युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.23.2018, 12:56am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
बलेको आगो ताप्नेको खाँडो जागेको छ
Tuesday, 10.02.2018, 12:28pm (GMT+5.5)

- महेश्वर शर्मा
गणतन्त्र, समाजवाद, साम्यवादका भजन जति गाए पनि काम चाहिं यहाँ ‘सबै जोगी मर, मेर खप्प भर’ भनेजस्तै छ । दुईतिहाईको सरकारले जे गेरे पनि हुन्छ भनेजस्तो छ । जनताले सन्तोषको सास फेर्न पाउनेतर्फ सिन्को भाँचिएको अनुभव गर्न पाएका छैनन् । गरुन् पनि के, सत्ताधारीहरु आफ्नै सुख सुविधा जुटाउने धन्दामै सारा शक्ति खर्च गर्दा गर्दै फुर्सद नै पाउँदैनन् । एकातिर माहुरीले फूलको रस चुसेसरी जनतालाई चुस्ने, अर्कातिर कार्टेलिंग गर्ने, सिण्डिकेट चलाउनेहरुका पाहुरपातमा भुलेर दशैंजस्तो चाडबाडका मुखमा घुँडो टेक्ने– योभन्दा लाजमर्दो अरु के हुन्छ ?
‘व्यापारीको गुनासो सुनेर अनुगमन नगरेको’ भन्ने मन्त्रीले जनताका ढाड सेक्ने व्यापारीका पक्षमा उभिन, जनताका गुनासा नसुन्नुलाई देश र जनताको पक्षमा र हितमा भएको सम्झने कि जनता चुस्नेहरुकै चासो लिएको सम्झने ? पार्टीलाई चन्दा दिएर सरकार नै किनेको सम्झने व्यापारीले मनपरी बजारभाउ बढाउँदा पनि सरकारले सुन्दैन भने त्यो कसको सरकार हुन्छ ? व्यापारीका कुरामात्रै सुन्ने र जनतातिर पिठ फर्काउने हो भने जनताका निम्ति त्यस्तो सरकारको औचित्य कति रहन्छ ?
आजका नेता र सरकारकै पनि गतिविधिले राजनीतिलाई ठगी धन्दा बनाएको प्रतीत हुन्छ । जनता भन्छन्– अविश्वासी खोज्नुप¥यो भने नेता सम्झे हुन्छ । आज बलेको आगो ताप्नेको मात्रै खाँडो जागेको छ । ‘जहाँ सत्ता त्यही भत्ता’ भनेझैं अहिले पनि अरु पार्टी छोडेर सत्ताधारीकै पार्टीमा प्रवेश गर्नेको लाम लागेको छ । त्यस्ताहरु भोलि सत्तामा अर्को आयो भने उतै हामफाल्ने छन् । सबै खानैका लागि दगुरेका छन् । जनतालाई सुुख सुविधा हुने कुरासंग कसैलाई मतलब छैन । जनतालाई चिप्ला भाषण मात्रै छन् । सरकार पहिले सिण्डिकेट बिरुद्ध मच्चिएर आज आएर थच्चिनु त्यसै भएको छैन होला, त्यहाँ पनि अर्थ छ ।
सरकारमा हुनेहरु स्वाङ गर्न पनि सिपालु भैसकेका छन् । आफूलाई माक्र्स र माओका चेला सम्झनेहरु स्वयं गुरुको आदर्श र आचरणबिरुद्ध उभिएका छन् । स्वयं निरंकुश आचरण गर्छन् । सिण्डिकेट र कार्टेलिङ चलाउनेहरुको निरंकुश आचरणमा सरकार आज आफैं सामेल भएको छ । संसद आज कानुन बनाउँछ, भोलि तिनै सिण्डिकेटवालाका मतिमा लागेर संशोधन गर्छ । आज सरकार एउटा निर्णय सुनाउँछ, भोलि त्यसैको विपरीत काम गर्छ । यस्तो ढुलमुले चालको अर्थ बुझ्न गाह्रो छैन । सरकारमा बस्नेहरु सिण्डिकेट चलाउने–कार्टेलिङ गर्ने ठेकेदारहरुका चास्नीमा लुटपुटिएको दुष्परिणाम सम्झेका छन् जनताले ।
अब यति दिन, यति महिना र यति वर्षमा देशलाई झिलमिली पार्छौं भन्ने नेता र मन्त्रीले पहिले आफ्नै नाकमुनीको काठमाडौंलाई मान्छे बस्नलायक बनार देखाउ भन्दै हिंडेकी एउटी स्वास्नीमान्छेलाई अस्ति मात्रै बाटामा धेरैले तारिफ गरेका थिए, तर त्यहीं एकजना मन्त्रीकै आफन्त रहेछन् कि कुन्नि, तिनले तुरुन्तै खण्डन गरेको सुनेर अर्का एकजना युवकले तिनको सातो बोलाएका थिए । अर्थात् जनताका प्रतिक्रिया सरकारका क्रियाकलाप बिरुद्ध मुखरित भैरहेको स्थिति छ आज । यो देश, जनता, सरकार, दल कसका लागि पनि शुभ सूचक होइन भन्नेतर्फ सम्बन्धित सबैको ध्यान जानुपर्ने मात्रै होइन, त्यही दिशामा काम पनि हुनुपर्छ ।
एकदिन प्रधानमन्त्री ओलीजीकै भाषणको चर्चाका प्रसंगमा एकजनाले– विपक्षमाथि अरिंगालझैं जाइलाग्न र आफूलाई ‘रानी’ सम्झेर माहुरीले फूल चुसेर ल्याएको मह चुसे जसरी जनता चुस्न अर्ती उपदेशको अर्थ खोज्न विपक्षले पनि कान ठाडा पारेका छन् भनेका थिए । अरिंगालले टोके पनि र माहुरीले चिले पनि आखिर टोकिने र चिलिने त जनता नै हुन् । नेतालाई घनपुत्लो लाग्ने होइन क्यारे । विपक्षको त आज कुरै नगरे हुन्छ । सधैं सत्तामा रमाएको, आज ढाक्रे हुनुको पीडाले रन्थनिएको र आफ्नै आन्तरिक विग्रहपीडित कांग्रेस विष नभएको सर्पजस्तै हुनाले पनि सत्तालाई अनावश्यक मात चढेका पनि भनिंदैन । भन्नेले जे भने पनि मूल्यांकन त आखिर कामबाटै हुने हो, त्यो जनताले गरिनै रहेका छन् ।
यहाँ कुनै पनि क्षेत्रमा आवश्यकता र औचित्यको ख्याल गरेको पाइँदैन । आफ्ना मान्छेलाई मलिलो जागिर खुलाउन प¥यो भने मन्त्रालय नै फोरेर नयाँ कार्यालय खोलेर दरबन्दी नै बढाएर भए पनि खुवाइन्छ । योग्यता र क्षमताभन्दा माथी माथी ताक्ने प्रवृत्ति बढ्दो छ । केही नलागे सल्लाहकार मण्डली बनाएर कामै नभए पनि आयोग बनाएर पनि आफ्ना मान्छे घुसाइन्छ । एउटै प्रज्ञा प्रतिष्ठानले कला–साहित्य–संगीत समेतको विधा समेटेर काम भैरहेकोमा धेरैलाई कुलपति र प्राज्ञ बनाउनुपर्ने भएर अलग अलग प्रज्ञा प्रतिष्ठान बने । त्यो सबै स्वार्थ सलबलाएको परिणाम थियो । अब एकीकरण गर्ने सुनिएको छ । स्वार्थले पो फेरि लतार्ने हो कि ! ढुक्क हुने स्थिति अझै छैन ।
हरेक क्षेत्रमा यस्तै हचपच र लतपत हुनाले देशलाई दह्रो अडान भएको निष्पक्ष र निर्भिक प्रधानमन्त्री चाहिएको हो । सुरुमा ओलीजीको अडानले थाम्न सक्छ कि त भन्ने आश थियो, त्यो पनि विस्तारै सिण्डिकेट जागेको र ओली उँधेको देख्दा जनता निरुत्साहित हुन थालेका छन् । सिण्डिकेट र कार्टेलिङ अनि बिचौलियाले जसरी सरकारलाई घुँडा टेकाए, त्यो देख्दा सरकारप्रतिकै जनताको विश्वास डगमगाएको छ । त्यो विश्वासलाई थाम्ने दृढता प्रधानमन्त्रीबाट देखाइनुपर्छ भन्नेहरुलाई उहाँले निराश पार्नुहुने छैन भन्ने आश अझै पनि गरौं । हेरौं के हुन्छ ?


