युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 07.23.2018, 08:32pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
मूल नसङ्ली धारामा सङ्लो पानी आउँदैन
Tuesday, 07.10.2018, 02:36pm (GMT+5.5)

- महेश्वर शर्मा
‘नमच्चिने पिङका सय झड्का’ भन्छन् । ‘गर्जने वर्षदैन’ भन्थे बूढापाकाहरु पनि । यातायात सिण्डिकेट हटाएको गर्जन गर्ने गृहमन्त्रीलाई पनि डाक्टरले ‘स्पिकरेष्ट’ भनिदिएछन् कि कुन्नि, वहाँ पनि बोल्न छोड्नुभयो । कसैले भनेको सुनिन्छ– मन्त्री महासेठले आफ्नो काममाा हस्तक्षेप भयो भनेपछि गृहमन्त्रीको बक्के बसेको हो । तर यता भने सिण्डिकेटको स्थिति चर्केकै छ । एकपटक यातायात हेर्ने मन्त्री महासेठ या गृहमन्त्री थापा कसले हेर्ने हो– टेम्पो, बस, मिनिबसहरुमा भेडाबाख्रा कोचेको जस्तो स्थिति हेर्ने कष्ट गरिदिए हुन्थ्यो ।
त्यस्तै कृषिमन्त्रीले फूर्तिफार्तीसाथ दुग्ध उद्योगहरुमा छापा मारेको र दूधमा क्षयरोग र हैजाका कीटाणु भेटिएको, सोडा मिसाएको पाइयो भनेर स्वयं उहाँले भन्नुभएको सबैले सुनेकै हुन् र त्यस्ता अपराधीलाई के कार्वाही हुन्छ ? भनेर पर्खिरहेका बेला मन्त्रीले नै फेरि अब तीन महिनापछि जाँच गर्दा पनि तिनै किटाणु फेलापरेमा कार्वाही गरिनेछ भन्नुको निहितार्थ साविकमा बुझाउने गरेको दस्तुर हामीलाई पनि बुझाउन ल्याउ भन्ने जनाउ दिनु त होइन ? भनेको पनि सुनिंदैछ । आज गरेको अपराधलाई त्यत्तिकै छोडेर तीन महिनापछि के फेरि त्यस्तै गरेको पाइएमा मात्रै कार्वाही गर्छु भन्ने मन्त्रीकै मनसायमा खोट सम्झियो भने अन्यथा भन्न मिल्ला र ? 
दूधमा कीटाणु फेला परेर कार्वाही नगरिएको प्रसंग मात्रै होइन, अरुतिर पनि त्यस्तै स्थिति छ । समयमा काम नगर्ने ठेकेदारहरुलाई ठेङ्गा हाल्ने गृहमन्त्रीको उद्घोष पनि त्यसै सेलाएर गयो । समय छउन्जेल अटेर गरेर बस्ने र असार लागेपछि हतारहतार सडकमा अलकत्रा छरेर पैसा बगाउने काम होस् अथवा मिलोमतोमा समयमा काम नगर्ने र अनेक वहाना गरेर म्याद र रकम बढाने काम नियमित भैरहेको छ । कतै कार्वाही भैहालेछ भने पनि ‘कुटे जस्तो र रोए जस्तो’ मात्रै छ । जनतालाई एकथोक सुनाउने, काम अर्को गर्ने परिपाटीमा कुनै सुधार छैन । 
