युगसम्बाद साप्ताहिक

मैले पढेको त्यो समय र पढाउन थालेको अहिलेको समय
Tuesday, 07.10.2018, 02:32pm (GMT5.5)

- गीता श्रेष्ठ

समय कति परिवर्तनशील छ भन्ने उदाहरण एक होइन अनेक छ । सूचना प्रविधिको विकास, भौतिक सुविधाको पर्याप्तताले जीवन सहज (वास्तवमा कठिन) बन्दैगएको देखिन्छ । नवपालुवाका रुपमा रहेका बालबालिकाहरु, जो विद्यालय तहमा अध्ययनरत छन्, उनीहरु बढी प्रभावित छन् । आजका बालबालिका प्रकृतिसंग हैन, प्रविधिसंग निकट छन् । यो उनीहरुको स्तारोन्नति र बौद्धिक क्षमता विकासमा ठूलो अबरोध हो । प्रविधिको उपयोग ज्ञानप्राप्तिका लागि नभएर समय कटाउनका लागि बाध्यकारी साधन भएको छ ।
अभिभावकमा उत्पन्न समयसंगैको व्यस्तताले आजका विद्यालय तहका बालबालिकाको क्षमता, उनीहरुका अभिभावकले गर्ने हेरचाहको जुन शैली छ त्यसले बालबालिकाको मस्तिष्ककलाई संकुचित बनाइरहेको छ । अनि पाठ्यक्रममा समावेश गरिएका विषयवस्तु र अध्यापन शैलीले उनीहरुलाई परजीवी बनाइरहेको छ । बालबालिकाको मस्तिष्कमा सिर्जनशीलता कम प्रविधि निर्भरता बढी छ । मेहेनत गर्ने बानी हटेको छ ।
यस्ता दृश्यहरु देखिरहँदा आफू विद्यार्थी हुँदाताकाको शिक्षण विधि, पाठ्यक्रम अनि पारिवारिक माहोल र अभिभावकले दिने परम्परागत ज्ञान र सीपको याद आइरहेको छ । शिक्षण पेशामा लागेकै कारण म आफूले पढेको समय र आफूले पढाउन थालेको समयको मूल्यांकन गर्न थालेको छु । त्यो समय र अहिलेको समयको अन्तर केलाउन थालेको छु ।
अहिले समयको धारसंगै शिक्षण पद्धति, विषयवस्तु, पाठ्यक्रममा व्यापक परिवर्तन भएको छ । शिक्षण विधिमा प्रविधिको प्रयोग भएको छ । तर, यसले गुणस्तर र विद्यार्थीहरुको क्षमता विकासमा कति योगदान दिएको छ भन्ने प्रश्न उठाउन बाध्य भएको छु । हिजोको शिक्षा सिकाइसंगै अभ्यासमा केन्द्रित थियो । अहिले त्यसमा कमी छ । हुन त त्यो बेलाको शिक्षणलाई पुरानो भन्न सकिएला, तर हामीले बिर्सनै नहुने कुरा के हो भने पढाउने भनेको पाठ घोकाउने मात्रै होइन । पढेको कुरा व्यवहारमा उतार्न सक्ने बनाउनु हो । हामीले सिकेको त्यही थियो । जुन आजसम्म उपयोगमा आइरहेको छ ।
आधुनिकताको नाममा देशको इतिहास पढाउन बिस्र्यौ कि ? देशभक्ति र सामाजिक तथा नैतिक शिक्षाको साटो आयातित पाठ्यपुस्तक पढाउने दुःसाहस हुन थाल्यो । खै किन हो पाठ्यक्रम र शिक्षा नीतिमा किन यति लापरवाही ? मैले बुझ्न सकेको छैन । म विद्यार्थी हुँदा मैले जे गर्न सकें, जे जानेको थिए त्यही उमेरका अहिलेका केटाकेटीले कमै मात्र गर्दछन् । उनीहरुमा त्यो सीप छैन । आज मलाई याद आइरहेको छ मैले विद्यालय पढ्दा पढेको पूर्व व्यावसायिक शिक्षा, सामाजिक–नैतिक शिक्षा । मैले पढेको पूर्व व्यावसायिक शिक्षाले मलाई आफ्ना सानातिना काम आफैं गर्नसक्ने बनायो । मैले पढेको नैतिक–सामाजिक शिक्षाले मलाई समाजमा घुलमिल हुन सिकायो, सेवाभाव बढायो ।
