युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 05.28.2018, 01:25am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
०१७ मा महेन्द्र–वीपीको टक्कर र ०७४ मा खड्ग ओलीको उदय
Tuesday, 03.06.2018, 02:33pm (GMT+5.5)

- वेदराज पन्त
१. प्रवेश
खड्गप्रसाद ओली समकालीन विश्वमा कम्युनिष्ट आवरणका राष्ट्रवादी छवियुक्त चर्चित व्यक्तित्व हुन् । नेपालमा अहिले उनी ४१ औं प्रधानमन्त्री बनेका छन् । उनलाई यो स्थानमा जनताको मतले पु¥याएकोा भनिन्छ । समस्या नभएको यो विश्वमा अहिले कुनै राष्ट्र छैन । यो समयमा नेपाल त झन समस्याले वेष्ठित राष्ट्र हो । विश्व मानचित्रमा अति प्राचीन राज्यमध्येको शीर्षस्थ स्थानमा हिमवतखण्ड अन्तर्गतको एक राज्य नेपाल वैदिक वाङ्मयको उद्भव स्थल हो । तर, अतीतको त्यो अवस्था अहिले छैन । सृष्टि संरचनामा शिवभूमि यो नेपालका हिमाली शृङ्खामध्ये अन्नपूर्ण शृङ्खलाबाटै सृष्टि क्रमका वीज–विजान यत्रतत्र छरिएको चर्चा वैदिक वाङ्मयले गर्छ । त्यस्तै वीजाक्षर मन्त्र र नीतिगत सिद्धान्तको प्रतिपादन यसै भूखण्डमा भएको मानिन्छ । अन्न नै ब्रह्म हो । “अन्न ब्रह्मा रसो, विष्णु भुक्ता देव महेश्वर” यो सूत्र यसैको प्रतीक छ । शिवको शाब्दिक र लाक्षणिक अर्थ हुन्छ ‘कल्याण’ ! सबैको कल्याण गर्नसक्ने यो भूमिको नाम ‘नेपाल’ ‘ने’ मुनिबाट पालित भएकोले ‘नयपाल’ र नेपाल भएको हो भन्ने एक मत छ । यही भूमिभित्र त्रेतायुग रामायणकालको अवशेषका रुपमा वाल्मीकि आश्रम छ । जहाँ सीताले निर्वासित जीवन बिताउँदै आफ्ना जुम्ल्याहा छोरा लब–कुशलाई जन्म दिएकी थिइन । यही आश्रममा बसेका वाल्मीकिले विश्वको प्रथम महाकाव्य रामायण रचना गरेका थिए । यसरी नै महाभारतकालका हुन् वा उत्तर महाभारतकालका राजा महाराजा भारतीय उपमहाद्वीपबाट उत्तरापन्थको यात्रा गर्दै नश्वर शरीरलाई विसर्जन गर्न नेपालतिरै आउँथे । भरत जस्ता चक्रवर्ति राजा हस्तिनापुरबाट कालीगण्डकीमा आएर आश्रम बनाइ तपस्या गरेको चर्चा श्रीमदभागवत महापुराणमा रोचक ढंगबाट वर्णित छ । यसरी नै कालीगण्डकीकै किनारमा जैमिनि जस्ता महर्षिले आश्रम बनाएर मीमांसा दर्शन प्रतिपादन गरे । द्रौपदीसहित पाण्डवहरुको उत्तरापन्थको यात्रा र कुकुरसहित स्वर्ग जान खोज्ने युधिष्ठिरको प्रसंग छ । तीर्थ, घाट, गिरिकन्दरामा साधनारत असंख्य योगी, महर्षि, स्वामीहरुको यो देशको सनातन संस्कृति, राष्ट्र–राष्ट्रियता सम्बद्र्धन, संरक्षणको कणकणमा योगदान छ । आर्य सभ्यताको अहिंसा परमोधर्मको सूत्रलाई व्याख्या गर्ने शान्तिदूताका