युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 05.28.2018, 01:25am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
अबको स्थायी शक्ति केन्द्र काठमाडौं ! (?)
Tuesday, 03.06.2018, 02:39pm (GMT+5.5)

- तारा सुवेदी
राणा अघिवशवादी शासन सत्ताका “उन्नायक” जंगबहादुर राणाका पूर्ववर्ती नेपालका शासन सत्ता नियन्ताहरुले अंग्रेजी साम्राज्यवादीका विरुद्ध लडेर आफ्नो राष्ट्रको सार्वभौमिक स्वतन्त्रताको सुरक्षा गरेका थिए । त्यति मात्र होइन– आफ्नो राज्य विस्तार गर्दै टिष्टादेखि नालापानी, काँगडा र सतलतसम्म पुगेको इतिहास अझै जीवित छ । भलै, त्यो विशाल कायम नेपाल खुम्चिएर अहिले मेची महाकालीभित्र समेटिएको किन नहोस् । अझ महाकालीको जलाधार क्षेत्रतिरको (कालापानी माथिको) भूभागमा पनि स्वतन्त्रता प्राप्त गरेपछिका काला अंग्रेज (भारतको हिन्दू महासभा पार्टींका संस्थापक नेता महन्त दिग्विजय नाथको शब्द)हरुको कुदृष्टि परेको छ । 
त्यतिमात्र होइन, सुगौली सन्धिपछिको नेपाल सरहदभित्रको झण्डै लाखौं रोपनी भूक्षेत्र भारतीय पक्षबाट अतिक्रमित गरि सकिएको छ । अझै सीमा स्तम्भ सार्ने र दशगजा (नोमेन्स ल्याण्ड) को जमीनमा घरवस्ती, सीमाचौकी, भन्सार र प्रहरी पोष्ट राख्ने अति निर्घृणी र मिचाहा क्षुद्र व्यवहार विशाल कायका सानो छाती र चित्तका मित्र राष्ट्रबाट भईरहेको छ । नेपालका सीमाविद् त्यही भनिरहेका छन् । तर नपुसंक शासनसत्ता नियन्ताहरुकै कारणले नेपाल खुम्चिँदै गएको र सीमाक्षेत्रको अतिक्रमणलाई मौन सहमति जनाईसकेको अवस्था छ । यस्तोमा कस्ले नै खुँडा खुकुरी बोकेर जानेछ र त्यो अतीतदेखि वर्तमान कालसम्मका शासक प्रशासकको पतीत चरित्र एवं कुकृत्यको चर्चा गरेर मन मुटुमा परेका “घाउ चोटका पाप्रो” उप्काउने ? त्यसैले त्यो उहिलेको इतिहास देखिका पीर पीडाका धेरै थप चर्चा नगरौं । 
यहाँ खाली यत्ति भनौं, राणा अधिकांश वादी (जहाँनिया) शासन पूर्वका थापा पाण्डेहरुले अंग्रेजी साम्राज्यवादी विरुद्ध लडेनन् । आफ्नो सार्वभौमिकता र स्वाधीनताको रक्षा गरे । जंगबहादुर राणा र उनका उत्तरवर्तीहरुले गोरा अंग्रेजदेखि स्वतन्त्र भारतका काला अंग्रेजहरुसम्मलाई रिझाएर आफ्नो शासन सत्ताको निरन्तरता र निश्चिन्तताको लागि आफ्नो देशको स्वतन्त्रता, अस्तित्व, अस्मितासँगै भौगोलिक अनतिक्रम्यता माथि बलात्कार गराउने दुष्कर्म गर्न धक मानेनन् । त्यसैको कारण आज स्वाभिमानी नेपालीको स्वाभिमान मरीच झैं चाउरिँदै गएको देख्नुप¥यो । 
