युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 05.28.2018, 02:48am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
प्राचीन हिन्दु अधिराज्यका विविध शासन प्रणाली (२)
Tuesday, 01.09.2018, 01:18pm (GMT+5.5)

- वेदराज पन्त
प्राच्य राजा र राजतन्त्र पाश्चात्य औपनिवेशिक फन्दामा प¥यो । उसैको मूल्य–मान्यतामा आधारित भएका कथित बुद्धिजीवीले प्राच्य चिन्तनको स्रोत नै बिर्से । आयातीत शिक्षा पद्धतिमा जीवनयापन गर्ने देहाभिमानी बने । वैदिक सभ्यता, संस्कृति आलोच्य बन्यो । राजतन्त्र भन्नासाथ राजाले शासन गर्ने निरंकुश तन्त्र भन्ने प्रचार गरियो । वैदिक वाङ्मय अनुसार राजा शासक होइनन्, संरक्षक हुन् । राजतन्त्र कुनै राजाको निरङ्कुश तन्त्र होइन । तन्त्र भनेको विधि हो । विधिमा उच्चतम शासनविधि राजतन्त्र हो । राजविद्याको प्रसङ्ग श्रीमद्भगवद्गीतामा यसरी उल्लेख छ–
राजविद्या राजगुह्यं पवित्रमिदमुत्तमम् ।
प्रत्यक्षावगमं धम्र्यं सुसुखं कर्तुमव्ययम् ।।
यसको कोमल अनुवाद यस्तो छ–
विद्या र गुह्यको राजा यो श्रेष्ठ छ, पवित्र छ ।
प्रत्यक्ष सुख बोधादि दिने अक्षय धर्म छ ।।
राजतन्त्रको विशद् वर्णन रामराज्यमा गरिएको छ । एक करोड श्लोकमा रामायण लिपिबद्ध भएकोले राजतन्त्रको परिभाषा विस्तृत छ । वन संस्कृति, समुद्र संस्कृति, पर्वत संस्कृति सबै संस्कृतिको स्रोत राजतन्त्र नै हो । वैदिक शिक्षा पद्धतिमा संस्कृत र संस्कृतिको बोधगम्य चर्चा छ । यो छुट्टै अनुशीलनको विषय हो । यहाँ त्यस्तो राजतन्त्रको सञ्चालन गर्ने सबै संरक्षक व्यक्तित्वको बारे शास्त्रमा उल्लेख भएको राजा शब्दको व्युत्पत्तिको सम्बन्धमा संक्षेपमा चर्चा गरौँ– 
वैदिक व्याकरण अनुसार शब्दकोशमा रहेका सबै शब्द धातुमा प्रत्यय लागेर उत्पन्न हुन्छन् । यस अनुसार– ‘राजृ दीप्तौ’ अथवा ‘रञ्ज रागे’यी दुई धातुबाट ‘कनिन् यु–वृषि–तक्षि–राजीति’ भन्ने पाणिनीय उणादि सूत्रले कनिन् प्रत्यय भएपछि राजा शब्द निष्पन्न हुन्छ । यो शब्दको अर्थ हुन्छ– स्वयं प्रकाशवान्– आफैँ चम्किलो– प्रतापी । महाभारतमा युधिष्ठिरले गरेको प्रश्न ‘राजा’ यो शब्द कसरी उत्पन्न भयो ? यसको विशद् व्याख्या गर्दै भनियो– सबै प्रजालाई प्रशन्न राख्नसक्नु नै ‘राजा’ शब्दको सार्थकता हो । त्यस्तै ‘रञ्ज रागे’ धातुबाट व्युत्पन्न राजा शब्दको अर्थ चाहिँ प्रजावत्सल भन्ने हो । त्यसैले संस्कृत वाङ्मयमा भनिएको छ— ‘रञ्जिताश्च प्रजाः सर्वास्तेन राजेति शब्द्यते’ । अर्को कथन छ— आफ्ना समस्त चेष्टा र कर्मबाट प्रजालाई जसले आनन्दित पार्छ उसैलाई राजा भनिन्छ ।
‘रञ्जयिष्यति यल्लोकमयमात्मविचेष्टितै ः ।
