युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.24.2018, 02:29pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
बढ्दो अपराधको समस्या
Thursday, 04.12.2018, 11:22am (GMT+5.5)

- तारा सुवेदी
अपराधको पृष्ठभूमि
आजको एक्काइसौं शताब्दीको समाज समयभन्दा अस्वभाविक रुपमा पतनोन्मुख बाटोमा तीव्रतर गतिमा दौडिरहेछ । यसरी वृद्धि हुनुका पछाडि उही “समाजमा बढ्दो उपभोक्तावादी प्रवृत्ति र आडम्बरवादी सामाजिक प्रतिस्पर्धा, त्यस अनुपातमा साधन स्रोतको न्यून वा नगण्य आपूर्ति, विश्वका संभ्रान्त देशहरुको फेशन, जीवनशैली, यौन स्वतन्त्रताको भद्दा नक्कल गर्ने विकृतिपूर्ण नयाँ संस्कृति, नेपाली समाजको मौलिक परम्परा मान्यताप्रति हीनताबोध गर्ने शिक्षा दिने पश्चिमा नीतिको घनीभूत हुँदै गएको प्रभाव, नैतिक शिक्षालाई विद्यालय तहदेखि नै गरिएको खारेजी” पनि मुख्य कारण मानिन्छ । सार समष्टिमा “समाजको गत्यात्मकतासँगै बद्लिँदै गएको सामाजिक मूल्य मान्यता, आदर्शका परिभाषा आदि दृश्य अदृश्य महसुस गरिए नगरिएका सयौं कारण होलान् । ती सबै विषय समाज मनोविज्ञान वेपत्तादेखि मनोचिकित्सक र अपराध शास्त्रीको कित्तामा पर्ने विषय हुन् । देशको परिवेशले त्यस विषयमा केही चर्चाको अपेक्ष्य गरेको जस्तो लाग्छ । 
“अपराध” मानवीयव्यवहार जन्य कृत्य हो । त्यसलाई सकारात्मक र सहज मानिन्न । सबै राज्य, सरकार, समाज, धर्म, समुदाय, जाति, वर्ग, सम्प्रदाय सधैं अपराध मुक्त समाजमा वस्न–बाँच्न चाहन्छ । कसैलाई पनि “अपराध” भए गरिएको सहज र स्वीकार्य हुँदैन, लाग्दैन । तर पनि अस्वाभाविक र भयावह रुपमा अपराध र आपराधिक गतिविधि वा प्रवृत्ति बढ्दो छ । अपराध जीवन मृत्यू वा रोगव्याधिको रुपमा स्वाभाविक र व्यापक रुपमा बढ्दै गएको छ । नयाँ नयाँ प्रविधि, अपरिकल्पित शैली र तरकीव (उपाय) अपनाएर अपराध गर्ने र त्यससँगै “सजायबाट उन्मुक्ति कसरी लिन, पाउन सकिन्छ” भन्नेतिर पनि अपराधकर्मीले निकै होशियारीपूर्वक सोच्ने गरेको देखिन थालेको छ । अपराध गरेको पुष्टि गर्ने साक्ष्य–प्रमाण मेट्न नयाँ नयाँ अपूर्व उपाय अपनाउने गरेको सार्वजनिक हुँदै आएको छ । 
यद्यपि “अपराध” सार्वभौमिक विषय मानिए पनि यसको व्याख्या र परिभाषा सर्वमान्य, सार्वदेशिक र समान हुन, गर्न सकिएको छैन । उदाहरणका लागि रक्सी खानु, बहुविवाह गर्नु धर्म र सम्प्रदायगत रुपमा फरक मान दण्डबाट हेर्ने र सजाय वा उन्मुक्ति दिने प्रचलनलाई लिन सकिन्छ । ‘इलियट’ र ‘मेरिस’ले गरेको परिभाषा, ‘थोमस सदरल्याण्ड’, ‘हेकवाल’, ‘ब्राउन’ आदि जस्ता दर्जनौं प्रख्यात अपराधशास्त्रीहरुले गरेको परिभाषाहरु फरक फरक देखिन्छन् । अपराध एकै तरिकाबाट नभई नैतिक, धार्मिक, सामाजिक, वैयक्ति, संगठित जुन रुप र माध्यम वा कोटीमा पर्ने किसिमबाट गरिएपनि त्यस्को उत्तरदायी “प्राकृतिक व्यक्ति” नै हुनुपर्ने हुन्छ । विशेष अवस्थामा कानूनी (गैर प्राकृतिक व्यक्ति । जस्तै कुनै संघ, संस्था कम्पनीजस्ता व्यक्ति)बाट अपराध भए गरिएको देखिए ठहरिएपनि त्यसको दण्ड सजायको भागिदार अन्ततोगत्वा कुनै न कुनै नैसर्गिक व्यक्ति नै हुनुपर्ने हुन्छ । 
