युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 12.15.2018, 11:28pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
दशैंको जमरा, दुर्गाकवच अनि मातृशक्तिको महिमा - वेदराज पन्त
Wednesday, 10.10.2018, 02:00pm (GMT+5.5)

बडादशैं हर्ष उल्लास, सुख–शान्ति, समृद्धिको प्रतीक मानिन्छ । जीवनशैलीमा अत्यधिक उर्जा प्रवाह गरेर सद्भाव, सहिष्णुता, स्नेहले सकारात्मक प्रभाव पार्ने यो पर्व संयुक्त पारिवारिक संस्कृतिको प्रतीक छ । शरद ऋतुको स्वच्छ, स्वस्थ, अनुकूल वातावरणमा यो चाड मनाइन्छ । प्रकृति नै उमंग र उल्लासित भएको दखेर स्वस्फूर्त रूपमा नरनारी, बालवृद्ध सबैले एकसाथ हर्षातिरेकमा मनाइने यो चाड मातृसत्ताको महिमाले ओतप्रोत छ । घटस्थापनादेखि विजया दशमीसम्मका १० दिन मातृगणका रूपमा त्रीदेवी आद्यशक्तिका महिमाले मण्डित छन् । यसैलाई मातृपक्ष भनिन्छ । 
वैदिक वाङ्मयमा शरद ऋतुको आरम्भलाई कालगणनाको दृष्टिले विशेष महत्व दिइएको छ । ऋग्वेदमा वर्षा, शरद, वसन्त ऋतुबोधक शब्द यस्तै प्रयोजनमा प्रयोग भएको शब्द विन्यास हुन् । यस्तै वर्षा आफैंमा एउटा यस्तो शब्द छ– जसबाट अनेक वस्तु–विशेष अन्नादि लगायत फूल र फल तथा यावत वनस्पति औषधिको वर्षा हुन्छ भन्ने लाक्षणिक अर्थ गरिन्छ । प्राच्य परम्परामा शरद ऋतु र वर्षा ऋतुका यस्तै विशेषता जीवनशैलीमा सम्बद्ध भएका असंख्य प्रकरण र दैनन्दिनीमा उतारिएका अनेक प्रसँगको लामो फेहरिस्त छ । “पश्येम शरद शतं” “सय शरद हेर्न पाऊँ” यो प्रार्थना वैदिककालदेखि नै घरघरमा व्यक्तिव्यक्तिका मुखारविन्दबाट उच्चारित हुँदैआएको छ । वेदको यो मन्त्रले प्राच्य जीवनशैलीमा ज्ञानचक्षुका सहायताले दैनिक जीवनयापन गर्दै सय शरदसम्म आनन्दपूर्वक रहौं भन्दै यसरी प्रार्थना गरिन्छ–
दशैं सुरु हुन्छ सोह्रश्राद्धको समाप्ति पछि । पितृपक्षलाई सोह्रश्राद्धको संज्ञाले परिचय गराएजस्तै मातृपक्ष दशैंको संज्ञाले सम्बोधित हुन्छ । पितृपक्ष सोह्रश्राद्धको शास्त्रीय चिन्तन, चर्चा, कर्मकाण्ड पूर्वीय जीवनशैलीको अर्को महत्वपूर्ण पक्ष हो । यसको विस्तृत विवरण पौरस्त्य सभ्यता, संस्कृतिको वाङ्मयमा छुट्टै छ । यहाँ दशैंको शास्त्रीय चिन्तन, कर्मकाण्ड र जीवनशैलीमा दशैंको प्रभाव, प्रकृति–स्थावरजंगममा दशैंबारे चर्चा गरिंदैछ ।
दशैंको विशेषता र परिचयबोधक अन्य गतिविधि प्राच्य वाङ्मयमा अनेक छन् । देवी भागवत, मार्केण्डेय पुराण, ब्रह्माण्ड पुराण, शाक्तागम, शाक्तप्रमोद लगायतका ६४ ग्रन्थमा देवी अथवा मातृशक्तिको भक्तिभाव महिमाको वर्णन छ । शाक्त तन्त्रको संख्या एक हजारभन्दा बढी छ । “मन्त्र महावर्त” तन्त्रको विश्वकोश हो । शक्ति उपासकले साधन गर्ने यस्ता तन्त्रको शारदा तिलक लगायतमा रहस्यमय विस्तृत विवरण सँग्रहित छन् । तन्त्रग्रन्थमा सूक्ष्म रहस्यमय विद्याको विपुल भण्डार छ । यस्ता सैकडौं