युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 12.18.2018, 11:00pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
उही “बेथितिकै थिति”मा रम्दै गर्दा !
Tuesday, 09.25.2018, 12:12pm (GMT+5.5)

- तारा सुवेदी
“जहाँ बेथितिको रितिथितिले राज्यबाटै स्वीकृति पाइसक्यो, त्यहाँ रोएर, कराएर, चिच्याएर त के टाउकै भित्तामा ठोके पनि के हुन्छ र ?” अहिले यो देशका कुनै दलको दलदलमा नफसेका, आजसम्म आफ्नो संचारमाध्यमका लागि साथ सहयोगको विन्तीपत्र बोकेर कुनै मिसन र मिसनरीको दरबार नपसेका र कसैको बुई चढेर वा धाप र सेकतापबाट “स्वतन्त्र विश्लेषक र लेखक”को प्रमाणपत्र छातीमा टाँसेर कुनै छापा र दृश्य संचारमाध्यममा आजसम्म नआएका, “भर्जिन” राष्ट्रियतावादी सबैजसोको आमधारणा र निष्कर्ष यस्तै बन्दै गएको जस्तो लाग्छ ।” निराशावादीबाट निषेधवादी हुँदै गएका, आफ्नो कार्यकालका सर्वशक्तिमान तर अहिलेको फुर्सदमा यस्तै आत्मबोध गर्ने एक मित्रले बडो गम्भीर भएर आफ्नो विश्लेषण सुनाए । 
त्यसका साथै सेवा निवृत्तपछि उनले छोटो समयमा पाएको सीमान्त अपमानको पीडाबोधको रामकहानीको महाभारत भनौ वा “दुःखभरी कथाको इतिवृत्तान्त” बताउँदै, नेपालको सरहद सीमाभित्र सर्वव्यापी हुँदै गएको बेथिति, अराजकता, राज्य–शून्यता, विधिविधान–विहिनता, भ्रष्टाचार, अनाचार, व्यभिचार र अनैतिकताको बेलिविस्तार वर्णन गरे । उनले विधि–विधान शून्यता र असुरक्षाको मात्रै होइन, राज्यको शासनसत्ता हत्याएका “निरंकुश सरकार”को निरीहता र अपरिपक्वताका ज्वलन्त र जीवन्त कहानीको शब्दचित्र पनि प्रस्तुत गरे । जहाँजहाँ राज्य–शासनको सशक्त उपस्थिति देखिनुपथ्र्यो त्यहाँ त्यहाँ पूरै अनुपस्थिति र जुनजुन विषयमा धेरै गम्भीरतापूर्वक सोचेर मात्रै निर्णय गर्नु र अगाडि बढ्नुपथ्र्यो त्यस्तोमा हचपचमा र हतारमा निर्णय गर्ने अनि हतपत निर्णय फिर्ता लिने गरेको घटनावलीका प्रतिनिधि उदाहरणका शृङ्खला यसरी बेलीविस्तार सुनाउन प्रारम्भ गरे– 
बढ्दो यौनहिंसा र खस्किँदो सुरक्षा 
“आज अवोध शिशुदेखि ७५÷८० वर्षका वृद्धासम्ममाथि पाशविक बलात्कार र जघन्य हत्याको शृङ्खला सामान्य घटनाको रुपमा घनीभूत हुँदैगएको छ । उहिले राजाको सर्वोच्च र निर्विकल्प सकृय नेतृत्वको निरंकुश निर्दलीय ३० वर्षे अलोकतान्त्रिक भनिँदै आइएको कालखण्डमा पोखरामा नमिता, सुनिता लगायत तीन किशोरीहरुको रहस्यमय अन्त्य भएको थियो । एकजनाको शव सेती नदीमा भेटिएको थियो, अरु दुई जना बेपत्ता भए वा पारिएका थिए । ती नमिता, सुनिता भण्डारी (दिदी बहिनी) र निरा पराजुलीको उक्त शंकास्पद बलात्कारपछिको रहस्यमय विलुप्तीको दुःखद घटनाका पछाडि कुनै दरवारिया र तरवारिया समूह र शक्तिको नाम जोडेर आयो । त्यसले सिङ्गो (३० वर्षे) पंचायत व्यवस्थाको शीर मात्रै नझुकाई अनुहारमा नै कालो पोतियो । 