अयामुमाहू राजानं मनोरञ्जनकैः प्रजाः ।।’
अर्को परिभाषा अनुसार राजा शब्दले धर्मलाई समेटेको पाइन्छ । जसमा धर्म स्वयं विराजमान हुन्छ उसैलाई राजा भनिन्छ । 
‘यस्मिन् यो धर्मो विराजते तं राजानं प्रचक्षते’ । राजाको वाणीलाई राजाज्ञा भनिन्छ । नेपालीमा हुकुम शब्द प्रचलित भयो । राजाज्ञा अर्थात् हुकुम लोकसम्मति बुझेर धर्मशास्त्रअनुरूप कसैको अहित नचिताई कल्याणकारी कार्यलाई प्रोत्साहन हुने गरी सबैको रञ्जन गर्ने हेतुले कर्तव्यबोध गरेर दिनुपर्दछ । त्यसैले राजाको वाणीलाई अकाट्य मानिन्छ । ऋग्वेदमा ‘एको विश्वस्य भुवनस्य राजा’ भन्दै सबैको स्वामी राजा भन्ने सूक्ति छ । ‘राजा राष्ट्रं विरक्षति’ अथर्ववेदको सूक्तिअनुसार राजा नै राष्ट्रका संरक्षक हुन् । राजालाई वेदले सर्वकार भन्छ । यसैको अपभ्रंश सरकार भयो । पञ्चतत्त्वको प्रतिनिधित्व पनि गर्ने हुनाले श्री ५ को सरकार भन्ने सरकार केही वर्षसम्म चलेको अभिलेख छ । 
अहिले राजा शब्द नै पूर्व विशेषमा उच्चारित छ । तथाकथित बुद्धिजीवीहरू राजा शब्दप्रति नै प्रचण्ड द्वेष गर्दछन् । तर राष्ट्रपति या सभापति शब्दविन्यासमा पति शब्दद्वारा स्वामित्वको भाव र मालिकको भाव अन्तर्निहित छ त्यो भने कथित बुद्धिजीवी र प्रगतिशील लोकतन्त्रवादी गणतन्त्रवादी कहलाउनेहरूलाई पाच्य छ । राजाको हुकुमलाई तानाशाहीको रूपमा लिनेले पार्टीको ह्वीपलाई भने लोकतन्त्रकै पर्यायको रूपमा लिन्छन् । राष्ट्रपतिको निर्देशन र सभामुखको रूलिङलाई शिरोपर गर्छन् । नीतिप्रधान राजा आलोचित र नेताप्रधान पार्टी प्रशंसित छन् । राष्ट्रपति, सभापति वैदिक शब्दकोषकै शब्द हुन् । ‘नमः सभाभ्यः सभापतिभ्यश्च वो नमो नमः’ भनेजस्तै ‘नराणां च नराधिपः’ भन्ने शब्दविन्यास वैदिक वाङ्मयमा पाइन्छ । पाश्चात्त्य सभ्यता र संस्कृतिका अनुयायीहरू सभापति र राष्ट्रपतिप्रति ओठे श्रद्धा गर्दछन् । राजा शब्दप्रति घृणा । यो औपनिवेशिक दिल दिमागको परिचायक ज्वलन्त उदाहरण हो । वैदिक शब्दकोशमा ‘राजा’ राष्ट्रपति, सभापति सबैको परिभाषा छ । वैदिक शिक्षामा राजाको स्पष्ट परिभाषा छ । प्यारो वस्तु वा मानिसलाई राजा भनेर सम्बोधन गरिन्छ । याज्ञवल्क्य स्मृति अनुसार राजामा हुनुपर्ने गुण यसप्रकार छन्—
महाउत्साही, स्थूल लक्ष्य, सूक्ष्म चिन्तक अत्यन्त दानी, कृतज्ञ, वृद्धसेवी, विनययुक्त, सत्यवादी, पवित्र, अदीर्घसूत्री, स्मृतिमान्, अक्षुद्र परिवारवाला, धार्मिक, अव्यसनी, पण्डित, शूर, वीर तथा रहस्यविद् हुनुपर्दछ । राजाले भाषाविज्ञान, शब्दविज्ञान, रेखाविज्ञान, आकृतिविज्ञानका साथै सबैको सूक्ष्मतत्त्व र आनुवंशिक विशेषताबारे ज्ञान प्राप्त गरेको हुनुपर्छ । यस्तो राजालाई सम्राट् भनिन्छ । अहिलेको विश्वमा जापानका राजालाई सम्राट् भनेर सम्बोधन गरिन्छ । प्राच्यमा सम्राट् भरतको चर्चा छ । नेपालमा ज्ञानेन्द्रलाई हिन्दु सम्राट्ले विभूषित गरिएको छ । वैदिक साम्राज्यको परिधिमा हिन्दु साम्राज्यको विशद् चर्चा छ ।