तन्त्रग्रन्थ र तिनका साधकले शक्ति उपासना गर्ने समय पनि दशैंको नवरात्र मुख्य हुन् । चैते दशैं, बडा दशैं ऋतुचक्रको फरक परिवेशमा मनाइन्छ । वसन्त ऋतुमा मनाउने चैते दशैं र शरद ऋतुको बडा दशैं विशेष उल्लेख्य दशैं हुन् । यी दशैंका नवरात्रको अप्रभंश ‘नौरथा’को विशेषणद्वारा घरघरमा बाल–वृद्ध परिचित छन् । यस्ता नवरात्र अर्थात् दशैं अरू ऋतु वा महिनामा पनि छन् । तर ती यसरी भव्यतापूर्वक विधिविधानले मनाइदैन ।
वैदिक दशैं वैदिक विधिपूर्वक मनाइने दशैं हो । तान्त्रिक दशैं तन्त्र साधनाद्वारा जगाइएका तान्त्रिक विधानद्वारा मनाइन्छ । सामान्य रूपमा मनाइने दशैंमा वैदिक र तान्त्रिक दुवै विधानको केही न केही अंश हुन्छ । त्यो पनि विकृतिले ग्रसित हुँदैगएको छ । दशैंलाई सांस्कृतिक चाड मान्ने र मनोरञ्जन वा औपचारिकता पूरा गर्न मात्रै मनाउने पनि छन् । वैदिक दशैं सुसंस्कृतिको, पौरस्त्य सभ्यताको, उच्चतम् जीवनशैलीको परिचयबोध गराउने दशैं हो । तान्त्रिक दशैं साधकहरूले शक्ति उपासनाद्वारा प्रकृतिका रहस्यसँगको संवाद हो । सामान्य दशैं परम्पराको बीडो थाम्दै मीठो खाने, राम्रो लगाउने, मनोरञ्जनमा सीमित दशैं हो । यसरी दशैंको पूर्वीय जीवनशैलीमा विविध प्रभाव छ ।
दशैंको महत्वपूर्ण पक्ष हो घटस्थापनाको दिनदेखि नवरात्रसम्म पाठ गरिने दुर्गाकवच । कवच अर्थात् प्रतिरक्षा गर्ने आवरणको शाब्दिक ध्वनिले जस्तो वातावरण सिर्जना हुन्छ, त्यस्तो वातावरणमा आफू, परिवार, समाज, राष्ट्र र आफ्ना सबै प्रकारका साधना तथा ज्ञानेन्द्रिय, कर्मेन्द्रिय लगायतमा देवीका नाम र शक्ति कसरी उपस्थित भएर कवच अर्थात् सुरक्षा गर्छन्, त्यस्तो दुर्गा कवचको पाठय सामग्रीमा भएको सविस्तार वर्णनको केही अंश यस्तो छ ः–
पूर्व दिशातर्फ ऐन्द्रिदेवीले आग्नेय कोणतर्फ अग्नि शक्तिले, दक्षिण दिशातर्फ वाराही देवीले, नैऋत्यकोणतर्फ खड्गधारिणी देवीले, पश्चिम दिशातर्फ वारूणी देवीले, वायव्य कोणतर्फ मृगवाहिनी देवीले, उत्तरदिशामा कौमारी देवीले इशान कोणतर्फ शूलधारिणी देवीले, माथिपट्टि ब्रह्माणी देवीले, तलतिर वैष्णवी देवीले, दशैदिशामा चामुण्डादेवीले, अगाडिबाट जयाले, पछाडिबाट विजयाले, वायाँतर्फ अजिताले, दायाँतर्फ अपराजिताले शिखाको उद्योतिनीले शिरको उमाले, निधारको मालाधरीले, आँखीभौको यक्षस्वतीले, निधारको मध्यमागमा त्रिनेत्राले, नाकको प्वालको यमघण्टाले, आँखाको बीचमा शंखिनीले, कानको द्वारवासिनीले, गालाको कालिकाले, कानको शांकरीले, नाकको सुगन्धाले, माथिल्लो ओंठ चर्चिकाले, तल्लो ओठ अमृतकलाले, जिब्रोको सरस्वतीले, दाँतको कौमारीले, कण्ठको चण्डिकाले, चित्रघण्टाले रूद्रघण्टीको, तालुको महामायाले, चिउडोको कामाक्षी र सर्वमंगलाले वाणीको रक्षा गरून् भनेर स्तुति गरिन्छ ।