जेहोस्, नेपाल एशियाका दुई ठूलो क्षेत्र र जनसंख्या भएका शक्तिशाली राष्ट्रबीचको सापेक्षमा “सानो भूक्षेत्र, कमजोर अर्थतन्त्र, गरिब जनता र हरीप नेताहरु” भएको अन्तरावर्ती (वफर स्टेट) राज्य हो भन्ने कुरा प्रष्ट छ । सबैले देखे, जाने, बुझेको नै त्यही हो । तर यथार्थ त्यतिमात्रै होइन । माथि भनेझैं नेपाली जनताले “हामी गरिब भलै छौं होला, आजसम्म तर पूर्ण स्वतन्त्र थियौं । अब उप्रान्त पनि जे जस्तो कहर काट्नु परे पनि आधा पेट खाएर, आधा हर ढाकेर, आफ्नो आँतको पीर पीडा पचाएर, राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, अस्तित्व, अस्मिता, शान, मान, स्वाभिमानलाई प्राण दिएर पनि बचाउँछौं” भनेर प्रण गरेकाले नै मुलूक बचेको थियो । 
जनता जति स्वाधीन र स्वाभिमानी भए पनि यो देशमा जो व्यक्ति जति सत्तामा रहे–बसेर शक्तिशाली बने, उनले त्यति नै बढी मुलूकभन्दा छिमेकी माथि आस विश्वास र भर पत्यार गर्ने “दास मनोवृत्ति” बोकेर अगाडि बढिदिए । त्यतिमात्र होइन । नेपाली दरबारले हुर्काए बढाएका हरेक जसो अधिशासक, प्रशासक र राजनीतिक पेशेवर (नेता), व्यक्तिगत र तीर्थयात्राको वहानामा, स्वास्थ्योपचारको नाममा स्वार्थोपचारको लागि दिल्ली दरबार पुगेर चाकडीमुखी भईदिए । जसको परिणाम नेपालको दैनिक शासन प्रशासनमा पद र तिनमा व्यवस्थापनदेखि नेपालको आन्तरिक राजनीति र वैदेशिक नीतिका विषयसम्ममा छिमेकी हावी भए । 
समग्रलाई सार सूत्रमा भन्ने हो भने “दिल्ली दरबारप्रति जस्ले जति भक्ति प्रदर्शन गर्न सक्यो, त्यो व्यक्तिलाई नेपाल र नेपालीले जति हेय त्याज्य र तिरस्कार योग्य ठानेको किन नहोस्, उसलाई नै दिल्लीले नेपालको शासन सत्ता नियन्ता बनाइएको” नेपाल र नेपालीले देख्नु र भोग्नुप¥यो । नेतृत्व वर्गको त्यही सब अपकृत्य र भृत्य प्रवृत्तिले नेपालमा सरकार प्रमुखदेखि कुनै कुनै संवैधानिक निकाय प्रमुखसम्ममा नियुक्त हुने वित्तिकै उहिले जसरी आफ्नै देशको दरबारमा गएर ताजपोशी महाराजका पाउमा दाम राख्ने गरिन्थ्यो, त्यसरी नै बहुदलीय संसदीय प्रजातन्त्रदेखि आजको गणतन्त्रात्मक लोकतन्त्रकालमा आइपुग्दासम्म नेपालको शक्तिकेन्द्र नै दिल्ली दरबार बन्यो । उसकोे ढोकामा ढोग्न जानैपर्ने ठानियो, मानियो । हुँदाहुँदा दिल्लीको सत्ता सिंहासनमा कुनै नयाँ दलका नेताको राजतिलक हुँदा एक थरी नेपाली–जसको संख्या निकै ठूलो र उल्लेख छ भनिन्छ –हरुले नेपालमा “विजयोत्सव” मनाएको र “हर्ष बढाई” गरेको समेत देखिएको थियो । उनको सत्तारोहण भएलगत्तै नेपालमा चमत्कारिक परिवर्तन हुने र मानौं रामराज्य नै फर्काइदिने आशा भरोसा र विश्वास फैलियो । 