त्यस्तै तथाकथित ‘राष्ट्रवादी’का नामधारी, केही दरवारिया भनाउने व्यक्ति संरक्षित गुण्डा समूहका उच्शृङ्खल र अराजक कुकृत्य–पूर्णकृयाकलापले आज पनि राष्ट्रियताका हिमायतीहरुलाई आफूलाई “राष्ट्रवादी” भन्न निकै संकोच मान्नुपर्ने बनायो । भलै, ती दरवरिया शक्ति र व्यक्ति संरक्षित र संवर्धितहरु पंचायतको उत्तराद्र्धतिर पुगेपछि कुनै एउटा राजनीतिक दलको आडबलमा २०४७ सालपछि पुनः शासन सत्ता नियन्ता बनेका थिए । कोही व्यक्ति प्रजातान्त्रिक शासनकालका नेता र सरकारका सहकर्मी र सधर्मी समेत भएका थिए । तर पनि ती दुई कुरा (नमिता, सुनिता र मण्डले आतंक)ले सिङ्गो पंचायतकाल हेय, तिरस्करणीय र त्याज्य ठानिए, मानिएको थियो । 
२०४७ देखियताको लोकतान्त्रिक संसदीय प्रजातान्त्रिक शासनकालको चरण पार गर्दै आज गणतन्त्रात्मक संघीय लोकतान्त्रिक शासन प्रणाली अंगालेको राजनीतिको धाराले राजा र राजतन्त्रको अन्त्य गरिदियो । गणतन्त्र अन्तर्गत निर्वाचित विशालकाय (जम्बो) भीडले जारी गरेको संविधान लागू भएपछि अपरिकल्पनीय रुपमा (झण्डै एक हप्तामा एक दर्जन) अबोध शिशु–बालिका, किशोरीदेखि ७०–८० वर्षे वृद्धा माथिसम्म कतै सामूहिक बलात्कार, कतै बलात्कारपछि विभत्स हत्याको शृङ्खला शुरु भयो । त्यसै चपेटामा कञ्चनपुर महेन्द्रनगर (भीमदत्त नगरपालिका) अन्तर्गतकी किशोरी निर्मला पन्तमाथिको बलात्कार र हत्याकाण्डको घटना घट्यो । उक्त घटना अहिले सुरक्षाकर्मीको लागि “घाँटीमा अड्केको काँचो पिडाँलु” बनेको छ । तर संचारमाध्यममा नै ‘हप्तामा झण्डै एक दर्जन त्यस्ता अपहरण, बलात्कार, हत्याजस्ता गम्भीर अपराधिक घटनालाई आ–आफ्ना समाचार माध्यमहरुमार्फत् सार्वजनिक भए गरिए पनि महिलावादी, मानवाधिकारवादीहरुले भने किन हो कुन्नि अरु घटनाबारे मौन बसे । त्यो पाटो र बाटोतिर नजाउँ ।
यहाँ अहिलेको सन्दर्भ अपहरण, वलात्कार हत्या, हिंसाको विकराल प्रवृत्तिको नालीबेली, उहिलेको निरंकुश पञ्चायती राज्य शासनकालदेखि जोडिएको छ । लोकतन्त्र गणतन्त्र आएपछिको जन–उत्तरदायी सरकारको पालामा ती जघन्य विकृतिको पुनरावृत्ति मात्रै भएन । अपरिकल्पनीय र अवाञ्छित रुपमा दिन दुगुना, रात चगुना बढ्दै र मौलाउँदै गएको विषय बन्यो ।” तीभित्र रोकिए ।
यस्तो मानव समाजको मुखमा कलंकको मोसो पोत्ने तत्व र शक्ति संगठित नियोजित र प्रायोजित छ कि वर्तमान कालखण्डमा अनायास देखापरेको आकस्मिकता हो ? यसका पछाडिको कसको के कस्तो उद्देश्य नियत छ ? यसरी अपहरण, बलात्कार, हत्या हिंसाजन्य आतंक वन डढेलो जस्तै गरी जसरी संग्रालिँदै छ, त्यसबारेमा र यी सबैको ‘उपादानतत्व’का बारेमा छुट्टै वहस वा चर्चाको विषय हुनसक्छ । यसबारेमा केही त ३÷४ महिना पहिले यसै स्तम्भमा “अपराधको उर्वरा र अपराधीको स्वर्णभूमि बनेको छ, नेपाल” शीर्षक लेखमा आइ पनि सकेको छ । सन्दर्भले थप चर्चा खोजेपछि पनि आउला । त्यसैले त्यस “बढ्दो यौनजन्य हत्या, हिंसा” बारे यहाँ यत्ति !
