युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 02.22.2018, 02:39pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
जनता भन्छन् “नागा, नेता र न्यायकर्ता उस्तै उस्तै !”
Thursday, 01.25.2018, 12:31pm (GMT+5.5)

- तारा सुवेदी
नागाहरु
श्री पशुपतिनाथको कृपा, सौभाग्य भनौ कि संयोग ? विगत चार वर्षसम्म महाशिवरात्री पर्वमा आउने दर्शनार्थीलाई सहज, सुव्यवस्थित र सुरक्षित दर्शनको व्यवस्था मिलाउने जिम्मेदारी मिल्यो । दर्शन एवं मन्दिर व्यवस्थापन समितिको संयोजनको जिम्मेदारी निर्वाह गर्नुपर्ने दायित्व निभाउने सन्दर्भमा वर्षेनी छिमेकी मित्र राष्ट्र भारतबाट आउने हजारौं नागा “साधु”हरुको मन्दिर परिवार प्रवेशको दिन देखी विदाई सम्मको बेला आफ्नो भूमिका निर्वाह गर्ने सन्दर्भमा शिवरात्रीभन्दा अघिल्लो एकादशी देखि नै धेरैसमय मन्दिर परिसरमा नै वित्दथ्यो ।
ती चार वर्षमा सबै (४ वटै) शिवरात्रीमा दर्शनार्थीको चापलाई ध्यानमा राखी विहान ३ बजेदेखि रातका चारै प्रहरमा विशेष पूजा अर्चनाको विधि नजीकबाट हेर्ने र त्यसमा सहभागी हुने जुन सुखद् अवसर प्राप्त भयो । त्यस्तै ठूलो समस्या शिवरात्री अघिपछिको ४–५ दिनसम्म मन्दिर परिसरभित्रै अहोरात्र धुनी र डेरा जमाएर बस्ने “नागा साधु” हरुको रौद्ररुप, क्रोध, रीस, झैझगडा गर्ने र त्रिशूल र चिम्टा झिकेर आपसी मारामार गर्ने समस्या सुल्झाउनु भयो । उनीहरुले शिवरात्रीका दुई रात अगाडिदेखि प्रवेश गरेर परिसरभित्रका शिवालय, बूढानिलकण्ठ, गणेश, कीर्तिमुख भैरव, हनुमान, सत्यनारायण लगायतका दर्शनार्थीकहरुले पैसा चढाउने ठाउँ कब्जा गर्ने परम्परा नै रहेछ । त्यतिमात्रै नभएर मयूर पंखको कुचो लिएर दर्शनार्थी र महिलाहरुलाई टाउको र ढाडमा हान्दै रकम तान्नेमा नै ती “नागासाधु” हरुको आपसी मारामार हुने गरेको पनि देखियो । 
यस्तैमा हिन्दुधर्मी महामहिम राजदूतले दर्शन गरेर निस्कने बेला एउटा “नागासाधु”लाई एकसयको नोट दिएका के थिए, “इतने बडे राजदूत होकर एकसौ देते शर्म नहीं आती ? ले जाओ तुमारा नोट” भनेर फर्काई दिएपछि अरु दुई सय दिएर मात्र छुटकारा पाएपछि मलिन अनुहार लिएर ती महामहिम निस्कनु परेको “रमाइलो दृश्य” पनि देख्नु परेको थियो । यहाँ “रमाईलो” यसर्थ लाग्यो किनकि “साधु” जुन देशका नागरिक थिए, त्यसरी लज्जित बनेका दर्शनार्थी पनि उसै देशबाट नेपालका लागि नियुक्त राजदूत थिए । 
