युगसम्बाद साप्ताहिक

देशलाई जुरुक्क उठाउने हावादारी गफ !
Tuesday, 04.03.2018, 01:38pm (GMT5.5)

- महेश्वर शर्मा
चर्चिल बिरामी भएर अस्पताल भर्ना भएका तर डाक्टरले भेटघाट गर्न नदिएको अवस्थामा केही पत्रकार अस्पताल पुग्छन्, तर डाक्टरले ‘नो’ भनिदिन्छन् । आखिर पत्रकार न ठहरे । उनीहरुले “एउटा विश्वविख्यात सफल राजनीतिज्ञ आज मृत्यु शैयामा छ । उसले अनुभव गरेका केही कुरा सोध्न पाए सबैलाई काम लाग्थ्यो, नत्र ती सबै ुकरा उसैसंग जान्छन् । त्यसैले यो सामान्य मान्छे होइन डाक्टर ! हामीलाई पाँच मिनेट केही सोध्ने मौका दिनोस् ।’ भनेपछि डाक्टरको अनुमतिमा पत्रकारहरु सघन उपचार कक्षमा प्रवेश गर्छन् ।
पत्रकारको पहिलो प्रश्न हुन्छ– तपाईं सफल राजनीतिज्ञ मानिनुहुन्छ । एउटा सफल राजनीतिज्ञ बन्ने योग्यता र गुण के हुनुपर्छ ? जवाफमा चर्चिलले भनेका थिए– “यो अलि अप्ठ्यारो छ । राजनीतिमा बेइमानीको खेल पनि हुन्छ । चुनावका बेला मैले जितें भने यो यो काम गर्छु भनेर (गर्न सकिंदैन भन्ने जान्दा जान्दै पनि) जनताका अगाडि झूटो प्रतिज्ञा गरिन्छ । तर, ती सबै काम गर्न सकिंदैन । अनि अर्कोपटकको चुनावका बेला जनताले– ‘तपाईंले अघिल्लोपटक गर्छु भनेका काम किन गर्नु भएन ? भनेर सोध्दा यो यो कारणले गर्न सकिन, अर्को मौका दिनोस्, भनेर जनतालाई विश्वस्त पार्ने (अलमल्याउने) सामथ्र्य हुनुपर्छ । असत्यको आधार लिंदालिंदै पनि यसले गर्नसक्छ र गर्छ भन्ने विश्वास जनतामा जगाउन सक्नुपर्छ । म सफल भएँ कि भइँन, म जान्दिन । तर, जनताको विश्वास भने पाएँ ।
चर्चिल त्यसै रित्ता भाषण गरेर प्रसिद्धि पाएका होइनन् । उनको सबैभन्दा ठूलो गुण थियो– जनताप्रतिको दायित्वबोध र इमानदारी । उनी भन्थे– “मोटरलाई गन्तव्यमा पु¥याउन इञ्जिन ठिकठाक हुनुपर्छ । त्यो इञ्जिन भनेको कार्यपालिका हो र ब्रेक चाहिं न्यायपालिका । इञ्जिनले ठिकसंग काम ग¥यो र आवश्यक पर्दा ब्रेकले पनि काम गर्ने भयो भने मोटर निर्विघ्न चल्छ र जनतालाई भनेको ठाउँमा पु¥याउँछ ।” चर्चिलको भनाई र आजको यहाँको कार्यपालिका र न्यायपालिकाको स्थिति विचार गर्ने हो भने रिंगटा लाग्छ । राजनीतिक पक्ष–विपक्षको रोगले प्रशासन त आहत छँदैथियो, अब न्यायपालिका समेत बाँकी रहेन । दलीय भागवण्डामा नियुक्त हुने न्यायाधीशहरु भएको न्यायपालिका आफैं ब्रेकफेल भएको स्थितिमा रहन्छ भने दुर्घटना त हुन्छ हुन्छ ।
दलका नेता जनताको तल्लो तहसम्म पुगेर उनीहरुका दुःखसुखमा सामेल भएर काम गर्दैनन् । अनि चुनावका मुखमा केही हुल्याहा, छुल्याहा, फटाहा, धनका मोटा, डन, तस्कर, व्यापारी, कमिशनखोर, ठेकदार जस्ता समाजका धमिरालाई साथ लिएर यो पनि गर्छु, त्यो पनि गर्छु भन्दै जनतालाई भ्रममा पारेर चुनाव जितेपछि जनतालाई केर्के आँखाले पनि हेर्दैनन् । अधिकांशको व्यवहार यस्तै छ । यतिखेर यहाँ बामगठबन्धनका आठ थान सरकारका हैकमवालाहरुले हुने नहुने सबै गर्छौं भनेर फलाका हालिरहेका छन् । रेल र पानीजहाज पनि कुदाउँछौं भन्दैछन् । देशलाई एकैचोटी जुरुक्क उठाउने फुईँ हाँक्दैछन् । आफ्नो हविगत विचारै नगरी सबै चर्चिल हुन खोज्दैछन् । मुसो जति ठूलो भए पनि हात्ती हुन सक्दैन भन्ने बिर्सिएको छ । सबै हावादारी गणतन्त्रका कुरा गर्दैछन् ।
