युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 12.18.2018, 11:08pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
अबको अभियान– अभिभावकलाई रोजगारी बालबालिकालाई शिक्षा- गीता श्रेष्ठ
Tuesday, 09.25.2018, 12:14pm (GMT+5.5)

शिक्षा र समृद्धि एकापसमा सम्बन्धित छन् । शिक्षित समाज गरीब हुँदैन, समृद्ध समाज चेतनाहीन हुँदैन । त्यसैले त शिक्षालाई उच्च प्राथमिकता दिइएको हो । उतिबेला काठमाडौं लगायत देशका प्रमुख शहरका चोकहरुमा एउटा वाणी टाँगिएको हुन्थ्यो– “शिक्षाको उज्यालो घामबाट कोही पनि बालबालिका वञ्चित हुन नपरोस् !” यो वाणीले शिक्षाले मानिसको जीवनमा कति महत्व राख्दछ ? शिक्षा अनिवार्य शर्त हो व्यक्ति र राष्ट्रको जीवनका लागि भन्ने तथ्य उजागर गर्दथ्यो । अब प्रश्न उठ्छ– मुलुकको भविष्य निर्माणका लागि तयार हुने जनशक्तिको महत्व दर्शाउन र शिक्षाप्रति सबैमा जागरण ल्याउन शिक्षालाई किन यति विकृत पारिएको ? किन नीति बन्ने, बजेट सक्ने नतिजा नदिने भयो शिक्षा ?
जनतालाई अधिकार दिन कानुन बनाएर मात्रै पुग्दैन । कानुनले लेखेका कुराहरुलाई व्यवहारमा उतार्न र अभ्यासमा ल्याउन जनतालाई सोही अनुसार सक्षम पनि बनाउनुपर्छ । जनतालाई सक्षम बनाउन शिक्षा आवश्यक छ । शिक्षाको यही महत्व बुझेर संविधानमै अनिवार्य र निःशुल्क शिक्षाको व्यवस्था गरियो । त्यही अनुसार विधेयक संसदबाट पारित भयो । विधेयकमा छोराछोरी विद्यालय नपठाउने अभिभावकलाई कारबाही गर्नेसम्मको प्रावधान राखियो । यो राम्रो पक्ष हो । पूर्ण शिक्षित समाज नै सभ्य हुन्छ र त्यही समाज उन्नत हुन्छ । नेपालको अहिलेको अवस्था आउनुमा उचित, सुलभ र समयसापेक्ष शिक्षाको अभाव हो । यसो भन्दैमा र कानुनमा लेख्दैमा समाधान हुन्छ त ? पक्कै हुँदैन । “हरेक नागरिकको शिक्षा आर्जन गर्ने नैसर्गिक अधिकार राज्यले पूरा गर्नुपर्दछ” भनिए पनि हाम्रा लाखौं बालबालिका अझै पनि शिक्षाको त्यो उज्यालो र न्यानो घामबाट वञ्चित छन् । यसको मूल कारण गरीबी हो ।
संविधानमा अनिवार्य शिक्षा भनिएको छ । के यति गरेर मात्र पुग्छ ? अभिभावकहरु बालबालिकालाई शिक्षा दिलाउनसक्ने हैसियतमा छन् कि छैनन् भन्ने अहं सवालतिर दृष्टिगोचर गर्नुपर्छ कि पर्दैन ? जवसम्म परिवारको आर्थिक स्थिति सामान्य गर्जो टार्ने हैसियतको हुँदैन तबसम्म कानुनले अनिवार्य शिक्षाको व्यवस्था गरे पनि सबै बालबालिका विद्यालय जान सक्दैनन् । उनीहरुको बाध्यता नै हो कि बाँच्नकै लागि श्रम गर्नैपर्छ । बिहान खाए बेलुका के खाउँ भन्ने अभिभावकले छोराछोरीलाई विद्यालय पठाउन सक्दैनन्– निःशुल्क नै भए पनि । 
अबको नारा “हरेक अभिभावकलाई रोजगारी– प्रत्येक बालबालिकालाई शिक्षा” बन्नुपर्छ । बालबालिका विद्यालय नपठाउने अभिभावकलाई आर्थिक जरिवाना गर्ने नियम बनाए पनि वा योभन्दा कडा बनाए पनि उनीहरुले हातमुख जोर्न नै नसक्ने अवस्था छ भने अभिभावकले विद्यालय पठाउँदैमा बालबालिकाले शिक्षा ग्रहण गर्न सक्दैनन् । अब घन्किएका नारा र भट्याइएका भाषणलाई कार्यगत रुपमै अघि बढाउने हो भने शिक्षामा लगानी गर्नुपर्छ । शिक्षामा लगानीको अर्थ शिक्षाका लागि बालबालिका विद्यालय पठाउन नसक्ने अभिभावकको आयआर्जनमा समेत गर्नुपर्दछ । यसो गर्नसके मात्र सबै बालबालिका विद्यालय जान्छन्, उनीहरुले शिक्षा आर्जन गर्छन् । होइन– अभियानका समममा मात्रै विद्यार्थी भर्नाको तथ्यांक बटुलेर दातालाई बेचेर रकम मात्र ल्याइरहने मेसो बनाइरहने हो भने नारा घन्काउनुको कुनै अर्थ छैन ।