यसरी नै अन्य अंगप्रत्यंगको रक्षार्थ सदैव उपस्थित रहन देवीका अन्य अन्य रूप र नामको सस्वर पाठ गर्दै यसरी पुकारा गरिन्छ ः– भद्रकालीले घाँटीको, धनुर्धारीले मेरूदण्डको, घाँटीको बाहिर नीलग्रीवाले र घाँटीको नसानसामा नलकुवरीले रक्षा गरून् । खड्गिनीले काँधको, बज्रधारिणीले पाखुराको, दण्डिनीले हातको, अम्बिकाले औंलाहरूको, सुलेश्वरीले नङको र कूलेश्वरीले कोखा (काखी)को रक्षा गरून् । महादेवीले स्तनको, शोक विनासिनीले मनको, ललिताले हृदयको, शूलधारिणीले भुँडीको रक्षा गरून् । 
कामिनीले नाभीको, गुहेश्वरीले गुह्य भागको, पूतना र कामिकाले लिंगको, महिष वाहिनीले गुदद्वारको, भगवतीले कम्मरको, विन्ध्यवासिनीले, घुँडाको, महाबलाले तिघ्राको, नरसिंहीले गोलीगाँठाको, तेजसीले पाउको, श्रीदेवीले पृष्टभागको, तलवासिनीले पैतालाको रक्षा गरून् ।
द्रष्टाकरालिनीले गोडाका नङको, उद्र्धकेशिनीले कपालको रौंको, रौंका प्वालमा कौवेरी र छालाको वागेश्वरीले रक्षा गरून् ।
पार्वतीले रगत, मज्जा, बोसो, मासु, हाड र मासी कालरात्रिले आन्द्रा, मुकुटेश्वरीले पित्त, पद्मावतिले मूलधारदेखि सहस्रारसम्मका कमल कोशको रक्षा गरून् ।
चुडामणिले कफको, ज्वालामुखीले नङको, तेजको अभेद्याले, शरीरका सम्पूर्ण जोर्नी, सन्धि स्थानको रक्षा गरून् ।
ब्रह्माणीले वीर्यको, छत्रेश्वरीले छायाँको, धर्मधारिणीले अहँकारको, मन र बुद्धिको, बज्रहस्ताले प्राणको, अपानको, व्यानको, उदानको समस्त वायुको रक्षा गरून् । प्राणको रक्षा कल्याण शोभनाले, अनुभवजन्य विषय जस्तै रस, रूप, गन्ध, स्पर्श, शब्द लगाययतका विषयबोध गर्दा योगिनीले, गुणात्मक सत्वगुण, रजोगुण, तमोगुणको मात्रा र गुणवत्ताको नारायणीले, आयुको रक्षा वाराहीले, धर्मको रक्षा वैष्णवीले, यश, कीर्ति, धन, विद्याको रक्षा चक्रिणीले, गोत्रको रक्षा इन्द्राणीले गरून् ।
पशुहरूको रक्षा चण्डिकाले, छोराको रक्षा महालक्ष्मीले, पत्नीको रक्षा भैरवीले, बाटो हिंड्दा सुपथाले, राजमार्गमा क्षेमकरीले, राजभवनमा महालक्ष्मीले, सम्पूर्ण प्रकारका भयबाट त्राण दिन विजयाले रक्षा गरून् । कवचद्वारा प्रतिरक्षा हुन नसकेका अन्य सबै अवयव र स्थानमा जयन्तीले रक्षा गरून् । 
दुर्गाकवचको पाठ्य सामग्रीले प्रत्येक व्यक्ति मातृशक्तिमै निर्भर रही देवीकै शरणमा शरणागत छ । यसरी मातृसत्ताको परिवेशमा प्राच्य जीवनशैली व्यवस्थित गर्न शारदीय नवरात्रमा महाकाली, महालक्ष्मी, महासरस्वतीको आराधना गरेर दशैं उल्लासमय रूपमा मनाइएको बोधगम्य छ ।
इन्द्रादि तेत्तीसकोटी देवता हुन् वा सृष्टिकर्ता ब्रह्मा सबैले आफ्नो सुरक्षार्थ शक्ति प्राप्त गर्न देवीकै आराधना गरे जस्तै प्राच्यका ऋषि, महर्षि, राजर्षि लगायत जगदगुरूका नाममा विख्यात आचार्यहरूले पनि जदगम्बा भगवतीकै स्तुति गरेर विद्या शक्ति प्राप्त गरेका यतत् विवरणको वृहद् सूची बन्छ । 
ऋग्वेद अपरा विद्याको प्रथम स्रोत मानिन्छ । परा विद्याको स्रोतका बारेमा मुण्डुकोपनिषद यस्तो उद्घोष गर्छ ः–