जनतासँग खेलाँची
संविधानका प्रावधान र राजनीतिक शास्त्रका सिद्धान्त सूत्रका आधारमा भन्ने हो र संसदमा सत्ता पक्षमा भएका सांसदहरुको संख्या गन्ने हो भने नेपालको इतिहासमा नै यति शक्तिशाली सरकार यसभन्दा पहिले कहिल्यै देखिएको थिएन । सार्वभौम संसदमा प्रचण्ड र झण्डै सत्तारुढ दल एक्लैले आफूले लोकहितमा काम गर्न चाहे अनुसार संविधान संशोधन गर्नसक्ने शक्ति सामथ्र्य राख्छ । यस अर्थमा निरंकुश भई ली क्वा यू र महाथिर मोहम्मदले जस्तो स्वेच्छ्या काम गर्नसक्ने हैसियतको, (अरु गैर कम्युनिष्टहरुको दृष्टिमा “उग्र वा आमूल परिवर्तनवादी”) नेकपाको सरकार, किन लोककल्याणकारी राज्य संचालकको हैसियतले जेजति कार्ययोजना सार्वजनिक गर्छ निर्णय गर्छ, लागू गर्ने घोषणा गर्छ, सबैलाई आमजन समूहले “या त वकमफुसे गंजेडी गफ” भन्छ । या “असंभवम्” जनता झुक्याउने, महत्वाकांक्षी, हावादारी योजना ठान्छ ? या राज्यतर्फबाटै “जनता (सेवाग्राही) देखि, सरकारभन्दा बलिया बनेका विभिन्न क्षेत्रका पेशा व्यवसायीका संगठित सिण्डिकेटहरुलाई “लाखे जिस्काएझैं जिस्काउने” खेल भनेर स्वयं सेवा सुविधानका लक्षित समूहले नपत्याई राखेको देखिन्छ, किन ? 
सिण्डिकेटीसँग संत्रस्त ?
यात्रु र वस्तु ढुवानी गर्ने यातायात व्यवसायीदेखि उपभोक्तालाई मूूल्य र गुणस्तरमा चरम शोषण गर्ने आधारभूत दैनिक उपभोग्य वस्तुका थोक र खुद्रा व्यापारीहरु, निर्माण व्यवसायीहरु, निजी क्षेत्रका विद्यालय संचालकहरु, आम नागरिकको संवेदनशील सरोकारको अत्यावश्यक चिकित्सा सेवा प्रदायकहरु (डाक्टरहरु)सम्मका सिण्डिकेट तोड्ने सरकारका साहसिक निर्णयको परिणाम हेरौं । ती सबै र त्यस्तै जनता ठग्न सिण्डिकेट बनाई आएका कोही पनि कर्तव्य, दायित्व र दण्ड भोग्नुपर्ने कानुनी प्रावधान सुन्न मान्न तयार छैनन् । त्यसैले सरकार विरुद्ध आन्दोलनरत हुन सधैं उद्यत छन् । ती सबैसँग जसरी पटक पटक (विभिन्न मितिमा) सरकारले भिड्नु र लड्नुप¥यो । सबै सामु आत्मसमर्पणसँगै निर्णय फिर्ता लिएर वा उनीहरुका मागका मस्यौदामा निरिह भएर आत्म समर्पण गर्दै गरेको देख्नुप¥यो । यस्तो लाज मर्दोस्थिति किन उत्पन्न भइरहेछ ? 
