युगसम्बाद साप्ताहिक

मुरी गएको नदेख्ने, मानाको खोजी !
Tuesday, 04.24.2018, 01:16pm (GMT5.5)

- महेश्वर शर्मा
प्रधानमन्त्री हुनासाथ ओलीजीलाई मोदीजीले ताकेतका ताकेत गरे खातिरदारी र मेजमानीका लागि । कतै पहिले उत्तरतिर लागेर क्रमभंग नहोस् भन्ने मोदीजीको चिन्ता हटाउन ओलजी पनि जम्बो टोली लिएर तीनदिने भ्रमणमा (२०७४ चैत्र २३–२५) दक्षिणतर्फ नै हानिनुभयो । भारत भ्रमणबाट फर्केपछि ओलीले– “म निर्वाचनबाट प्राप्त अभिमत बोकेर भारत गएको थिएँ । भारतले त्यो अभिमतलाई स्वीकार ग¥यो” भनेर खुशी प्रकट गर्नुभयो आउँदा आउँदै विमानस्थलमै ।
के नेपाली जनताको अभिमत भारतले स्वीकार नगरे अस्वीकृत हुने हो ? यहाँ चुनाव जित्नासाथ त्यही स्वीकृति प्राप्त गर्न उहाँ भारत जानुभएको हो ? नत्र भारतले स्वीकार गरेको भनेर मख्ख पर्नुको अर्थ के हो ? भारतबाट फर्केपछि ओलीका भनाई सुन्नेहरुले हैन, त्यस्ता अडिला भनेका ओली किन यसरी ओइलाए ? भनिरहेका छन् , ‘ढाँटको निम्तो खाई पत्याउँदो’ भन्छन् । भारतले वर्षौंदेखि गर्छौंगर्छौं भनेर अलमल्याएका योजना कामै गरेर नदेखाउञ्जेल पत्याउने स्थिति रहेको छैन ।
नेपाल आज चरम व्यापार घाटामा छ । झण्डै ६० प्रतिशत व्यापार भारतसितै छ । आज नेपाल ६ खर्बको घाटामा छ भनिएको छ । चाल् (२०७४–०७५)को आर्थिक वर्षको सात महिनामै नेपालले भारतसंग ४ खर्ब ४ अर्बको व्यापार घाटा व्यहोर्नु परेको छ भने त्यसतर्फ कुनै सम्झौता भएको पनि संयुक्त वक्तव्यमा देखिएन । घाटाको त्यो वृद्धिदर अरु बढ्ने संकेत समेत देखिएका छन् । हाम्रा प्रधानमन्त्री भने ‘मामा की घोडी मेरी हीही’ गर्दै रेल र पानी जहाजका सपना बोकेर ‘मनका लड्डु घीउसित खाने’ जस्तो गरेर त्यत्तिकैलाई ठूलो उपलब्धि मानेर फर्किनुलाई जनताले ‘मुरी गएको नदेख्ने, मानाको खोजी  गर्ने’ भनिरहेका छन् ।
प्रधानमन्त्रीजीको यो भारत भ्रमणबाट न पञ्चेश्वले, न डुबान समस्याले, न बारम्बारको सामान आयात–निर्यातका अबरोधले र न त कालापानी–सुस्ता अतिक्रमणले नै खोजी पाए । यी सबै विषयमा कुरा भए भन्नुहुन्छ उहाँ । कस्तो अचम्म ! कुरैले मात्र हुने भए कुरा त सधैं भैरहेकै छन् नि । जनताले त प्रधानमन्त्रीको भ्रमणबाट सार्थक उपलब्धि खोजेका हुन्, सफल परिणामको अपेक्षा गरेका हुन् । तर, तपाई त प्रधानमन्त्री ज्यू ! मेजमानीमा भुलेर अनि पन्तनगरको जन्तर भिरेर रित्तै फर्के जस्तो भयो । तपाईंलाई पिएचडी भिराएर मूल समस्या ओझेलमा पारेर पठाइदिए मोदीजीले । हो कि होइन ? तपाईं आफैं विचार गर्नोस् । पिएचडी पाउनुभएकोमा भने बधाई छ !
जनताका चाहना प्रजातन्त्रमा पूरा हुन्छन् भन्ने मान्यता छ । यहाँ त गणतन्त्र नै छ । यो मान्यतालाई पूरा गर्ने माध्यम राजनीतिक दल मानिन्छन् । तर व्यवहारमा भने न त्यो मान्यताले मान्यता पाएको छ, न त दलहरु नै आफ्ना सीमामा छन् । एक प्रकारले प्रजातान्त्रिक मूल्य–मान्यता हराए जस्तो स्थिति छ आज । यसको कारण चाहिं नेतृत्वकै कमजोरी मानिएको छ । त्यसैले गर्दा दलहरुले नै बाटो बिराएको अवस्था देखिएको छ । त्यसैको प्रतिफल आज सिद्धान्तभन्दा जात र प्रान्तको आधार लिएर पार्टीहरु खुलिरहेका छन् । यो सबै बाहिरी तत्वका इशारामा विखण्डन र विभाजन ल्याइदिने काम भैरहेको छ ।
साम्राज्यवादीका चकचकीका बेलामा पनि आफ्नो पृथक र स्वतन्त्र अस्तित्व जोगाएको नेपाल आज नेपालीलाई नै उचालेर फाटो पारेर विगार्न खोज्नेहरु अझै पनि तम्सिइरहेकै छन् । यो स्थितिमा विभिन्न जातजातिका हामी नेपाली आपसमै बाझिएर आआफ्नै मात्र डम्फू बजाइर राष्ट्रको एकता र अक्षुणतालाई बेवास्ताा गर्न थाल्यौं भने स्वतन्त्र नेपालको, अखण्ड नेपालको अस्तित्व रहला ? त्यसकारण विभिन्न दल र सरकारले मात्रै होइन, हामी व्यक्ति व्यक्ति प्रत्येक नेपालीले विवेक प्रयोग गरेर उत्ताउलो व्यवहार देखाउनेहरुसित सजग रहनुपर्ने अवस्था छ ।
आफ्नो राष्ट्रियता र अखण्डता जोगाउँदै समय अनुसार प्रगतिमार्गमा अघि बढ्नुपर्ने हामी सबैको साझा दायित्व बुझेर होसियारीसाथ काम गर्नुपर्ने अवस्था छ । व्यवस्था जुनसुकै भए पनि जनताको सुविधाका लागि हुनुपर्छ । सरकार पनि जुनसुकै दलको भए पनि जनताप्रति समान व्यवहार हुनुपर्छ । आफ्नो र आफ्नै पक्षको मात्र स्वार्थ हेर्ने प्रवृत्ति रहनु भएन । सरकार भनेको आमा हो । सबै सन्तानलाई बराबर सम्झेर सेकताप गर्ने दायित्व सरकारको हुन्छ । आशा गरौं, अनपेक्षित काम हुने छैनन् ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com