भौज्य राज्य
वैदिक शासन व्यवस्थाको अर्को प्रणाली भौज्य हो । यो राज्यका दुई अर्थ छन् । ‘भू–ज’ नैसर्गिक मर्यादाले युक्त उत्तरमा हिमवत्खण्ड र दक्षिणमा समुद्रपर्यन्तका राज्यलाई भारतवर्ष पनि भनिन्छ । ‘भा’ को अर्थ ज्ञान र ‘रत’को अर्थ लिप्त । ज्ञानमा लिप्त राज्यहरूको समूह । भारतवर्ष । योभित्र नै ‘भौज्य’ राष्ट्रको नामले सम्बोधित राज्य थियो । भौज्य राज्यका राजा वा शासकले भूविभागमा नै आ–आफ्नो राज्य गर्नु र कसैले पनि अर्को राज्यमा आक्रमण नगर्ने नीतिको पालना गरे । समुद्रबाट मर्यादित इङ्गल्याण्ड जस्ता युरोपका मुलुकले समुद्रकै जस्तो मर्यादा पालना गर्दै त्यस्तै द्वीपमा व्यवस्थित भएर बसून् भने । भौज्य राज्यका नियम यस्तै आधारमा तय गरिए । भौज्यको अर्को शब्दार्थ छ – आफ्नो राज्यका प्रजाको भोजन र सुरक्षाको प्रबन्ध गर्नु । प्रजाको दैनिक भरणपोषणको निमित्त पर्याप्त अन्नपातको प्रबन्ध, ओडापैरीको समुचित प्रबन्ध, सुखपूर्वक शान्तिका साथ बस्न आवासको प्रबन्धको सारा भार भौज्य राज्यमा हुने हुनाले यस्तो राज्यको शासन प्रबन्ध त्यही अनुसार गर्ने राजा नै भोजराजा भनिन्थ्यो । त्यस्तो राजाले जति जनताको समुचित प्रबन्ध माथि भनिएजस्तै गर्न सक्थ्यो या भारवहन गथ्र्यो त्यो राज्यलाई भौज्य भनिन्थ्यो । यसका केही अरू विशेषताहरू– रूपान्तर गरेर अन्य राज्य व्यवस्थामा पनि आ–आफ्नै पाराले लागू गरियो । जसमा कसैको घरबास उठाउन वा दानापानी हर्न र सन्धिसर्पन तागो तगारो बन्द गर्न र मसानघाट लगायतका सार्वजनिक स्थलविशेषमा कसैले अतिक्रमण गरी कसैलाई वञ्चित गर्न नपाउने नियम बने । भौज्य राज्यमा यस्ताथोरै नियम कानुनले शासन हाँकिन्थ्यो । अन्य प्रबन्ध गर्न जनता आफैँ सक्षम हुने परिस्थिति थियो । यस्तो राजालाई सघाउने भारदार हुन्थे । उनीहरूले आफ्नो स्वार्थपूर्ति हुनेकुनै कुरा वा काम गर्न पाइन्नथ्यो । राज्यको भारवहन गर्नु नै भारदारको काम हुन्थ्यो ।
स्वाराज्य