विभूषणमा वेथितिः
अरु त अरु सबैमा सरकार कसैको षड्यन्त्रको कारणबाट आफ्ना निर्णय कार्यान्वयन गर्न गराउन असफल भएछ रे ! तर सरकारले विगतदेखि विभूषण बाँड्ने जे जस्तो निर्णय गर्दै आयो र यस वर्ष पनि त्यसलाई निरन्तरता दियो, त्यसरी विभूषित गरिने अधिकांशको नाम देखेपछि सबैले उही राणा शाहकालीन शासनकालको पुनरावृत्ति भएको ठानेछन् । देखाउन “विभूषण ऐन २०६४ अधीन वितरण गर्ने गरेको” भनिए पनि “राष्ट्रिय जीवनको विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने महानुभाव” मा त तिनै कुख्यात, चरम भ्रष्टाचार गरेर परम शक्तिशाली पदमा पुगेका व्यक्तिहरु पो देखिए । जुन गएको २०७५ जेठ १५ गतेको सुशोभयनपछि बधाई पाउनेको तस्वीरमा नाम देखिएको थियो । ती त प्रतिनिधि पात्र मात्र थिए ।” 
नेपाली जनताले राणा र शाही शासन प्रणालीलाई मात्र होइन । मुकुटधारी राणा र राजतन्त्रलाई नै बेठीक र भ्रष्ट ठानेर नै फ्याँके । (यदि त्यो सबैका पछाडि अन्य कुनै दृश्य अदृश्य शक्ति थिएन भने अब नेपालीले नै फालेको भन्नु र मान्नु पर्छ) त्यसबेला दरवारिया र तरवारियाहरुले आफ्ना हुक्के, बैठके, कोपरे, द्वारपालेको छातीमा समेत “राष्ट्रिय जीवनमा योगदान गरेका” र “राष्ट्रको श्रीबुद्धिमा उल्लेखनीय काम गरेको” भनेर तक्का लगाइयो होला । तर जब सार्वभौम संसदबाट बन्ने ऐनको प्रस्तावनाका साथै “विभूषण सिफारिसका छ सूत्रीय  आधार र जे जति मापदण्ड तोकिएको छ, ती सबैको ठीक विपरित हुने गर्ने गरी, यो देशमा जो जति भ्रष्ट भनेर जनताले ठह¥याई रहेको थियो वा छ त्यो सार्वभौम जनताको मूल्यांकनको  सीमान्त अपमान हुने गरी, सयौं लोकतन्त्रमानहरु, भ्रष्ट बहादुरहरु, डन, डाँका, हत्याराका मतियारहरु जसरी हिजोसम्म सम्मानित र विभूषित हुँदै थिए, त्यो उहिलेदेखिको “विकृत बेथितिको पुनरावृत्ति अहिलेसम्म जीवन्त देखियो । अझ सशक्त भएको पाइयो” आम पर्यवेक्षको निष्कर्ष हो यो । 
त्यो बेथितिको थितिको पुनरावृत्ति अझ विकृतिपूर्ण भएको र मौलाएको कसरी के देखियो भने नेपालमा पहिलोपटक जनताले निर्माण गरेको संविधान अनुसारका तीनै तह वा स्थानीय, निकाय (महानगर उपमहानगर नगर र गाउँपालिकाहरुको तीन चरणको निर्वाचन) र संघीय संसद (प्रतिनिधि सभा) र ७ प्रदेशका प्रदेशसभाका लागि प्रतिनिधिको निर्वाचनदेखि राष्ट्रपतिसम्मको ७–८ तहको निर्वाचन अपूर्व रुपमा ८–९ महिनाको अवधिभित्रै सुसम्पन्न गर्ने निर्वाचन आयोगका साहसिक पदाधिकारीलाई सरकारले विर्सेर आयोग कार्यालयका २ जना कर्मचारीमात्र विभूषित हुनेको सूचीमा पारेको जुन देखियो, त्यसले सरकार सामु एउटा पक्ष प्रश्न तेस्र्याएको छ । के ती निर्वाचन निष्पक्ष, धाँधलीरहित, स्वतन्त्र भएका वा गराइएका थिएनन् ? या त सत्तारुढ दलको भावना र चाहना विपरित निर्वाचन आयोगले स्वतन्त्र र निष्पक्ष भएर निर्णय र निर्वाचन गरायो भन्ने रुष्ट सरकारले आयोगलाई अप्रत्यक्ष अपमानित गर्न २ वटा अधिकृतलाई विभूषित गर्न सिफारिस ग¥यो ? यस्तो टड्कारो प्रश्न किन पनि उब्जियो भने उहिलेको पंचायतकालदेखि २०७० सालमा भएको संविधानसभाको दोस्रो पटकको निर्वाचनसम्मका सरकारले निर्वाचन आयोगका सबै पदाधिकारीहरुलाई स्वतन्त्र निष्पक्ष र धाँधली रहित निर्वाचन सम्पन्न गरेवापत धन्यवाद स्वरुप विभूषित गर्दै आएको थियो । तर त्यो परम्परा पछिल्लो (२०७४) सालको ऐतिहासिक चुनौतीपूर्ण निर्वाचन सम्पन्न गर्ने आयोगका कुनै पनि आयुक्तलाई विभूषित नगरी तोडियो ।”