तर दुर्भाग्य ! “पशुपतिमा मत्था टेक्न” आएका दिल्लीका “बेताजका नव नरेशको काठमाण्डौंका सडकदेखि सदनसम्ममा जसरी छाती खोलेर स्वागत सत्कार गरियो । त्यसरी नै उनी स्वेश फर्किएर गएपछि उनले” नेपाल र नेपालीले के के गर्नुपर्ने, के के गर्नु नहुने ? सबै काम कुरा दिल्ली दरबारको आदेश निर्देशन अनुसार गर्नुपर्ने, उसलाई नबसाइकन् गरिएको कुनै पनि काम उसले (दिल्लीले) सदर वा अनुमोदन नगर्ने, र स्वतः बदर हुनु गर्नुपर्ने” हुक्मनामा जारी गरियो । जसको जीवन्त र ज्वलन्त उदाहरण वा साक्ष्य–प्रमाण आज झण्डै अढाई वर्षसम्म उसबाट नेपालको संविधान अस्वीकृत भई उसको नजरमा त्रिशंकुको रुपमा झुण्डिई रहनुप¥यो । 
यद्यपि त्यहाँको आदेश निर्देशन बाट नै नेपालको संविधान (२०४७ मा नै नभएको प्रावधान अनुसार झण्डै ५ वर्ष पहिले (२०५९।२।८ मा) विघटित प्रतिनिधिसभा पुनर्जीवित गर्न (२०६३)मा तत्कालिन महाराजलाई बाध्य पारिएको थियो । तर त्यसरी “विधिवत् विघटित” संसदको पहिलो बैठकबाटै संवैधानिक स्थानमान स्वीकारेर गद्दी नसीन भइ बसेका र दिल्लीको आदेश मानेका राजालाई गलहत्याएर नेपालमा गणतन्त्र स्थापना भएको घोषणा गराउने सम्मका जे जति काम २०६३ सालको प्रारम्भसँगै भयो गरियो । त्यो सब दिल्ली दरबार कै आदेश निर्देशन अनुसार भए गरिएको थियो । तर, पनि “संविधान सभाले संविधान जारी गर्नु पूर्व दिल्ली दरबारमा जाहेर गर्नुपर्ने र उसले लालमोहर लगाएपछि मात्र जारी गर्नुपर्नेमा त्यसो नगरेको” अत्तो थापी आफ्ना सीमाबार पारका नन्दी, भृङगी र भृत्यमण्डलीबाट जे जस्तो रसद पानी बन्द गर्ने दुश्चेष्टा गरियो, त्यसले नेपाल र नेपालीको मन, मुटु र मस्तिष्कमा झण्डै १० (दश) रेक्टर स्केलको भुकम्पको झट्का दियो । 
जसको परिणाम जल्लादको हातबाट फुत्किएर आत्मरक्षार्थ भाग्ने प्रयास भयो । नेपालले अर्को छिमेकीसँग गुहार माग्ने साहसिकता प्रदर्शन ग¥यो । त्यसैले हस्तिनापुरका महाराजाको नेपाललाई सधैं आफ्नो नव उपनिवेशवादी राज्य देख्ने अन्धो आँखा खोलिदियो । 
त्यसरी “आफू ताक्छ मूढो बञ्चरो ताक्छ घुँडो” भएपछि भनौं, अथवा दिल्ली दरबारले सिंहदरबारतिर ताकेर हानेको गोली सल्लाघारीतिर पुगेपछि” अब आफ्नो (दिल्लीको) पिँजडाको ढोका  खोलेर फुत्केको नेपाललाई जसरी विकास अनुदान वृद्धिदेखि सयौं एम्बुलेन्स बाँड्ने सम्मका  उपायबाट नेपाललाई पुनः कब्जामा लिने जुन प्रयास भयो, गरियो तस्ले “कहाँ जान्छस् मछाली मेरै ढडिया” सोचे ठानेको ठहरियो ! लगत्तै सम्पन्न तीन तहका निर्वाचनमा नेपाली आम मतदातामाथि त्यसले झन् उल्टो प्रभाव प¥यो । जसको परिणाम स्वरुप आज नेपाली अभिमत दिल्लीको दासताबाट उन्मुक्तिको पक्षमा देखा प¥यो ।
