मावलम्बी, बौद्ध धर्मावलम्बीहरूको विश्व मानचित्रमा राज्य छ । हिन्दुको कुनै सबल राज्य छैन । हिन्दु धर्मराष्ट्रका रूपमा रहेको राज्य नेपाललाई धर्मनिरपेक्षमा परिणत गर्ने संविधान बलात जारी भयो । भारतीय संस्कृति, भारतीय शिक्षा, भारतवासी सबै भारतीयहरू हिमवत्खण्ड अर्थात् उत्तरापन्थको धर्ममहिमा गुणगान गर्छन् । आफ्नै देशलाई हिन्दुस्तान पनि भन्दछन् । तर उनीहरूकै संविधान अनुसारको शासनपद्धतिले धर्मसापेक्षको स्थानमा निरपेक्षको शब्दविन्यास प्रयोग गरेको छ । राज्यको धर्म हुन्छ, विश्वभर धर्मावलम्बी छन् । ९५ प्रतिशत सनातन धर्मावलम्बीको हिन्दु अधिराज्य छ । यो विधर्मीको घेराबन्दीमा अहिले परेको छ । बलात धर्म निरपेक्ष घोषित गरिएको छ ।
२१ सौँ शताब्दीपूर्वको वैदिक कालमा शासनव्यवस्थाको प्रारूप तयार गरी ऋषिवृन्दले राज्य सञ्चालन गर्ने संविधान घोषणा गरेका थिए । राज्याभिषेक गरेर स्थापना गरेका थिए । मन्त्रका घरलाई मन्त्रालय भनिन्छ । राजाले मन्त्रणा गर्ने मन्त्री नियुक्त हुन्थे । यस्ता राष्ट्रको उल्लेख ऋग्वेदमा भएको छ । ऋग्वेद ज्ञानको स्रोतसागर मानिन्छ । ऐतरेय ब्राह्मण ऋग्वेदको ब्राह्मणग्रन्थ हो । ऐतरेय महीदासको संरचनाबाट यसले कीर्तिमान कायम गरेको छ । यसैमा वैदिक सभ्यताको धर्म–संस्कृतिका अनुयायीहरूको शासन प्रणालीबारे चर्चा छ । विश्व वाङ्मयमा ऋग्वेद प्रथम लिपिबद्ध भएको ग्रन्थ हो । शासनव्यवस्था र विविध शासनप्रणालीहरूको स्रोतकेन्द्र पनि वैदिक राज्य नै हुन् । यी विधिसम्मत छन्, यसै स्रोतबाट विश्वका सबै शासनपद्धति बने । प्राच्यमा जे–जति जस्ता शासनपद्धति बने, शासकहरूले जसरी शासन गरे, त्यसको विशद वर्णन पुराणादिमा पनि लिपिबद्ध छ । यस्ता शासन प्रणालीमध्ये गणना गर्न लायक तत्तत् शासनको स्थापना र संविधान घोषणा ऋषिवृन्दबाट यसरी भएको छ–
ऋषिवृन्दको घोषणा
‘स्वस्ति, साम्राज्यं, भौज्यं, स्वाराज्यं, वैराज्यं, पारमेष्ठ्यं राज्यं, महाराज्यं, आधिपत्यमयं समन्तपर्यायी स्यात् सार्वभौमः सर्वायुषः आन्तात् आ पराधति, पृथिव्यै समुद्रपर्यन्ताया एकराड् इति ।’ (ऐतरेय ब्राह्मण) यो घोषणा अनुसारका राज्यवस्था प्राच्यमा स्थापित भए । जनराज्य, गणराज्य र राज्यका नामले पनि प्राच्यमा शासन व्यवस्था चले । यस्ता सबै शासन व्यवस्थाको प्रयोग र प्रयोजन वेदमा छ । यसैको चर्चा परिचर्चा र आलोचना एवं समालोचना प्राच्यमा भएको पौरस्त्य वाङ्मयमा प्रशस्त पाइन्छ । सार्वभौमसत्ता जनतामा, राजकीय सत्ता राजामा रहेबाट जनता जनार्दन भयो । (नराणां च नराधिपः) ।