दिएको विभूषण फिर्ता लिने घटिया निर्णय
सरकारको संयन्त्र कतिसम्म क्षुद्र, दुराग्रही एवं तल्लोस्तरमा ओर्लिएको समेत देखियो भने नेपालको निजामति सेवाको सर्वोच्च तह (मुख्य सचिव)मा रहेका व्यक्तिलाई दिने गरी गत वर्ष सार्वजनिक गरिएको विभूषण यस वर्षको विभूषण समारोहबाट नदिने निर्णय गरेको पनि समाचार पढ्नुप¥यो । हो, उनलाई सत्तारुढ दलभित्रका कतिपय व्यक्तिले मन पराउने, नपराउने हुनसक्ला । विभूषण दिने निर्णय ठीक थियो कि बेठिक थियो प्रश्न उठ्न सक्ला । पछि विभूषणको सिफारिस गर्ने बेलामा त्यसमा कमी कमजोरी भएको भए सच्चाउन सकिएला । 
तर देशद्रोही, राष्ट्रघाती, विधि स्थापित सरकारको सत्ता उल्टाउने प्रयास गर्ने विद्रोही, प्रमाणित नगरी घोषित विभूषण फिर्ता लिने निर्णय कसरी भयो ? यस्तो आजसम्म नभएको गम्भीर र संवेदनशील विषयमा निर्णय गर्दा सरकारको इज्जत, प्रतिष्ठा र साख (विश्वसनीयता)मा कुन चार चाँद लाग्यो होला ?, यस्तो सरकारको ‘उट्पट्याङ’ र अविश्वसनीय निर्णयले कस्तो नयाँ थिति बसाउला ? गम्भीर भएर घोत्लिनु पर्ने स्थिति उत्पन्न भएजस्तो लाग्छ । सरकार त राज्यको कानूनी प्रतिनिधि पात्र हो । त्यसको (सरकारको) नेतृत्व कुनै राजनीतिक दल (जसलाई आम मतदाताले निश्चित अवधिका लागि शासनाधिकार दिएको हुन्छ)ले गर्ने हो । उसको निमित्त विधि र प्रकृयासम्मत् ढंगबाट कार्य गर्ने स्थायी “संयन्त्र” छ । जसलाई “निजामती संगठन वा संयन्त्र” भनिन्छ । उसको इमान्दारिता, क्षमता, नैतिकता, निष्पक्षता र आग्रह दुराग्रह विहिनता यसले कति स्पष्ट गर्छ होला ?
फेरि पनि “परम्पराको क्रमभङ्गता र क्रमभङ्गताको निरन्तरता”को मूल सूत्र ठान्ने सरकारका यी माथि उदाहरणार्थ उल्लेखित काम कुराहरुले कसरी संवोधन गरेको ठहरिएला ? सायद उही “बेथितिको थितिमा चल्ने चलाउने विकृति पूर्ण शासकीय संस्कृतिको पुनरावृत्तिको परिणति” नै यस्तै उस्तै नियति भोगाउने नै हुने रहेछ कि ?  


Rating (Votes: )   
Share     Print


Other Articles:
पराश्रयी मनोवृत्ति र विखण्डनको झस्को (09.11.2018)
सबल सरकार, निर्धो राज्य, गिर्दो अर्थतन्त्र ! (09.11.2018)
प्रधानमन्त्रीज्यूलाई खुलापत्र (09.04.2018)
सरकार कस्को पक्षमा काम गर्दैछ ? (09.04.2018)
कुराले मात्रै देश विकास हुने भए... (08.28.2018)
भुक्तानी सन्तुलन सुधार्ने विकल्प ? (08.28.2018)
जेठा मामाको त फाटेको धोती कान्छा मामाको के गति ? (08.14.2018)
“सार्वजनिक नीति र भ्रष्टाचार” को विश्वरुप दर्शन ! (08.14.2018)
तीजको नाममा विकृति : हुँदा खानेहरुको लागि तीज गलपाँसो (08.14.2018)
छोरीहरु दुलही मात्र हैनन (08.14.2018)
सरकारका पेल्ने सुर : विपक्षको पानीआन्द्रे चाल - महेश्वर शर्मा (07.25.2018)
‘जंगे’ जन्माउने खेल शुरु भएकै हो ? - तारा सुवेदी (07.25.2018)
मूल नसङ्ली धारामा सङ्लो पानी आउँदैन (07.10.2018)
“द्वन्द्वका लागि आमन्त्रण” (?) (07.10.2018)
मैले पढेको त्यो समय र पढाउन थालेको अहिलेको समय (07.10.2018)
चुनाव जितेपछि ओलीको बोली फेरियो- महेश्वर शर्मा (06.12.2018)
अन्तर्कलमा फँसेको काँग्रेसको दशा र दिशा- तारा सुवेदी (06.12.2018)
चुनाउमा बकेका कुरा बक्यौतामै नरहुन्म - हेश्वर शर्मा (05.30.2018)
राष्ट्रपतीय शासन प्रणाली किन ? - तारा सुवेदी (05.30.2018)
अपराधीलाई अभय ः सज्जनलाई सकश (05.08.2018)



 
::| Latest News

 
[Page Top]