रुपमा बुद्ध लुम्बिनीमा अवतिर्ण भएका थिए । यसरी शाश्वत सत्यको सनातन उर्जाले प्रदीप्त यो हिमवतखण्डको एउटा अति प्राचीन राज्य नेपालको चर्चा चारैयुग र कल्पकल्पमा विविध विधामा संरीक्षत रहेको थियो । मन्दिर संस्कृति होस् वा चैत्य, गुम्बा संस्कृति, पर्वत संस्कृति र नदी संस्कृति होस् कि वैदिक धर्म ओमकार परिवारको संस्कृतिको अजस्र स्रोत यही भूभागमा अझै छ । पुरातात्विक महत्वका यस्ता स्मारक र तत्तत् वाङ्मय, आख्यान–उपाख्यान प्राच्य ग्रन्थ भण्डारमा खचाखच छन् । स्मारहरु कति लोप भए, कति चोरिए । लेखाजोखै गर्न सकिंदैन– कालखण्डे उथलुथलमा प¥यो ।
२. अर्को चरण
टुक्रिंदै, खुम्चिदै संकीर्ण हुँदै भुरेटाकुरे राज्य बने । यस्तै कालक्रममा द्रव्य शाहले गुरु गोरखनाथको आशिरवादमा गोर्खा राज्य स्थापना गरे । रामशाहले न्याय नपाए गोर्खा जानु भन्ने कीर्तिमान त्यही गोर्खाबाट कायम गरे । गोरखनाथकै आशिरवादमा पृथ्वीनारायण शाहले भुरेटाकुरे २२ से, २४ से राज्यलाई एकीकरण गर्ने अभियानन थाले । यरी वैदिक वाङ्मयले उल्लेख गरेको ‘नेपाल’ हिमाली अधिराज्य पुनः अस्तित्वमा विश्व मानचित्रमा शसक्त रुपमा खडा भयो । यसपछिको कालखण्डे इतिहास पनि उत्तिकै रोचक छ । कहिले उत्तरतिरको विशाल राष्ट्र चीन र कहिले दक्षिणतिरको छिमेकी राष्ट्र भारतसंगको द्वन्द्वमा आफ्नो अस्तित्व बचाउन र विश्वमानचित्रमा सशक्त उपस्थितिबोध गराउन सन्तुलित हुनु परेको पछिल्लो इतिहास छ । यसबीच यो शताब्दीमा प्रविधि र विज्ञानको चमत्कारले भूमण्डलीकरणको अर्को आयाममा नेपाल प्रवेश ग¥यो । चीन र भारतको बीचमा रहेको नेपालमा युरोप र अमेरिका पनि अटेसमटेस गर्दै आफ्नो उपस्थिति बोध गराउने हेतुले आआफ्नो स्वार्थ रक्षार्थ प्रवेश गरे । नेपाल यी सबैको सामरिक स्वार्थरक्षाको खेलमैदान, बजार विस्तार र कूटनीतिक प्रयोगस्थलमा परिणत भयो । परिणाम यो मुलुक अहिले अस्तव्यस्त छ, रन्थमोलमा छ । जडौरी भिरेर कुरुप हुँदैछ । नीतिमध्ये अग्रणी राजनीति हो । राजनीति नै अपराधीकरण भएको छ । त्यसैकारण अन्य नीति– अर्थ, परराष्ट्र, गृह, शिक्षा, स्वास्थ्य सबै दुर्गन्धित सडेगलेका कुडा–कर्कट थुपार्ने अनीतिका शिकार बने । त्यसमाथि आयातीत औपनिवेशिक शिक्षा र मानसिकता थपियो । पाँडे, थापा र बस्नेतहरुमा महत्वकांक्षा जगाएर पास्परिक भिडन्त पनि वितेको कालखण्डमा गराइयो । होनी–अनहोनी अकल्पनीय घटना घटे । यही कालमा च्याउ उम्रेजस्तै आईएनजीओ उम्रे । पार्टीतन्त्र खुब मौलियो । शास्त्र छोडेर शस्त्रको बलमा सत्ता कब्जा गर्ने हिंस्रक मानसिकताले उत्प्रेरित ग¥यो ।
