युगसम्बाद साप्ताहिक

चुनाउमा बकेका कुरा बक्यौतामै नरहुन्म - हेश्वर शर्मा
Wednesday, 05.30.2018, 04:38pm (GMT5.5)

झण्डै पौने दुई सय वर्षअघि अब्राहम लिंकनले– “असल शासकले सुदूर भविष्य हेरेर काम गर्छन् भने केबल राजनीति गर्नेहरुले आउँदो निर्वाचनलाई मात्र सोचेर काम गर्छन्” भनेका थिए । उनको त्यो भनाई आज पनि व्यवहारमै देखिदै आएको छ । आज त अझ सोझासिधा जनतालाई भ्रममा पार्ने जादूगरका जस्ता चमत्कारी भाषण गर्नेहरुले त्यस्तै कपटी काम गर्दैआएको देखिन्छ । यसबाट के स्पष्ट हुन्छ भने त्यस्ता राजनीतिवाजहरुले सत्ता स्वार्थ बाहेक अरु केही नसोच्ने रहेछन् । राम्रोसंग टेम्पो हाँक्न नसक्नेले पनि जेट हाँक्ने धाक देखाउँदा कतै दुर्घटना पो निम्त्याउने हुन् कि भन्ने आशंका पनि उत्तिकै छ ।
नाम कैमाउने हो भने त जसरी पनि कमिन्छ । सुनाम पनि नामै हो, दुर्नाम  पनि नामै हो । तर, आज राजनीतिका नाममा झूट फरेब बोलेर जनतालाई ढाँट्ने प्रवृत्ति बढ्दो छ । मुख छ भन्दैमा दश हात लामो हर्रो देखें (मुखस्तीति वक्तव्यं दशहस्ता हरीतकी?) भन्न सुहाउँछ त ?उनीहरुका भाषण औचित्यहीन सावित भएका छन । नमूनाका लागि एक दुई उदाहरण– यसै पटक सरकारको नीति तथ ाकार्यक्रममा प्रमुख शहरहरुलाई हरित शहर बनाइने भनिएको छ । यहाँ भने राजधानीकै चक्रपथ दायाँबायाँ २८ कि.मि. को हरितपट्टिका (ग्रिनबेल्ट) मासेर त्यहाँका कतिपय जग्गासमेत व्यक्तिगत सम्पत्ति बनाउनेहरुले अब अरु शहर हरिया बनाउँछन् भन्ने भत्यारिलो आधार खै ? चुनावमा बकेका कुरा बक्यौतामै नरहुन् भनेर ध्यान दिनुप¥यो ।
त्यस्तै गत निर्वाचनका बेला एमाले र माओवादी केन्द्रले डाँडाकाँडा हल्लाउने गरी प्रत्येक नेपालीको आयस्ता हजार डलर पु¥याउने, वृद्धभत्ता मासिक पाँच हजार दिने भनेर घाँटी सुकाई सुकाई कराएको जनताले बिर्सका छैनन् । चुनाव प्रचारमा यस्ताधेरै बाचाकबोल झूटका पुलिन्दा भए भने कसरी पत्याउने ? यस्ता कुरामा वास्तविकता बुझेर गर्न सकिने कुरा मात्र नगरेर हावाका भरमा यो पनि र त्यो पनि गर्छौं भनेर कुर्लनेहरु यथार्थ धरातलमा टेकेर सोच्नुपर्ने हो । राज्य शासन चलाउने काम गुरिल्ला उपद्रो गरेजस्तो हुँदैन भन्ने वास्तविकता आत्मसात नगरी मुखमा जे आयो त्यही बोल्दा पछि पछुताउनुपर्ने हुनसक्छ । पाँच वर्षमा काम खोज्न विदेश जान नपर्ने गर्छौं  भनेर मात्र हुँदैन । भएकै औद्योगिक क्षेत्रहरु खण्डहर बनाउने र कलकारखाना बेच्नेहरुले के उत्पादन वृद्धि गर्छन् र बेरोजगालाई रोजगारी दिन्छन् ? यी सबै तीजको कुरा गरेर पनि खाए जस्तो हुन्छ भने जस्तै हो ।
आजको स्थिति हेर्दा कांग्रेस–कम्युनिष्ट सबै आफ्नो धरातलमा छैनन् । ब्राह्मणको धर्मकर्म नगरे पनि ब्राह्मण भैरहन पाए जस्तै यी दलले पनि आफ्नो सैद्धान्तिक अस्तित्व गुमाइसकेका छन् । केवल हिङ बाँधेको टालो बाँधेर हिंडका छन् । वर्तमान गठबन्धनले पनि देखावटी अभिनय गरेर जनता झुक्याउने कर्मकाण्डलाई निरन्तरता दिनुभन्दा केही सामान्य काम गरेर जनविश्वास सँगाल्ने काम गरे हुन्थ्यो । सन्तान सबैले धर्म छोडेर पाखा लागिसकेले अब सनातन कम्यनिज्मको बिंडो वैद्यबाले थामेर कति थामिएला ! त्यस्तै स्थितिमा रहेको नेपाली कांग्रेस त झन् आन्तरिक विग्रह पीडित भएर मदौरुको स्थितिमा छ ।