कुन त्यस्तो ठेक्का होला यहाँ जसमा प्रत्यक्ष–अपत्यक्ष नेता, मन्त्री अनि बलियाखाले सांसदको हिस्सा नहोस् । जानीजानी मिलेमतोमा ढिलाई गर्ने अनि मन्त्री र नेताकै आडमा पटकपटक म्याद थपाउँदै लगेर लगत इष्टिमेटभन्दा दशौं गुणा बढी राष्ट्रको धनमा लूट मच्चाउने परम्परालाई आजको सरकारले पनि बहुमतका आडमा अझ दह्रो पार्ने तारतम्य भैरहने हो भने जनता सधैं चूप लागेर बस्लान् ? आजकै जस्तो भ्रष्ट, कमिशनखोरी, दलाल बिचौलिया अनि कार्टेलिङ र सिण्डिकेट राजलाई सरकारले पनि आँखा चिम्लेर सघाइरहने हो भने संसारमा सबैभन्दा ठूलो शक्ति भनेको जनताको कोपशक्तिको ज्वालामुखी हुन्छ भन्ने नबिर्सियोस् ।
त्यसैले अब पनि बहुमत छ भनेर जनताका वास्तविक समस्या र पीर मर्कालाई उपेक्षा गरेर अथवा स्वार्थवश सानो चित्त गरेर काम गरियो भने समस्याले अरु जटिल रुपलिन बेर लाग्ने छैन । राजनीति स्वार्थ सिद्धिका लागि होइन, सामन्ती र अधिनायकवादी प्रवृत्ति अनि शोषण उत्पीडनको बिरोध गर्छौं भन्नेहरुकै आचरण–व्यवहार सामन्ती र बाबुसाहेबी स्वरुपमा देखापर्छ भने जनताले गणतन्त्रलाई कुन अर्थमा बुझ्ने ? जनताको असन्तोषलाई एकछिन अलग्गै राखौं भने पनि आजको गठबन्धनले पार्टी एकीकृत भएको भनिए पनि वास्तवमा नेपाल कम्युनिष्ट पार्टीको आधारै खलबलिएको छ । नगण्य नेताका हुकुमी शैलीमा चल्ने स्थिति झन घनीभूत भएको छ भनेर कार्यकर्तामै रोष प्रकट भएका संकेत देखिन थालेका छन् भने जनताका समस्या ओझेलमा पर्नु स्वाभाविक भएको छ । ‘जस्तो आफू उस्तै च्यापु’ भनेझैं सत्तामा पुगेकाले मनोमानी गर्ने कार्यशैली छोड्न नसक्नुलाई विडम्बना नै सम्झनुपर्छ ।
दुव्र्यसनीबाट व्यवस्थित काम हुन नसक्ने रहेछ । दुव्र्यसन भन्नाले जाँगा, भाङ, धतुरो, चरेस जस्ता लागूपदार्थको लत मात्रै होइन, भ्रष्टाचारी प्रवृत्ति सबभन्दा ठूलो दुव्र्यसन हो । लागूपदार्थले व्यक्तिलाई मात्रै विगार्छ भने भ्रष्टाचारले देशैलाई वर्वाद र्पाछ । आज सरकारका तिनै अंग दुव्र्यसनग्रस्त छन् । व्यवस्थापिकाले आफ्नो दुव्र्यसनी चरित्र छरपस्ट पारेर देखाएको छ भने त्यसको मूल जरो कार्यपालिका नै भएको छ । न्यायपालिका समेत त्यही ड्याङमा छ । जंगेतालमा माफी दिएर न्यायपालिकालाई त सरकारले खेलौना नै सम्झेजस्तो छ । जनप्रतिनिधिधको बिल्ला भिरेपछि जेजसो गरे पनि हुन्छ भन्ने भएपछि भ्रष्टाचार मौलाउने नै भयो नि !
