युगसम्बाद साप्ताहिक

भ्रष्टाचार निवारणको प्रश्न र यथार्थ (२)
Tuesday, 03.20.2018, 11:02am (GMT5.5)

- महेश्वर शर्मा
“भ्रष्टाचार र घुसखोरीलाई सामाजिक मान्यता प्राप्त आचरण एवं व्यवहारका रूपमा अंगीकार गरेका कारणले यो फस्टाउने गरेको हो । चारजना भेला भएका ठाउँमा भ्रष्टाचार एवं घुसखोरीका बिरूद्ध कुरा उठाउने गर्छ, तर ती कुरा गर्नेहरू नैघुस लिनेदिने एवं भष्टाचार गर्ने क्रियामा सशक्त रूपमा संलग्न हुन्छन् ......। जो भ्रष्टाचारी र घुसखोरी छन् तिनै यसको नियन्त्रण गर्ने तहमा छन् । के तिनीहरूबाट नियन्त्रण गर्ने आशा गर्न सकिन्छ ? भ्रष्टाचार एवं घुसखोरीबिरूद्धको काम गर्ने विशेष प्रहरी विभाग, अदुनिआ, प्रहरी, प्रशासन, न्यायालय सबैमा व्याप्त रहेको परिचर्चा सुन्नमा आउने गरेकै छ ...।” यो उद्धरण हो– “जिन्दगीका छचल्काहरू” –पृष्ठ ३२–१३) को । यस प्रसंगमा भ्रष्टाचारसित सम्बन्धित एउटा कथा पनि स्मरणीय छ–
“तराईतिर डकैतीको डर हुनाले जमीनदार–बाबुसाहेबहरूले राति आफ्ना घर कम्पाउण्डमा घुर तापेर बस्ने लठैतहरू पाल्ने चलन छ । रातभरि जाग्राम बस्नुपर्दा भजने गीत गाउने, कथा सुनाउनेहरूले गाँजा पनि तान्दा रहेछन् । गाँजामा लट्ठिएर भजन गाएको रमाइलो मानेर एकजना जमीनदार तिनै गवैयाहरूसंग गएर बस्न थाल्दा आज एक सर्को, भोलि अर्को सर्को गर्दागर्दा जमीनदारलाई पनि गाँजाको लत बसेछ । उनी दुब्लाउँदै पनि गएछन् । त्यो कुरा थाहा पाएर जमीनदार्नीले वैद्य बोलाएर गाँजा छुटाउने उपाय सोधिछन् । वैद्यले विहान दिउँसो र बेलुका एक एक लोटा गाइको धारोष्ण (दुहुँदा दुहुँदैको तात्तातो) दूध खुवाउने सल्लाह दिएछन् ।
गाई आफ्नै गोठमा थिए । अब जमीनदार्नीले एउटा विश्वासी नोकरलाई त्यही काममा खटाइछन् । दूध खुवाउन थालेको निकै समय हुँदा पनि जमीनदारको स्थितिमा कुनै सुधार नआएको देखे बुझ्दा त त्यो मान्छेले आधाभन्दा बढी दूध त आफैं खाँदो रहेछ । त्यसपछि त्यसैको निगरानी गर्न अर्को मान्छे खटाइछन् । केही दिनपछि बुझदा ती दुबैजना मिलेर दूध खान थालेछन् । त्यसपछि तेस्रो मान्छे थपिछन् । अलि दिनपछि बुझ्दा त ती तीनैजनाले एकएक लोटा दूध आफैं खाएर गाँजामा लट्ठिएका जमीनदारका ओठ र जुँघामा दूधको गाज (फिंज) दलिदिने गरेको रहस्य खुलेछ ।” निचोड के हो भने– भ्रष्टाचार वा कुनै बदमासी रोक्न भनेर जति तह थप्तै गयो उति नै भ्रष्टाचारले फैलने मौका पाउँदो रहेछ ।
साविकमा यहाँ विशेष प्रहरी विभाग थियो । भ्रनि ऐनको अधिकार प्रजिअहरूलाई पत्यायोजित थियो । भ्रष्टाचार सीमित नै  थियो । हुन त त्योबेला कानुनको भन्दा पनि राजाको डर थियो । राजाका क्षेत्रीय भ्रमणमै कतिका जागीर गएका उदाहरण छन् । पछि अदुनिआ, अद्अआ, सतर्कता केन्द्र समेत थपिए । तैपनि भ्रष्टाचार झन्झन् बढ्दो छ । आज त अझ प्रदेश र स्थानीय तहहरूलाई अधिकार दिने प्रसंगमै भष्टाचारकै विकेन्द्रीकरण भयो भनिंदैछ । एकातिर स्थानीय तहदेखिकै जनप्रतिनिधि, सांसद, मन्त्री, कर्मचारी समेत सबैका तलबभत्ता, सुविधामा पनि समय अनुसार वृद्धि हुँदै गएकै छ, तैपनि भ्रष्टाचारको गति रोकिनुसट्टा झनझन् तीब्र हुँदै गएको अनुभव सर्वत्र भैरहेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने संयन्त्रप्रति नै जनविश्वास धर्मराएको छ ।