त्यसरी “नेपालको शासन सत्ता आफ्नो हातको रिमोटबाट मात्र चल्ने” संसदीय व्यवस्थादेखि गणतन्त्रको पूर्वाद्र्धकालीन सोंच र संस्कार बोकेको दिल्लीले अर्को छिमेकीले नेपाललाई उदारतापूर्वक साथ सहयोगको हात बढाएर गुहार दिएको देखेपछि आफ्नो कपटपूर्ण कूटनीति बदल्यो । अहिले अगाडि वा सामनेबाट (दुनियाँसामु) नेपालको (मित्रता, सद्भाव सहकार्यमा “समृद्धि समुन्नतिको लागि) उदारतापूर्वक सहयोगीको रुपमा काम गर्ने” प्रस्ताव नेपाली जनताको साथ सहयोग समर्थन प्राप्त दल”का नेता सामु राखियो, अर्कोतर्फ पछाडिबाट आफ्ना (नन्दी, भङ्गी, शकुनी–सेनालाई जनताले सिंहदरबारबाट धोक्रेठ्याक लगाएर सडकमा धकेले पनि घिङ्न्याई गर्दै सिंहदरबार नछोडनु भनियो । त्यसरी जननिषेधित अनैतिक राजनीतिक दलको आडबलमा षड्यन्त्रपूर्वक परिवर्तनवादी र जनादेश प्राप्त बाममोर्चा सत्तामा पुग्दा नपुग्दै (सिंहदरबार पुग्दा नपुग्दै) मिसाइल प्रहार गरेर सिध्याउने जमर्को गरियो । 
तर “उहिलदेखि अहिलेसम्म नेपाल “सार्वभौम स्वतन्त्र मुलुक भए पनि नेपालको भाग्य भविष्यका निर्णायक नेपाली जनता नै देखिए पनि त्यस्मा दूरगामी प्रभाव पार्ने सबै ठूला निर्णय एवं सरकार निर्माण र विघटनसम्मको “एकाधिकार (निर्णायक) शक्ति केन्द्र” एउटा छिमेकी बन्यो । त्यसलाई चुनौती दिँदाको परिणाम वा जोखिमको भोली जे जस्तो मूल्य तिर्नु पर्ने हो, नेपाली जनताले फैसला गर्छ । त्यो सहन व्यहोर्न तयार हुनैपर्छ । तर अब उत्तर र दक्षिणको शक्तिकेन्द्र काठमाडौं नै हुनु बन्नुपर्छ” भन्ने अपूर्व साहसिक निर्णय गर्दै जुन राजनीतिक दलका नेताको पछाडि नेपाली जनबलमा “सिंहदरबारलाई नेपाल र नेपालीको भाग्य भविष्यको निर्णय गर्ने सामथ्र्यसहितको शक्ति केन्द्र” बनाउने भीष्म प्रतिज्ञा साथ जनादेशप्राप्त बाममोर्चाको सरकार जसरी अगाडि बढ्दैछ त्यो अपूर्व र ऐतिहासिक र अपूर्व हो । भलै, त्यसका सामु बग्रेल्ती समस्या, संकट र षड्यन्त्रकारीका सहस्र अदृश्य चुनौती र अवरोधहरु आइ लाग्न सक्छन् । बेला बेलामा थप पहिरो पनि ओहोरिन सक्छ । 
त्यो सब हुँदाहुँदै पनि केपी ओलीको नेतृत्व र प्रचण्डको साथ सहयोगसहित एमालेले कसरी अगाडि बढ्छ, त्यो सबैको उत्सुकतापूर्वकको विषय बनेको छ । त्यसका  लागि उस्ले “न दैन्य, नपलायन्म” को महाभारतकालीन अर्जुनको कठोर प्रतिज्ञा नीति लिने कि ? सत्ता, शक्तिका लागि सबै काम कुरालाई जायज मान्ने ठान्ने “गिरिजा र शेरबहादुरबाट अवलम्बित रणनीति र कार्यनीति अनुशीलन गर्ने र पाँचवर्ष पछि जनतामा जाँदा जे त भन्लान् भन्ने सहज (गतिछाडा) नीति लिने ? त्यो त सम्बन्धित दल र नेताले नै निर्णय गर्ने विषय हो । तथापि “जनता सर्वोपरि र परम शक्ति एवं निर्णय कर्ता हो” भन्नेमा विश्वास गर्ने हरेक नागरिकले “ठूलो दल र शक्तिशालीले आफ्नो छाती र नीति पनि विशाल बनाउनै पर्छ र सबैलाई समेटेर अगाडि बड्दा मात्र समस्याहरुलाई दर किनार गर्दै वा पञ्छाउँदै गन्तव्यमा सजिलोसँग पुग्न सकिन्छ” भन्ने कुराको भने हेक्का राख्नैपर्छ भनेको छ । 
“शुभेष बहुविघ्नानि” !