“यतद्रेश्यमग्रह्यभगोत्रभवर्णमचक्षुः श्रोत्रं तदपाणिपादम
नित्यं विभुं सवगतं सुसूक्ष्मं तदव्ययं यद्भूतयोनिं परिपश्यन्ति धीराः ।।”
भावार्थ– जो ज्ञानेन्द्रिय कर्मेन्द्रियको अगम्य मूलरहित स्थूलत्व– शुक्लत्व आदि धर्मवर्जित नामरूप ग्राहक श्रोतेन्द्रिय, नत्रेन्द्रिय र हातगोडा आदि कर्मेन्द्रियरहित अविनाशी ब्रह्मदेखि स्थावरसम्मका विविध रूप हुने सर्वव्यापी अत्यन्त सूक्ष्म कुनै प्रकारले ह्रास नहुने हुन्छ । त्यो पञ्चमहाभूतहरूको कारण अक्षरतत्व देख्ने विवेक भएकाहरू जसलाई धीर भनिन्छ, त्यस्ता क्षर नहुने अक्षर जुन विद्याद्वारा जानिन्छन्, परा विद्याको स्रोत त्यही हो । यो वेद, श्रुति परम्परामा आधारित छ ।
अर्को अपरा विद्या हो । परिश्रमपूर्वक यथामति लिपिवद्ध गरेर यसलाई संयोजन गर्ने व्यास हुन् । त्यसैले यिनलाई वेदव्यास भनिएको छ । पुराणहरूमा प्रसिद्ध महापुराण श्रीमद्भागवतको मंगलाचरणमा ‘सत्यं परं धी मही’ भन्ने उद्घोष गरेर पराविद्याकै महिमाको गान उनैबाट पनि भएको छ । यसरी परा विद्या र अपरा विद्या दुवै वेद हुन् ।
वेद व्यासले जुन सभ्यता, संस्कृति, जीवनशैलीको व्यवस्थापन गर्ने आधार निर्माण गरे, त्यसको कालगणनाका हिसाबले कैयौं वर्ष वा समय बितिसकेको छ । प्राच्यको अवधारणा अनुरूप उनले लिपिबद्ध गरेर वैदिक वाङ्मयमा परिणत गरेकै हजारौं वर्ष भएको मानिन्छ । पाश्चात्य जगतका विद्वान–चिन्तक तथा अनुसन्धानकर्ताकै भनाइलाई आधार माने पनि इशापूर्व १८ सय वर्षअघि नै वेद लिपिबद्ध भैसकेको थियो । यो कालगणनाकै भनाइबाट पनि वैदिक कालसँग २१ औं अहिलेको शताब्दिमा त्यो पूर्वको १८ औं शताब्दी जोड्दा ४ हजार वर्ष पहिले भन्ने स्पष्ट हुन्छ । यो ४ हजार वर्षपूर्व नै प्राच्यमा ब्रह्मविद्या प्रचलनमा रहेको र त्यसको चर्चा उपनिषद् लगायतका वैदिक वाङ्मयमा भैसकेको सयौं प्रमाण संस्कृत वाङ्मयमा चाङकाचाङ छन् । सृष्टि सुरू भएको कल्पना वा कालगणनाले जति अर्ब, करोड वा हजारको संख्या तोके पनि त्यो सृष्टिपूर्व नै पराविद्या थियो ।
आदि गुरू शंकराचार्य शिवका अनन्य भक्त थिए । तर शक्तिको उपासनामा ध्यान नपुगेकाले उनलाई सिद्धि प्राप्त भएको थिएन । जुन दिन उनले शक्तिको महिमा र उपासना नगरेसम्म सिद्धि प्राप्त हुन नसक्ने रहस्य बुझे त्यसै दिन उनले क्षम्यापराध स्तोत्र लगायतमा देवीको प्रार्थना गरे । कनकधारा स्तोत्रको शाब्दिक अर्थ नै कनक अर्थात् सुवर्णको धारा प्रवाह हो भनिन्छ । यसपछि उनले सिद्धपीठहरू विधिवत स्थापना गरेका हुन् भन्ने प्रसँग चर्चित छ । यसरी नै ब्रह्माले पनि सृष्टिपूर्वकै पराविद्याकी आधिपति देवीको आराधना अर्थात् ब्रह्मज्ञानबाट सृष्टि सुरू गरे ।