स्वाराज्य (स्वराज) शासनको चर्चा वैदिक वाङ्मयमा विस्तृत रूपमा छ । वैदिक राज्यव्यवस्थामा सर्वोत्तम व्यवस्था नै त्यही मानिन्छ । स्वतन्त्र राष्ट्र वा स्वराजको यो परिकल्पना अद्यापि गरिन्छ । स्वाराज्य र स्वराज्यमा केही मूलभूत अन्तर छन् । यो स्वरभेदमात्र नभएर तात्त्विक रूपले फरक अर्थ बोध गराउने शब्दविन्यास मानिन्छ । स्वरभेदअनुसार विधानभेद र अनुशासनभेदले यसमा विशेष महत्त्व राख्छ । यसको समग्र विश्लेषण गर्न पङ्क्तिकार सक्षम नभएको मात्र होइन, स्थान र समयले पनि समग्र चर्चा वा विश्लेषण सम्भव भएन । सङ्क्षेपमा स्वाराज्यमा ‘स्व’ को अर्थमा ध्यान केन्द्रित हुन्छ । राज्यशासनको अधिकार ‘स्व’ मा केन्द्रित गर्ने वा विकेन्द्रीकृत गर्ने यसैमा गूढ रहस्य छ । शुद्धीकरण र अधिकार अन्तर्निहित छन् । यस सम्बन्धी वैदिक वाङ्मय गहन छ, विशाल छ । त्यसैको केही कण टिपौँ—
स्वाराज्यमा ‘स्व’ को शुद्धीकरणमाथि जोड दिइन्छ । दोस्रो स्वराजमा राज्यशासन विषयक अधिकार आफ्नै अधीनमा राख्ने प्रबल यत्न हुन्छ । आत्मशुद्धि र अधिकारप्रतिको आकर्षण र आग्रह फरक फरक सूक्ष्म तत्त्वले परिचालित हुन्छन् । स्वाराज्यमा कर्तव्यबोध गर्दै प्रत्येकले आत्मशुद्धि अर्थात् ‘स्व’ को शुद्धिकै निमित्त विशेष प्रयत्न गर्नुपर्छ । सृष्टि–संरचनाका यावत् स्थावर–जङ्गम प्राणी र वनस्पतिप्रति उत्तरदायित्वबोध गर्नुपर्छ । सबैको आत्मामा ‘स्व’कै अनुभूति जागरण गरेर शुद्ध–बुद्ध हुने शुद्धीकरणको प्रयोगमा अभ्यस्त हुनुपर्छ । यस्तै स्वराज्य (स्व–राज) मा राज्य शासनप्रणालीमा सबै अधिकार समेटिन्छन् । यसले राज्य शासन सञ्चालनपद्धतिमा नै ठूलो अन्तर पार्छ । संयमी जितेन्द्रिय पुरूष जो शुद्धता, पवित्रता, निर्दोषिताको मापदण्डमा खरो उत्रन्छ, त्यही राज्याधिकारी हुने योग्यता भएको मानिन्छ । यस्ता व्यक्तित्वले शासन सञ्चालन गरेमा शासन भ्रष्टाचारमुक्त हुन्छ । दम्भ, असत्य, अधिकार, लिप्सा, पक्षपात, लोभ, मोह जस्ता दुर्गुण नभएको सदाचारी शान्ति र अहिंसाको पुजारीलाई अधिकार प्रदान गरेमा वास्तविक स्वाराज्यको शासन तन्त्र स्थापित भएको मानिन्छ । ‘स्व’को शुद्धीकरणको यो प्रयोग गान्धीले आफूमा गरे । तर भारतीय शासक र शासनपद्धति स्वराज्यमा पनि औपनिवेशिक रङ्गमा नै रङ्गमङियो, गुँडुल्कियो । त्यसैले वैदिक शासन स्वतन्त्र भारतमा स्थापित हुन सकेन । न त स्वको शुद्धिकरणमा गान्धी जस्तै अन्य नेताहरू र जनताहरू नै आकर्षित भए । आचार्य विनोद भावे, सुभाषचन्द्र वोश तथा जयप्रकाशनारायणको भिन्नाभिन्नै स्वाराज्यको परिकल्पना पनि वैदिक नै हो । तर उनीहरूद्वारा भारतीय शासनप्रणालीलाई व्यवस्थित गर्ने सफलता मिलेन । स्वराज्य आफ्नै परिभाषाअनुरूप स्थापित गर्न उनीहरू समर्थ हुन सकेनन् । गान्धीको स्वाराज्य पनि उनमै सीमित रह्यो । अहिलेको भारतीय लोकतन्त्र वैदिक परिभाषाअनुरूप स्थापित भएको मानिँदैन । स्वराज्यमा ‘स्व’को शुद्धीकरणको उपेक्षा गरेर ‘राज्य’ ले जुटाइदिने अवसरको