३. महेन्द्र र वीपीको टक्कर
विगतमा यसअघि नै शस्त्र प्रहारबाटै जंगबहादुरले कोतपर्व मच्चाए । रक्तरंजित राणाशासनको जग शस्त्रधारीले बसाए । यस्तो राणावंशले चलाएको शस्त्रबलको शासनले शताब्दी पार ग¥यो । शास्त्रसम्मत राजनीतिक अधिकारका निमित्त चार व्यक्ति यसैबीच शहीद बने । २००७ सालमा दिल्लीको मध्यस्थताबाट बेलायती ढाँचाको प्रजातन्त्रले नेपालमा प्रवेश ग¥यो । राणावंशपछि पहिलो प्रधानमन्त्री बने मातृका कोइराला । टंकप्रसाद आचार्य केआईसिं हुँदै पहिलो निर्वाचित प्रधानमन्त्रीमा विश्वेश्वरप्रसाद कोइरालाले करीब डेढ वर्ष शासन चलाए । राजा महेन्द्रले उनीबाट सत्ता खोसे । दिल्लीमा भएको सम्झौता अनुरुपको बेलायती ढाँचाको प्रजातन्त्र विस्थापित भयो । पंचायती प्रजातन्त्र स्थापित भयो । यो व्यवस्था ३० वर्षको वयसन्धिमा भारतकै नाकाबन्दीमा परेर कालकवलियत भयो । राजनीतिको कालखण्डे इतिहासमा राजा महेन्द्र र प्रधानमन्त्री  वीपी कोइराला दुबैको व्यक्तित्व र टकरावको कारण रहस्यमय छ । कांग्रेस भन्छ– राजाले कु गरेर निरंकुश शासक बने । पंचायत व्यवस्थालाई देश जोगाउने र राष्ट्रियताको प्रबद्र्धन गर्न सनातक प्राच्य परम्परा अनुरुप महेन्द्रले पंचायत व्यवस्था असंलग्न नीति अपनाएर स्थापना गरेका हुन् भन्ने अर्को तर्क यसका हिमायतीको छ ।

४. समाजवाद कि पूँजीवाद
महेन्द्र र वीपी दुबैको भौतिक उपस्थिति अहिले नभए पनि वीपीको समाजवाद र महेन्द्रको राष्ट्रवादको खुबै चर्चा हुन्छ । कांग्रेसमा समाजवादको नाममै वीपीको नीतिगत प्रसंगको चर्चा गर्नेहरु वीपीको समाजवाद कहाँको उत्पत्ति हो भन्नेबारे अनभिज्ञ छन् । महेन्द्रको राष्ट्रवाद र सनातन प्राच्य परम्पराबारे अनभिज्ञहरु महेन्द्रलाई क्रुर तानाशाह भनेर निन्दा गर्नमै रमाउँछन् । त्यसैले महेन्द्र र वीपीको नीति निर्माणको स्रोत कहाँसम्म छ, कस्तो छ ? किन दुई व्यक्तित्वको टकराहट भयो र अन्तिम घडीमा वीपी मेलमिलापको प्रसंग उठाउँदै राजासंग किन घाँटी जोड्न आए ? यी सबै पक्ष अन्धाले हात्ती छामे जस्तै हुँदैछ । वीपी समर्थकहरुले गरेको समाजवादी अर्थतन्त्रको स्रोत कहाँको थियो र सुवर्ण शमशेर प्रभृत्ति अन्य कांग्रेसहरुकोा धारणा वा नीतिको स्रोत के हो र कहाँ थियो ? मातृका र सूर्यप्रसाद कहाँबाट संचालित कांग्रेस हुन् ? कहिल्यै ध्यान दिएर खोजी गरिएन । त्यस्तै पहिलो प्रधानमन्त्री हुने सौभाग्य पाएका मातृकाप्रसाद कोइराला र वीपीबीच सैद्धान्तिक कुन कुरामा मतभेद थियो ? योबारे पनि रहस्यको पर्दा अझै हटेको