हरेक राज्यले आफ्नो राज्यभित्रका अधिसंख्यक समाज समुदायले अस्वीकृत गरेका मूल कानून (संविधान, ऐन, नियम) विपरितको कृत्यलाई ‘अपराध’ ठह¥याउने र त्यस्का लागि निर्दिष्ट कानुन अनुसार निष्पक्ष र विवेकसम्मत् सजाय दिने व्यवस्था पनि (राज्यले) गरेको हुन्छ । तर अपराध गरेको ठहर गर्ने र सजाय दिने न्यायकर्ताले प्रमाणसँगै नियत र उद्देश्य निश्चित गरेर मात्र सजाय गर्नुपर्छ, गर्छ । 
उदाहरणका लागि कुनै व्यक्तिबाट कुनै व्यक्तिको मृत्यु भयो । तर त्यो कसरी किन कुन परिवेश र परिस्थितिमा मृत्यु भयो ? साह्रै गम्भीर र विवेक सम्मत हुने देखिने ठहरिने गरि सजाय गर्नुपर्छ । सवारी चलाउनेले हर प्रयास गर्दा गर्दै पनि कुनै व्यक्तिको मृत्यु भएको हो कि, मृतकको चरम लापरवाहीले मृत्यु भयो? कि, चालककै लापरवाही बदनियत र योजनाबद्ध रुपमा मारियो ? त्यस्तै कुनै व्यक्तिको हतियार प्रयोग गरेर वा गोली हानेर हत्या गरिएपनि दुराशयले, योजना बनाएर वा मार्ने नियत लिएर नै मारिएको हो ? कि, तत्कालको रीस आवेशको वेग रोक्न नसकी विना दुराशयविना, योजना नै परिवेश र परिस्थिति वश मारिएको हो ? (जस्तो कि उहिलेको कानूनमा साघु (वैधपति)ले जार काट्न पाउने व्यवस्था थियो । तर त्यस्को पनि विधि तोकिएको थियो, मुलुकी ऐनद्वारा ।
माथि पनि उल्लेख भई सकेको कुरा हो, “समाजको गत्यात्मकता, सूचना प्रविधिको व्यापकता, ज्ञान र विज्ञानका क्षेत्रको क्षितिजको विस्तारले मानव जगत्को उन्नति प्रगतिमा अपूर्व योगदान पु¥याएको छ  । तर त्यससँगै मानिसको जीवनलाई जटिल, समस्या ग्रस्त बनाउँदै ध्वस्तीकरण र भ्रष्टीकरणको पतनोन्मुख बाटोतिर पनि जबरजस्त रुपमा धकेलीरहेको देखिँदै छ । यस्ले अवाञ्छित तरिकाको विकासले युवा वर्ग समाजको कुनै अंग वा समुदायलाई मात्र होइन, सिंगो राज्य वा राष्ट्रको चरित्र परिचय इतिहास र बाँकी इज्जत प्रतिष्ठालाई समेत समाप्त गर्छ, निश्चित छ । 

नेपालमा अपराध
फेरी माथिको भनाई दोहो¥याउँ । अहिले अपराधका ढाँचा वा शैली, स्वरुप र गतिविधि व्यापकतातिर बढ्दो छ भने आपराधिक मनोवृत्तिको कारण र निवारणका उपायको खोजी “अन्धाको हात्ती छमाई र ठम्याई” सावित भएको छ । अझ अपराधको निवारण वा शून्यीकरण” त “रामराज्यकालनि शासन काल”को परिकल्पना मात्र होला भन्ने लाग्छ । किनकि रामराज्यमा “न मे स्तेयो जनपदे, न दण्डो न च दाण्डिकः” (मेरो राज्यमा न चोर छन्, न चोरी र अन्य अपराध नै हुन्छ । त्यसैले मेरो राज्यमा न दण्ड विधान र दण्डसम्बन्धी कानुन छ, न दण्डित गर्ने निकाय (प्रहरी र न्यायालय) भनेर उल्लेख भएको छ) । त्यति हुँदाहुँदै पनि अशिक्षा, विकासको अभाव सीमान्त गरिबी वा चरम विपन्नता पनि अपराध वृद्धि हुनुको मुख्यकारण भएको निष्कर्षमा पुग्ने पनि छन् । त्यस्को ठोस् आधार “वुभुक्षिताः कि न कुर्वन्ति पापम्” भन्ने पञ्चतन्त्रको नीति सूत्रलाई नै मान्नु र ठान्नु पर्दैछ” यस्तो पनि तर्क आउने गर्छ । 