“नागासाधुँ”हरुको नालीबेलीबारे त्यति धेरै थाहा छैन । जे जति थाहा पाएको थिएँ, सिख र जयपुरी नागाहरु बाहेक बहुसंख्यक नागाहरु या त वैष्णव या शैव हुन्छन् । पहिले पहिले यिनीहरुको सशस्त्र सेना हुन्थ्यो र घुमफिर गर्दागर्दै आपसमा लडाई नै गर्दथे । भनिन्छ, सन् १७६० को हरिद्वारको कुम्भमेलामा दुई सम्प्रदायका नागाहरुबीचको आपसी सशस्त्र संघर्षमा शैव नागाहरुले १८००० (अठार हजार) वैष्णव नागाहरुलाई मारेका थिए । त्यस्तै गोसाईपन्थी शैवनागाहरुले मराठा युद्धमा लड्ने, लुटपाट गर्ने र ठूलो समूह (ग्याङ्ग) बनाएर मध्यप्रदेशभित्रका विभिन्न गाउँ र स–साना शहर बस्तीमा घुसेर उपद्रव मच्चाउने गर्दथे । अंग्रेजी उपनिवेशको शासनकालमा त्यस्ता सशस्त्र संघर्ष र उपद्रव मच्चाउनेहरु समाप्त भए । अहिले नासिक, हरिद्वार, उज्जैन, गुजरात, वनारस आदि विभिन्न ठाउँमा नागाहरुको अखाडा रहेको र जयपुरको एउटा अखडामा मात्रै झण्डै ५००० (पाँच हजार) “नागासाधु” हरु बस्छन् भन्नेसम्म मात्र थाहा थियो । महिलाहरु पनि निर्वस्त्र नागा हुन्छन् भन्ने बाहेक बढी जानकारी सबैलाई थाहा छैन, भएको कुरा हो “नागासाधुँ” हरु पूर्णत निर्वस्त्र भएर धुनी तापेर र खरानी घसेर बस्ने साह्रै क्रोधी र सभ्य शिष्ट शालि समाजका दृष्टिमा लाज शर्म केही नमान्ने एउटा सनातन हिन्दू कठमूललावादी समुदाय भन्ने मानिन्छन्, ठानिन्छन् । 
तर यहाँ ती काठमुल्लवादी नितान्त धर्म सम्प्रदायसँग मात्र सरोकार राख्ने र वर्षेनी शिवरात्रीमा पशुपतिनाथ परिसरभित्र ४–५ दिन सम्म आफ्नै साम्राज्य कायम गर्ने “नागासाँधु” हरुको प्रसङ्क यसर्थ आएको वा उल्लेख गरिएको छ, किनकि नेपालका आम नागरिकहरु शिवरात्रीको महान् पर्वमा अवसरमा आ–आफ्ना स साना बालबालिका किशोर, किशोरी देवी नबोढा (भर्खरै विवाहित पत्नी सहित पशुपति दर्शनार्थ आउन चाहने सबैलाई ती निर्वस्त्र नागाहरु र उनको सबै व्यवहार सधैं असहज  अशोभनीय र पूर्णत निर्लज्ज लाग्दो रहेछ । त्यसैले उनीहरुलाई लागेको कुरा मलाई (पदाधिकारीको हैसियतवाला भए पछि) धेरै भद्र महिला पुरुषहरुबाट नागाहरु भएपनि नंगा नै बस्नु पर्ने त्यो अपाच्य असभ्य व्यवहार र दृश्य नियन्त्रण गर्नु अत्यावश्यक छ” भन्ने सुझावको भारी बोकाइयो । 
पहिलो वर्ष भएर हो कि शिवरात्री जस्तो महान् धार्मिक पर्वका दिन नागाहरुको नङ्गा व्यवहार रोक्नु पर्ने निष्कर्षमा सबै पुगेको भएपनि त्यस बारे थप केही गर्न सकिएन । तर दोस्रो वर्षको शिवरात्री पर्व व्यवस्थापन गर्ने परम्परा देखिको झण्डै हजार संख्याको मूल समिति गठन गर्न ४०–५० स्थानीय र कर्मचारीहरुको स्थानीय र कर्मचारीहरुको भेला आयोजना गरियो अन्य कुराका अतिरिक्त “नागासाधु” हरुका लागि परिसर बाहिर पञ्चदेवल पूर्वको बरण्डा वा छुट्टै सामियाना (पाल) टाँगेर त्यहीं नै सबैका लागि छुट्टाछुट्टै बाल्ने व्यवस्था गर्नुपर्छ र प्राय सबै महिला दर्शनार्थीको भनाई सुन्नु र सम्बोधन