हामी नेपाली हांै । हाम्रो देशका राजनीतिक दलहरुको नेतृत्व गर्ने एकसेएक चतुर नेता, कार्यकर्ता, वग्रेल्ती र दर्जनौं, सयौं र हजारौं होलान् । राजनीतिक नैतिकता, चरित्र,  सुझबुझ भएको राजनेता भने ती ठूला साना दलभित्र मात्रै होइन नेपाली माटोमा नै सायद जन्मिएको छैन । जो देश अनुसारको कदका राजनेता थिए उनीहरुको पिँढी मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराईको अवशान पछि पूरै सकियो । त्यही “राजनेता विहिनता”को (शून्यताको काप र अन्तरालबाट जन्मे हुर्केकाहरुको अराजकता, स्वार्थ, सत्ता–शक्ति लोलुयताको सरुवा महारोग जेठो र अगुवा दलबाट सबै जसो दलभित्र फैलिएको छ । 
त्यतिमात्र होइन । सत्ता, शक्ति, स्वार्थ र अवसरका लागि जे जस्ता छल कपट, षड्यन्त्र, घात, अन्तर्घात प्रतिघात गर्ने र भेदिया वा पञ्चमाङ्गीको भूमिका निर्वाह गर्ने सोंच संस्कार बोकेका चरम दुष्ट, भ्रष्ट, निकृष्ट अवसरवादीको सशक्त उपस्थिती धेरै ठूला साना दलभित्र सघनरुपमा देखिँदो छ, एमाले त्यसबाट मुक्त छ, छैन ? नेतृत्वले निकै चनाखो भएर अगाडिका पाइला राम्ररी हेर्दै चाल्नुपर्नेछ । 
साथै “भोका नाङ्गालाई समृद्धि समुन्नति र तिव्र विकास”को नीतिका स्वर्णिम सपना देखाई बढी आशावादी बनाइएर कालान्तरमा पूरा गर्न नसकी निराशावादी बनाईए तिनै आज साथ सहयोगी बनेका आम मतदाता भोलि झन् प्रतिघाती बन्न सक्छन्” भन्ने तथ्यतिर ध्यान दिनुपर्नेछ । सम्पन्न, सभ्य, सचेत र शहरिया सम्भ्रान्त बुद्धिजीवि देखि दलका नेताहरुका शीरमा सत्ता र शक्तिको ताजपोश चढाईदिने र उतारि दिने सम्मका खास शक्ति र वर्ग समुदाय चिन्नुपर्छ । हुनेखानेलाई दु्रत राजमार्ग (फास्ट ट्रयाक) बाट एक डेढ घण्टासम्म मधेश तराई पुग्ने, काठमाडौंबाट रेल चढेर दुवै छिमेकका राजधानीसम्म बुलेट ट्रेनमा सयर गर्ने र व्यापार व्यवसाय गर्ने अवसर छिटै जुटाइदिनुपर्नेछ) ठुलो संख्याको मजदुरी गरी बाँच्ने र आफ्नो खेतबारीमा पसिना बगाएर ती सम्पन्न सम्भ्रान्तले तोकेको मोलमा आफ्नो उत्पादन विक्री गर्न बाध्य (हुँदा छँदा खाने) किसानका लागि अरु कुनै नै प्राथमिकताका विषय होलान् । यी आन्तरिक खाँचो र जन चाहनाका चुनौतीहरु सन्तुलित रुपमा सम्बोधन गर्नुपर्नेछ । जसले लोक प्रियताको सूचकाङ्कलाई उराल्ने र झार्ने काम गर्छन् । 
तर, ती अन्तरबिरोधाभाषी कुराहरुभन्दा पनि नेपालको सबैभन्दा विकराल समस्याको रुपमा देखापरेको, देश र दलहरुलाई नै वशीभूत गर्ने र सिध्याउने शक्ति सामथ्र्य साथ चुनौति दिँदै अगाडि आएको भ्रष्टाचार, अराजकता श्वेतपोश अपराध र त्यसलाई संरक्षण मात्रै नगरी संगठित रुपमा नै मलजल गर्दै गरेको न्यायप्रणाली एउटा सिंगो र ठूलो समस्या हो । ती सबै “कुतत्वहरुको माध्यमबाट नेपालको सरकार र राज्य व्यवस्थामाथि आफ्नो अवाञ्चित आधिपत्य जमाउने” एउटा छिमेकीको चाहना होला । उसले नेपालको रक्षा सुरक्षा वैदेशिक सम्बन्धको अख्तियारी हत्याउने अनि “आसेतु हिमपर्यन्तम्” को “नवसाम्राज्य” स्थापित गर्ने षड्यन्त्र जालझेल र चलखेल गर्नेछ । शक्ति केन्द्र बन्दै गएको नेपालको परिस्थिति अपेक्षा र चुनौती सहज समाधान कसरी होला– गर्ला ? घोत्लिनु पर्ने देखिन्छ । नीतिकारहरुले त्यसै भने मानेका होइनन्, “श्रेयांसि बहुविघ्नानि ।”
अन्त्यमा, 