Rating (Votes: )   
Share     Print


Other Articles:
किन सरकारमाथि चौतर्फी आक्रमण ? (10.02.2018)
अबको अभियान– अभिभावकलाई रोजगारी बालबालिकालाई शिक्षा- गीता श्रेष्ठ (09.25.2018)
नेतृत्वका दुई पक्ष– गुनिलो र गुलियो (09.25.2018)
उही “बेथितिकै थिति”मा रम्दै गर्दा ! (09.25.2018)
पराश्रयी मनोवृत्ति र विखण्डनको झस्को (09.11.2018)
सबल सरकार, निर्धो राज्य, गिर्दो अर्थतन्त्र ! (09.11.2018)
सरकार कस्को पक्षमा काम गर्दैछ ? (09.04.2018)
प्रधानमन्त्रीज्यूलाई खुलापत्र (09.04.2018)
कुराले मात्रै देश विकास हुने भए... (08.28.2018)
भुक्तानी सन्तुलन सुधार्ने विकल्प ? (08.28.2018)
“सार्वजनिक नीति र भ्रष्टाचार” को विश्वरुप दर्शन ! (08.14.2018)
जेठा मामाको त फाटेको धोती कान्छा मामाको के गति ? (08.14.2018)
तीजको नाममा विकृति : हुँदा खानेहरुको लागि तीज गलपाँसो (08.14.2018)
छोरीहरु दुलही मात्र हैनन (08.14.2018)
सरकारका पेल्ने सुर : विपक्षको पानीआन्द्रे चाल - महेश्वर शर्मा (07.25.2018)
‘जंगे’ जन्माउने खेल शुरु भएकै हो ? - तारा सुवेदी (07.25.2018)
मूल नसङ्ली धारामा सङ्लो पानी आउँदैन (07.10.2018)
“द्वन्द्वका लागि आमन्त्रण” (?) (07.10.2018)
मैले पढेको त्यो समय र पढाउन थालेको अहिलेको समय (07.10.2018)
चुनाव जितेपछि ओलीको बोली फेरियो- महेश्वर शर्मा (06.12.2018)



 
::| Latest News

 
[Page Top]