व्याप्त भ्रष्टाचारले गर्दा आज सरकारप्रति नै जनआस्था घट्दो छ । यस्तो स्थिति किन आयो ? रक्षक नै भक्षक भएपछि यस्तै हुन्छ । कानुन आफैंले रक्षागर्ने होइन । मान्छेले कानुनको मर्यादा राखेर मात्र कानुनले रक्षागर्ने हो । मान्छेका दुराचरणले यहाँ कानुनलाई नै भुत्तो बनाइदिएको छ । हिजोआज कानुन नलगाउनुपर्ने ठाउँमा लाग्ने र लाग्नुपर्ने ठाउँमा नलाग्ने भएको छ । यो विपरीत स्थिति नै भ्रष्ट स्थिति हो । कानुनतः यहाँ जनताले सबै हक पाएका छन्, व्यवहारमा ठीक उल्टो छ । ठूलाबडा र शक्तिशालीले आफ्नो हातको खेलौना बनाएका छन् कानुनलाई ।
कानुन आफैं बोल्दैन, यो मुद्दामा मेरो यो दफा लगाऊ भन्दैन कानुनले । जुक्तिबुद्धि लगाएर उपयुक्त दफालाई उपयुक्त ठाउँमा लगाउने काम कानुनको प्रयोक्ताको हो । प्रयोक्ताको मानसिकता प्रदूषित भएमा भने कानुन जतिसुकै असल भए पनि काम लाग्दैन । मान्छे आत्मसंयमी नभएसम्म कानुनको कोर्राले तहलगाउने हो, तर अख्तियारवालाले नै बेइमानी गरेमा भने इन्साफ हराउँछ । कानुन त आज शक्तिशालीको लट्ठी भएकोले भ्रष्टाचार पनि बढ्दै गएको छ, सानालाई दोष दिनेहरू कै देखिंदैन । सानाले न प्रमाण पु¥याउन सक्छ न त प्रमाण छल्न नै । यहाँ टाठाबाठाकै खेलले गर्दा भ्रष्टाचार बढेको हो । राजनीतिक तहबाट इमानदार प्रयास नभएसम्म माथि उल्लेख गरिएको कथा जस्तै तहमाथि तह थप्तैमा भ्रष्टाचार घट्नेवाला छैन ।
माओवादी उपद्रोकालमा उनीहरूले आफ्ना बिरोधी र रीस उठेकालाई अपहरण गर्ने, सम्पत्ति लुट्ने, भनेको रकम नदिए सास्ती दिएर मारिनै दिने गरेजस्तै भ्रष्टाचार निवारण गर्न खटिएका कतियले पनि आफ्ना रीस उठेकाबिरूद्ध आफैं बेनामे उजुर हाल्न लगाएर दुःखदिने, झारझुर पार्ने गरेका बग्रेल्ती घटना सुनिन्छ । तैपनि भ्रष्टाचारको मुहान यथार्थमा राजनीति नै हो भनिन्छ । स्वार्थपूर्तिका निम्ति जुनसुकै विषयलाई पनि नीतिगत विषय बनाएर अनर्थ गरिरहेका छन् । चाहे आफ्नालाई पैसा बाँड्न होस्, चाहे विदेशीलाई नागरिकता दिन नहोस् या कसैलाई सित्तैमा सरकारी जग्गा दिन होस्– मन्त्रिपरिषद्मा लगेर नीतिगत निर्णय गरिनुमा ठूलो भ्रष्टाचार छ । मन्त्रीहरू नै कार्यसम्पादन नियमावली संशोधन गर्न तयार छैनन् भने उपदेशले मात्रै सुधार हुँदैन ।
त्यसैले सर्वप्रथम त्यस्ता काम रोकिनुपर्छ मात्रै होइन, त्यस्ता निर्णय गर्ने गराउनेलाई पनि सजाय भागी बनाउने व्यवस्था हुनुपर्दछ । यहाँ योग्य र इमानदारको खाँचो छैन । त्यस्ता मान्छे खोजेर उपयुक्त उपयुक्त ठाउँमा राख्न सक्नुपर्छ । “अमंत्रमक्षरं नास्ति नास्ति मूलमनौषधनम् । अयोग्यः पुरूषोनास्ति योजकस्तत्र दुर्लभः ।।’ अर्थात् मन्त्रमा प्रयोग नहुने कुनै अक्षर छैन, औषधिमा प्रयोग नहुने कुनै जडिबुटी छैन, कुनै पनि मानिस अयोग्य छैन” । तर ठीक मान्छेलाई ठीक ठाउँमा लगाएर कामगर्ने व्यक्ति भने दुर्लभ छ । यहाँ पनि नेतृत्वतहमा त्यस्तै दुर्लभ संयोजकको खाँचो छ । आफ्नैलाई जागीर खुवाउने चाकडीदारलाई अथवा पैसालाई प्राथमिकता दिने कामले निरन्तरता पाइरहने हो भने यो देखावटी कर्मकाण्ड औचित्यहीन छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com