यहाँ जटिल रोगहरुबाट पीडित जनता सामान्इ उपचार समेत नपाएर अकालमै मरिरहेका छन् भने नेता, मन्त्री र उनीहरुका नातागोता समेत नेपालमै उपचारा हुनसक्ने रोगका लागि समेत बाहिरबाट एयर एम्बुलेन्स झिकाएर आफन्तको लोर्कोसाथ विदेश गएर राष्ट्रको धन उडाउनुलाई भ्रष्टाचार मान्दैनन् । देशमा भ्रष्टाचार रोक्ने जिम्मेवारी लिएको छु भन्ने प्रधानमन्त्री ओलीजीको भनाइलाई कुनरुपमा सम्झने खै ? तस्कर र ठूलाठूला व्यापारीका इशारामा चल्ने सरकारलाई भ्रष्टाचारको दुव्र्यसनले प्रभाव पारेको भन्ने कि नभन्ने ? हालैको बहुचर्चित चिकित्सा शिक्षा विधेयक पनि त्यही प्रभावको भूमरीमा प¥यो ।
यहाँ कामले काजी हुने परम्परा हराउँदै गएर पदले मात्र ठूलो हुने परिपाटी बस्यो । ज्ञान–इमान केही नभए पनि पद पाएपछि आफ्ना बिरोधीलाई त के, जनतालाई नै हेप्ने ह्याउ पलाउँदो रहेछ कि कुन्न, मन्त्रीहरु पनि त्यस्तै व्यवहार देखाउँदैछन् । पदले मात्रै होइन, जनताको मनले पनि मानेको हुनुपर्छ । अरुले तपाई भनोस् नभनोस् आफैं मपाई हुनेहरु जति नै चाँडै माथी पुगे पनि त्यति नै चाँडै तलझर्न बेर लाग्दैन । ठूलो पदमा पुगेपछि जे बोले पनि हुन्छ भन्ने हो भने त्यो बेजिम्मेवार प्रवृत्ति हो । तस्कर–व्यापारीले आफूलाई भ¥याङ बनाएकोमा स्वाद मानेपछि भ्रष्टाचार त मौलाउने नै भयो ।
आफ्नो काम गराइबाट जनता खुसी छन् कि अप्रसन्न छन् भनेर विचारपूर्वक कामगर्ने मान्छे यहाँ आफैं जनप्रिय हुन्छ । तर, जनताले मानुन नमानुन– आफैं ठूलो हुन खोज्ने हो भने जति ठूलो पद भए पनि जनताका नजरमा पत्रु सिद्ध भएको हुन्छ । कसैले नमस्कार गरिहाले पनि उसको मनले तिरस्कार गरिरहेको हुन्छ । त्यसकारण प्रधानमन्त्री ओलीजीको समृद्धिको रटानलाई सार्थकता दिने नै स्वच्छ मनसाय हो भने सर्वप्रथम सिंहदरबार, संसद भवन र न्यायालय प्रवेश गरेका र गर्नेहरुले भ्रष्टाचारको दुव्र्यसन त्यागेको आदर्श जनतालाई व्यवहारमै देखाउन सक्नुपर्छ, गफबाट पत्याइने स्थिति रहेको छैन । मूल नसङ्लिएसम्म धारामा सङ्लो पानी आएन भन्नु नै व्यर्थ हुन्छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
“द्वन्द्वका लागि आमन्त्रण” (?) (07.10.2018)
मैले पढेको त्यो समय र पढाउन थालेको अहिलेको समय (07.10.2018)
चुनाव जितेपछि ओलीको बोली फेरियो- महेश्वर शर्मा (06.12.2018)
अन्तर्कलमा फँसेको काँग्रेसको दशा र दिशा- तारा सुवेदी (06.12.2018)
चुनाउमा बकेका कुरा बक्यौतामै नरहुन्म - हेश्वर शर्मा (05.30.2018)
राष्ट्रपतीय शासन प्रणाली किन ? - तारा सुवेदी (05.30.2018)
अपराधीलाई अभय ः सज्जनलाई सकश (05.08.2018)
अपराधको उर्वरा र अपराधीको स्वर्ण भूमि (?) (05.08.2018)
मुरी गएको नदेख्ने, मानाको खोजी ! (04.24.2018)
एकताको लागि “मदन भण्डारी मोडेल” (04.24.2018)
न पूर्वस्थिति, न नयाँ स्थिति ः खैलाबैला मात्रै (04.12.2018)
बढ्दो अपराधको समस्या (04.12.2018)
देशलाई जुरुक्क उठाउने हावादारी गफ ! (04.03.2018)
“विधिको शासन पुनस्थापना”को सवाल (04.03.2018)
मन्त्री चोखा भए मात्र प्रशासन चोखो हुन्छ (03.27.2018)
“विधिको शासन पुनःस्थापना” गर्ने सवालमा (03.27.2018)
पर्यटक भित्र्याउने गुरूयोजना (03.27.2018)
भ्रष्टाचार निवारणको प्रश्न र यथार्थ (२) (03.20.2018)
आध्यात्मिक नेता कालजयी, राजनेता क्षणिक (03.20.2018)
यस्तो फेरी कहिल्यै नदोहोरियोस् ! (03.20.2018)



 
::| Latest News

 
[Page Top]