तर अपराधको कारण वा उपादान तत्व त्यतिमात्रलाई ठान्नु मान्नु गलत र एकांगी हुने छ । यसबारेमा डा. अलफ्रेडको भनाई यस्तो थियो– “जुन व्यक्तिको मन मथिङ्गलमा हीनताको मनोग्रन्थी सवल बनिसकेको छ, उसले अनेक अपराध गर्छ । किनकि, त्यस्तो कठोर दण्डीय अपराधिक कृत्यद्वारा नै उस्ले आफूलाई अरुभन्दा बलशाली र महान् सावित गर्न सकिन्छ भन्ने ठानेको हुन्छ । आधुनिक मनोविज्ञानले पनि अपराधीको वाल्यकालदेखी नै त्यस्तो अपराध पूर्ण कार्य गर्ने सोंच, संस्कार र भावना जुन सूक्ष्म र सुषुप्त अवस्थामा विद्यमान भएको हुन्छ । त्यही अपराधिक सोंच, समय र परिस्थितिको मल जल पाई उसले कार्य रुपमा देखाउने काम गर्छ” भन्ने सिद्ध गरेको हुन्छ ।” 
जहाँसम्म “नेपालमा अपराध निर्वाध रुपमा मौलाउँदै गएको” भन्ने आम धारणा र विश्वास छ, त्यही सन्त्रासले “समाज सरकारको भन्दा, त्यस्तै अपराधी वर्ग समूहको लाचार छायाँ बन्दै गएको” स्थिति छ । हुँदा हुँदा अहिले बाह्य जगत्सँगको सहज सम्बन्ध, सम्पर्क बढ्दै गएसँगै सचेत र प्रबुद्ध वर्ग समुदायमा “नेपाल अपराधीहरुको हाम्रो सुरक्षित र उन्मुक्तिको प्रत्यभूति प्राप्त स्वर्ग भूमि हो” भन्ने प्रवल मान्यता विकास हुँदै गएको छ । व्यवहारबाट त्यो ठनाई स्पष्ट रुपमा देखिँदो र अनुभूत गर्नु परिरहेको छ । 
“शान्तिदूत बुद्धको पवित्रतम् जन्मभूमि शान्तिभूमि” भनेर दुनियाँमा प्रचार गर्दै हिँड्ने मूलुक नेपालमा किन राज्य सञ्चालन गर्ने जनादेश प्राप्त सरकार भन्दा समाज विरोधी आपराधिक कृत्य तत्व वा प्रवृत्ति प्रबल छ ? त्यसको सायद कारण “ऐन कानूनका हातले भेटाएसम्म कठोर दण्डको डण्डाले कारावास पु¥याउने जिम्मेदारहरु नै अँध्यारो दुनियाँका बासिन्दाको शक्ति सामथ्र्यप्रति बढी विश्वस्त भई वा त्यस्ता तत्वबाट संत्रस्त भई रहनु पनि हुन सक्छ । शासनसत्ता नियन्ता समेत त्यस्तैका लाचारछाया बन्दै गएको देखिनु पनि हुन सक्छ । तर त्यस पाटो र बाटोतिर भने न कुनै मानवाधिकारवादी, न कुनै प्रबुद्ध वर्ग, न कुनै दलको निकटस्थ भएर पनि स्वतन्त्र र तटस्थको रामनामी ओढेको नागरिक समाज, न कुनै “विधि विधान शासित राज्यको संस्थापना गर्ने माला जप्ने डलर भक्षीहरुले नै नै ध्यानदृष्टि दिए । न त सार्वजनिक बहस र सडकदेखि सदनसम्म “फलानालाई फाँसी दे” भनेर कसैका विरुद्ध आक्रोस प्रतिशोध साध्ने विद्यार्थी, युवा सामाजिक अभियन्ताले नै यसरी आफ्नो मुलुक विधि, विधान, ऐन शासितको अवस्थाबाट क्रमश असामाजिक, आपराधिक तत्व र शक्तिको कब्जामा पर्दै गएको प्रति नै चासो र चिन्ता प्रकट गरेको देखिन्छ ? 