छैन । वीपीको समाजवाद युरोपियन समाजवादीका साथै भारतीय समाजवादी नेताहरुंगको सम्पर्क सूत्रमा आधारित थियो । सुवर्ण शमशेर लगायतका कांग्रेसीहरुको युरोपियन बहुराष्ट्रिय कम्पनीको पूँजीवादका पक्षधरसंग घनिष्ठता थियो । मातृकाप्रसाद लगायतका अन्य व्यक्तिहरु भारतीय नेतासंग खासगरी नेहरु डक्ट्रिनसंग सामिप्य कायम गरेर राजनीतिको रथमा सवार थिए । अहिलेका देउवा प्रभृत्ति कांग्रेसीहरु युरोपियन बहुराष्ट्रिय कम्पनी नवउदारवादका समर्थनमा प्रजातान्त्रिक नेताको रुपमा स्थाििपत छन् । युरोपपियन समाजवाद स्रोतमै शक्तिहीन हुँदैगएकोले वीपीको समाजवादी धार कुपोषणले पीडित बच्चा जस्तै लिखुरे भयो । रामशरण महत प्रभृत्ति पश्चिमा सुगाहरु वीपी समाजवादको घेराबाट बाहिर निस्किए । नवउदारवादी युरोपियन बहुराष्ट्रिय कम्पनीका गोटीका रुपमा उभिए– सत्ता सुख भोगे । नवउदारवादको नारा घन्काउँदै  युरोपियन पूँजीवादलाई मलजल पु¥याएकोमा प्रशंसित भए, पुरस्कृत भए । गिरिजाप्रसाद कोइरालालाई भारतीय संस्थापन पक्षका कांग्रेसीहरुले उचाले । कृष्णपसाद भट्टराई र गणेशमान सिंह घर न घाटका भए । ‘कोटका काजी न घाटका माझी’ उखानको चरितार्थ गर्दै गिरिजाको व्यक्तित्व अगाडि ‘फादर अफ डेमोक्रेसी’को साथै ‘सर्वमान्य नेता गणेशमान सिह’ र ‘सन्त नेता’को पगरी गुथेका कृष्णप्रसाद भट्टराई निरीह बने । परंधाम गए । अकल्पनीय दरबार हत्याकाण्ड भयो । १२ बुँदे दिल्ली सम्झौता गराइयो ।
हिंसात्मक आतंकको मार्ग परित्याग गरेर माओवादीले नेपालका सात दलसंग सहकार्य गर्न सहमति ग¥यो । पुरस्कार स्वरुप पुनःस्थापित संसदमा ८४ सिट मनोनित गर्ने अवसर पायो । यो संसदले राजतन्त्रको स्थानमा गणतन्त्र र धर्मसापेक्ष हिन्दु अधिराज्यकको स्थानमा धर्मनिरपेक्ष समाजवादी संसदीय व्यवस्था बलात उद्घोषण ग¥यो ।
५. कुण्डकुड पानी मुण्डमुण्ड बुद्धि
पृथ्वीनारायण शाहले स्वतन्त्रताको शंखनाद गर्दै राष्ट्रिय एकीकरणको अभियान थाल्दा गोरखनाथलाई गुरु थापेका थिए । शास्त्रसम्मत शासन गर्ने अठोट गरेका थिए । शास्त्र नै शासनको पर्यायवाची शब्द मानियो । २० वर्षमा राजा भएका उनले  ३ दशकको शासनकालमा जति गरे त्यति कुनै  शासक वा राजाले गरेको अभिलेख छैन । विधिको विधान अनुरुप सृष्टि संरचना चल्छ भन्ने प्राच्य अवधारणा अनुरुप महेन्द्रले पंचायत व्यवस्थाको प्रयोग गरेका थिए । वीपीसंग उनको टकरावको कारण वीपी युरोपियन सोसियलिष्टहरुको विचार वा सिद्धान्त अनुरुप शासन गर्न र पाश्चात्य शैलीमै राजतन्त्र वा राजा रहोस् भन्ने चाहन्थे । सुवर्ण शमशेर