सबैलाई अनिवार्य शिक्षा र असल शिक्षा दिने हो भने अहिलेको प्रवृत्तिको पूर्णतः अन्त्य हुनु आवश्यक छ । प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्म राजनीतिकरणको शिकार भएको छ । उच्च गुणले युक्त भएको शिक्षक, प्राध्यापक वा प्रशासकभन्दा दलीय आबद्धता भएको व्यक्तिको खोजी हुने गरेको छ । यो विद्यालय तहदेखि नै सुरु हुन्छ । विद्यालय संचालक समितिमा कुन दलको पकड रह्यो भन्ने जस्ता गलत अभ्यासले गर्दा पठनपाठन कम राजनीति बढी हुन्छ । अहिले शिक्षाका लागि छुट्याइएको रकममध्ये ८५ प्रतिशत विद्यालयका लागि खर्च हुन्छ । तर, त्यो रकम शिक्षाको गुणस्तर बढाउन कम शिक्षकको तलबभत्ता, मसलन्द आदिमा बढी खर्च हुन्छ । अझै पनि ग्रामीण क्षेत्रका विद्यालयहरूमा विज्ञान, अंग्रेजी, गणित जस्ता विषयको शिक्षक नै उपलब्ध हुन मुस्किल पर्छ । केही निजी विद्यालयहरुले घुस्रदै–लत्रदै ती विषयहरु धानिरहेका छन् । 
अझ उच्च शिक्षामा पनि सरकारी लगानीको ठूलो अंश ओगटेका त्रि.वि.मातहतका आंगिक क्याम्पसहरू सुक्दै गएका छन् भने निजी क्षेत्रका कलेजहरू मौलाउँदै गएका छन् । प्राथमिक तहदेखि उच्च शिक्षासम्म सरकारी लगानी बालुवामा पानी खन्याए जस्तो स्थिति छ । अर्कोतिर गुणस्तरीय शिक्षा र शिक्षापछिको सुखद भविष्य निर्माण गर्न भन्दै लाखौं युवा–विद्यार्थीहरु विदेशिएका छन् । अध्ययनका लागि मात्र अर्बौं रुपैयाँ विदेशिएको छ । गत वर्षमात्रै उच्चशिक्षा प्राप्तिका नाममा ४० अर्ब रकम बाहिरिएको अभिलेख छ । त्यसलाई मात्र रोक्न सक्ने हो भने अध्ययनकै लागि विदेश गएको रकमले यहाँ धेरै काम गर्न सकिन्छ । तर, यसका लागि चाहिन्छ स्पष्ट नीति । स्पष्ट शिक्षा नीति बनाएर त्यसलाई राजनीतिक स्वार्थ नघुसाउने हो भने शिक्षाको उज्यालो घामबाट सबै बालबालिकाले राप र ताप पाउनेछन् । 
हामी सबैले बुझेको कुरा के हो भने– आजका बालबालिकालाई भोलिका लागि राष्ट्रको जिम्मेवार नागरिक बनाउने शिक्षाले नै हो अनि त्यो शिक्षासंगै उसलाई स्वदेशमै अवसर छ भन्ने अनुभूति दिलाउनु हो । यसका लागि आजको जस्तो युवा पलायनको स्थिति रोक्नैपर्दछ । पढेलेखेकादेखि सामान्य लेखपढ गर्न जान्नेसम्म सबै विदेश दगुर्छन् । अनि कलिला मस्तिष्कमा पनि त्यही भानपर्छ कि पढे पनि विदेश–नपढे पनि विदेश ? यस्तो अवस्थाको अन्त्य हुनु आवश्यक छ । यसका लागि कुरो रोजगारीमै गएर अडिन्छ । यदि अहिलेदेखि नै शिक्षा र रोजगारीलाई साथसाथ लिएर जाने अर्थात् व्यक्तिको योग्यता–क्षमता अनुसार काम दिलाउने हो भने यसले बालबालिकालाई विद्यालय जान उर्दी लगाउनै पर्दैन । सामान्य रुपमा हात–मुख जोर्नसक्ने अवस्था बनाइदिने हो भने हरेक बालबालिकाले विद्यालयको मुख देख्ने मात्र हैन, पढ्न नै पाउने छन् ।  कानुन निर्माणसंगै यी पक्षलाई ध्यान दिनैपर्छ ।
(लेखक श्रेष्ठ उर्सा मेजर चिल्ड्रेन्स एकेडेमीका संचालक सदस्य हुन्)