अपराधकर्मीको स्वर्गभूमि यसरी बन्दैछ देश ।
माथि “नेपालको दण्ड विधान, ऐन कानुन र न्याय प्रशासन (न्यायकर्मीको चरित्रसमेत) गहिरोसँग अध्ययन गरेका, विश्वको जुनसुकै किसिमको शासनप्रणाली अँगालेका कानून वेत्ता मात्रै होइन, सचेत नागरिक धारणा सम्मले पनि “नेपालमा जतिसुकै क्रूरतम वा जघन्य अपराध गरे पनि संभवत संसारकै सबैभन्दा न्यायमात्रको (कम) दण्ड सजाय हुने मुलुक” मान्दछन् । अझ “रकम खर्च गर्नसके सहज न्याय निसाफ लिन (खरिद गर्न) पाउने र ससम्मान सफाई (उन्मुक्ति सफाई पाइने मुलुक” ठान्ने रहेछन् । किनकि नेपालमा जतिसुकै ठूलो हत्या, राष्ट्रद्रोह, गरे पनि सबैभन्दा ठूलो वा अधिकतम सजाय हुने भनेको “सर्वस्वसहितको जन्मकैद” हो । जन्मकैद भनेको वीस वर्षको जेल सजाय हुने हो । सार्वजनिक विदा पर्वका दिन कटाउँदा बढीमा १३÷१४ वर्षमा त्यो जन्मकैद” को अवधि पूरा गरेको मानिन्छ । अझ जेलरले राम्रो चाल चलन भएको भनेर लेखि दियो र कारागार विभागले पनि त्यसैलाई आधार मानेर गृह मन्त्रालयमा सिफारिस गरी पठाई दियो भने आधा वा दुईतिहाई (अर्थात् ८–१० वर्ष) सजाय भुक्तानी गरेपछि “राष्ट्रिय महत्वका दिन कैदी मुक्त हुने” मौका पारेर छुट ने छुटाइने गरिन्छ । सबैलाई स्पष्ट थाहा छ त्यो “चालचलन राम्रो भनेर गर्ने सिफारिस भनेको कैदीको परिवार, आफन्तजन वा ग्याङ्ले “गनेर” गरिने गराइने” सिफारिस नै हो । यसै सम्बन्धका जानकार पत्रकार भित्रको टिप्पणी थियो, यो ।
अर्को कुरा, “नेपाल दुई खालका अपराधीको स्वर्ग भूमि” रहेछ । दुई खाले अपराधी भन्नाले “भूमिगत वा सामान्य व्यक्तिबाट हुने गरिने” अपराध र “श्वेत पोश अपराध” भन्ने हो । कुनै पनि सार्वजनिक पद वा हैसियतमा नभएको, साधारण व्यक्तिले “राज्यको ऐन, कानूनले, निषेध गरेको वा परम्परा, समाज, समुदाय व्यक्तिको हित, सुरक्षामा घात पर्ने पार्ने काम कुरा गरे गराएको अनैतिक मानिने कुनै पनि कार्य लुकीछिपी वा रीस राग, आक्रोस, वैर–विद्वैष वा लापरवाही, हेलचेक्राई पूर्वक गरे गराएको कार्यहरु” एउटा (पहिलो) श्रेणीमा पर्छ । त्यस्को वैज्ञानिक परिभाषा र वर्गीकरण लोम्ब्रोसो, गेरोफलो सदरल्याण्ड, हेज, हेवलोक एलिस अशाफेन वर्ग आदि अपराध शास्त्रीहरुले गरेका छन् । तर त्यो सबै यहाँ उल्लेख गर्न सम्भव छैन । पेशेवर अपराधी, पागर अपराधी, कामुक, अपराधी विवश अपराधकर्मी, आकस्मिक अपराधी, राजनीतिक अपराधीका रुपमा गरेको वर्गीकरणलाई नै उनीहरुले यस श्रेणीमा राखेका छन् । यही वर्गमा पकेटमार, ठग, चोर, गुण्डा, डन, डाँकादेखि तस्कर, माफिया सामान्य हत्यारा, पेशेवर, सार्फ–सूटर, हत्यारा, र कुख्यात आंतकवादी सम्म पर्छन् । 