पौराणिक आख्यान अनुसार सबै राजा, महाराजा, चक्रवर्ती राजा देवीका भक्त र उपासक भएर शक्ति संचय गरेको विवरणमा देवीको वाहन सिंह र देवीको प्रमुख आयुध खड्गसँग सम्बद्ध अनेक प्रसँग छन् । इन्द्रादि देव देवताहरू जबजब संकटमा परे, असुरहरूबाट पराजित भए, देवी भगवतीकै आराधना गरेर शक्ति संचय गर्दै देवीकै कृपाबाट आफ्नो राज्य र समृद्धि पुनः प्राप्त भएर सुरक्षा गरेको विवरण दुर्गा सप्तशती लगायतका पाठ्य सामग्रीमा छन् । 
प्राच्यमा ‘मातृदेवो भव’ भन्ने सूत्र थियो । द्वैत, अद्वैत, विशिष्ठाद्वैत सांख्य लगायत कुनै पनि दर्शनशास्त्रमा सर्वतन्त्रं सिद्धान्त सृष्टि संरचनाको मूल कारण ब्रह्ममात्र होइन, जगज्जननीको माया हो, वा प्रकृति हो भनिएको छ । सृष्टिको प्रारम्भमा नारी शक्तिको उत्पत्ति अर्धनारीश्वर आधा पुरूष र आधा स्त्रीको रूपमा परिवर्तित प्रसँग पनि यस प्रकरणमा बढो रोचक छ । यथास्थान यथामति यो तलका पृष्ठमा समावेश हुनेछ ।
वैदिक आम्नायमा जेजति सिद्धान्त, मूल्य, मान्यता स्थापना भएर सिद्धान्तका रूपमा स्थिरता पाए, ती सबैमा सर्वप्रथम स्थान देवी अर्थात् स्त्रीमूर्ति नारीको या प्रकृतिको छ । समस्त वेद, वेदाङ्ग र वैदिक सभ्यताको वाङ्मयको प्रतीक मानिएको गायत्री स्त्री अर्थात् नारी या देवीकै प्रतिविम्ब हो । ‘छन्दसां माता’ भनेर सर्वश्रेष्ठ गुरू मन्त्रका रूपमा जपिने गरिएको छ । ‘मातृदेवो भव’पछि मात्रै पितृदेवो भव’, ‘अतिथिदेवो भव’ भन्ने सूक्तिहरू प्रचलित भए । यसपछि जति पनि पद्य वा गद्य रचना भए सबैमा पहिले मातालाई स्थान दिइएको छ । यसको उदाहरण गायत्री मन्त्र नै हो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
बलेको आगो ताप्नेको खाँडो जागेको छ (10.02.2018)
किन सरकारमाथि चौतर्फी आक्रमण ? (10.02.2018)
अबको अभियान– अभिभावकलाई रोजगारी बालबालिकालाई शिक्षा- गीता श्रेष्ठ (09.25.2018)
नेतृत्वका दुई पक्ष– गुनिलो र गुलियो (09.25.2018)
उही “बेथितिकै थिति”मा रम्दै गर्दा ! (09.25.2018)
पराश्रयी मनोवृत्ति र विखण्डनको झस्को (09.11.2018)
सबल सरकार, निर्धो राज्य, गिर्दो अर्थतन्त्र ! (09.11.2018)
सरकार कस्को पक्षमा काम गर्दैछ ? (09.04.2018)
प्रधानमन्त्रीज्यूलाई खुलापत्र (09.04.2018)
कुराले मात्रै देश विकास हुने भए... (08.28.2018)
भुक्तानी सन्तुलन सुधार्ने विकल्प ? (08.28.2018)
“सार्वजनिक नीति र भ्रष्टाचार” को विश्वरुप दर्शन ! (08.14.2018)
जेठा मामाको त फाटेको धोती कान्छा मामाको के गति ? (08.14.2018)
तीजको नाममा विकृति : हुँदा खानेहरुको लागि तीज गलपाँसो (08.14.2018)
छोरीहरु दुलही मात्र हैनन (08.14.2018)
सरकारका पेल्ने सुर : विपक्षको पानीआन्द्रे चाल - महेश्वर शर्मा (07.25.2018)
‘जंगे’ जन्माउने खेल शुरु भएकै हो ? - तारा सुवेदी (07.25.2018)
मूल नसङ्ली धारामा सङ्लो पानी आउँदैन (07.10.2018)
“द्वन्द्वका लागि आमन्त्रण” (?) (07.10.2018)
मैले पढेको त्यो समय र पढाउन थालेको अहिलेको समय (07.10.2018)



 
::| Latest News

 
[Page Top]