Rating (Votes: )   
Share     Print


Other Articles:
नेतृत्वका दुई पक्ष– गुनिलो र गुलियो (09.25.2018)
उही “बेथितिकै थिति”मा रम्दै गर्दा ! (09.25.2018)
पराश्रयी मनोवृत्ति र विखण्डनको झस्को (09.11.2018)
सबल सरकार, निर्धो राज्य, गिर्दो अर्थतन्त्र ! (09.11.2018)
प्रधानमन्त्रीज्यूलाई खुलापत्र (09.04.2018)
सरकार कस्को पक्षमा काम गर्दैछ ? (09.04.2018)
कुराले मात्रै देश विकास हुने भए... (08.28.2018)
भुक्तानी सन्तुलन सुधार्ने विकल्प ? (08.28.2018)
“सार्वजनिक नीति र भ्रष्टाचार” को विश्वरुप दर्शन ! (08.14.2018)
जेठा मामाको त फाटेको धोती कान्छा मामाको के गति ? (08.14.2018)
तीजको नाममा विकृति : हुँदा खानेहरुको लागि तीज गलपाँसो (08.14.2018)
छोरीहरु दुलही मात्र हैनन (08.14.2018)
सरकारका पेल्ने सुर : विपक्षको पानीआन्द्रे चाल - महेश्वर शर्मा (07.25.2018)
‘जंगे’ जन्माउने खेल शुरु भएकै हो ? - तारा सुवेदी (07.25.2018)
मूल नसङ्ली धारामा सङ्लो पानी आउँदैन (07.10.2018)
“द्वन्द्वका लागि आमन्त्रण” (?) (07.10.2018)
मैले पढेको त्यो समय र पढाउन थालेको अहिलेको समय (07.10.2018)
चुनाव जितेपछि ओलीको बोली फेरियो- महेश्वर शर्मा (06.12.2018)
अन्तर्कलमा फँसेको काँग्रेसको दशा र दिशा- तारा सुवेदी (06.12.2018)
चुनाउमा बकेका कुरा बक्यौतामै नरहुन्म - हेश्वर शर्मा (05.30.2018)



 
::| Latest News

 
[Page Top]