दोस्रो, अर्थात् “श्वेतपोश अपराध”को परिभाषा र वर्गीकरण अझ व्यापक छ । सामान्यतया “राज्यको विधि विधान ऐन कानुनद्वारा प्रदत्त अख्तियारको प्रयोग गर्ने, समाजले ‘प्रतिष्ठित सम्भ्रान्त’ भनी सम्मान गर्ने गरेको, कुलीन तन्त्रवादी, आम नागरिकबाट निर्वाचित वा अनिर्वाचित, उच्च सार्वजनिक पदमा वहाल रहेको, विशेषाधिकार वा सम्मान प्राप्त, ख्यातिप्राप्त, चिकित्सक कानून व्यवसायी, राजनीतिक नेता, शासक प्रशासकहरु यसमा पर्छन् । उनीहरु स्वयं बाहिर नआई अन्य व्यक्ति (विचौलिया) पात्रका माध्यमबाट गरिने र विधि, कानून, ऐन प्रतिकूल वा समाजले अनैतिक बेइमानी र विश्वासघाती कार्य ठहर्ने कार्य गरी राज्य, सरकार, समाजलाई हानी नोकसानी पार्ने” समग्रमा भ्रष्टाचार, अनाचार, व्यभिचार, दुराचार जन्यकृत्य ठहरिने, काम जुन वर्ग व्यक्तिले गर्छ त्यसलाई “वालर स्टेन” ‘वाइल’ जस्ता विशिष्ट समाजशास्त्री (अपराध शास्त्रविद्हरुले “श्वेतपोश अपराधी”को रुपमा परिभाषा गरेको देखिन्छ । 
यस्ले नै स्पष्ट भन्छ, “नेपाल उक्त दुवै खालका अपराधीहरुको स्वतन्त्र पेशा व्यवसायको उर्वर र सुरक्षित मुलुक बन्दै गएको सावित भएको छ ।” राज्यका सबै जसो विधिको शासनका पक्षग्राही, राष्ट्रसेवक, मूल्य (नैतिकता)मा आधारित राजनीति गर्ने व्यक्ति (नेता) विशुद्ध मानव सेवाभावले समाज सेवा गर्ने समाजसेवी, देखी ध्यान, ज्ञान, योग साधकहरुजस्ता सबै उक्त दुवै खाले अपराधकर्मीको चपेटामा परेर सिद्धिँदै गएको छ । यो देशका आजका राज्य शासन सत्ता नियन्ता त्यस्ता दुवै खाले आपराधिक तत्वको लाचार छायासावित हुँदै गएको टड्कारो देखिएको छ । त्यही “साँधुलाई शूली, चोरलाई चौतारी” को परिस्थिति र “लथालिङ्ग देशको भताभुङ्ग चाला जो जस्ले भेट्छ उसैले खाला”को परिदृश्य चाहेर वा नचाहेर पनि यत्रतत्र सर्वत्र हेर्नु, देख्नु परिरहेछ । 
“जहाँ राज्यको ढुकुटी आय वृद्धि गर्ने र संरक्षण गर्ने जिम्मेवारहरु नै ढुकुटी चोरी रहेछन् मनपरी लुटिरहेछन् राई दाई रजाई गरिरहेछन् । जहाँ न्याय निशाफ दिनुपर्ने दायित्व र अधिकारहरु प्राप्त खुलेयाम गरी न्याय इन्शाफ बढाबढ बेचिरहेको सार्वजनिक संचार माध्यमार्फत् नै दुनियाँले देखिरहेछ । जहाँ आम नागरिकको सुरक्षा लिएका निकाय, अधिकारीहरु नागरिकलाई संत्रस्त गर्ने र हजारौं डन, डाँका, गुण्डा, चोर, पकेट माराहरु जन्माउने संरक्षण गर्ने र