बढी से बढी उपभोग गर्ने लालसा जागृत हुन्छ । राज्यतन्त्रको यावत् शक्ति स्वकीय स्वार्थमा प्रयोग गरिन्छ । यसले नै गुट, उपगुट बनेर पार्टीतन्त्रमार्फत् समाजमा भाँडभैलो मच्चिन्छ । एउटा गुटले अर्को गुटलाई, एउटा पार्टीले अर्को पार्टीलाई अस्वस्थ प्रतिस्पर्धामा उछिन्ने कोसिस गर्दछ । अहिले समस्त भारतवर्षमा यस्तै राजनीति चलेको छ । नेताहरू मात्र होइन, समाजका सबै पक्ष शिक्षाशास्त्री, अर्थशास्त्री, पर्यावरणवादी र योजनाकार, समाजशास्त्री, मानवअधिकारवादीको नाभी आफ्नो मुलुकमा गडेको नभै उपनिवेशवादी कुनै न कुनै आयातीत विचार वा निर्देशनमा सञ्चालित हुन गएको छ । त्यसैल वैदिक राज्यशासनप्रणाली भारतमा पुनः कतै पनि स्थापित हुन सकेको छैन । करोड करोड हिन्दुहरूको हिन्दु अधिराज्य छैन । हिन्दु शिक्षापद्धति छैन । भारतवर्षमा कथित धर्मनिरपेक्ष राज्य छन् । इस्लामिक राज्य छन् । हिन्दु शिक्षापद्धति पनि त्यस्तै अवस्थामा छ । ईसाई राज्य घोषित नभए पनि धर्मनिरपेक्षको आडमा द्रुततर गतिमा ईसाईधर्ममा धर्मान्तरण गरी ईसाई राष्ट्रमा परिणत गराउने प्रबल चेष्टा भएकै छ । अहिले शिक्षा नै व्यापारिक वस्तु बनेको छ । शिक्षापद्धतिको स्रोत नै गुरूकुल हुन् । ती लडखडाएका छन् । हिन्दु शिक्षापद्धति नैतिकताको जगमा खडा हुन्छ । अहिले जे–जसरी शिक्षा दिइन्छ, त्यो वणिक्वृत्ति अर्थात् शरीरको पोषणका निमित्त ठिक्क छ ।
वैदिक राज्यमा मानव अधिकार र कर्तव्यका साथै प्राकृतिक मानचित्रका पर्वत, नदी, गिरिकन्दरा, मठ–मन्दिर र तीर्थस्थल समेतको अधिकार र मर्यादाक्रम तोकिएको हुन्छ । नदी प्रदूषण गर्न कसैले चेष्टा समेत गर्दैन । नदी पूज्य पवित्र जीवनदायी मानिन्छन् । साना खोल्सा–खोल्सीहरूको दायाँबायाँ निश्चित भूमि समेत अतिक्रमण गर्न हुँदैन, पाइँदैन । जलाधार क्षेत्रको पानीका मूल पलाउने स्थान वा झरना, तालतलैया समेत समेटेर नदीसंस्कृति व्यवस्थित गरिन्छ । यस्तै पर्वत संस्कृति छ । मठ–मन्दिर संस्कृति, तीर्थस्थलको संस्कृतिलाई कसैले उपेक्षा गर्ने, विकृत पार्ने गर्दैन । वन, वनस्पति, वनजन्य पशुपक्षी समेतको विशेषाधिकार कसैले हनन गर्न पाउँदैन । यस्ता पशुपक्षी र वनस्पतिको संरक्षण संवद्र्धन गर्नु कर्तव्य नै हो । कतिपय वनस्पति र पशुपक्षी सरीसृपको त पूजा अर्चना नै गरिन्छ । वैदिक स्वाराज्यमा गाइको महत्त्व विशेष प्रकारको थियो । गोदानको साथै गाइको गोबर, गोमूत्र तथा दूध, दही, घ्यू, गोरोचन औषधी नै हुन् । गौचर मास्न वा गाइ काट्न पाइँदैनथ्यो । प्रतिदिन गाइको पूजा गर्ने र ऋषिमुनिजनले पनि गाइ पाल्ने गर्दथे । स्वाराज्यमा रूखवृक्षको पूजा गर्ने पद्धति छ । ढलेका वृक्ष र सुकेका रूखपातबाहेक अरू काट्ने फाँड्ने अधिकार कसैको हुँदैन । वनजंगलप्रति कर्तव्य पालन गर्नैपर्छ । वैदिक शिक्षा गुरूकुलीय शिक्षा पद्धतिले आत्मा दबाएर शरीर पोषण गर्न निषेध गर्दछ ।