प्रभृत्ति कांग्रेसीहरु युरोपमा झैं पूँजीवादी ढंगको प्रजातन्त्रको अभ्यास गर्न चाहन्थे । कतै पनि नलागी असंलग्न नीति अनुकरण गरेर महेन्द्र प्राच्य परम्पराअनुरुप स्वतन्त्र हिमवतखण्डको स्रोत भूमिकै रुपमा नेपाल रहोस् भन्ने लक्ष्य–उद्देश्यमा सक्रिय भए । २०१७ सालदेखि ०२७ सालको १० वर्षमा उनले जति काम गरे त्यति काम गर्ने विश्वमा अन्य कुनै नेता छैनन् र हुँदैनन् । राजा वीरेन्द्र कांग्रेसको नजरमा महेन्द्रजति निषेधात्मक व्यक्तित्व नहुनुमा युरोपियन पूँजीवादीको दृष्टिकोण पनि एक हो । पाश्चात्य शिक्षा लिएका र पूँजीवादी प्रजातन्त्रको अभ्यास देखेका उनीमा लोकैषणाको मानसिकता थियो तापनि तत्कालीन भारतीय नीति निर्माता र शाससंग उनको खटपट थियो । अकल्पनीय घटनापछि राजसिंहासनमा आरुढ गराइएका राजा ज्ञानेन्द्र आफ्ना पिता महेन्द्र र जिजुबराजु पृथ्वीनारायणले जस्तै इतिहास रचने सुरले कदम चाल्न खोज्दा दक्षिणतिरबाट यरोप केन्द्रबिन्दु बनाएर आएको हुरिमा परे । दशौंहजार आईएनजओ लगायत क्रिश्चियन धर्ममा धर्मान्तर गराउने नियोजित योजना अनुरुप विश्वमानचित्रमा धर्मनिरपेक्ष राष्ट्र र संघीयताको अस्पष्ट मोडलमा मुलुक गयो । अहिले घनचक्करमा परेको छ । दलदलमा फसेको छ ।
६. अग्निपरीक्षा दिंदै ओली
यस्तो अवस्थामा खड्गप्रसाद ओली र पुष्पकमल दाहालको बाम एकताको गठबन्धनले दुई तिहाई बहुमतको आडमाा विकराल समस्या समाधान गर्ने हुँकार गर्न परेको छ । ओलीका गुरु हुन् माक्र्स र लेनिन, दाहालका गुरु हुन् माओ । स्वतन्त्रताको पाठ यिनीहरुले आआफुना गुरुबाटै पढे । राजनीतिमा निषेधात्मक र विधेयात्मक दुई शब्द नेताहरुमा लागू हुन्छ । अहिले दुबैतर्फका छिमेकी राष्ट्रका निमित्त ओली विधेयात्मक हुन पुगेका छन् । ओलीको व्यक्तित्वबाट आकर्षित भएर चुम्बक फलामतिर स्वाभाविक तानिएजस्तै ओलीको उदीयमान प्रभामण्डलको आकर्षणले भारत–चीनका राजदत प्रतिस्पर्धाकै छनक दिंदै ओलीलाई प्रभाव पार्ने हरकत गर्दैछन् ।
विगत दशकमा समस्या समाधान गर्नभन्दा समस्या छोप्ने गरिएकाले एकपछि अर्को समस्या फुत्तफुत्त निस्कने घटना बढेका बढ्यै छन् । यस्ता छोपिएका समस्या भारततर्फ बढी छन् । आन्तरिक रुपमा राजनीतिक अपराधीकरण भएको छ । कार्यपालिका क्षतविक्षत छ । न्यायपालिका, व्यवस्थापिकाका अंग सबै लथालिं छन् । न्यायपालिका सन्तुलनमा छैन । न्यायको तुलालाई पनि सदाचारले छोड्दै गएर भ्रष्टाचारले लखेट्न थालेको सार्वजनिक चर्चा ब्याइब्याइ भैसकेको छ । प्रतिनिधिसभाा होस् वा राष्ट्रियसभा, प्रदेशसभा होस् कि विधानसभा जताततै डन, माफिया, तस्कर लगायतका द्रव्यपिचासहरु नघुसेको कुनै निकाय छैन भनिन्छ । अन्य जेजति संस्था देशमा छन् ती सबै अहिले अकर्मण्य र एक प्रकारले निर्जीव मुर्दा जस्तै हल न चल छन् । सबै नै राजनीतिकर्मीहरुको महत्वकांक्षा यति उच्च छ– जसको कुनै सीमा नै छैन । 