ऋषिहरूको घोषणा अनुसार समुद्रपर्यन्तको सबै भूभाग हिन्दु सनातनधर्मीको राष्ट्र नै हो । वैदिक शासनपद्धति यसरी नै चल्यो । कालान्तरमा राष्ट्र खण्डित हुँदै गए । ईशाइले राज्य गरे । मुसाइले नै शासन चलाए । हिमवत्खण्ड नै टुक्रा–टुक्रा भयो । भुरे टाकुरे राजा रजौटाले शासनको नाम अनेक भाउँतो (उपद्रव) गरे । समुद्रपर्यन्त हिन्दु शासनको ऋषिवृन्दको घोषणा भर्सेलोमा प¥यो । जसको छुट्टै कालखण्डे इतिहास छ ।
शाश्वत् सत्य अनुसार ऋषिवृन्दले घोषणा गरेको राज्यव्यवस्था र तिनको ध्येय, उद्देश्य र लक्ष्यलाई अहिले समग्र विश्वले विवेचना गर्नसक्ने छैन । ‘सङ्घे शक्तिः कलौ युगे’ भन्ने उक्ति छ । युरोपियन, एशियन, अफ्रिकन विश्वमा अनेक सङ्घ बने । ऋषिवृन्दले सङ्घे शक्तिः कलौ युगेको सूत्र जुन उद्देश्यले प्रतिपादित गरे पनि त्यसैको अवशेष राष्ट्रसङ्घ बनाउने राष्ट्र–राष्ट्रको घोषणा छुट्टै अनुशीलन र विश्लेषणको विषय हो । यहाँ प्राच्यका ऋषिवृन्दद्वारा नामाकरण गरिएका राज्य र तिनका विशेषता बारे संक्षेपमा चर्चा गरिन्छ ।
साम्राज्य
प्राच्य शासनपद्धतिमा सर्वप्रथम साम्राज्यकै उल्लेख छ । तर यो साम्राज्य अहिलेको जस्तो नकारात्मक र विध्वंसकारी औपनिवेशिक राक्षसी साम्राज्य होइन । प्राच्य साम्राज्यको परिवेश र अन्तर्निहित भाव सकारात्मक छ । मौलिक अर्थमा परिभाषित छ । साम्राज्य शब्दको वैदिककालीन अर्थ पाश्चात्य परिभाषाभन्दा भिन्न छ । साम्राज्य शब्द पश्चिमाले औपनिवेशिक क्रुरताको द्योतक र शोषण हिंसाको प्रतिकका रुपमा प्रयोग गरेका छन् । प्राच्यले यो शब्दलाई “सर्वभूत हिते रतः” सबै प्राणी वनस्पति, धर्म संस्कृति र सम्पूर्ण भूतको हितार्थ त्यस्तै दृष्टिकोणले व्याख्या गर्छ । प्राच्यमा त्यस्तो साम्राज्य हुँदासम्म जीवन सरल थियो । जीवनचर्या सरल ढंगले संचालन गर्ने राज्य व्यवस्थालाई साम्राज्य भनेर वैदिक शासनमा उल्लेख छ । यही नै हिन्दु साम्राज्यको परिभाषा हो । यस्तो हिन्दु साम्राज्य भारतवर्ष भन्दा बाहिर पनि विस्तारित थियो । आर्य सभ्यतामा हिन्दु साम्राज्यका आठ प्रकारका गुणवत्ताको चर्चा छ । ती गुण हुन्– शान्त, तितिक्षु, सत्यवादी, दाता, जीतेन्द्रीय, सम्वेदनशील भावना, त्याग तपस्या आदि । प्राच्य साम्राज्यमा यिनै गुणवत्ता थिए । पाश्चात्यको साम्राज्यमा यो गुणवत्ताको विपरित दोषयुक्त हिंसाजन्य विकृति, औपनिवेशिक चरित्र, भोगप्रधान क्रियाकलाप र दमन जस्ता विशेषताको आधिपत्य रह्यो । प्राच्य साम्राज्यले सुरक्षित गरेका प्राकृतिक स्रोत साधन र