यस्तै ढोकामा नाग, माछो, भ्यागुतो, खजुरो, बिच्छी लगायतको चित्र टाँसेर पूजा गर्नैपर्छ । कागतिहार, कुकुरतिहार, गाइतिहार, गोरूतिहारमा यस्ता पशुलाई पनि विशेष स्नेह दिने पूजा–आजा गर्ने रूढपरम्परा वैदिककालीन संस्कृति र सभ्यता नै हो । यही सभ्यता संस्कृतिको रक्षार्थ गोरखनाथको निर्देशनमा पृथ्वीनारायण शाहले एकीकरण अभियानको नेतृत्व गर्दै वैदिक स्वाराज स्थापना गर्ने उद्यत भएको कालखण्डे इतिहास स्मरण गरिन्छ । स्वाराज्यको अवशेषका रूपमा अद्यापि रहेको यो प्रथा पनि पार्टीतन्त्रमा उपेक्षित हुँदै, औपनिवेशिक आयातीत आधुनिकताको मारमा पर्दै गएको देखिन्छ । भारतवर्षमा स्वाराज्य छिन्नभिन्न भए, परतन्त्रले छोप्यो छ । स्वतन्त्रता र प्रजातन्त्र वा लोकतन्त्र, गणतन्त्र, जनतन्त्र यी सबै शब्द वैदिक कालकै शब्दकोशमा संगृहीत थिए । यस्ता शब्दको प्रयोग र प्रयोजनमा तात्त्विक अन्तर छ । यी शब्दविन्यास निहित स्वार्थका निमित्त प्रयोग गर्नेहरूले स्वाराजको प्राच्य अवधारणा बुझेकै हुँदैनन् । 


Rating (Votes: )   
Share     Print


Other Articles:
मुद्दा नै लड्ने भए जन अदालत जाउँ ! (01.09.2018)
प्राचीन हिन्दु अधिराज्यका विविध शासन प्रणाली (01.02.2018)
गोलचक्करमा राष्ट्रपति ः निकास के ? (01.02.2018)
नदुखेको टाउको डोरीले बाँधेर दुखाइदैछ (01.02.2018)
पहिले आफैंलाई चिन अनि अरुलाई ! (12.26.2017)
राजनीति किन सधैं सत्ता र सम्पत्तिमा केन्द्रित ? (12.26.2017)
“निर्लज्ज त थियौ नै, निर्वस्त्र पनि नभई देउ न !” (12.26.2017)
अविवेकी निर्णयको परिणाम ... (12.19.2017)
अजेय जनता जिन्दावाद (२) (12.19.2017)
नेपालको परिप्रेक्ष र संघीय शासन (12.12.2017)
प्राच्यका विश्वविद्यालय, शासनको भाषा र वर्तमान (12.12.2017)
अजेय जनता ! जिन्दावाद ! (12.12.2017)
सन्दर्भ निर्वाचन : करोडौं खर्चेर चुनाव जित्नेले देशका लागि के गर्लान् ? (12.05.2017)
कहिलेसम्म यो अराजक स्थिति ? (12.05.2017)
जित्ने त धेरै होलान् ? तर देश नराम्ररी हार्दैछ । (12.05.2017)
मतदाताले लोकतन्त्र बचाउने कि राष्ट्रियता ? (11.28.2017)
नेता बहकिएका कि बहकाइएका ? (11.28.2017)
“कीर्तिबाबु”को सन्दर्भमा (२) (11.24.2017)
घर डढाएर खरानी बटुल्ने काम ! (11.15.2017)
“कीर्तिबाबु”सँग जोडिएका आफ्नै केही स्मरणीय क्षणहरु (11.15.2017)



 
::| Latest News

 
[Page Top]