गर्नुपर्छ” भनेर सुझाव पेश गरियो । दुर्भाग्य ! कोषका सहकर्मी पदाधिकारीबाट शिवरात्रीको विशेषता, आकर्षण र शोभा भनेका नै तिनै “नागा साधु” हुन्, परम्परादेखी नै पशुपति परिसरमा उनीहरुकै कब्जा हुँदै आएकोले त्यसलाई यथावत् नै छोड्नुपर्छ” भनेर रुलिङ्ग गर्न थालेपछि परम्परावादीहरुका सामु परिवर्तनवादीको पिताम चलेन । त्यसपछि आजसम्म नागा अराजकता यथावत् चल्दैछ । 
नेताहरु 
यद्यपि कतिपय राजनीतिक पेशा व्यवसायी (नेता)हरु “मूल्य इमान्दारिता निष्ठा र नैतिकताको धरातल नछोडि राजनीति  गर्नु आफ्नो धर्म र कर्म ठान्ने” पनि होलान् । तर त्यस्ताको संख्या उपस्थिति हेर्ने हो भने “वाग्द्वारबाट निस्केको शुद्ध पानीको अंश टेकु दोभान पुग्दाको बाग्मती भित्र खोज्नुभन्दा फरक छैन” भन्ने लाग्छ । किनकि झण्डै जनमत संग्रहताका देखि नै नैतिकता, इमान्दारितासहितको राजनीति पेशा व्यवसाय गर्नेहरुको संख्या क्षीण जन आएको यसै वर्षभित्र सम्पन्न स्थानीय तहदेखि  प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न हुँदासम्म त्यो संख्या अझ ऋणात्मक विन्दुतिर झर्दै गएको र क्षयोन्मुख हुँदै पीँधमा पुगेको देखियो । 
त्यति मात्र होइन  । जो व्यक्ति दल प्रतिबन्धित अवस्थामा हुँदा आफूलाई प्रजातन्त्रको मसीहा लालमोहरिया भन्थे “राजनीतिमा नैतिकता र इमान्दारिता भएन भने स्वेच्छाचारिता निरंकुशताको दलदलमा देश जाक्किन पुग्छ, लोकतन्त्र र जनताको स्वतन्त्रता त्यही दल दलमा भास्सिए जाने ठूलो सम्भावना देखापर्छ भनेर ठूलो ठूलो आदर्श छाँट्दथे उनीहरुले नै बहुदलीय संसदीय व्यवस्था आएपछि आफू र आफ्नो दललाई शासन सत्ताको शिखरमा तिनै हिजो जनतालाई सुनाएका उच्च प्रजातान्त्रिक मूल्य मान्यताका लालित्य देखाएर पु¥याएका थिए । 
तर विडम्वना भन्ने कि राजनीति पेशा व्यवसायीको धर्म र कर्म ? नेपालमा झण्डै पछिल्लो एक चौथाई शताब्दीसम्म शासनसत्ता नियन्ता बनेका र शक्ति हत्याएका  अधिकांश राजनीतिक नेता “राजनीतिक गर्नेले बचाई राख्नुपर्ने न्यूनतम मूल्य, मान्यता, लोक लज्जा इमान्तारिता धर्म मर्म”का धरो फालेर हिडेनन् । राजनीतिको यावत् अस्तित्व आफू एक्लैले मात्र  गुमाएनन् । डन, डाँका, कालाबजारिया, तस्कर माफिया भ्रष्ट कर्मचारी अनाचारी, दुराचारीहरुको व्यारेक स्थापना गर्ने र तिनको (उक्त कुतत्वको) आ–आफ्नो दलको र सरकारी पदीय बलको आडवलमा संरक्षण गर्ने गरेको समेत देखियो । त्यसरी संरक्षित अपराधी समूहको शक्तिको चरम दुरुपयोग बेलाबेलामा जसरी गरिन्थ्यो यसवर्ष सम्पन्न सबै तहका निर्वाचनमा सरकार हाँक्नेहरुले नै त्यो निर्धक्क र निर्वस्त्र भएर गरिएको दुनियाँले देख्यो । 