मठमन्दिर सार्वजनिक स्थल, राजगुठी, निजी गुठी लगायतका चलअचल वैभव पाश्चात्य साम्राज्यवादीले लुटे । वैदिक शासन व्यवस्थाले संरक्षित गरेको प्राकृतिक, सांस्कृतिक यावत मानचित्र नीतिगत सबै मानचित्र विकृत प्रदुषित , घृणित हुने गरी छिन्नभिन्न पारिए । साम्राज्य शव्द नै भयावह हुन गयो । पाश्चात्य जगतबाट जुन साम्राज्य फैलियो त्यसले प्राच्यको साम्राज्य निन्दनीय मात्र भएन सांस्कृतिक धक्का खाएर अतिक्रमित भयो । खण्डे इतिहासको कालखण्डमा यस्ता उथलपुथल भएका विवरण यथास्थानमा छन् ।   
 उदाहरणार्थ त्रेता युगको रामराज्य र रावणराज्यलाई नै तुलना गरौँ । रामले रावणराज्यलाई परास्त गरे । विजयी रामले लंकालाई (रावणराज्यलाई) आफ्नो राज्यमा गाभेनन् । औपनिवेशिक राज्यका रूपमा परिणत गरेनन् । सुनै सुनको रावणराज्यबाट मोहित भएका लक्ष्मण लगायतका योद्धाहरूलाई सम्बोधन गर्दा यो सुनैसुनको लंकाको शासनप्रणाली (रावणराज्य) मन नपरेको मात्र होइन, योभन्दा त मेरो जन्मभूमि र जन्म दिने आमा महान् छन् । स्वर्गभन्दा ठूला छन् । श्रीरामले भने—
अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते । 
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।।
विभीषणले उत्तराधिकारमा लंकाको राज्य पाए । तर उनले रावणराज्यको साम्राज्यवादी राक्षसी नीति अनुसार शासन गरेनन् । राजा भएपछि वैदिक साम्राज्यको अनुरूप नै शासनपद्धति लागू गरे । आर्य विधान अर्थात् ऋषिमुनिजनले घोषणा गरेको साम्राज्यको यही अर्थ हो । विजयी श्रीराम न त रावणराज्यभित्र प्रवेश गरे, न त त्यहाँको वैभवप्रति आकर्षित भए । प्राच्य विधान जो ऋषिमुनिजनले प्रतिपादित गरेका थिए त्यहाँ वैदिक साम्राज्यको परिभाषा छ । त्यो राज्यलाई कुनै प्रकारले पनि शोषण गर्ने वा अधीनस्थ गरेर शासन गर्ने कुरा प्राच्य वैदिक साम्राज्यमा थिएन । कालान्तरमा साम्राज्यवादी पाश्चात्य योद्धाहरूले साम्राज्य शब्दलाई नै विकृत गरे । औपनिवेशिक अनेक करतुतद्वारा धक्का दिँदै त्यस्तो पराजित राष्ट्रको सबै स्रोत–साधन र वैभव लुटेराले झैँ लुटे । रावणराज्यमा भौतिक विकास उच्च थियो । समग्र लङ्का सुनैसुनले सजिएको थियो । पुष्पक विमान (फूलजस्तै हल्का) लगायतका यातायातका साधन थिए । रावणले अन्य देशमा लुटपाट गर्ने, सुन्दरी स्त्रीहरू अपहरण गर्ने, उनीहरूलाई प्रभावित गरेर यौनसुख लिए तापनि नारीका इच्छाविरुद्ध बलात्कार गर्ने धृष्टता गरेको कुनै रामायणमा छैन । रावणको वैभवपूर्ण राज्य र प्रभावशाली व्यक्तित्वबाट मोहित भएका नारीहरू उसको अंकशायिनी बने । सीताले रावणप्रति घृणा र आक्रोश नै व्यक्त गरिन् । तैपनि रावणजस्तो राक्षसी साम्राज्यमा सीतामाथि यौनदुराचार भएन । यसपछिका साम्राज्यवादीले यो नैतिक घेरा पनि तोडे । पश्चिमी साम्राज्यवादले ‘साम्राज्य’ शब्दकै हुर्मत लियो । परास्त भएका राष्ट्र लुटिए । नारीहरू बलात्कृत भए ।