प्रधानमन्त्रीले आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि नगर्न निर्देश जारी गर्नुभएको छ । त्यस्तै गृहमन्त्रीले सडक जाम हुन नदिने, मिसावट गर्न नदिने, महंगी बढाउन नदिने, इमानारीसाथ काम गर्ने, ठगीधन्दा नगर्ने लगायत सुरक्षाका सबै पक्षमा निर्देशन दिनुभएको छ भने अरु मन्त्रीले पनि आआफ्ना विभागका विषयमा निर्देशन दिने काम फुर्तीसाथ गरिरहेकाले यिनै निर्देशनलाई उपलब्धि मान्नुपर्ने र सरकारका कुनै पनि क्रियाकलापबिरुद्ध बोल्न नपाइने इस्तिहार जारी भयो भने पनि त्यसलाई चुपचाप स्वीकार्नुपर्ने उर्दीका रुपमा आयो भने पनि आश्चर्य नमाने हुन्छ । अब त जनता निर्देशन–उपदेश सुन्न अभ्यस्त भैसकेका छन् ।
नेपालमा सरकारहरु धेरै धेरै बेहोरेका छन् जनताले । सरकारहरुका आदेश–निर्देश–उपदेश सुन्दासुन्दा कान पनि टट्टाइसकेका छन् । डनमैत्री, धनमैत्री, तस्करमैत्री, भ्रष्टाचारमैत्री, अपराधीमैत्री, कार्टेल–सिण्डिकेटमैत्री, कमिशनखोरमैत्री आदि अनेकथरि समाजका धमिरा खुदुरमुसा समेतका मैत्री सरकारहरु जनताले बेहोरिसकेका छन् । सरकारमा हुनेहरुको व्यवस्था तिनैले मिलाईहाल्छन् । जनताका भागमा सदाचार र अनुशासनका हितोपदेश पस्किदिएपछि अरु के चाहियो ? भनेजस्तो स्थिति छ । वास्तवमा विभिन्न तहका जनतामा विभाजन ल्याइदिने, तस्करी–कमिशनखोरी, कार्टेलिङ गरेर जनतालाई झुक्याएर शोषण गर्नेहरुलाई नै फाइदा पु¥याउने गरी काम हुँदैआएको सरकारहरुको परम्पराले बिंडो थामेकै छ । माथीदेखि तलसम्म यो संक्रमणले नछोएको कुनै पक्ष छैन ।
अहिले केन्द्रमा केही मन्त्रालय र मन्त्री संख्या घटाए पनि बाहिर सातथान प्रदेश सरकारका मन्त्रीकै संख्या झण्डै सयको हाराहारीमा पुगेको छ । साविकमा ५०–६० जना मन्त्रीलाई भाग पु¥याएको बानी, अहिले केन्द्रमा मन्त्रालय घटेको बेजो उठाउन राष्ट्रियसभा–प्रतिनिधिसभाका संसदीय समितिहरुको संख्या पनि मन्त्रालय संख्याकै अनुपातमा बढाएर ामन्त्रीको भाग नपुगेकालाई भाग पु¥याउने घुमाउरो चाल चाल्दैछन् । स्मरणीय छ–समितिका सभापतिहरुले पनि राज्यमन्त्रीसरह सुविधा पाउने हुनाले यो पाश्र्वढोका (जस्केलो) खोलिंदैछ रे । यस्तै हो भने भ्रष्टाचाररहित पारदर्शी सुशासन दिन्छु भन्ने प्रधानमन्त्रीका बाचा के हुने ? त्यस्तै अर्कातिर समानुपातिक संसदमा व्यापारिक घरानाको प्रवेशलाई भ्रष्टाचार र आर्थिक अनियमितताको प्रभावका रुपमा देखिन थाल्दा त्यसले कस्तो असर पार्ला ? सोच्नुपर्ने हो कि होइन, कुन्नि ! सफल राज्य संचालन र आजको अव्यवस्थित स्थितिले के संकेत गर्छ ? प्रतिक्षाकै विषय छ ।
अन्त्यमा,
आजसम्म भाषण मात्रै भए, अब काम गर्ने हो भन्ने प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालका भाषण सुनेका उनीहरुका चेला पनि त्यही भाषण दोहो¥याइरहेका छन् । सरकारले समृद्धिका नारा अघिसारेको छ । यो सानो गरीब देशमा झण्डै सयजना मन्त्री र नौसय जति त सांसद मात्रै भएपछि उनीहरुको समृद्धि त त्यसै पनि भैहाल्यो । त्यसमाथि उनीहरुका सल्लाहकारका लस्करको समेत समृद्धि भएपछि अरु के चाहियो ? जय होस् !


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com