मैले यी सन्दर्भ उठाउनुको कारण के हो भने हाम्रो शिक्षा पद्धतिमा परिवर्तन ल्याउनैपर्छ । पाठ्यपुस्तको मात्र निर्भरमा विद्यार्थीहरु योग्य बन्दैनन् । उनीहलाई व्यवहारिक, अझ दैनिक जीवनमा आइपर्ने सानातिना कामहरु आफैं गर्नसक्ने शिक्षा दिनुपर्छ । जुत्तामा पालिस लगाउन नजान्ने, सर्टको टाक छिनेमा सिउन नजान्ने शिक्षाले कस्तो जनशक्ति तयार होला ?
यसअघिका लेखहरुमा पनि मैले यो कुरा व्यक्त गरिसकेको छु कि शिक्षण भनेको किताब घोकाउने वा कण्ठ गराउने मात्र हुँदै होइन । विद्यार्थीहरुलाई क्षमतावान, सीपवान बनाउनु नै वास्तविक ज्ञान हो । किताबको निवन्ध कण्ठ गरेर कोही पनि गरिखानसक्ने बन्दैन । उसलाई व्यवहारिक शिक्षा दिनैपर्छ । कम्तिमा आफ्नो काम आफैं गर्नसक्ने र गर्ने बानी बसाल्न मात्र सकियो भने प्रत्येक विद्यार्थी भविष्यमा सजिलै गरिखाने हुन्छन् ।
यसमा दोष शिक्षाको मात्रै हैन, अभिभावकको पनि छ । विडम्बना के छ भने छोराछोरीलाई बढी माया गर्ने अभिभावकहरुका कारण उनीहरुले माटो–धुलो चलाउनै नहुने गर्दछन् । उनीहरुको हरेक आवश्यकता र माग सजिलै उनीहरुले एकपाइला अघि नसारी पु¥याइदिने गरेका कारण बालबालिकाहरु परजीवी हुन थालिसकेका छन् । यस्तो प्रवृत्ति ती बालबालिकाका लागि घातक बन्दैगएको छ । बालबालिकालाई घरमै पकाएको खुवाउनुको साटो बजारको खाना–खाजा खुवाउने । मनोरञ्जनका लागि चौर, खोला किनारमा पठाउनुको साटो मोबाइल र ल्यापटपमा भुलाउने गर्दा बालबालिकाको शारीरिक र बौद्धिक क्षमता ह्रास भैरहेको छ । अनि अर्को समस्या अव्यवस्थित बस्तीका कारण आजभोलि त्यस्ता स्थान छँदा पनि छैन । वाग्मती, विष्णुमति जस्ता नदी किनारहरु टहल्न योग्य छैनन् । 
बालबालिकाको क्षमता वृद्धिका उनीहरुमा रहेको प्रतिभा प्रस्फुटन गर्नु पर्दछ । आजभोलि प्रतिभा र चाहना एकातिर लाग्नुपर्ने अर्कोतिर अवस्था छ । अभिभावकलाई छोराछोरीको चाहनाभन्दा आफ्नै चाहनामा डो¥याउने प्रवृत्ति छ । “मैले भनेको मानिस भने तपाई यो किनिदिन्छु, त्यो किनिदिन्छु” भन्ने प्रवृत्ति छ । यो सबभन्दा घातक पक्ष हो । बालबालिकालाई अभिभावले मार्गदर्शन दिने हो खसी–बोका डोर्याए जस्तो आफूलाई जता मनलाग्यो उतै डो¥याउने हैन ।
(लेखक श्रेष्ठ उर्सा मेजर चिल्ड्रेन्स एकेडेमीका संचालक सदस्य हुन्)


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com