तर त्यसरी यावत् शक्तिको प्रयोग वा उपयोग गरेर जो हिजो निर्वाचनमा जाँदा निर्धक्क राज्यको धन, जन र श्रोत साधन बोकेर निहायत अकिञ्चन हली खेतालाका सन्तानसँग निर्वाचनमा लड्न गएका थिए, ती सबै जसोलाई जनताले छानी छानी लोप्पा खुवाएर फर्काइदिए । तर साह्रै त्यस्तो लज्जास्पद पराजयको पीडा भोगेका लिच्चडहरु नै आज पनि सत्तामा टाँसिइरहेको देखिएका छन् ।  
“राजनीति गर्नेमा निष्ठा र नैतिकता भएन भने शासन प्रशासन गर्नेमा नीति नियमको बेवास्ता गर्ने प्रवृत्ति देखा प¥यो भने सेना प्रहरी संगठनमा आदेश निर्देशनको परिपालनाप्रति हेलचेक्राई देखियो भने, न्याय निशाफ गर्नुपर्नेहरु विधि विधान, ऐन कानून, संविधान प्रदत्त अधिकारको दुरुपयोग गर्ने प्रवृत्ति देखाप¥यो भने जंगलको राज शुरु भयो भनेर बुझ्नु पर्ने हुन्छ” भन्ने राजनीति शास्त्रमा पढिएको थियो । त्यस मानदण्डबाट हेर्ने हो भने “नेपालमा लोकतन्त्र होइन, जंगलको राज छ” भन्ने सिद्ध हुन्छ । त्यस्तो देख्दा देख्ने र भोग्दा भोग्दै पनि मुखले “महान् लोकतन्त्रात्मक मुलुक” भन्नेलाई कुनै नाागरिकले मुखामुख गरेर जवाफ दिन नसक्ला । बढीमा साहसी भए पिच्क्याउला । 
गएको कार्तिक ४ गते पूर्वराजाबाट “आफूलाई देशमा नेता भएको” महसुस नभएको जुन सार्वजनिक अभिव्यक्ति आयो, त्यसलाई “यो देशमा हामीले गणतन्त्र ल्यायौ” भनेर गुड्डी हाँक्नेहरुले कसरी लिए ? तिनैलाई थाहा होला । तर त्यस्तो सन्देशले यो सबै राजनीतिका पेशा व्यवसायीहरुलाई नेता होइनन्, राजनीतिका खेतीहर बाहेक अरु नै केही हुन्” भन्ने संकेत गर्न खोजे जस्तो लाग्छ । यथार्थता त पूर्वराजा बाहेकलाई थाहा हुने कुरा भएन । संभवत सत्ता स्वार्थको दुर्गन्धी पोखरीमा पसेर दुनियाँलाई भद्दा तमासा देखाउँदै गरेका “राजनीतिक पेशेवर र जनता ठगुवाहरु” मध्ये कतिपय त्यो सन्देशबाट बेखबर पनि होलान् । थाहा हुनेले पूर्वराजाबाट दिइएको सन्देश “राजगद्दीबाट हटाइएको रीस आक्रोशबाट बेला बेलामा अभिव्यक्त हुँदै आएको पीडाको पुनरावृत्ति” भन्ने लागेको पनि ठानेका होलान् । 
त्यति सब हुँदाहुँदै पनि “हिजो गद्दी नसीन हुँदा रैती प्रजा जनको भावना चाहना नबुझेर ताजपेश खोसिएका राजाले आज जनताको नेता बन्ने इच्छा आकांक्षा व्यक्त गर्दा सायद जनताले “राजा आउ देश बचाउ” भनेर भनेछ क्यार !” भन्ने सम्म पनि हेक्का नराखी जसरी सत्ता नियन्ताहरु आ–आफ्नै सूर ताल र चालमा एकोहोरो अगाडि बढ्दै छन्, त्यस्को परिणाम के कस्तो हुने आउने हो ? त्यो त भविष्यले भन्ला । तर पनि एउटा कुरा के चाहिँ स्पष्ट छ भने, यी “जनताका नेता भनेका हामी नै ह्वौं” भनेर भन्नेहरुको नौ नाडी राम्ररी छामेर पूर्वराजाले त्यसरी अब “जननेता” भएर शासनसत्ता नियन्ता बन्ने आँट देखाएका होलान् भन्नेतिर पटक्कै ध्यान दिइरहेका छैनन् त्यस्को नतिजा राम्रो होला नहोला त्यतातिर नजाऊँ ।