सानातिना कुरामा चित्त बुझेन भने एकले अर्कोलाई धारे हात गर्ने मित्रहरुबीच निर्वाचनको संघारमा जसरी पुन मैत्री भयो, त्यो मित्रता तत्काल जति सहज र सम्भव थियो, भयो । अब “एकीकरण” हुँदै एकतामा रुपान्तरण हुन त्यति नै असहज हुनसक्नेछ । र अन्ततोगत्वा घातक, पुन विघटनको वीजारोपणको कारण त्यही एकीकरण वन्न सक्छ” त्यो नेपालको कम्युनिष्ट पार्टी रा.प्र.पा. जस्ता पार्टीहरुको जन्मजात विशेषता वा चरित्र नै हो भन्ने धेरै छन् । 
अतः यदि (अस्वाभाविक तवरबाटै पनि) एकीकरण गर्ने नै हो भने ठूलो पार्टीले उदारछाती बनाएर अघि बढ्नु प¥यो । हिजो मदन भण्डारीको नेतृत्वको “माले” ले २०४७ सालमा तत्कालीन माक्र्सवादी , पुष्पलाल समूहका मनमोहन अधिकारी–साहना प्रधान नेतृत्वको पार्टीसँग एकीकरण गरेर एमाले जन्माउँदा, जस्तो सापेक्षमा सानो पार्टीले मागे जति सिट र नेतृत्व दियो, त्यसै गरी दिने ह्याउ, हिम्मत हुनुप¥यो । जुन अब आफ्नै एकाघरभित्र भाग नपुगेर कोहलो मच्चाउने लोभी पापीहरुलाई अग्राह्य असह्य र अस्वीकार्य हुनेछ । त्यति गर्दागर्दै पनि भाग नपुग्नेले जसरी पुनः “माले” “माक्र्स वादी” का नाममा अखडा बनाए, त्यसको पनि पुनरावृत्ति होला ?
त्यो विगतलाई दृष्टिगत गरी सकसपूर्वक र साथीहरुलाई चित्त बुझाएर पनि कथचित् एकीकरण भयो भने त्यो चिरकालसम्म टिक्नेवाला किमार्थ हुनेछैन । बरु “अर्को निर्वाचन पर्यन्त” के “एकताको महाधिवेशनमा पुग्दा नपुग्दै एकता टुट्न सक्नेछ । किनकि टुट, फुट, जुट नेपाली राजनीतिको चरित्र नै हो । त्यसमा पनि कम्युनिष्ट एकीकृत भएको दिनदेखि नै त्यो एकता भएको नसहने भित्री बाहिरी तत्व र शक्तिले एकीकृत पार्टीभित्रका हरेक टाठाबाठालाई कुनै तारे होटलमा खाना खुवाउँदै “नेता सत्ता सिंहदरबारको आधिपत्यको आशा भरोसा र विश्वासको सपना देखाइदिने छन् । त्यसो हुनेवित्तिकै (उसले) पार्टी नेतृत्वसँग लाप्पा खेल्ने, पाखुरा सुर्का सुर्की गर्ने, पार्टीभित्र भाँडभैलो मच्चाउने र कुनै पनि बाहनामा केही अरु (त्यसै योग्यता क्षमताभन्दा बढीका नेतृत्वको महत्वाकांक्षी ठेठ्ना वा अस्वीकृतहरु)लाई लिएर “सैद्धान्तिक मतभेद”, “पार्टी नेतृत्वले गलत बाटो”, संशोधनवादी अवसरवादी भएको, बाह्य तत्वको (नवविस्तार वादी, साम्राज्यवादीको) दलाल बन्दै गएको” जस्ता फत्तुर लगाएर भाग्नेछन् । आफूमात्रै माक्स, लेनिन र माओको वा नेपालको राष्ट्र, राष्ट्रियताको एक मात्र लालमोहयिा, झर्रा कम्युनिष्ट, राष्ट्रवादी आदि आदि विविध विरुद्धवली भिरेर “स्वयम्भू नेता” बन्ने ह्याउ हिम्मत गर्नेछन् । 
त्यस्तो यथार्थताको विगतको धरातलमा उभिएर, त्यस्तै योग्यता, क्षमता, आकांक्षा भएकाहको नेता भएर बाहिरका तयस्तै पृष्ठभूमि चरित्र स्वभावकाहरुको सिङ्गै गोठ भित्र्याउने जमर्कोको मूल्य अपरिकल्पनीय अपूरणीय पनि हुनेछ । र अन्त्यमा दुवैका लागि अर्को एउटा “महान् ऐ्तिहासिक भूल” भएको सावित हुनेछ । यसैले जे जसरी हरेकका आ–आफ्नै पार्टी, समूह मोर्चा छन्, तिनीहरुलाई यथास्थान मान सम्मानमा राख्दै मिलिजुलीको सहयात्रा नै सबैका लागि श्रेयस्कर मार्ग हुनेछ । संभव छ, यसैबाट मात्र नेपाल अझै दुवै भित्रको लागि शक्ति केन्द्र कायम हुन, बन्न सक्नेछ ।” धेरै लामो समयसम्म कम्युनिष्ट बनेर सयौं हण्डर ठक्कर र सकस व्यहोरेकाहरुको यस्तै निष्कर्ष जुन पाइयो त्यसमा कसरी पूरै असहमति जनाउने ?