मुस्लिम शासनकालमा हिन्दु नारीको अपहरण गरियो । अविवाहित हिन्दु कन्या असुरक्षित भए । हिन्दु धर्ममाथि कडा प्रहार भयो । हृदयविदारक छ त्यो कालखण्ड । यस्तो प्रहारविरुद्ध महाराष्ट्रका मराठा संगठन गरेर शिवाजीले हिन्दु धर्मरक्षार्थ धर्मयुद्धकै घोषणा गरे । हिन्दु कन्याको अपहरणको प्रतिशोध गर्न मराठा सैनिकले अद्वितीय सुन्दरी मुस्लिम युवतीको अपहरण गरेर शिवाजीको समक्ष उभ्याए । ती अद्वितीय सुन्दरीलाई शिवाजीले माताजी भनेर सम्बोधन गरे । मलाई जन्माउने आमा पनि यस्तै सुन्दरी भए म झन् सुन्दर हुने थिएँ भन्दै उनले ती युवतीलाई ससम्मान पिताको घर फर्काए । आफ्ना मराठा सैनिकलाई आदेश दिए– “कुनै पनि महिलालाई अपहरण नगर्नु, अभद्र व्यवहार नगर्नु”, ‘मातृवत् परदारेषु परद्रव्येषु लोष्टवत् । आत्मवत् सर्वभूतेषु यः पश्यति स पण्डितः ।’ शिवाजीको साम्राज्यमा यही सूक्ति चरितार्थ भयो ।
 यस्तो वैदिक साम्राज्य शब्द पश्चिमी साम्राज्यवादका कारण घृणाको प्रतीक बन्यो । अहिलेका गणतन्त्र, प्रजातन्त्र, लोकतन्त्रवादी साम्राज्यमा नारी किनबेचका वस्तु बनेका छन् । विकसित भनिने देशका नाचघर (डान्सवार) मा वेश्यालय सञ्चालित छन् । त्यसैले मानव अधिकारको ढ्वाङ फुक्ने यस्ता देशमा अविकसित भनिने देशबाट वर्षेनी लाखौँ युवती दलालले बेच्ने गरेका छन् । किन्नेहरू विकसित मुलुककै शिक्षित र सभ्य मानवअधिकारवादी भनिने हुन् ।
साम्राज्यवादी चाहे ती मुसलमान हुन्, पोर्तुगीज हुन्, अंग्रेज हुन्, जहाँ जहाँ पुगे त्यहाँ त्यहाँ, लुटपाट गरे । स्त्रीजातिको हुर्मत लिए । इतिहासमा यस्ता अनेकौँ लोमहर्षक क्रूर घटना घटे, घटाइए । यी सबै करतुत इतिहासमा लिपिवद्ध भएकै छन् । यहाँ दोहो¥याउनु पर्दैन । वैदिक शासन व्यवस्थाको साम्राज्यको विपरीत यो शब्द नै भयावह क्रूर शासनको प्रतीक हुन पुग्यो । अहिलेको साम्राज्यवाद र ऋषिमुनिजनको साम्राज्य परिकल्पना यस्तै दुई भिन्न परिधिमा परिभाषित छ । ऋषिमुनिजनले जे परिकल्पना गरेर साम्राज्य स्थापित गर्ने उद्देश्य लिएका थिए, पाश्चात्य साम्राज्यवादीले त्यही मार्गचित्र अपनाएनन् । यो विपरीत नकारात्मक, ध्वंसात्मक रूपमा विधर्मी साम्राज्य स्थापना गरे । यसको रूपरङ्ग नै बदलिँदै छ । साम्राज्य औपनिवेशिक पर्याय बन्न पुगेको छ । सकारात्मक सबै पौरस्त्य मान्यता ध्वंश गर्ने र नकारात्मक क्रूरताको नाङ्गो नाच नाच्ने साम्राज्यवादको आवरण थरिथरि शब्दालङ्कारमा परिवर्तित भएको छ । औपनिवेशिक पाश्चात्य साम्राज्यवादले मानवीय सृष्टि संरचना त खल्बल्याउँछ, प्राकृतिक मानचित्रमा पनि ठूलो विघटनको कारक बन्न पुग्छ । सांस्कृतिक मानचित्र, शैक्षिक मानचित्र, जीवनशैली सबै प्रदूषित हुन्छन् । प्राच्य महर्षिहरूले प्रतिपादन गरेको वैदिक साम्राज्य पनि अहिले यस्तै भयावह क्रूर शासनको प्रतीकमा परिभाषित हुन्छ । यस्तै राजा र राजतन्त्र पनि विकृत भयो । राजा भन्नासाथ अत्याचारी र राजतन्त्र भन्नासाथ यस्तै निरङ्कुश हुने पाश्चात्य जगत्को परिवेशमा वैदिककालीन राजा र राजतन्त्र पनि मुछिए । राजर्षि शब्द नै शब्दकोशमा विलीन हुन पुग्यो । बहुराष्ट्रिय कम्पनीको स्वार्थमा पाश्चात्य साम्राज्यवादीहरूले भाउतो भाउतो मच्चाएरै शक्तिकेन्द्रका रूपमा विश्वलाई नियन्त्रण गर्ने हर्कत गर्न थाले । प्राच्य वैदिककालीन साम्राज्य शब्द यसरी विकृत भयो । 
(लेखक पन्तको प्रकाशोन्मुख कृतिबाट)


Rating (Votes: )   
Share     Print


Other Articles:
गोलचक्करमा राष्ट्रपति ः निकास के ? (01.02.2018)
नदुखेको टाउको डोरीले बाँधेर दुखाइदैछ (01.02.2018)
पहिले आफैंलाई चिन अनि अरुलाई ! (12.26.2017)
राजनीति किन सधैं सत्ता र सम्पत्तिमा केन्द्रित ? (12.26.2017)
“निर्लज्ज त थियौ नै, निर्वस्त्र पनि नभई देउ न !” (12.26.2017)
अविवेकी निर्णयको परिणाम ... (12.19.2017)
अजेय जनता जिन्दावाद (२) (12.19.2017)
नेपालको परिप्रेक्ष र संघीय शासन (12.12.2017)
प्राच्यका विश्वविद्यालय, शासनको भाषा र वर्तमान (12.12.2017)
अजेय जनता ! जिन्दावाद ! (12.12.2017)
सन्दर्भ निर्वाचन : करोडौं खर्चेर चुनाव जित्नेले देशका लागि के गर्लान् ? (12.05.2017)
कहिलेसम्म यो अराजक स्थिति ? (12.05.2017)
जित्ने त धेरै होलान् ? तर देश नराम्ररी हार्दैछ । (12.05.2017)
नेता बहकिएका कि बहकाइएका ? (11.28.2017)
मतदाताले लोकतन्त्र बचाउने कि राष्ट्रियता ? (11.28.2017)
“कीर्तिबाबु”को सन्दर्भमा (२) (11.24.2017)
घर डढाएर खरानी बटुल्ने काम ! (11.15.2017)
“कीर्तिबाबु”सँग जोडिएका आफ्नै केही स्मरणीय क्षणहरु (11.15.2017)
नेतृत्वको संकट, राजाको प्रश्न– जनताको उत्तर (11.07.2017)
मन्त्रीको रजोनिवृत्तिकाल तोकिनुपर्छ (11.07.2017)



 
::| Latest News

 
[Page Top]