अहिलेको प्रसङ्ग नागाहरु र नेताहरुको आचरण व्यवहारको तुलना हो । कतिलाई लाग्ला “नागा साँधु” र “नेताहरु” बीच के नै समानता देखिन्छ र तुलना गर्ने ?” होला आवरणमा भलै समानता नदेखिएला । आचरणमा भने सायद त्यति भिन्नता छ जस्तो लाग्दैन । यो देशमा संयोगले त्यस्ता धेरैसँग सहकार्र्य र संगत गर्नु प¥यो जहाँका धेरै मान्छेको आवरण र आचरणमा कुनै पनि समानता देखिएन । बरु उत्तरी दक्षिणी धु्रव जस्तै गरी आचरण र आवरणमा पत्यारै नलाग्ने विरोधाभासका जीवन्त विम्बको रुपमा अनुभूत हुने मान्छेको भीड देखियो । त्यस्ताको भीड र समाजमा आफूले एक्लो महसुस गर्नुपरेको थियो । 
हो, नेताहरु सुकिला मुकिला भएर आलिसान बग्लोमा बस्छन् । नागाहरु घुमन्ते हुन्छन् र अखडामा बस्छन् । त्यसैले आवरणमा नितान्तभिन्नता देखिन्छ । तर आवरणभन्दा आचरण ठूलो कुरा हो । त्यसमा पनि हट्यो देशका शासन सत्ता नियन्ताहरुलाई उनका चाटुकारले जति ठूलो र राम्रो श्वेतपोशी ठाने, माने, भने पनि आम जनताको नजरमा भने “नङ्गा राजा” कथाका राजाभन्दा फरक देख्दा रहेनछन् । अहिले आँखा अगाडिकै परिवेश र परिदृश्यले नै माथिको “नागा र नेता एकै” भनाईलाई परिपुष्टि गरेको देखिन्छ । त्यसलाई सबैले विवेकको भित्री आँखाले हेर्नुपर्छ, त्यति मात्र हो । 
संसारमा जहाँ जहाँ जनताले आफ्नो मतबाट आफ्नो मुलुकको शासन सत्ता नियन्ता निर्वाचित गर्ने व्यवस्था छ, त्यहा त्यहाँ निर्वाचनका माध्यमबाट जनताले अस्वीकृत गरेको व्यक्तिले पदमा नै बसेर निर्वाचनमा गएर हारेपछि आफूलाई पराजित गर्ने व्यक्तिलाई बधाई दिने परम्परा छ । तर तिनै जितुवाका सामने हरुवाहरु सत्तामा रहे बसेको ठाँठ देखाउँदै झण्डा फहराउँदै पूर्ववत् पदमा रहेबसेर त्यही मतदातालाई गिज्याई रहेको  ठिङ्गा देखाई रहेको दृश्य वा उदाहरण आजको नेपालमा बाहेक कहाा नै देख्न पाइन्छ होला ।
निर्वाचनमा शासनसत्ता हाँक्ने पार्टी पराजित भएपछि सरकारको नेतृत्व गर्ने व्यक्तिले तत्कालै नैतिकताको कारण जनाई राजीनामा दिएर आम जनताको निर्णयको सम्मान गर्ने र जिल्ने दलको नेतालाई बधाई दिने लोकतान्त्रिक शासन व्यवस्थामा न्युनतम धर्म र मर्म अनिवार्य र आधारभूत राजनीतिक चरित्र देउवाले प्रदर्शन गर्नुपर्दथ्यो । त्यसपछि त्यही पराजित सरकार प्रमुखलाई नै राष्ट्र प्रमुखले” अर्को सरकार गठन नहुँदासम्म देशको सामान्य दैनिक शासन प्रशासन यथावत् संचालन गर्नु” भनेर आदेश दिन पर्दथ्यो । त्यसपछि “विशेष अवस्था र अनिवार्य खर्च गर्नुपर्ने बाहेकमा रकम कलम खर्च गर्ने र दूरगामी प्रभा पोर्न निर्णय सामान्य दैनिक शासन संचालन गर्नू” भन्ने शब्दावलीको प्रयोगसहित संविधानको धारा ७७(३) अनुसार आदेश दिनुपर्ने थियो । 