त्यो सबै पक्षमा विचार गरी अघि बढ्नु नै दुरदर्शितापूर्ण निर्णय ठहरिनेछ । दिल्ली र बेइजिङलाई आज जुन जुक्ति, साहस बुद्धिमत्ताबाट काठमाडौंका निकटवर्ती बनाइयो, त्यसरी नै असल छिमेकी, हितकर, सहयोगी पडोसी बनाउन सक्नेछ । काठमाडौं दुवै शक्तिशालीको शक्तिकेन्द्र कायम रहन सक्नेछ । साथै दुवै छिमेकीले दोक्लाम अरुणाञ्चलले विवाद मात्रै होइन कश्मीरकोे विवाद समेत समाधानको थलो काठमाडौं बनोस् भन्न सक्नेछ । तर त्यस्ता अन्तर्राष्ट्रिय विवादको न्यायाधीश बन्ने धृष्टता वा चेष्टता किमार्थ हितकर नभए पनि त्यस्को लागि बैठक थलो बन्न सके ऐतिहासिक गौरवको विषय हुनेछ । तर त्यो दूरका चाँदतिर नजर नलगाऊँ ।  


Rating (Votes: )   
Share     Print


Other Articles:
०१७ मा महेन्द्र–वीपीको टक्कर र ०७४ मा खड्ग ओलीको उदय (03.06.2018)
अब त विधिविधान संविधानको लाशमा दागबत्ती दिने कि सभापतिज्यू ? (02.20.2018)
नेपालको राजनीतिमा फागुन महिना हरेक परिवर्तनको मूल ढोका (02.20.2018)
जताततै अव्यवस्थाको तमासे जात्रा (01.30.2018)
संघीय प्रणालीको भविष्य प्रदेश सभा सदस्यको हातमा (01.30.2018)
थरीथरीका मतदाता, मतदानको प्रयोजन र प्रतिनिधित्व (01.25.2018)
स्थायी समाधान खोज्ने कि सधैं टारटुर मात्रै (01.25.2018)
जनता भन्छन् “नागा, नेता र न्यायकर्ता उस्तै उस्तै !” (01.25.2018)
परिवर्तन ‘दौैरा न साराको खल्ती’ भयो (01.09.2018)
प्राचीन हिन्दु अधिराज्यका विविध शासन प्रणाली (२) (01.09.2018)
मुद्दा नै लड्ने भए जन अदालत जाउँ ! (01.09.2018)
प्राचीन हिन्दु अधिराज्यका विविध शासन प्रणाली (01.02.2018)
गोलचक्करमा राष्ट्रपति ः निकास के ? (01.02.2018)
नदुखेको टाउको डोरीले बाँधेर दुखाइदैछ (01.02.2018)
पहिले आफैंलाई चिन अनि अरुलाई ! (12.26.2017)
राजनीति किन सधैं सत्ता र सम्पत्तिमा केन्द्रित ? (12.26.2017)
“निर्लज्ज त थियौ नै, निर्वस्त्र पनि नभई देउ न !” (12.26.2017)
अविवेकी निर्णयको परिणाम ... (12.19.2017)
अजेय जनता जिन्दावाद (२) (12.19.2017)
प्राच्यका विश्वविद्यालय, शासनको भाषा र वर्तमान (12.12.2017)



 
::| Latest News

 
[Page Top]