युगसम्बाद साप्ताहिक

अपराधीलाई अभय ः सज्जनलाई सकश
Tuesday, 05.08.2018, 11:00am (GMT5.5)

- महेश्वर शर्मा
नेताहरु या त स्वयं भ्रममा छन् या कतैबाट निर्दिष्ट भएर आँखा चिम्लन्छन् । जनजाति, दलित, महिला, मुस्लिम, मधेशी आदि केके नाम लिएर उनीहरुलाई राज्यले वर्षौंदेखि शोषण–दमन गरेको भनेर भाषण सुनाउँछन् । तर यथार्थ के हो भने शोषण गर्ने त तत्तत् जाति र वर्गका ठूलाठालू र तिनै भाषण गर्नेहरु नै हुन् । शोषित–पीडितका लागि भनेर राज्यका तर्फबाट छुट्याइएका सुविधा समेत तिनै ठूलाले उपभोग गरेका हुन्छन् । त्यसैले सबैभन्दा ठूलो आवश्यकता त ग्रामीण ठालूका शोषणबाट तल्लो तहलाई जोगाउनु हो ।
हिजोआज उपेक्षित भनिएका जातका नाममा तिनै जातका टाठाबाठाले मोज गरिरहेका छन् । तिनीहरु नै नेता बनेका छन्, सांसद बनेका छन्, मन्त्री समेत बनेका छन् । सम्पूर्ण राजकीय सुविधा जनताका नाममा आफैंले भोगेर गोहीका आँसु चुहाएजस्तो भाषण गरेर जनतालाई नै झुक्याइरहेका छन् । मधेशी जनताका नाममा झन् ठूलो डाँको गरेर कराउने सांसद, नेता र मन्त्रीहरु नै मधेश–तराईका जनताको शोषण गरिरहेका हुन्छन् । त्यसैले जबसम्म यो भ्रम हट्दैन र राज्यले दिने सुविधा खास लक्षित वर्ग–समुदाय अथवा व्यक्तिमा पु¥याउन सकिंदैन तबसम्म भाषण र नाराबाजीमा केही हुनेवाला छैन ।
कम्युनिष्ट मुलुकमा राजनीतिक दल हुँदैनन्– यो सार्वभौम सत्य हो । अर्थात् कम्युनिष्ट शासित देशमा एकदलीय तानाशाही हुन्छ, राजनीतिक स्वतन्त्रता हुँदैन । त्यसलाई निर्दलीय व्यवस्था नै भने हुन्छ । पंचायत पनि निर्दलीय व्यवस्था थियो । तैपनि पंचायतमा जनताले नमागिकन पनि जनताका मर्म बुझेर राजाले सुधारका धेरै काम गरेका हुन् । भूमिसुधार, नयाँ मुलुकी ऐन, पूर्व–पश्चिम राजमार्ग, प्रज्ञा प्रतिष्ठान विभिन्न कलकारखाना स्थापना जस्ता काम नै उदाहरण छन् । पंचायत सर्वसाधारण जनताका पक्षमा थियो । तर, राजनीतिक नेताका पक्षमा थिएन । उनीहरुको बिरोध राजाका लागि थियो । उनीहरु आफ्नो तानाशाही चाहन्थे, राजतन्त्र हैन ।
पंचायतको बिरोध भनेको राजाका ठाउँमा आफ्नो प्रभुत्व कायम गराउन नेताले गरेको बिरोध थियो, जनताको होइन । किनभने पंचायतका कार्यक्रम कुनै पनि कम्युनिष्ट मुलुकका भन्दा कम जनमुखी थिएनन् । यता संसदवादीले बिरोध गर्नु जायज थियो । किनभने उनीहरु दलीय व्यवस्था चाहन्थे । तर त्यो बेला राजाबाट दलहरु प्रतिबन्धित थिए । उनीहरु त्यसैको फुकुवा चाहन्थे । अब त कम्ुनिष्ट पनि संसदवादी भैसकेका छन्, पुरानो खोल भने ओढिरहेका छन् । राजतन्त्र विस्थापित भएको स्थिति छ । यो अवस्थामा पनि अर्थात् संसदीय परिपाटीमा मिसिइसकेपछि पनि कम्युनिज्मको खोल भिरिरहनुलाई भने जनताले शंकाकै दृष्टिले हेरिरहेका छन् । यहाँ आइसकेपछि पनि संसदीय प्रणालीका गुण धर्म स्वीकार नगर्नु अस्वाभभाविक सम्झिएको छ ।
चाहे राजनीतिमा होओस् या अरु जुनसुकै पक्षमा पनि आजको स्थिति सत्ता र सम्पत्तिमा केन्द्रित छ अर्थात् सेवाभावनाको सट्टा भोगवादी संस्कृति मौलाएको देखिन्छ । राजनीति गर्छौं भन्नेहरु नै– “जोगी हुन राजनीतिमा लागेको होइन” भनेर हाकाहाकी भन्न थालेका छन् । यसको अर्थ “जसको शक्ति उसैको भक्ति” भएको छ । राजनीतिक वृत्तमा फैलिएको यो भोगवादी प्रवृत्तिले समाजमा विकृति फैलाइरहेको छ । त्यसैकारण आज दुई चार प्रतिशतले मोज गरेका छन् भने अधिकांश तल्लो तह विचल्लीमा छ ।
अज्ञानीहरुका माझमा ज्ञानीको स्थिति पागलखानामा सद्दे मान्छेको स्थिति जस्तै हुन्छ रे अर्थात् गैरपागललाई केही समय पागलखानामाा राखिदियो भने उसलाई पनि पागलै जस्तो बनाइदिन्छन् रे । आज यहाँ पनि राजनीतिक पागलपन जस्तो छ । सम्बन्धित अनुयायीलाई समेत सत्ताको मदले छोएको हुनाले नेताका पछि नलाग्ने जोकोहीलाई पनि बाँच्न गाह्रो होला जस्तो छ । यो आजका भोगवादीको अनुभवको यथार्थ हो । यहाँ जेजति खराबी भएको छ, नेतृत्वकै कमजोरीका कारण भएको छ । त्यसको फल निर्दोष जनताले भोग्नुपरेको छ । अनर्थ त चलाखले नै गर्छ । नेता चलाख छन् ।
आज अपराधीलाई अभय छ भने ज्ञानी–निर्दोष र सज्जनलाई सकस छ । नेताका पछि लागेपछि डाँका–तस्कर, अपराधी, अपहरणकारी जस्ताले पनि छुट पाउँछन् भन्ने सोझासिधा जनताका मनमा परेको छ । आफूलाई चलाख सम्झनेहरु काँचा दाउरा जस्ता छन् । काँचा दाउराले धुवाँ मात्रै हुन्छ, बल्दैन । आज देश धुवै धुँवामा रंगमगिएको छ । ‘साधुलाई सूली–चोरलाई चौतारी’ जस्तो व्यवहार भैरहने हो भने जनताको संकट अरु बढ्दै जानु स्वाभाविक हुन्छ भन्ने कुराप्र्रति शासनसत्ता चलाउनेहरु गम्भीर भैदिनुप¥यो । माथि जेजस्तो उल्ल्ेख भयो, अपवादलाई नलिइएको बुझिदिन आग्रह छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com