यद्यपि निर्वाचनमा उम्मेदवार भई पराजितहरु मन्त्रीहरुले भने त्यस्तो सुविधा पाउँदैनन् । प्रधानमन्त्रीलाई मात्र संविधानले त्यस्तो अवसर दिएको छन्  । तर दुर्भाग्य भनौं कि सर्पले मुखमा चापेर निल्न लागेको भ्यागुताको किरा फट्याङ्गा मोहर तान्ने प्रवृत्ति, अथवा “अव शासन सत्तामा आउने आशा विश्वास र सम्भावना छैन, त्यसैले अन्तिम घडीसम्म पनि देखे, भ्याए र सकेसम्म ढल र मलमा देखे पनि नछोड्ने” चरम निर्घृणी र निचतम निकृष्ट जितेन्द्र देवले अँगालेको लिच्चल चरित्र ? तर त्यस्तो निर्वस्त्र प्रवृत्ति सत्तामा सबैले अँगालेको देखेपछि लाग्यो, भलै नागाहरु लगौंटी फालेर बलेको धुनीको खरानी घसेको र नेताहरु नैतिकता र लोक लज्जाको चिहानमाथि कुर्सीमा बसेका किन नहोऊन् तर व्यवहारमा दुवैले “लाजशर्मको ख्याल राख्नु पर्ने न्यूनतम परिसीमाको भने पटक्कै हेक्का नराखेको” देखियो । 
न्यायकर्ता 
कुनै पनि सभ्य समाजका लागि “न्यायपीठहरु जीवन्त धर्मराजका पवित्रतम मन्दिर हुन्” भन्ने आम जन विश्वास रहेको छ । हरेक पीडित र विधि–विधान, ऐन–कानुन प्रति आस्था राख्ने निरीह नागरिकको जीवन संरक्षणको एकमात्र आधार नै “न्याय मन्दिर” हो । त्यस अर्थमा “सबै देव देवीका मन्दिरमा आस्था र भावनाका देवी देवता बस्छन् भने (त्यो पनि विश्वासको आँखाले देख्ने हो) न्याय मन्दिरमा प्रत्यक्ष र भौतिक चर्मचक्षुले पनि देख्ने (संवाद हुन गर्न सकिने) र पीडितलाई प्रत्यक्ष र देखिने इन्साफ दिन सक्ने देव मूर्ति लेवास गरेका हुन्छन्” भन्ने आम विश्वास भएर नै संसार चलेको छ । त्यसमा जुनसुकै धर्म, सम्प्रदाय, जाति, समुदायले पनि विश्वास गर्दै आएका हुन्छन् । 
तर “पवित्रतम शिवरात्री पर्वमा आउने “नागासाँधु” हरुले पशुपति वरपर वारी पारीका साना ठूला मन्दिरमा बलेर जतिसुकै रोक्दा रोक्दै निषेध र नियन्त्रण गर्दागर्दै पनि कानून विपरित जसरी गाजा चरेस विक्री गर्दै आएका हुन्छन्, त्यसरी नै नेपालका साना ठूला न्याय मन्दिरमा बसेका कतिपय न्यायकर्ताका चौगाधारीहरुले निर्वस्त्र भएर इन्साफ बेच्छन्, फैसलाको कालोबजारी गर्छन्, ठूलो चोर, डन, डाँका, भ्रष्टाचारी अधिकारी माफिया, तस्कर कालो धनवालाहरुलाई हर तवरबाट संरक्षण दिन्छन्, साना तिना खरिदार, सुब्बा र सोही स्तरकालाई सजाय दिएर आफूलाई ठूलो न्याय निसाफकर्ताको रुपमा देखाउँछन्” भन्ने जुन त्यसै पेशा क्षेत्रसँग सम्बन्धितहरुबाट सुनिँदै आइएको थियो, त्यसलाई दिन प्रतिदिनका न्याय निसाफका अनेकन उदाहरण वा साक्ष्यले परिपुष्टि गरेका जे जस्तो आजसम्म देखियो वा सुनियो, त्यसैको आधारमा “न्यायका मन्दिरबाट कालो धन्धा भए गरेको जुन जसरी सुनियो त्यसलाई राज्यले सरोकारहरु मार्फत् तत्काल नियन्त्रण उपायद्वारा बन्द गरोस्” भन्ने शुद्ध मन र विचारबाट नै धेरै पटक यसै र यस्तै स्तम्भ मार्फत् लेखियो । 