तिनीहरुका मध्यामबाट अकूत आय आर्जन गरिरहेको सुन्नु परिरहेछ । जहाँ जनताको मत र विश्वास लिएर “देश र आम नागरिकको चाहना र भावनाको सम्मान गर्दै सेवकको रुपमा काम गर्ने” वाचाकसम खाएका सर्वशक्तिमान ठूला ठूला पदमा आसीन मान्छेहरु नै राजनीति र जनादेशलाई “अच्छा खासा अकूत कमाईको साधन वा वैध माध्यम ठानिरहेछन् । जहाँ निरीह, निःसहाय सीमान्त विपन्न दूरदराजको घेरो फाटेको टोपी लगाएका नागरिकले जततातै त्यसै काला हात र मुख भएका (गुण्डा, डन, डाँका, हत्यारा, अपहरणकारी का कुकृत्यदेखी ५–६ वर्षे अबोध बालिकालाई बलात्कार गरी हत्या गरिएको समाचार सुन्नु पढ्नु पर्छ, जहाँका सडक, सदन सबैतिर बग्रेल्ती श्वेतपोशी अपराधी (ह्वाइट कलर क्रिमिनल)हरुको रजधज रजाई गरिरहेको टुलुटुलु देख्छ, त्यहाँ उसले (निःसहाय नागरिकले) के न्याय, के सुरक्षा, के सुख सुविधा, के लोक कल्याणकारी र अपराध सन्त्रास मुक्त बसाई र वँचाईको आशा भरोसा गर्ने ? यस्तोमा उही श्री पशुपतिनाथले रक्षा गरुन् भन्नुको विकल्प के ? 


Rating (Votes: )   
Share     Print


Other Articles:
देशलाई जुरुक्क उठाउने हावादारी गफ ! (04.03.2018)
“विधिको शासन पुनस्थापना”को सवाल (04.03.2018)
मन्त्री चोखा भए मात्र प्रशासन चोखो हुन्छ (03.27.2018)
“विधिको शासन पुनःस्थापना” गर्ने सवालमा (03.27.2018)
पर्यटक भित्र्याउने गुरूयोजना (03.27.2018)
भ्रष्टाचार निवारणको प्रश्न र यथार्थ (२) (03.20.2018)
आध्यात्मिक नेता कालजयी, राजनेता क्षणिक (03.20.2018)
यस्तो फेरी कहिल्यै नदोहोरियोस् ! (03.20.2018)
अबको स्थायी शक्ति केन्द्र काठमाडौं ! (?) (03.06.2018)
आयातित संघीय व्यवस्था एउटा कोक्याउने पीडालु (03.06.2018)
०१७ मा महेन्द्र–वीपीको टक्कर र ०७४ मा खड्ग ओलीको उदय (03.06.2018)
अब त विधिविधान संविधानको लाशमा दागबत्ती दिने कि सभापतिज्यू ? (02.20.2018)
नेपालको राजनीतिमा फागुन महिना हरेक परिवर्तनको मूल ढोका (02.20.2018)
जताततै अव्यवस्थाको तमासे जात्रा (01.30.2018)
संघीय प्रणालीको भविष्य प्रदेश सभा सदस्यको हातमा (01.30.2018)
थरीथरीका मतदाता, मतदानको प्रयोजन र प्रतिनिधित्व (01.25.2018)
स्थायी समाधान खोज्ने कि सधैं टारटुर मात्रै (01.25.2018)
जनता भन्छन् “नागा, नेता र न्यायकर्ता उस्तै उस्तै !” (01.25.2018)
प्राचीन हिन्दु अधिराज्यका विविध शासन प्रणाली (२) (01.09.2018)
परिवर्तन ‘दौैरा न साराको खल्ती’ भयो (01.09.2018)



 
::| Latest News

 
[Page Top]