यो प्रतिस्पर्धाको युगममा विना प्रतिस्पर्धा राजनीतिले पनि सही  बाटो समात्न नसक्नु अनौठो होइन । कम्युनिज्म पनि नराम्रो होइन, तर प्रतिस्पर्धा नभएर मात्र नफस्टाएको हो । संसरमा सबैतिर त्यस्तै देखिएको छ । धेरैथरि बीचमात्र प्रतिस्पर्धा हुने हो, कम्युज्मिमा एउटै मात्र दल हुनाले त्यो अधिनायकवादतिर जाँदो रहेछ । पंचायत पनि त्यस्तै भयो । सुरुमा पंचायतमा पनि राम्रै काम भएको हो, तर एकाधिकार हुनाले क्रमशः विकृतिले प्रवेश पायो । हुन त त्यतिबेला राम्रो काम हुनुमा राजाकै नेतृत्व कारण थियो अर्थात् राजाकै डरले सबैले राम्रो काम गरेका थिए । तर, बिरोध नभएपछि जे गरे पनि हुन्छ भनेजस्तो भएर विग्रदै गएको हो । आजको यहाँको सत्ताले पनि सबै कब्जा गर्नखोजेको जस्तो छ ।
प्रसंगमा यहाँ ‘एनिमल फार्म’को कुरा गरौं–
जर्ज अरेबलले आफ्नो पुस्तक ‘एनिमल फार्म’मा “सबै जनावर समान छन्, तर केही जनावर अरुभन्दा केही बढी समान छन्” भनेका छनु । कम्युनिष्ट शासनको दिग्दर्शन हो ‘एनिमल फार्म’ । भनिएको वा देखाइएको विचार र व्यवहार अनुकूल नभएर उल्टो हुनु नै हो “एनिमल फार्म’को सार हो । अरेबलको यो व्यंग्य कम्युनिष्ट नेताले बिताएको राजसी ठाँट र रबाफिलो व्यवहारलाई लिएर आएको हो । जेजस्ता सपना देखाएर जनतालाई भुलाएका थिए, त्यो केही पनि नभएर गरीब जनताको विचल्ली र नेताको सामन्ती व्यवहारमाथिको कडाखाले व्यंग्य हो ‘एनिमल फार्म’ ।
यही हेरौं त– झापा काण्डदेखि यता दश–बाह्र वर्ष सशस्त्र द्वन्द्वमा कति गरीबका छोराछोरीले  ज्यान गुमाए । अंगभंग भएर बाँचेका कतिको बिचल्ली छ । कति टुहुरा र विधवाको बेहाल छ । तर, नेताहरु राजसी ठाँट र विलासी रहनसहनमा छन् । भर्खरै प्रकाशित मन्त्रीहरुको सम्पत्ति विवरण (यद्यपि त्यो पनि सही विवरण होइन भनिंदैछ) हेर्दा पनि शोषणको पराकाष्ठा नै दखिन्छ । यो स्थितिमा जनताले के पाए त ? भन्दा निराशा बाहेक केही छैन । यस्तै हो, यो संसार ठूलाबडाकै रहेछ । हिजो नि र आज पनि । शायद भोलि पनि फरक पर्ने छैन ।
अन्त्यमा,
अहिले सबै प्रकारका सिण्डिकेट समाप्त पार्छु भनेर शंखघोष गर्ने गृहमन्त्री रामबहादुर थापा र मलेसिया जाने कामदारलाई ठगेको साँढे पाँच अर्ब असुल गर्छु भनेर अठोट गरेका श्रममन्त्री गोकर्ण विष्टलाई पत्याउनेहरुले– बन्दुकको नालका भरमा सत्तामा आएकाले चाहेमा त्यही बन्दुक तेस्र्याएर पनि काम गर्छन् भनिरहेका छन् भने अर्काथरिले चाहिं यहाँको चलन अनुसार व्यवसायीले नै थैली तेस्र्याएर बन्दुकलाई बोधो पारिदिन के बेर ! भनेको पनि सुनिंदैछ । हेरौं के हुन्छ, परिणामले नै देखाउनेछ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com