यस्ता अनगिन्ती समस्याको चुनौतिको सामना गर्ने साहस देखाएर ओलीले प्रधानमन्त्रीको शपथ ग्रहण गरेका छन् । २०१७ सालमा वीपीको नेतृत्वमा कांग्रेसले दुई तिहाई बहुमत ल्याएर डेढ वर्ष सत्ता हाँकेको थियो । वामगठबन्धनले ०७४ सालमा दुई तिहाई नै मत ल्याएर सत्ताको रथ हाँक्नेसुरु गर्दैछ । विशाल दुई छिमेक मुलुक भारत र चीनका साथै युरोपियन नवउदारवाद र भूमण्डलिकरणको यो  परिप्रेक्ष्यमा नेपालको राजनीतिक इतिहासले कुन आयाम लेला प्रतिक्षाकै घडीमा अनेक प्रश्न उठेका छन् । राजनीति आफैंभित्र अनौठो सम्भावनाको खेल मैदान मानिन्छ । नेपालको राजनीतिक मैदानमा देशी–विदेशी खेलाडीको कमी छैन । वामगठबन्धन फुस्केला कि अरु कस्सिएला ? समयले यसको उत्तर आफैं दिनेछ । मधुमास कसरी बित्ला प्रतिक्षा गरौं ।


Rating (Votes: )   
Share     Print


Other Articles:
अब त विधिविधान संविधानको लाशमा दागबत्ती दिने कि सभापतिज्यू ? (02.20.2018)
नेपालको राजनीतिमा फागुन महिना हरेक परिवर्तनको मूल ढोका (02.20.2018)
जताततै अव्यवस्थाको तमासे जात्रा (01.30.2018)
संघीय प्रणालीको भविष्य प्रदेश सभा सदस्यको हातमा (01.30.2018)
थरीथरीका मतदाता, मतदानको प्रयोजन र प्रतिनिधित्व (01.25.2018)
स्थायी समाधान खोज्ने कि सधैं टारटुर मात्रै (01.25.2018)
जनता भन्छन् “नागा, नेता र न्यायकर्ता उस्तै उस्तै !” (01.25.2018)
परिवर्तन ‘दौैरा न साराको खल्ती’ भयो (01.09.2018)
प्राचीन हिन्दु अधिराज्यका विविध शासन प्रणाली (२) (01.09.2018)
मुद्दा नै लड्ने भए जन अदालत जाउँ ! (01.09.2018)
प्राचीन हिन्दु अधिराज्यका विविध शासन प्रणाली (01.02.2018)
गोलचक्करमा राष्ट्रपति ः निकास के ? (01.02.2018)
नदुखेको टाउको डोरीले बाँधेर दुखाइदैछ (01.02.2018)
पहिले आफैंलाई चिन अनि अरुलाई ! (12.26.2017)
राजनीति किन सधैं सत्ता र सम्पत्तिमा केन्द्रित ? (12.26.2017)
“निर्लज्ज त थियौ नै, निर्वस्त्र पनि नभई देउ न !” (12.26.2017)
अविवेकी निर्णयको परिणाम ... (12.19.2017)
अजेय जनता जिन्दावाद (२) (12.19.2017)
प्राच्यका विश्वविद्यालय, शासनको भाषा र वर्तमान (12.12.2017)
नेपालको परिप्रेक्ष र संघीय शासन (12.12.2017)



 
::| Latest News

 
[Page Top]