तर दुर्भाग्य ! आम भक्तजनको सधैंको गुनासो सुनेर र तदनुरुप नियन्त्रणका लागि सम्पूर्ण प्रयास गर्दै पनि प्रत्येक वर्षका शिवरात्री पर्वमा “नागासाँधुहरु”को अश्लील अशोभनीय र असभ्य विद्रुप दृश्य रोक्न छेक्न सम्बन्धित जिम्मेदार पदाधिकारी जसरी असफल भएको देखिँदो आइएको छ, झण्डै न्याय निशाफका पवित्रतम मन्दिरहरुलाई पनि कतिपयबाट त्यस्तै सावित गर्ने दृश्य एकपछि अर्को गरी शृङ्खलाबद्ध रुपमा (दुःचेष्टा) भए गरेको सुनिँदै देखिँदै छ । त्यसैबाट “नागा, नेता र न्यायकर्ता” सायद उस्तै उस्तै रहेछन् कि ? भन्ने परेको छ । तर विवश र निरीह नागरिकले त्यो सादृश्यतापूर्ण लाग्ने परिदृश्य देखेर पनि सडकमा उभिएर आँखा ढाक्ने वा छी छी भन्दै पिच्क्याउने बाहेक अथवा के नै गर्ने? यस्तै सधैं दोहोरिई रहे जनता स्वयं अगाडि रुँदै उचित कारवाही गर्ला ! किनकि जनता जति धैर्यवान छ तयति नै विवेकशील र अजेय पनि ‘। 


Rating (Votes: )   
Share     Print


Other Articles:
परिवर्तन ‘दौैरा न साराको खल्ती’ भयो (01.09.2018)
प्राचीन हिन्दु अधिराज्यका विविध शासन प्रणाली (२) (01.09.2018)
मुद्दा नै लड्ने भए जन अदालत जाउँ ! (01.09.2018)
प्राचीन हिन्दु अधिराज्यका विविध शासन प्रणाली (01.02.2018)
गोलचक्करमा राष्ट्रपति ः निकास के ? (01.02.2018)
नदुखेको टाउको डोरीले बाँधेर दुखाइदैछ (01.02.2018)
पहिले आफैंलाई चिन अनि अरुलाई ! (12.26.2017)
राजनीति किन सधैं सत्ता र सम्पत्तिमा केन्द्रित ? (12.26.2017)
“निर्लज्ज त थियौ नै, निर्वस्त्र पनि नभई देउ न !” (12.26.2017)
अविवेकी निर्णयको परिणाम ... (12.19.2017)
अजेय जनता जिन्दावाद (२) (12.19.2017)
नेपालको परिप्रेक्ष र संघीय शासन (12.12.2017)
प्राच्यका विश्वविद्यालय, शासनको भाषा र वर्तमान (12.12.2017)
अजेय जनता ! जिन्दावाद ! (12.12.2017)
कहिलेसम्म यो अराजक स्थिति ? (12.05.2017)
सन्दर्भ निर्वाचन : करोडौं खर्चेर चुनाव जित्नेले देशका लागि के गर्लान् ? (12.05.2017)
जित्ने त धेरै होलान् ? तर देश नराम्ररी हार्दैछ । (12.05.2017)
मतदाताले लोकतन्त्र बचाउने कि राष्ट्रियता ? (11.28.2017)
नेता बहकिएका कि बहकाइएका ? (11.28.2017)
“कीर्तिबाबु”को सन्दर्भमा (२) (11.24.2017)



 
::| Latest News

 
[Page Top]